यहोवा—शिक्षा दिनुहुने परमेश्वर
“सबै जना परमेश्वरबाट सिकाइएका हुनेछन्।”—यूहन्ना ६:४५.
१. येशू अहिले कफर्नहुममा के गर्दैहुनुहुन्छ?
भर्खरै मात्र येशू ख्रीष्टले चमत्कारहरू गर्नुभएको थियो। र अहिले उहाँ गालीलको समुद्र नजीक कफर्नहुमको सभाघरमा शिक्षा दिंदै हुनुहुन्छ। (यूहन्ना ६:१-२१, ५९) उहाँले “म स्वर्गबाट ओर्लिआएको हुँ” भन्नुहुँदा अधिकांश मानिसहरू विश्वास गर्दैनन् र यसो भन्दै गनगन गर्छन्: “के यो यूसुफको छोरो, येशू होइन? जसका बाबू र आमालाई हामी चिन्छौं। यसले कसरी अहिले म स्वर्गबाट ओर्लिआएको हुँ भनी भन्दछ?” (यूहन्ना ६:३८, ४२) अतः येशू तिनीहरूलाई हप्काउनुहुँदै यसो भन्नुहुन्छ: “मलाई पठाउने पिताले त्यसलाई खिंच्नुभएन भने कोही मकहाँ आउनसक्तैन, औ म त्यसलाई पछिल्लो दिनमा बिउँताउनेछु।”—यूहन्ना ६:४४.
२. येशूले पुनरुत्थानबारे गर्नुभएको प्रतिज्ञामा विश्वास गर्ने आधार के हो?
२ पछिल्लो दिनमा परमेश्वरको शासन चलेपछि पुनरुत्थान हुन पाउनु के साह्रै अद्भुत प्रतिज्ञा होइन र? हामी यो प्रतिज्ञामाथि विश्वास गर्नसक्छौं किनभने हाम्रो पिता अर्थात् यहोवा परमेश्वरले त्यसको ग्यारेन्टी दिनुभएको छ। (अय्यूब १४:१३-१५; यशैया २६:१९) मरेका मानिसहरू बिउँतनेछन् भनी सिकाउनुहुने यहोवा निस्सन्देह “सबैभन्दा महान् शिक्षक हुनुहुन्छ।” (अय्यूब ३६:२२, टुडेज इंगलिस भर्सन) अब आफ्नो पिताको शिक्षामाथि ध्यान केन्द्रित गर्नुहुँदै येशू यसो भन्नुहुन्छ: “सबै जना परमेश्वरबाट सिकाइएका हुनेछन् भनी अगमवक्ताहरूका पुस्तकमा लेखिएको छ।”—यूहन्ना ६:४५.
३. हामी कुन प्रश्नहरू छलफल गर्नेछौं?
३ अगमवक्ता यशैयाले निम्न शब्दहरूमा वर्णन गरेका मानिसहरूबीच हुन पाउनु अवश्य हाम्रोलागि सुअवसर हुनेछ: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्।” (यशैया ५४:१३) के हामी तिनीहरूबीच हुनसक्छौं? उहाँका छोराछोरीहरू समान भएर क-कसले उहाँका शिक्षाहरू पाएका छन्? यहोवाको आशिष् पाउन हामीले उहाँबारे जान्नु र पालन गर्नुपर्ने अत्यावश्यक शिक्षाहरू के के हुन्? बितेका समयमा यहोवाले कसरी सिकाउनुभयो र अहिले पनि के त्यसैगरि सिकाउनुहुन्छ? यी प्रश्नहरूमाथि अब हामी विचार गर्नेछौं।
पिता, पति र शिक्षक
४. यहोवाको शिक्षा प्राप्त गर्ने उहाँका प्रथम छोराहरू को थिए?
४ आफ्नो एकलौटो पुत्र, मानवपूर्व येशूलाई सृष्टि गर्नुहुँदा यहोवा पिता तथा शिक्षक दुवै हुनुभयो। उहाँको यो पुत्रलाई “वचन” भनिन्छ किनभने उहाँ यहोवाको प्रमुख प्रवक्ता हुनुहुन्छ। (यूहन्ना १:१, १४; ३:१६) वचन “[पिताको] . . . मुख्य कालिगड” हुनुहुन्थ्यो र उहाँले आफ्नो पिताको शिक्षा राम्ररी ग्रहण गर्नुभयो। (हितोपदेश ८:२२, ३० न्युव) वास्तवमा उहाँ त्यो अभिकर्ता वा माध्यम हुनुभयो जसद्वारा पिताले “परमेश्वरका [आत्मिक] छोराहरू” लगायत सबै कुरा सृष्टि गर्नुभयो। परमेश्वरद्वारा शिक्षा पाउँदा तिनीहरू कति रमाए होलान्! (अय्यूब १:६; २:१; ३८:७; कलस्सी १:१५-१७) पछि, प्रथम मानव आदमको सृष्टि भयो। तिनी पनि “परमेश्वरका छोरा” थिए र तिनलाई यहोवाले निर्देशन दिनुभयो भनेर बाइबलले प्रकट गर्छ।—लूका ३:३८; उत्पत्ति २:७, १६, १७.
५. आदमले कस्तो अनमोल सुअवसर गुमाए, तर त्यसो भए तापनि यहोवाले कसलाई सिकाउनुभयो र किन?
५ दुःखको कुरा, आदम स्वेच्छापूर्वक अनाज्ञाकारी भए र परमेश्वरको पुत्र भइरहने सुअवसर गुमाए। तसर्थ, आदम पिता हुँदैमा तिनका सन्तानले परमेश्वरको पुत्र हुने दाबी गर्न सक्दैन। यद्यपि, यहोवाले आफ्नो निर्देशन खोज्ने असिद्ध मानिसहरूलाई सिकाउनुभयो। उदाहरणको लागि, नूह “परमेश्वरको साथै हिंड़ने” “धर्मी” मानिस साबित भए। अतः यहोवाले नूहलाई निर्देशन दिनुभयो। (उत्पत्ति ६:९, १३–उत्प ६:१३ देखि ७:५) त्यस्तैगरि, अब्राहामले आज्ञाकारिता देखाएर आफूलाई “परमेश्वरका मित्र” साबित गरे। तसर्थ, यहोवाले तिनलाई पनि सिकाउनुभयो।—याकूब २:२३; उत्पत्ति १२:१-४; १५:१-८; २२:१, २.
६. यहोवाले कसलाई आफ्नो “छोरो” ठान्नुभयो र उहाँ तिनीहरूको कस्तो शिक्षक हुनुहुन्थ्यो?
६ धेरै समयपछि मोशाको समयमा यहोवाले इस्राएल राष्ट्रसित करार बाँध्नुभएर सम्बन्ध गाँस्नुभयो। फलतः इस्राएल राष्ट्र उहाँको चुनिएको जन भयो र त्यसलाई उहाँको “छोरो” मानिन्थ्यो। “इस्राएल मेरो छोरो हो,” परमेश्वरले भन्नुभयो। (प्रस्थान ४:२२, २३; १९:३-६; व्यवस्था १४:१, २) करारद्वारा स्थापित त्यस सम्बन्धको आधारमा इस्राएलले अगमवक्ता यशैयाद्वारा अभिलिखित यी शब्दहरूअनुरूप यसो भन्नसक्थे: “तपाईं ता हाम्रा पिता हुनुहुन्छ।” (यशैया ६३:१६) यहोवाले आफ्नो पैतृक भूमिका स्वीकार्नुभयो र आफ्नो सन्तान इस्राएललाई प्रेमपूर्वक सिकाउनुभयो। (भजन ७१:१७; यशैया ४८:१७, १८) वास्तवमा, तिनीहरू अविश्वासी हुँदा उहाँले दयापूर्वक यसरी बिन्ती गर्नुभयो: “फर्क, विश्वासीघाती सन्तान हो।”—यर्मिया ३:१४.
७. इस्राएल र यहोवाबीच कस्तो सम्बन्ध थियो?
७ इस्राएलसित करारद्वारा गाँस्नुभएको सम्बन्धले गर्दा यहोवा प्रतीकात्मक रूपमा त्यस राष्ट्रको पति हुनुभयो र इस्राएल उहाँकी लाक्षणिक पत्नी। तिनको विषयमा अगमवक्ता यशैयाले यो लेखे: “तेरा सृष्टिकर्त्ता तेरा स्वामी हुनुहुन्छ। उहाँको नाउँ सेनाहरूका परमप्रभु हो।” (यशैया ५४:५; यर्मिया ३१:३२) तर यहोवाले पतिको हैसियतमा पूरा गर्नुपर्ने भूमिकालाई आदरणीय ढंगमा पूरा गर्नु हुँदाहुँदै पनि इस्राएल अविश्वासी पत्नी भइन्। यहोवाले यसो भन्नुभयो: “जसरी एक अविश्वासी स्वास्नीले आफ्नो लोग्नेलाई त्याग्छे, त्यसरीनै तिमीहरू पनि मप्रति विश्वासघाती भयौ, हे इस्राएलका घराना हो।” (यर्मिया ३:२०) यहोवाले आफ्नो अविश्वासी पत्नीका छोराछोरीहरूसित आग्रह गरिरहनुभयो; उहाँ तिनीहरूको “महान् निर्देशक” भई नै रहनुभयो।—यशैया ३०:२० न्युव; २ इतिहास ३६:१५.
८. यहोवाले इस्राएल राष्ट्रलाई त्याग्नु भए तापनि उहाँको कुन प्रतिरूपी लाक्षणिक पत्नी अझै छिन्?
८ अन्ततः इस्राएलले उहाँको पुत्र, येशू ख्रीष्टलाई इन्कार गरेर हत्या गरेपछि परमेश्वरले त्यसलाई त्याग्नुभयो। त्यो यहूदी राष्ट्र न ता परमेश्वरको लाक्षणिक पत्नी भइन् न उहाँ त्यसका पथभ्रष्ट सन्तानहरूको पिता वा शिक्षक नै हुनुभयो। (मत्ती २३:३७, ३८) तथापि, इस्राएल केवल प्रतिनिधि अथवा प्रतीकात्मक पत्नी थिइन्। यस सम्बन्धमा प्रेरित पावलले यशैया ५४:१ उद्धरण गरे। उपरोक्त पदले “बाँझी” स्त्रीबारे बताउँछ र यो स्त्री “लोग्ने हुने” स्त्री अर्थात् प्राकृतिक इस्राएल राष्ट्रभन्दा भिन्न अनि विशिष्ट छिन्। पावल, अभिषिक्त मसीहीहरू यही “बाँझी” स्त्रीका सन्तान हुन् भनेर प्रकट गर्छन् र त्यसलाई “माथिको यरूशलेम” भनेर सम्बोधन गर्छन्। यो प्रतिरूपी स्त्री परमेश्वरको आत्मिक प्राणीहरूको स्वर्गीय संगठन मिलेर बनेको छ।—गलाती ४:२६, २७.
९. (क) ‘तिमीहरूका छोराछोरीहरू यहोवाद्वारा सिकाइएका हुनेछन्’ भन्नुहुँदा येशूले कसलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो? (ख) कुन आधारमा मानिसहरू परमेश्वरका आत्मिक छोराहरू हुन्छन्?
९ तसर्थ, येशूले कफर्नहुमको सभाघरमा यशैयाको भविष्यवाणी उद्धृत गर्दै “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्” भन्नुहुँदा “माथिको यरूशलेम” अर्थात् परमेश्वरको पत्नी समान स्वर्गीय संगठनका “छोरो” हुने मानिसहरूबारे बोल्दै हुनुहुन्थ्यो। स्वर्गबाट पठाइएको परमेश्वरको प्रतिनिधि येशू ख्रीष्टका शिक्षाहरू स्वीकारेर ती यहूदी श्रोताहरू परमेश्वरको स्वर्गीय बाँझी स्त्रीका सन्तान हुनसक्थे अनि “पवित्र जाति,” “परमेश्वरका इस्राएल” बन्नसक्थे। (१ पत्रुस २:९, १०; गलाती ६:१६) हो, येशूले गर्दा मानिसहरू परमेश्वरका आत्मिक छोराहरू बन्न सके। यस महान् सुअवसरबारे वर्णन गर्दै प्रेरित यूहन्नाले यसरी लेखे: “उहाँ आफ्नैकहाँ आउनुभयो, औ आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्। तर जत्तिले उहाँलाई ग्रहण गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने हक दिनुभयो, अर्थात् उहाँको नाउँमाथि विश्वास गर्नेहरूलाई।”—यूहन्ना १:११, १२.
यहोवाका अत्यावश्यक शिक्षाहरू
१०. अदनको विद्रोहको तत्कालै यहोवाले “सन्तान[बारे]” के शिक्षा दिनुभयो र यो सन्तान को साबित भयो?
१० एक जना मायालु पिताले जस्तै यहोवा आफ्ना सन्तानहरूलाई आफ्ना उद्देश्यहरू बताउनुहुन्छ। त्यसैकारण, एक जना विद्रोही स्वर्गदूतले प्रथम मानव दम्पतीलाई आज्ञा उल्लंघन गर्न उस्काउँदा पृथ्वीलाई प्रमोदवन बनाउने आफ्नो उद्देश्य पूर्ति गर्न के गर्नेछु भनी यहोवाले तुरुन्तै जानकारी दिनुभयो। त्यो “वृद्ध साँप” र “स्त्री[बीच]” दुश्मनी हालिदिनेछु पनि भन्नुभयो। त्यसपछि उहाँले स्त्रीको “सन्तान[ले]” शैतानको “शिर” कुच्याउनेछ भनी वर्णन गर्नुभयो। (उत्पत्ति ३:१-६, १५; प्रकाश १२:९; २०:९, १०) हामीले माथि बुझिसक्यौं, पछि “माथिको यरूशलेम” भनी चिनाइएकी यस स्त्री परमेश्वरका आत्मिक प्राणीहरूको स्वर्गीय संगठन हो। तर यो “सन्तान” चाहिं को हो? उहाँ परमेश्वरको पुत्र, येशू ख्रीष्ट हुनुहुन्छ। स्वर्गबाट यस पृथ्वीमा पठाइनुभएको र अन्ततः शैतानलाई नाश गर्ने उहाँ नै हुनुहुन्छ।—गलाती ४:४; हिब्रू २:१४; १ यूहन्ना ३:८.
११, १२. यहोवाले “सन्तान[सित]” सम्बन्धित शिक्षालाई कसरी विस्तार गर्नुभयो?
११ यो “सन्तान[बारे]” थप अत्यावश्यक शिक्षाहरू प्रदान गर्नुहुँदै यहोवाले अब्राहामसित यस्तो प्रतिज्ञा गर्नुभयो: “तेरो सन्तानको वृद्धि गरेर आकाशका तारा . . . सरह तुल्याउनेछु। तेरै सन्तानद्वारा पृथ्वीका सबै जातिहरू आशीर्वादी हुनेछन्।” (उत्पत्ति २२:१७, १८) येशू ख्रीष्ट नै अब्राहामसित प्रतिज्ञा गरिएको सन्तान हुनुहुन्छ र अरू पनि त्यो “सन्तान[का]” सदस्यहरू हुनेछन् भनी वर्णन गर्न यहोवाले प्रेरित पावललाई चलाउनुभयो। पावलले लेखे, “यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका वंश हौ, र प्रतिज्ञा बमोजिमका हकवाला पनि हौ।”—गलाती ३:१६, २९.
१२ यहोवाले ख्रीष्ट अर्थात् वंश, यहूदाको शाही घरानाबाट आउनेछ र “मानिसहरू उहाँको आज्ञाकारी बन्नेछन्” भनेर पनि प्रकट गर्नुभयो। (उत्पत्ति ४९:१०) यहूदा कुलका राजा दाऊदबारे यहोवाले यस्तो प्रतिज्ञा गर्नुभयो: “तेरो सन्तानलाई म सदाको निम्ति नियुक्त गर्नेछु, र तेरो सिंहासन सारा पुस्तामा बनाइराख्नेछु। तिनको सन्तानलाई म सदाको लागि, र तिनको सिंहासनचाहिं स्वर्गका दिनझैं रहनदिनेछु।” (भजन ८९:३, ४, २९, ३६) गब्रिएल स्वर्गदूतले येशूको जन्मबारे घोषणा गर्दा तिनले बालक येशू परमेश्वरद्वारा नियुक्त राजा, दाऊदका वंश हुनुहुन्छ भनी वर्णन गरे। “उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, औ परमप्रभु परमेश्वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ र उहाँको राज्यको अन्त हुनेछैन,” गब्रिएलले भने।—लूका १:३२, ३३; यशैया ९:६, ७; दानियल ७:१३, १४.
१३. यहोवाको आशिष् पाउन हामीले उहाँका शिक्षालाई कसरी ग्रहण गर्नुपर्छ?
१३ यहोवाको आशिष् पाउन हामीले परमेश्वरको राज्यसित सम्बन्धित यो अत्यावश्यक शिक्षा लिनुको साथै पालना गर्नुपर्छ। येशू ख्रीष्ट स्वर्गबाट आउनुभएको हो र उहाँ परमेश्वरद्वारा नियुक्त राजा अनि पृथ्वीमा प्रमोदवन स्थापित गर्न निरीक्षण गर्नुहुने शाही वंश हुनुहुन्छ भनेर विश्वास गर्नुको साथै मरेका मानिसहरूलाई पनि उहाँले नै पुनरुत्थान गर्नुहुनेछ भनेर हामीले विश्वास गर्नैपर्छ। (लूका २३:४२, ४३; यूहन्ना १८:३३-३७) वास्तवमा, कफर्नहुममा येशूले मरेका मानिसहरूको पुनरुत्थानबारे बोल्नुहुँदा उहाँ सत्य कुरा गर्दै हुनुहुन्छ भनेर यहूदीहरूले स्पष्ट बुझ्नुपर्ने थियो। आखिरमा, केही हप्ताअघि मात्र उहाँले सम्भवतः कफर्नहुममै यहूदी सभाघरका अफिसरकी १२ वर्षिया छोरीको पुनरुत्थान गर्नुभएको थियो! (लूका ८:४९-५६) एवम् रीतिले यहोवाको राज्यसित सम्बन्धित उहाँको आशा-उत्प्रेरक शिक्षामाथि विश्वास गर्ने र त्यसअनुरूप चल्ने यथेष्ट कारण हामीसित छ!
१४, १५. (क) येशू यहोवाको राज्यलाई कतिको महत्त्वपूर्ण सम्झनुहुन्छ? (ख) यहोवाको राज्यबारे हामीले कुन कुरा बुझ्न र व्याख्या गर्न सक्नुपर्छ?
१४ येशूले यहोवाको राज्यबारे शिक्षा दिन आफ्नो पार्थिव जीवन अर्पित गर्नुभयो। उहाँले त्यसलाई आफ्नो सेवकाईको मुख्य विषय बनाउनुका साथै आफ्ना चेलाहरूलाई यसै राज्यको निम्ति प्रार्थना गर्ने निर्देशनसमेत दिनुभयो। (मत्ती ६:९, १०; लूका ४:४३) प्राकृतिक यहूदीहरू “राज्यका सन्तान” हुनसक्थे तर विश्वासको कमीले गर्दा अधिकांश यहूदीहरूले त्यो सुअवसर गुमाए। (मत्ती ८:१२; २१:४३) येशूले “राज्यका सन्तान” बन्ने सुअवसर केवल “सानो बगाल[ले]” पाउँछ भनेर प्रकट गर्नुभयो। यी “सन्तान” ख्रीष्टको स्वर्गीय राज्यमा उहाँको “साझे-हकवाला” हुन्छन्।—लूका १२:३२; मत्ती १३:३८; रोमी ८:१४-१७; याकूब २:५.
१५ ख्रीष्टले पृथ्वीबाट कति जना राज्य हकदारलाई स्वर्गमा आफूसँग राज्य गर्न लैजानुहुनेछ? बाइबलअनुसार १,४४,००० मात्र। (यूहन्ना १४:२, ३; २ तिमोथी २:१२; प्रकाश ५:१०; १४:१-३; २०:४) तर येशूले के पनि भन्नुभयो भने उहाँका “अरू भेड़ा” छन् र तिनीहरू स्वर्गीय राज्यका पार्थिव प्रजाहरू हुनेछन्। तिनीहरूले पार्थिव प्रमोदवनमा सधैंभरि सिद्ध स्वास्थ्य र शान्ति उपभोग गर्नेछन्। (यूहन्ना १०:१६; भजन ३७:२९; प्रकाश २१:३, ४) हामीले यो राज्यसित सम्बन्धित यहोवाको शिक्षा बुझ्नुका साथै व्याख्या गर्न सक्नुपर्छ।
१६. यहोवाको कुन अत्यावश्यक शिक्षा हामीले सिक्नु र पालन गर्नुपर्छ?
१६ प्रेरित पावलले यहोवाको अर्को अत्यावश्यक शिक्षा प्रकट गरे। तिनले भने: “आपसमा प्रेम गर्नू भन्ने तिमीहरू आफैले पनि परमेश्वरबाट शिक्षा पाएका छौ।” (१ थिस्सलोनिकी ४:९) यहोवालाई प्रसन्न तुल्याउन हामीले त्यस्तो प्रेम देखाउनु आवश्यक छ। “परमेश्वर प्रेम हुनुहुन्छ,” बाइबलले बताउँछ र हामीले उहाँको प्रेमको अनुकरण गर्नैपर्छ। (१ यूहन्ना ४:८; एफिसी ५:१, २) दुःखको कुरा, अधिकांश मानिसहरूले परमेश्वरले सिकाउनुभएबमोजिम आफ्ना सहमानवहरूलाई रत्तिभर प्रेम गर्न सिकेका छैनन्। हामी नि? के हामीले यहोवाको यो शिक्षा पालन गरेका छौं?
१७. हामीले कसको मनोवृत्ति अनुकरण गर्नुपर्छ?
१७ यहोवाका सबै शिक्षाहरू ग्रहण गर्नु अपरिहार्य छ। हाम्रो मनोवृत्ति पनि त्यस बाइबल भजनरचयिताको जस्तै होस् जसले यसरी लेखे: “तपाईंको मार्ग मलाई देखाउनुहोस्, हे परमप्रभु। तपाईंको बाटो मलाई दिनु- होस्। तपाईंको सत्यतामा मेरो अगुवा हुनुहोस्, र मलाई सिकाउनुहोस्।” “मलाई तपाईंका नियमहरू सिकाउनुहोस्। मलाई असल विवेकशक्ति र ज्ञान सिकाउनुहोस्। . . . तपाईंको न्यायका वचनहरू मलाई सिकाउनुहोस्।” (भजन २५:४, ५; ११९:१२, ६६, १०८) तपाईंका भावनाहरू पनि भजनरचयिताका जस्तै छन् भने यहोवाले सिकाउनुहुने विशाल भीडबीच तपाईं पनि सामेल हुन सक्नुहुन्छ।
शिक्षा पाएका ठूलो भीड
१८. यशैया अगमवक्ताले हाम्रो समयबारे के अगमवाणी गरे?
१८ हाम्रो समयमा हुने घटनाबारे अगमवक्ता यशैयाले यस्तो अगमवाणी गरे: “पछिल्ला दिनमा परमप्रभुको भवन बसालिएको पर्वत सबै पर्वतहरूभन्दा उच्च पारिनेछ। . . . [अनि] धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकूबका परमेश्वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ।” (यशैया २:२, ३; मीका ४:२) यहोवाद्वारा सिकाइएका यी मानिसहरू को हुन्?
१९. यहोवाको शिक्षा पाउनेहरूमध्ये आज को को समावेश छन्?
१९ त्यसमा ख्रीष्टसँग स्वर्गमा राज्य गर्ने मानिसहरूबाहेक अरू पनि समावेश छन्। माथि उल्लेख गरिएझैं येशूले भन्नुभएअनुसार, राज्य उत्तराधिकारीहरूको “सानो बगाल[लगायत]” उहाँका “अरू भेड़ा” अर्थात् त्यस राज्यका पार्थिव प्रजाहरू पनि थिए। (यूहन्ना १०:१६; लूका १२:३२) “महा संकष्ट” पार गर्ने “ठूलो भीड़” अरू भेडाहरू हुन् र येशूले बगाउनुभएको रगतमाथि विश्वासको आधारमा तिनीहरूले यहोवाको अनुमोदन पाउँछन्। (प्रकाश ७:९, १४) यशैया ५४:१३ मा उल्लिखित “छोरो[हरूमा]” प्रत्यक्षतः समावेश नभए तापनि अरू भेडाहरूले यहोवाबाट शिक्षा पाउँछन्। त्यसैकारण, तिनीहरूले परमेश्वरलाई “पिता” भनी पुकार्नु उचित छ। वास्तवमा येशू ख्रीष्ट “सनातनका पिता” हुनु भएकोले यहोवा तिनीहरूका हजुरबुबा हुनुहुनेछ।—मत्ती ६:९; यशैया ९:६.
यहोवाले कसरी सिकाउनुहुन्छ
२०. यहोवाले कुन कुन ढंगमा सिकाउनुहुन्छ?
२० यहोवाले विभिन्न तरिकाले सिकाउनुहुन्छ। उदाहरणको लागि, हामी उहाँका सिर्जनशील कार्यहरूलाई लिनसक्छौं, जसले उहाँको अस्तित्व र महान् बुद्धि दुवैको प्रमाण दिन्छ। (अय्यूब १२:७-९; भजन १९:१, २; रोमी १:२०) यसबाहेक मानवपूर्व येशूलाई निर्देशन दिनुभएजस्तै सीधै सम्पर्क राख्नुभएर पनि उहाँले सिकाउनुहुन्छ। उहाँले स्वर्गबाट सीधै पृथ्वीमा मानिसहरूसित कुरा गर्नुभएका तीन घटनाहरू अभिलिखित छन्।—मत्ती ३:१७; १७:५; यूहन्ना १२:२८.
२१. यहोवाले आफ्नो प्रतिनिधिको रूपमा विशेषगरि कुन स्वर्गदूतलाई चलाउनुभयो तर उहाँ मात्र नभई अरू स्वर्गदूतहरू पनि चलाउनुभयो भनेर हामी कसरी भन्नसक्छौं?
२१ आफ्नो ज्येष्ठ पुत्र “वचन” लगायत स्वर्गदूतीय प्रतिनिधिहरूलाई चलाएर पनि यहोवाले सिकाउनुहुन्छ। (यूहन्ना १:१-३) अदनको बगैंचामा उहाँले सीधै आदमसित कुरा गर्न सक्नुहुन्थ्यो तर सम्भवतः उहाँले मानवपूर्व येशूलाई प्रवक्ताको रूपमा चलाउनुभयो। (उत्पत्ति २:१६, १७) “इस्राएलका छाउनीको अगिअगि हिंड़ने परमेश्वरको दूत” पनि सम्भवतः मानवपूर्व येशू नै हुनुपर्छ। यहोवाले “तिनको कुरा सुन” भनी इस्राएललाई आज्ञा दिनुभएको थियो। (प्रस्थान १४:१९; २३:२०, २१) निस्सन्देह, यहोशूलाई बल दिने “परमप्रभुको फौजको कप्तान” पनि येशू नै हुनुहुन्थ्यो। (यहोशू ५:१४, १५) यहोवाले अन्य स्वर्गदूतहरूलाई चलाएर पनि शिक्षा दिनुहुन्छ। उदाहरणको लागि, मोशालाई आफ्नो व्यवस्था दिन उहाँले त्यस्तै एउटा स्वर्गदूत चलाउनुभएको थियो।—प्रस्थान २०:१; गलाती ३:१९; हिबू २:२, ३.
२२. (क) यहोवाले आफ्नो शिक्षा दिन चलाउनुभएका मानव प्रतिनिधिहरू को को हुन्? (ख) यहोवाले आज कुन प्रमुख माध्यमद्वारा मानिसहरूलाई सिकाउनुहुन्छ?
२२ यसबाहेक यहोवा परमेश्वरले मानव प्रतिनिधिहरूद्वारा पनि शिक्षा दिनुहुन्छ। इस्राएली आमाबाबुहरूले आफ्ना छोराछोरीहरूलाई सिकाउनुपर्थ्यो; अगमवक्ता, पूजाहारी, राजकुमार अनि लेवीहरूले इस्राएल राष्ट्रलाई यहोवाको व्यवस्था सिकाउनुपर्थ्यो। (व्यवस्था ११:१८-२१; १ शमूएल १२:२०-२५; २ इतिहास १७:७-९) पृथ्वीका लागि परमेश्वरको प्रमुख प्रवक्ता येशू हुनुहुन्थ्यो। (हिब्रू १:१, २) आफूले पिताबाट जे सिक्नुभयो, त्यसमा अलिकता पनि थपघट नगरी सिकाउँदैछु भनी उहाँले बारम्बार भन्नुभयो। अतः वास्तवमा उहाँका श्रोताहरूले यहोवाबाटै शिक्षा पाइरहेका थिए। (यूहन्ना ७:१६; ८:२८; १२:४९; १४:९, १०) यहोवाले आफ्ना वचनहरू अभिलेख गराउनुभयो र हाम्रो समयमा मुख्यतः यी नै प्रेरित शास्त्रहरूद्वारा मानिसहरूलाई सिकाउनुहुन्छ।—रोमी १५:४; २ तिमोथी ३:१६.
२३. आउँदो लेखमा कुन प्रश्नहरूको जवाफ दिइनेछन्?
२३ अहिले हामी महत्त्वपूर्ण समयमा बाँचिरहेका छौं। किनभने शास्त्रले ‘पछिल्ला दिनमा [अर्थात् हाम्रो समयमा] थुप्रै मानिसहरूले यहोवाको मार्गसित सम्बन्धित निर्देशन पाउनेछन्’ भनी प्रतिज्ञा गर्छ। (यशैया २:२, ३) यो निर्देशन कसरी दिइन्छ? अहिले प्रगति भइरहेको यहोवाको महान् शैक्षिक कार्यक्रमबाट लाभ उठाउन अनि भाग लिन हामीले के गर्नुपर्छ? अर्को लेखमा यी प्रश्नहरू छलफल गरिनेछन्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ यहोवा कसरी पिता, पति अनि शिक्षक हुनुभयो?
◻ यहोवाले “सन्तान[बारे]” के सिकाउनुहुन्छ?
◻ परमेश्वरले दिनुहुने कुन अत्यावश्यक शिक्षा हामीले पालन गर्नुपर्छ?
◻ यहोवाले कसरी सिकाउनुहुन्छ?
[पृष्ठ १०-मा भएको चित्र]
येशूले पुनरुत्थानबारे गर्नुभएको प्रतिज्ञामाथि विश्वास गर्ने आधार याइरसकी छोरीको पुनरुत्थान थियो