तपाईंको जीवन—यसको उद्देश्य के हो?
“तिनीहरूको जीवनको छोटो अवधिमा संसारमा मानिसहरूले गर्नुपर्ने असल कुरा के हो सो जान्ने आशामा . . . मेरो मनलाई बुद्धिले डोऱ्यायो।”—उपदेशक २:३.
१, २. आफ्नो जीवनबारे यथोचित चासो लिनु किन गलत कुरा होइन?
तपाईं आफ्नो जीवनबारे चासो लिनुहुन्छ नि, होइन र? यो कुनै असामान्य कुरा होइन। त्यसैले त हामी दिनदिनै खान्छौं, थकाइ लागेपछि सुत्छौं र साथी तथा प्रियजनहरूसित बस्न मन पराउँछौं। कहिलेकाहीं पौडी तथा अन्य प्रकारका खेलहरू खेल्छौं वा आफूलाई रमाइलो लाग्ने अन्य कुनै कुराहरू गर्छौं। हामी आफ्नो जीवनबारे सन्तुलित चासो राख्छौं भनी यी क्रियाकलापहरूबाट झल्किन्छ।
२ आफ्नो जीवनबारे त्यस्तो चासो राख्नु परमेश्वरले सुलेमानलाई लेख्न प्रेरित गर्नुभएको कुरासित मेल खान्छ: “मानिसको निम्ति आफ्नो परिश्रमको सट्टामा खानु, पिउनु र मोज-मजा गर्नुभन्दा अरू बढ़ी केही छैन।” आफ्नो अनुभवको आधारमा सुलेमानले अझै यसो भने: “मैले यो देखें कि यो पनि परमेश्वरको हातबाटै मिल्दछ। किनभने उहाँले दिनुभएन भने कसलाई भोजन अथवा कसलाई सुख मिल्नेछ र?”—उपदेशक २:२४, २५.
३. अधिकांश मानिसहरूलाई कस्ता अकमक्याउने प्रश्नहरूको जवाफ पाउन गाह्रो लाग्छ?
३ तैपनि जीवन भनेको खाने, पिउने, सुत्ने र केही भलाइ गर्ने मात्रै होइन भनेर तपाईंलाई थाह छ। हामीले जीवनमा शारीरिक पीडा, निराशा र चिन्ताहरू पनि भोग्छौं। अनि जीवनको अर्थ के हो त्यो बुझ्न हामीसित फुर्सदै नभएजस्तो देखिन्छ। के तपाईंलाई पनि त्यस्तै लाग्छ? द वल स्ट्रिट जर्नल-का भूतपूर्व सम्पादक भर्मन्ट रोइस्टरले मानिसजातिको विस्तृत ज्ञान र सीपहरूबारे टिप्पणी गर्दै यसो लेखे: “एउटा एकदमै अचम्मको कुरा छ। मानिस, उसका समस्याहरू र यस पृथ्वीमा उसको भूमिकाबारे विचार गर्ने हो भने, हामीलाई पृथ्वीमा जीवनको सुरु हुँदा जति थाह थियो, त्योभन्दा बढी केही थाह छैन। हामी को हौं, हामी यहाँ किन छौं र हाम्रो भविष्य कस्तो छ, जस्ता प्रश्नहरूको जवाफ अझै पाएका छैनौं।”
४. हाम्रो जीवनसित सम्बन्धित प्रश्नहरूको जवाफ दिन हामी किन इच्छुक हुनुपर्छ?
४ यी प्रश्नहरूको जवाफ तपाईं कसरी दिनुहुन्छ: हामी को हौं? हामी यहाँ किन छौं? अनि हाम्रो भविष्य कस्तो छ? गत जुलाई महिना श्री. रोइस्टरको मृत्यु भयो। तपाईंको विचारमा के तिनले आफ्नो जीवनकालमा ती प्रश्नहरूका चित्तबुझ्दो जवाफ पाए होलान्? मूल विषयमा नै कुरा गर्ने हो भने, के तपाईंलाई ती प्रश्नहरूको जवाफ पाउन सकिन्छ जस्तो लाग्छ? अनि चित्तबुझ्दो जवाफ पाएपछि आनन्दमय र अझ अर्थपूर्ण जीवन कसरी बिताउन सक्नुहुनेछ? आउनुहोस्, हामी हेरौं।
अन्तरदृष्टिको प्रमुख स्रोत
५. जीवनको अर्थसम्बन्धी प्रश्नहरूको अन्तरदृष्टिका लागि किन परमेश्वरलाई हेर्नुपर्छ?
५ हामी आफ्नै बलबुद्धिको भरमा जीवनको उद्देश्य खोज्न हिंड्यौं भने सफलता पाउने सम्भावना धेरै कम छ। अधिकांश पुरुष तथा स्त्रीहरू र निकै पढेलेखेका तथा अनुभवी मानिसहरूले समेत पनि जीवनको उद्देश्य पत्ता लगाउन सकेका छैनन्। तर हामी त्यत्तिकै अलपत्र छाडिएका छैनौं। सृष्टिकर्ताले हामीलाई मदत दिनुभएको छ। उहाँ “अनादिदेखि अनन्तसम्म[को]” परमेश्वर हुनुहुन्छ। साथै उहाँलाई पृथ्वी र यसको इतिहासबारे पूर्ण ज्ञान छ। अतः, तपाईंको विचारमा के उहाँ नै अन्तरदृष्टि र बुद्धिको प्रमुख स्रोत हुनुहुन्न र? (भजन ९०:१, २) उहाँले मानवजातिलाई सृष्टि गर्नुभयो र तिनीहरूका कामकुराहरू सबै हेर्नुभएको छ। त्यसैकारण, अन्तरदृष्टिको निम्ति हामीले सीमित ज्ञान र समझ भएका असिद्ध मानिसहरूको होइन तर परमेश्वरको खोजी गर्नुपर्छ।—भजन १४:१-३; रोमी ३:१०-१२.
६. (क) सृष्टिकर्ताले चाहिएको अन्तरदृष्टि कसरी दिनुभएको छ? (ख) यसमा सुलेमान कसरी सम्मिलित छन्?
६ सृष्टिकर्ताले जीवनको अर्थबारे हामीसित व्यक्तिगत तवरमा कुरा गर्नुहुन्छ भन्ने आशा त हामी गर्न सक्दैनौं। तर उहाँले अन्तरदृष्टिको स्रोत भने दिनुभएको छ। त्यो हो, उहाँको प्रेरित वचन। (भजन ३२:८; १११:१०) यस सन्दर्भमा उपदेशकको पुस्तक विशेषगरि मदतकारी छ। परमेश्वरले यस पुस्तकको लेखकलाई प्रेरित गर्नुभयो जसले गर्दा “सुलेमानको बुद्धि पूर्वका सबै मानिसहरू र मिश्र देशका सबै मानिसका बुद्धिलाई माथ गर्नेथियो।” (१ राजा ३:६-१२; ४:३०-३४) सुलेमानलाई भेट्न आएकी रानी “सुलेमानको बुद्धि” देखेर एकदमै प्रभावित भइन् र उनलाई त सुलेमानको बुद्धिबारे आधी पनि सुनाएको रहेनछ र तिनको बुद्धिमानी कुराहरू सुनेर मानिसहरू पक्कै पनि खुशी हुनेछन् भनिन्।a (१ राजा १०:४-८) सृष्टिकर्ताले सुलेमान मार्फत दिनुभएको ईश्वरीय बुद्धिबाट हामीले पनि अन्तरदृष्टि र आनन्द पाउनसक्छौं।
७. (क) पृथ्वीका अधिकांश क्रियाकलापहरूबारे सुलेमान कस्तो निष्कर्षमा पुगे? (ख) सुलेमानका छानबिनहरू व्यवहारिक हुन् भनी कुन कुराले प्रमाणित गर्छ?
७ उपदेशकको पुस्तकले ईश्वरप्रदत्त बुद्धि झल्काउँछ र यसले सुलेमानको हृदय अनि मन छोएको थियो। समय, स्रोत र अन्तरदृष्टि भएको हुँदा सुलेमानले “आकाशमनि जे गरिन्छ ती” सबै जाँच गरे। तीमध्ये अधिकांश तिनले “व्यर्थ . . . र बतासलाई खेदेको जस्तो मात्र” रहेछ भनी थाह पाए। सुलेमानले यो छानबिन ईश्वरप्रेरित भई गरेका थिए र हामीले पनि आफ्नो जीवनको उद्देश्यबारे सोच्दा त्यस कुरालाई विचार गर्नुपर्छ। (उपदेशक १:१३, १४, १६) सुलेमान फरासिला र व्यवहारिक थिए। उदाहरणका लागि, उपदेशक १:१५, १८ मा पाइने तिनका शब्दहरूलाई विचार गर्नुहोस्। शताब्दीयौंको दौडान मानिसहरूले विभिन्न प्रकारका सरकारहरू चलाइ हेरेको तपाईंलाई थाहै होला र कहिलेकाहीं तिनीहरूले निष्कपटतासाथ समस्याहरू समाधान गर्ने र मानिसहरूको जीवनस्तर उकास्ने प्रयाससमेत गरेका छन्। तर के कुनै सरकारले यस असिद्ध रीतिरिवाजको “बांगो” कुरालाई सोझो पार्न सकेको छ र? अनि तपाईंले पनि महसुस गर्नुभएकै होला, मानिसलाई जत्ति बढी थाह हुन्छ, उसलाई आफ्नो छोटो जीवनकालमा सबै कुराहरू सुधार्न सम्भवै छैन भनेर झन् धेरै आभास हुन्छ। यी तथ्यहरू थाह पाएर थुप्रै मानिसहरू दिक्क हुन्छन् तर हामी भने दिक्क हुनुपर्दैन।
८. कस्ता चक्रहरू धेरैअघिदेखि चल्दै आएका छन्?
८ विचार गर्नुपर्ने अर्को बुँदा, हामीलाई असर गर्ने निरन्तर चलिरहने चक्रहरू हुन्। जस्तै, घाम उदाउने र डुब्ने वा हावा र पानीका चालहरू। ती मोशा, सुलेमान, नेपोलियन र हाम्रा जिज्यूबाजेहरूका समयमा पनि थियो। अनि ती चक्रहरू अहिले पनि चलिरहेका छन्। त्यस्तैगरि “पुस्ताहरू आउँछन् र जान्छन्।” (उपदेशक १:४-७) पहिलेका मानिसहरूको परिस्थिति जस्तो थियो अहिले पनि त्यस्तै छ। पुरातन समयमा होस् या अहिले, मानिसहरूका क्रियाकलाप, आशा तथा लक्ष्यहरूमा त्यति भिन्नता छैन। मानिसहरूको दृष्टिकोणमा कोही व्यक्तिले राम्रो नाउँ कमाएकै किन नहोस् वा सुन्दर भनी नाउँ कहलिएकै किन नहोस् वा सीपमा निपुण भनी ख्याति प्राप्त गरेकै भए तापनि, अहिले ती व्यक्तिहरू खै त? तिनीहरू मरिसके र मानिसहरूले तिनीहरूलाई बिर्सिसके पनि होलान्। यो नकारात्मक दृष्टिकोण होइन। थुप्रै मानिसहरूलाई आफ्नो जिज्यूआमा-जिज्यूबुबाको नाउँलगायत उहाँहरूको जन्म र मृत्यु कहाँ भयो, त्यो पनि थाह छैन। त्यसैकारण सुलेमानले मानिसहरूको कार्य तथा प्रयासहरू व्यर्थका हुन् भनी किन भने, तपाईंले बुझ्न सक्नुहुन्छ।—उपदेशक १:९-११.
९. मानिसजातिको अवस्थाबारे व्यवहारिक अन्तरदृष्टि पाउँदा कसरी मदत पाउनसक्छौं?
९ मानिसजातिको सामान्य परिस्थितिबारे यस ईश्वरीय अन्तरदृष्टिले हामीलाई दिक्क बनाउनुको साटो सकारात्मक असर पार्नुपर्ने हो। यसले हामीलाई बितेर अनि बिर्सेर जाने कुराहरूपछि दगुर्दै ती लक्ष्यहरूमा असाध्यै लीन नहुन प्रेरित गर्नुपर्ने हो। यस ईश्वरीय अन्तरदृष्टिले हामीलाई जीवनबाट के पाइरहेका छौं र के पाउने कोसिस गरिरहेका छौं, त्यो जाँच्न मदत गर्नुपर्ने हो। उदाहरणका लागि, जोगी वा साधुजस्तो नभई सन्तुलित खानपीनबाट आनन्द उठाउनसक्छौं। (उपदेशक २:२४) अनि सुलेमान मानिसजातिको परिस्थितिबारे एकदमै सकारात्मक र आशावादी निष्कर्षमा पुगेको हामीले पाउनेछौं। संक्षिप्तमा भन्ने हो भने, हामीले आफ्नो सृष्टिकर्तासितको सम्बन्धलाई मूल्यांकन गर्नुपर्छ र उहाँले हामीलाई सधैंभरि आनन्दमय, उद्देश्यपूर्ण जीवन बिताउन मदत दिन सक्नुहुन्छ। सुलेमानले यसरी जोड दिए: “कुराको अन्त यही हो—कि तैंले सबै कुरा सुनिस्। परमेश्वरको भय राख्, र उहाँका आज्ञा पालन गर्। योबाहेक मानिसले गर्नुपर्ने अरू केही छैन।”—उपदेशक १२:१३.
अन्य प्राणीहरूको जीवनचक्रबारे हाम्रो दृष्टिकोण
१०. सुलेमानले जनावर र मानिसहरूलाई कुन तरिकामा तुलना गरे?
१० उपदेशकको पुस्तकमा पाइने ईश्वरीय बुद्धिले हामीलाई जीवनको उद्देश्यबारे अझै सोच्न मदत गर्नसक्छ। त्यो कसरी? उपदेशकको पुस्तकमा सुलेमानले हामीले विरलै सोच्ने अन्य थुप्रै सत्य कुराहरूमा ध्यानकेन्द्रित गरे। एउटा हो, मानव र जनावरहरूबीचको समानता। येशूले आफ्ना अनुयायीहरूलाई भेडासित तुलना गर्नुभयो। यद्यपि, साधारणतया मानिसहरूलाई जनावरसित तुलना गरेको मन पर्दैन। (यूहन्ना १०:११-१६) तैपनि सुलेमानले केही निर्विवाद तथ्यहरू प्रस्तुत गरे: “मानिसहरूसित व्यवहार गर्नुहुँदा तिनीहरूलाई जाँच गर्नु र तिनीहरू वास्तवमा कस्ता छन् भनी हेर्नु परमेश्वरको अभिप्राय हो। किनभने मानिस मौकावादी हुन्छ औ पशु पनि मौकावादी हुन्छ, औ ती दुवैको एउटै दुर्दशा हुन्छ—अर्थात् ती दुवैमाथि मृत्यु आइपर्दछ। . . . मानिसहरूको पशुहरूमाथि कुनै प्राधान्यता हुँदैन। . . . किनभने सबै माटैले बनिएका हुन्, औ सबै माटैमा मिल्नेछन्।”—उपदेशक ३:१८-२०.
११. (क) जनावरको सामान्य जीवनचक्र कसरी वर्णन गर्न सकिन्छ? (ख) त्यस्तो छानबिनबारे तपाईंको विचार कस्तो छ?
११ तपाईंलाई हेर्न रमाइलो लाग्ने एउटा जनावरबारे सोच्नुहोस्। जस्तै भीर खरायो वा खरायो। (व्यवस्था १४:७; हितोपदेश ३०:२६) वा तपाईंले लोखर्केको कल्पना गर्न सक्नुहुन्छ। संसारभरि ३०० भन्दा बढी किसिमका लोखर्केहरू छन्। त्यसको जीवनचक्र कस्तो हुन्छ? जन्मेको केही हप्तासम्म त्यसको आमाले स्याहारसुसार गर्छे। चाँडै त्यसका भुवाहरू पनि निस्किन थाल्छन् र त्यो गुँडबाट बाहिर निस्किन थाल्छ। खाना खोज्न सिक्दै यताउता दौडिरहेको तपाईंले देख्नु होला। तर अक्सर त्यो खालि खेलिरहेको र आफ्नो जवानीको आनन्द उठाइरहेको देख्छौं। सालाखाला एक वर्ष जति पुगेपछि त्यसले आफ्नोनिम्ति एउटा जोडी खोज्छ। अब यसले एउटा गुँड वा दुलो बनाउनुपर्छ र आफ्नो सन्तानको हेरचाह गर्नुपर्छ। प्रशस्त ऐंसेलु, काफल र बीउहरू पायो भने लोखर्केको परिवार खाइलाग्दो हुनसक्छ, छाउराछाउरीहरू ब्याउँछ। तर केही वर्षमै यो जीव बूढो हुन्छ र दुर्घटना तथा रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ। लगभग दश वर्ष जति पुगेपछि यो मर्छ। विभिन्न प्रकारका लोखर्केहरूमा केही भिन्नताहरू होलान् तर साधारणतया तिनीहरूको जीवनचक्र यस्तै हुन्छ।
१२. (क) व्यवहारिक ढंगमा भन्ने हो भने, अधिकांश मानिसहरूको जीवनचक्र साधारणतया जनावरको भन्दा किन खास फरक छैन? (ख) जनावरबारे अर्को पटक सोच्दा हामी के सम्झनसक्छौं?
१२ जनावरको त्यस्तो जीवनचक्र भएकोमा अधिकांश मानिसहरूलाई कुनै आपत्ति छैन र लोखर्केले जीवनमा यही गर्नेछु भनी विचार राख्छ भनेर कसैले आशा पनि गर्दैन। तर अधिकांश मानिसहरूको जीवन र लोखर्केको जीवनमा खास भिन्नता छैन, छ र? मानिसहरू पनि जन्मिन्छन् र बच्चा छँदा तिनीहरूको हेरचाह गरिन्छ। तिनीहरू खान्छन्, खेल्छन् र हुर्कन्छन्। केही समय नबित्दै तिनीहरू वयस्क हुन्छन् र आफ्नो निम्ति जोडी खोज्छन् अनि त्यसपछि घर बसाउँछन् र बासगाँसको प्रबन्ध गर्न दौडधूप गर्छन्। सबै कुरा ठीकै चलेमा तिनीहरू हृष्टपुष्ट होलान् र आफ्नो सन्तान हुर्काउन घर (गुँड) ठूलो बनाउलान्। तर चालै नपाई वर्षहरू बित्न थाल्छन् र तिनीहरू बूढो हुन्छन्। तिनीहरू ७०/८० वर्षमा वा त्योभन्दा पहिल्यै “दुःख[को]” जीवन बिताएर मर्छन्। (भजन ९०:९, १०, १२) अर्को पटक तपाईंले लोखर्के (वा तपाईंको मनमा भएको अन्य कुनै जनावर) देख्दा यी विचारशील तथ्यहरूबारे सोच्नुहुन्छ होला।
१३. जनावर र मानवहरूले कुन एउटै परिणाम भोग्नुपर्छ?
१३ सुलेमानले मानिसहरूको जीवनलाई जनावरसँग किन तुलना गरेको भनी अब त बुझ्नुभयो होला। तिनले लेखे: “सबै कुराको लागि समय छ, . . . जन्मने एउटा समय छ, मर्ने एउटा समय” छ। मानव र पशुहरूको अन्त अर्थात् मृत्यु एकै प्रकारको हुन्छ। “ती दुवैमाथि मृत्यु आइपर्दछ।” तिनले अझ यसो भने: “सबै माटैले बनिएका हुन्, औ सबै माटैमा मिल्नेछन्।”—उपदेशक ३:१, २, १९, २०.
१४. कोही कोही मानिसहरूले आफ्नो जीवनचक्रमा कसरी हेरफेर ल्याउन खोज्छन् तर नतिजा कस्तो हुन्छ?
१४ सुलेमानले हाम्रो दिनचर्याबारे जसरी मूल्यांकन गरे त्यसलाई नकारात्मक भन्नु मिल्दैन। हो, कसै कसैले आफ्नो आमाबाबुले हासिल गरेभन्दा बढी भौतिक सुविधा पाउन निकै समय परिश्रम गर्लान्। जीवनको उद्देश्य राम्ररी बुझ्न तथा आफ्नो जीवनस्तर उकास्न निकै समय पढाइमा पनि बिताउलान्। वा राम्रो स्वास्थ्य पाउन र अलिकति आयु लम्ब्याउन विशेष भोजन खालान् र व्यायामहरू गर्लान्। यी प्रयासहरूको फलस्वरूप केही लाभहरू त होलान्। तर त्यस्ता प्रयासहरू सफल नै हुनेछन् भनी कसले पक्का गर्नसक्छ र? सफलता प्राप्तै गरे तापनि कतिञ्जेलको लागि?
१५. अधिकांश मानिसहरूको जीवनबारे कुन कुरा नलुकाई भन्नसक्छौं?
१५ सुलेमानले यस्तो प्रश्न गरे: “जति धेरै कुरा गर्छ त्यतिनै व्यर्थ हुन्छ। औ त्यसले त्यस मानिसलाई के लाभ हुन्छ र? किनकि यस जीवनमा मानिसलाई के कुरा असल छ भनी कसले जान्नसक्छ र—यस व्यर्थको छोटो अस्तित्वमा जसबाट उ छायाजस्तै बितेर गइहाल्छ? यस संसारमा भोलि के हुन्छ भनी मानिसलाई कसले भन्नसक्छ र?” (उपदेशक ६:११, १२) मानिसले जतिसुकै प्रयासहरू गरे तापनि मृत्युले चाँडै जीवनको अन्त गर्ने हुँदा भौतिक कुराहरू थुपार्न दौडधूप गर्नुमा के कुनै फाइदा छ? वा धेरै धनसम्पत्ति कमाउन थप शिक्षाहरू हासिल गर्नुमा के कुनै फाइदा छ? अनि जीवन छायाँजस्तै चाँडै हराउने भएकोले एउटा लक्ष्यमा असफल भयो भने अर्को लक्ष्यको निम्ति दौडधूप गर्न पनि समय नभएको तिनीहरूले चाल पाउँछन्। नता तिनको मृत्युपछि “भोलि” आफ्नो छोराछोरीलाई के हुनेछ भनेर नै थाह पाउनसक्छन्।
असल नाउँ कमाउने समय
१६. (क) जनावरहरूले गर्न नसक्ने कुन कुरा हामीले गर्नुपर्छ? (ख) अन्य कुन कुराहरूले हाम्रो सोचाइमा प्रभाव पार्नुपर्ने हो?
१६ जनावरहरूजस्तो नभई हामी मानवहरूसित सोच्ने क्षमता छ, ‘म यहाँ किन छु? के जीवन जन्म र मृत्युको निर्धारित चक्र मात्रै हो?’ यस सन्दर्भमा मानिस र पशुबारे सुलेमानले भनेको साँचो कुरालाई सम्झनुहोस्: “सबै माटैमा मिल्नेछन्।” के यसको अर्थ मृत्युले कुनै व्यक्तिको अस्तित्वलाई पूर्णतया नामेट गरी दिन्छ भनेको हो? अनि मानिसको मृत्युपछि आत्मा अमर रहन्छ भनेर बाइबलले भन्दैन। मानिसहरू नै प्राण हुन् र पाप गर्ने प्राणी मर्छ। (इजकिएल १८:४, २०) सुलेमानले अझ स्पष्ट पार्दै यसो भने: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्, तर मरेकाहरूले ता केही पनि जान्दैनन्। तिनीहरूका निम्ति केही प्रतिफल हुँदैन। तिनीहरू बिलकुलै बिर्सिजानेछन्। तेरो हातमा जे काम छ त्यो आफ्नो पूरा शक्तिले गर्, किनभने मृत्युमा, जहाँ तँ जानैपर्छ, त्यहाँ नता केही गर्ने, न विचार गर्ने, न समझ-शक्ति, न बुद्धिनै हुन्छ।”—उपदेशक ९:५, १०.
१७. उपदेशक ७:१, २ ले हामीलाई कुन कुरा सोच्न लाउनुपर्छ?
१७ यस निर्विवाद तथ्यलाई मनमा राख्दै यस कथनलाई विचार गर्नुहोस्: “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो। भोजको घरमा जानुभन्दा शोकको घरमा जानु असल हो। जीवित मानिसले यो मनमा राखोस् कि मृत्यु चाहिं हरेक मानिसको भाग हो।” (उपदेशक ७:१, २) “मृत्यु चाहिं हरेक मानिसको” अन्त हो भन्ने कुरामा हामी सहमत हुनैपर्छ। कुनै मानवले अमृत पिएर, कुनै भिटामिन खाएर, कुनै विशेष भोजन खाएर वा कुनै विशेष व्यायाम गरेर अनन्त जीवन पाउनसकेको छैन। अनि अक्सर तिनीहरूको मृत्यु भएको धेरै समय नबित्दै “तिनीहरू बिलकुलै बिर्सिजानेछन्।” त्यसोभए नाउँ किन “अति सुगन्धित अत्तरको भन्दा मीठो . . . औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो”?
१८. सुलेमानले पुनरुत्थानमा विश्वास गर्थे भनी हामी किन पक्का हुनसक्छौं?
१८ पहिला पनि उल्लेख गरिएअनुसार सुलेमान व्यवहारिक थिए। तिनलाई आफ्ना पुर्खाहरू अब्राहाम, इसहाक र याकूबबारे थाह थियो जसले सृष्टिकर्तासामु असल नाउँ कमाएका थिए भनी कुनै शंका थिएन। यहोवा परमेश्वरले अब्राहामलाई राम्ररी चिन्नुभएको हुँदा तिनी र तिनको सन्तानलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो। (उत्पत्ति १८:१८, १९; २२:१७) हो, परमेश्वरको मित्र भएर अब्राहामले असल नाउँ कमाएका थिए। (२ इतिहास २०:७; यशैया ४१:८; याकूब २:२३) अब्राहामलाई तिनी र तिनको छोराको जीवन कहिल्यै अन्त नहुने जीवन र मृत्युको चक्र मात्रै होइन भन्ने थाह थियो। यसमा अरू थुप्रै कुराहरू समावेश थिए। तिनीहरूसित फेरि जीवित हुने पक्का आशा थियो तर त्यो अमर आत्माको कारण नभई पुनरुत्थानद्वारा हुनेछ। “मरेकोबाट पनि परमेश्वरले [इसहाकलाई] बिउताउँनसक्नुहुन्छ” भनी अब्राहाम विश्वस्त थिए।—हिब्रू ११:१७-१९.
१९. उपदेशक ७:१ बाट अय्यूबले जस्तै जीवनको कस्तो अन्तरदृष्टि पाउनसक्छौं?
१९ “असल नाउँको बासना अति सुगन्धित अत्तरको भन्दा मीठो हुन्छ, औ मृत्युको दिन, जन्मेको दिनभन्दा उत्तम हो” भन्ने कुरा बुझ्ने कुञ्जी नै त्यही हो। आफूभन्दाअघि बाँचेका अय्यूबजस्तै सुलेमान पनि मानवलाई सृजनुहुनेले जीवनलाई पुनर्स्थापित पनि गर्न सक्नुहुन्छ भनी विश्वस्त थिए। उहाँले मरेकाहरूलाई बिउँताउन सक्नुहुन्छ। (अय्यूब १४:७-१४) विश्वासी अय्यूबले यसो भने: “तपाईं [यहोवाले] मलाइ आज्ञा गर्नुहुनेथियो, र म जवाफ दिनेथिएँ। आफूले सृष्टि गर्नुभएको प्राणीलाई तपाईंले हेर्न इच्छा गर्नुहुनेथियो।” (अय्यूब १४:१५) यसो विचार गर्नुहोस् त! हाम्रो सृष्टिकर्ता मरिसकेका आफ्ना वफादार सेवकहरू हेर्ने “इच्छा” गर्नुहुन्छ। (“फेरि एक चोटि तपाईं आफ्नो हस्तकला हेर्ने इच्छा गर्नुहुन्छ।”—द जेरूशलेम बाइबल।) येशू ख्रीष्टको छुडौतीको बलिदानको आधारमा सृष्टिकर्ताले मानवहरूको पुनरुत्थान गर्न सक्नुहुन्छ। (यूहन्ना ३:१६; प्रेरित २४:१५) स्पष्टतः, मरणशील जनावरहरूभन्दा मानवहरू भिन्न हुनसक्छन्।
२०. (क) कस्तो अवसरमा जन्मेको दिनभन्दा मृत्युको दिन उत्तम हो? (ख) लाजरसको पुनरुत्थानले थुप्रैको जीवनलाई कसरी असर गरेको हुनुपर्छ?
२० यसको अर्थ हो, विश्वासी जनहरूको पुनरुत्थान गर्न सक्नुहुने यहोवासामु कसैले असल नाउँ कमाएको छ भने उसको लागि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हुनसक्छ। महान् सुलेमान, येशू ख्रीष्टले यो प्रमाणित गर्नुभयो। उदाहरणका लागि, उहाँले विश्वासी लाजरसलाई बिउँताउनुभयो। (लूका ११:३१; यूहन्ना ११:१-४४) यसरी लाजरसलाई बिउँताउनुभएको देखेर थुप्रै मानिसहरू प्रभावित भएर परमेश्वरको पुत्रमाथि विश्वास गरेको तपाईं कल्पना गर्न सक्नुहुन्छ। (यूहन्ना ११:४५) के अब पनि, तिनीहरू जीवनको उद्देश्य के हो र भविष्य कस्तो छ थाह नभएर अन्योलमा पर्ने थिए होलान् त? त्यसको ठीक विपरीत, जन्मियो, केही समयको लागि बाँच्यो अनि मर्ने जनावरहरूजस्ता तिनीहरू होइनन् भनेर बुझे। तिनीहरूको जीवनको उद्देश्य येशूको पितालाई चिनेर उहाँको इच्छाअनुरूप गर्नेसित प्रत्यक्ष सम्बन्धित हुनुका साथै असाध्यै महत्त्वपूर्ण थियो। तपाईं नि? के यस छलफलले जीवनको उद्देश्य के हो वा कस्तो हुनुपर्ने हो बुझ्न र अझ भनौं भने स्पष्टसित बुझ्न तपाईंलाई मदत दियो?
२१. जीवनको उद्देश्य थाह पाउने कुन थप पक्षबारे हामी पत्ता लगाउनसक्छौं?
२१ तर जीवनमा साँचो र अर्थपूर्ण उद्देश्य हुनु भनेको मृत्यु र फेरि जीवित रहनेबारे मात्रै सोच्ने होइन। यसमा हामीले जीवनमा दिनदिनै के गरिरहेका छौं, त्यो पनि विथोलित छ। सुलेमानले उपदेशकको पुस्तकमा यो पनि स्पष्ट पारेका छन्, त्यसबारे हामी अर्को लेखमा हेर्नेछौं।
[फुटनोट]
a “शबाकी रानीको वृत्तान्तले सुलेमानको बुद्धिलाई प्रकाश पार्छ र यसलाई अक्सर दन्त्यकथा भनिएको छ। (१ रा. १०:१-१३) तर त्यहाँको प्रसंगले देखाएअनुसार वास्तवमा रानीले भ्रमण गर्नुको उद्देश्य व्यापार प्रवर्द्धनको लागि थियो भनी स्पष्ट हुन्छ र यो तिनको बुद्धिमत्तापूर्ण कार्य थियो; यसको ऐतिहासिकताबारे शंका गर्नुपर्ने कुनै कारण छैन।”—द इन्टरनेशनल स्याण्डर्ड बाइबल इनसाइक्लोपीडिया (१९८८), खण्ड ४, पृष्ठ ५६७.
के तपाईंलाई सम्झना छ?
◻ कुन तरिकामा जनावर र मानवहरूको तुलना गर्न सकिन्छ?
◻ मानिसका प्रयास तथा क्रियाकलाप व्यर्थको हो भनेर मृत्युले कसरी प्रकाश पार्छ?
◻ जन्मेको दिनभन्दा मृत्युको दिन कसरी उत्तम हुनसक्छ?
◻ कस्तो सम्बन्धले गर्दा हामीले आफ्नो जीवन अर्थपूर्ण बनाउनसक्छौं?
[पृष्ठ १०-मा भएको चित्र]
कुन उल्लेखनीय ढंगमा तपाईंको जीवन पशुको भन्दा भिन्न छ?