मृत्युपछि जीवन—कसरी, कहाँ, कहिले?
मानव मृत्यु हुँदा जीवन सदाको लागि अन्त हुनुपर्दैन भनेर मानिसको सृष्टिकर्ता तथा जीवनदाताले व्यक्तिगत तवरमा ग्यारेन्टी दिनुहुन्छ। त्यसबाहेक परमेश्वर हामीलाई कस्तो आश्वासन दिनुहुन्छ भने, फेरि प्राप्त हुने जीवन क्षणिक नभई कहिल्यै मर्नु नपर्ने प्रत्याशासहितको जीवन हुनेछ! यसबारे विश्वस्त हुँदै प्रेरित पावलले स्पष्टसित यसो भने: “उहाँलाई [ख्रीष्ट येशू] मरेकोबाट बिउँताएर सबै मानिसहरूलाई उहाँले [परमेश्वर] विश्वास दिलाउनुभएको छ।”—प्रेरित १७:३१.
निस्सन्देह, यसले अझ यी तीन आधारभूत प्रश्नहरू खडा गर्छ: मृत व्यक्ति कसरी जीवित हुन्छ? यो कहिले हुनेछ? त्यो नयाँ जीवन कहाँ सुरु हुन्छ? संसारभरि यी प्रश्नहरूका जवाफ बेग्लाबेग्लै किसिमले दिइएको पाइन्छ। तर यस विषयको सत्यलाई जाँच्ने मुख्य कुञ्जी हो, मृत्युपछि मानवहरू के हुन्छन् भनेर ठीकसित बुझ्नु।
के यसको जवाफ अमरता हो?
सबै मानवहरूको कुनै भाग अमर रहन्छ र तिनीहरूको शरीर मात्र मर्छ भन्ने विश्वास सर्वव्याप्त छ। यस्तो दाबी तपाईंले अवश्यै सुन्नुभएको होला। अमर भनेर दाबी गरिने शरीरको यस भागलाई “प्राण” वा “आत्मा” जस्ता विभिन्न शब्दहरूले चिनाइएको छ। भनिन्छ, शरीर मरेपछि पनि व्यक्ति कहीं कतै बाँचिरहन्छ। स्पष्टतया, यस्तो विश्वास बाइबलमा पाइँदैन। हो, पुरातन हिब्रू बाइबल पात्रहरूले मृत्युपछि हुने जीवनको प्रतीक्षा गरेका थिए तर शरीरको कुनै भाग अमर भएर प्राप्त हुने जीवनको बाटो हेरेका थिएनन्। तिनीहरूले पुनरुत्थानको चमत्कार मार्फत पृथ्वीमा पुनः जीवन प्राप्त हुने भविष्यको बाटो निर्धक्क भएर हेरेका थिए।
कुलपिता अब्राहाम मृतकको भावी पुनरुत्थानमा विश्वास राख्ने उल्लेखनीय उदाहरण हुन्। आफ्नो पुत्र इसहाकलाई बलिदान चढाउने अब्राहामको इच्छुकतालाई वर्णन गर्दै हिब्रू ११:१७-१९ ले हामीलाई बताउँछ: “विश्वासैबाट अब्राहामले परीक्षा हुँदा इसहाकलाई चढ़ाए। . . . मरेकोबाट पनि परमेश्वरले बिताउँनसक्नुहुन्छ भन्ने विचार गरेर यसैले दृष्टान्तको रूपमा तिनलाई फिर्ता पाए,” किनभने परमेश्वरलाई इसहाकको बलिदान चाहिएको थिएन। इस्राएलीहरूले पछि पुनः जीवनमा फर्किआउने (आत्मिक जीवनमा तुरुन्तै जीवित भइहाल्ने होइन) विश्वास राखेका थिए र त्यसबारे पुष्टि दिंदै भविष्यवक्ता होशेले यस्तो लेखे: “के म तिनीहरूलाई पातालको [मानिसजातिको सामान्य चिहान] शक्तिदेखि छुटाऊँ? के म तिनीहरूलाई मृत्युदेखि मुक्त गरूँ?”—होशे १३:१४.
अन्तरनिहित मानव अमरताको धारणा यहूदी विचार र विश्वासभित्र कहिलेदेखि घुस्यो? इन्साइक्लोपीडिया जुडाइका (अंग्रेजी) यसरी स्वीकार्छ, “सम्भवतः युनानी प्रभावले गर्दा प्राण अमर हुन्छ भन्ने सिद्धान्त यहूदी धर्मभित्र घुस्यो।” तैपनि, ख्रीष्टको समयसम्म भक्त यहूदीहरूले भावी पुनरुत्थानमा विश्वास गर्थे र यसको प्रतीक्षामा थिए। यसलाई हामी येशूले मार्थाको भाइ लाजरसको मृत्यु हुँदा तिनीसित गर्नुभएको वार्तालापबाट स्पष्टसित बुझ्छौं: “तब मार्थाले येशूलाई भनिन्, ‘प्रभु, तपाईं यहाँ हुनुहुँदो हो ता मेरो भाइ मर्ने थिएन। . . . येशूले तिनलाई भन्नुभयो, ‘तिम्रो भाइ फेरि बिउँतनेछ।’ मार्थाले उहाँलाई भनिन्, ‘म जान्दछु, कि त्यो पछिल्लो दिनको पुनरुत्थानमा फेरि बिउँतनेछ।’”—यूहन्ना ११:२१-२४.
मृतकको अवस्था
यहाँ फेरि यस कुरालाई अडकल गर्न आवश्यक छैन। बाइबलको साधारण सत्यअनुसार मृतकहरू “निद्रा” अर्थात् भावना वा ज्ञान पूर्णतया नभएको अचेतन अवस्थामा हुन्छन्। बाइबलमा यस्तो सत्यलाई जटिल र बुझ्नै कठिन पर्ने तरिकामा प्रस्तुत गरिएको छैन। सजिलै बुझ्न सकिने यी शास्त्रपदहरूलाई विचार गर्नुहोस्: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। . . . तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्, किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।” (उपदेशक ९:५, १०) “राजाहरूमाथि तँ भरोसा नगर्, मानिसमाथि पनि नगर्, तिनीहरूबाट केही सहायता हुँदैन। त्यसको सास निस्किहाल्छ, त्यो माटैमा मिलिहाल्छ। त्यही दिन त्यसका युक्तिहरू नष्ट भइहाल्छन्।”—भजन १४६:३, ४.
अतः येशू ख्रीष्टले मृत्युलाई किन निद्रा भन्नुभयो, बुझ्न सकिन्छ। येशू र उहाँका चेलाहरूबीचको वार्तालापलाई प्रेरित यूहन्ना यसरी लिपिबद्ध गर्छन्: “उहाँले तिनीहरूलाई भन्नुभयो, ‘हाम्रा मित्र लाजरस निद्रामा परेका छन्, तर म तिनलाई निद्राबाट बिउँझाउनालाई जाँदैछु।’ यसकारण चेलाहरूले उहाँलाई भने, ‘हे प्रभु, तिनी निद्रामा परेका छन् भने ता बाँच्छन् होला।’ अब येशूले तिनको मृत्युको विषयमा भन्नुभएको थियो, तर तिनीहरूले चाहिं निद्राको आरामीको विषयमा भन्नुभएको हो भनी ठाने। येशूले तिनीहरूलाई सफासँग भनिदिनुभयो, ‘लाजरस मरेका छन्।’”—यूहन्ना ११:११-१४.
व्यक्ति सम्पूर्णतया मर्छ
मानव मृत्युको प्रक्रियामा व्यक्तिको शरीर मात्र होइन तर व्यक्ति नै मर्छ। बाइबलको सुस्पष्ट भनाइहरूअनुसार, मृत्युपछि पनि बाँच्नसक्ने अमर प्राण मानिसमा हुँदैन भन्ने निष्कर्षमा हामी पुग्नैपर्छ। प्राण मर्नसक्छ भनेर धर्मशास्त्रले स्पष्टसित बताउँछ। “हेर, सबै प्राण मेरै हुन्, बाबुको प्राण र छोराको प्राण पनि मेरै हुन्। जुन प्राणीले पाप गर्छ त्यही मर्छ।” (इजकिएल १८:४) मानिसजातिमा अन्तरनिहित हुन्छ भनेर भनिने “अमर” वा “अमरता” शब्दहरू कहीं पनि उल्लेख गरिएको छैन।
बाइबलमा “प्राण” भनेर अनुवाद गरिएको हिब्रू र युनानी शब्दहरूबारे नयाँ क्याथोलिक विश्वकोश-ले (अंग्रेजी) यो चाखलाग्दो पृष्ठभूमि यसरी पेश गर्छ: “प्राणलाई पु नि [पुरानो नियममा] नेफेस र न नि [नयाँ नियममा] [साइके] भनिएको छ। . . . नेफेस सम्भवतः सास फेर्नु अर्थ लाग्ने मूल शब्दबाट आउँछ। यसर्थ, . . . सासले जीवितलाई मृतकबाट छुट्याउने भएकोले नेफेसको अर्थ जीवन वा स्वयं वा मात्र व्यक्तिगत जीवन भयो। . . . पुरानो नियममा शरीर र प्राणको विभाजनबारे [दुइ भाग] बताइएको छैन। इस्राएलीहरूले समूहगत रूपमा मानिस एउटै हुन् भनेर स्पष्टसित देखे। यसैले मानिसहरू बेग्लाबेग्लै भागहरूले बनिएको नभई व्यक्ति नै हुन् भनेर तिनी स्वीकार्थे। नेफेस शब्दलाई हाम्रो भाषामा प्राण भनेर अनुवाद गरिएको भए तापनि यो शरीरभन्दा अलग वा व्यक्तिविशेष कदापि होइन। . . . नयाँ नियममा नेफेस-को लागि चलाइएको शब्द [साइके] हो। यसको अर्थ जीवनको स्रोत, जीवन स्वयं वा जीवित प्राणी हुनसक्छ।”
तसर्थ, मृत्यु हुँदा पहिलाको जीवित व्यक्ति वा जीवित प्राणको अस्तित्व रहँदैन भनेर तपाईं थाह पाउन सक्नुहुन्छ। मृत शरीर दफनाएकोमा बिस्तारै कुहिंदै होस् वा जलाएर तुरुन्तै होस्, मृत्युपछि शरीर “माटो” वा पृथ्वीको तत्त्वहरूमा फर्केर जान्छ। यहोवाले आदमलाई भन्नुभयो: “तँ माटै होस् र माटैमा फर्किजानेछस्।” (उत्पत्ति ३:१९) त्यसोभए, मृत्युपछि जीवन कसरी सम्भव छ? कसरी छ भने, परमेश्वरले मरेको व्यक्तिलाई स्मरणमा राख्नुहुन्छ। यहोवासित मानवहरू सृष्टि गर्ने अद्भुत शक्ति र योग्यता छ। तसर्थ, उहाँले आफ्नो स्मरणमा व्यक्तिविशेषको जीवनपद्धतिको विवरण संरक्षण गर्नसक्नु अचम्मको कुरा होइन। हो, व्यक्ति पुनः जीवित हुन्छ भन्ने सबै प्रत्याशाहरू परमेश्वरमा निर्भर छन्।
आत्मा दिनुहुने परमेश्वरकहाँ यो फर्केर जान्छ भन्नु नै “आत्मा” शब्दको अर्थ हो। यस परिणामलाई वर्णन गर्दै उपदेशक पुस्तकका प्रेरित लेखक यसरी बताउँछन्: “जसरी त्यो शुरू गरिएको थियो त्यसरीनै माटो माटैमा मिल्नअघि र आत्मा दिने परमेश्वरकहाँ जानअघि उहाँकोनै सम्झना गर्।”—उपदेशक १२:७.
परमेश्वरले मात्र कसैलाई बचाउन सक्नुहुन्छ। परमेश्वरले अदनमा मानिस सृष्टि गर्नुभएर तिनको नाकमा “जीवनको सास” फुक्नु हुँदा उहाँले आदमको फोक्सो हावाले भर्नुबाहेक जीवन-शक्तिलाई तिनको शरीरका सबै कोषिकाहरू जीवित पार्न लाउनुभयो। (उत्पत्ति २:७) यो जीवन-शक्ति गर्भधारण र जन्मद्वारा आमाबाबुदेखि बच्चाहरूमा सर्दै जानसक्ने भएकोले निस्सन्देह मानव जीवन आमाबाबुबाट अप्रत्यक्ष रूपले प्राप्त भएको भए तापनि यसको श्रेय परमेश्वरलाई उचितसाथ दिन सकिन्छ।
पुनरुत्थान—आनन्दित समय
पुनरुत्थान र पवित्र धर्मशास्त्रले समर्थन नगर्ने पुनर्जन्मलाई एउटै सम्झनु भएन। मानिस मरेपछि पुनः एक वा थुप्रै क्रमिक अस्तित्व लिएर जन्मन्छन् भन्ने विश्वास पुनर्जन्म हो। यस भनाइअनुसार, मृत्युपछि प्राप्त हुने उच्च वा निम्न जीवनस्तर व्यक्तिको पूर्व जीवनमाथि भर पर्छ। यस विश्वासअनुसार कुनै व्यक्ति मानव वा पशुको रूपमा “पुनः जन्मन” सक्छन्। यो कुरा बाइबल शिक्षाहरूसित पूर्णतया विरोधाभासपूर्ण छ।
“पुनरुत्थान” शब्द युनानी शब्द आनास्टासिस-बाट अनुवाद गरिएको हो। यसको अक्षरसः अर्थ “पुनः खडा हुनु” हो। (युनानी भाषाका हिब्रू अनुवादकहरूले आनास्टासिस-लाई हिब्रूमा टेचियाथ ह्यामेथिम भनेर अनुवाद गरेका छन्। त्यसको अर्थ “मृतकको पुनरुत्थान” हो।) परमेश्वरले आफ्नो स्मरणमा राख्नुभएको व्यक्तिविशेषको जीवनपद्धतिलाई पुनः सक्रिय पार्नु नै पुनरुत्थान हो। व्यक्तिविशेषको लागि परमेश्वरले राख्नुभएको इच्छाअनुसार व्यक्तिलाई मानव शरीर वा आत्मिक शरीरमा पुनर्स्थापित गराइन्छ। यद्यपि, तिनीहरूको मृत्यु हुनुअघिकै व्यक्तित्व र स्मरणहरू तिनीहरूसित हुन्छन्।
हो, बाइबलले दुइ प्रकारको पुनरुत्थानबारे बताउँछ। एउटा पुनरुत्थान आत्मिक शरीरमा हुने स्वर्गीय पुनरुत्थान हो। यस्तो पुनरुत्थान थोरैको मात्र हुन्छ। येशूले यस्तै पुनरुत्थान प्राप्त गर्नुभयो। (१ पत्रुस ३:१८) उहाँको पाइलामा हिंड्ने अनुयायीहरूबीचबाट चुनिएका जनहरूले यस्तो पुनरुत्थान अनुभव गर्नेछन् भनेर उहाँले देखाउनुभयो। यो पुनरुत्थान प्राप्त गर्ने प्रथम व्यक्तिहरू उहाँका विश्वासी प्रेरितहरूबाट हुनेथिए। तिनीहरूलाई उहाँले यो प्रतिज्ञा गर्नुभयो: “म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। . . . म फेरि आउँछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ।” (यूहन्ना १४:२, ३) बाइबलले ती प्रेरितहरूको पुनरुत्थानलाई पहिलो र प्रथम दर्जाको अर्थात् “पहिलो पुनरुत्थान” भन्छ। (प्रकाश २०:६) “पहिलो पुनरुत्थान” सीमित संख्याको लागि हो र विश्वासी पुरुष तथा स्त्रीहरूबाट १,४४,००० मात्र यसको निम्ति छानिएका छन् भनेर धर्मशास्त्रले देखाउँछ। तिनीहरूले आफ्नो विश्वासबारे अरूलाई साक्षी दिन सक्रिय भएर मृत्युसम्मै यहोवा परमेश्वर र ख्रीष्ट येशूप्रति निष्ठा कायम गरेको प्रमाणित गर्नु पर्नेछ।—प्रकाश १४:१, ३, ४.
निस्सन्देह, स्वर्गीय पुनरुत्थान पाएकाहरूका निम्ति मृतकहरूको पुनरुत्थान असीम आनन्दको समय हो। तर आनन्द त्यति मात्र होइन किनभने यस पृथ्वीमै पनि पुनरुत्थान हुन्छ भनी प्रतिज्ञा गरिएको छ। ती पुन- रुत्थान हुनेहरू वर्तमान दुष्ट रीतिरिवाजको अन्तबाट बच्ने असंख्य मानिसहरूसित सम्मिलित हुनेछन्। स्वर्गीय पुनरुत्थानको लागि कम संख्यालाई प्रेरित यूहन्नाले देखेपछि “कसैले गन्न नसक्ने हरेक जातिबाटको र सबै कुलको र मानिसको, र भाषा भाषाहरूको एक ठूलो भीड़[को]” दर्शन तिनलाई दिइयो। यस पृथ्वीमा लाखौं, सम्भवतः अरबौं मानिसहरू पुनः जीवित हुँदा त्यो कत्ति आनन्दको क्षण हुनेछ!—प्रकाश ७:९, १६, १७.
यो कहिले हुनेछ?
आजको जस्तै परिस्थिति अर्थात् झगडा, रक्तपात, प्रदूषण र हिंसाले भरिएको पृथ्वीमा मृतकहरू फर्किआए जस्तोसुकै आनन्द तथा हर्ष पनि क्षणिक हुनेछ। तर अहँ, पुनरुत्थानले “नयाँ पृथ्वी[को]” स्थापना नभइञ्जेल पर्खनैपर्छ। पृथ्वीलाई अहिलेसम्म नाश गर्ने तथा यसको स्वच्छ सुन्दरतालाई बिगार्ने ध्येय राख्नुबाहेक वर्णन गरी नसक्ने दुःख पृथ्वीवासीहरूमाथि थोपरिरहेका मानिस तथा संस्थाहरू पृथ्वीबाट हटाइएको कल्पना गर्नुहोस्।—२ पत्रुस ३:१३; प्रकाश ११:१८.
स्पष्टतया, मानिसजातिको सामान्य पुनरुत्थान हुन अझ बाँकी नै छ। यद्यपि, सुसमाचार के हो भने, यो चाँडै हुनेछ। हो, यसले वर्तमान दुष्ट रीतिरिवाजको अन्तलाई पर्खनैपर्छ। तथापि, अकस्मात् आइपर्ने “महा सङ्कष्ट” सँघारमै छ र सामान्यतः आरमागेडोन भनिने “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लड़ाइँ[मा]” यो पराकाष्ठामा पुग्छ भनेर देखाउने प्रमाणहरू प्रशस्त छन्। (मत्ती २४:३-१४, २१; प्रकाश १६:१४, १६) यसले यस आनन्ददायी ग्रह, पृथ्वीका सबै दुष्टताहरूलाई हटाउनेछ। त्यसपछि ख्रीष्ट येशूको हजार वर्षीय शासन सुरु हुनेछ। त्यतिबेला पृथ्वी क्रमिकरूपले प्रमोदवनमा परिणत हुनेछ।
यस सहस्र वर्षीय शासनमा मृतक मानवहरूको पुनरुत्थान हुनेछ भनेर बाइबलले देखाउँछ। त्यसपछि येशूले पृथ्वीमा हुनुहुँदा गर्नुभएको यो प्रतिज्ञा पूरा हुनेछ: “यसमा अचम्म नमान, किनभने बेला आउँछ, जब चिहानमा हुनेहरू सबैले उसको सोर सुन्नेछन्। . . . र पुनरुत्थानको निम्ति निस्किआउनेछन्।”—यूहन्ना ५:२८, २९.
पुनरुत्थान आशाको प्रभाव
भविष्यमा मृतकहरू फेरि जीवित हुने पुनरुत्थानको यो प्रत्याशा कति अद्भुत छ! वृद्धावस्था, बिमारी, अप्रत्याशित विपत्ति तथा दुःख र दैनिक जीवनमा आइपर्ने दबाब र समस्याका कठिनाइहरूको सामना गर्न यसले हामीलाई कति प्रोत्साहन दिन्छ! यसले दुःखलाई एकैसाथ हटाएर होइन तर भावी आशा नभएकाहरूबाट हामीलाई छुट्याएर मृत्युको खील निकाल्छ। प्रेरित पावलले पुनरुत्थान आशाको यस सान्त्वनादायी नतिजालाई यी शब्दहरूद्वारा स्वीकारे: “हे भाइ हो, मरिजानेहरूको विषयमा तिमीहरू अजान बस भन्ने हामी इच्छा गर्दैनौं, कि आशा नहुने अरू बाँकीहरूले जस्तो शोक नगर। किनकि येशूको मृत्यु र पुनरुत्थान भएको हामी विश्वास गर्छौं भनेता, त्यसरीनै येशूमा मरेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ।”—१ थिस्सलोनिकी ४:१३, १४.
पूर्वी निवासी अय्यूबले गरेको अर्को अवलोकनको यस सत्यलाई हामीले अनुभव गरिसक्यौं होला: “मता सड़ेको र नाश हुने र कीराले खाएको वस्त्रजस्तै नष्ट हुँदैछु। स्त्रीबाट जन्मेको मानिस अल्प-आयुका र अशान्तिले भरिएको हुन्छ, त्यो फूलझैं फक्रन्छ र ओइलाइहाल्छ। त्यो छायाजस्तै हराइहाल्छ, रहँदैन।” (अय्यूब १३:२८–१४:२) जीवनको अनिश्चितता र हामी जोसुकैमाथि “समय र अवसर” आइपर्नसक्ने ठोस वास्तविकताबारे हामीलाई थाह छ। (उपदेशक ९:११) स्पष्टतया, मृत्युबारे हामी कसैले पनि सोच्न चाहँदैनौं। तैपनि, पुनरुत्थानको निश्चित आशाले मृत्युको अत्यधिक डरलाई हटाउन मदत गर्छ।
त्यसकारण ढुक्क हुनुहोस्! पुनरुत्थानको चमत्कारद्वारा मृत्युको निद्राबाट पुनः जीवित हुने सम्भावनाको प्रतीक्षा गर्नुहोस्। भावी जीवनको प्रत्याशालाई विश्वस्त भई हेर्नुहोस् र निकट भविष्यमा यस्तो आशिषित् समय हुन्छ भन्ने थाह पाएर अझ आनन्दित हुनुहोस्।