ईश्वरीय सार्वभौमिकताका लागि मसीही साक्षीहरू
“अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ।”—१ पत्रुस २:९.
१. मसीही पूर्व समयमा यहोवाबारे कस्तो प्रभावशाली साक्षी दिइयो?
मसीही पूर्व समयमा थुप्रै साक्षीहरूले निर्भयतासाथ यहोवा मात्र साँचो परमेश्वर हुनुहुन्छ भनेर साक्षी दिए। (हिब्रू ११:४–१२:१) विश्वासमा बलियो भएर तिनीहरूले यहोवाका नियमहरू पालन गरे अनि उपासनासित कुनै सम्झौता गर्न इन्कार गरे। तिनीहरूले यहोवाको विश्वव्यापी सार्वभौमिकताको प्रभावशाली साक्षी दिए।—भजन १८:२१-२३; ४७:१, २.
२. (क) यहोवाको महान् साक्षी को हुनुहुन्छ? (ख) इस्राएल राष्ट्रको सट्टा को यहोवाका साक्षी भयो? यो हामी कसरी भन्नसक्छौं?
२ बप्तिस्मा दिने यूहन्ना अन्तिम तथा सबैभन्दा महान् मसीही पूर्व साक्षी थिए। (मत्ती ११:११) तिनले चुनिएको जनको आगमनबारे घोषणा गर्ने सुअवसर पाए। साथै तिनले प्रतिज्ञा गरिएको मसीह येशू हुनुहुन्छ भनेर परिचय पनि दिए। (यूहन्ना १:२९-३४) येशू, यहोवाको महान् साक्षी अर्थात् “विश्वासयोग्य र साँचो साक्षी” हुनुहुन्छ। (प्रकाश ३:१४) शारीरिक इस्राएलले येशूलाई इन्कार गर्दा यहोवाले तिनीहरूलाई इन्कार गर्नुभयो र नयाँ राष्ट्र, परमेश्वरको आत्मिक इस्राएललाई आफ्नो साक्षी नियुक्त गर्नुभयो। (यशैया ४२:८-१२; यूहन्ना १:११, १२; गलाती ६:१६) पत्रुसले इस्राएलबारे गरिएको प्रतिज्ञा उद्धृत गरे। त्यसपछि तिनले सो प्रतिज्ञा “परमेश्वरका इस्राएल” अर्थात् मसीही मण्डलीमाथि लागू हुन्छ भनेर देखाउँदै यसो भने: “तिमीहरू ता चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा हौ, र अन्धकारबाट उहाँको गजबको ज्योतिमा तिमीहरूलाई बोलाउनेको सर्वश्रेष्ठता तिमीहरू देखाओ।”—१ पत्रुस २:९; प्रस्थान १९:५, ६; यशैया ४३:२१; ६०:२.
३. परमेश्वरको इस्राएल र “ठूलो भीड़[को]” मुख्य जिम्मेवारी के हो?
३ पत्रुसका उपरोक्त शब्दहरूले परमेश्वरको इस्राएलको मुख्य जिम्मेवारी यहोवाको महिमाको आमसाक्षी दिनु हो भनी देखाउँछ। हाम्रो समयमा यो आत्मिक राष्ट्रलाई साक्षीहरूको “ठूलो भीड़[ले]” सहयोग गरेको छ र तिनीहरूले पनि आम तवरमा परमेश्वरको महिमा गर्छन्। सबैले सुन्नेगरि ठूलो स्वरमा तिनीहरू यसो भनेर कराउँछन्: “सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमामा मुक्ति छ।” (प्रकाश ७:९, १०; यशैया ६०:८-१०) तर परमेश्वरको इस्राएल तथा तिनीहरूका सहचरहरूले कसरी साक्षी दिन्छन्? आफ्नो विश्वास तथा आज्ञाकारिताद्वारा।
झूटा साक्षीहरू
४. येशूका समकालीन यहूदीहरू किन झूटा साक्षीहरू थिए?
४ विश्वास र आज्ञाकारिता देखाउन ईश्वरीय सिद्धान्तअनुरूप जीवन व्यतित गर्नुपर्छ। येशूले आफ्नो समयका यहूदी धार्मिक नेताहरूलाई भन्नुभएका कुराबाट यो कत्तिको महत्त्वपूर्ण छ, त्यो प्रष्ट हुन्छ। यी नेताहरू व्यवस्थाका शिक्षकहरू भएर “मोशाको आसनमा” बस्थे। गैरयहूदीहरूको धर्म परिवर्तन गर्न तिनीहरूले मिसनरीहरूसमेत पठाए। यद्यपि, येशूले तिनीहरूलाई यसो भन्नुभयो: “तिमीहरू एकै जनालाई आफ्नो मतमा ल्याउनाको निम्ति समुद्र र पाखा चाहर्दछौ, र त्यो तिमीहरूको मतमा आएपछि त्यसलाई आफूभन्दा दोबर नरकको कीरो बनाउछौ।” यी धर्मावलम्बीहरू झूटा साक्षीहरू थिए। तिनीहरू हठी, कपटी र कठोर थिए। (मत्ती २३:१-१२, १५) एक पटक येशूले केही यहूदीहरूलाई यसो भन्नुभयो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ।” तर परमेश्वरले चुन्नुभएको राष्ट्रका सदस्यहरूलाई उहाँले कसरी त्यस्तो भन्न सक्नुभयो? किनभने तिनीहरूले यहोवाको महान् साक्षीका शब्दहरू पालन गरेनन्।—यूहन्ना ८:४१, ४४, ४७.
५. मसीहीजगतले परमेश्वरबारे झूटो साक्षी दिएको छ भनेर हामी कसरी भन्नसक्छौं?
५ त्यस्तैगरि, येशूको समयदेखि यता कैयौं शताब्दीदेखि मसीहीजगतका करोडौं मानिसहरूले उहाँको चेला हौं भनी दाबी गरेका छन्। तथापि, तिनीहरूले परमेश्वरको इच्छाअनुसार नगरेकोले येशूले तिनीहरूलाई स्वीकार्नु हुन्न। (मत्ती ७:२१-२३; १ कोरिन्थी १३:१-३) मसीहीजगतले पनि मिसनरीहरू पठाए, जसमध्ये कतिपय चाहिं निष्कपट नै थिए। यद्यपि, तिनीहरूले मानिसहरूलाई त्यस्तो त्रिएक ईश्वरको उपासना गर्न सिकाए जसले पापीहरूलाई नरकको आगोमा जलाउँछन्। ती मिसनरीहरूले धर्म परिवर्तन गराएका अधिकांश मानिसहरूले मसीही हुनका प्रमाण दिएनन् भने पनि हुन्छ। उदाहरणको लागि, अफ्रिकी मुलुक, रूवाण्डा, रोमन क्याथोलिक मिसनरीहरूको लागि उर्वरा भूमिसरह भएको छ। तैपनि, रूवाण्डाका क्याथोलिकहरूले मनतन लगाएर आफ्नै देशको जातीय युद्धमा भाग लिए। यस मिसनरी क्षेत्रले मसीहीजगतबाट साँचो मसीही साक्षी पाएको रहेनछ भनी त्यहाँ भएका घटनाहरूको फलबाट देखिन्छ।—मत्ती ७:१५-२०.
ईश्वरीय सिद्धान्तअनुरूप जीवन व्यतित गर्ने
६. कुन कुन तरिकामा असल आचरण साक्षी कार्यको महत्त्वपूर्ण पक्ष हो?
६ मसीही हुँ भनी दाबी गर्नेहरूको दुराचरणले “सत्यको मार्गको” निन्दा गर्छ। (२ पत्रुस २:२) तर एक जना साँचो मसीहीले ईश्वरीय सिद्धान्तअनुरूप जीवन व्यतित गर्छ। उसले चोर्दैन, ढाँट्तैन, ठग्दैन वा अनैतिक काम गर्दैन। (रोमी २:२२) उसले कहिल्यै आफ्नो छिमेकीको हत्या गर्दैन। मसीही पतिहरू प्रेमपूर्वक आफ्नो परिवारको निरीक्षण गर्छन्। पत्नीहरूले आदरपूर्वक त्यस निरीक्षणलाई समर्थन गर्छन्। छोराछोरीहरूले आमाबाबुको प्रशिक्षण पाएका हुन्छन्। अतः तिनीहरू जिम्मेवारी वहन गर्नसक्ने मसीही वयस्क हुन तयार हुन्छन्। (एफिसी ५:२१–६:४) हो, हामी सबै असिद्ध छौं, गल्तीहरू गरिरहन्छौं। तर एक जना साँचो मसीहीले बाइबलका स्तरहरूको आदर गर्छ र त्यसलाई प्रयोग गर्न साँचो यत्न गर्छ। उसले गरेको यो यत्न अरूको नजरबाट लुक्न सक्तैन। फलतः तिनीहरूलाई राम्रो साक्षी दिइन्छ। कुनै कुनै बेला पहिले सच्चाइको विरोध गर्ने मानिसहरूले मसीहीको असल चालचलन देखेपछि मन फिराएका छन्।—१ पत्रुस २:१२, १५; ३:१.
७. मसीहीहरूले आपसमा प्रेम गर्नु कत्तिको महत्त्वपूर्ण छ?
७ येशूले मसीही आचरणको अत्यावश्यक पक्षलाई औंल्याउनुहुँदै यसो भन्नुभयो: “तिमीहरूले आपसमा प्रेम गऱ्यौ भने, तिमीहरू मेरा चेलाहरू हौ भनी यसैबाट सबैले चिन्नेछन्।” (यूहन्ना १३:३५) शैतानको संसार “अधार्मिकता, दुष्टता, लोभ, द्वेषले भरिएका डाह, हत्या, झगड़ा, अर्काको चर्चा गर्नेहरू, कुरा काट्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अपमान गर्नेहरू, घमण्डीहरू, अभिमानीहरू, दुष्ट कुरा अजमाउनेहरू, आमा-बाबुलाई नमान्नेहरू[ले]” भरिपूर्ण छ। (रोमी १:२९, ३०) त्यस्तो वातावरणबीच प्रेमले भरिएको विश्वव्यापी संगठन हुनु भनेको परमेश्वरको आत्मा सक्रिय छ भन्ने शक्तिशाली प्रमाण अर्थात् प्रभावशाली साक्षी हो। आज यहोवाका साक्षीहरूको त्यस्तै संगठन छ।—१ पत्रुस २:१७.
साक्षीहरू बाइबलका विद्यार्थीहरू हुन्
८, ९. (क) परमेश्वरको व्यवस्था अध्ययन तथा मनन गरेर भजनरचयिताले कसरी बल पाए? (ख) बाइबल अध्ययन तथा मनन गर्नाले साक्षी दिने बल कुन कुन तरिकामा पाउँछौं?
८ असल साक्षी दिन एक जना मसीहीले यहोवाका धार्मिक सिद्धान्तहरू जान्न तथा प्रेम गर्नैपर्छ र यस संसारको भ्रष्टतालाई घृणा गर्नैपर्छ। (भजन ९७:१०) आफ्नो विचारधारा प्रवर्धन गर्न यो संसारले त्यसलाई निकै आकर्षित बनाउँछ र त्यसको आत्मालाई प्रतिकार गर्न कठिन पर्नसक्छ। (एफिसी २:१-३; १ यूहन्ना २:१५, १६) त्यसोभए कुन कुराले सही मानसिक मनोवृत्ति कायम राख्न मदत गर्नसक्छ त? नियमित तथा अर्थपूर्ण ढंगमा बाइबल अध्ययन गर्नाले। भजन ११९ का लेखकले यहोवाको व्यवस्थालाई प्रेम गर्छु भनी बारम्बार दोहोऱ्याए। तिनले त्यसलाई पढ्नुका साथै “दिनभरि” नियमित तवरमा मनन गरे। (भजन ११९:९२, ९३, ९७-१०५) नतिजा, तिनले यसो भन्न सके: “झूटलाई म घृणा गर्छु र तुच्छ ठान्छु, तर तपाईंको व्यवस्थालाई म प्रेम गर्दछु।” साथै, तिनको गहिरो प्रेमले तिनलाई त्यसअनुरूप काम गर्न उत्प्रेरित गऱ्यो। तिनी भन्छन्: “तपाईंको न्यायका वचनहरूको कारण दिनमा सातचोटि म तपाईंको प्रशंसा गर्दछु।”—भजन ११९:१६३, १६४.
९ त्यस्तैगरि हामीले नियमित तवरमा परमेश्वरको वचन अध्ययन तथा मनन गऱ्यौं भने त्यसले हाम्रो हृदय छुनेछ र बारम्बार, अझ भनौं भने “दिनमा सातचोटि” ‘उहाँको प्रशंसा’ गर्न उत्प्रेरित गर्नेछ। (रोमी १०:१०) यसअनुरूप प्रथम भजनका लेखक के लेख्छन् भने नियमित तवरमा यहोवाका वचनहरू मनन गर्ने व्यक्ति “खोलाको धारको छेउमा रोपेको बोटजस्तै . . . हुन्छ, जसले आफ्नो ऋतुमा फल दिन्छ, जसको पात कहिल्यै ओइलाउँदैन, र त्यसले जे गर्छ, त्यसमा त्यो सफल हुन्छ।” (भजन १:३) प्रेरित पावलले पनि निम्न शब्दहरूद्वारा परमेश्वरको वचनको शक्ति देखाए: “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।”—२ तिमोथी ३:१६, १७.
१०. यी आखिरी दिनमा यहोवाका जनबारे कुन कुरा स्पष्ट छ?
१० यस २० औं शताब्दीमा साँचो उपासकहरूको संख्यामा भइरहेको तीव्र वृद्धिले यहोवाको आशिष्को संकेत दिन्छ। निस्सन्देह, ईश्वरीय सार्वभौमिकताका यी आधुनिक साक्षीहरूले समूहको हैसियतमा आ-आफ्नो हृदयमा यहोवाको व्यवस्थाप्रति प्रेम खेती गरेका छन्। भजनरचयिताले जस्तै यिनीहरू पनि उहाँको आज्ञा मान्न अनि विश्वासी भएर “दिन-रात” यहोवाको महिमाको साक्षी दिन उत्प्रेरित भएका छन्।—प्रकाश ७:१५.
यहोवाका शक्तिशाली कार्यहरू
११, १२. येशू तथा उहाँका अनुयायीहरूले गरेका चमत्कारहरूको उपलब्धि के थियो?
११ प्रथम शताब्दीमा पवित्र आत्माले विश्वासी मसीही साक्षीहरूलाई चमत्कार गर्ने शक्ति प्रदान गऱ्यो। यसले तिनीहरूको साक्षी सत्य थियो भन्ने बलियो प्रमाण दियो। बप्तिस्मा दिने यूहन्ना जेलमै हुँदा तिनले आफ्ना चेलाहरूलाई येशूकहाँ यस्तो प्रश्न गर्न पठाए: “के आउनेवाला चाहिं तपाईंनै हुनुहुन्छ, कि हामीहरू अर्कोको बाटो हेरौं?” येशूले हो, होइन केही जवाफ दिनुभएन। बरु यसो भन्नुभयो: “गएर यूहन्नालाई तिमीहरूले सुनेका र देखेका कुराहरू सुनाइदेओ। अन्धाहरू देख्तछन्, र लंगडाहरू हिंड़दछन्। कोरीहरू शुद्ध पारिएकाछन्। बहिराहरू सुन्छन्। मरेकाहरू बिउँझाइन्छन्, र दरिद्रहरूलाई सुसमाचार सुनाइन्छ। जसले मसँग चित्त दुखाउँदैन, त्यो धन्य हो।” (मत्ती ११:३-६) यी शक्तिशाली कार्यहरूले वास्तवमा येशू नै “आउनेवाला” हुनुहुन्छ भनेर यूहन्नालाई साक्षी दियो।—प्रेरित २:२२.
१२ येशूले जस्तै उहाँका केही अनुयायीहरूले बिरामीलाई निको पारे अनि मरेका मानिसहरूलाई समेत बिउँताए। (प्रेरित ५:१५, १६; २०:९-१२) यी चमत्कारहरू परमेश्वरले तिनीहरूका खातिर दिनुभएको साक्षी समान थिए। (हिब्रू २:४) अनि त्यस्ता कार्यहरूले यहोवाको सर्वशक्ति प्रदर्शित गऱ्यो। उदाहरणको लागि, यो कुरा साँचो हो, “संसारको शासक” शैतानसित पनि अरूलाई मार्ने शक्ति छ। (यूहन्ना १४:३०; हिब्रू २:१४) तर पत्रुसले विश्वासी स्त्री डोरकासलाई मृत्युबाट बिउँताउँदा यहोवाको शक्तिद्वारा मात्र सो सम्भव भएको हुनसक्छ। किनभने यहोवाले मात्र पुनः जीवन दिन सक्नुहुन्छ।—भजन १६:१०; ३६:९; प्रेरित २:२५-२७; ९:३६-४३.
१३. (क) बाइबलका चमत्कारहरूले कुन तरिकामा अझै पनि यहोवाको शक्तिको पुष्टि दिन्छ? (ख) यहोवाको ईश्वरत्व प्रमाणित गर्न भविष्यवाणीको पूर्तिले कसरी महत्त्वपूर्ण भूमिका खेल्छ?
१३ आज, त्यस्ता चमत्कारहरू हुँदैनन्। किनकि त्यसको उद्देश्य पूरा भइसकेको छ। (१ कोरिन्थी १३:८) यद्यपि, थुप्रै प्रत्यक्षदर्शीहरूद्वारा पुष्टि गरिएका ती चमत्कारहरू बाइबलमा अभिलेख गरिएका छन्। जसलाई हामी अहिले पनि पढ्नसक्छौं। आज मसीहीहरूले ती ऐतिहासिक विवरणहरूमाथि ध्यानाकर्षण गर्दा ती चमत्कारपूर्ण कामहरूले अझै पनि यहोवाको शक्तिको प्रभावशाली साक्षी दिन्छ। (१ कोरिन्थी १५:३-६) यसबाहेक, उहाँ साँचो परमेश्वर हुनुहुन्छ भन्ने उल्लेखनीय प्रमाण, सही भविष्यवाणी हो भनेर यहोवाले यशैयाको समयमा औंल्याउनुभएको थियो। (यशैया ४६:८-११) आज बाइबलका थुप्रै ईश्वरप्रेरित भविष्यवाणीहरू पूरा भइरहेका छन्। जसमध्ये अधिकांश भविष्यवाणीहरू चाहिं मसीही मण्डलीमा पूरा भएका छन्। (यशैया ६०:८-१०; दानियल १२:६-१२; मलाकी ३:१७, १८; मत्ती २४:९; प्रकाश ११:१-१३) यी भविष्यवाणीहरूले हामी “आखिरी दिनमा” बाँचिरहेका छौं भनेर देखाउनुका साथै यहोवालाई एक मात्र साँचो परमेश्वरको हैसियतमा उच्च पार्छ।—२ तिमोथी ३:१.
१४. कुन कुन तरिकामा यहोवाका साक्षीहरूको आधुनिक इतिहासले यहोवा सार्वभौम परमेश्वर हुनुहुन्छ भन्ने शक्तिशाली साक्षी दिन्छ?
१४ अन्ततः यहोवाले अहिले पनि आफ्नो जनको खातिर ठूल-ठूला अद्भुत कामहरू गर्नुहुन्छ। यहोवाकै आत्माको निर्देशनले गर्दा बाइबलका सच्चाइमाथि थप प्रकाश पारिंदै आएको छ। (भजन ८६:१०; प्रकाश ४:५, ६) आज सारा विश्वमा भइरहेको उल्लेखनीय वृद्धि यहोवाले ‘आफ्नो समयमा चाँडै पूरा गर्नुभइरहेको कामको’ प्रमाण हो। (यशैया ६०:२२) यहोवाका जनहरूले यी आखिरी दिनमा एकपछि अर्को मुलुकमा देखा परेका कठोर सतावटलाई साहसपूर्वक सहन सकेका छन्। यो पनि उहाँको पवित्र आत्माले दिएको शक्तिप्रद सहाराले गर्दा सम्भव भएको हो। (भजन १८:१, २, १७, १८; २ इतिहास १:८-१०) हो, यहोवाका साक्षीहरूको आधुनिक इतिहास आफै पनि यहोवा सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ भन्ने शक्तिशाली साक्षी हो।—जकरिया ४:६.
राज्यको सुसमाचार सुनाउनुपर्ने
१५. मसीही मण्डलीले कुन कुराको विस्तृत तवरमा साक्षी दिनुपर्थ्यो?
१५ यहोवाले अन्य राष्ट्रहरूबीच इस्राएललाई आफ्नो साक्षी नियुक्त गर्नुभएको थियो। (यशैया ४३:१०) तथापि, मुठीभर इस्राएलीहरूलाई मात्र गैरइस्राएलीहरूलाई प्रचार गर्ने ईश्वरीय आज्ञा दिइएको थियो र त्यो पनि प्रायः यहोवाको न्याय वचनहरू सुनाउन। (यर्मिया १:५; योना १:१, २) तर यसो भए तापनि, यहोवाले एक दिन अन्य राष्ट्रहरूतर्फ विस्तृत ध्यान दिनुहुनेथियो भनेर हिब्रू शास्त्रका भविष्यवाणीहरूले संकेत गर्छ। नभन्दै यो काम उहाँले परमेश्वरको आत्मिक इस्राएलद्वारा सम्पन्न गर्नुभयो। (यशैया २:२-४; ६२:२) स्वर्गारोहण हुनुअघि येशूले आफ्ना अनुयायीहरूलाई यो आज्ञा दिनुभयो: “यसकारण गएर सबै देशका जातिहरूलाई चेला बनाओ।” (मत्ती २८:१९) हुन त येशूले “इस्राएलको घरानाका हराएका भेड़ाहरू[माथि]” बढ्ता ध्यान दिनुभयो। तर उहाँले आफ्ना अनुयायीहरूलाई “सबै देश[मा]” अझ भनौं भने “पृथ्वीको अन्तसम्म” पठाउनुभयो। (मत्ती १५:२४; प्रेरित १:८) सबै मानवजातिलाई मसीही साक्षी दिइनुपरेको थियो।
१६. प्रथम शताब्दीको मसीही मण्डलीले कुन आज्ञा पालन गऱ्यो र कुन हदसम्म?
१६ पावलले आफू यी कुरासित राम्ररी परिचित भएको प्रमाण दिए। सा.यु. ६१ सम्ममा तिनले “सारा संसारमा समाचार उन्नति हुँदै बढ्दै” गएको छ भन्न सके। “दूतगणको पूजा” गर्ने धर्मपन्थजस्तो एकै पन्थ वा राष्ट्रलाई मात्र नभई “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचार प्रचारियो। (कलस्सी १:६, २३; २:१३, १४, १६-१८) यसप्रकार प्रथम शताब्दीमा परमेश्वरको इस्राएलले “अन्धकारबाट उहाँको गजबको ज्योतिमा . . . [तिनीहरूलाई] बोलाउनेको सर्वश्रेष्ठता” घोषणा गर्न दिइएको आज्ञा पूरा गरे।
१७. मत्ती २४:१४ कसरी विस्तृत तवरमा पूरा भइरहन्छ?
१७ तर यसो भए तापनि प्रथम शताब्दीमा गरिएको प्रचार कार्य, आखिरी दिनको दौडान पूरा हुने घटनाको पूर्वाभास मात्र थियो। विशेषगरि हाम्रो समयलाई ध्यानमा राख्नुहुँदै येशूले यसो भन्नुभयो: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४; मर्कूस १३:१०) के यो भविष्यवाणी पूरा भएको छ? निस्सन्देह, पूरा भएको छ। सन् १९१९ मा सानो क्षेत्रमा सुरुआत भएको सुसमाचार प्रचार कार्य आज २३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको छ। बरफिलो उत्तरी ध्रुवदेखि घामले पोल्ने उष्णकटबन्धीय क्षेत्रहरूसम्म साक्षी दिइएको छ। ठूल-ठूला महादेशहरू त लगभग ढाकी नै सक्यो तर दुर्गम टापुहरूका बासिन्दाहरूले समेत साक्षी पाउन् भन्ने हेतुले तिनीहरूलाई प्रचार गरिएको छ। बोस्निया र हर्जगोभिनाको युद्धजस्ता ठूल-ठूला उथलपुथल भइरहेको बेलामा समेत सुसमाचार प्रचार हुँदैछ। प्रथम शताब्दीमा जस्तै साक्षी कार्यले “सारा संसारमा” फल फलाउँदैछ। “स्वर्गमनि भएका सारा सृष्टिमा” खुलेआम सुसमाचारको घोषणा हुँदैछ। नतिजा? प्रथमतः “हरेक कुल, भाषा, मानिस र जाति[बाट]” परमेश्वरका इस्राएलको शेष जन संकलन गरियो। दोस्रो, “हरेक जातिबाटको र सबै कुलको र मानिसको, भाषा भाषाहरूको एक ठूलो भीड़[का]” लाखौं मानिसहरू जम्मा गरिन थालियो। (प्रकाश ५:९; ७:९) मत्ती २४:१४ अझै विस्तृत तवरमा पूरा हुँदैछ।
१८. विश्वव्यापी सुसमाचार प्रचार कार्यका केही उपलब्धिहरू के के हुन्?
१८ येशूको शाही उपस्थिति सुरु भइसकेको छ भनेर प्रमाणित गर्न विश्वव्यापी सुसमाचार प्रचार कार्यले मदत गर्छ। (मत्ती २४:३) साथै, मानवजातिको एक मात्र साँचो आशातर्फ मानिसहरूलाई डोऱ्याउने भएकोले “पृथ्वीको कटनी” गर्ने मुख्य तरिका नै सुसमाचार प्रचार कार्य भइरहेको छ। (प्रकाश १४:१५, १६) अर्कोतर्फ, साँचो मसीहीहरूले मात्र सुसमाचार प्रचार कार्यमा भाग लिने हुँदा यस महत्त्वपूर्ण कार्यले साँचो र झूटा मसीहीहरू को हुन्, त्यो छुट्टाउन मदत गर्छ। (मलाकी ३:१८) यसप्रकार सुसमाचार प्रचार कार्यले गर्दा प्रचार गर्ने र सुन्ने दुवैले छुटकारा पाउँछन्। (१ तिमोथी ४:१६) सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिं के हो भने, सुसमाचार प्रचार कार्यले यहोवा परमेश्वरको प्रशंसा र सम्मान गर्छ। किनकि सुसमाचार प्रचार गर्न लगाउने, प्रचार गर्नेलाई समर्थन गर्ने अनि प्रचार कार्यलाई फलदायी बनाउनुहुने उहाँ नै हुनुहुन्छ।—२ कोरिन्थी ४:७.
१९. नयाँ सेवा वर्षमा प्रवेश गर्दा सबै मसीहीहरूलाई कुन कुरामा कटिबद्ध हुन प्रोत्साहित गरिन्छ?
१९ यी नै कारणहरूले गर्दा प्रेरित पावल यसो भन्न उत्प्रेरित भएका थिए: “सुसमाचार सुनाइनँ भनेता मलाई धिक्कार छ।” (१ कोरिन्थी ९:१६) आज मसीहीहरूले त्यस्तै महसुस गर्छन्। “परमेश्वरका सहकर्मी” भएर यस अन्धकार संसारमा सत्यको ज्योति फैलाउन पाउनु ठूलो सुअवसरका साथै जिम्मेवारी पनि हो। (१ कोरिन्थी ३:९; यशैया ६०:२, ३) सन् १९१९ मा सानो क्षेत्रमा सुरु भएको कामले आज विशाल रूप लिएको छ। अहिले झन्डै ५० लाख मसीहीहरूले ईश्वरीय सार्वभौमिकताको साक्षी दिइरहेका छन् र अरूलाई छुटकाराको समाचार सुनाउन तिनीहरूले वर्षेनी एक अरब घण्टाभन्दा धेरै समय बिताउँछन्। यहोवाको नाउँ पवित्र बनाउने यो काममा भाग लिनु निस्सन्देह कति आनन्दको कुरा हो! हामी सन् १९९६ सेवा वर्षमा प्रवेश गर्दैछौं। त्यसकारण सुस्त नहुन हामी सबै जना कटिबद्ध हौं। बरु पावलले तिमोथीलाई लेखेका यी शब्दहरूलाई अझ राम्ररी पालन गरौं: “वचन प्रचार गर, समय र बेसमयमा तयार रह।” (२ तिमोथी ४:२) अनि जसै हामी यी शब्दअनुरूप गर्दै जान्छौ, यहोवाले हाम्रो प्रयत्नमा आशिष् दिइरहून् भनी आफ्नो सारा हृदयले प्रार्थना गर्छौं।
के तपाईंलाई सम्झना छ?
◻ राष्ट्रहरूबीच इस्राएलको सट्टा यहोवाको “साक्षी” को भयो?
◻ मसीही आचरणले कसरी साक्षी कार्यमा थप योगदान दिन्छ?
◻ मसीही साक्षीहरूले बाइबल अध्ययन तथा मनन गर्नु किन अत्यावश्यक छ?
◻ कुन तरिकामा यहोवाका साक्षीहरूको आधुनिक इतिहासले यहोवा साँचो परमेश्वर हुनुहुन्छ भन्ने प्रमाण दिन्छ?
◻ सुसमाचार प्रचार कार्यका उपलब्धिहरू के के हुन्?
[पृष्ठ १५-मा भएका चित्रहरू]
कुनै क्षेत्रमा मात्र सीमित नभई “स्वर्गमनि भएका सारा सृष्टिमा” सुसमाचारको घोषणा गरिंदैछ