यहोवाको वचन जीवित छ
श्रेष्ठगीतका विशेषताहरू
“काँढाहरूका माझमा फुलेको लिली फूलझैं मेरी प्यारी अन्य कन्येहरूका बीचमा छिन्।” “वनमा भएका रूखहरूमध्ये स्याऊको रूखजस्तै पुरुषहरूका बीचमा मेरा प्रेमी हुनुहुन्छ।” “प्रभातझैं उदय भएकी, चन्द्रमाझैं सुन्दरी, सूर्यझैं चहकिलो, ताराहरूले भरिएको आकाशझैं प्रतापी यिनी को हुन्?” (श्रेष्ठगीत २:२, ३; ६:१०, NRV) आहा! बाइबलको श्रेष्ठगीत भन्ने पुस्तकका यी पदहरू कत्ति मीठो गरी लेखिएका छन्! वास्तवमा, पूरै श्रेष्ठगीत कविताहरूको सँगालो हो भन्दा फरक पर्दैन। यसका हरेक शब्द अति अर्थपूर्ण र सुन्दर छन्। त्यसैकारण पनि यस पुस्तकलाई “श्रेष्ठगीत” भनिएको हो।—श्रेष्ठगीत १:१.
प्राचीन इस्राएलका राजा सुलेमानले आफ्नो ४० वर्षे शासनकालको सुरुमा अर्थात् ईसापूर्व १०२० तिर रचेको यो गीत गोठालो र गाउँले केटी शुलम्मेनीबीचको प्रेम कहानी हो। यस गीतमा शुलम्मेनीकी आमा, तिनका दाज्यू-भाइ, “यरूशलेमका छोरी [दरबारका सुसारेहरू]” अनि ‘सियोनका छोरीहरूबारे [यरूशलेमका आइमाईहरूबारे]’ पनि चर्चा गरिएको पाउँछौं। (श्रेष्ठगीत १:५; ३:११, NRV) श्रेष्ठगीतमा ज-जसले आफ्नो भनाइ राखेका छन्, पाठकले उनीहरू सबैलाई नचिन्न पनि सक्छन्। तर उनीहरूले भन्ने कुरा अथवा उनीहरूबारे भनिएका कुरा विचार गर्दा चिन्न पनि सकिन्छ।
श्रेष्ठगीतबाट सिक्न सकिने पाठ पनि परमेश्वरकै वचनको भाग हो। यसकारण, दुइटा कारणले गर्दा यो पाठ अत्यन्त अमूल्य छ। (हिब्रू ४:१२) पहिलो: यसले पुरुष र स्त्रीबीचको साँचो प्रेम कस्तो हुन्छ, त्यसबारे पाठ सिकाउँछ। दोस्रो: यसले येशू ख्रीष्टलगायत अभिषिक्त मसीहीहरू र मण्डलीबीचको प्रेम छर्लङ्ग पार्छ। —२ कोरिन्थी ११:२; एफिसी ५:२५-३१.
मभित्रको ‘प्रेमलाई जगाउने’ कोसिस नगर
“उहाँले मलाई आफ्ना ओठले चुम्बन गरून्। तपाईंको प्रेम दाखमद्यभन्दा पनि मीठो छ।” (श्रेष्ठगीत १:२) सुकुमारी गाउँले केटीले भनेका यिनै शब्दहरूबाट सुरु हुन्छ श्रेष्ठगीतको वार्तालाप। ती केटीलाई सुलेमानको शाही पालमा ल्याइएको छ। तर तिनी त्यहाँ पुगिन् कसरी?
तिनी भन्छिन्: “मेरा दाज्यू-भाइहरू मदेखि असन्तुष्ट थिए। उनीहरूले मलाई दाखबारी हेरचाह गर्न पठाए।” तिनका दाज्यू-भाइहरू तिनीसित रिसाएका छन् किनभने तिनलाई तिनका प्रेमी गोठालोले वसन्तको रमाइलो हेर्न घुम्न जाऔं भनेका छन्। गोठालो केटासित घुम्न जान नदिन दाज्यूहरूले तिनलाई “दाखबारी बिगारिदिने, ती साना साना स्यालहरूलाई . . . समातिदेऊ” भनेर अह्राएका छन्। दाखबारी सुलेमानको पाल नजिकै छ। त्यसैले, “हाडे-बदामका रूखहरू भएका बगैंचामा” गएको बेला कसैले तिनलाई देख्छन्। शुलम्मेनी बिछट्टै सुन्दरी भएकीले तिनलाई राजाको पालमा ल्याइन्छ। —श्रेष्ठगीत १:६; २:१०-१५; ६:११.
शुलम्मेनी कन्याले आफू आफ्नो प्रेमी गोठालोलाई भेट्न आतुर भएको कुरा बताएपछि सुलेमानका सुसारेहरूले तिनलाई “भेडा-बाख्राहरूका पाइला पहिलाउँदै जाऊ” भन्छन्। तर सुलेमान तिनलाई जान दिंदैनन्। तिनको सुन्दरताको तारिफ गर्दै सुलेमानले तिनलाई “चाँदीका दानाले जडेका सुनका बाटेका हार” दिने वचन दिन्छन्। तर कन्या, सुलेमानको फकाइफुस्लाइमा पर्दिनन्। गोठालो केटा सुलेमानको पालभित्र छिर्छन्, आफ्नी प्रेमिकालाई भेट्टाउँछन् र खुसीले मक्ख पर्दै भन्छन्: “हे मेरी प्रिये, तिमी असाध्य सुन्दरी छौ, आह, कत्ति सुन्दरी!” शुलम्मेनी कन्या सुलेमानका सुसारेहरूलाई यस्तो अनुरोध गर्छिन्: मैले “नचाहेसम्म प्रेमलाई नउठाओ वा नजगाओ।”—१:८-११, १५; २:७; NRV, ३:५, NRV.
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
१:२, ३—गोठालो केटाले व्यक्त गरेको प्रेमका अभिव्यक्ति सम्झिनु दाखमद्यझैं र तिनको नाउँचाहिं अत्तरझैं (खासमा तेलझैं) छ भनिन्छ, तर कसरी? जसरी दाखमद्यले मानिसको मन खुस बनाउँछ र शिरमा तेल लगाउँदा सन्चो महसुस हुन्छ, त्यसै गरी गोठालो केटाको प्रेम अनि तिनको नाउँले पनि कन्यालाई बल र सान्त्वना दियो। (भजन २३:५; १०४:१५) येशू ख्रीष्टले आफूहरूप्रति देखाएको प्रेम मनन गरेर साँचो मसीहीहरू, त्यसमा पनि विशेष गरी अभिषिक्त जनहरूले बल अनि प्रोत्साहन पाउँछन्।
१:५—गाउँले केटी आफ्नो श्यामवर्णलाई ‘केदारका पालहरूसित’ तुलना गर्छिन्, किन होला? बाख्राको रौंबाट बनाइएको लुगा थुप्रै कुरामा प्रयोग गरिन्थ्यो। (गन्ती ३१:२०) उदाहरणको लागि, “बाख्राको भुत्लाको पर्दाहरू” “पवित्रस्थानमाथि पाल” बनाउन प्रयोग गरिन्थ्यो। (प्रस्थान २६:७) आज पनि पाइने बेडुइन पालजस्तै केदारका पालहरू कालो बाख्राका रौंहरूबाट बनाइएका हुन सक्छन्।
१:१५—गोठालो केटाले “तिम्रा आँखा ढुकुरका आँखाजस्तै छन्” भन्नुको अर्थ के हो? गोठालो केटाले आफ्नी प्रेमिकाको आँखा ढुकुरका आँखाजस्तै कोमल र मायालाग्दो छ भनिरहेका छन्।
२:७; ३:५—सुलेमानका सुसारेहरूलाई किन “मृग र हरिणीका नाउँमा शपथ” खान लगाइन्छ? मृग र हरिणी अत्यन्त आकर्षक र सुन्दर हुन्छन्। सुलेमानका सुसारेहरूलाई जति पनि आकर्षक र सुन्दर-सन्दर चीजहरू छन् ती सबको नाउँमा शपथ खान लगाएर शुलम्मेनी कन्याले तिनीभित्रको प्रेम नजगाउन अनुरोध गरिरहेकी छन्।
हाम्रो लागि पाठ:
१:२; २:६. विवाह गर्नुअगाडि भेटघाट गर्दा चोखो माया देखाउनु उचित नै हुन सक्छ। तर यस्तो माया पवित्र हुनुपर्छ, अवैध यौनसम्बन्ध राख्न उत्तेजित गर्ने कामवासनाले भरिएको हुनु हुँदैन।—गलाती ५:१९.
१:६; २:१०-१५. शुलम्मेनी उत्ताउली भएकीले अथवा तिनको मनसाय ठीक नभएकोले तिनका दाज्यू-भाइहरूले तिनलाई आफ्ना प्रेमीसित एकान्तमा घुम्न जान नदिएका होइनन्। उनीहरूले त प्रलोभनमा पर्न सक्ने स्थितिबाट आफ्नी बहिनीलाई जोगाउन सतर्कता अपनाइरहेका थिए। विवाह गर्नुअगाडि भेटघाट गर्दा विवाह बन्धनमा बाँधिन लागेका जोडीहरू एकान्त ठाउँमा जानु हुँदैन भन्ने पाठ यसबाट सिक्न सक्छौं।
२:१-३, ८, ९. शुलम्मेनी कन्या सुन्दरी भए तापनि तिनले आफूलाई “शारोनको [साधारण फूलजस्तो]” मात्र ठानिन्। तिनी सुन्दरी थिइन् र यहोवाप्रति वफादार भएको कारण गोठालो केटाले तिनलाई “काँढाहरूका बीचमा उम्रेको लिली फूल[जस्तै]” ठाने। अनि गोठालो केटाचाहिं कस्ता थिए नि? सुन्दर भएकोले कन्याले उनलाई “मृगजस्तै” भनेकी छन्। उनी आध्यात्मिक कुरामा चासो राख्ने र यहोवाप्रति वफादार व्यक्ति पनि थिए जस्तो देखिन्छ। शुलम्मेनी कन्या भन्छिन्: “जङ्गलका रूखहरूका बीचमा [छहारी र फल दिने] स्याउको रूखजस्तै पुरूषहरूका बीचमा मेरा प्रिय हुनुहुन्छ।” आफूले विवाह गर्न चाहेको व्यक्तिमा हामीले हेर्नुपर्ने गुणहरू पनि परमेश्वरप्रतिको विश्वास र भक्ति नै हो नि, होइन र?
२:७; ३:५. गाउँले केटी शुलम्मेनी सुलेमानप्रति अलिकति पनि मोहित भइनन्। साथै, गोठालो केटाबाहेक अरूप्रति प्रेम जगाउने कोसिस नगर्न पनि तिनले सुलेमानका सुसारेहरूलाई अनुरोध गरिन्। कसैप्रति त्यतिकै मोहित हुनु न सम्भव छ न त उचित नै। विवाह गर्न चाहने अविवाहित मसीहीहरूले यहोवाका वफादार जनसित मात्रै विवाह गर्नुपर्छ।—१ कोरिन्थी ७:३९.
शूलम्मेनीलाई “तिमीहरू किन एक टक लाएर हेर्न चाहन्छौ?”
“वनबाट धुवाँको मुस्लोजस्तै” केही कुरा माथि उक्लिरहेको छ। (श्रेष्ठगीत ३:६) यरूशलेमका आइमाईहरू त्यो हेर्न जाँदा के देख्छन्? सहर फर्किरहेका सुलेमान र तिनका सुसारेहरू पो रहेछन्! अनि राजाले शुलम्मेनी कन्यालाई पनि आफ्नो साथ लिएर गएका छन्।
गोठालो केटा कन्यालाई पछ्याउँदै जान्छन् र कसो-कसो गरेर तिनलाई भेटिछाड्छन्। ‘म तिमीलाई औधी माया गर्छु’ भनेर केटाले कन्यालाई विश्वस्त पार्दा कन्याले पनि यसो भन्दै सहरबाट निस्किने इच्छा प्रकट गर्छिन्: “जब दिन शीतल हुँदैजान्छ, र छाया हराउँदैजान्छ, म मूर्र भएका पर्वतमा र जटामसी भएको डाँडामा जानेछु।” तिनी गोठालो केटालाई “आफ्नो बगैंचामा आएर त्यसका दुर्लभ फलहरू” खान बोलाउँछिन्। केटा भन्छन्: “हे मेरी बहिनी, हे मेरी दुलही, म मेरो बगैंचामा आएँ।” यरूशलेमका आइमाईहरू ती दुईलाई भन्छन्: “मित्र हो, खाऊ, पिऊ, जबसम्म तिमीहरू प्रेमले मात्तिदैनौ।”—श्रेष्ठगीत ४:६, १६; ५:१.
आफूले देखेको सपना सुलेमानका सुसारेहरूलाई बताएपछि शुलम्मेनी कन्या उनीहरूलाई यसो भन्छिन्: “म उहाँको प्रेमले विह्वल भएकी छु।” उनीहरू भन्छन्: “तिम्रा प्रिय अरूहरूभन्दा कुन कुरामा असल हुनुहुन्छ?” तिनी भन्छिन्: “मेरो प्रिय सुन्दर गोरो हुनुहुन्छ, दश हजारमध्ये अझ सुन्दर।” (श्रेष्ठगीत ५:२-१०) सुलेमानले बढी नै प्रशंसा गर्न थालेपछि नम्र हुँदै तिनी भन्छिन्: शूलम्मेनीलाई “तिमीहरू किन एक टक लाएर हेर्न चाहन्छौ?” (श्रेष्ठगीत ६:४-१३, NRV) कन्याको मन जित्ने मौका यही हो भन्ठानेर राजा तिनको झनै तारिफ गर्न थाल्छन्। तर शुलम्मेनी कन्या गोठालो केटाबाहेक अरू कसैसित पनि माया नलाउन दृढ छिन्। केही सीप नलागेपछि सुलेमानले तिनलाई घर जान दिन्छन्।
धर्मशास्त्रीय प्रश्नहरूको जवाफ:
४:१; ६:५—शुलम्मेनी कन्याको केश “बाख्राको बगालसित” तुलना गरिएको छ, किन? यस तुलनाले ती कन्याको केश बाख्राको कालो रौंजस्तै चम्किलो र बाक्लो थियो भन्न खोजेको हो।
४:११—शुलम्मेनीको “ओठले मौरीका चाकाझैं मीठास चुहाउँछ” र ‘मह र दूध तिनको जिब्रोमनि छन्’ भन्नुको अर्थ के हो? मौरीको चाका महभन्दा सुगन्धित र स्वादिलो हुन्छ। यस तुलनाले अनि मह र दूध कन्याको जिब्रोमनि छन् भन्नुले शुलम्मेनीको बोलीवचन राम्रो र मीठो छ भन्ने कुरालाई जोड दिन्छ।
५:१२, NRV—“उहाँका आँखाहरू . . . खोलाको छेउमा बस्ने ढुकुरहरूजस्ता, दूधले पखालिएको छ” भन्ने अभिव्यक्तिको अर्थ के हो? शुलम्मेनी कन्या आफ्ना प्रेमीको सुन्दर आँखाबारे कुरा गरिरहेकी छन्। तिनले कवितात्मक शैलीमा आँखाको सेतो भागको बीचमा हुने खैरो भागलाई नै दूधमा नुहाइरहेको खैरो ढुकुरसित तुलना गरिरहेकी हुन सक्छिन्।
५:१४, १५—गोठालोको हात र खुट्टालाई यसरी वर्णन गर्नुको कारण के हो? कुरा स्पष्ट छ, कन्याले गोठालो केटाका औंलाहरूलाई सुनका लहुरोसित तुलना गरिरहेकी छन् र तिनका नङहरूलाई चाहिं पुष्प-राजसित। तिनी आफ्नो प्रेमीको खुट्टालाई “सङ्गमरमरका खामाहरू[सित]” तुलना गर्छिन् किनभने यस्ता खामाहरू बलिया र सुन्दर हुन्छन्।
६:४—कन्यालाई किन तिर्सासित तुलना गरिएको? कनानीहरूको सहर तिर्सालाई यहोशूले कब्जा गरेका थिए र सुलेमानको शासनकालपछि त्यो सहर इस्राएलको उत्तरी दस गोत्रे राज्यको प्रथम राजधानी बनेको थियो। (यहोशू १२:७, २४; १ राजा १६:५, ६, ८, १५) एउटा पुस्तकमा यसो भनिएको छ: “यसो विचार गर्दा त्यो सहर निकै सुन्दर थियो जस्तो छ, नत्र यसबारे चर्चा गरिने थिएन।”
६:१३, NRV—“महानोमको नाँच” के हो? यसलाई “दुई शिविरको नाँच” पनि भन्ने गरिन्छ। महानोम भन्ने सहर यब्बोकको जँघारनजिकै पर्ने यर्दन नदीको पूर्व दिशामा थियो। (उत्पत्ति ३२:२, २२; २ शमूएल २:२९, NRV) कुनै उत्सव मनाउँदा सहरमा नाचिने नाँचलाई नै “महानोमको नाँच” भनिएको हुन सक्छ।
७:४—सुलेमानले शुलम्मेनी कन्याको गलालाई ‘हाती-दाँतका धरहरासित’ तुलना गरे, किन? पहिला पनि कन्याको यसरी प्रशंसा गरिएको थियो: “तिम्रो गला घुमाउने सिढीहरू भएको दाऊदको धरहराजस्तै छ।” (श्रेष्ठगीत ४:४) धरहरा लामो र सुलुत्त परेको हुन्छ भने, हाँती-दाँतचाहिं सतह मिलेको हुन्छ। सुलेमानलाई शुलम्मेनी कन्याको सुलुत्त परेको अनि मिलेको गला असाध्यै मनपऱ्यो।
हाम्रो लागि पाठ:
४:७. सुलेमानले देखाएको प्रलोभनमा नफसेर शुलम्मेनी कन्याले असिद्ध भए तापनि आफूलाई नैतिकवान् साबित गरिन्। त्यस्तो नैतिक बलले तिनलाई झनै सुन्दरी बनायो। आजका मसीही बहिनीहरू पनि यस्तै हुन सक्छन्।
४:१२. ताल्चा मारेको गेटबाट मात्र भित्र छिर्न सकिने बन्द ढोकाभित्रको सुन्दर बगैंचाजस्तै शुलम्मेनी कन्याले पनि आफ्नो चोखो माया केवल आफ्नो भावी श्रीमान्को लागि साँचेर राखिन्। हेर्नुहोस् त, अविवाहित महिला तथा पुरुषहरूका लागि कत्ति राम्रो उदाहरण!
“याहको ज्वाला”
शुलम्मेनी घर फर्किंदै गरेको देखेपछि तिनका दाज्यू-भाइहरू यसो भन्छन्: “आफ्ना प्रियेसित अडेस लाग्दै वनबाट आउने को हुनुहुन्छ?” केही समयअगाडि तिनका एक जना दाज्यूले भनेका थिए: “यदि त्यो पर्खाल भएता हामी त्यसमा चाँदीका बार लगाउनेथियौं। त्यो ढोका भएदेखि हामी देवदारका फल्याकले बारेर बन्द गर्नेथियौं।” शुलम्मेनीको मायाको अगाडि कसैको जोर नचलेपछि र तिनको माया सच्चा रहेछ भन्ने कुरा पुष्टि भएपछि तिनी भन्छिन्: “म एक पर्खाल हुँ, र मेरा स्तन धरहराजस्तै छन्। यसैले उहाँको नजरमा म सन्तुष्ट दिने भएकी छु।”—श्रेष्ठगीत ८:५, ९, १०.
साँचो प्रेम “याहको ज्वाला” हो। किन? किनभने यस्तो प्रेमको स्रोत यहोवा परमेश्वर हुनुहुन्छ। प्रेम गर्ने क्षमतासहित हामीलाई सृष्टि गर्नुहुने उहाँ नै हुनुहुन्छ। प्रेम दन्केको आगो हो, जसको ज्वाला निभाउन सकिन्न। पुरुष र महिलाबीचको “प्रेम चाहिं मृत्युजस्तै प्रबल [अटल] हुन्छ” भन्ने कुराको सुन्दर उदाहरण श्रेष्ठगीतमा पाइन्छ।—श्रेष्ठगीत ८:६, NW.
सुलेमानले लेखेको श्रेष्ठगीतबाट येशू ख्रीष्ट र उहाँको स्वर्गीय “दुलही” वर्गका सदस्यहरूबीचको सम्बन्धबारे पनि थाह पाउन सक्छौं। (प्रकाश २१:२, ९) येशूले अभिषिक्त मसीहीहरूलाई गर्नुहुने माया पुरुष र स्त्रीबीचको मायाभन्दा कता हो कता उत्कृष्ट छ। दुलही वर्गका सदस्यहरू स्थिर भई यहोवाको सेवा गर्छन्। येशू ‘अरू भेडालाई’ पनि माया गर्नुहुन्छ। त्यसैकारण उहाँले आफ्नो जीवन उनीहरूका लागि पनि अर्पण गर्नुभयो। (यूहन्ना १०:१६) त्यसकारण, अटल प्रेम र भक्ति देखाउने सन्दर्भमा शुलम्मेनी कन्याले बसालेको उदाहरण सबै साँचो मसीहीहरूले अनुकरण गर्न सक्छन्। (w 06 11/15)
[पृष्ठ ४-मा भएको चित्र]
आफूले विवाह गर्न चाहेको व्यक्तिमा हुनुपर्ने गुणबारे श्रेष्ठगीत के भन्छ?