युवा जनहरू सोध्छन्. . .
छिन छिनमा बिरामी भइराख्छु, के गर्ने होला?
जेसन १८ वर्ष मात्र पुगेका थिए तर तिनको जीवनका सबै लक्ष्यहरू नै चकनाचूर भएजस्तो देखिन्थ्यो। तिनले मसीही सेवकको रूपमा पूर्ण-समय सेवा गर्ने लक्ष्य राखेका थिए तर आफूलाई क्रोन्स रोग लागेको थाह पाए। यो रोग पेटको गडबडीको कारणले गर्दा हुन्छ। यो रोग लाग्ने बिरामीलाई असह्य पीडा हुन्छ। तथापि, जेसनले आज आफ्नो परिस्थितिको सामना गरिरहेका छन्।
शायद तपाईं पनि त्यस्तै कुनै गम्भीर रोगसित संघर्ष गरिरहनुभएको होला। अघिल्लो अंकमा ब्यूँझनुहोस्!-ले तपाईंजस्तो जवान मानिस बिरामी हुँदा सामना गर्नुपर्ने चुनौतीहरूबारे छलफल गरेको थियो।a अब, आफ्नो परिस्थितिसित तपाईं कसरी जुझ्न सक्नुहुन्छ, हामी छलफल गरौं।
सकारात्मक मनोवृत्ति
जुनै पनि रोग सामना गर्न सकारात्मक मनोवृत्तिको खाँचो पर्छ। बाइबल यसो भन्छ: “मानिसको आत्माले त्यसलाई बिरामी अवस्थामा सहारा दिन्छ, तर आत्माले चोट लागेको छ भने कसले त्यसलाई निको तुल्याउनसक्छ?” (हितोपदेश १८:१४) निराशा, नकारात्मक सोचाइ तथा भावनाहरूले गर्दा रोग निको हुन झन् लामो समय लाग्नसक्छ। जेसनले यो कुरा शत प्रतिशत सही पाए।
पहिले त, जेसनले रीसजस्ता नकारात्मक भावनाहरू विरुद्ध संघर्ष गर्नुपऱ्यो किनभने यस्ता भावनाहरूले गर्दा तिनी झन् झनै उदास भइरहेका थिए। कुन कुराले मदत गऱ्यो? तिनी भन्छन्: “उदासीनताबारे प्रहरीधरहरा र ब्यूँझनुहोस्!-का लेखहरूले मलाई सकारात्मक विचारधारा राख्न मदत गऱ्यो। अब त म समस्या आउनुअघि नै अचाक्ली फिक्री गरेर उदास हुन्नँ।”b
सत्र वर्षीया कार्मेनले पनि त्यस्तैगरि सकारात्मक पक्षहरूमा ध्यान लगाउन सिकिन्। तिनी घातक रक्तअल्पताले ग्रस्त छिन् तैपनि आफूले पाइरहेका आशिष्हरूबारे विचार गर्छिन्। तिनी भन्छिन्: “मभन्दा पनि नाजुक हालतमा भएका मानिसहरूबारे सोच्छु। तिनीहरूले त मैले जत्ति पनि गर्न सक्दैनन्। अनि मलाई आफैदेखि दया लाग्नुको साटो आफूले जे जत्ति गर्न सकिरहेको छु, त्यसैमा खुशी लाग्छ।”
हितोपदेश १७:२२ यसो भन्छ: “प्रसन्न हृदयले हँसिलो अनुहार देखाउँछ।” कसै कसैले गम्भीर बिरामी हुँदा हाँस्नु ठीक होइन जस्तो ठान्लान्। तर असल प्रकारको ठट्टा र रमाइलो संगतिले तपाईंलाई स्फूर्ति दिनसक्छ अनि बाँच्ने इच्छा जगाउनसक्छ। वास्तवमा, आनन्द ईश्वरीय गुण हो। भनौं भने, परमेश्वरको आत्माको फल। (गलाती ५:२२) बिरामी हुनु भए तापनि यस आत्माको फलले तपाईंलाई आनन्दित हुन मदत गर्नसक्छ।—भजन ४१:३.
समझदार डाक्टरसित परामर्श लिने
जवान मानिसहरूको भावना बुझ्ने डाक्टरसित परामर्श लिनु मदतकारी हुन्छ। साधारणतया, जवान मानिसको मानसिक तथा भावनात्मक आवश्यकता वयस्कको भन्दा भिन्न हुन्छ। एश्ली १० वर्षको मात्र हुँदा घातक ब्रेन ट्युमरको उपचार गर्न अस्पतालमा भर्ना हुनुपऱ्यो। एश्लीका डाक्टरले तिनीसँग अनुकम्पापूर्ण ढंगमा व्यवहार गरे र तिनले बुझ्नसक्ने ढंगमा रोगबारे राम्ररी बताइदिए। आफू पनि बच्चा छँदा बिरामी भइरहने हुनाले डाक्टर बन्ने प्रेरणा पाएको कुरा तिनले एश्लीलाई बताए। तिनले दयालु ढंगमा तर स्पष्टसित एश्लीलाई कस्तो उपचार गरिन लागेको छ, त्यो बताए। यसले गर्दा एश्ली पछि अत्तालिने थिइनन्।
तपाईं र तपाईंको आमाबाबुले पनि तपाईंको कदर गर्ने तथा तपाईंको आवश्यकताहरू बुझ्ने डाक्टर खोज्नु बेस हुनेछ। यदि कुनै कारण तपाईं आफूले पाइरहेको हेरविचारमा सन्तुष्ट हुनुहुन्न भने, चित्त नबुझेका कुराहरू आमाबाबुलाई खुलस्त बताउनुहोस्।
आफ्नो स्वास्थ्य सुधार्न यथासक्दो गर्नुहोस्!
रोग विरुद्ध संघर्ष गर्न आफूले हर प्रयास गर्नु पनि आवश्यक छ। जस्तै, आफ्नो रोगबारे जत्ति जानकारी बटुल्न सक्नुहुन्छ, बटुल्नुहोस्। बाइबल हितोपदेशले यसो भन्छ: “शक्ति भन्दा ज्ञान झन् मुख्य हो।” (हितोपदेश २४:५) आफ्नो रोगबारे जानकारी भयो भने अनावश्यक डर त्रास भइराख्दैन।
यसबाहेक, बिरामीलाई रोगबारे राम्ररी जानकारी दिइएको छ भने तिनले आफूलाई अलग पारेको जस्तो महसुस गर्दैनन् र यथाशक्य सहयोग दिन इच्छुक हुन्छन्। उदाहरणका लागि, डाक्टरको परामर्शबिना चटक्कै औषधी सेवन गर्न छोड्नु हुँदैन भनी तिनले सिक्नसक्छन्। माथि उल्लिखित, कार्मेन अनि तिनका आमाबाबुले रक्तअल्पताबारे पुस्तकहरू पढे। आफूले पढेको आधारमा कार्मेनको लागि तिनीहरूले उत्तम उपचार पत्ता लगाउनसके।
डाक्टरलाई रोगसित सम्बन्धित प्रश्नहरू तोकेरै सोध्नुहोस् अनि आवश्यक परेमा वा केही कुरा राम्ररी बुझ्नुभएन भने दोऱ्याइ तेऱ्याइ सोध्न नहिचकिचाउनुहोस्। डाक्टरले सुन्न चाहेअनुसार होइन तर तपाईंलाई के भइरहेको छ, साँचो कुरा बताउनुहोस्। बाइबलले भनेझैं “परामर्श विनाको योजना विफल हुन्छ।”—हितोपदेश १५:२२.
एश्ली एक ताका आफ्नो रोगबारे कुरै गर्न नचाहने पनि भएकी थिइन्। आमालाई मात्र भन्ने गर्थिन्। एक चतुर समाजसेवीले तिनलाई एक्लै राखेर सोधिन्: “तिम्रो रोगबारे तिमीलाई सबै कुरा नबताएको जस्तो लाग्छ हो?” एश्लीले त्यो कुरा स्वीकारिन्। अतः, त्यस स्त्रीले एश्लीलाई तिनको चिकित्सासम्बन्धी रेकर्डहरू सबै देखाइन् र तिनलाई बुझाइन्। तिनले एश्लीको रोगबारे आमाबाबुसित मात्र कुरा गर्ने नगरी एश्लीसित पनि अझ बढी कुरा गर्न डाक्टरहरूलाई आग्रह गरिन्। अन्ततः, एश्लीले आफ्ना भावनाहरू पोखेपछि तिनले चाहिएको सहायता पाउन सकिन्।
अरूबाट सहयोग
परिवारको कुनै सदस्य सिकिस्त बिरामी हुँदा त्यो परिवारकै चिन्ताको विषय हुन जान्छ। परिवारका सबै सदस्यको मदत चाहिन्छ। एश्लीको परिवार तथा मसीही मण्डली तिनलाई सहयोग गर्न एक जुट भए। तिनी अस्पतालमा छिन् भनी मण्डलीलाई समय समयमा सम्झाइन्थ्यो। मण्डलीका सदस्यहरूले तिनलाई नियमित तवरमा भेट्न जान्थे अनि एश्ली र तिनको परिवारको दिनचर्या सामान्य नहोउञ्जेल घरधन्दा गर्न, खाना पकाउन मदत पुऱ्याए। एश्ली सिकिस्त बिरामी भएको समयमा बाहेक मण्डलीका अन्य बच्चाहरू तिनलाई भेट्न जान्थे। यो एश्लीको लागि मात्र नभई ती जवान साथीहरूका लागि पनि लाभकारी साबित भयो।
तर, अरूले तपाईंलाई मदत दिनुअघि तपाईंलाई मदत चाहिएको छ भनेर तिनीहरूले थाह पाउनुपर्छ। कार्मेन आफ्नो आमाबाबु र मण्डलीका प्राचीनहरूबाट भावनात्मक तथा आध्यात्मिक मदत खोज्छिन्। एउटै मसीही विश्वास भएको आफ्नो स्कूलका साथीहरूबाट पनि तिनी मदतको आशा गर्छिन्। कार्मेन भन्छिन्: “तिनीहरू मेरो पीर गर्छन् र मलाई मेरो वास्ता गर्ने कोही छ जस्तो लाग्छ।”
शायद, तपाईंको स्कूलले चिकित्सा तथा त्यसमा लाग्ने खर्चसम्बन्धी मदतकारी सल्लाहहरू दिनसक्ला र केही व्यक्तिगत सहयोगसमेत देला। उदाहरणका लागि, एश्लीको शिक्षिकाले विद्यार्थीहरूलाई तिनलाई चिठी लेख्न र भेट्न जान प्रोत्साहित गरिन्। तपाईंको अवस्था शिक्षकहरूले राम्ररी बुझ्दैनन् भने, तपाईंको आमाबाबुले स्कूलका अधिकारीहरूसित आदरपूर्वक कुरा गर्नु आवश्यक पर्नसक्छ।
मन अनि शरीरको कसरत गर्नुहोस्
एकदमै बिसञ्चो हुँदा के गरे कसो गरे सञ्चो हुन सकिन्छ भनी सोच्नबाहेक अरू केही पनि गर्न नसक्ने हुनसक्छ। तपाईं पूर्णतया असक्त हुनुहुन्न भने थुप्रै रचनात्मक कुराहरू गर्न सक्नुहुन्छ। जीवनको लागि संघर्ष गर्दा कस्ता भावनाहरू हुन्छन् (अंग्रेजी) पुस्तक तयार पार्न अनुसन्धान गर्दा लेखिका जील क्रेमेन्ट्सले यस्तो टिप्पणी गरिन्: “विगत दुइ वर्षसम्म अस्पताल धाउँदा मैले के देखें भने, बिरामी बच्चाहरू पनि केही नगरी टिभी मात्र हेरिरहन्छन्। यो देख्दा मलाई दुःख लाग्छ। यी बच्चाहरूलाई बढी पढ्नको निम्ति प्रोत्साहन दिनुपर्छ। दिमागलाई कसरत गराउने उत्तम ठाउँ अस्पतालको पलंग पनि हो।”
घरमा होस् या अस्पतालमा, तपाईंले दिमागको कसरत गर्नुभयो भने सञ्चो बनाउन मदत गर्नसक्छ। के तपाईंले चिठी वा कविताहरू लेख्ने कोसिस गर्नुभएको छ? चित्र कोर्न नि? तपाईंको अवस्थाले दिन्छ भने कुनै बाजा बजाउन सिके कसो होला? अस्वस्थताको कारण धेरै चलहल गर्न नसके तापनि गर्न सकिने कुराहरू धेरै छन्। निस्सन्देह, तपाईंले गर्नसक्ने सबैभन्दा उत्तम कुरा परमेश्वरलाई प्रार्थना गर्नु र उहाँको वचन, बाइबल पढ्ने बानी बसाल्नु हो।—भजन ६३:६.
हुन्छ भने, ठिक्क मात्रामा शारीरिक कसरत गर्नाले पनि तपाईंलाई अलि सञ्चो बनाउन मदत गर्छ। यसको लागि केही चिकित्सा केन्द्रहरूले जवानहरूका लागि शारीरिक उपचार कार्यक्रमहरू पनि राख्ने गर्छन्। यसो गर्दा शारीरिक रूपमा निको हुन मात्र मदत दिने होइन तर तपाईंको मनोबल पनि बढाउनसक्छ।
हरेस नखानुहोस्!
अत्यन्तै धेरै दुःख खप्नुपर्दा येशूले परमेश्वरलाई प्रार्थना गर्नुभयो, उहाँमा भरोसा राख्नुभयो र आफ्ना पीडाहरूबारे मात्र सोच्नुको साटो आनन्दमय भविष्यबारे सोच्नुभयो। (हिब्रू १२:२) आफ्नो पीडादायी अनुभवहरूबाट उहाँले पाठ सिक्नुभयो। (हिब्रू ४:१५, १६; ५:७-९) उहाँले मदत तथा प्रोत्साहनहरू स्वीकार्नुभयो। (लूका २२:४३) आफ्नै असुविधाहरूमा मात्र ध्यानकेन्द्रित गर्नुको साटो अरूको हितलाई विचार गर्नुभयो।—लूका २३:३९-४३; यूहन्ना १९:२६, २७.
तपाईं असाध्यै बिरामी हुनुभए तापनि अरूको निम्ति प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ। एश्लीकी दिदी अबिगेलले आफ्नो स्कूल रिपोर्टमा यसो लेखिन्: “मेरी बहिनीको जत्ति अरू कसैको तारिफ गर्न सक्दिनँ। अस्पतालमा गएर नशाबाट इन्जेक्सन लिनुपर्दा पनि हाँसी नै रहेकी हुन्छिन्!”c
जेसनले आफ्ना लक्ष्यहरू नै बदलेका छैनन्, खालि केही छाँटकाँट गरेका छन्। अब तिनको लक्ष्य परमेश्वरको राज्यका प्रचारकहरूको आवश्यकता कहाँ बढी छ, त्यहाँ सेवा गर्ने भएको छ। जेसनले सबै कामकुरा आफ्नो इच्छाअनुसार गर्नसकेनन्, तपाईंको पनि परिस्थिति त्यस्तै हुनसक्छ। महत्त्वपूर्ण कुरा के हो भने, रोगबारे बढ्तै चिन्ता गरेर वा अत्यन्तै लापरवाह भएर होइन तर आफ्नो सीमितताहरूसित जिउन सिक्नुपर्छ। आफूले सके जत्ति गर्न बुद्धि र बलको लागि यहोवामा भर पर्नुहोस्। (२ कोरिन्थी ४:१६; याकूब १:५) अनि नबिर्सनुहोस्, यो पृथ्वी प्रमोदवनमा परिणत हुने समय पनि आउनेछ जब “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’ ” (यशैया ३३:२४) हो, एक दिन तपाईं स्वस्थ हुनुहुनेछ!
[फुटनोटहरू]
a मे १, १९९७, ब्यूँझनुहोस्!-को पृष्ठ २२-२४ हेर्नुहोस्।
b प्रहरीधरहरा, (अंग्रेजी) अक्टोबर १, १९९१, पृष्ठ १५; मार्च १, १९९०, पृष्ठ ३-९; र ब्यूँझनुहोस्! (अंग्रेजी) अक्टोबर २२, १९८७, पृष्ठ २-१६; नोभेम्बर ८, १९८७, पृष्ठ १२-१६ हेर्नुहोस्।
c वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित पारिवारिक आनन्दको रहस्य पुस्तकको पृष्ठ ११६-२७ पनि हेर्नुहोस्।
[पृष्ठ २६-मा भएको चित्र]
अबिगेल आफ्नी बहिनी एश्लीको साहसको तारिफ गर्छिन्