अनुशासन—परमेश्वरको प्रेमको प्रमाण
“जसलाई यहोवा प्रेम गर्नुहुन्छ, उसलाई अनुशासन दिनुहुन्छ।”—हिब्रू १२:६.
१. बाइबलमा अनुशासनलाई अक्सर कसरी व्याख्या गरिएको छ?
“अनुशासन।” यो शब्द सुन्नेबित्तिकै तपाईँको मनमा के आउँछ? सायद तपाईँ सजायबारे सोच्नुहुन्छ होला तर यसले सजायलाई मात्र बुझाउँदैन। बाइबलमा अनुशासनबारे उल्लेख गरिँदा यसलाई अक्सर राम्रो कुराको रूपमा व्याख्या गरिएको छ। केही बाइबल पदहरूमा यसलाई ज्ञान, बुद्धि, प्रेम र जीवनजस्ता कुराहरूसँगै उल्लेख गरिएको छ। (हितो. १:२-७; ४:११-१३) किन? किनकि परमेश्वरले दिनुहुने अनुशासनले उहाँ हामीलाई प्रेम गर्नुहुन्छ र हामीले अनन्त जीवन पाएको चाहनुहुन्छ भनेर देखाउँछ। (हिब्रू १२:६) अनुशासन दिँदा उहाँले सजाय पनि दिन सक्नुहुन्छ तर उहाँ हामीसित कहिल्यै दुर्व्यवहार गर्नुहुन्न वा अत्यन्तै कठोर सजाय दिनुहुन्न। वास्तवमा भन्नुपर्दा “अनुशासन” शब्दको मुख्य अर्थ कुनै कुरा सिकाउनुसित सम्बन्धित छ। जस्तै, आफ्नो प्यारो छोरा वा छोरीलाई हुर्काउँदा आमाबुबाले उसलाई थुप्रै कुरा सिकाउँछन्।
२, ३. अनुशासन दिनुमा सिकाउनु र सजाय दिनु दुवै समावेश हुन सक्छ, कसरी? (शीर्षकमाथिको तस्बिर हेर्नुहोस्)
२ एउटा उदाहरण विचार गरौँ: जोनी घरभित्र बल खेल्दै छ। आमाले उसलाई यसो भन्छिन्: “बाबु, ज्ञानी मान्छेले त घरभित्र बल खेल्दैन नि! सामान फुट्यो भने!” तर जोनी आमाले भनेको नमानेर बल खेलिरहन्छ अनि बलले लागेर फूलदानी फुट्छ। आमाले उसलाई कसरी अनुशासन दिन्छिन्? तिनले छोरालाई अनुशासन दिँदा सिकाउनुका साथसाथै केही सजाय पनि देलिन्। आमाको कुरा नसुन्नु किन गलत थियो भनेर तिनी छोरालाई बुझाउँछिन्। आमाबुबाले तोकेको नियम अव्यावहारिक हुँदैन र तिनीहरू छोराछोरीको लागि आवश्यक नियम मात्र तोक्छन्, त्यसैले तिनीहरूको कुरा सुन्नु बुद्धिमानी हो भनेर तिनी उसलाई सम्झाउँछिन्। छोराले पाठ सिकोस् भनेर तिनी उचित सजाय पनि दिन्छिन्। तिनी केही समयको लागि छोरालाई बल खेल्न नदिने निर्णय गर्छिन् र बल आफूसितै राख्छिन्। त्यसो गर्दा छोराले के बुझ्छ? आमाबुबाले भनेको नमान्दा त्यसको नतिजा पनि भोग्नुपर्ने रहेछ भनेर छोराले राम्ररी बुझ्छ।
३ हामी ख्रीष्टियनहरू परमेश्वरको घरानाका सदस्यहरू हौँ। (१ तिमो. ३:१५) त्यसकारण यहोवासित नियम तोक्ने अधिकार छ अनि नियम उल्लङ्घन गर्नेलाई मायालु तरिकाले अनुशासन दिने अधिकार पनि छ भनेर हामी स्विकार्छौँ। साथै जब हाम्रो गल्तीले गर्दा दुःखलाग्दो नतिजा निस्कन्छ, तब उहाँले दिनुहुने अनुशासनले हामीलाई स्वर्गमा हुनुहुने हाम्रो बुबाको कुरा सुन्नु कत्ति महत्त्वपूर्ण छ भन्ने कुरा महसुस गराउँछ। (गला. ६:७) हो, परमेश्वर हाम्रो गहिरो चासो राख्नुहुन्छ अनि हामीलाई दुःख भोग्नदेखि जोगाउन चाहनुहुन्छ।—१ पत्रु. ५:६, ७.
४. (क) हामीले आफ्ना छोराछोरी वा बाइबल विद्यार्थीहरूलाई कस्तो तालिम दिएको यहोवा चाहनुहुन्छ? (ख) हामी यस लेखमा कुन कुरा छलफल गर्नेछौँ?
४ छोराछोरी वा बाइबल विद्यार्थीहरूलाई बाइबलका सिद्धान्तहरूमा आधारित अनुशासन दिएर हामी तिनीहरूलाई येशूको चेला हुने लक्ष्य हासिल गर्न मदत दिन सक्छौँ। हामीले तालिम दिन चलाउने मुख्य साधन परमेश्वरको वचन हो। यसले हामीलाई “परमेश्वरको स्तरबमोजिम अनुशासन दिनका लागि” सक्षम बनाउँछ। यसको मदतले हामी आफ्ना छोराछोरी वा बाइबल विद्यार्थीलाई येशूले ‘हामीलाई आज्ञा गर्नुभएको सबै कुरा’ बुझ्न र पालन गर्न सिकाउन सक्छौँ। (२ तिमो. ३:१६; मत्ती २८:१९, २०) हामीले यसरी तालिम दिएको यहोवा चाहनुहुन्छ किनकि यसले गर्दा तिनीहरू पनि अरू मानिसहरूलाई येशूको चेला बनाउन सक्षम हुन्छन्। (तीतस २:११-१४ पढ्नुहोस्) अब हामी यी तीन वटा महत्त्वपूर्ण प्रश्नको जवाफ विचार गरौँ: (१) परमेश्वरले हामीलाई दिनुहुने अनुशासनमा हामीप्रति उहाँको प्रेम कसरी झल्किन्छ? (२) विगतमा परमेश्वरले अनुशासन दिनुभएका व्यक्तिहरूबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? (३) अरूलाई अनुशासन दिँदा हामी कसरी यहोवा र उहाँको छोराको अनुकरण गर्न सक्छौँ?
परमेश्वर प्रेमले उत्प्रेरित भएरअनुशासन दिनुहुन्छ
५. यहोवाले दिनुहुने अनुशासनमा हामीप्रति उहाँको प्रेम कसरी झल्किन्छ?
५ यहोवा प्रेमले उत्प्रेरित भएर हामीलाई सच्याउनुहुन्छ, सिकाउनुहुन्छ र तालिम दिनुहुन्छ ताकि हामी उहाँको प्रेम पाउन लायक भइरहौँ र जीवनको मार्गमा हिँडिरहन सकौँ। (१ यूह. ४:१६) उहाँ कहिल्यै हाम्रो बेइज्जत गर्ने वा हामीलाई खसाल्ने गर्नुहुन्न र हामीलाई बेकम्मा महसुस पनि गराउनुहुन्न। (हितो. १२:१८) त्यसको विपरीत, यहोवा हाम्रा असल कुराहरूमा ध्यान दिएर अनि हाम्रो छनौट गर्ने स्वतन्त्रताको कदर गरेर हाम्रो सम्मान गर्नुहुन्छ। परमेश्वर हामीलाई आफ्नो वचन बाइबल, यसमा आधारित प्रकाशन, ख्रीष्टियन आमाबुबा वा मण्डलीका एल्डरहरूलाई चलाएर अनुशासन दिनुहुन्छ। के तपाईँ त्यसलाई परमेश्वरको प्रेमको अभिव्यक्तिको रूपमा स्विकार्नुहुन्छ? हामी कहिलेकाहीँ अनजानमा कुनै “गलत कदम” चाल्न पुग्छौँ। त्यस्तो बेला एल्डरहरूले नम्र हुँदै अनि मायालु तरिकाले सच्याउँदा तिनीहरूले हामीप्रति यहोवाको प्रेम झल्काइरहेका हुन्छन्।—गला. ६:१.
६. अनुशासन पाउँदा कुनै सुअवसर गुमाउनुपऱ्यो भने पनि त्यसमा कसरी परमेश्वरको प्रेम झल्किन्छ?
६ कुनै-कुनै अवस्थामा अनुशासन दिँदा सल्लाह सुझाव वा मौखिक सुधार मात्र पर्याप्त नहुन सक्छ। यदि कसैले गम्भीर गल्ती गरेका छन् भने तिनले मण्डलीमा पाइरहेका सुअवसरहरू गुमाउनुपर्ने हुन सक्छ। तर त्यसमा पनि परमेश्वरको प्रेम झल्किन्छ। गल्ती गर्ने व्यक्तिले कुनै सुअवसर गुमाउनुपर्दा त्यसले तिनलाई व्यक्तिगत अध्ययन, मनन र प्रार्थना गर्नमा अझ बढी ध्यान दिनु कत्ति महत्त्वपूर्ण छ भन्ने कुरा महसुस गराउन सक्छ। अनि त्यसो गरेको खण्डमा तिनी आध्यात्मिक रूपमा बलियो हुनेछन्। (भज. १९:७) अनि समयको दौडान तिनले फेरि सुअवसरहरू प्राप्त गर्न सक्छन्। कसै-कसैलाई भने मण्डलीबाट बहिष्कार नै गर्नुपर्ने हुन सक्छ तर त्यो पनि परमेश्वरको प्रेमको प्रमाण हो किनभने त्यसले मण्डलीलाई खराब प्रभावबाट जोगाउँछ। (१ कोरि. ५:६, ७, ११) परमेश्वरले ठीक नापले दिनुहुने अनुशासनले बहिष्कार भएको व्यक्तिलाई आफ्नो गल्ती कत्ति गम्भीर थियो भनेर महसुस गराउन सक्छ र तिनी पश्चात्ताप गर्न उत्प्रेरित हुन सक्छन्।—प्रेषि. ३:१९.
तिनले यहोवाको अनुशासनबाट लाभ उठाए
७. शेब्ना को थिए र तिनमा कस्तो दुर्गुण देखा पर्न थाल्यो?
७ अनुशासनको महत्त्व बुझ्न हामी यहोवाबाट अनुशासन पाएका दुई जना व्यक्तिको उदाहरण विचार गरौँ: शेब्ना, जो राजा हिजकियाहको समयका थिए अनि ग्राहाम, जो हाम्रो समयका एक जना भाइ हुन्। शेब्ना सम्भवतः राजा हिजकियाहको “घरको मूल” अर्थात् भण्डारे थिए। तिनले निकै अख्तियार पाएका थिए। (यशै. २२:१५) तर दुःखको कुरा तिनी घमन्डी भए र आफ्नै महिमा खोज्न थाले। तिनले आफ्नो निम्ति एउटा शानदार चिहानसमेत बनाउन लगाए र तिनी “भव्य रथहरू” चढ्थे।—यशै. २२:१६-१८, NRV
८. यहोवाले शेब्नालाई कस्तो अनुशासन दिनुभयो र नतिजा के भयो?
८ शेब्नाले आफ्नै महिमा खोजेकोले परमेश्वरले तिनलाई ‘आफ्नो स्थानबाट खसाल्नुभयो’ र तिनको ठाउँमा एल्याकीमलाई नियुक्त गर्नुभयो। (यशै. २२:१९-२१) त्यसबेला अश्शूरी राजा सनहेरीबले यरूशलेमलाई आक्रमण गर्ने तयारी गरिरहेका थिए। त्यसको केही समयपछि तिनले ठूलो सेनासहित उच्च ओहदाका अफिसरहरूलाई यरूशलेम पठाए। त्यसो गरेर तिनी यहूदीहरूको मनोबल घटाउन चाहन्थे र हिजकियाहलाई आत्मसमर्पण गर्न बाध्य पार्न चाहन्थे। (२ राजा १८:१७-२५) सनहेरीबका ती अफिसरहरूसित कुरा गर्न एल्याकीमलाई पठाइयो। तर एल्याकीमको साथमा अरू दुई जना पनि गएका थिए। तिनीहरूमध्ये एक जना शेब्ना थिए, जो त्यसबेला केवल एक सचिवको रूपमा काम गरिरहेका थिए। यसबाट शेब्नाबारे हामी के थाह पाउँछौँ? विगतमा अनुशासन पाएकोमा तिनले मनमा कुनै द्वेष राखेनन् वा रिस पालेनन् बरु नम्र हुँदै पहिलेको भन्दा सानो ओहदाको जिम्मेवारी बहन गरे भनेर हामी अनुमान लगाउन सक्छौँ। यदि त्यसो हो भने त्यस विवरणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? आउनुहोस्, तीन वटा पाठ विचार गरौँ।
९-११. (क) शेब्नाको अनुभवबाट हामी कस्ता महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ? (ख) यहोवाले शेब्नासित गर्नुभएको व्यवहार तपाईँलाई कस्तो लाग्यो?
९ पहिलो, शेब्नाले आफ्नो ओहदा गुमाए। तिनको विवरणले हामीलाई यो चेतावनीको सम्झना गराउँछ: “नाशको अघि अहंकार र पतनको अघि अभिमान आउँछ।” (हितो. १६:१८) यदि तपाईँले मण्डलीमा केही सुअवसर र अख्तियार पनि पाउनुभएको छ भने के तपाईँ आफूलाई अरूभन्दा ठूलो नसम्झन प्रयास गर्नुहुन्छ? के तपाईँ आफूसित भएको जुनसुकै क्षमता वा आफूले पूरा गरेको जुनसुकै कामको श्रेय यहोवालाई दिनुहुन्छ? (१ कोरि. ४:७) प्रेषित पावलले यस्तो लेखे: “म त्यहाँ हुने तिमीहरू सबैलाई भन्छु, आफूलाई जति ठान्नु आवश्यक छ, त्योभन्दा बढ्ता नठान, बरु परमेश्वरले हरेकलाई जुन नापले विश्वास दिनुभएको छ, त्यसबमोजिम ठान, ताकि तिमीहरूले ठीकसँग सोच्न सक।”—रोमी १२:३.
१० दोस्रो, अनुशासन स्विकारेको खण्डमा शेब्ना सुध्रन सक्छन् भनेर यहोवाले तिनलाई कडा अनुशासन दिनुभएको हुन सक्छ। (हितो. ३:११, १२) आज परमेश्वरको मण्डलीमा सुअवसर गुमाउनेहरूको लागि कत्ति राम्रो पाठ! रिसाउनुको सट्टा त्यस्तो अनुशासनलाई यहोवाको प्रेमको प्रमाणको रूपमा लिंदै आफ्नो नयाँ परिस्थितिले दिएजति यहोवाको सेवा गर्नु बुद्धिमानी हो। यो कुरा नबिर्सनुहोस्, हाम्रा बुबा यहोवासामु आफूलाई नम्र बनायौँ भने उहाँले हामीलाई बेकम्मा ठान्नुहुन्न। (१ पत्रुस ५:६, ७ पढ्नुहोस्) मायालु तरिकाले अनुशासन दिएर परमेश्वर हामीलाई सही आकार दिनुहुन्छ। त्यसैले हामी उहाँको हातमा नरम माटोजस्तै आकार दिन सजिलो मानिस बनिरहौँ।
११ तेस्रो, शेब्नासित यहोवाले गर्नुभएको व्यवहारबाट अनुशासन दिने अख्तियार पाएकाहरूले पनि महत्त्वपूर्ण पाठ सिक्न सक्छन्। जस्तै, आमाबुबा वा ख्रीष्टियन निरीक्षकहरूले। कस्तो पाठ? यहोवाले दिनुहुने अनुशासनले के देखाउँछ भने उहाँ पापलाई घृणा गर्नुहुन्छ तर पाप गर्ने व्यक्तिको भने उहाँ चासो राख्नुहुन्छ। यदि तपाईँ आमाबुबा हुनुहुन्छ र आफ्नो छोराछोरीलाई अनुशासन दिनुपऱ्यो वा निरीक्षक हुनुहुन्छ र मण्डलीमा कसैलाई अनुशासन दिनुपऱ्यो भने के तपाईँ यहोवाको अनुकरण गर्नुहुन्छ? के तपाईँ पनि यहोवाले जस्तै खराब कुरालाई घृणा गर्ने तर आफ्नो छोराछोरी वा अरूमा भएको असल कुरामा ध्यान दिने गर्नुहुन्छ?—यहू. २२, २३.
१२-१४. (क) परमेश्वरबाट अनुशासन पाउँदा कसै-कसैले कस्तो प्रतिक्रिया देखाउँछन्? (ख) एक जना भाइलाई आफ्नो मनोवृत्ति सच्याउन परमेश्वरको वचनले कसरी मदत गऱ्यो? त्यसको नतिजा कस्तो भयो?
१२ दुःखको कुरा, अनुशासन पाउँदा कसै-कसैले भने आफूले भोग्नुपरेको पीडामा मात्रै ध्यान दिन्छन् अनि परमेश्वर र उहाँका जनहरूबाट टाढिन समेत थाल्छन्। (हिब्रू ३:१२, १३) तर के त्यसो भन्दैमा तिनीहरू सुध्रिने कुनै आशा नै छैन? ग्राहामलाई विचार गरौँ, जसलाई मण्डलीबाट बहिष्कार गरिएको थियो र केही समयपछि पुनर्बहाली गरिएको थियो। पुनर्बहाली भइसकेपछि तिनी फेरि आध्यात्मिक रूपमा सेलाउन थाले। एक जना एल्डरले ग्राहामको साथी बनेर तिनलाई मदत गर्ने कोसिस गरे। त्यसको केही वर्षपछि तिनले ती एल्डरलाई आफूसित बाइबल अध्ययन गर्न अनुरोध गरे।
१३ ती एल्डरले यसो भने: “ग्राहाम घमन्डी भएका थिए। तिनलाई बहिष्कार गर्ने एल्डरहरूप्रति तिनी असाध्यै आलोचनात्मक भएका थिए। त्यसैले हामीले सुरु-सुरुमा घमन्ड र यसका नराम्रा असरबारे बताउने शास्त्रपदहरू छलफल गऱ्यौँ। ग्राहामले परमेश्वरको वचनको ऐनामा हेर्दा आफू कस्तो रहेछु भनेर छर्लङ्गै देखे र आफ्नो समस्या के हो भनेर बुझे। त्यसपछि तिनले आफूमा आमूल परिवर्तन ल्याए! आफ्नो आँखामा घमन्डको ‘मूढा’ छ अनि एल्डरहरूप्रति आलोचनात्मक हुनु आफ्नै कमजोरी हो भन्ने कुरा बुझेपछि तिनले आफूलाई सुधार्न तुरुन्तै कदम चाले। तिनी नियमित रूपमा सभामा उपस्थित हुन थाले, मन लगाएर परमेश्वरको वचन अध्ययन गर्न थाले अनि दिनदिनै प्रार्थना गर्ने बानी बसाले। परिवारको शिरले पूरा गर्नुपर्ने आध्यात्मिक जिम्मेवारी पनि तिनले पूरा गर्न थाले, जसले गर्दा तिनकी श्रीमती र छोरीहरू अत्यन्तै खुसी भए।”—लूका ६:४१, ४२; याकू. १:२३-२५.
१४ ती एल्डर अझै यसो भन्छन्: “एक दिन ग्राहामले भनेको कुराले मेरो मन छोयो। ग्राहामले मलाई भने: ‘हुनत मैले सत्य सिकेको वर्षौँ भयो। मैले अग्रगामी सेवासमेत गरेँ। तर आज जीवनमा पहिलो पटक भन्न सक्छु कि म यहोवालाई साँच्चै माया गर्छु।’ केही समयपछि नै तिनलाई मण्डलीमा माइक डोऱ्याउने जिम्मेवारी दिइयो र तिनले त्यसको निकै कदर गरे। तिनको अनुभवबाट मैले एउटा पाठ सिकेँ: परमेश्वरसामु नम्र हुँदै अनुशासन स्विकार्दा आशिष्को वर्षा हुन्छ!”
अनुशासन दिँदा परमेश्वर र ख्रीष्टको अनुकरण गर्नुहोस्
१५. आफूले दिएको अनुशासन प्रभावकारी होस् भन्ने चाहन्छौँ भने हामीले के गर्नुपर्छ?
१५ असल शिक्षक बन्ने हो भने सुरुमा हामी असल विद्यार्थी बन्नुपर्छ। (१ तिमो. ४:१५, १६) त्यसैगरि, अरूलाई अनुशासन दिन परमेश्वरबाट अख्तियार पाएकाहरूले पनि यहोवाको डोऱ्याइ खुसीसाथ स्विकार्ने बानी बसालेको हुनुपर्छ। यसरी नम्र भएर परमेश्वरको डोऱ्याइ स्विकार्ने व्यक्तिलाई सबैले आदर गर्छन् र तिनले सिकाउँदा वा सच्याउँदा अरूलाई तिनको सल्लाह स्विकार्न सजिलो हुन्छ। यस सन्दर्भमा येशूको उदाहरण विचार गर्नुहोस्।
१६. उचित अनुशासन दिने र प्रभावकारी तरिकाले सिकाउने सन्दर्भमा हामी येशूबाट कस्ता पाठहरू सिक्न सक्छौँ?
१६ येशू सधैँ आफ्नो बुबाप्रति आज्ञाकारी हुनुभयो, असाध्यै गाह्रो अवस्थामा समेत उहाँले बुबाको आज्ञा पालन गर्नुभयो। (मत्ती २६:३९) आफ्नो सिकाउने क्षमता र बुद्धिको श्रेय उहाँले बुबालाई दिनुभयो। (यूह. ५:१९, ३०) येशू नम्र हुनुभएकोले र आफ्नो बुबाप्रति आज्ञाकारी हुनुभएकोले असल हृदयका मानिसहरू उहाँप्रति आकर्षित भए। अनि उहाँ अरूको भावना बुझ्ने र अरूको मनसम्मै पुग्ने शिक्षक पनि बन्नुभयो। (लूका ४:२२ पढ्नुहोस्) फुटेको नर्कट वा निभ्नै लागेको सलेदोजस्तै अवस्थामा भएका मानिसहरूलाई उहाँको दयालु वचनले सान्त्वना दियो। (मत्ती १२:२०) धैर्य गर्न गाह्रो हुने अवस्थाहरूमा पनि उहाँले अरूसित दयालु र कोमल व्यवहार गर्नुभयो। चेलाहरूले स्वार्थी र महत्त्वाकाङ्क्षी मनोभाव देखाउँदा उहाँले तिनीहरूलाई सच्याउनुभएको तरिकाबाट त्यो कुरा प्रस्ट हुन्छ।—मर्कू. ९:३३-३७; लूका २२:२४-२७.
१७. परमेश्वरको बगालको राम्ररी हेरचाह गर्न एल्डरहरूलाई कस्ता गुणहरूले मदत गर्छ?
१७ धर्मशास्त्रमा आधारित अनुशासन दिने अख्तियार पाएकाहरूले येशूको अनुकरण गर्नु बुद्धिमानी हो। त्यसो गरेर तिनीहरूले आफू परमेश्वर र उहाँको छोराको डोऱ्याइअनुसार चल्न तयार भएको देखाइरहेका हुन्छन्। प्रेषित पत्रुसले यस्तो लेखे: “तिमीहरूको जिम्मामा सुम्पिइएको परमेश्वरको बगाललाई गोठालोले झैँ हेरविचार गर, करमा परेर होइन तर स्वेच्छाले; बेइमानीद्वारा केही हासिल गर्ने लोभले होइन तर तत्परता साथ; परमेश्वरको सम्पत्तिमाथि हैकम जमाएर होइन तर बगालको उदाहरण भएर।” (१ पत्रु. ५:२-४) खुसीसाथ परमेश्वर र मण्डलीको शिर येशूको अधीनमा बस्दा निरीक्षकहरू मात्र होइन, तिनीहरूको जिम्मामा रहेका सबैको भलाइ हुन्छ भन्ने कुरामा कुनै शङ्का छैन।—यशै. ३२:१, २, १७, १८.
१८. (क) आमाबुबाले के गरेको यहोवा चाहनुहुन्छ? (ख) यहोवाले आमाबुबालाई आफ्ना जिम्मेवारीहरू पूरा गर्न कसरी मदत गर्नुहुन्छ?
१८ परिवारमा पनि यही सिद्धान्त लागू हुन्छ। परिवारका शिरहरूलाई यसो भनिएको छ: “आफ्ना छोराछोरीहरूलाई नचिढ्याओ, बरु यहोवाको डोऱ्याइबमोजिम अनुशासन अनि चेतावनी दिएर तिनीहरूलाई हुर्काओ।” (एफि. ६:४) यसो गर्नु कत्तिको महत्त्वपूर्ण छ? हितोपदेश १९:१८, NW यसो भन्छ: “छोरा सुध्रिने आशा छँदै उसलाई अनुशासन देऊ; तब तिमीलाई उसको मृत्युको दोष लाग्नेछैन।” हो, छोराछोरीलाई उचित अनुशासन नदिने आमाबुबालाई यहोवा जबाफदेही ठहराउनुहुन्छ! (१ शमू. ३:१२-१४) तर आमाबुबाले नम्र हुँदै यहोवालाई प्रार्थना गरेर मदत मागेमा अनि उहाँको वचन र पवित्र शक्तिको डोऱ्याइ खोजेमा उहाँले तिनीहरूलाई आवश्यक बुद्धि र बल दिनुहुन्छ।—याकूब १:५ पढ्नुहोस्।
सधैँ अरूसित शान्तिमा रहन सिक्नुहोस्
१९, २०. (क) परमेश्वरले दिनुहुने अनुशासन स्विकार्दा कस्ता आशिष्हरू पाउनेछौँ? (ख) अर्को लेखमा हामी के छलफल गर्नेछौँ?
१९ परमेश्वरको अनुशासन स्विकाऱ्यौँ अनि अरूलाई अनुशासन दिनुपर्दा यहोवा र येशूको अनुकरण गऱ्यौँ भने हामीले थुप्रै आशिष्पाउनेछौँ। हाम्रो परिवार र मण्डलीमा शान्ति छाउनेछ। सबैले साँच्चै माया पाएको, आफ्नो कदर गरिएको अनि आफू सुरक्षित भएको महसुस गर्नेछन्। अनि यस्तो शान्तिमय वातावरण भविष्यमा हामीले पाउने आशिष्हरूको पूर्वझलक हो। (भज. ७२:७) यहोवा हाम्रो मायालु बुबा हुनुहुन्छ, त्यसैले उहाँले दिनुहुने अनुशासनले हामीलाई शान्तिमय र एकताबद्ध परिवारको रूपमा सधैँभरि मिलेर बस्न सिकाउँछ। (यशैया ११:९ पढ्नुहोस्) यो कुरा बुझ्यौँ भने हामी यहोवाले दिनुहुने अनुशासनको अझै कदर गर्न सक्नेछौँ अनि उहाँ हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ भन्ने कुराको यो प्रमाण हो भनेर पक्का हुनेछौँ।
२० यसपछिको लेखमा हामी परिवारभित्र अनि मण्डलीमा दिइने अनुशासनका केही पक्षबारे छलफल गर्नेछौँ। आफैलाई अनुशासन दिनेबारे पनि हामी चर्चा गर्नेछौँ। साथै अनुशासनले दिने क्षणिक पीडा नस्विकार्दा हुने ठूलो हानिबारे पनि छलफल गर्नेछौँ।