खतरा कसरी कम गर्न सकिन्छ?
आनुवंशिक, वातावरण तथा जीवनशैलीजस्ता विभिन्न कारणहरूले गर्दा हृद्धमनीसम्बन्धी रोग (सीएडी) हुन्छ। यीमध्ये कुनै एउटा कारण वा धेरै कारणहरूले गर्दा वर्षौं वर्षपछि सीएडी र हृदयघात हुनसक्छ।
उमेर, लिंग र वंशानुगत
उमेर छिपिंदै गएपछि हृदयघात हुने खतरा पनि धमाधम बढ्दै जान्छ। हृदयघात हुने ५५ प्रतिशत व्यक्तिहरू ६५ वर्ष नाघिसकेका हुन्छन्। हृदयघातको कारण मर्ने लगभग ८० प्रतिशत व्यक्तिहरू ६५ वर्ष वा त्यसभन्दा पनि अझ वृद्ध हुन्छन्।
पचास वर्षमुनिका महिलाहरूको तुलनामा पुरुषहरूलाई हृदयघात हुनसक्ने खतरा धेरै हुन्छ। महिलाहरूमा रोगप्रतिरोधक क्षमता भएको एस्ट्रोजीन हर्मोनको मात्रा रजस्वला बन्द भएपछि द्रुत गतिले घट्ने हुँदा त्यसपछिको समयमा महिलाहरूलाई हृदयघात हुनसक्ने खतरा बढी हुन्छ। अनुमानअनुसार एस्ट्रोजीन प्रत्यारोपण प्रविधिले महिलाहरूमा हृदयघात हुनसक्ने खतरालाई ४० प्रतिशतभन्दा धेरै घटाउन सकिन्छ तर यसले कुनै कुनै अर्बुद रोगहरू हुने खतरा बढाउनसक्छ।
वंशानुगत गुनहरूले प्रमुख भूमिका निर्वाह गर्नसक्छन्। पचास वर्ष नपुग्दै हृदयघात भएका आमाबाबुका छोराछोरीलाई हृदयघात हुने सम्भावना बढी हुन्छ। पचास नाघिसकेपछि आमाबाबुलाई हृदयघात भएको थियो भने पनि छोराछोरीलाई हृदयघात हुनसक्ने खतरा धेरै हुन्छ। परिवारमा कसैलाई मुटुको रोग छ भने छोराछोरीलाई पनि त्यस्तै रोग लाग्नसक्ने सम्भावना धेरै हुन्छ।
कोलेस्ट्रोल
कोलेस्ट्रोल भनेको जीवनलाई नभई नहुने एक प्रकारको बोसो हो। कलेजोले कोलेस्ट्रोल उत्पादन गर्छ र रगतले यसका अणुहरूलाई कोष कोषमा पुऱ्याउँछ। ती अणुहरूलाई लिपोप्रोटिन भनिन्छ। लिपोप्रोटिन दुइ प्रकारका हुन्छन्। ती हुन्: कम घनत्व भएको लिपोप्रोटिन (एलडीएल कोलेस्ट्रोल) र बढी घनत्व भएको लिपोप्रोटिन (एचडीएल कोलेस्ट्रोल)। रगतमा एलडीएल कोलेस्ट्रोलको मात्रा निकै छ भने सीएडी हुनसक्ने प्रमुख कारण त्यही हुनसक्छ।
एचडीएलले तन्तुबाट कोलेस्ट्रोल हटाएर कलेजोमा पुऱ्याउँछ। अनि कलेजोमा शरीरलाई चाहिने कोलेस्ट्रोल र नचाहिने कोलेस्ट्रोल छुट्याइन्छ र नचाहिने कोलेस्ट्रोल निष्कासन हुन्छ। त्यसैकारण एचडीएलले रक्षात्मक भूमिका निर्वाह गर्छ भन्ने धारणा रहेको पाइन्छ। परीक्षण गर्दा एलडीएलको मात्रा धेरै र एचडीएल थोरै देखिंदा हृदयघात हुने खतरा निकै बढी हुन्छ। एलडीएलको मात्रा घटाउँदा हृदयघातको खतरालाई निकै कम गर्न सकिन्छ। उपचार गर्दा मुख बार्नु र कसरत गर्नु मदतकारी साबित हुनसक्छ। विभिन्न औषधीले पनि एलडीएलको मात्रा घटाउनसक्छ तर ती औषधीहरूका नराम्रा असरहरू पनि छन्।a
कोलेस्ट्रोलको मात्रा कम भएको र प्रशोधित चिल्लो पदार्थ भएको खाना खाने सिफारिस गरेको छ। मखनजस्तो प्रशोधित चिल्लो धेरै भएको खाना खानुको साटो चिल्लो पदार्थ कम हुने क्यानोला तेल वा जैतूनको तेल हालिएको खाना खाने गरेमा एलडीएलको मात्रा घट्छ र एचडीएलको मात्रा सुरक्षित स्तरमा पुग्छ। तर अर्कोतिर अमेरिकन जर्नल अफ पब्लिक हेल्थ-को टिप्पणीअनुसार अधिकांश मार्जारीन अर्थात् मखनजस्तो चिल्लो पदार्थ र सागपातमा पाइने पूरै वा थोरै मात्रा हाइड्रोजन सोस्न सक्ने वनस्पति तेलले एलडीएलको मात्रा बढाउँछ र एचडीएलको मात्रा घटाउँछ। साथै बोसो धेरै भएको मासु खान कम गरेर त्यसको साटो कुखुरा वा टर्कीको पनि बोसो कम हुने मासु खान सकिन्छ भन्ने सिफारिस गरिएको छ।
अध्ययनअनुसार भिटामिन ई, बेटा-क्यारोटिन र भिटामिन सीले जनावरको धमनीभित्र बोसो जम्ने प्रक्रियालाई कम गराउँछ भन्ने पत्ता लागेको छ। यिनीहरूले मानिसमा हुने हृदयघात पनि कम गर्नसक्ने निष्कर्ष त्यस अध्ययनबाट निकालिएको छ। प्रशस्त मात्रामा बेटा-क्यारोटिन, अन्य क्यारोटिन तथा भिटामिन सी भएका तरकारी र फलफूलहरू जस्तै: गोलभेडा, हरियो सागपात, भिंडे खुर्सानी, गाजर, सखरखण्ड, खरबूजा, तरबूजा आदि दिनहुँ खाने गर्नाले सीएडीबाट केही हदसम्म जोगिन सकिन्छ।
भनिन्छ, भिटामिन बी६ र म्याग्नेसियम पनि फाइदाजनक हुन्छ। जौ, जईजस्ता अन्न अनि बोडी, गेडागुडीलगायत केही दाना र सुकेका फलहरूले पनि फाइदा गर्नसक्छन्। यसबाहेक साल्मोन, माक्रेल, हेरिङ वा टुनाजस्ता माछामा प्रशस्त मात्रामा ओमेगा-३ पोलिअनस्याचुरेटेड चिल्लो पदार्थ हुने भएकोले ती हप्तामा दुइ पटक खाने गर्दा पनि सीएडीको खतरा कम हुनसक्ने धारणा रहेको पाइएको छ।
बसी बसी खाने जीवनशैली
बसी बसी खाने मानिसहरूलाई हृदयघात हुने खतरा धेरै हुन्छ। तिनीहरू प्रायजसो कुनै पनि किसिमको शारीरिक परिश्रम गर्दैनन् नता तिनीहरू नियमित तवरले कसरत नै गर्छन्। यस्ता मानिसहरूलाई गोडमेल गर्ने, बिस्तारै दगुर्ने, भारी बोक्ने वा जमेको हिउँ खन्नेजस्ता शारीरिक परिश्रमपछि अक्सर हृदयघात हुन्छ। तर नियमित तवरमा कसरत गर्नेहरूमा त्यसो हुने खतरा कम हुन्छ।
हप्तामा तीनचार पटक २० देखि ३० मिनेटजति छिटो छिटो हिंड्ने गऱ्यो भने पनि हृदयघात हुनसक्ने खतरा कम हुनसक्छ। नियमित तवरमा कसरत गर्दा मुटुको रक्तसञ्चार क्षमता सुध्रिन्छ, शरीरको तौल घट्छ अनि कोलेस्ट्रोलको मात्रा घटाएर रक्तचाप पनि कम गराउँछ।
उच्च रक्तचाप, मोटोपन र मधुमेह
उच्च रक्तचापले (हाइपरटेन्सन) धमनीको भित्तामा असर गर्नसक्छ र धमनीभित्र एलडीएल कोलेस्ट्रोल टम्म भर्न र बोसो जम्मा गर्नसक्छ। बोसोमाथि बोसो थपिंदै गएपछि रक्तश्रावमा अवरोध उत्पन्न हुन्छ र रक्तचाप बढ्न थाल्छ।
रक्तचाप भएको हो वा होइन किटेर भन्न नसकिने भएकोले नियमित रूपमा रक्तचाप जाँच्न लगाए बेस हुन्छ। डाइस्टोलिक चापमा (तल्लो संख्या) एक अंक मात्र कम हुँदा पनि हृदयघात हुने सम्भावना २ देखि ३ प्रतिशत कम हुनसक्छ। रक्तचाप कम गर्न प्रयोग गरिने औषधीहरू प्रभावकारी हुनसक्छन्। मुख बारेर, कसै कसैले चाहिं नूनको मात्रा कम गरेर अनि वजन घटाउन नियमित तवरमा कसरत गरेर उच्च रक्तचापलाई नियन्त्रण गर्नसक्छन्।
अत्यधिक वजनले गर्दा उच्च रक्तचाप हुन्छ र शरीरमा चाहिनेभन्दा नचाहिने बोसो थुप्रिन्छ। मधुमेहबाट जोगिने प्रमुख उपाय ज्यादै नमोटाउनु वा मोटोपन घटाउनु हो। मधुमेहले सीएडीलाई चर्काउँछ र हृदयघातको खतरा बढाउँछ।
धूम्रपान
सीएडीको मूल कारण चुरोट पिउनु हो। संयुक्त राज्यमा हृदयघात भएर मर्ने २० प्रतिशत व्यक्तिहरूले चुरोट पिउने गरेको पाइयो। त्यसैगरि ५५ वर्षमुनिका ५० प्रतिशत महिलाहरूलाई हृदयघात हुनुको प्रमुख कारण पनि चुरोट पिउनु नै हो। चुरोट पिउनाले रक्तचाप बढाउँछ र निकोटिन तथा कार्बन मोनोअक्साइडजस्ता विषालु रासायनिक तत्त्वहरूलाई रक्तवाहिनी नलीहरूमा पुऱ्याउँछ। अनि यिनै रासायनिक तत्त्वहरूले धमनीमा क्षति पुऱ्याउँछ।
धूम्रपान गर्ने व्यक्तिहरूले आफू वरपरका मानिसहरूलाई पनि खतरामा पार्छन्। धूम्रपान नगरे तापनि धूम्रपान गर्नेहरूसित बस्नेहरूलाई हृदयघात हुने सम्भावना झन् बढी हुन्छ। यसकारण चुरोट पिउन छोडेर आफूलाई हुने खतरा कम गर्न सकिन्छ भने चुरोट नपिउने आफ्ना प्रियजनहरूको जीवन पनि जोगाउन सकिन्छ।
तनाउ
भावनात्मक तथा मानसिक तनाउमा पर्दा स्वस्थ धमनी भएका व्यक्तिहरूको तुलनामा सीएडी भएकाहरूलाई हृदयघात हुने र अचानक हृदयघात भएर मृत्यु हुने खतरा धेरै हुन्छ। अध्ययनअनुसार तनाउ हुँदा बोसोले टम्म भरिएका धमनीहरू खुम्चन्छन् र फलस्वरूप रक्तप्रवाह हुने गति २७ प्रतिशत जति घट्छ। मुटुका धमनीहरूले अलि राम्ररी काम गर्न नसकेका व्यक्तिहरूको मुटुका धमनीहरू पनि खुम्चिएको देखियो। अचाक्ली तनाउमा पर्दा धमनीका भित्ताहरूमा जम्मा भएको बोसो च्यातिन्छ र हृदयघात हुन्छ भनी अर्को लेख उल्लेख गर्छ।
कन्ज्युमर रिपोर्ट्स अन हेल्थ यसो भन्छ: “कुनै कुनै व्यक्तिले जीवनप्रति नकारात्मक दृष्टिकोण राखेको देखिन्छ। तिनीहरू आलोचना मात्र गर्ने, रीसाउने र जरङ जंगिने हुन्छन्। कतिपय चाहिं सानातिना कुराले गर्दा हतपती चिढिंदैनन् भने अमित्रैलो व्यक्तिहरू राँकिन थाल्छन्।” रीसाइ मात्र रह्यो र सधैंजसो अमित्रैलो व्यवहार गऱ्यो भने रक्तचाप बढ्छ र मुटुको ढुकढुकी तीब्र हुन थाल्छ अनि त्यसो हुँदा कलेजोले रक्तवाहिनी नलीहरूमा कोलेस्ट्रोल थुपार्न थाल्छ। यसले धमनीहरूमा क्षति पुऱ्याउँछ र परिणामस्वरूप सीएडी हुन्छ। भनिन्छ, रीसाउँदा हृदयघात हुनसक्ने खतरा दोब्बर हुन्छ र रीसाएको वा क्रोधित भएको दुइ घण्टा बितिसके तापनि हृदयघात हुनसक्ने खतरा रहिरहन्छ। त्यसो भए के गर्नुपर्ला त?
द न्यु योर्क टाइम्स, डा. मुरे मिटलमेनअनुसार भावनात्मक द्वन्द्व हुँदा पनि शान्त रहन कोसिस गर्ने मानिसहरूमा हृदयघात हुने सम्भावना कम हुन्छ। यो कुरा शताब्दीयौंअघि बाइबलमा लिपिबद्ध यी शब्दहरूसित मिल्दोजुल्दो छ: “शान्त मनले मानिसलाई स्वास्थ्य बनाउँछ।”—हितोपदेश १४:३०.
तनाउमा पर्दा कस्तो हुन्छ प्रेरित पावलले राम्ररी बुझेका थिए। आफूलाई दिनदिनै पिरोल्ने चिन्ताबारे तिनले बताए। (२ कोरिन्थी ११:२४-२८) तर तिनले परमेश्वरबाट मदत पाएको महसुस गरेका थिए र यस्तो लेखे: “केही कुरामा चिन्तित नहोओ, तर सबै कुरामा धन्यवादसाथ प्रार्थना र अन्तरबिन्तीमा तिमीहरूका माग परमेश्वरमा जाहेर होस्। औ परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, तिमीहरूका हृदय र तिमीहरूका विचारलाई येशूमा रक्षा गर्नेछ।”—फिलिप्पी ४:६, ७.
मुटुसम्बन्धी समस्याहरू हुनुका अन्य कारणहरू पनि छन् तर यहाँ छलफल गरिएका केही कारणहरूले हृदयघातका खतराहरू चिन्न र त्यतिबेला के गर्नुपर्ने हो, थाह पाउन मदत गर्नसक्छ। तर हृदयघात भएपछि जीवनमा के कस्तो होला भनेर कोही कोही चिन्तित भएका छन्। कुन हदसम्म स्वास्थ्यलाभ गर्न सकिएला?
[फुटनोट]
a ब्यूँझनुहोस्!-ले औषधी गर्ने, कसरत गर्ने वा मुख बार्नेजस्ता उपचार विधिहरूको सिफारिस गर्दैन तर राम्ररी अनुसन्धान गरेर तयार पारिएको जानकारी मात्र प्रस्तुत गर्छ। हरेकले आफ्नोलागि आफैले निर्णय गर्नुपर्छ।
[पृष्ठ ९-मा भएको चित्र]
धूम्रपान गर्नु, तुरुन्तै रीसाउनु, चिल्लो खाना खानु र बसी बसी खाने बानीले हृदयघात हुने खतरा बढ्छ