यहोवाले थकितहरूलाई ल दिनुहुन्छ
“परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्। तिनीहरू चीलझैं उँभो उभो उड़नेछन्।”—यशैया ४०:३१.
१, २. उहाँमाथि भरोसा राख्नेहरूलाई यहोवाले के दिनुहुन्छ र अब हामी कुन कुरामाथि विचार गर्नेछौं?
आकाशमा उड्ने चराहरूमध्ये चील सबैभन्दा बलियो हुन्छ। पखेटा नफटफटाइ हावामै तैरेर त्यसले लामो दूरी पार गर्नसक्छ। चीलहरूमध्ये सुनौलो चीललाई चाहिं “चराहरूकै राजा” मानिन्छ। दुवै पखेटा फैलाउँदा दुइ मिटर पुग्ने यो चरा “चीलहरूमध्ये सबैभन्दा विस्मयकारी चरा हो। पहाड र तराइहुँदो उड्दै हिमालहरूको चुचुरा माथि माथि यो घण्टौंसम्म उड्छ र हावामा कावा खाँदै निलो आकाशमै बिलाउँछ।”—दी अदुबोन सोसाइटी इनसाइक्लोपीडिया अफ नर्थ अमेरिकन बर्ड्स।
२ चीलको यस्तो उड्ने क्षमताहरूलाई ध्यानमा राख्दै यशैयाले यसरी लेखे: “[यहोवाले] दुर्बलहरूलाई बल दिनुहुन्छ, र शक्तिहिनको शक्ति बढ़ाइदिनुहुन्छ। युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर ढल्नेछन्। तर परमप्रभुको बाटो हेर्नेहरूले नविन सामर्थ्य पाउनेछन्। तिनीहरू चीलझैं उँभो उभो उड़नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिंड़ेर जान्छन्, तर क्लान्त हुनेछैनन्।” (यशैया ४०:२९-३१) मानौं, उडेर कहिल्यै नथाक्नेजस्तो देखिने चीलको पखेटा दिनुभएझैं यहोवाले उहाँमाथि भरोसा गर्नेहरूलाई बल दिनुहुन्छ! अब थकित व्यक्तिहरूलाई बल दिन उहाँले गर्नुभएका केही प्रबन्धहरूमाथि विचार गर्नुहोस्।
प्रार्थनाको शक्ति
३, ४. (क) येशूले आफ्ना चेलाहरूलाई के गर्न आग्रह गर्नुभयो? (ख) हामी आफ्नो प्रार्थनाको जवाफस्वरूप यहोवाले के गर्नुभएको आशा गर्नसक्छौं?
३ येशूले आफ्ना चेलाहरूलाई ‘बराबर प्रार्थना गरिरहन र निरुत्साहित नहुन’ आग्रह गर्नुभयो। (लूका १८:१) तर यहोवालाई मनको बह पोखेर के साँच्चै बल पाउँछौं त? जीवनका दबाबहरूले पिल्सिंदा के त्यसले हरेस खानदेखि बचाउनसक्छ? सक्छ, तर हामीले मनमा राख्नैपर्ने केही कुराहरू छन्।
४ हाम्रो प्रार्थनाको जवाफमा यहोवाले चाल्नुहुने कदमप्रति हामी व्यवहारिक हुनैपर्छ। गहिरो निराशमा परेकी मसीही बहिनीले पछि यसो भनिन्: “यहोवाले अहिले चमत्कारद्वारा रोगहरू निवारण गर्नुहुन्न। बरु सहने मदत दिनुहुन्छ र यस रीतिरिवाजमा हामी जतिसम्म निको हुनसक्छौं, त्यतिसम्म निको हुने मदत दिनुहुन्छ।” तिनको प्रार्थनाले किन प्रभाव पार्न सक्यो त भन्ने सम्बन्धमा तिनले अझ यसो भनिन्: “मैले २४ सै घण्टा यहोवाको पवित्र आत्मा पाउनसक्थे।” यसप्रकार हामीलाई थकित तुल्याउने जीवनका दबाबहरूबाट बचाउनुका साथै यहोवाले “उहाँसँग माग्नेहरूलाई . . . पवित्र आत्मा” दिनुहुन्छ। (लूका ११:१३; भजन ८८:१-३) त्यो आत्माले हामीलाई हर परीक्षा तथा दबाबको सामना गर्ने योग्य बनाउँछ। (१ कोरिन्थी १०:१३) आवश्यक परेमा त्यसले हामीलाई “असामान्य शक्ति” दिनसक्छ। जसले हामीलाई चाँडै आउने नयाँ संसारमा परमेश्वरको राज्यले सबै तनाउग्रस्त समस्याहरू नहटाऊञ्जेल सहँदै बस्न मदत गर्नसक्छ।—२ कोरिन्थी ४:७, न्युव।
५. (क) हाम्रो प्रार्थना प्रभावकारी हुन कुन दुइ कुरा अत्यावश्यक छन्? (ख) शारीरिक कमजोरीसित संघर्ष गरिरहेका छौं भने हामीले कसरी प्रार्थना गर्नसक्छौं? (ग) हामीले लगनशील भई आफूलाई चाहिएको मदत तोकेरै गरेको प्रार्थनाले यहोवासामु के प्रदर्शित गर्नेछ?
५ यद्यपि, हाम्रो प्रार्थना प्रभावकारी होस् भनेर चाहन्छौं भने हामी लगनशील हुनुका साथै आफूलाई चाहिएको कुरा तोकेरै माग्न सिक्नैपर्छ। (रोमी १२:१२) उदाहरणका लागि, शारीरिक कमजोरीहरूसित संघर्ष गर्नुपर्दा कहिलेकाहीं थकित हुनसक्छ। त्यसो हो भने, हरेक दिन बिहान यहोवालाई बिन्ति गर्नुहोस् र दिनभरि आफ्नो कमजोरी सामु नझुक्ने मदत माग्नुहोस्। अनि बिहान मात्र होइन, दिनभरि र राति सुत्नुअघि पनि त्यसरी नै प्रार्थना गर्नुहोस्। भूल दोहोरिएमा यहोवासित क्षमा माग्ने मात्र होइन तर के कस्ता परिस्थितिले गर्दा सो भूल दोहोरियो र भविष्यमा त्यसो हुन नदिन तपाईंले के गर्नुपर्ने हो त्योसमेत यहोवालाई बताउनुहोस्। यसरी तपाईंले लगातार तोकेरै प्रार्थना गर्नुभयो भने “प्रार्थना सुन्नुहुने” परमेश्वरले तपाईंको निष्कपटता देख्नुका साथै तपाईं साँच्चै आफ्नो कमजोरीलाई जित्न इच्छुक हुनुहुँदोरहेछ भनेर बुझ्नुहुनेछ।—भजन ६५:२; लूका ११:५-१३.
६. प्रार्थना गर्न अयोग्य महसुस गर्दासमेत यहोवाले प्रार्थना सुन्नुहुन्छ भनेर आशा गर्नु किन न्यायोचित छ?
६ तथापि, कहिलेकाहीं थकित व्यक्तिले आफूलाई प्रार्थना गर्न अयोग्य महसुस गर्नसक्छ। त्यस्तै महसुस गर्ने मसीही स्त्रीले पछि यसो भनिन्: “त्यसरी सोच्नु साह्रै खतरनाक छ। किनभने त्यसरी सोच्नु भनेको आफैले आफ्नो न्याय गर्न खोज्नु हो र त्यो हाम्रो अधिकारको कुरा होइन।” निस्सन्देह, “परमेश्वर स्वयं न्यायाधीश हुनुहुन्छ।” (भजन ५०:६) “हाम्रो हृदयले हामीलाई दोष . . . [लगाए तापनि] . . . परमेश्वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र सबै कुरा जान्नुहुन्छ” भनेर बाइबलले हामीलाई आश्वासन दिन्छ। (१ यूहन्ना ३:१९, २०) आफैले न्याय गरेर आफूलाई प्रार्थना गर्न अयोग्य सम्झे तापनि यहोवाले चाहिं त्यस्तो सोच्नु हुँदैन रहेछ भनेर थाह पाउनु कति सान्त्वनादायी छ! परिस्थितिवश हामीले आफैलाई साह्रै निकम्मा सम्झेका हुनसक्छौं। तर यहोवाले त्यस्तो परिस्थितिलगायत “हाम्रो बनोट जान्नुहुन्छ।” (भजन १०३:१०-१४) उहाँ दयालु र गहिराइसम्म बुझ्नसक्ने हुनुभएकोले “चूर्ण र पश्चातापी हृदय[बाट]” आएको प्रार्थना सुन्नुहुन्छ। (भजन ५१:१७) “असहायको बिन्ती” नसुन्ने मानिसलाई उहाँ दोषी ठहराउनुहुन्छ भने के हामीले गुहार्दा उहाँले सुन्न इन्कार गर्नुहुन्छ होला र?—हितोपदेश २१:१३.
भ्रातृत्वको न्यानोपन
७. (क) हामीलाई पुनः बल प्राप्त गर्न मदत दिन यहोवाले अर्को कुन कुरा प्रबन्ध गर्नुभएको छ? (ख) हाम्रो भ्रातृत्वबारे कुन कुरा थाह पाउनु स्फूर्तिदायी हुनसक्छ?
७ हामीले पुनः बल प्राप्त गर्न सकोस् भनेर यहोवाले प्रबन्ध गर्नुभएको अर्को कुरा हाम्रो मसीही भ्रातृत्व हो। हाम्रा भाइबहिनीहरूको विश्वव्यापी परिवारको सदस्य हुनपाउनु साँच्चै अमूल्य सुअवसर हो! (१ पत्रुस २:१७) जीवनका दबाबहरूले हामीलाई थकित बनाउँदा हाम्रो भ्रातृत्वको न्यानोपनले हामीलाई पुनः बल प्राप्त गर्न मदत गर्नसक्छ। कसरी? प्रथमतः हामी एक्लैले तनाउपूर्ण चुनौतीहरूको सामना गरिरहेका छैनौं भनेर थाह पाउनु नै स्फूर्तिदायी हुनसक्छ। हामीले भोगिरहेजस्तै दबाब तथा परीक्षाहरू भोग्ने भाइबहिनीहरू पनि छन्। (१ पत्रुस ५:९) हामीले भोगिरहेका कुराहरू असामान्य होइनन् र हाम्रा अनुभूतिहरू अनौठा छैनन् भनेर थाह पाउनु आश्वासनदायी कुरा हो।
८. (क) हामीलाई चाहिएको धेरैजसो सहयोग तथा सान्त्वना हाम्रै भ्रातृत्वमा पाउन सकिन्छ भनेर कुन उदाहरणहरूले देखाउँछ? (ख) तपाईंले व्यक्तिगत तवरमा “साँचो मित्र[बाट]” कसरी सहयोग वा सान्त्वना पाउनुभएको छ?
८ हाम्रो न्यानो भ्रातृत्वमा हामीले त्यस्तो ‘साँचो मित्र’ भेटाउनसक्छौं जसले हामी चिन्तित हुँदा चाहिंदो सहयोग र सान्त्वना दिनसक्छ। (हितोपदेश १७:१७) प्रायजसो दुइचार शब्द दयालु वचन बोलिदिंदा वा विचारशील कामहरू गरिदिनु मात्र पनि यथेष्ट हुनसक्छ। निकम्मापनको अनुभूतिहरूसित संघर्ष गर्ने मसीही बहिनी यसो भन्छिन्: “मेरा नकारात्मक विचारहरूलाई हटाउन मेरा मित्रहरू सकारात्मक कुराहरू गर्थे।” (हितोपदेश १५:२३) आफ्नी जवान छोरीको मृत्युपछि एउटी बहिनीलाई राज्य गीतहरूमध्ये अझ विशेषगरि पुनरुत्थानसित सम्बन्धित भजन गाउन साह्रै कठिन पर्थ्यो। तिनी यसो भन्छिन्, “एक पटक, पल्लो छेउमा बसिरहेकी बहिनीले मलाई रुदै गरेकी देखिन्। तिनी म नजीकै आइन् र मलाई अंगालो हालेर बाँकी भजन मसितै गाइन्। मभित्र भाइबहिनीहरूप्रति साह्रै माया जागेर आयो र सभाहरू धाउन पाएकोमा पनि साह्रै खुशी लाग्यो। हाम्रा भाइबहिनीहरू भेला हुने ठाउँ अर्थात् राज्य भवनमा हामीले साँच्चै नै मदत पाउँदा रहेछौं।”
९, १०. (क) हाम्रो भ्रातृत्वको न्यानोपनमा हामी कसरी योगदान पुऱ्याउनसक्छौं? (ख) विशेषगरि कसलाई स्वस्थकर संगति चाहिन्छ? (ग) प्रोत्साहन चाहिने व्यक्तिहरूलाई मदत गर्न हामीले के गर्नसक्छौं?
९ निस्सन्देह, मसीही भ्रातृत्वको न्यानोपनलाई योगदान पुऱ्याउनु हामी सबैको जिम्मेवारी हो। हाम्रा सबै भाइबहिनीहरूलाई समेट्न हामी “ठूला मनका” हुनुपर्छ। (२ कोरिन्थी ६:१३) थकित भाइबहिनीहरूले आफूप्रति भ्रातृत्वको माया चिसो भएको पाउनु कति दुःखलाग्दो कुरा हुनेछ! यद्यपि, केही मसीहीहरूले आफू एक्लो भएको र अरूले वास्ता नगरेको रिपोर्ट गर्छन्। सच्चाइको विरोध गर्ने पति भएकी बहिनीले यसो भन्दै बिन्ति गरिन्: “ढाडस दिने मित्रता, प्रोत्साहन र मायालु संगति कसलाई पो चाहिंदैन? हामीलाई यी कुराहरू खाँचो छ भनेर कृपया भाइबहिनीहरूलाई सम्झाइदिनुहोस्!” हो, पति वा पत्नी विश्वासमा नभएका, एक्लो आमा वा बाबु, चिरकालीन स्वास्थ्य समस्या हुनेहरू अनि वृद्धहरूलगायत परिस्थितिवश थकित भएका भाइबहिनीहरूलाई स्वस्थकर संगति चाहिन्छ। हामीमध्ये कसै कसैलाई यो कुरा सम्झाउनुपर्छ कि?
१० हामीले मदत गर्न के के गर्नसक्छौं? प्रथमतः हामी ठूलो मनको भएर प्रेम प्रकट गरौं। अतिथि सत्कार गर्दा प्रोत्साहनको खाँचो परिरहेकाहरूलाई नभुलौं। (लूका १४:१२-१४; हिब्रू १३:२) परिस्थितिवश तिनीहरूले हाम्रो निमन्त्रणा स्वीकार्न नसक्लान् भनेर अनुमान लगाउनुको साटो आमन्त्रित गरिहाले कसो होला? त्यसपछि आउने नआउने निर्णय गर्न दिनुहोस्। केही गरी तपाईंको निमन्त्रणा स्वीकार्न सकेनन् भने पनि अरूले त्यसरी ख्याल राखिदिएकोमा तिनीहरू निस्सन्देह प्रोत्साहित हुनेछन्। शायद त्यतिमात्र गर्दा पनि तिनीहरूले पुनः बल प्राप्त गर्नसक्छन्।
११. थकितहरूलाई कुन कुन तरिकामा सहयोग चाहिएला?
११ थकितहरूलाई अन्य तरिकामा पनि मदत चाहिन्छ। उदाहरणका लागि, पति नहुने आमालाई टुहरो छोरोप्रति चासो देखाउने कुनै परिपक्व भाइ चाहिएको हुनसक्छ। (याकूब १:२७) गम्भीर स्वास्थ्य समस्या हुने भाइबहिनीहरूलाई किनमेल गर्न वा घरमा काम गर्न केही मदत चाहिएको होला। वृद्ध भाइबहिनीले अरूको संगति वा क्षेत्र सेवकाईमा जान अलिकता मदतको आशा गर्नसक्छन्। यस्ता मदत निरन्तर खाँचो पर्दा त्यसले ‘हाम्रो प्रेमको सत्यता जाँच गर्छ।’ (२ कोरिन्थी ८:८) समय र शक्ति खर्च गर्नुपर्ला भनेर टाढ-टाढा हुन खोज्नुको साटो खाँचोमा परेकाहरूप्रति संवेदनशील भई मसीही प्रेमको परीक्षामा हामी सफल होऔं।
परमेश्वरको वचनको शक्ति
१२. परमेश्वरको वचनले कसरी पुनः बल प्राप्त गर्न मदत दिन्छ?
१२ भोजन नखाने व्यक्तिले चाँडै नै आफ्नो शक्ति वा बल गुमाउँछ। अतः हामीले आध्यात्मिक भोजन राम्ररी खान पाएका छौं वा छैनौं निश्चित गरेर पनि यहोवाले हामीलाई बल दिनुहुन्छ। (यशैया ६५:१३, १४) उहाँले कस्तो आध्यात्मिक आहारको प्रबन्ध गर्नुभएको छ? सबैभन्दा मुख्य कुरा उहाँले आफ्नो वचन बाइबलको प्रबन्ध गर्नुभएको छ। (मत्ती ४:४; हिब्रू ४:१२ तुलना गर्नुहोस्।) तर बाइबलले कसरी हामीलाई पुनः बल प्राप्त गर्न मदत गर्नसक्छ त? हामीले सामना गर्नुपरेका दबाब र समस्याहरूले हाम्रो शक्ति शोषण गर्दा बाइबलकालीन विश्वासी पुरुष तथा स्त्रीहरूले संघर्ष गर्नुपरेका बाधाअड्चनहरू अनि तिनीहरूका अनुभवहरू पढेर हामीले बल पाउनसक्छौं। तिनीहरू निष्ठाका अतुलनीय नमुनाहरू भए तापनि “हामी जस्तै दुःख सुख [भोग्ने] मानिस थिए।” (याकूब ५:१७; प्रेरित १४:१५) हामीले भोग्नु परेका परीक्षा तथा दबाबहरू तिनीहरूले पनि भोगे। निम्न उदाहरणहरूलाई विचार गर्नुहोस्।
१३. बाइबलकालीन विश्वासी पुरुष तथा स्त्रीहरूका अनुभूति तथा अनुभवहरू हाम्राजस्तै थिए भनेर कुन शास्त्रीय उदाहरणहरूले देखाउँछन्?
१३ कुलपिता अब्राहाम पुनरुत्थानमाथि विश्वास गर्थे। तैपनि आफ्नी पत्नीको मृत्यु हुँदा असाध्यै शोक गरे। (उत्पत्ति २३:२; हिब्रू ११:८-१०, १७-१९ तुलना गर्नुहोस्।) पश्चात्तापी दाऊद आफ्नो पापले गर्दा यहोवाको सेवा गर्न अयोग्य भएको सम्झे। (भजन ५१:११) मोशा आफूलाई सिपालु सम्झँदैनथे। (प्रस्थान ४:१०) सिकिस्त बिरामीले गर्दा “ख्रीष्टको काम” गर्न नसकेकोमा इपाफ्रोडाइटस निराश भए। (फिलिप्पी २:२५-३०) पावलले आफ्नो पतित शरीरसित संघर्ष गर्नुपऱ्यो। (रोमी ७:२१-२५) फिलिप्पी मण्डलीका दुइ अभिषिक्त बहिनी इयोदिया र सिन्तके सम्भवतः आपसमा मिल्दैन थिए। (फिलिप्पी १:१; ४:२, ३) यी विश्वासी जनहरूका अनुभूति तथा अनुभवहरू हाम्राजस्तै थिए भनेर थाह पाउनु कति प्रोत्साहनजनक छ। हो, तिनीहरूले हरेस खाएनन्! यहोवाले पनि तिनीहरूलाई त्याग्नुभएन।
१४. (क) उहाँको वचनबाट बल प्राप्त गर्न मदत दिन यहोवाले कुन साधन चलाउनुभएको छ? (ख) प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाहरूले किन सामाजिक, पारिवारिक तथा भावनात्मक विषयहरूमा लेखहरू प्रकाशित गरेका छन्?
१४ उहाँको वचनबाट हामीले बल प्राप्त गर्न सकोस् भनेर यहोवाले विश्वासी र बुद्धिमान दासद्वारा हामीलाई निरन्तर “ठीक ठीक समयमा” भोजन दिनुहुन्छ। (मत्ती २४:४५) बाइबल सच्चाइलाई समर्थन गर्न अनि मानिसको एक मात्र आशा परमेश्वरको राज्य हो भनी घोषणा गर्न दासवर्गले धेरै समय अघिदेखि प्रहरीधरहरा तथा ब्यूँझनुहोस्! पत्रिकाहरू चलाएको छ। विशेषगरि यी अन्तिम केही दशकहरूमा यी पत्रिकाहरूले सामाजिक, पारिवारिक तथा भावनात्मक चुनौतीबारे सामयिक शास्त्रीय लेखहरू प्रकाशित गरेका छन्। परमेश्वरका केही जनहरूले समेत त्यस्ता चुनौतीहरू सामना गर्नुपरेको छ। ती जानकारी किन प्रकाशित भए? निस्सन्देह, ती चुनौतीहरूको सामना गर्नेहरूलाई परमेश्वरको वचनबाट बल र प्रोत्साहन प्राप्त गर्ने मदत दिन। साथै त्यस्ता लेखहरूले हाम्रा भाइबहिनीहरूले भोग्नुपरेका पीडाहरू अझ राम्ररी बुझ्न पनि हामीलाई मदत गर्छ। त्यसो हुँदा हामी पावलका निम्न शब्दहरू पालन गर्न अझ सुसज्जित हुन्छौं: “हरेस खानेलाई दिलाशा देओ, कमजोरीहरूलाई मदत गर, सबैसँग सहनशीलता देखाओ।”—१ थिस्सलोनिकी ५:१४.
“आँधी-बेह्रीबाट आड़” दिने प्राचीनहरू
१५. प्राचीनको हैसियतमा सेवा गर्ने व्यक्तिहरूबारे यशैयाले के अगमवाणी गरे र यसले गर्दा तिनीहरूमाथि कस्तो जिम्मेवारी आइपरेको छ?
१५ हामी थकित हुँदा मदत दिन यहोवाले अर्को एउटा प्रबन्ध पनि गर्नुभएको छ। त्यो हो, मण्डलीका प्राचीनहरू। यिनीहरूबारे यशैया अगमवक्ताले यसरी लेखे: “औ प्रत्येक मानिस बतासबाट लुक्ने ठाउँ, र आँधी-बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै हुनेछ [साबित हुनैपर्छ, न्युव]।” (यशैया ३२:१, २) अतः यहोवाले अगमवाणी गर्नुभएका वचनअनुरूप हुनु प्राचीनहरूको जिम्मेवारी हो। तिनीहरू सबैका लागि सान्त्वना तथा स्फूर्तिको स्रोत “साबित हुनैपर्छ।” साथै “एउटाले अर्को भार [वा “समस्याहरू,” शाब्दिक अर्थमा, “गह्रौं वस्तु”]” बोक्न इच्छुक हुनुपर्छ। (गलाती ६:२, पादटिप्पणी, न्युव) तिनीहरूले यो काम कसरी गर्नसक्छन्?
१६. प्रार्थना गर्न अयोग्य सम्झने व्यक्तिलाई मदत गर्न प्राचीनहरूले के गर्नसक्छन्?
१६ अघिल्लो लेखमा उल्लेख गरिएझैं कहिलेकाहीं थकित व्यक्तिले आफूलाई प्रार्थना गर्न अयोग्य सम्झनसक्छ। त्यस्तो बेला प्राचीनहरूले के गर्न सक्छन्? तिनीहरूले त्यस व्यक्तिसित वा तिनका लागि प्रार्थना गर्नसक्छन्। (याकूब ५:१४) तिनलाई यहोवालगायत अन्य व्यक्तिहरूले प्रेम गर्छन् भनेर बुझ्ने मदत दिनुहोस् भनेर तिनीहरूले यहोवालाई बिन्ती गर्नसक्छन्। सो थकित व्यक्तिले सुन्नेगरि प्राचीनहरूले यसरी प्रार्थना गरिदिंदा मात्र पनि निश्चय नै प्रोत्साहन हुन्छ। प्राचीनले जोशिलो अनि हृदयस्पर्शी प्रार्थना गर्दा व्याकुल व्यक्तिको मनोबल बढ्नसक्छ। तिनको निम्ति प्रार्थना गर्दा यहोवाले सुन्नुहुनेछ भनेर प्राचीनहरू निर्धक्क भएकोले आफू पनि त्यतिकै निर्धक्क भएर प्रार्थना गर्नसक्छु भनेर तिनीले तर्क गर्ने मदत पाउनसक्छ।
१७. प्राचीनहरूले किन समानुभूतिशील भएर सुन्नैपर्छ?
१७ याकूब १:१९ ले यसो भन्छ: “हरेक मानिस सुन्नालाई छिट्टो, बोल्नालाई ढीलो . . . होस्।” थकित व्यक्तिहरूलाई पुनः बल प्राप्त गर्ने मदत दिन प्राचीनहरूले समानुभूतिशील भएर सुन्नु पनि पर्छ। कुनै कुनै बेला मण्डलीका सदस्यहरूले यस रीतिरिवाजमा समाधान हुनै नसक्ने समस्या वा दबाबहरूसित संघर्ष गरिरहेका हुनसक्छन्। अतः त्यस्तो बेला तिनीहरूलाई समस्याको “समाधान” होइन बरु राम्ररी सुनिदिने व्यक्ति चाहिएको हुनसक्छ। जसले के अनुभव गर्नुपर्ने र के नगर्नुपर्ने भनेर बताउनुको साटो अरूको खण्डन नगरी सुन्ने राम्ररी सुन्छ।—लूका ६:३७; रोमी १४:१३.
१८, १९. (क) प्राचीनहरू सुन्नमा छिटो भए थकित व्यक्तिको बोझ अझ गह्रौं बनाउनदेखि कसरी बच्नसक्छन्? (ख) प्राचीनहरूले “सहानुभूति” देखाउँदा नतिजाहरू के हुनसक्छन्?
१८ प्राचीनहरू हो, तपाईंहरू सुन्नमा छिटो हुनभयो भने अनजानमा थकित व्यक्तिको बोझलाई झन् गह्रौ बनाउनदेखि बच्नुहुनेछ। उदाहरणका लागि, कुनै भाइ वा बहिनी केही सभाहरूमा उपस्थित हुन सकेनन् वा क्षेत्र सेवकाईमा सुस्त भए भने के तिनलाई सेवकाईमा अझ उन्नति गर्ने वा नियमित रूपमा सभा धाउने सल्लाह साँच्चै नै चाहिएको हुनसक्छ? शायद हुनसक्छ। तर के तपाईंले तिनको परिस्थितिलाई राम्ररी बुझ्नुभएको छ? तिनको स्वास्थ्य समस्या झन् झन् चर्कंदै गएको पो छ कि? हालसालै पारिवारिक जिम्मेवारीहरू थपिएका छन् कि? अन्य कुनै परिस्थिति वा दबाबले गर्दा थकित भएको हो कि? नबिर्सनुहोस्, आफूले पर्याप्त सेवा गर्न नसकेकोमा त्यो व्यक्तिले असाध्यै दोषी महसुस गर्न थालिसकेको हुनसक्छ।
१९ त्यसोभए तपाईंले कसरी त्यस भाइ वा बहिनीलाई मदत गर्न सक्नुहुन्छ? कुनै निष्कर्ष निकालेर सल्लाह दिनुअघि सुन्नुहोस्! (हितोपदेश १८:१३) समझदारीपूर्वक प्रश्न गर्दै उसको मनभित्रका अनुभूतिहरू “तानेर” निकाल्नुहोस्। (हितोपदेश २०:५) उनका अनुभूतिहरूलाई बेवास्ता नगर्नुहोस् बरु मानि लिनुहोस्। यहोवाले हाम्रो ख्याल राख्नुहुन्छ र कहिलेकाहीं परिस्थितिवश हामी सीमित हुनसक्छौं भनेर उहाँले बुझ्नुहुन्छ भनेर थकित व्यक्तिलाई आश्वासन दिनु आवश्यक पर्नसक्छ। (१ पत्रुस ५:७) प्राचीनहरूले यसरी “सहानुभूति” देखाउँदा थकित व्यक्तिले “आफ्ना आत्मामा विश्राम” पाउनेछन्। (१ पत्रुस ३:८; मत्ती ११:२८-३०) अनि त्यस्तो स्फूर्ति पाउँदा तिनीहरूलाई अझ बढी गर भनेर भन्नु आवश्यक पर्नेछैन। व्यवहारिक भएर आफूले गर्नसक्ने स्थितिसम्म यहोवाको सेवा गर्न तिनीहरू आफै उत्प्रेरित हुनेछन्।—२ कोरिन्थी ८:१२; ९:७ तुलना गर्नुहोस्।
२०. यस दुष्ट पुस्ताको अन्त साह्रै नजीक भएको हुँदा हामीले के गर्न दृढ निश्चय गर्नुपर्ने हो?
२० साँच्चै हामी मानव इतिहासको सबैभन्दा कठिन समयमा बाँचिरहेका छौं। अन्तको समय झन् झन् नजिकिंदै गएकोले शैतानी संसारको दबाब पनि बढ्दैछ। गर्जने सिंहले जस्तै परिस्थितिको फाइदा उठाएर दियाबल हामीलाई सजिलै शिकार बनाउन चाहन्छ। त्यसकारण नबिर्सनुहोस्, हामी कहिले थकित भएर हरेस खाला भनेर त्यो ढुकेर बसिरहेको छ। यद्यपि, यहोवाले थकितहरूलाई बल दिनुभएकोमा हामी कति कृतज्ञ छौं! हामीलाई अझ अगाडि बढ्ने बल दिन उहाँले गर्नुभएका प्रबन्धहरूको पूरा लाभ उठाऔं र उडिरहेको चीलको शक्तिशाली पखेटा पाएझैं गरी अघि बढौं। यो दुष्ट रीतिरिवाजको अन्त नजीकै छ। अतः यो समय, अनन्त जीवन इनाम पाइने दौड रोक्ने समय होइन।—हिब्रू १२:१.
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ हाम्रा प्रार्थनाहरूको जवाफस्वरूप यहोवाले के गर्नुभएको हामी आशा गर्नसक्छौं?
◻ मसीही भ्रातृत्वबाट हामीले कुन तरिकाहरूमा बल प्राप्त गर्नसक्छौं?
◻ परमेश्वरको वचनले हामीलाई कसरी पुनः बल प्राप्त गर्न मदत गर्छ?
◻ थकित व्यक्तिहरूलाई पुनः बल प्राप्त गर्न मदत दिन प्राचीनहरूले के गर्नसक्छन्?
[पृष्ठ १७-मा भएको चित्र]
अतिथि सत्कार गर्दा प्रोत्साहनको खाँचो परिरहेकाहरूलाई नभुलौं
[पृष्ठ १८-मा भएको चित्र]
धेरै माया पाएको छु भनी थकित व्यक्तिहरूले बुझ्न सकून् भनेर प्राचीनहरूले यहोवालाई प्रार्थना गर्नसक्छन्