अध्याय २२
चार जना चेला मानिसहरूको जलारी हुन्छन्
मत्ति ४:१३-२२ मर्कुस १:१६-२० लुका ५:१-११
येसु चेलाहरूलाई पूरै समय आफ्नो पछि लाग्न बोलाउनुहुन्छ
माछा मार्ने जलारीहरू मानिसहरूको जलारी हुन्छन्
नासरतका मानिसहरूले येसुको ज्यान लिने प्रयास गरेपछि उहाँ कफर्नहुम सहर जानुहुन्छ, जुन सहर “गनेसरेत ताल” पनि भनिने गालिल समुद्रनजिकै पर्छ। (लुका ५:१) यसप्रकार समुद्रनजिकै बस्ने गालिलका मानिसहरूले चहकिलो ज्योति देख्नेछन् भनेर यसैयाको किताबमा गरिएको भविष्यवाणी पूरा हुन्छ।—यसैया ९:१, २.
हो, येसुले “स्वर्गको राज्य नजिकै आएको छ” भन्दै गालिलमा पनि प्रचार गर्नुहुन्छ। (मत्ति ४:१७) येसु आफ्ना चार जना चेलालाई फेरि भेट्नुहुन्छ। तिनीहरूले पहिला उहाँसितै यात्रा गरेका थिए। तर उहाँसँगै यहुदियाबाट फर्केपछि तिनीहरू फेरि माछा मार्ने व्यवसायमै लागेका थिए। (युहन्ना १:३५-४२) तर अब तिनीहरू निरन्तर येसुसँगै हुनुपर्ने समय आएको छ किनकि आफ्नो मृत्युपछि पनि तिनीहरूले प्रचारको काम गरिरहन सकून् भनेर उहाँ तिनीहरूलाई तालिम दिन चाहनुहुन्छ।
येसु समुद्र किनारमा हिँडिरहनुभएको बेला उहाँले सिमोन पत्रुस, तिनका भाइ अन्द्रियास र तिनीहरूका केही साथीहरूलाई जाल धोइरहेको देख्नुहुन्छ। येसु गएर पत्रुसको डुङ्गामा चढ्नुहुन्छ र डुङ्गालाई अलि पर लैजान भन्नुहुन्छ। अलि पर पुगेपछि येसु बस्नुहुन्छ र किनारामा भेला भएको भीडलाई परमेश्वरको राज्यबारे सत्य कुराहरू सिकाउन थाल्नुहुन्छ।
त्यसपछि येसु पत्रुसलाई भन्नुहुन्छ: “डुङ्गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।” तर पत्रुस भन्छन्: “गुरुज्यू, हामीले रातभरि मेहनत गऱ्यौँ तर केही भेट्टाएनौँ तैपनि तपाईँले भन्नुभएकोले म जाल हाल्नेछु।”—लुका ५:४, ५.
तिनीहरू जाल हान्छन्। त्यसपछि त जालहरूमा यत्ति धेरै माछा पर्छ कि जाल नै फाट्न लाग्छ। त्यसैले तिनीहरू तुरुन्तै अर्को डुङ्गामा भएका साथीहरूलाई मदतको लागि इसारा गर्छन्। एकछिनमै दुइटै डुङ्गा भरिन्छ र भारले गर्दा डुङ्गा डुब्न खोज्छ। यो देखेर पत्रुस येसुसामु घुँडा टेक्दै यसो भन्छन्: “हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्।” तर येसु भन्नुहुन्छ: “डराउन छोड। अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।”—लुका ५:८, १०.
येसु पत्रुस र अन्द्रियासलाई यसो भन्नुहुन्छ: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।” (मत्ति ४:१९) उहाँले अर्को दुई जना जलारी—जब्दिका छोराहरू याकुब र युहन्नालाई पनि आफूसित बोलाउनुहुन्छ र उनीहरू आनाकानी नगरी येसुको पछि लाग्छन्। यसरी यी चार जना माछा मार्ने व्यवसाय छोडेर पूरै समय उहाँको पछि लाग्ने प्रथम चेलाहरू बन्छन्।