हामीले घोषणा नगरी नहुने सन्देश
यहोवाले हामीलाई एउटा जिम्मेवारी र ठूलो सुअवसर दिंदै यसो भन्नुभएको छ: “तिमीहरू मेरा साक्षी हौ। . . . म परमेश्वर हुँ।” (यशै. ४३:१२, १३) हामी परमेश्वरमा विश्वास गर्ने व्यक्तिहरू मात्र होइनौं। परमेश्वरको प्रेरित वचनमा भएका महत्त्वपूर्ण सत्यबारे सार्वजनिक तवरमा अरूलाई बताउने साक्षीहरू पनि हौं। आज यहोवाले हामीलाई कुन सन्देश बताउने जिम्मेवारी सुम्पनुभएको छ? यो सन्देश यहोवा परमेश्वर, येशू ख्रीष्ट र मसीही राज्यमा केन्द्रित छ।
“परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्”
ख्रीष्टियन युग सुरु हुनुभन्दा निकै अघि यहोवाले विश्वासी पुरुष अब्राहामलाई एउटा यस्तो प्रबन्धबारे बताउनुभयो जसद्वारा “पृथ्वीका सबै जातिहरू” आशीर्वादी हुने थिए। (उत्प. २२:१८) सम्पूर्ण मानवजातिले पूरा गर्नुपर्ने एउटा आधारभूत आवश्यकताबारे लेख्न पनि उहाँले सुलेमानलाई प्रेरणा दिनुभयो: “परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।” (उप. १२:१३) तर सबै राष्ट्रका मानिसहरूले यो कुरा कसरी सिक्न सक्छन्?
परमेश्वरको वचनमा विश्वास गर्ने मानिसहरू उहिलेदेखि नै भए तापनि संसारभरि सबै जातिसम्म सुसमाचार पुऱ्याउन जोडतोडले साक्षी दिने काम “प्रभुको दिनमा” हुने थियो भनी बाइबल देखाउँछ। यो सन् १९१४ मा सुरु भयो। (प्रका. १:१०) यो समयमा स्वर्गदूतको निर्देशनमा “हरेक राष्ट्र, कुल, भाषा र जातिलाई” एउटा महत्त्वपूर्ण सन्देश घोषणा गरिनेछ भनी प्रकाश १४:६, ७ ले भविष्यवाणी गऱ्यो। तिनीहरूलाई यस्तो आग्रह गरिनेछ: “परमेश्वरसित डराओ र उहाँलाई महिमा देओ, किनकि उहाँले न्याय गर्ने समय आइपुगेको छ। त्यसैले उहाँको उपासना गर, जसले आकाश, पृथ्वी, समुद्र र पानीका मुहानहरू बनाउनुभयो।” यो सन्देश घोषणा गरियोस् भन्ने इच्छा परमेश्वरको छ। हामीले त्यस काममा भाग लिने सुअवसर पाएका छौं।
“एक मात्र साँचो परमेश्वर।” “तिमीहरू मेरा साक्षी . . . हौ” भनी यहोवाले घोषणा गर्दा साँचो परमेश्वर को हो भन्ने विषयमा विवाद चलिरहेको थियो। (यशै. ४३:१०) घोषणा नगरी नहुने यो सन्देशमा मानिसहरूको एउटा धर्म हुनुपर्छ वा तिनीहरूले परमेश्वरमा विश्वास गर्नुपर्छ भन्ने कुरा मात्र समावेश छैन। बरु स्वर्ग र पृथ्वीको सृष्टिकर्ता नै एक मात्र साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरा सिक्ने मौका तिनीहरूले पाउनुपर्छ। (यशै. ४५:५, १८, २१, २२; यूह. १७:३) एक मात्र साँचो परमेश्वरले भविष्यबारे सही कुरा बताउन सक्नुहुन्छ। बितेको समयमा यहोवाको वचन पूरा भएको कुराले भविष्यको लागि उहाँले गरेका सबै प्रतिज्ञा साँचो साबित हुनेछन् भन्ने कुराको ठोस आधार दिन्छ। अरूलाई यी कुरा बताउन पाउनु हाम्रो सुअवसर हो।—यहो. २३:१४; यशै. ५५:१०, ११.
हुन त, हामीले साक्षी दिएकाहरूमध्ये धेरैले अरू नै देवी-देवताको उपासना गर्छन् वा कुनै पनि ईश्वरको उपासना गर्दिनँ भनेर दाबी गर्छन्। मानिसहरूले हाम्रो कुरा सुनेको चाहन्छौं भने हामी र तिनीहरू दुवै पक्ष सहमत हुने विषयमा कुरा थाल्नुपर्ने हुन सक्छ। प्रेषित १७:२२-३१ मा लिपिबद्ध उदाहरणबाट हामी लाभ उठाउन सक्छौं। याद गर्नुहोस्, प्रेषित पावलले व्यवहार-कुशल हुँदै कुराकानी गरे। तैपनि स्वर्ग र पृथ्वी सृष्टि गर्ने परमेश्वरप्रति सबै मानिस जबाफदेही छन् भन्ने कुरा बताउन तिनी पछि हटेनन्।
परमेश्वरको नाम थाह दिनुहोस्। साँचो परमेश्वरलाई उहाँको नामद्वारा चिनाउन नबिर्सनुहोस्। यहोवालाई आफ्नो नाम मन पर्छ। (प्रस्थ. ३:१५; यशै. ४२:८) मानिसहरूले त्यो नाम थाह पाऊन् भन्ने उहाँ चाहनुहुन्छ। उहाँले आफ्नो महिमित नाम बाइबलमा ७,००० भन्दा धेरै पटक उल्लेख गर्न लगाउनुभयो। मानिसहरूलाई यस नामबारे थाह दिनु हाम्रो जिम्मेवारी हो।—व्यव. ४:३५.
मानिसहरूले यहोवाको नाम थाह पाउनु र विश्वाससाथ उहाँलाई पुकार्नुमा नै तिनीहरूको भविष्य निर्भर छ। (योए. २:३२; मला. ३:१६; २ थिस्स. १:८) तर धेरैजसो मानिसले यहोवालाई चिनेका छैनन्। बाइबलमा बताइएको परमेश्वरको उपासना गरेको दाबी गर्ने थुप्रै व्यक्तिले समेत उहाँलाई चिनेका छैनन्। तिनीहरूसित बाइबल छ र पढ्छन् पनि होला। तैपनि तिनीहरूलाई परमेश्वरको नाम थाह नहुन सक्छ किनभने थुप्रै आधुनिक बाइबल अनुवादबाट यो नाम हटाइएको छ। कतिपय व्यक्तिलाई तिनीहरूका धर्मगुरुहरूले यहोवा भन्ने नाम प्रयोग गर्न मनाही गरेका छन् भन्ने कुरा मात्र थाह छ।
परमेश्वरको नामबारे हामी मानिसहरूलाई कसरी थाह दिन सक्छौं? यो नाम बाइबलबाटै देखाउनु र अझ सम्भव छ भने तिनीहरूको आफ्नै बाइबलबाट देखाउनु जत्तिको प्रभावकारी अरू केही हुन सक्दैन। कुनै-कुनै भाषामा उपलब्ध अनुवादहरूमा यो नाम हजारौं पटक प्रयोग गरिएको छ। अरू कुनै-कुनैमा भने भजन ८३:१८ वा प्रस्थान ६:३-६ मा मात्र अथवा प्रस्थान ३:१४,१५ वा ६:३ को फुटनोटमा मात्र पाउन सकिन्छ। थुप्रै अनुवादमा मौलिक भाषामा परमेश्वरको व्यक्तिगत नाम प्रयोग गरिएको ठाउँमा “परमप्रभु” र “परमेश्वर” जस्ता उपाधिहरू प्रयोग गरिएको पाइन्छ। अनि कुनै-कुनै अनुवादमा ती उपाधिलाई अरूभन्दा गाढा पारिएको वा ठूलो अक्षरमा लेखिएको छ। नयाँ अनुवादहरूमा परमेश्वरको नाम पटक्कै प्रयोग गरिएको छैन भने यसबारे मानिसहरूलाई बुझाउन तपाईंले पुराना बाइबल अनुवादहरू चलाउनुपर्ने हुन सक्छ। कुनै-कुनै देशमा धार्मिक भजनहरूमा उल्लेख गरिएको वा सार्वजनिक भवनहरूमा कुँदिएको परमेश्वरको नाम तपाईं देखाउन सक्नुहुन्छ।
अरू देवताको उपासना गर्नेहरूलाई समेत नयाँ संसार अनुवाद-बाट (अङ्ग्रेजी) यर्मिया १०:१०-१३ प्रभावकारी ढङ्गमा प्रयोग गरेर देखाउन सकिन्छ। यी पदमा परमेश्वरको नाम मात्र उल्लेख गरिएको छैन, तर उहाँ को हुनुहुन्छ भनेर पनि स्पष्टसित बताइएको छ।
चर्चका मानिसहरूले जस्तो “परमेश्वर” र “परमप्रभु” भन्ने उपाधिहरू प्रयोग गरेर यहोवा नामलाई नलुकाउनुहोस्। यसको अर्थ तपाईंले कुराकानीको सुरुमै हरेक चोटि यो नाम प्रयोग गर्नुपर्छ भनेको होइन। पूर्वाग्रहको कारण कोही-कोहीले यहोवाको नाम सुन्ने बित्तिकै बीचैमा कुराकानी टुङ्ग्याउन सक्छन्। तर कुराकानीको लागि आधार बसालिसकेपछि परमेश्वरको नाम प्रयोग गर्न नहिचकिचाउनुहोस्।
बाइबलमा “परमप्रभु” र “परमेश्वर” जस्ता उपाधिहरू जति चोटि चलाइएको छ, त्योभन्दा धेरै चोटि परमेश्वरको व्यक्तिगत नाम प्रयोग गरिनु उल्लेखनीय कुरा हो। तैपनि बाइबलका लेखकहरूले हरेक वाक्यमा परमेश्वरको नाम राख्ने कोसिस गरेनन्। तिनीहरूले स्वाभाविक देखिनेगरि, स्वतःस्फूर्त रूपमा र आदरपूर्ण ढङ्गमा यो नाम चलाए। यो हामीले पछ्याउनुपर्ने राम्रो नमुना हो।
नामबाटै चिनिने व्यक्ति: परमेश्वरको नाम छ भन्ने सत्य कुरा महत्त्वपूर्ण भए तापनि यो त उहाँलाई चिन्ने पहिलो कदम मात्र हो।
यहोवालाई प्रेम गर्न र विश्वाससाथ उहाँलाई पुकार्न मानिसहरूले उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनेर पनि थाह पाउनु आवश्यक छ। सीनै पर्वतमा यहोवाले मोशालाई आफ्नो नामबारे थाह दिंदा उहाँले “परमप्रभु [अर्थात् “यहोवा,” NW] भन्ने नाम मात्र दोहोऱ्याउनुभएन, बरु आफ्ना उल्लेखनीय गुणहरूतर्फ ध्यान खिच्नुभयो। (प्रस्थ. ३४:६, ७) हामीले पनि यही उदाहरण अनुकरण गर्नुपर्छ।
चाहे तपाईंले नवजिज्ञासुहरूलाई साक्षी दिइरहेको होस् वा मण्डलीमा भाषण दिइरहेको होस्, परमेश्वरको राज्यले ल्याउने आशिष्बारे बताउँदा यस्ता प्रतिज्ञा गर्ने परमेश्वरबारे यसले कुन कुरा सङ्केत गर्छ भनेर पनि बताउनुहोस्। उहाँका आज्ञाहरूबारे बताउँदा ती आज्ञाहरूमा झल्कने परमेश्वरको बुद्धि र प्रेममा जोड दिनुहोस्। परमेश्वरले हामीबाट चाहने कुराले हामीमा बोझ थप्दैन बरु ती हाम्रै फाइदाका लागि हुन् भनेर स्पष्ट पार्नुहोस्। (यशै. ४८:१७, १८; मीका ६:८) यहोवाले आफ्नो शक्ति प्रदर्शन गर्नुभएको हरेक घटनाले उहाँको व्यक्तित्व, उहाँका स्तर र उहाँको उद्देश्यबारे केही न केही प्रकट गर्छ भनी देखाउनुहोस्। यहोवाले आफ्ना विभिन्न गुण सन्तुलित तरिकामा झल्काउनुभएको कुरातर्फ ध्यान खिच्नुहोस्। तपाईं यहोवाबारे कस्तो महसुस गर्नुहुन्छ भन्ने कुरा मानिसहरूलाई बताउनुहोस्। यहोवाप्रतिको तपाईंको प्रेमले अरूमा पनि यस्तै प्रेम जगाउन मदत गर्न सक्छ।
आज हामीले सुनाउने जरुरी सन्देशले सबै मानिसलाई परमेश्वरसित डराउन आग्रह गर्छ। हामीले भन्ने कुराद्वारा परमेश्वरप्रतिको यस्तो डर विकास गराउने कोसिस गर्नुपर्छ। यो स्वस्थकर डर हो जसले यहोवाप्रति श्रद्धा र आदर जगाउँछ। (भज. ८९:७) यहोवा सर्वोच्च न्यायकर्ता हुनुहुन्छ र उहाँको अनुमोदन प्राप्त गर्नुमा नै हाम्रो भावी जीवनको प्रत्याशा निर्भर छ भन्ने कुराबारे सजग हुनु यसमा समावेश छ। (लूका १२:५; रोमी १४:१२) त्यसैले यस्तो डर र उहाँप्रतिको हाम्रो गहिरो प्रेमबीच सम्बन्ध छ। फलस्वरूप हामी उहाँलाई प्रसन्न तुल्याउने तीव्र इच्छा गर्छौं। (व्यव. १०:१२, १३) यहोवाप्रतिको डरले खराब कुरालाई घृणा गर्न, उहाँको आज्ञा पालन गर्न र पूर्ण हृदयले उहाँको उपासना गर्न पनि हामीलाई उत्प्रेरित गर्छ। (व्यव. ५:२९; १ इति. २८:९; हितो. ८:१३) यसले हामीलाई परमेश्वरको सेवा पनि गर्ने अनि संसारका कुराहरूलाई पनि प्रेम गर्ने झुकाव राख्नदेखि जोगाउँछ।—१ यूह. २:१५-१७.
परमेश्वरको नाम—“एक बलियो धरहरा।” यहोवालाई साँच्चै चिन्ने व्यक्तिहरू अत्यन्तै सुरक्षित महसुस गर्छन्। उहाँको व्यक्तिगत नाम प्रयोग गरेकोले र उहाँका केही गुणबारे बताउन सकेकोले मात्र यहोवाले तिनीहरूको सुरक्षा गर्नुभएको होइन; उहाँमा भरोसा राखेकोले हो। तिनीहरूबारे हितोपदेश १८:१० यसो भन्छ: “परमप्रभुको [अर्थात् “यहोवाको,” NW] नाम एक बलियो धरहराजस्तै हो, त्यहाँ धर्मीहरू शरणको निम्ति कुदेर जान्छन्।”
मौका मिल्ने बित्तिकै अरूलाई यहोवामा भरोसा राख्न आग्रह गर्नुहोस्। (भज. ३७:३; हितो. ३:५, ६) यस्तो भरोसाले यहोवा र उहाँका प्रतिज्ञामा हामी विश्वास गर्छौं भनेर देखाउँछ। (हिब्रू ११:६) यहोवा नै ब्रह्माण्डको सार्वभौम हुनुहुन्छ भन्ने कुरा थाह पाएर मानिसहरूले उहाँको ‘नाम पुकार्दा,’ उहाँको मार्गलाई प्रेम गर्दा र साँचो उद्धार उहाँबाट मात्रै आउँछ भनी पूर्णतया विश्वास गर्दा तिनीहरूले उद्धार पाउनेछन् भनी परमेश्वरको वचन हामीलाई आश्वासन दिन्छ। (रोमी १०:१३, १४) अरूलाई सिकाउँदा जीवनको हरेक पक्षमा यस्तो विश्वास विकास गर्न तिनीहरूलाई मदत दिनुहोस्।
थुप्रै मानिसले छुटकारा पाउनै नसकिने जस्तो देखिने समस्याहरू झेलिरहेका छन्। तिनीहरूलाई यहोवाको मार्ग सिक्न, उहाँमा भरोसा गर्न र आफूले सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुहोस्। (भज. २५:५) यहोवाको मदतको लागि हृदयदेखि प्रार्थना गर्न र उहाँले दिएका आशिष्का लागि उहाँलाई धन्यवाद दिन तिनीहरूलाई प्रोत्साहन दिनुहोस्। (फिलि. ४:६, ७) बाइबलका केही विवरण पढेर मात्र होइन तर यहोवाका प्रतिज्ञाहरू आफ्नै जीवनमा पनि पूरा भएको देखेर जब तिनीहरूले यहोवालाई चिन्छन्, तब यहोवाको नामको अर्थबारे साँच्चै बुझ्दा प्राप्त हुने सुरक्षा महसुस गर्न थाल्नेछन्।—भज. ३४:८; यर्मि. १७:७, ८.
साँचो परमेश्वर यहोवाको भय मान्नु र उहाँका आज्ञाहरू पालन गर्नु किन बुद्धिमानी हो भन्ने कुरा बुझ्न मानिसहरूलाई मदत दिने हरेक मौकाको सदुपयोग गर्नुहोस्।
‘येशूको विषयमा साक्षी दिनुहोस्’
पुनर्जीवित भइसकेपछि र स्वर्ग फर्कनुभन्दा अघि येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यस्तो निर्देशन दिनुभयो: “पृथ्वीको सबैभन्दा टाढा पर्ने इलाकामा तिमीहरूले मेरो साक्षी दिनेछौ।” (प्रेषि. १:८) हाम्रो समयका परमेश्वरका वफादार सेवकहरूलाई “येशूको विषयमा साक्षी दिने” मानिसहरू भनी वर्णन गरिएको छ। (प्रका. १२:१७) साक्षी दिने त्यो काममा तपाईं कत्तिको लगनशील हुनुहुन्छ?
येशूमा विश्वास गरेको दाबी गर्ने थुप्रै निष्कपट व्यक्तिहरूलाई येशूको मानवपूर्व अस्तित्वबारे केही थाह छैन। यस पृथ्वीमा उहाँले साँच्चै नै मानव जीवन बिताउनुभएको थियो भन्ने कुरा तिनीहरूले बुझेका छैनन्। उहाँ परमेश्वरको पुत्र हुनुको अर्थ के हो भनेर तिनीहरू बुझ्दैनन्। परमेश्वरको उद्देश्य पूर्तिमा उहाँको भूमिकाबारे तिनीहरूलाई वास्तवमा केही पनि थाह छैन। उहाँ अहिले के गर्दै हुनुहुन्छ भनेर तिनीहरूलाई थाह छैन अनि भविष्यमा उहाँले गर्ने कामले तिनीहरूको जीवनमा कस्तो असर पार्नेछ भनेर पनि तिनीहरूलाई थाह छैन। यहोवाका साक्षीहरूले येशूमाथि विश्वास गर्दैनन् भन्ने गलत सोचाइसमेत तिनीहरूले राख्न सक्छन्। तिनीहरूलाई यी कुराबारे सत्य बताउन अथक प्रयास गर्न पाउनु हाम्रो सुअवसर हो।
अरू कतिपय मानिस भने बाइबलमा बताइएको जस्तो येशू भन्ने व्यक्ति यस संसारमा थियो भन्ने कुरा विश्वासै गर्दैनन्। कोही-कोहीले भने येशूलाई एक जना महान् व्यक्तिको रूपमा मात्र हेर्छन्। थुप्रैले उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा इन्कार गर्छन्। यस्ता मानिसहरूलाई “येशूको विषयमा साक्षी दिन” निकै प्रयास गर्नुपर्छ, धैर्य गर्नुपर्छ र व्यवहार-कुशल पनि हुनुपर्छ।
तपाईंको कुरा सुनिरहेका व्यक्तिहरूको दृष्टिकोण चाहे जस्तोसुकै होस्, अनन्त जीवनको लागि परमेश्वरले मिलाएको प्रबन्धबाट लाभ उठाउने हो भने तिनीहरूले येशू ख्रीष्टको ज्ञान लिनुपर्छ। (यूह. १७:३) “येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनेर हरेकले खुलेआम” स्वीकार गर्नुपर्छ र उहाँको अधीनमा बस्नुपर्छ भन्ने कुरा परमेश्वरले स्पष्टसित बताउनुभएको छ। (फिलि. २:९-११) त्यसैले येशूबारे कट्टर तर गलत धारण राखेका वा पूर्वाग्रह राखेका मानिसहरूलाई भेट्दा हामी यस मामिलालाई सजिलै बेवास्ता गर्न सक्दैनौं। कहिलेकाहीं हामीले सुरुकै भेटमा येशू ख्रीष्टबारे खुलेर कुरा गर्न सक्ने भए तापनि कहिलेकाहीं भने श्रोतालाई येशूबारे सही तरिकाले सोच्न लगाउन निकै सोचविचार गरेर बोल्नुपर्ने हुन सक्छ। अर्को भेटमा यस विषयका थप पक्षबारे कुराकानी गर्ने तरिका पनि हामीले सोच्नुपर्ने हुन सक्छ। तथापि त्यस व्यक्तिसित गृह बाइबल अध्ययन नगरीकन सबै कुरा छलफल गर्न सम्भव नहुन सक्छ।—१ तिमो. २:३-७.
परमेश्वरको उद्देश्यमा येशूको महत्त्वपूर्ण भूमिका: येशू नै “बाटो” हुनुहुन्छ र उहाँबाहेक “अरू कसैद्वारा कोही पनि बुबाकहाँ जान सक्दैन।” त्यसकारण येशू ख्रीष्टमाथि विश्वास नराखी परमेश्वरसित राम्रो सम्बन्ध कायम राख्न सकिंदैन भन्ने कुरा बुझ्न हामीले मानिसहरूलाई मदत गर्नुपर्छ। (यूह. १४:६) यहोवाले आफ्नो जेठो छोरालाई दिनुभएको महत्त्वपूर्ण जिम्मेवारीबारे नबुझीकन बाइबलबारे बुझ्न असम्भव छ। किन? किनभने आफ्ना सबै उद्देश्य पूरा गर्न यहोवाले यही छोरालाई मुख्य भूमिका दिनुभएको छ। (कल. १:१७-२०) बाइबलका सबै भविष्यवाणी यही तथ्यमा आधारित छन्। (प्रका. १९:१०) शैतानको विद्रोह र आदमको पापको कारण आएका सम्पूर्ण समस्याको समाधान येशू ख्रीष्टद्वारा मात्र हुन्छ।—हिब्रू २:५-९, १४, १५.
ख्रीष्टको भूमिकाबारे बुझ्न कुनै पनि व्यक्तिले मानिसहरू एकदमै दयनीय हालतमा छन् र यसबाट निस्कनु हाम्रो शक्तिभन्दा बाहिरको कुरा हो भनेर मानिलिनै पर्छ। हामी सबै जन्मजातै पापी छौं। जीवनभर पापले हामीलाई विभिन्न तरिकामा असर गर्न सक्छ। अनि ढिलो होस् वा चाँडो, हामीले यसको परिणाम अर्थात् मृत्यु भोग्नै पर्छ। (रोमी ३:२३; ५:१२) तपाईंले साक्षी दिने व्यक्तिसित यही तथ्यबारे तर्क गर्नुहोस्। त्यसपछि येशू ख्रीष्टको फिरौतीको बलिदानमाथि विश्वास गर्नेहरूको लागि पाप र मृत्युबाट छुटकारा पाउने मायालु प्रबन्ध यहोवाले मिलाइदिनुभएको छ भनी देखाउनुहोस्। (मर्कू. १०:४५; हिब्रू २:९) यसले तिनीहरूको लागि सधैंभरि त्रुटिरहित जीवनको आनन्द उठाउने बाटो खोलिदिएको छ। (यूह. ३:१६, ३६) यसको लागि अरू कुनै उपाय छैन। (प्रेषि. ४:१२) चाहे व्यक्तिगत रूपमा सिकाउँदा होस् वा मण्डलीमा, यी तथ्य बताएर मात्र पुग्दैन। हाम्रो उद्धारकर्ताको रूपमा ख्रीष्टको भूमिकाप्रति कृतज्ञ हुन दयालु हुँदै र धैर्य गर्दै श्रोतालाई मदत गर्नुहोस्। यस प्रबन्धप्रतिको कृतज्ञताले मानिसहरूको मनोवृत्ति, आचरण र जीवनका लक्ष्यहरूमा गहिरो असर पार्न सक्छ।—२ कोरि. ५:१४, १५.
हुन त हो, बलिदानको रूपमा येशूले आफ्नो जीवन एक पटक मात्र दिनुभयो। (हिब्रू ९:२८) तर अहिले उहाँ प्रधान पुजारीको रूपमा सक्रिय भएर सेवा गर्दै हुनुहुन्छ। यसले कस्तो अर्थ राख्छ भन्ने कुरा बुझ्न अरूलाई मदत दिनुहोस्। आफू वरपरका व्यक्तिहरू निर्दयी भएकोले पो तिनीहरूले तनाव, निराशा, दुःख वा समस्याहरू भोगिरहेका हुन् कि? येशू मानव रूपमा हुँदा उहाँले पनि यस्तै कुराहरू भोग्नुभएको थियो। हामी कस्तो महसुस गर्छौं, उहाँ बुझ्नुहुन्छ। त्रुटिपूर्ण भएको कारण के हामी परमेश्वरको कृपाको आवश्यकता महसुस गर्छौं? येशूको बलिदानको आधारमा क्षमाको लागि हामीले परमेश्वरलाई प्रार्थना गऱ्यौं भने येशू “बुबासँग हाम्रो निम्ति एक जना मदतगार” बन्नुहुनेछ। साथै करुणा देखाउँदै उहाँले “हाम्रो निम्ति बिन्ती पनि गर्नुहुन्छ।” (१ यूह. २:१, २; रोमी ८:३४) ठीक समयमा मदत पाउन येशूको बलिदान र प्रधान पुजारीको रूपमा उहाँले गरेको सेवाको आधारमा हामी यहोवाको “असीम अनुग्रहको सिंहासनसामु” जान सक्छौं। (हिब्रू ४:१५, १६) त्रुटिपूर्ण भए तापनि प्रधान पुजारीको रूपमा येशूले गर्ने मदतको कारण हामी सफा अन्तस्करणसहित परमेश्वरको सेवा गर्न सक्छौं।—हिब्रू ९:१३, १४.
यसबाहेक, ख्रीष्टियन मण्डलीको शिर हुनको लागि परमेश्वरद्वारा नियुक्त व्यक्तिको रूपमा येशूको अधिकार धेरै छ र उहाँ त्यो अधिकार चलाउनुहुन्छ। (मत्ती २८:१८; एफि. १:२२, २३) यसैकारण उहाँले मण्डलीहरूलाई परमेश्वरको इच्छा अनुरूपका निर्देशनहरू दिनुहुन्छ। अरूलाई सिकाउँदा मण्डलीको शिर कुनै मानिस नभई येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा बुझ्न तिनीहरूलाई मदत दिनुहोस्। (मत्ती २३:१०) चासो देखाउने व्यक्तिलाई पहिलो भेटदेखि नै सभाहरूमा बोलाउनुहोस्, जहाँ हामी “विश्वासी र बुद्धिमान् दास”-द्वारा प्रबन्ध गरिएको विषयवस्तुको मदत लिएर बाइबलको अध्ययन गर्छौं। तिनीहरूलाई “दास” भनेको को हो भनेर बुझाउने मात्र नभई मालिक को हो भनेर पनि बुझाउनुहोस् ताकि तिनीहरूले येशूको शिरत्वबारे थाह पाउन सकून्। (मत्ती २४:४५-४७) एल्डरहरूसित तिनीहरूको चिनाजानी गराउनुहोस् र एल्डरहरूले कस्ता धर्मशास्त्रीय आवश्यकताहरू पूरा गरेको हुनुपर्छ भन्नेबारे बताउनुहोस्। (१ तिमो. ३:१-७; ती. १:५-९) मण्डली एल्डरहरूको सम्पत्ति होइन बरु तिनीहरूले हामीलाई येशू ख्रीष्टको पाइलामा हिंड्न मदत गर्छन् भन्ने कुरा बताउनुहोस्। (प्रेषि. २०:२८; एफि. ४:१६; १ पत्रु. ५:२, ३) ख्रीष्टको शिरत्वको अधीनमा एउटा व्यवस्थित विश्वव्यापी सङ्गठन सञ्चालन भइरहेको छ भन्ने कुरा बुझ्न यी नव-जिज्ञासुहरूलाई मदत दिनुहोस्।
आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि येशू यरूशलेममा प्रवेश गर्नुभएको थियो। त्यतिबेला उहाँका चेलाहरूले यसो भन्दै उहाँको जयजयकार गरेका थिए भन्ने कुरा हामी सुसमाचारका पुस्तकहरू पढेर थाह पाउँछौं: “यहोवाको नाममा आउने राजा धन्यका होऊन्!” (लूका १९:३८) मानिसहरूले अझ गहिरिएर बाइबल अध्ययन गर्दै जाँदा अहिले यहोवाले येशूलाई शासन गर्ने अख्तियार दिइसक्नुभएको छ र यसले सबै राष्ट्रका मानिसलाई असर गर्छ भन्ने कुरा बुझ्छन्। (दानि. ७:१३, १४) अध्ययनहरू सञ्चालन गर्दा वा मण्डलीमा भाषण दिंदा येशूको शासनले हामी सबैको लागि कस्तो अर्थ राख्नुपर्छ भन्ने विषयमा बुझ्न अनि त्यसप्रति कृतज्ञता बढाउन मदत दिनुहोस्।
येशू ख्रीष्ट राजा हुनुहुन्छ भन्ने कुरा हामी साँच्चै विश्वास गर्छौं कि गर्दैनौं र खुसीसाथ उहाँको शासनको अधीनमा बस्न इच्छुक छौं कि छैनौं, त्यो कुरा हाम्रो जीवनशैलीले देखाउँछ भनेर जोड दिनुहोस्। राजाको रूपमा अभिषिक्त भइसकेपछि येशूले आफ्ना अनुयायीहरूलाई दिएको जिम्मेवारीतर्फ ध्यान खिच्नुहोस्। (मत्ती २४:१४; २८:१८-२०) जीवनमा प्राथमिकता दिनुपर्ने कुराबारे महान् सल्लाहकार येशूले के भन्नुभयो, त्यसबारे छलफल गर्नुहोस्। (यशै. ९:६, ७; मत्ती ६:१९-३४) आफ्ना अनुयायीहरूले देखाउने मनोभावबारे शान्तिका राजकुमारले बताएको कुरातर्फ ध्यान खिच्नुहोस्। (मत्ती २०:२५-२७; यूह. १३:३५) अरूले जति गर्नुपर्थ्यो त्यति गरिरहेका छन् कि छैनन् भनेर न्याय गर्नदेखि होसियार रहनुहोस्, बरु तिनीहरू ख्रीष्टको शासनको अधीनमा छन् कि छैनन् भन्नेबारे तिनीहरूको कामले के सङ्केत गर्छ, त्यो विचार गर्न तिनीहरूलाई प्रोत्साहन दिनुहोस्। यसरी प्रोत्साहन दिंदा तपाईंले पनि यसै गर्नुपर्छ भन्ने कुरा स्वीकार्नुहोस्।
ख्रीष्टलाई जगको रूपमा बसाल्नुहोस्। ख्रीष्टियन चेला बनाउने कामलाई बाइबलले येशू ख्रीष्टलाई जगको रूपमा बसालेर त्यसमाथि कुनै संरचना तयार पार्नुसित तुलना गरेको छ। (१ कोरि. ३:१०-१५) यो उद्देश्य हासिल गर्नको लागि येशूलाई बाइबलमा जसरी वर्णन गरिएको छ, त्यसरी नै बुझ्न मानिसहरूलाई मदत दिनुहोस्। तिनीहरू तपाईंको चेला नबनून् भनेर होसियार रहनुहोस्। (१ कोरि. ३:४-७) तिनीहरूको ध्यान येशू ख्रीष्टतर्फ खिच्नुहोस्।
राम्ररी जग बसालिएको छ भने हामीले ‘पछ्याउनुपर्ने राम्रो’ उदाहरण ख्रीष्टले छोड्नुभएको छ भन्ने कुरा विद्यार्थीहरूले बुझ्नेछन्। (१ पत्रु. २:२१) त्यस जगमा निर्माण गर्दै लैजान सुसमाचारको पुस्तक एउटा साँचो इतिहासको रूपमा मात्र नभई पछ्याउनुपर्ने नमुनाको रूपमा पढ्न विद्यार्थीहरूलाई प्रोत्साहन दिनुहोस्। येशूको मनोवृत्ति र गुणहरू मनमा राख्न र त्यसै अनुरूप चल्न तिनीहरूलाई मदत दिनुहोस्। आफ्नो बुबाबारे येशूले कस्तो महसुस गर्नुभयो, प्रलोभन तथा परीक्षाहरूको सामना उहाँले कसरी गर्नुभयो, परमेश्वरप्रति उहाँले कसरी अधीनता देखाउनुभयो र विभिन्न परिस्थितिमा उहाँले मानिसहरूसित कसरी व्यवहार गर्नुभयो भन्ने कुरामा ध्यान दिन तिनीहरूलाई प्रोत्साहन दिनुहोस्। येशूले आफ्नो जीवन कुन कुरामा लगाउनुभयो, त्यसबारे पनि जोड दिनुहोस्। त्यसो गर्नुभयो भने विद्यार्थीले निर्णयहरू गर्नुपर्दा र परीक्षाहरूको सामना गर्नुपर्दा आफैलाई यस्ता प्रश्नहरू सोध्नेछन्: ‘येशूले यस्तो अवस्थामा के गर्नुहुन्थ्यो होला? मैले गरिरहेको कामले येशूले मेरो लागि जे जति गर्नुभयो त्यसप्रति साँच्चै कृतज्ञ भएको देखाउँछ?’
मण्डलीमा भाषण दिंदा उपस्थित सबै भाइबहिनीले येशूमाथि विश्वास गरिसकेका छन्, त्यसैले येशूतर्फ विशेष ध्यान खिचिरहनु आवश्यक छैन भनेर नसोच्नुहोस्। तपाईंले त्यस विश्वासको आधारमा आफ्नो कुरा बताउनुभयो भने तपाईंको कुरा अझ अर्थपूर्ण हुनेछ। सभाहरूबारे बताउँदा मण्डलीको शिरको रूपमा येशूको भूमिकासित यसको कस्तो सम्बन्ध छ, बुझाउनुहोस्। क्षेत्र सेवाबारे बताउँदा येशूले आफ्नो सेवाको कामप्रति कस्तो मनोभाव देखाउनुभयो, त्यसतर्फ ध्यान खिच्नुहोस्। साथै हामीले गर्ने प्रचारकार्यमार्फत राजा येशूले यस दुष्ट रीतिरिवाजबाट बचेर नयाँ संसारमा पुग्ने मानिसहरूलाई जम्मा गर्दै हुनुहुन्छ भनेर पनि बताउनुहोस्।
येशूबारे आधारभूत कुराहरू सिकेर मात्र पुग्दैन भन्ने कुरा प्रस्ट छ। सही अर्थमा ख्रीष्टियन बन्न मानिसहरूले उहाँमा विश्वास गर्नै पर्छ र उहाँलाई साँच्चै प्रेम गर्नै पर्छ। यस्तो प्रेमले वफादार भएर आज्ञा पालन गर्न उत्प्रेरित गर्छ। (यूह. १४:१५, २१) यसले मानिसहरूलाई दुःखकष्ट आइपर्दा विश्वासमा दह्रो रहिरहन, आफ्नो जीवनभर ख्रीष्टको पाइलामा हिंडिरहन र आफूलाई “विश्वासको जगमा बलियो गरी जरा हालिएका र बसालिएका” परिपक्व ख्रीष्टियन साबित गर्न मदत गर्छ। (एफि. ३:१८) यस्तो मार्गले येशू ख्रीष्टको परमेश्वर र बुबा यहोवाको महिमा गर्छ।
“राज्यको यो सुसमाचार”
आफ्नो उपस्थिति र यस युगको आखिरी समयको चिन्हबारे विस्तृत तवरमा बताउँदा येशूले यस्तो अगमवाणी गर्नुभयो: “राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।”—मत्ती २४:१४.
यस्तो व्यापक तवरमा बताउनुपर्ने सन्देश वास्तवमा के हो? यो सन्देश त्यस राज्यको विषयमा हो, जसबारे येशूले हामीलाई यसरी प्रार्थना गर्न सिकाउनुभयो: “तपाईंको राज्य आओस्।” (मत्ती ६:१०) प्रकाश ११:१५ ले यसलाई यहोवा “परमेश्वरको अनि उहाँको ख्रीष्टको राज्य” भनेर वर्णन गरेको छ। किनभने शासन गर्ने अख्तियार यहोवाबाट आउँछ र राजाको रूपमा यो अख्तियार येशूलाई दिइएको छ। हाम्रो दिनमा घोषणा गरिनेछ भनी येशूले बताएको यो सन्देश प्रथम शताब्दीमा उहाँका अनुयायीले प्रचार गरेको भन्दा अझै व्यापक तवरमा प्रचार गरिनेछ भनेर याद गर्नुहोस्। येशूका अनुयायीले मानिसहरूलाई यसो भनेका थिए: “परमेश्वरको राज्य तिमीहरूको नजिकै आइपुगेको छ।” (लूका १०:९) राजा बन्न अभिषिक्त हुनुभएको येशू तिनीहरूको बीचमा हुनुहुन्थ्यो। तर मत्ती २४:१४ मा लिपिबद्ध गरिएअनुसार परमेश्वरको उद्देश्यको पूर्तिमा समावेश अर्को एउटा महत्त्वपूर्ण घटनाबारे विश्वभरि घोषणा हुनेछ भनी येशूले भविष्यवाणी गर्नुभयो।
यस घटनाबारे दानियल अगमवक्तालाई दर्शन दिइएको थियो। “विभिन्न भाषा बोल्ने सबै जातिका मानिसहरूले उहाँको सेवा गरून् भनेर” “मानिसका पुत्रजस्तै कोही” अर्थात् येशू ख्रीष्टले “अति प्राचीन उमेर” भएका यहोवाबाट “सर्वाधिकार, महिमा र राज्याधिकार” पाएको तिनले देखे। (दानि. ७:१३, १४) सारा विश्वको लागि महत्त्वपूर्ण अर्थ राख्ने उक्त घटना स्वर्गमा सन् १९१४ मा भयो। त्यसपछि दियाबल र त्यसका दुष्ट स्वर्गदूतहरूलाई पृथ्वीमा फ्याँकियो। (प्रका. १२:७-१०) यस युगको अन्तिम दिन सुरु भयो। तर यसको पूर्णतया विनाश हुनुअघि यहोवाको मसीही राजाले उहाँको स्वर्गीय सिंहासनबाट अहिले शासन गरिरहनुभएको छ भन्ने कुरा संसारभरि घोषणा गरिंदैछ। सबै ठाउँका मानिसलाई यो खबर दिइँदैछ। तिनीहरूले देखाएको प्रतिक्रियाले नै “मानिसहरूका राज्यमाथि” शासन गर्ने सर्वोच्च व्यक्तिप्रतिको तिनीहरूको मनोवृत्ति प्रकट गर्छ।—दानि. ४:३२, NRV.
हो, योभन्दा पनि ठूलठूला घटना हुन बाँकी नै छन्। हामी अझै पनि यसरी प्रार्थना गर्छौं, “तपाईंको राज्य आओस्।” तर यसको मतलब परमेश्वरको राज्य स्थापना हुनै बाँकी छ भनेर हामीले सोचेका हुँदैनौं। बरु दानियल २:४४ रर प्रकाश २१:२-४ जस्ता भविष्यवाणीहरू पूरा गर्न यस स्वर्गीय राज्यले निर्णायक कदम चाल्नेछ भन्ने सोचाइ राख्दै हामी त्यस्तो प्रार्थना गर्छौं। उक्त राज्यले पृथ्वीलाई परमेश्वर र सँगी मानवहरूलाई प्रेम गर्ने मानिसहरूद्वारा भरिएको प्रमोदवन बनाउनेछ। “राज्यको यो सुसमाचार” प्रचार गर्दा हामी यी भावी प्रत्याशातर्फ ध्यान खिच्छौं। साथै यहोवाले आफ्नो छोरालाई शासन गर्ने सम्पूर्ण अधिकार सुम्पिसक्नुभएको छ भन्ने कुरा पनि हामी विश्वस्त भएर बताउँछौं। परमेश्वरको राज्यबारे साक्षी दिंदा के तपाईंले यो सुसमाचारलाई जोड दिइरहनुभएको छ?
राज्यबारे व्याख्या गर्नुहोस्। परमेश्वरको राज्यबारे घोषणा गर्ने जिम्मेवारी हामी कसरी पूरा गर्न सक्छौं? चासो जगाउनको लागि सुरुमा त हामी विभिन्न विषयमा कुरा गर्न सक्छौं तर हाम्रो सन्देश परमेश्वरको राज्यसित सम्बन्धित छ भन्ने कुरा हामीले चाँडै प्रस्ट पार्नुपर्छ।
यस कामको एउटा महत्त्वपूर्ण पक्ष हो, परमेश्वरको राज्यलाई सङ्केत गर्ने शास्त्रपद पढ्नु वा उद्धरण गर्नु। परमेश्वरको राज्यबारे बताउँदा तपाईंले कुरा गरिरहेको व्यक्तिले यसको अर्थ बुझेका छन् कि छैनन्, सो पक्का गर्नुहोस्। परमेश्वरको राज्य एउटा सरकार हो भन्नु मात्र पर्याप्त नहुन सक्छ। अदृश्य चीजलाई एउटा सरकारको रूपमा स्वीकार्न कसै-कसैलाई गाह्रो हुन सक्छ। तपाईं तिनीहरूसित विभिन्न तरिकामा तर्क गर्न सक्नुहुन्छ। उदाहरणका लागि, बतासलाई हामी देख्न सक्दैनौं तर यसले हाम्रो जीवनमा शक्तिशाली प्रभाव पार्छ। बतासलाई नियन्त्रण गर्ने व्यक्तिलाई पनि हामी देख्न सक्दैनौं तर उहाँ अत्यन्तै शक्तिशाली हुनुहुन्छ भन्ने कुरा प्रत्यक्ष छ। बाइबलले उहाँलाई “युगयुगका महाराजा” भनेर सम्बोधन गरेको छ। (१ तिमो. १:१७) अथवा तपाईं यसरी पनि तर्क गर्न सक्नुहुन्छ: विशाल देशका थुप्रै मानिस कहिल्यै पनि राजधानी नगएका हुन सक्छन् र सत्ता सँभालेका व्यक्तिलाई पनि नदेखेका हुन सक्छन्। समाचार सुनेर वा पढेर तिनीहरूले यी कुरा थाह पाउँछन्। त्यसैगरि २,२०० भन्दा धेरै भाषामा प्रकाशित बाइबलले हामीलाई परमेश्वरको राज्यबारे बताएको छ र यसको अख्तियार कसलाई सुम्पिएको छ अनि परमेश्वरको राज्यले अहिले के गर्दैछ भनेर पनि बताएको छ। नियमित रूपमा प्रकाशित हुने पत्रिकाहरूमध्ये सबैभन्दा धेरै भाषामा प्रकाशित हुने प्रहरीधरहरा-ले यसको बाहिरी आवरणमा उल्लेख गरिएझैं “यहोवाको राज्यको घोषणा गर्छ।”
परमेश्वरको राज्य के हो भनेर मानिसहरूलाई बुझाउन तिनीहरूले सरकारबाट आशा गर्ने केही-केही कुराहरूबारे उल्लेख गर्न सक्नुहुन्छ: आर्थिक सुरक्षा, शान्ति, अपराधमुक्त समाज, सबै जातिप्रति निष्पक्ष व्यवहार, शिक्षा र स्वास्थ्य सेवा। परमेश्वरको राज्यद्वारा मात्र यीलगायत मानवजातिका अन्य जायज इच्छाहरू पूरा हुनेछन् भनी बताउनुहोस्।–भज. १४५:१६.
राजाको रूपमा येशू ख्रीष्टले शासन गर्ने परमेश्वरको राज्यको प्रजा हुने इच्छा मानिसहरूमा जगाउने कोसिस गर्नुहोस्। स्वर्गमा बसेर राजाको रूपमा उहाँले के-के गर्नुहुनेछ भन्ने पूर्वझलक दिन उहाँले गरेका चमत्कारहरूतर्फ ध्यान खिच्नुहोस्। उहाँले देखाएका आकर्षक गुणहरूबारे बारम्बार कुरा गर्नुहोस्। (मत्ती ८:२, ३; ११:२८-३०) उहाँले हाम्रो लागि आफ्नो जीवन दिनुभयो र पछि परमेश्वरले उहाँलाई स्वर्गमा अमर जीवन पाउनको लागि पुनर्जीवित पार्नुभयो भनेर बताउनुहोस्। उहाँले स्वर्गबाटै राजाको रूपमा शासन गर्नुहुन्छ।–प्रेषि. २:२९-३५.
परमेश्वरको राज्यले अहिले स्वर्गबाट शासन गरिरहेको छ भन्ने कुरामा जोड दिनुहोस्। तथापि अहिले मानिसले देखेको अनि अनुभव गरेको कुरा परमेश्वरको राज्यले शासन गरिरहेको प्रमाण हो भनेर थुप्रैले स्वीकार्दैनन्। यो कुरा मानिलिंदै परमेश्वरको राज्यले शासन गर्ने विषयमा येशू ख्रीष्टले दिएको प्रमाण तिनीहरूलाई थाह छ कि छैन, सोध्नुहोस्। मत्ती अध्याय २४, मर्कूस अध्याय १३ वा लूका अध्याय २१ मा पाइने मिश्रित चिह्नका केही विशेषता प्रकाश पार्नुहोस्। त्यसपछि ख्रीष्ट स्वर्गको सिंहासनमा बसेपछि पनि पृथ्वीको अवस्था यस्तो हुनुको कारण सोध्नुहोस्। प्रकाश १२:७-१०, १२ तर्फ ध्यान खिच्नुहोस्।
परमेश्वरको राज्यले के गरिरहेको छ भन्ने वास्तविक प्रमाणको लागि मत्ती २४:१४ पढ्नुहोस् र अहिले भइरहेको बाइबल शिक्षाको विश्वव्यापी कार्यक्रमबारे बताउनुहोस्। (यशै. ५४:१३) यहोवाका साक्षीहरूले लाभ उठाउने विभिन्न स्कूलबारे मानिसहरूलाई बताउनुहोस्। ती सबै बाइबलमा आधारित छन् र निश्शुल्क छन् भनेर पनि बताउनुहोस्। घर-घर गएर प्रचार गर्नुका साथै हामी २३० भन्दा धेरै मुलुकमा व्यक्तिविशेष तथा परिवारहरूलाई बाइबल आधारित निर्देशनहरू तिनीहरूको घरैमा गएर निश्शुल्क बताउँछौं भन्ने कुरा प्रस्ट पार्नुहोस्। कुनचाहिं मानव सरकारले आफ्ना जनतालाई मात्र नभई पृथ्वीभरिका मानिसहरूलाई यस्तो व्यापक रूपमा शिक्षा दिन सक्छ? राज्यभवनमा आउन, यहोवाका साक्षीहरूको सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुन अनि यस्तो शिक्षाले मानिसहरूको जीवनमा कस्तो प्रभाव पारिरहेको छ भन्ने कुरा आफै आएर हेर्न मानिसहरूलाई निमन्त्रणा दिनुहोस्।–यशै. २:२-४; ३२:१, १७; यूह. १३:३५.
तर परमेश्वरको राज्यले आफ्नो जीवनमा कसरी प्रभाव पार्छ भन्ने कुरा के घरधनीले महसुस गरेका छन्? तपाईंले तिनलाई भेट्नुको उद्देश्य सबैको लागि खुला गरिएको मौका अर्थात् परमेश्वरको राज्यको प्रजाको रूपमा जीवन रोज्ने मौकाबारे छलफल गर्नु हो भनेर कौशलतापूर्वक बताउन सक्नुहुन्छ। परमेश्वरको राज्यको प्रजा कसरी हुन सकिन्छ? परमेश्वरले चाहने कुराहरू सिकेर अनि अहिले त्यस अनुरूप जीवन बिताएर।–व्यव. ३०:१९, २०; प्रका. २२:१७.
परमेश्वरको राज्यलाई प्राथमिकता दिन अरूलाई मदत गर्नुहोस्। कुनै व्यक्तिले परमेश्वरको राज्यको सन्देश स्वीकारेपछि पनि केही निर्णय गर्नुपर्ने हुन्छ। तिनले आफ्नो जीवनमा परमेश्वरको राज्यलाई कत्तिको महत्त्व दिनेछन्? येशूले आफ्ना चेलाहरूलाई परमेश्वरको “राज्यलाई . . . पहिलो स्थान दिइरहो” भनेर आग्रह गर्नुभयो। (मत्ती ६:३३) यसो गर्न सँगी विश्वासीहरूलाई हामी कसरी मदत दिन सक्छौं? आफैले राम्रो उदाहरण बसालेर अनि राज्यलाई प्रथम स्थान दिएको देखाउन के-कस्ता मौका छन् भन्ने कुरा छलफल गरेर। कहिलेकाहीं कुनै-कुनै भाइबहिनीले सेवाका कुनै खास सुअवसरबारे विचार गरेका छन् कि भनी तिनीहरूलाई सोध्न सक्नुहुन्छ। अनि अरूले के गरिरहेका छन् भन्ने कुरा देखाउन अनुभवहरू बताउन सक्नुहुन्छ। यहोवाप्रतिको प्रेम अझ गहिरो हुनेगरि ती भाइबहिनीसँग बाइबल विवरणहरू पनि छलफल गर्न सक्नुहुन्छ। अर्को तरिका, परमेश्वरको राज्यको वास्तविकतामाथि जोड दिनु हो। परमेश्वरको राज्यको घोषणा गर्ने काम वास्तवमा कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरामा जोड दिन सकिन्छ। यसो-यसो गर्नुपर्छ भनेर बताउनुभन्दा पनि तिनीहरूमा यो काम गर्ने इच्छा जगाइदियौं भने अक्सर असल परिणाम प्राप्त हुन्छ।
निस्सन्देह, हामी सबैले घोषणा नगरी नहुने महत्त्वपूर्ण सन्देश विशेषगरि यहोवा परमेश्वर, येशू ख्रीष्ट र परमेश्वरको राज्यमा केन्द्रित छ। यससित सम्बन्धित महत्त्वपूर्ण सत्यलाई हामीले प्रचारकार्यमा, मण्डलीमा र हाम्रो व्यक्तिगत जीवनमा जोड दिनुपर्छ। त्यसो गऱ्यौं भने हामीले ईश्वरतान्त्रिक सेवा स्कूलबाट साँच्चै लाभ उठाइरहेका छौं भनेर देखाइरहेका हुन्छौं।