अध्याय छ
तपाईंको किशोरकिशोरीलाई फल्न फुल्न मदत दिनुहोस्
१, २. किशोरावस्थामा के कस्ता आनन्द तथा चुनौतीहरू आइपर्न सक्छन्?
किशोरावस्थामा पुगेका जवान छोराछोरी घरमा हुनु, पाँच वा दश वर्षीय केटाकेटी भएको जस्तो होइन। किशोरावस्थाका आफ्नै चुनौती तथा समस्याहरू हुन्छन्। तर ती क्षणहरू आनन्दमय तथा फलदायी पनि हुनसक्छन्। युसूफ, दाऊद, योशियाह र तिमोथीलाई विचार गर्नुहोस्। युवकहरू भरपर्दा हुनसक्छन् तथा तिनीहरूले यहोवासित राम्रो सम्बन्ध कायम राख्नसक्छन् भन्ने कुरा तिनीहरूले प्रदर्शित गरे। (उत्पत्ति ३७:२-११; १ शमूएल १६:११-१३; २ राजा २२:३-७; प्रेरित १६:१, २) यही कुरा आज पनि थुप्रै किशोरकिशोरीहरूले प्रमाणित गर्दैछन्। तीमध्येका केहीलाई तपाईं पनि चिन्नुहुन्छ होला।
२ तर कसैका लागि किशोरावस्था खलबलीपूर्ण हुन्छ। केही किशोरकिशोरीहरू भावनात्मक उथलपुथल अनुभव गर्छन्। तिनीहरूले अझ बढी स्वतन्त्रता चाहनसक्छन्। आमाबाबुले तिनीहरूमाथि लगाएका प्रतिबन्धहरूसित तिनीहरू रुष्ट हुनसक्छन्। तथापि, यी युवायुवतीहरूले यथेष्ट अनुभवहरू पाएका हुँदैनन्। तिनीहरूलाई अझै पनि आमाबाबुको मायालु तथा धैर्यपूर्ण मदतको खाँचो पर्छ। अतः किशोरावस्था एकातिर रोमाञ्चकारी हुनसक्छ भने, अर्कोतिर त्यसले आमाबाबु तथा छोराछोरी दुवैलाई अन्योलमा पार्नसक्छ। यसकारण, यी किशोरकिशोरीहरूलाई कसरी मदत दिन सकिन्छ?
३. आमाबाबुहरूले आफ्नो जवान छोराछोरीलाई जीवनमा राम्रो मौका कसरी दिनसक्छन्?
३ बाइबलमा दिइएको सल्लाह अनुसरण गर्ने आमाबाबुले आफ्ना छोराछोरीलाई किशोरावस्थाका कठिनाइहरूसित सफलतापूर्वक डटेर जिम्मेवार वयस्क बन्ने सर्वोत्तम मदत दिनसक्छन्। बाइबलका सिद्धान्तहरूलाई सँगै मिलेर व्यवहारमा ल्याउने आमाबाबु र किशोरकिशोरीहरूले हर मुलुक तथा हर समयमा सफलता हासिल गरेका छन्।—भजन ११९:१.
विचारहरूको खुलस्त आदानप्रदान
४. किशोरावस्थामा पुगेका छोराछोरीसित मन खोलेर कुरा गर्नु किन ज्यादै महत्त्वपूर्ण हुन्छ?
४ बाइबल भन्छ: “परामर्श विनाको योजना विफल हुन्छ।” (हितोपदेश १५:२२) छोराछोरी सानै छँदा त आपसमा मन खोलेर कुराकानी गर्न आवश्यक थियो भने, तिनीहरू किशोरावस्थामा पुग्दा त्यसो गर्नु अझै जरुरी हुन्छ। किनकि त्यतिखेर किशोरकिशोरीहरूले आफ्ना धेरैजसो समय घरबाहिर, स्कूलमा अथवा अन्य साथीहरूसित बिताउने गर्छन्। घरमा आमाबाबु तथा छोराछोरीबीच मन खोलेर कुरा गर्ने तथा विचारहरूको आदानप्रदान गर्ने बानी छैन भने, किशोरकिशोरीहरू आफ्नै घरमा पनि बिरानो बन्नसक्छन्। अतः पारस्परिक कुराकानीको धारा कसरी खुल्ला रहनसक्छ?
५. किशोरकिशोरीहरूले आमाबाबुसित गर्ने कुराकानीलाई कुन दृष्टिले हेर्नु उचित हो?
५ यसमा आमाबाबु तथा किशोरकिशोरीहरू दुवैले आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। हो, यी किशोरकिशोरीहरूलाई आमाबाबुसित कुरा गर्न आफू सानो छँदा जति सजिलो लाग्थ्यो, त्यति सजिलो अब नलाग्ला। तर नबिर्सनुहोस्, “बुद्धि भएको अगुवा [निपुण निर्देशन, NW] छैन भने, जातिको पतन हुन्छ, तर सल्लाहकार धेरै भएकाले सुरक्षा हुन्छ।” (हितोपदेश ११:१४) यी शब्दहरू वृद्ध तथा जवान दुवैमा लागू हुन्छन्। यसलाई स्वीकार्ने किशोरकिशोरीहरूले बुद्धि तथा निपुण निर्देशनको खाँचो महसुस गर्नेछन्। किनकि अब तिनीहरूसामु पहिलेभन्दा अझ जटिल समस्याहरू खडा हुन्छन्। तिनीहरूले विश्वासमा भएका आफ्ना आमाबाबुलाई निपुण सल्लाहकार मान्नुपर्छ। उनीहरू बढी अनुभवी छन् भनेर स्वीकार्नुपर्छ। उनीहरूले छोराछोरीका लागि आफ्नो मायालु चासोको प्रमाण वर्षौंदेखि दिंदै आएका हुन्छन्। यसकारण, जीवनको यस मोडमा बुद्धिमान किशोरकिशोरीहरू आफ्ना आमाबाबुबाट अलग हुँदैनन्।
६. किशोरावस्थामा पुगेका छोराछोरीसित गरिने पारस्परिक कुराकानीबारे मायालु तथा जिम्मेवार आमाबाबुले कस्तो दृष्टिकोण अपनाउनेछन्?
६ मन खोलेर विचारको आदानप्रदान गर्नुको अर्थ किशोरकिशोरीहरूलाई कुरा गर्नु खाँचो पर्दा आमाबाबु पनि सकेसम्म तयार हुनुपर्छ। तपाईं आमाबाबु हुनुहुन्छ भने, कुनै पनि बेला कुराकानी गर्न तयार तथा इच्छुक हुनुहुन्छ भनी स्पष्ट पार्नुहोस्। यसो गर्नु शायद सजिलो हुँदैन। बाइबल भन्छ, “चूप्प लाग्ने एउटा समय छ, बोल्ने एउटा समय।” (उपदेशक ३:७) छोरा वा छोरीको बोल्ने समय तपाईंका लागि चुप लाग्ने समय हुनसक्छ। सम्भवतः तपाईंले त्यो समयमा व्यक्तिगत अध्ययन, आराम अथवा घरमा अरू नै केही काम गर्ने विचार गर्नुभएको होला। तैपनि आफ्नो योजनामा काँटछाँट गर्न तयार हुनुहोस्। जवान छोरा वा छोरी तपाईंसित कुरा गर्न चाहन्छ भने, तपाईं पनि सुन्न तयार हुनुहोस्। नत्रभने उसले फेरि यसरी कुरा गर्ने प्रयास नगर्ला। येशूको उदाहरण सम्झनुहोस्। एक पटक उहाँले आराम गर्ने समय निकाल्नुभएको थियो। तर उहाँको कुरा सुन्न इच्छुक मानिसहरूको भीड उहाँको वरिपरि ओइरिंदा उहाँले आराम गर्ने विचार छाड्नुभयो। बरु आएका मानिसहरूलाई सिकाउन थाल्नुभयो। (मर्कूस ६:३०-३४) आफ्ना आमाबाबु कति व्यस्त छन्, धेरै किशोरकिशोरीहरूलाई थाह छ। तैपनि खाँचो परेको बेला आमाबाबुहरू मदत दिन सधैं तयार हुँदा छोराछोरी ढुक्क हुन्छन्। यसकारण आमाबाबुहरू हो, आफ्ना छोराछोरीलाई मदत दिन सधैं तयार रहनुहोस्। तिनीहरूको मर्म बुझ्नुहोस्।
७. आमाबाबुले के गर्नु हुँदैन?
७ तपाईं किशोरावस्थामा हुनुहुँदा कस्तो हुनुहुन्थ्यो, सम्झने प्रयास गर्नुहोस्। हँस्सी मजाक गर्नुहोस्! छोराछोरीसित समय बिताउन आमाबाबु इच्छुक हुनुपर्छ। आमाबाबुले फुर्सतको समय कसरी बिताउँछन्? तिनीहरू फुर्सतको समय परिवारसित कहिल्यै बिताउन चाहँदैनन् भने नौजवान छोराछोरीले तुरुन्तै त्यो बुझ्नेछन्। आमाबाबुले भन्दा स्कूलका साथीहरूले तिनीहरूको बढी कदर गर्छन् भनी तिनीहरूले सोच्न थालेपछि समस्याहरू निश्चय खडा हुनेछन्।
के कस्तो विषयमा कुराकानी गर्ने
८. छोराछोरीलाई इमानदारी, कडा परिश्रम अनि उचित आचरणको मोल गर्न कसरी सिकाउन सकिन्छ?
८ आमाबाबुहरूले छोराछोरीलाई इमानदारी तथा परिश्रमको महत्त्व अहिलेसम्म सिकाएका छैनन् भने, किशोरावस्थामा पुग्दा त अवश्य सिकाइ हाल्नुपर्छ। (१ थिस्सलोनिकी ४:११; २ थिस्सलोनिकी ३:१०) छोराछोरीलाई स्वच्छ तथा शुद्ध नैतिक जीवनको महत्त्व पूर्णतः बुझ्ने मदत दिनु पनि अत्यावश्यक छ। (हितोपदेश २०:११) यसप्रकारको मदत आमाबाबुले प्रायः आफ्नै उदाहरणद्वारा दिनसक्छन्। विश्वास नगर्ने पतिहरू “पत्नीको चालचलन . . . देखेर” जसरी प्रभावित हुनसक्छन् त्यसरी नै किशोरकिशोरीहरूले पनि आफ्नो आमाबाबुको आचरणद्वारा सही सिद्धान्तहरू सिक्नसक्छन्। (१ पत्रुस ३:१) तर उदाहरणले मात्र पुग्दैन। घरबाहिर थुप्रै खराब उदाहरणहरू तथा लोभ्याउने प्रचार प्रसारको प्रभाव छोराछोरीमाथि परिरहेको हुन्छ। अतः यी देखेका तथा सुनेका कुराहरूप्रति आफ्ना किशोरकिशोरीहरूको दृष्टिकोण के हो, मायालु आमाबाबुले पत्ता लाउनु जरुरी छ र यसको लागि अर्थपूर्ण कुराकानी आवश्यक हुन्छ।—हितोपदेश २०:५.
९, १०. आमाबाबुले छोराछोरीलाई यौन शिक्षा किन दिनैपर्छ र यो कसरी गर्न सकिन्छ?
९ विशेषगरि, यौनसम्बन्धी विषयहरूमा यो कुरा लागू हुन्छ। आमाबाबुहरू हो, के तपाईलाई आफ्नो छोराछोरीसित यौनबारे कुरा गर्नु संकोच लाग्छ? संकोच लागे तापनि कुरा गर्ने कोसिस गर्नुहोस्। किनकि जवान छोराछोरीले आखिर कुनै न कुनै व्यक्तिबाट त्यस्तो जानकारी हासिल गरी हाल्नेछन्। तर कसलाई थाह, त्यो कस्तो विकृत रूपमा हासिल हुनेछ। बाइबलमा यहोवा, यौनसम्बन्धी कुरा गर्नदेखि पछि हट्नुभएको छैन। अतः आमाबाबु किन पछि हट्ने?—हितोपदेश ४:१-४; ५:१-२१.
१० यौन आचरणसम्बन्धी बाइबलमा स्पष्ट निर्देशन दिइएको छ र यसका लागि हामी कृतज्ञ छौं। साथै, उक्त निर्देशन आधुनिक संसारमा पनि लागू हुन्छ भनी देखाउन वाच टावर सोसाइटीले प्रशस्त जानकारी प्रकाशित गर्दै आएको छ। यसबाट किन फायदा नउठाउने? उदाहरणका लागि, युवा जनहरूका प्रश्न तथा त्यसका उपयोगी जवाफ, खण्ड १ पुस्तकबाट “यौन अनि नैतिकता” भन्ने भागलाई आफ्नो छोरा वा छोरीसित बसेर छलफल किन गर्नुहुन्न? परिणामबाट तपाईं छक्क मात्र होइन, खुशी पनि हुनुहोला।
११. आमाबाबुले छोराछोरीलाई यहोवाको सेवा गर्न सिकाउने सर्वोत्तम तरिका के हो?
११ आमाबाबु तथा छोराछोरी बसेर छलफल गर्नुपर्ने सबैभन्दा मुख्य विषय के हो? त्यसलाई औंल्याउँदै प्रेरित पावलले यसप्रकार लेखे: “तिमीहरूका बालकहरूलाई . . . प्रभुको शिक्षा र चे[ता]उनीमा पालन-पोषण गर।” (एफिसी ६:४) छोराछोरीले यहोवाबारे सिक्न छाड्नु हुँदैन। विशेषतः तिनीहरूले उहाँलाई प्रेम गर्न सिक्नुपर्छ। उहाँको सेवा गर्न तिनीहरू इच्छुक हुनुपर्छ। यहाँ पनि आफ्नो उदाहरणद्वारा धेरै कुरा सिकाउन सकिन्छ। आमाबाबुले परमेश्वरलाई आफ्नो ‘सारा हृदयले, र सारा प्राणले, र सारा समझले प्रेम’ गरेको तथा यसले तिनीहरूको जीवनमा राम्रो असर पारेको किशोरकिशोरीहरूले देख्नुपर्छ। अनि तिनीहरू पनि ठीक त्यसै गर्न प्रोत्साहित हुनेछन्। (मत्ती २२:३७) त्यस्तैगरि भौतिक कुराहरूप्रति आमाबाबुले सन्तुलित दृष्टिकोण अपनाउँदा तथा परमेश्वरको राज्यलाई प्रथम स्थान दिंदा छोराछोरी पनि यस्तै मनोवृत्ति विकसित गर्न प्रेरित हुन्छन्।—उपदेशक ७:१२; मत्ती ६:३१-३३.
१२, १३. पारिवारिक अध्ययन सफल बनाउन कुन कुन कुरामा ध्यान दिनुपर्छ?
१२ साप्ताहिक पारिवारिक बाइबल अध्ययन जवान मानिसहरूलाई आध्यात्मिक मूल्यहरू सिकाउन धेरै मदतकारी हुन्छ। (भजन ११९:३३, ३४; हितोपदेश ४:२०-२३) यस्तो अध्ययन नियमित तवरमा गर्नु अत्यावश्यक छ। (भजन १:१-३) आमाबाबु तथा छोराछोरी दुवैले पारिवारिक अध्ययनलाई अरू कामकुरालाई भन्दा बढी प्राथमिकता दिनुपर्छ। यसबाहेक पारिवारिक अध्ययन वास्तवमा लाभदायक बनाउनका लागि सही वातावरण पनि चाहिन्छ। एक जना बुबा यसो भन्छन्: “सञ्चालकले पारिवारिक अध्ययनमा रमाइलोपन तथा गम्भीरता, दुवै कायम राख्न सक्नुपर्छ। वातावरण अनौपचारिक हुनुपर्छ तर ख्यालठट्टापूर्ण होइन। ठीक सन्तुलन कायम राख्नु सधैं सजिलो हुँदैन। जवान मानिसहरूको मनोवृत्तिमा बारम्बार काँटछाँट गर्नु आवश्यक भइरहन्छ। तर एक दुइ पटकमा राम्रो भएन भन्दैमा हार नमान्नुहोस्। फेरि अर्को पटक कोसिस गर्नुहोस्।” यही बुबा अझ के भन्छन् भने, उपस्थित सबैको दृष्टिकोण राम्रो होस् भनी हरेक अध्ययनअघि तिनले प्रार्थना पनि गर्थे।—भजन ११९:६६.
१३ पारिवारिक अध्ययन सञ्चालन गर्ने जिम्मेवारी विश्वासमा भएका आमाबाबुको हो। हो, केही आमाबाबुहरू निपुण शिक्षकहरू नहोलान्। पारिवारिक अध्ययन रुचिकर बनाउन उनीहरूलाई गाह्रो पर्नसक्छ। तथापि, तपाईं आफ्नो हुर्केका छोराछोरीलाई “कामले साँचो प्रेम” गर्नुहुन्छ भने, सक्दोभर तथा नम्रतापूर्वक तिनीहरूलाई आध्यात्मिक मदत दिन उत्सुक हुनुहोस्। (१ यूहन्ना ३:१८) समय समयमा तिनीहरूले गुनासो गर्लान्। तर तिनीहरूको भलाइमा तपाईं कति गहिरो चासो लिनुहुन्छ, तिनीहरूले बुझ्नेछन्।
१४. किशोरकिशोरीहरूलाई आध्यात्मिक कुराहरूको व्याख्या गर्दा व्यवस्था ११:१८, १९ कसरी प्रयोग गर्न सकिन्छ?
१४ तापनि, महत्त्वपूर्ण आध्यात्मिक विषयहरूको छलफल पारिवारिक अध्ययन हुने बेलामा मात्र गर्ने होइन। यहोवाले आमाबाबुलाई के भन्नुभएको थियो, तपाईंलाई सम्झना छ? “मेरा यी वचनहरू आफ्ना हृदयमा राख। औ ती आफ्ना हातमा एक चिह्न स्वरूप बाँध्नू र निधारमा त्यो एक व्यवस्था-बूटी बन्नेछ। औ आफ्नो घरमा बस्ता, बाटोमा हिंड़दा, ढल्कँदा र उठदा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गर, र आफ्ना छोरा-छोरीहरूलाई सिकाओ।” (व्यवस्था ११:१८, १९; व्यवस्था ६:६, ७ पनि हेर्नुहोस्) तर यसको अर्थ, आमाबाबुले सधैं छोराछोरीलाई भाषण सुनाइरहनु भनेको होइन। बरु मायालु पिताले सधैं परिवारको आध्यात्मिक दृष्टिकोणमा उन्नति ल्याउने मौका खोजी रहनुपर्छ।
अनुशासन तथा आदर
१५, १६. (क) अनुशासन के हो? (ख) अनुशासन दिने जिम्मेवारी कसलाई सुम्पिएको छ तर त्यो पालन गर्ने जिम्मेवारी कसको हो?
१५ अनुशासन व्यक्तिविशेषलाई सुधार्नका लागि दिइने प्रशिक्षण हो र त्यसमा पारस्परिक कुराकानी पनि समावेश हुन्छ। अनुशासन दिंदा अक्सर सजाय दिनु परे तापनि अनुशासनको अर्थ विशेषतः सुधार हो, सजाय होइन। छोराछोरी सानो छँदा तिनीहरूलाई अनुशासनको खाँचो थियो। तर अब तिनीहरू किशोरकिशोरी भइसकेको हुँदा कुनै न कुनै रूपमा अझ बढी अनुशासन चाहिनसक्छ। यस तथ्यलाई बुद्धिमान किशोरकिशोरीहरूले स्वीकार्छन्।
१६ बाइबल भन्छ: “मूर्खले आफ्नो बाबुको अर्तीलाई तुच्छ ठान्छ, तर हप्की सुन्नु असल कुरा हो।” (हितोपदेश १५:५) यो शास्त्रपदबाट हामी धेरै कुरा सिक्छौं। एउटा त, अनुशासन दिनु अनिवार्य छ। किनकि अनुशासन दिंदै नदिएमा किशोरकिशोरीले हप्की “सुन्न” सक्तैनन्। अनुशासन दिने जिम्मेवारी यहोवाले आमाबाबु, विशेषतः बुबालाई सुम्पनुभएको छ। तथापि, अनुशासन सुन्ने अथवा स्वीकार्ने जिम्मेवारी चाहिं उहाँले किशोरकिशोरीलाई दिनुभएको छ। आमाबाबुको बुद्धिमानी अनुशासन स्वीकारेमा तिनीहरूले थोरै गल्ती तथा बढी ज्ञान आर्जन गर्नेछन्। (हितोपदेश १:८) बाइबल भन्छ: “अर्ती नमान्नेले दरिद्रता र अपमान ल्याउँछ, तर शिक्षा मनमा राख्नेको मान हुन्छ।”—हितोपदेश १३:१८.
१७. अनुशासन दिंदा आमाबाबुले कुन कुरामा सन्तुलन राख्ने कोसिस गर्नुपर्छ?
१७ किशोरकिशोरीहरूलाई अनुशासन दिंदा आमाबाबु सन्तुलित हुनुपर्छ। आमाबाबुले ज्यादै कडाइ गरेमा छोराछोरी दिक्क हुनसक्छन् तथा तिनीहरूको आत्मविश्वास नै ढलपल हुनसक्छ। (कलस्सी ३:२१) तर अर्कोतिर आमाबाबुले ज्यादै स्वतन्त्रता पनि दिनु हुँदैन। नत्रता जवान छोराछोरीले त्यो अत्यावश्यक प्रशिक्षण पाउनेछैनन्। त्यस्तो स्वतन्त्रता हानिकारक हुनसक्छ। हितोपदेश २९:१७ भन्छ: “आफ्नो छोरालाई सुधार, र त्यसले तँलाई सुख दिन्छ, र तँलाई सब किसिमको आनन्द मिल्छ।” तथापि २१ पदले भन्छ: “दासलाई बाल्यकालदेखिनै खूब लाड़-प्यार गऱ्यो भने आखिरमा त्यो कृतघ्न हुन्छ।” यहाँ दासको चर्चा गरिए तापनि यही सिद्धान्त घरको जवान छोराछोरीमाथि पनि लागू हुन्छ।
१८. अनुशासन के को प्रमाण हो र नियमित ढंगमा अनुशासन दिंदा केबाट जोगिन सकिन्छ?
१८ साँच्चै, उचित अनुशासन छोराछोरीप्रति आमाबाबुको प्रेमको प्रमाण हो। (हिब्रू १२:६, ११) हुन त, नियमित तवरमा व्यवहारिक अनुशासन दिनु कति गाह्रो हुन्छ, आमाबाबुलाई राम्ररी थाह छ। कहिलेकाहीं त किशोरावस्थामा पुगिसकेको अटेर छोराछोरीलाई जे मन लाग्छ त्यही गर्न दिंदा नै घरमा शान्ति हुन्छ जस्तो लाग्नसक्छ। तर यस्तो विचार गर्ने आमाबाबुको परिवार पछि अनियन्त्रित हुनेछ।—हितोपदेश २९:१५; गलाती ६:९.
काम तथा खेल
१९, २०. किशोरावस्थामा पुगेका छोराछोरीको मनोरञ्जनबारे आमाबाबुले बुद्धिमानीसाथ के गर्नसक्छन्?
१९ केही वर्षअघि छोराछोरीले साधारणतः घर वा खेतको कामकाजमा मदत पुऱ्याउने चलन थियो। तर आज भने किशोरकिशोरीहरूसित निकै फुर्सत हुन्छ। त्यो फुर्सतको समय चलाउन व्यापारीहरूले प्रशस्त मनोरञ्जन सामग्री उपलब्ध गरेका छन्। यसबाहेक, वर्तमान संसारले बाइबलका नैतिक स्तरहरूलाई खास महत्त्व दिंदैन। यी सबैले गर्दा एउटा अति नै खतरनाक स्थिति खडा हुनसक्छ।
२० अतः बुद्धिमान आमाबाबुले मनोरञ्जनसम्बन्धी फैसलाहरू आफै गर्छन्। तर नबिर्सनुहोस्, तपाईंका छोराछोरी पनि हुर्कंदै छन्। अतः समय बित्दै जाँदा आमाबाबुले आफूसित वयस्कसँग गर्ने व्यवहार गरोस् भन्ने आशा तिनीहरूले गर्नसक्छन्। यसकारण, किशोरकिशोरीहरू बढ्दै जाँदा मनोरञ्जनको छनौटसम्बन्धी तिनीहरूलाई अलिकता बढी स्वतन्त्रता दिंदै जानु बेस हुनेछ। तर छोराछोरीले गरेको छनौटमा आध्यात्मिक प्रगति झल्किनुपर्छ। कहिलेकाहीं तिनीहरूले संगीत, मित्र इत्यादिबारे गलत छनौट गर्नसक्छन्। यस्तो हुँदा, तिनीहरूसित बसेर छलफल गर्नु आवश्यक हुन्छ। यसप्रकार तिनीहरूलाई भविष्यमा राम्रो छनौट गर्ने मदत दिन सकिन्छ।
२१. मनोरञ्जनमा आवश्यकभन्दा बढी समय नबिताउँदा किशोरकिशोरीहरू कसरी सुरक्षित रहनसक्छन्?
२१ मनोरञ्जनमा कति जति समय बिताउनु ठीक हो? कुनै कुनै मुलुकका किशोरकिशोरीहरूको विचारमा रमाइलो भन्ने कुरा निरन्तर तथा हरबखत गरिरहनु तिनीहरूको अधिकार हो। फलतः तिनीहरूले “रमाइलो” अवसर सिद्धिने बित्तिकै अर्को “रमाइलो” सुरु गर्ने योजना मिलाउनसक्छन्। तर अरू कामकुरामा पनि समय बिताउनुपर्छ भनी आमाबाबुले सिकाउनुपर्छ। उदाहरणका लागि, पारिवारिक तथा व्यक्तिगत अध्ययन, आध्यात्मिक परिपक्व मानिसहरूसितको संगति, मसीही सभाहरू र घरको कामकाजमा पनि समय बिताउनुपर्छ भनेर किशोरकिशोरीहरूलाई बताउनु आवश्यक छ। यसो गर्दा “जीवनका सुखचैन[को]” कारण परमेश्वरको वचन निसासिन पाउँदैन।—लूका ८:११-१५.
२२. किशोरकिशोरीहरूले जीवनमा मनोरञ्जनका साथै के पनि गर्नु अत्यावश्यक छ?
२२ राजा सुलेमानले भने: “जीवित छँदानै सबैभन्दा सुन्दर जीवन निर्वाह गर्नु र सुखी हुनबाहेक मानिसको निम्ति अरू केही कुरो असल छैन भनी म जान्दछु। त्यसबाहेक आफ्नो सारा परिश्रमको फलस्वरूप मानिसले खानु, पिउनु र आनन्द उपभोग गर्नुनै परमेश्वरको दान हो।” (उपदेशक ३:१२, १३) हो, आनन्द उपभोग गर्नु सन्तुलित जीवनको भाग हो। तथापि, सन्तुलित जीवनको अर्को भाग कडा परिश्रम पनि हो। कडा परिश्रम गरेपछि पाउने सन्तोषको स्वाद आजका थुप्रै किशोरकिशोरीहरूले कहिल्यै चाख्न पाएका छैनन्। नता कुनै समस्याको सामना तथा समाधान गरेर आत्मसम्मान नै महसुस गरेका छन्। कतिपयले जीवन निर्वाहका लागि कुनै सीप सिक्ने मौका पाएका हुँदैनन्। आमाबाबुका लागि यो एउटा खास चुनौती हो। ती जम्मै गर्ने मौका के तपाईंले आफ्नो जवान छोराछोरीलाई दिनुहुनेछ? किशोरावस्थामा पुगेका आफ्ना छोराछोरीलाई कडा मेहनत रुचाउन तथा त्यसको मोल गर्न सिकाउनुभयो भने, तिनीहरूले स्वास्थ्यकर मनोवृत्ति विकसित गर्न सक्नेछन्। यसबाट तिनीहरू आजीवन लाभान्वित हुनेछन्।
किशोरकिशोरीबाट वयस्क
२३. आमाबाबुले किशोरावस्थामा पुगेका छोराछोरीलाई कसरी प्रोत्साहन दिनसक्छन्?
२३ किशोरावस्थामा पुगेका आफ्ना छोराछोरी र तपाईंबीच कुनै समस्या उठ्यो भने, यो शास्त्रपद लागू हुन्छ: “प्रेम कहिल्यै टल्दैन।” (१ कोरिन्थी १३:८) आफ्नो हृदयमा भएको प्रेम प्रदर्शित गर्न कहिल्यै नछाड्नुहोस्। आफूलाई सोध्नुहोस्: “मेरो बच्चाले कुनै समस्या वा बाधा सफलतापूर्वक समाधान गर्दा के म उसको प्रशंसा गर्छु? के म आफ्ना छोराछोरीका लागि मेरो प्रेम तथा मूल्यांकन व्यक्त गर्ने मौका छोप्छु?” कहिलेकाहीं गलतफहमीहरू भइहाल्छन्। तर घरका किशोरकिशोरीहरू तपाईंको प्रेमबारे निर्धक्क छन् भने, तिनीहरूले पनि सोही प्रकारको प्रेम प्रकट गर्नेछन्।
२४. छोराछोरी हुर्काउँदा कुन धर्मशास्त्रीय सिद्धान्त साधारणतः लागू हुन्छ तर के चाहिं बिर्सनु हुँदैन?
२४ हो, छोराछोरी वयस्क हुँदै जाँदा तिनीहरूले अन्ततः आफ्ना लागि ठूल-ठूला फैसला गर्नेछन्। कहिलेकाहीं ती फैसलाहरू आमाबाबुलाई मन नपर्न पनि सक्छ। उदाहरणका लागि, कुनै छोरा वा छोरीले उप्रान्त यहोवाको सेवा नगर्ने फैसला गऱ्यो भने नि? यस्तो हुनसक्छ। स्वयं यहोवाकै केही आत्मिक पुत्रहरूले पनि उहाँको सल्लाह तिरस्कार गरे। तिनीहरू विद्रोही भए। (उत्पत्ति ६:२; यहूदा ६) छोराछोरी, हाम्रो इच्छानुसार काम गराउन मिल्ने कम्प्युटर होइनन्। छोराछोरीको आफ्नै स्वतन्त्र इच्छा हुन्छ। तिनीहरू स्वतन्त्र प्राणीहरू हुन्। तिनीहरू आफ्ना फैसलाहरूका लागि यहोवासमक्ष जिम्मेवार छन्। तापनि, हितोपदेश २२:६ मा उल्लिखित यो सिद्धान्त साधारणतः लागू हुन्छ: “बालकलाई ठीक बाटोमा लगाऊ, र वृद्धावस्थामा पनि त्यसले त्यो त्याग्दैन।”
२५. आमाबाबु हुन पाएकोमा यहोवाप्रति कृतज्ञता जाहेर गर्ने सर्वोत्तम तरिका के हो?
२५ अतः छोराछोरीलाई प्रशस्त मात्रामा प्रेम देखाउनुहोस्। तिनीहरूलाई हुर्काउँदा सकेसम्म बाइबल सिद्धान्तहरू प्रयोग गर्नुहोस्। ईश्वरीय आचरणको राम्रो उदाहरण बन्नुहोस्। यसप्रकार तपाईंले आफ्ना छोराछोरीलाई ईश्वरभीरु तथा जिम्मेवार वयस्क बन्ने सर्वोत्तम मौका दिनुहुनेछ। आमाबाबु हुन पाएकोमा यहोवाप्रति कृतज्ञता ज्ञापन गर्ने यो सबैभन्दा असल तरिका हो।