यहोवामा भरोसा राख्नुहोस्!
“तेरो सारा भरोसा परमेश्वरमा [यहोवा न्यु व०] राख।”—हितोपदेश ३:५.
१. हितोपदेश ३:५-ले एक जना जवान मानिसलाई कसरी प्रभावित गऱ्यो र त्यसको चिरस्थायी परिणामहरू कस्ता भए?
लामो समयदेखि मिसनरी सेवा गर्दै आएका एक जना भाइ यसो लेख्छन्: “‘तेरो सारा भरोसा परमेश्वरमा राख्, र आफ्नै समझ-शक्तिमा भरोसा नगर्।’ मैले भेट गरेको घरमा बाइबलबाट लिइएका ती शब्दहरू फ्रेममा राखेर भित्तामा झुण्ड्याइएको थियो। ती शब्दहरूले मेरो ध्यानाकर्षण गऱ्यो। त्यस दिनभरि मैले त्यस कुरामाथि विचार गरी रहें। मैले आफैलाई सोधें, के मैले सारा भरोसा परमेश्वरमा राख्न सक्छु?” यो व्यक्ति त्यत्तिबेला २१ वर्षका थिए। अहिले ९० वर्ष पुगिसकेका त्यस व्यक्ति अझै पनि विश्वासीपूर्वक अस्ट्रेलियाको पर्थमा प्राचीनको हैसियतमा सेवा गरिरहेका छन्। आफ्नो अतीतलाई फर्केर हेर्दा यहोवामा सारा भरोसा राख्दाको परिणामले भरिपूर्ण जीवन तिनी पाउँछन्। साथै सिलोन (अहिले श्रीलङ्का), बर्मा (अहिले म्यानमार), मलाया, थाइल्याण्ड, भारत र पाकिस्तान जस्ता नयाँ मिसनरी क्षेत्रहरूमा २६ वर्षसम्म गरेको जोडदार अग्रगामी सेवा पाउँदछन्।a
२. हितोपदेश ३:५-ले हामीमा कस्तो दृढता बढाउनु पर्छ?
२ “सारा हृदयले यहोवामा भरोसा राख्नुहोस्”—न्यु वर्ल्ड ट्रान्सलेशन-अनुसार हितोपदेश ३:५-मा दिइएका यी शब्दहरूले हाम्रो जीवन पूर्णतया यहोवालाई समर्पण गर्न उत्प्रेरित गर्नुपर्छ। साथै हामीमाथि पहाडरूपी अवरोधहरू आइ परे तापनि उहाँले हाम्रो विश्वासलाई सुदृढ पार्नुहुन्छ भनेर विश्वस्त हुनुपर्छ। (मत्ती १७:२०) हितोपदेश ३:५-लाई यसै पदको प्रसङ्गमा अब हामी केलाएर हेरौं।
पिताको जस्तो सल्लाह
३. (क) हितोपदेशको सुरुका नौवटा अध्यायहरूमा कस्तो प्रोत्साहन पाइन्छ? (ख) हितोपदेश ३:१, २-माथि हामीले किन गहिरो ध्यान दिनुपर्छ?
३ हितोपदेशका सुरुका नौवटा अध्यायहरू पिताले दिने जस्तो सल्लाहले भरिभराउ छन्। यी बुद्धिमान सल्लाहहरू स्वर्गमा पुत्रत्वको आनन्द उठाउने र “परमेश्वरको सन्तानको महिमाको स्वतन्त्रता” पार्थिव प्रमोदवनमा पाउने आशा गर्ने सबैका लागि हुन्। (रोमी ८:१८-२१, २३) छोराछोरीहरू हुर्काउन आमाबाबुले चलाउन सक्ने बुद्धिमान सल्लाहहरू पनि यहाँ पाइन्छ। हितोपदेशको तेस्रो अध्यायमा दिइएको सल्लाह विशिष्ट छ जहाँ सुरुमै यसरी सावधानी गराइएको छ: “हे मेरो छोरो, मेरो अर्तीलाई नभूल् तर मेरो आज्ञालाई तेरो हृदयमा जोगाइराख्।” जसै शैतानको दुष्ट संसार त्यसको अन्ततर्फ बढ्दै जान्छ, यहोवाले दिनुभएका सम्झौटाहरूलाई हामी गहिरिएर ध्यान देऔं। हामीले निकै समय पर्खिनु परेको जस्तो देखिए तापनि धीरजी हुनेहरूका लागि इनाम “दीर्घायु र धेरै वर्ष र . . . उन्नति” अर्थात् यहोवाको नयाँ व्यवस्थामा अनन्त जीवन हुनेछ।—हितोपदेश ३:१, २.
४, ५. (क) यूहन्ना ५:१९, २०-मा कस्तो आनन्दमय सम्बन्ध वर्णन गरिएको छ? (ख) व्यवस्था ११:१८-२१-मा दिइएको सल्लाह आज हाम्रो समयसम्म कसरी लागू हुन्छ?
४ पिता र पुत्रबीच एउटा आनन्दमय सम्बन्ध सबैभन्दा मूल्यवान हुन सक्छ। हाम्रा सृष्टिकर्त्ता यहोवा परमेश्वरले त्यस्तै नै होस् भनेर प्रबन्ध गर्नुभएको थियो। यहोवासितको घनिष्ठ सम्बन्धलाई लिएर येशू ख्रीष्ट आफैले यसो भन्नुभयो: “पिताले जे गर्नुहुन्छ, त्यो नदेखेसम्म पुत्र आफैले केही गर्न सक्तैन, किनभने उहाँ जे गर्नुहुन्छ, पुत्रले पनि तिनै काम त्यही किसिमले गर्छ। किनभने पिताले पुत्रलाई माया गर्नुहुन्छ, र उहाँ आफैले गर्नुहुने सबै काम उसलाई देखाउनुहुन्छ।” (यूहन्ना ५:१९, २०) यहोवा र पृथ्वीमा भएका उहाँको सम्पूर्ण परिवारबीच साथै मानव पिता र बच्चाहरू बीच त्यस्तै घनिष्ठता होस् भन्ने उद्देश्य उहाँले राख्नुभएको थियो।
५ प्राचीन इस्राएलमा भरोसायोग्य पारिवारिक सम्बन्धहरू बनाउन प्रोत्साहन दिइएको थियो। यहोवाले त्यहाँका पिताहरूलाई यसप्रकार सल्लाह दिनुभयो: “तिमीहरूले मेरा यी वचन आफ्ना मन र हृदयमा राख। औ ती आफ्ना हातमा एक चिह्न स्वरूप बाँध्नू र निधारमा त्यो एक व्यवस्था-बूटी बन्नेछ। औ आफ्नो घरमा बस्ता, बाटोमा हिंड्दा, ढल्कँदा र उठ्दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गर र आफ्ना छोरा-छोरीहरूलाई सिकाओ। आफ्ना घरको चौकोस र मूल ढोकामा ती लेख। परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्तान चिरायु हुनेछौ—जबसम्म पृथ्वीमाथि आकाश रहनेछ।” (व्यवस्था ११:१८-२१) आमाबाबु र तिनीहरूका बच्चाहरू एवं उहाँको मसीही मण्डलीमा सेवा गरिरहेका अरूहरूले पनि उहाँसित घनिष्ठता राख्न हाम्रा महान शिक्षक, यहोवा परमेश्वरको प्रेरित वचनले अवश्य मदत गर्नेछ।—यशैया ३०:२०, २१.
६. परमेश्वर र मानिसको अनुग्रह हामी कसरी पाउन सक्छौं?
६ हितोपदेश तेस्रो अध्यायको ३ र ४ पदमा परमेश्वरका वृद्ध तथा जवान जनहरूलाई पिताले दिएको जस्तो बुद्धिमान सल्लाह पाइन्छ। त्यहाँ यसो भनिएको छ: “तेरो दृढ विश्वास र भक्तिले तँलाई कहिल्यै नछोडून्, तर ती तैंले आफ्नो गलामा बाँधिराख्। यसरी परमेश्वर र मानिसको दृष्टिमा तैंले निगाह र सफलता प्राप्त गर्नेछन्।” करुणा र सत्यता देखाउन यहोवा परमेश्वर स्वयं नै सर्वोत्तम हुनुहुन्छ। त्यसबारे भजनसंग्रह २५:१०-ले यसो भन्छ: “परमप्रभुका सबै मार्गहरू करूणा र सत्यका हुन्छन्।” यहोवाको अनुसरण गर्दै हामीले यी गुणहरू र त्यसको सुरक्षात्मक शक्तिलाई एउटा बहुमूल्य हारझैं मूल्यवान ठान्नुपर्छ र हाम्रो हृदयमा अमेट छाप लगाउनुपर्छ। त्यसो गर्नाले हामी पूर्ण भक्तिसाथ यस्तो प्रार्थना गर्न सक्छौं: “हे परमप्रभु . . . तपाईंको करुणा र तपाईंको सत्यताले मलाई निरन्तर रक्षा गरून्।”—भजनसंग्रह ४०:११.
एउटा दीर्घकालीन भरोसा
७. यहोवाले आफ्नो विश्वसनीयता कुन कुन ढङ्गमा देखाउनुभएको छ?
७ वेब्सटर्स नाइन्थ न्यु कोलिजियट डिक्शनरी-ले भरोसाको परिभाषा यसप्रकार दिन्छ: “कोही व्यक्ति अथवा कुनै कुराको चरित्र, क्षमता, बल अथवा सत्यमा सुनिश्चित आस्था।” यहोवाको चरित्र उहाँको करूणामा दह्रो गरी अडेको छ। उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू अवश्य पूरा गर्नुहुन्छ भनी हामी पूर्णतया विश्वस्त हुन सक्छौं किनभने उहाँको यहोवा नाउँले नै उहाँलाई महान उद्देश्यकर्त्ताको रूपमा चिनाउँछ। (प्रस्थान ३:१४; ६:२-८) सृष्टिकर्त्ता हुनु भएकोले उहाँ बल र असीम शक्तिको स्रोत हुनुहुन्छ। (यशैया ४०:२६, २९) उहाँ सत्यको साक्षात् रूप हुनुहुन्छ किनभने “परमेश्वरलाई झूट बोल्न असम्भव छ।” (हिब्रू ६:१८) यसर्थ सारा सत्यको महान स्रोत, हाम्रा परमेश्वर यहोवामा सम्पूर्ण भरोसा राख्न प्रोत्साहन दिइएको छ। उहाँसित आफूमाथि भरोसा गर्नेहरूलाई जोगाउने अपार शक्ति छ र सबै महान उद्देश्यहरूलाई उहाँले गौरवमय सफलता प्रदान गर्न सक्नुहुन्छ।—भजनसंग्रह ९१:१, २; यशैया ५५:८-११.
८, ९. यो संसारबाट भरोसा किन दुःखलाग्दो गरी हराउँदै गइरहेको छ र यस सन्दर्भमा यहोवाका जनहरू कसरी भिन्नै छन्?
८ अफसोसको कुरा, हामी वरिपरिको पतित संसारमा भरोसाको अभाव हुँदै गइरहेको छ। त्यसको सट्टा हामी जताततै लोभ र भ्रष्टाचार पाउँछौं। वर्ल्ड प्रेस रिभ्यु भन्ने पत्रिकाको मे १९९३-को अङ्कको आवरण पृष्ठ यस्तो समाचारले सुसज्जित थियो: “भ्रष्टाचारको बिगबिगी—नयाँ विश्व समाजमा कालो धन। भ्रष्टाचार बढाउने मानिसहरू र प्रचलनहरू ब्राजिलदेखि जर्मनीसम्म, संयुक्त राज्य अमेरिकादेखि अर्जेन्टिनासम्म, स्पेनदेखि पेरु, इटालीदेखि मेक्सिको, भ्याटिकनदेखि रुससम्म फैलिएको छ।” घृणा, लोभ र अविश्वासमा आधारित तथाकथित नयाँ विश्व समाजले मानवजातिमाथि बढ्दो पीडाबाहेक अरू केही थप्न सकेको छैन।
९ राजनैतिक राष्ट्रहरूभन्दा भिन्न यहोवाका साक्षीहरू आफूलाई ‘परमेश्वर यहोवाको जाति’ कहलाउन पाएकोमा धन्यको ठान्छन्। केवल तिनीहरूले मात्रै औचित्यका साथ, “परमेश्वरमा हामी भरोसा राख्छौं” भन्न सक्छन्। तिनीहरूमध्ये प्रत्येकले आनन्दित भएर यसरी कराउन सक्छन्: “परमेश्वरमा उहाँको वचनको प्रशंसा गर्नेछु, परमेश्वरमा मैले आफ्नो भरोसा राखेको छु, म डराउनेछैनँ।”—भजनसंग्रह ३३:१२; ५६:४, ११.
१०. धेरै जवान मसीहीहरूलाई आफ्नो निष्ठा कायम गर्न कुन कुराले बल प्रदान गरेको छ?
१० हजारौं जवान साक्षीहरूले कठोर यातना भोगेको र थुनामा परेको एउटा एशियाली मुलुकमा ती धेरै व्यक्तिहरूलाई यहोवामाथिको भरोसाले धीरज धर्न मदत गरेको छ। निष्ठूर शासना भोगिसकेका एक जवान साक्षीले झ्यालखानामा एक रात असह्य महसुस गरे। अँध्यारोमा लुकेर बिस्तारै अर्को युवक तिनीकहाँ आए। उनले कानमा सुटुक्क भने: “हिम्मत नहार; मैले आफ्नो विश्वासको सम्झौता गरेदेखि मनमा शान्ति नै पाउन सकेको छैन।” यो सुनेर त्यस अघिल्लो जवान मसीहीले स्थिर भएर खडा रहने आफ्नो कटिबद्धतालाई बलियो बनाए। हाम्रो निष्ठालाई तोड्ने शैतानको जस्तोसुकै प्रयासलाई यहोवाले रद्द तुल्याउन सक्नुहुन्छ भनेर हामी उहाँमा पूर्ण भरोसा राख्न सक्छौं।—यर्मिया ७:३-७; १७:१-८; ३८:६-१३, १५-१७.
११. यहोवामा भरोसा राख्न हामी कसरी उत्प्रेरित हुन्छौं?
११ पहिलो आज्ञाको केही अंश यसप्रकार छ: “तैंले आफ्ना परमेश्वरलाई सारा मनले . . . प्रेम गर्।” (मर्कूस १२:३०) जसै हामी परमेश्वरको वचनमा मनन गर्छौं हामीले सिकिरहेका महान सत्यहरू हाम्रो हृदयमा अझ गहिरिएर बस्दछ। यसले गर्दा हाम्रो महान परमेश्वर, सार्वभौमसत्ताधारी प्रभु यहोवाको सेवामा यथासक्य गर्न उत्प्रेरित हुन्छौं। उहाँले हामीलाई सिकाउनुभएका, हाम्रो लागि गरिदिनुभएका र भविष्यमा गरिदिनुहुने कुराहरूप्रतिको मूल्याङ्कनले विभोर भएको हृदयसाथ उहाँले प्रदान गर्नुहुने मुक्तिमा पूर्णतया भरोसा राख्न उत्प्रेरित हुन्छौं।—यशैया १२:२.
१२. अधिकांश मसीहीहरूले धेरै वर्षको दौडान यहोवामा कसरी भरोसा प्रदर्शन गरेका छन्?
१२ यो भरोसा वर्षौंसम्म खेती गर्न सकिन्छ। सन् १९२७ अप्रिल महिनादेखि ब्रुक्लिनस्थित वाच टावर सोसाइटीको मुख्य कार्यालयमा सेवा गरेर विश्वासीपूर्वक ५० वर्ष बिताइसकेका यहोवाका एक जना नम्र साक्षीले यसो लेखे: “पहिलो महिनाको अन्ततिर मैले व्यक्तिगत खाँचो टार्न अमेरिकी डलर ५/०० पाएँ। सो रकम सँगै एउटा राम्रो कार्डमा हितोपदेश ३:५, ६ बाइबलको पद लेखिएको थियो . . . यहोवामाथि भरोसा राख्ने पर्याप्त कारणहरू थिए। किनभने मुख्य कार्यालयमा मैले चाँडै नै यो मूल्याङ्कन गर्न थालें कि पृथ्वीमा भएका राज्य सम्बन्धी कार्यहरूको हेरचाह गर्न यहोवाले ‘विश्वासी र बुद्धिमान दास’ खटाउनु भएको छ।—मत्ती २४:४५-४७।”b यस मसीहीको हृदय पैसाको प्रेममा होइन तर “कहिले नसकिने धन स्वर्गमा सञ्चय” गर्न केन्द्रित थियो। त्यस्तैगरि आज पनि वाच टावर सोसाइटीको बेथेल घरहरूमा सेवारत हजारौं व्यक्तिहरूले गरीबीको कानूनी वाचा बाँधेर त्यसो गर्छन्। आफ्नो दैनिक आवश्यकताहरू पूरा गर्न यिनीहरू यहोवामा भरोसा राख्छन्।—लूका १२:२९-३१, ३३, ३४.
यहोवामाथि भर पर्नुहोस्
१३, १४. (क) विकेकपूर्ण सल्लाह कहाँ मात्र प्राप्त गर्न सकिन्छ? (ख) सतावट सहन सक्ने हुन कुन कुरा गर्नबाट जोगिनुपर्छ?
१३ स्वर्गमा हुनुहुने हाम्रो पिताले हामीलाई सल्लाह दिनुहुन्छ: “तेरो आफ्नै समझ-शक्तिमा भरोसा नगर्।” (हितोपदेश ३:५) सांसारिक सल्लाहकार र मनोविश्लेषकहरूले यहोवाले देखाउनु हुने बुद्धि र समझ-शक्ति प्राप्त गर्ने आशा गर्न सक्दैनन्। “उहाँको ज्ञान अपार छ।” (भजनसंग्रह १४७:५) संसारका प्रतिष्ठित मानिसहरूको बुद्धि अथवा हाम्रै अनिर्देशित भावनाहरूमा भर गर्नुभन्दा हामी विवेकी सल्लाह प्राप्त गर्न यहोवा, उहाँको वचन र मसीही मण्डलीमा भएका प्राचीनहरूमा भर गरौं।—भजनसंग्रह ५५:२२; १ कोरिन्थी २:५.
१४ छिट्टै नै आउँदै गरेको कठोर परीक्षाहरूमा मानव बुद्धि अथवा प्रतिष्ठित स्थानको घमण्डले कुनै बचाउ गर्नेछैन। (यशैया २९:१४; १ कोरिन्थी २:१४) जापानमा दोस्रो विश्व युद्धताका परमेश्वरका एक जना सक्षम तर घमण्डी गोठालाले आफ्नै समझ-शक्तिमा भरोसा गर्न रोजे। दबाब आइपर्दा तिनी धर्मत्यागी भए र सतावटको समयमा बगालमा भएका धेरैले आफ्नो कार्यकलाप बन्द गरे। घीनलाग्दा बन्दी गृहमा साहसीपूर्वक कठोर यातना सहने एक जना निष्ठावान जापानी बहिनीले यसो भनिन्: “विश्वासी हुनेहरूसित त्यस्ता कुनै विशिष्ट क्षमताहरू थिएनन् र तिनीहरू साधारण व्यक्तिहरू थिए। निश्चय नै हामी सबैले सदैव सारा हृदयले यहोवामाथि भरोसा राख्नु पर्छ।”c
१५. यहोवालाई खुशी तुल्याउन चाहन्छौं भने कुन ईश्वरीय गुण आवश्यक छ?
१५ आफ्नै समझ-शक्तिमा भर नपरी यहोवामाथि भरोसा गर्न विनम्रता चाहिन्छ। यहोवालाई खुशी तुल्याउन चाहने सबैजनाको निम्ति यो गुण कति महत्त्वपूर्ण छ! भनौं भने, सारा ब्रह्माण्डको सर्वसत्ताधारी हाम्रो परमेश्वरले समेत आफ्नो बौद्धिक सृष्टिहरूसित व्यवहार गर्दा नम्रता प्रदर्शन गर्नुहुन्छ। हामी त्यसको लागि कृतज्ञ हुन सक्छौं। “आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नालाई निहुरिनुहुन्छ। कङ्गालीहरूलाई धूलोबाट उहाँलेनै उठाउनुहुन्छ।” (भजनसंग्रह ११३:६, ७) आफ्नो अपार दयाको कारण, उहाँले प्यारो पुत्र, येशू ख्रीष्टको अमूल्य बलिदान अर्थात् मानवजातिको लागि सबैभन्दा ठूलो वरदानको आधारमा हाम्रो कमजोरीहरूलाई माफी दिनुहुन्छ। यस्तो अपार अनुग्रहको लागि हामी कति कृतज्ञ हुनु पर्ने हो!
१६. मण्डलीमा बढी जिम्मेवारीहरू प्राप्त गर्न भाइहरू कसरी अग्रसर हुन सक्छन्?
१६ येशू आफैले हामीलाई स्मरण गराउनु हुन्छ: “जसले आफूलाई ठूलो तुल्याउँछ, त्यो होच्याइनेछ, र जसले आफूलाई होच्याउँछ, त्योचाहिं ठूलो हुनेछ।” (मत्ती २३:१२) बप्तिस्माप्राप्त भाइहरू नम्र भएर मसीही मण्डलीमा बढी जिम्मेवारी बहन गर्न अघि सर्नुपर्छ। यद्यपि, अध्यक्षहरूले आफ्नो नियुक्ति ओहदाको प्रतिक नभएर येशूलेझैं नम्रता, मूल्याङ्कन र उत्सुकतापूर्वक काम पूरा गर्ने अवसर ठान्नुपर्छ। येशूले यसै सम्बन्धमा यसो भन्नुभयो: “मेरो पिताले अझसम्म काम गर्नुहुन्छ, र म पनि गर्छु।”—यूहन्ना ५:१७; १ पत्रुस ५:२, ३.
१७. हामी सबैले कुन कुराको मूल्याङ्कन गर्नुपर्छ र त्यसले के गर्न डोऱ्याउँछ?
१७ यहोवाको नजरमा हामी केवल धूलोका कण हौं भन्ने कुरालाई हामी नम्रता र प्रार्थनापूर्वक मूल्याङ्कन गरौं। “परमप्रभुको कृपा भने उहाँको भय मान्नेहरूमाथि युगयुगसम्म रहन्छ, र उहाँको धार्मिकता छोरा-नातिसम्मै रहन्छ” भन्ने थाहा पाएर हामी कति हर्षित हुन सक्छौं! (भजनसंग्रह १०३:१४, १७) तसर्थ हामी सबै जना परमेश्वरको वचनको मेहनती विद्यार्थीहरू हुनुपर्छ। व्यक्तिगत तथा पारिवारिक अध्ययन र मण्डलीका सभाहरूमा प्रत्येक हप्ता बिताइने समय हाम्रो सबैभन्दा मूल्यवान समय हुनुपर्छ। यसप्रकार हामी “परमपवित्रको ज्ञानमा” बढ्दछौं। त्यही नै “समझ-शक्ति” हो।—हितोपदेश ९:१०.
“आफ्नो सबै चालमा . . . ”
१८, १९. हितोपदेश ३:६ हाम्रो जीवनमा कसरी प्रयोग गर्न सक्छौं र यसका परिणामहरू के हुन्छन्?
१८ समझ-शक्तिको ईश्वरीय स्रोत यहोवालाई केन्द्रित गर्दै हितोपदेश ३:६-ले यसो भन्छ: “आफ्नो सबै चालमा उहाँलाई सम्झी र उहाँले तेरा बाटोहरू सुगम तुल्याइदिनुहुनेछ।” यहोवालाई सम्झनुमा प्रार्थनाद्वारा उहाँको नजिक हुनु पनि समावेश छ। हामी जहाँसुकै भए तापनि र जस्तोसुकै परिस्थिति आए तापनि तुरुन्तै प्रार्थनाद्वारा उहाँ समक्ष पुग्न सक्छौं। दिनचर्याका कार्यहरू गर्दा, क्षेत्र सेवकाईमा जान तयारी गर्न लाग्दा, घर-घरमा गएर उहाँको राज्यबारे प्रचार गर्न जाँदा हाम्रो कार्यकलापलाई आशिष दिनुहोस् भनेर हामी लगातार प्रार्थना गर्न सक्छौं। यसप्रकार ‘परमेश्वरको साथमा हिंड्ने’ अतुलनीय अवसर तथा आनन्द पाउन सक्छौं। यसो गर्नाले ईश्वरभीरु हनोक, नूह तथा यहोशू र दानियल जस्ता विश्वासी इस्राएलीहरूलाई जस्तै उहाँले ‘हाम्रो बाटो पनि सुगम’ बनाइदिनुहुन्छ भनेर हामी ढुक्क हुन सक्छौं।—उत्पत्ति ५:२२; ६:९; व्यवस्था ८:६; यहोशू २२:५; दानियल ६:२३; याकूब ४:८, १० पनि हेर्नुहोस्।
१९ हामीले हाम्रा बिन्तीहरू यहोवा समक्ष जाहेर गऱ्यौं भने ‘परमेश्वरको शान्तिले, जो सारा समझलाई माथ गर्छ, हामीहरूका हृदय र विचारलाई येशूमा रक्षा गर्नेछ’ भनी ढुक्क हुन सक्छौं। (फिलिप्पी ४:७) हाम्रो आनन्दित अनुहारमा प्रतिविम्बित परमेश्वरको शान्तिले गर्दा प्रचार कार्यमा भेट्ने घरधनीहरू पनि हाम्रो समाचारप्रति आकर्षित हुन सक्छन्। (कलस्सी ४:५, ६) यसले आज संसारमा व्याप्त तनाव र अन्यायले पिल्सिएका व्यक्तिहरूलाई पनि प्रोत्साहन दिन सक्छ भनेर निम्न विवरणले प्रष्ट पार्छ।d
२०, २१. (क) नाजी आतंकको समयमा यहोवाका साक्षीहरूको निष्ठाले अरूहरूलाई कसरी प्रोत्साहन दियो? (ख) यहोवाको आवाजले हामीमा कस्तो सङ्कल्प जगाउनु पर्ने हो?
२० जन्मजात यहूदी म्याक्स लिब्स्टर चमत्कारिलो ढङ्गमा नाजी विध्वंसबाट बाँचेका थिए। नाजी यातना शिविरहरूमा जाँदाको विवरण तिनी यसप्रकार दिन्छन्: “हामीहरूलाई रेलका डिब्बाहरूमा थुनियो। ती डिब्बाहरू दुइ जना मात्र अटाउने निकै स-साना कोठरीहरूमा छुट्ट्याइएको थियो। तीमध्ये एउटा कोठरीमा मलाई लात हिर्काएर पठाउँदा शान्त मुद्रा भएको एक जना कैदीसित मेरो आँखा जुध्यो। परमेश्वरको व्यवस्थालाई अनादर गर्दै अरू मानिसहरूको रगत बगाउनुको सट्टा कैद र सम्भवत मृत्यु रोजेर तिनी त्यहाँ पुगेका थिए। तिनी यहोवाका एक जना साक्षी थिए। तिनका बच्चाहरू तिनीबाट खोसेर लगिएका थिए र तिनकी पत्नीलाई मृत्युदण्ड दिइसकेको थियो। तिनी पनि आफ्नी पत्नीकै जस्तो मृत्यु पर्खिरहेका थिए। चौध दिनको यात्रा पछि मैले मेरो प्रार्थनाको उत्तर पाएँ। किनभने मृत्युतिरको यस यात्राको दौडान मैले अनन्त जीवनको आशा पाएँ।”
२१ उसको नामाकारणअनुसार “सिंहको खोर,” अर्थात् अस्वीचबाट छुटकारा पाएर बप्तिस्मा लिएपछि यस भाइले यहोवाका साक्षीसित विवाह गरे। तिनी आफै पनि कैद भएकी थिइन् र तिनको पिताले डाकाऊको यातना शिविरमा शासना भोगेका थिए। तिनको पिता त्यहीं हुँदा उनले आफ्नी पत्नी र जवान छोरीलाई पनि पक्रेको खबर सुने। उनले आफ्नो प्रतिक्रिया यसरी व्यक्त गरे: “म असाध्यै चिन्तित भएँ। एक दिन नुहाउन लाइनमा बसिरहेको बेलामा हितोपदेश ३:५, ६ उद्धरण गरेको एउटा स्वर मैले सुनें . . . स्वर्गबाट आएको आवाजझैं त्यो घन्क्यो। आफूलाई स्थिर गर्न मलाई चाहिएको नै त्यही थियो।” वास्तवमा, त्यो अर्को कैदीले त्यस पद उद्धरण गरिरहेको आवाज थियो। तर यस घटनाले परमेश्वरको वचन हामीमा कत्तिको प्रभाव पार्न सक्छ भनेर प्रकाश पार्दछ। (हिब्रू ४:१२) हाम्रो १९९४-को वार्षिक पदद्वारा आज यहोवाको आवाजले हामीलाई जोडदारपूर्वक भनिरहोस्: “तेरो सारा भरोसा परमेश्वरमा [यहोवा न्यु व०] राख”! (w93 12/15)
[फुटनोटहरू]
a द वाचटावर, डिसेम्बर १५, १९७३, पृष्ठ ७६०-५ मा क्लड एस० गुडम्यानले भनेका “ट्रस्टीङ्ग जेहोभा विथ अल माई हार्ट” भन्ने लेख हेर्नुहोस्।
b द वाचटावर जुलाई १५, १९६८, पृष्ठ ४३७-४० ह्यारी पिटरसनको “डिटरमिन्ड टु प्रेज जेहोभा” भन्ने लेख हेर्नुहोस्।
c द वाचटावर मे १, १९८८, पृष्ठ २१-५, मात्सुई इशीको “जेहोभा डज नट फरसेक हिज सर्भेन्टस्” भन्ने लेख हेर्नुहोस्।
d द वाचटावर, अक्टोबर १, १९७८, पृष्ठहरू २०-४, म्याक्स् लिब्स्टरले भनेका “डेलिभरेन्स! प्रुभिङ्ग आवरसेल्भ्स् ग्रेटफुल” भन्ने लेख पनि हेर्नुहोस्।
सङ्क्षेपमा
▫ हितोपदेशमा कस्तो प्रकारको सल्लाह प्रस्तुत गरिएको छ?
▫ यहोवामा भरोसा राख्नाले हामीलाई कसरी फाइदा हुन्छ?
▫ यहोवामा भर गर्नुमा के समावेश छ?
▫ हाम्रा सबै मार्गहरूमा हामीले किन यहोवालाई सम्झनु पर्छ?
▫ यहोवाले हाम्रो बाटो कसरी सुगम तुल्याइदिनुहुन्छ?
[पृष्ठ ८-मा भएको चित्र]
राज्यको आनन्ददायी समाचार सोझा हृदय भएका मानिसहरूको लागि ग्रहणयोग्य हुन्छ