परमेश्वरसँग हिंडिरहनुहोस्
“आत्माको भरमा हिंड़, र तिमीहरूले शरीरको लालसा कुनै किसिमले पूरा गर्नु पर्नेछैन।”—गलाती ५:१६.
१. (क) हनोक कस्तो परिस्थितिबीच र कतिञ्जेल परमेश्वरसँगसँगै हिंडे? (ख) नूह कतिञ्जेल परमेश्वरसित हिंडे र तिनले कस्तो गम्भीर जिम्मेवारी पूरा गर्नुपरेको थियो?
हनोक “परमेश्वरका साथसाथ हिंड़थे” भनेर बाइबलले बताउँछ। वरपरका मानिसहरूका घिनलाग्दा बोली र दुष्ट चालचलन भए तापनि ३६५ वर्षको उमेरमा मृत्यु नहोउञ्जेल तिनी परमेश्वरसित हिंडिरहे। (उत्पत्ति ५:२३, २४; यहूदा १४, १५) नूह पनि “परमेश्वरको साथै हिड़नेगर्थे।” परिवारको लालनपालन गर्दै अनि विद्रोही स्वर्गदूत र तिनीहरूका सन्तानको हिंसात्मक उपद्रवले प्रभावित भएको संसारसँग जुझ्दै अनि साथै परमेश्वरले दिनुभएको एक एक विवरणअनुरूप प्राचीन समयको सबैभन्दा विशाल जहाज बनाउँदै तिनी परमेश्वरसँग हिंडे। जलप्रलयपछि बाबेलमा यहोवाका विद्रोहीहरूले फेरि शिर उठाउँदा समेत तिनी परमेश्वरसित हिंडिरहे। नौ सय पचास वर्षको उमेरमा मृत्यु नहोउञ्जेलसम्म नूह परमेश्वरसँग हिंडिरहे।—उत्पत्ति ६:९; ९:२९.
२. ‘परमेश्वरसित हिंड्नुको’ अर्थ के हो?
२ यी विश्वासी पुरुषहरू परमेश्वरसित ‘हिंड्थे’ भन्नुको मतलब बाइबलले यिनीहरू साँच्चै परमेश्वरसित हिंड्थे भनेको होइन। बरु, हनोक अनि नूहले यसरी जीवन बिताए कि तिनीहरूको कामैले परमेश्वरमाथिको तिनीहरूको विश्वास बलियो रहेछ भन्ने प्रमाण दिन्छ भन्न खोजेको हो। यहोवाले जे जे भन्नुभयो तिनीहरूले त्यही त्यही गरे अनि आफूले परमेश्वरबारे र उहाँले मानवजातिसित गर्नुभएको व्यवहारबारे के कति जानेको छ त्यतिको भरमा तिनीहरूले आफ्नो जीवन बिताए। (२ इतिहास ७:१७ तुलना गर्नुहोस्।) परमेश्वरले बोल्नु अनि गर्नुभएका कुरा अनि कामहरूमा तिनीहरूले मुण्टो मात्र हल्लाएनन्। बरु परमेश्वरले चाहनुभएबमोजिम सबै गरे, आफूखुशी एक दुइटा मात्र होइन। एउटा असिद्ध मानव भएर गर्नसक्ने जत्ति सबै तिनीहरूले गरे। उदाहरणका लागि, नूहले परमेश्वरले आज्ञा गर्नुभएबमोजिम सबै गरे। (उत्पत्ति ६:२२) नूहले न ता जान्नेसुन्ने भएर आफूलाई जे-जति निर्देशन दिइएको छ, त्यो भन्दा बढ्ता गरे न निर्देशनअनुसार नगरेर काम ठग्न नै खोजे। यहोवासितको घनिष्ठ सम्बन्धको आनन्द उठाउने व्यक्तिको हैसियतमा नूह निर्धक्क भई परमेश्वरलाई प्रार्थना गर्थे, ईश्वरीय निर्देशनको कदर गर्थे, परमेश्वरसँगै हिंड्थे। के तपाईं पनि त्यसै गर्दै हुनुहुन्छ?
निरन्तर अघि बढिरहनुपर्ने जीवनको मार्ग
३. परमेश्वरका समर्पित तथा बप्तिस्मा प्राप्त हरेक सेवकले के गर्नु अत्यन्त महत्त्वपूर्ण छ?
३ मानिसहरू परमेश्वरसँगसँगै हिंड्न थालेको हेर्न पाउँदा आनन्द लाग्छ। यहोवाको इच्छाअनुसार सकारात्मक कदम चालेर तिनीहरू विश्वासको प्रमाण दिन्छन्। हुन पनि विश्वास नभइकन परमेश्वरलाई प्रसन्न पार्न सकिंदैन। (हिब्रू ११:६) कति खुशीको कुरा, बितेका पाँच वर्षदेखि वर्षेनी औसतन ३,२०,००० का दरले यस्ता मानिसहरू यहोवालाई आफ्नो जीवन समर्पण गरेर बप्तिस्माको निम्ति तयार भइरहेका छन्! तर यिनीहरू अनि हामी सबै परमेश्वरसित हिंड्न कहिल्यै नछोड्नु अत्यावश्यक छ।—मत्ती २४:१३; प्रकाश २:१०.
४. केही विश्वास देखाएका भए तापनि मिश्र छोड्ने अधिकांश इस्राएलीहरू किन प्रतिज्ञा गरिएको देशमा पस्न पाएनन्?
४ मोशाको समयमा मिश्र देशमा बसेर निस्तारको चाड मनाउनु अनि घरको चौकोसको दुइपट्टिका खामाहरू र माथिल्लो खामामा रगत छर्कनु विश्वास नहुने इस्राएली परिवारले गर्नसक्ने काम थिएन। (प्रस्थान १२:१-२८) तथापि, लाल समुद्रनेर फिरऊनका सिपाहीहरू पछि पछि खेद्दै आएको देख्दा धेरैको विश्वास ढलपल भयो। (प्रस्थान १४:९-१२) ओबानो भूमि भएर लाल समुद्र तरेपछि अनि समुद्रको पानीले मिश्री सिपाहीहरूलाई डुबाएको देखेपछि “तिनीहरूले [यहोवाको] वचनमा विश्वास गरे” भनेर भजन १०६:१२ बताउँछ। तथापि, केही समय बित्न नपाउँदै इस्राएलीहरूले पानी पाइएन, भोजन भएन, डोऱ्याउनेहरू ठीक भएनन् भनेर गनगन गर्न थाले। प्रतिज्ञा गरिएको देशको जासुसी गर्न जाने १२ जना जासुसहरूमध्ये १० जनाको नकारात्मक रिपोर्ट सुनेर इस्राएलीहरू भयभीत भए। यस्तोबेला भजन १०६:२४ ले भनेझैं “तिनीहरूले उहाँको वचनमा विश्वास गरेनन्।” तिनीहरू मिश्र फर्कन चाहन्थे। (गन्ती १४:१-४) तिनीहरूको विश्वास, परमेश्वरले अद्भुत तरिकामा आफ्नो शक्ति प्रकट गर्नुहुँदा मात्र व्यक्त हुने क्षणिक विश्वास थियो। तिनीहरू परमेश्वरसित हिंडिरहेनन्। फलतः ती इस्राएलीहरू प्रतिज्ञा गरिएको देशभित्र पस्न पाएनन्।—भजन ९५:१०, ११.
५. परमेश्वरसित हिंड्ने सन्दर्भमा २ कोरिन्थी १३:५ र हितोपदेश ३:५, ६ कसरी सम्बन्धित छन्?
५ बाइबल हामीलाई यस्तो सल्लाह दिन्छ: “तिमीहरू विश्वासमा छौ कि छैनौ भनी आफैले आफैलाई जाँचेर तिमीहरू आफ्नो प्रमाण देओ।” (२ कोरिन्थी १३:५) ‘विश्वासमा हुनु’ भनेको मसीही आस्थाअनुसार चल्नु हो। जीवनभर परमेश्वरसित हिंडिरहन चाहन्छौं भने मसीही आस्थाअनुसार चलिरहनु अत्यावश्यक छ। परमेश्वरसित हिंड्न, विश्वासको विशेषताको अभ्यास गर्नुपर्छ अर्थात् यहोवामाथि भरोसा राख्नुपर्छ। (हितोपदेश ३:५, ६) यसो गर्न नसकेको खण्डमा हामी फस्नसक्ने थुप्रै पासो तथा खाल्टोहरू छन्। यिनीहरूमध्ये केही के हुन्?
आफैमाथि बढ्ता विश्वास गरेर पासोमा पर्नदेखि बच्नुहोस्
६. व्यभिचार र जारीबारे सबै मसीहीहरूलाई के थाह छ अनि यस्ता पापप्रति तिनीहरू कस्तो महसुस गर्छन्?
६ बाइबल अध्ययन गर्ने, यहोवालाई जीवन समर्पण गरेर बप्तिस्मा लिनेजति सबैलाई व्यभिचार अनि जारी परमेश्वरको वचन विरुद्धको काम हो भनेर थाह छ। (१ थिस्सलोनिकी ४:१-३; हिब्रू १३:४) यो कुरा सही छ भनेर तिनीहरू मानिलिन्छन् र त्यसअनुसार जीवन बिताउन पनि चाहन्छन्। तैपनि यौन अनैतिकता अझै पनि शैतानको सबैभन्दा प्रभावशाली पासो साबित भइरहेको छ। किन?
७. मोआबको बेंसीमा इस्राएली पुरुषहरू आफूलाई गलत हो भनेर थाह भएको काम कसरी गर्नपुगे?
७ एउटा कुरा त के हो भने यस्ता अनैतिक काम गर्ने व्यक्तिहरूले पहिल्यै त्यसो गर्ने योजना नबनाएका हुनसक्छन्। सायद मोआबी बेंसीमा इस्राएलीहरूको पनि त्यस्तो कुनै योजना थिएन होला। उजाडस्थानमा भौंतारिदा भौंतारिदा लखतरान भएका इस्राएली पुरुषहरूले मोआबी तथा मिद्यानी आइमाईहरूले आफूतर्फ आकर्षित गर्न खोज्दा त्यसलाई मित्रैलो वा खातिरदारी सम्झे होलान्। तर इस्राएलीहरूले यहोवाको होइन तर बालको उपासना गर्ने अनि आफ्ना (कुलघरानाका परिवारहरू समेत) जवान छोरीहरूलाई परायासित यौन सम्बन्ध राख्न दिनेहरूको मैत्रीपूर्ण निमन्त्रणा स्वीकार्दा के भयो? इस्राएली शिविरका पुरुषहरू त्यस्तो किसिमको संगतीतर्फ आकर्षित हुनथाले। फलतः आफूलाई गलत हो भनेर थाह हुँदाहुँदै पनि यस्तो काम गर्नपुगे जसले गर्दा तिनीहरूले आफ्नो ज्यान गुमाउनुपऱ्यो।—गन्ती २२:१; २५:१-१५; ३१:१६; प्रकाश २:१४.
८. अहिले पनि कुनै मसीही यौन अनैतिकतामा कसरी फस्नसक्छन्?
८ आज हाम्रो समयमा के कत्ति कारणले गर्दा कुनै व्यक्ति त्यस्तै पासोमा फस्नसक्छ? यौन अनैतिकता कत्तिको गम्भीर कुरा हो भनेर थाह हुँदाहुँदै पनि व्यक्तिविशेषले आफूमाथि बढ्तै भरोसा गर्नु खतरनाक कुरा हो भनेर मानिलिएन भने ऊ यस्तो परिस्थितिमा पुग्नसक्छ, जुनबेला खराब काम गर्ने इच्छाले उसको विवेकलाई शुन्य बनाउनसक्छ।—हितोपदेश ७:६-९, २१, २२; १४:१६.
९. कुन धर्मशास्त्रीय चेताउनीहरूले हामीलाई अनैतिकताबाट जोगाउनसक्छ?
९ म बलियो छु, खराब संगतले मलाई केही असर गर्दैन भन्ने सोचाइ राख्नदेखि होसियार हुनू भनेर बाइबलले सुस्पष्ट चेताउनी दिएको छ। अनैतिक मानिसहरूको जीवनशैली चित्रण गर्ने टेलिभिजन कार्यक्रमहरू अनि अनैतिक इच्छा जगाउने पत्रिकाहरू हेर्नु पनि खराब संगतै हो। (१ कोरिन्थी १०:११, १२; १५:३३) वातावरण राम्रो छैन भने सँगी विश्वासीहरूसित संगत गर्दा समेत गम्भीर समस्याहरूमा फसिनसक्छ। पुरुष र स्त्रीबीच तीव्र आकर्षण हुन्छ। त्यसैकारण, लोग्नेस्वास्नी वा आफ्नै परिवारको सदस्य होइन भने विपरीत लिंगको व्यक्तिसित कसैले नदेख्ने ठाउँमा एक्लैदुक्लै नबस्नु भनेर यहोवाको संगठनले मायालु चेताउनी दिएको छ। परमेश्वरसित हिंडिरहने हो भने आफैमाथि बढ्ता भरोसा गर्न छोड्नुपर्छ र परमेश्वरले दिनुहुने चेताउनी पालन गर्नुपर्छ।—भजन ८५:८.
मानिसको डरले तपाईंलाई पञ्जामा नपारोस्
१०. “मानिसको डर[ले]” कसरी पासो थाप्छ?
१० अर्को खतरा हितोपदेश २९:२५ ले यसरी बताएको छ: “मानिसको डर त्यसको निम्ति पासो हो।” शिकारीले पासो बनाउँदा जनावरको घाँटी वा खुट्टालाई ङ्याक्ने फन्दा बनाएको हुन्छ। (अय्यूब १८:८-११) निर्धक्क भएर बोल्ने अनि परमेश्वरलाई प्रसन्न तुल्याउने किसिमले चल्ने हाम्रो क्षमता भए पनि मानिसहरूसँग डरायौं भने हाम्रो त्यो क्षमता त्यस्तैगरि ङ्याकिनेछ। अरूलाई खुशी पार्ने इच्छा हुनु स्वभाविकै हो। आखिर, अरूले जेसुकै सोचून् मलाई के, भन्ने कठोर विचार राख्नु मसीहीधर्म विपरीत कुरा पनि हो। तर सन्तुलन चाहिन्छ। अरूले कस्तो प्रतिक्रिया देखाउला भनेर डराएर परमेश्वरको वचनले आज्ञा गरेबमोजिम नगर्ने वा त्यसको विपरीत काम गर्ने पासोमा फसिरहेको हुन्छ।
११. (क) मानिसको डरको पञ्जामा पर्नदेखि के ले बचाउँछ? (ख) मानिसको डरदेखि मुक्त हुन संघर्ष गरिरहेका आफ्ना सेवकहरूलाई यहोवाले कसरी मदत गरिरहनुभएको छ?
११ यस्तो पासोमा नफस्ने हो भने हामीले आफ्नै स्वाभाविक इच्छाअनुसार चल्ने होइन कि “परमप्रभुमाथि भरोसा” गर्ने गर्नुपर्छ। (हितोपदेश २९:२५ख) परमेश्वरमाथि भरोसा राख्ने व्यक्ति स्वभावैले लज्जालु छ भने पनि साहसी र अटल हुनसक्छ। यो शैतानी रीतिरिवाजका दबाबहरू नहटेसम्म हामी मानिसहरूको डरको पासोमा फस्नदेखि सतर्क रहनुपर्नेछ। एलिया अगमवक्ताले साहसी काम गरेर राम्रो छवि बसालको भए तापनि ईजबेलले मार्ने धम्की दिंदा डराएर भागे। (१ राजा १९:२-८) दबाबमा पर्दा प्रेरित पत्रुसले पनि डराएर येशू ख्रीष्टलाई चिनेकै छैन भने। यसको वर्षौंपछि डरको कारण तिनले विश्वास विपरीत काम गरे। (मर्कूस १४:६६-७१; गलाती २:११, १२) तथापि, एलिया र पत्रुस दुवैले आध्यात्मिक मदत स्वीकारे र यहोवामाथि फेरि भरोसा गरेर उहाँलाई मन पर्ने ढंगमा सेवा गरिरहे।
१२. मानिसदेखि डराएर परमेश्वरलाई प्रशन्न पार्नदेखि पछि नहट्न केही व्यक्तिहरूले कस्तो मदत पाए, हालसालैका उदाहरणले के देखाउँछ?
१२ आज हाम्रो समयमा पनि यहोवाका थुप्रै सेवकहरूले डरमाथि काबू पाउन सिकेका छन्। गायनाकी १७ वर्षीया किशोरीले यसो भन्दै मानिलिइन्: “स्कूलमा साथीहरूको दबाब सामना गर्न असाध्यै संघर्ष गर्नुपर्छ।” र यसो पनि भनिन्: “तर यहोवामाथिको मेरो विश्वास कम बलियो छैन।” शिक्षकले कक्षाका साथीहरूअघि तिनको विश्वासको खिसी गर्दा तिनले मनमनै यहोवालाई प्रार्थना गरिन्। पछि त्यो शिक्षक एक्लै भएको बेलामा तिनले चतुऱ्याइँपूर्वक साक्षी दिइन्। बेनिनमा बस्ने एक युवकले यहोवा के के चाहनुहुन्छ, सो सिकेपछि गाउँ फर्कने बित्तिकै बुबाले आफ्नो निम्ति भनेर कुँदेका मूर्ति मिल्काउने निधो गरे। मूर्ति निर्जीव हुन्छ भनेर उक्त युवकलाई थाह थियो। तिनी मूर्तिसित पटक्कै डराउँदैनथे। तथापि त्यसरी मूर्ति हटाउँदा भने गाउँलेहरूले मार्नसक्छन् भनेर तिनलाई थाह थियो। तिनले यहोवालाई प्रार्थना गरे र रात परेपछि मूर्तिलाई लगेर झ्याँगमा मिल्काइदिए। (न्यायकर्ता ६:२७-३१ तुलना गर्नुहोस्।) गणतन्त्र डोमिनिकामा बस्ने एउटी स्त्रीले यहोवाको सेवा गर्न थाल्दा तिनको लोग्नेले या मलाई छान् या यहोवालाई छान् भनेर धम्काए र पारपाचुके गर्छु समेत भने। के ती स्त्रीले डराएर आफ्नो विश्वासलाई त्यागिन् त? तिनले यस्तो जवाफ दिइन्: “मेरो लोग्नेले धोखा दिनुभयो भने लज्जित हुँला, तर यहोवा परमेश्वरको सेवा गर्नुपरेकोमा म लज्जित हुँदिन।” तिनी परमेश्वरसँगसँगै हिंड्न छाडिनन् र समयमा तिनका लोग्ने पनि तिनीसँगसँगै यहोवाको इच्छाअनुसार चल्न थाले। स्वर्गमा हुनुहुने हाम्रा पितामाथि पूरा भरोसा राख्यौं भने हामी पनि मानिसको डरले थरथर काँप्नेछैनौं र यहोवालाई प्रशन्न पार्ने कामहरू गर्नदेखि हिचकिचाउनेछैनौं।
सल्लाहलाई हल्का नठान्नुहोस्
१३. पहिलो तिमोथी ६:९ मा कुन चाहिं पासोबारे चेताउनी दिइएको छ?
१३ शिकारीले प्रयोग गर्ने केही पासोहरू कुनै खास ठाउँ भएर जाने केही जनावरहरूलाई हात पार्न बनाइने भए तापनि अन्य प्रकारका पासोहरू चाहिं जनावरहरूलाई आकर्षित गरेर चालै नपाई फसाउँनका निम्ति बनाइएका हुन्छन्। धेरैजसो मानिसहरूका लागि धनसम्पत्ति पनि यस्तै पासो हो। (मत्ती १३:२२) बाइबलले १ तिमोथी ६:८, ९ मा खान र लाउन भए सन्तुष्ट हुनू भन्ने प्रोत्साहन दिइएको छ। त्यसपछि, उक्त पदमा यस्तो चेताउनी दिइएको छ: “धनी हुने इच्छा गर्ने चाहिं, सर्वनाश र विनाशमा डुबेका मानिसझैं परीक्षा र पासो, औ धेरै मूर्ख र हानिकारक अभिलाषाहरूमा फस्तछन्।”
१४. (क) खान र लाउन भएपछि सन्तुष्ट हुनू भन्ने सल्लाह पालन गर्नदेखि कुन कुराले रोक्नसक्छ? (ख) धनसम्पत्तिबारे गलत धारणा राख्ने व्यक्तिले कसरी १ तिमोथी ६:९ को चेताउनीलाई नै हल्का ठान्नसक्छन्? (ग) “आँखाको अभिलाषा[ले]” कुन कुन ढंगमा अगाडिको पासो नै नदेख्ने गरी अन्धो बनाउनसक्छ?
१४ यो चेताउनी थाह हुँदाहुँदै पनि त्यस सल्लाहलाई प्रयोग नगर्दा धेरैजसो पासोमा फस्न पुगेका छन्। किन? कतै घमण्डले गर्दा “खान र लाउन” भएपछि सन्तुष्ट हुनू भन्ने बाइबलको सल्लाह पालन गर्न छाडेकाले त होइन? अथवा असाध्यै धनी मानिसहरू जत्तिकै धनी हुनुपर्छ भन्ने विचारधारा राखेर बाइबलको चेताउनीलाई हल्का ठानेकोले पो हो कि? धनी हुने इच्छा गर्नु खान र लाउन भएपछि सन्तुष्ट हुनुको ठीक विपरीत कुरा हो भनेर बाइबलले स्पष्ट पारेको छ। (हिब्रू १३:५ तुलना गर्नुहोस्।) आध्यात्मिक कुराहरू एकातर्फ पन्छाएर देखेजति सबै हासिल गर्ने इच्छाले अर्थात् “आँखाको अभिलाषा[ले]” कतै यस्ताहरूलाई साँचो उपासनालाई दोस्रो स्थानमा राख्न उत्प्रेरित त गरिरहेको छैन? (१ यूहन्ना २:१५-१७: हाग्गै १:२-८) बाइबलका सल्लाह साँच्चै पालन गर्ने र यहोवाको सेवालाई प्रमुख स्थान दिनेहरू कत्ति धन्यका छन्!
जीवनका फिक्रीहरूसित सफलतासाथ डट्ने
१५. कस्ता परिस्थितिहरूले गर्दा यहोवाका थुप्रै जनहरू स्वाभाविकतः फिक्री गर्छन् र यस्तो परिस्थिति भएर गुज्रनुपर्दा कुन पासोमा फस्नदेखि सतर्क हुनुपर्छ?
१५ आजकाल प्रायः धनी हुने इच्छा गर्ने मानिसहरूभन्दा जीवन धान्न चाहिने कुराहरूको फिक्री गर्नेहरू धेरै छन्। यहोवाका कतिपय साक्षीहरू न्युन स्रोतको भरमा जीवन धानिरहेका छन्। एकसरो लुगा जोरजाम गर्न, परिवार र आफ्नोनिम्ति रात गुजार्ने ठाउँको व्यवस्था गर्न अनि एक छाक टार्न तिनीहरू निकै समय कडा मिहेनत गर्छन्। अन्य कतिपय चाहिं आफ्नै वा परिवारको कुनै सदस्यको बिमारी वा वृद्धावस्थाको कारण उब्जेका समस्याहरूसित संघर्ष गर्छन्। यस्तो अवस्था भएर गुज्रिरहेकाहरूलाई आफ्नो आध्यात्मिकतालाई निस्सासिदिनु कति पनि गाह्रो हुँदैन!—मत्ती १३:२२.
१६. जीवनका फिक्रीहरूसित डट्न यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?
१६ तर मसीही राज्यमा यी सबै समस्याहरूबाट मुक्त हुन पाइनेछ भनी यहोवा मायालु आश्वासन दिनुहुन्छ। (भजन ७२:१-४, १६; यशैया २५:७, ८) सर्वमहत्त्वपूर्ण कुराहरूलाई प्राथमिकता कसरी दिने सो सम्बन्धमा सल्लाह दिनुभएर उहाँ हामीलाई जीवनका फिक्रीहरूसित डट्ने मदत पनि दिनुहुन्छ। (मत्ती ४:४; ६:२५-३४) बितेका समयमा आफ्ना दासहरूलाई कसरी मदत गर्नुभयो सो बताउनुभएर यहोवा हामीलाई आश्वासन दिनुहुन्छ। (यर्मिया ३७:२१; याकूब ५:११) जस्तोसुकै आपत् विपद् आइपरे तापनि उहाँ आफ्ना सेवकहरूलाई कहिल्यै त्याग्नुहुन्न भन्ने ज्ञानद्वारा उहाँ हामीलाई ढाडस दिनुहुन्छ। (रोमी ८:३५-३९) यहोवा आफूमाथि भरोसा गर्नेहरूका निम्ति यस्तो घोषणा गर्नुहुन्छ: “म तिमीलाई कुनै रीतिले छोड़नेछैनँ, म तिमीलाई त्याग्नेछैनँ।”—हिब्रू १३:५.
१७. अत्यन्त कठिन परिस्थितिमा पर्दासमेत कसरी केही व्यक्तिहरू परमेश्वरसँगै हिंड्नसके? उदाहरणहरू दिनुहोस्।
१७ यो ज्ञानले गर्दा बलिया भएका साँचो मसीहीहरू सांसारिक तौरतरिकाको पछि लाग्दैनन् बरु परमेश्वरसँग हिंडिरहन्छन्। धेरैजसो मुलुकमा गरिबगुरुवाहरू साधारणतया आफ्नो परिवार पाल्न सम्पन्न व्यक्तिको सरसामान लैजानु पटक्कै चोरी होइन भन्ने सांसारिक धारणा राख्छन्। तर विश्वासले हिंड्नेहरू यस्तो धारणालाई तिरस्कार गर्छन्। परमेश्वरको अनुमोदन प्राप्त गर्नु नै सबैभन्दा ठूलो कुरा हो भनेर तिनीहरू मूल्यांकन गर्छन् र परमेश्वरले इमानदार आचरणको प्रतिफल दिनुहुन्छ भन्ने आशा गर्छन्। (हितोपदेश ३०:८, ९; १ कोरिन्थी १०:१३; हिब्रू १३:१८) सीप र काम गर्ने इच्छा भएको खण्डमा कठिनाइको सामना गर्न सकिंदो रहेछ भनेर एउटी भारतीय विधवाले अनुभव गरेकी छिन्। आफूलाई धिक्कार्दै बस्नुको साटो परमेश्वरको राज्य र उहाँको धार्मिकतालाई प्रथम स्थान दिएर आफ्नो र आफ्नो छोराको जीवन धान्न मिहेनत गर्दा यहोवाले आशिष् दिनुहुनेछ भनेर यो विधवा ढुक्क थिइन्। (मत्ती ६:३३, ३४) आफूले भोगिरहेका कठिनाइका बावजूद यहोवालाई आफ्नो शरणस्थान र गढी मान्दै पृथ्वीका हजारौं मानिसहरूले यस्तै भावना व्यक्त गरिरहेका छन्। (भजन ९१:२) के तपाईं पनि त्यसै गर्दै हुनुहुन्छ?
१८. शैतानी संसारका पासोहरूबाट जोगिने उपाय के हो?
१८ वर्तमान रीतिरिवाज छउञ्जेल हामी सतर्क हुनुपर्ने पासोहरू रहिनै रहनेछन्। (१ यूहन्ना ५:१९) यी पासोहरू के हुन् र कसरी जोगिने, बाइबलले बताएको छ। यहोवालाई साँच्चै माया गर्ने र उहाँलाई रुष्ट नपार्ने स्वास्थ्यकर भय राख्नेहरू यस्ता पासोहरूसित सफलतासाथ डट्नसक्छन्। “आत्माको भरमा हिं[डेको]” खण्डमा तिनीहरूले सांसारिक तौरतरिकासामु घुँडा टेक्नुपर्नेछैन। (गलाती ५:१६-२५) यहोवासितको सम्बन्धलाई सर्वोपरि राखी जीवन बिताउने सबैसामु परमेश्वरसँग सधैंभरि घनिष्ठ सम्बन्ध राख्ने महान् प्रत्याशा छ।—भजन २५:१.
तपाईं कस्तो जवाफ दिनुहुन्छ?
◻ अति विश्वस्त हुनु कसरी पासो साबित हुनसक्छ?
◻ मानिसको डरको पञ्जामा पर्नदेखि कुन कुराले जोगाउनसक्छ?
◻ हामी कुन कुराले गर्दा धनसम्पत्ति बटुल्दा आइपर्ने खतराबारे दिइएको सल्लाह पालन गर्नदेखि सायद चुक्छौं?
◻ जीवनका फिक्रीहरूको पासोमा नफस्न हामीलाई कुन कुराले मदत गर्नसक्छ?
[पृष्ठ १६, १७-मा भएको चित्र]
थुप्रै व्यक्तिहरू आजीवन परमेश्वरसँगै हिंडिरहन्छन्