हाम्रा महान सृष्टिकर्तामा रमाउनु
“आफ्नो सृष्टिकर्तामा इस्राएल रमाऊन्, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित होऊन्।”—भजनसंग्रह १४९:२.
१. “बल्ल स्वतन्त्रता आयो” भन्ने नाराहरूको बावजूद मानवजातिको परिस्थिति वास्तवमा कस्तो छ?
आजको संसार “कष्ट”-ले पीडित छ। “जगतको अन्त” अथवा १९१४-को प्रथम विश्व-युद्धका साथसाथै सुरु भएको दुर्घटनापूर्ण समयावधि बारे कुरा गर्नु हुँदा, येशूले यही अभिव्यक्ति प्रयोग गर्नु भएको थियो। (मत्ती २४:३-८) थुप्रै राजनीतिज्ञहरूले एउटा अन्धकारमय भविष्यबाहेक अरू केही देख्तैनन्। पूर्वीय यूरोपमा “बल्ल स्वतन्त्रता आयो” भन्ने नाराहरूको बावजूद, त्यस इलाकाका एक जना भूतपूर्व राष्ट्रपतिले परिस्थितिको वर्णन यस प्रकार गरे: “जनसङ्खया वृद्धि, पृथ्वीको तापक्रममा चर्को वृद्धि, ओजोनको तहमा प्वाल, एड्स, आणविक आतङ्कबादको त्रास, उत्तर गोलार्धका धनी देशहरू र दक्षिण गोलार्धहरूका गरिब देशहरू बीचमा बढ्दो आर्थिक असमानता, अनिकालको खतरा, यस ग्रहका जीवलोक र खनिज भण्डारको नाश, टेलिभिजनद्वारा प्रसारित विज्ञापनमा आधारित सभ्यता र क्षेत्रीय युद्धहरूको बढ्दो खतरा—यी सबैका साथसाथै अन्य हजारौं कुराहरू मानवजातिका लागि आम तवर्मा खतराका कारणहरू भइरहेका छन्।” रोकेर नरोकिने यो दुर्घटनाको खतराको समाधान कुनै मानवीय शक्तिले गर्न सक्तैन।—यर्मिया १०:२३.
२. मानवजातिका समस्याहरूका लागि स्थायी समाधान को सित छ, र उहाँले कुन कदम उठाइ सक्नु भएको छ?
२ तर हामी चाहिं रमाउन सक्छौं, किनभने हाम्रा महान सृष्टिकर्तासित यसको लागि स्थायी समाधान छ। येशूले गर्नु भएको अगमवाणीमा “जगतको अन्त” उहाँको अदृश्य “उपस्थिति” सित सम्बन्धित छ। (मत्ती २४:३, ३७-३९) “नयाँ स्वर्ग” सृजनका लागि यहोवाले येशूलाई उहाँको सिंहासनमा मसीही राजाको हैसियतमा बसाल्नु भयो। अगमवाणीमा आधारित प्रमाण अनुसार यो ऐतिहासिक महत्त्वको घटना स्वर्गमा १९१४a-मा घट्यो। (२ पत्रुस ३:१३) अब सार्वभौम प्रभु यहोवासित येशू एक जना सह-शासक हुनुहुन्छ। जाति-जातिको इन्साफ गर्ने र पृथ्वीका नम्र अथवा भेडा जस्ता मानिसहरूलाई अटेर बाख्रा जस्ता मानिसहरू बाट छुट्ट्याउने जिम्मेवारी येशूलाई सुम्पिएको छ। भक्तिहीन “बाख्राहरू” “अनन्त दण्ड” र “भेडाहरू” चाहिं ईश्वरीय राज्यको पार्थिव क्षेत्रमा अनन्त जीवनका लागि छुट्टाइन्दैछन्।—मत्ती २५:३१-३४, ४६.
३. साँचो मसीहीहरू आनन्दित हुने के कारण छ?
३ पृथ्वीमा भएका आत्मिक इस्राएलीहरूका शेष भाग र तिनीहरूलाई साथ दिने यी आज्ञाकारी भेडाहरूको एउटा ठूलो भीडलाई रमाउने हर कारण छ। अनन्तका महाराजा, यहोवाले आफ्नो पुत्रको राज्यद्वारा आफ्ना भव्य उद्देश्यहरूलाई महान ढङ्गमा पूरा गर्नु हुँदैछ। तिनीहरूले यसो भन्न सक्छन्: “म परमप्रभुमा साह्रै आनन्दित हुनेछु। मेरो आत्माले मेरा परमेश्वरमा आनन्द मनाउनेछ, किनकि उहाँले मलाई मुक्तिको पोशाक पहिराउनुभएको छ, . . . जसरी भूमिले आफ्नो बाली उमार्छ, र जसरी बगैचाले त्यसमा रोपेका थोकहरूलाई उमार्छ, त्यसरीनै परमप्रभु परमेश्वरले धर्म र प्रशंसा सारा जातिहरूका सामने उब्जाउनुहुनेछ।” (यशैया ६१:१०, ११) यो “उब्जाउनु” हुने काम आज यहोवाको प्रशंसा गाउन भनेर जाति-जाति बाट भेला भइरहेका लाखौं-लाख मानिसहरू द्वारा प्रमाणित हुँदैछ।
‘चाँडै पूरा गर्ने’
४, ५. (क) परमेश्वरका जनहरूलाई जम्मा गर्ने कामबारे के अगमवाणी गरिएको थियो? (ख) १९९२-को सेवा-वर्षको दौडानमा के महत्त्वपूर्ण वृद्धि देखियो?
४ शैतानको रीतिरिवाजको अन्त जसै नजिक आउँछ, यो भेला गर्ने कामको गति अझ तीव्र हुन्छ। हाम्रा महान सृष्टिकर्ता यो घोषणा गर्नु हुन्छ: “तेरा सबै प्रजा धर्ममा चल्ने हुनेछन् . . . मेरो बिरुवाको हाँगा, मेरो हातको काम, जसबाट म महिमित हुनेछु। थोरै चाहिं हजार हुनेछ, तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँडै पूरा गर्नेछु।” (यशैया ६०:२१, २२) यो तीव्र गतिको एउटा अद्भुत प्रतिबिम्ब यहोवाका साक्षीहरूको १९९२ विश्वव्यापी वार्षिक रिपोर्टमा देखिन्छ। यो रिपोर्ट यस पत्रिकाको ६ देखि ९ पानामा प्रकाशित भएको छ।
५ यस रिपोर्टको एउटा विशेषता ४४,७२,७८७ राज्य प्रचारकहरूको सङ्खयाको नयाँ शिखर हो। यो गत सालभन्दा १,९३,९६७—वा ४.५ प्रतिशतको वृद्धि भएको छ। सन् १९९२-को सालमा ३,०१,००२ जना मानिसहरूले बप्तिस्मा लिए। यसबाट पनि भीडका भीड मानिसहरूले बाइबलका सत्य कुराहरू स्वीकारी रहेका छन् भन्ने तथ्य देखिन्छ। हामी कति आनन्द मनाउदछौं कि यो “अन्धकार र उदासी दिनमा . . . एक ठूलो र शक्तिशाली जाति” छ जसले सलहहरूका स्याउँ-स्याउँती बथान झैं, राज्यबारे साक्षी दिने काम “पृथ्वीको अन्तसम्म” गरिरहेका छन्। (योएल २:२, २५; प्रेरित १:८) बरफले ढाकेको अलास्का अथवा हिमले घेरिएका इलाकाहरू देखि—जहाँ वाचटावर सोसाइटीको हवाईजहाज ५० भन्दा बढी पटक गएर आइसक्यो—माली र बर्कीना फासोका पोल्ने मरुभूमि र माइक्रोनेस्याका छरपस्ट टापुहरू सम्म यहोवाका सेवकहरू “पृथ्वीको पल्लो छेउसम्म [उहाँको] उद्धार पुगोस्” भनेर “अन्यजातिहरूकहाँ एउटा ज्योति” झैं चम्की रहेछन्।—यशैया ४९:६.
६, ७. हाल-सालै, परिस्थितिहरूमा अचानक के परिवर्तन देखियो, र यसमा यहोवाका साक्षीहरूले के कस्तो प्रतिक्रिया देखाएका छन्?
६ आफ्ना मानिसहरूलाई बचाउन र बल दिनका लागि यहोवा एउटा गढी र बलियो किल्ला जस्तो साबित हुनु भएको छ। पृथ्वीका धेरै भागहरूमा यहोवाका साक्षीहरूले कैययन् दशकदेखि क्रूरतापूर्ण दबाउ र सतावटको सामना गर्न पऱ्यो। (भजनसंग्रह ३७:३९, ४०; ६१:३, ४) तर हालसालै, मानो चमत्कारपूर्ण ढङ्गले करीब २१ मुलुकहरूमा प्रतिबन्धहरू र रोकावटहरू हटाइएको छ। यसको परिणामस्वरूप, परमेश्वरका जनहरूले अब हाम्रा महान सृष्टिकर्ताले ख्रीष्टलाई पृथ्वीमाथि राजा नियुक्त गर्नु भएको कुरा स्वतन्त्रताका साथ घोषणा गर्न सक्छन्।—भजनसंग्रह २:६-१२.
७ के यहोवाका जनहरूले हालसालै प्राप्त स्वतन्त्रताको सदुपयोग गरिरहेका छन्? यसका लागि विवरण-सूची हेर्नुहोस्। बल्गेरिया, रुमेनिया, पूर्वीय युरोपमा स्थित पहिलेको सोभियत सङ्घ र अफ्रिकाको अङ्गोला, बेनिन् र मोजाम्बिकमा भइरहेको वृद्धिलाई ध्यान दिनुहोस्। जायेरमा पनि असाधारण तवर्ले उन्नति भएको छ। हृदयभरिको प्रेमका साथ त्यहाँ स्वतन्त्र भएका हाम्रा भाइहरूले यो आह्वान सुनी रहेका छन्: “परमप्रभुलाई धन्यवाद देओ, किनभने उहाँ भलो हुनुहुन्छ। किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ। उहाँलाई जो एकलैले महा आश्चर्यकामहरू गर्नुहुन्छ। किनभने उहाँको करुणा सदा सर्वदै रहिरहन्छ।” (भजनसंग्रह १३६:१, ४) राज्यको पक्षमा अझ भेडाखालका मानिसहरूलाई थुपार्ने काममा जोशका साथ भाग लिएर यस प्रकारको धन्यवाद व्यक्त गरिन्छ।
८. पूर्वीय युरोपमा यहोवाका नयाँ प्रशंसकहरू कसरी “बादल झैं” उडदै आएका छन्? अफ्रिकामा?
८ गत युरोपेली ग्रीष्म ऋतुको बेलामा पहिलेका साम्यवाद देशहरूमा आयोजित यहोवाका साक्षीहरूका सम्मेलनहरूमा यतिका थुप्रै मानिसहरू उपस्थित भए कि सुनेर उदेक लाग्छ। तर यो भन्दा पनि छक्क पर्ने कुरा त बप्तिस्मा लिने मानिसहरूको सङ्खया हो जुन हामी यहाँ दिएको विवरण-सूचीमा देख्तछौं। यसै प्रकार, अफ्रिकाको टोगोमा पनि दिसम्बर १०, १९९१-मा प्रतिबन्ध हटाइयो। त्यस पछिको महिनामा एउटा राष्ट्रिय सम्मेलन आयोजित गरियो। त्यहाँ साधारणतया ६,४४३ प्रकाशकहरू क्षेत्रमा काम गरिरहेका थिए। तर सम्मेलनमा उपस्थित हुनेहरूको सङ्खया चाहिं २५,४६७ थियो र ५५६ जनाले बप्तिस्मा लिए—त्यहाँ भएका प्रकाशकहरूको ८.६ प्रतिशत। यशैया ६०:८-ले चित्रित गरे झैं, यहोवाका नयाँ प्रशंसकहरू “बादलझैं उडने र ढुकुरझैं तिनीहरूका झ्यालमा” अर्थात् यहोवाका जनहरूका मण्डलीहरूमा आइरहेका छन्।
९. हालसालै स्वतन्त्रता प्राप्त देशहरूका मसीहीहरू ‘खाएर तृप्त’ होउन् भनेर के प्रबन्धहरू मिलाइएको छ?
९ पूर्वीय युरोप र अफ्रिकामा पनि आत्मिक आहारका लागि अनुभव गरिएको भोक मेटाइन्दैछ। जर्मनी, ईटाली र दक्षिण अफ्रिकामा स्थित वाचटावर सोसाइटीका कारखानाहरू बाट ट्रकका ट्रक विभिन्न भाषाहरूका प्रकाशनहरू, कुनै समयमा आत्मिक तवर्ले भोकाएका देशहरूमा पठाइएका छन्। पहिले भने, यथेष्ट मात्रामा पत्रिकाहरू नभएको हुनाकारण, साक्षीहरूले उपलब्ध पत्रिकाहरूको नकल सारेर तिनलाई आपसमा पालै पालो पढ्ने गर्द थिए। तर अहिले चाहिं तिनीहरूले प्रशस्त मात्रामा आत्मिक आहार पाइरहेका छन्। तिनीहरू यस अगमवाणीको पूर्तिमा भाग लिन पाएकोमा रमाउँदछन्: “तिमीहरू प्रशस्त खाएर तृप्त हुनेछौ, र तिमीहरूका निम्ति उदेकका काम गर्नुहुने परमप्रभु आफ्ना परमेश्वरको नाउँको प्रशंसा तिमीहरू गर्नेछौ।”—योएल २:२६.
थप वृद्धिको लागि हेरविचार
१०. स्मरणार्थको दिनको विशाल उपस्थितिलाई ध्यानमा राख्दै, चासो व्यक्त गर्ने सबैलाई के निम्तो दिइन्छ?
१० येशूको मृत्युको स्मरणार्थका लागि भेला भएका १,१४,३१,१७१ मानिसहरूको सङ्खया वास्तवमा उदेकलाग्दो छ। यो गत सालभन्दा ७,८१,०१३ वा ७.३ प्रतिशतको बढोत्तरी हो। तपाईं भर्खरै आउनु भएकाहरूलाई हाम्रो स्वागत छ! यसरी नयाँ चासो देखाउने सबैजनाले यहोवाका एउटा साक्षीसित गृह बाइबल अध्ययनको आनन्दपूर्ण लाभ उठाउन पाए अझ कति राम्रो हुने थियो! (यशैया ४८:१७ हेर्नु होस्।) वार्षिक सेवा रिपोर्ट अनुसार, प्रत्येक महिना ४२,७८,१२७ यस प्रकारका गृह बाइबल अध्ययनहरू सञ्चालित भएको देख्तछौं र यस क्षेत्रमा पनि ८.४ प्रतिशत उन्नति भएको देखिन्छ। तथापि, यस सेवाबाट अझ धेरै मानिसहरूले लाभ उठाउन सक्तछन्। चासो व्यक्त गर्ने मानिसहरू कहाँ नियमित तवर्ले गएर एउटा निश्शुल्क गृह बाइबल अध्ययन सञ्चालित गर्न यहोवाका साक्षीहरू खुशी हुने छन्। यसबाट अरूहरूलाई पनि अनन्त जीवन तर्फ लैजाने बाटोमा आफ्नो खुट्टा बलियो गरी राख्ने मद्दत दिन सक्छन्। (यूहन्ना ३:१६, ३६) तपाईं पनि एउटा यस्तो अध्ययनका लागि अनुरोध किन गर्नु हुन्न? र नबिर्सनु होस्, राज्य सभा-गृहमा तपाईंलाई आत्मीयतापूर्ण स्वागत छ!—भजनसंग्रह १२२:१; रोमी १५:७.
११, १२. (क) कुनै कुनै मुलुकहरूमा के कस्ता समस्याहरूको सामना गर्न परिरहेको छ? (ख) धनी र गरीब देशहरू बीच कसरी एक प्रकारको “समानता” कायम गरिन्दैछ?
११ सुन्दर राज्य सभा-गृह भएका मण्डलीहरूले प्रशस्त आशिष पाइ रहेका छन्। तर जुन जुन मुलुकहरूमा वफादार साक्षीहरू धेरै वर्षदेखिन् प्रतिबन्धको बावजूद धैर्य धारण गर्दै सा-साना समूहहरूमा गुप्त रूपले भेला हुने गर्द थिए, ती ठाउँहरूमा चाहिं स्थिति बेग्लै छ। अब यस्ता केही ठाउँहरूमा भाइहरू स्वतन्त्र छन् तर राज्य सभा-गृहहरू चाहिं थोरै मात्रामा छन्। उदाहरणका लागि, अफ्रिकाको एउटा देशमा, ९३ मण्डलीहरूले तीनवटा मात्र राज्य सभा-गृहहरूको प्रयोग गछर्न्। अतः, सभाहरूको सञ्चालन अक्सर ठूल-ठूला र खुला मैदानहरूमा गरिन्छ। यी सभाहरू धाउन १५० जना सदस्यहरू भएको मण्डलीमा नियमित तवर्ले ४५० जना जति उपस्थित हुन सक्छन्।
१२ पूर्वीय युरोपमा जग्गा किन्न अथवा घर निर्माण गर्न प्रायः गाह्रो हुन्छ। तर यसबारे पनि केही प्रगति हुँदैछ। नवम्बर २८, १९९२-को दिन पौलैन्डमा एउटा सुन्दर नयाँ शाखा-कार्यालय समर्पण गर्ने योजना मिलाइएको थियो। यहोवाका साक्षीहरूका कामका लागि उदारचित्तका साथ दिइएको चन्दालाई सभा-गृह निर्माण र अन्य अरू सुविधाहरूका निम्ति प्रयोग गरिन्दैछ। अतः असुविधा अनुभव गरिरहेका मुलुकहरूमा भएका मण्डलीहरूका आत्मिक आवश्यकताहरूलाई पूरा गर्न आफ्नो भौतिक प्रशस्तताबाट भाइहरूले उदारचित्तले दिएको योगदानद्वारा मद्दत पुग्दछ र यसरी एक प्रकारको “समानता” कायम हुन्छ।—२ कोरिन्थी ८:१३, १४.
एकसय करोड घण्टा!
१३. प्रचार गर्ने र शिक्षा दिने कार्यमा १९९२-को साल-भरिमा कति घण्टा बिताइयो, र कसले गरेका प्रयासहरू यसमा देखिन्छ?
१३ तपाईंसित एकसय करोड घण्टा भएमा के गर्नु हुन्थ्यो? अनन्त जीवन पाउने सबैले त्यतिका घण्टाहरू बिताउन पाउन सक्ने छन्। तर त्यति मात्र होइन। ती घण्टाहरू यहोवाको फलदायी र सन्तोषजनक सेवा गर्नमा तिनीहरूले बिताउन सक्ने छन्। तर त्यतिका घण्टाहरू एक वर्षभित्रै बिताउन परेमा कस्तो होला! १९९२-को सालभरिमा यहोवाका जनहरूले सोही गर्न सक्षम भए। सबै राज्य प्रकाशकहरूको व्यक्तिगत रिपोर्टहरू जोडेर हेर्दा, हामी १,०२,४९,१०,४३४ घण्टाहरूको एउटा नयाँ शिखर देख्तछौं। यी घण्टाहरू समय बिताउने एउटा सर्वोत्तम ढङ्गमा, अर्थात् हाम्रा महान सृष्टिकर्ताको प्रशंसा गाउनमा र “घर-घरमा गएर खुल्लमखुल्ला” सिकाउनमा प्रयोग गरियो। (प्रेरित २०:२०) औसतन्, प्रत्येक महिना ४२,८९,७३७ साक्षीहरूले सेवामा भाग लिएको रिपोर्ट खसाली रहेका थिए। यी साक्षीहरू समाजको हर क्षेत्रबाट आउँछन्। कसै कसैले राज्यको कामका लागि सीमित समय मात्र बिताउन सक्छन्। यिनीहरू मध्ये आ-आफ्ना घरबारको हेरचार गर्नु पर्ने परिवारका शिरहरू, वृद्ध मानिसहरू अथवा स्वास्थ्य सम्बन्धी समस्या हुनेहरू छन्; साथै, स्कूलमा पढने केटा-केटीहरू पनि यसमा समावेश छन्। तापनि, प्रत्येकले दिएको रिपोर्ट यहोवाका लागि दर्शाएको प्रेमको एउटा अमूल्य अभिव्यक्ति हो।—लूका २१:२-४.
१४. जवान व्यक्तिहरूले पनि ‘तिनीहरूका महान सृष्टिकर्ताको’ सम्झना कसरी गरिरहेका छन्?
१४ यहोवाको सेवामा नौजवानहरूको एउटा पुस्ता बढ्दै छ। र खुशीको कुरा के हो भने, तिनीहरू मध्येका धेरै जनाले उपदेशक १२:१-मा पाइने सुलेमानका यी शब्दहरूलाई प्रयोगमा ल्याइरहेका छन्: “आफ्नो युवावस्थामा आफ्नो सृष्टिकर्ताको सम्झना गर।” तिनीहरू आफै पनि स्कूलमा मेहनती भएर पढ्छन् र भक्त आमा-बाबुहरू द्वारा आध्यात्मिक कुराहरूमा प्रशिक्षण पनि पाउँछन्। हालसालै भएका सम्मेलनहरूमा, किशोरावस्थाका कतिपय जवान व्यक्तिहरू उभेर बप्तिस्माका लागि अघि बढेको देख्न पाउनु एउटा आनन्दको कुरा थियो। साथै, ती मध्ये धेरै जनाले चाहिं स्कूलको पढाइ सिद्धयाउना साथै अग्रगामी सेवा सुरु गर्ने विचारले एउटा न एउटा सीप अथवा काम सिक्दै व्यावहारिक रूपमा तयारी गरिरहेका छन्। यो पनि एउटा आनन्दको कुरा हो। किनकि पावलले पनि समय-समयमा पाल सिउने गरेको जस्तै, तिनीहरूले पनि आफ्ना आवश्यकताहरूको हेरविचार गर्न सक्नेछन्।—प्रेरित १८:१-४.
१५, १६. राज्यसम्बन्धी कार्यलाई अघि बढाउन अग्रगामीहरू र अन्य पूर्ण-समय सेवकहरूले के योगदान पुऱ्याएका छन्, र तिनीहरू मध्ये कसै कसैले के कस्ता आशिषहरू अनुभव गरेका छन्?
१५ अग्रगामीहरू र पूर्ण-समय सेवकहरूले पनि राज्यको कामका लागि कति ठूलो योगदान पुऱ्याइरहेछन्! अग्रगामीहरूको सङ्खयामा वृद्धि भएर गत साल त्यसले ९,३१,५२१-को नयाँ शिखर छोयो। जसै यिनीहरूले घर-घरमा गएर दिनहुँ प्रचार गर्छन् र मानिसहरूको घरहरूमा गृह-बाइबल अध्ययनहरू सञ्चालन गर्छन्, तिनीहरू शास्त्रद्वारा आफ्नो कुरा व्यक्त गर्न अति नै प्रभावशाली हुन्छन्। यस बाहेक कति जना त दुई हप्तासम्म सञ्चालन गरिने अग्रगामी सेवा पाठशालामा उपस्थित हुन पाउने सम्मको योग्य पनि भए। यस पाठशालाद्वारा तिनीहरूले परमेश्वरको काम गर्नका लागि बढी निपुणता र आनन्दको विकास गर्ने मद्दत पाउँछन्।
१६ यी विश्वासी अग्रगामीहरू मध्ये प्रत्येकले यशैया ५०:४-का शब्दहरू सित सहमति जनाउन सक्छन्: “थाकेकोलाई वचनले कसरी बल दिनु पर्ने हो सो जान्न सकूँ भनेर परमप्रभुले मलाई सिक्नेहरूको बोली दिनु भएको छ।” आफ्ना वरिपरिको भ्रष्ट संसारसित आज थुप्रै व्यक्तिहरू थकित छन्। तर यिनीहरूले हाम्रा विश्वासी अग्रगामीहरू द्वारा बोलिएको वचनबाट विश्राम पाइरहेका छन्।—हितोपदेश १५:२३; इजकिएल ९:४ सित तुलना गर्नु होस्।
एउटा शक्तिशाली निर्माण कार्य
१७. हालसालै आध्यात्मिक निर्माण बाहेक, के कस्तो भौतिक निर्माण पनि देखिएको छ?
१७ यहोवाका साक्षीहरूको विश्वव्यापी आध्यात्मिक सम्पन्नताले गर्दा भौतिक साधनहरूमा पनि उन्नति गर्नु आवश्यक परेको छ। छापाखानाहरू, कार्यालयहरू, बेथेल-गृहहरू बढाउनाका साथसाथै राज्य सभा-गृहहरू र सम्मेलन गृहहरूको निर्माण गर्नु पनि जरुरी हुन जान्छ। अतः यहोवाका साक्षीहरूलाई शारीरिक तवर्मा पनि निर्माणकर्ताहरू हुनु आवश्यक पर्दछ। राजा सुलेमानको दिनमा पनि यस्तै प्रकारको निर्माणकार्य सम्पन्न भएको थियो। सुलेमानले यहोवाको उपासनाका लागि मन्दिरको निर्माण “नक्शा [जो तिनले प्रेरणाद्वारा पाएका थिए, न्यु व०]” अनुसार गरे। सो नक्शा यहोवाले तिनका पिता राजा दाऊदलाई उपलब्ध गराएका थिए। (१ इतिहास २८:११, १२) यस प्रकार, सुलेमानले आफ्ना श्रोताहरूलाई अमूल्य बुद्धिका शब्दहरू द्वारा मात्र ढाडस दिएनन्। तिनले संसारमा अरू कसैले गर्न नसकेको एउटा वैभवशाली भौतिक निर्माण कार्य पनि निर्देशित गरे।—१ राजा ६:१; ९:१५, १७-१९.
१८, १९. (क) यहोवाको सङ्गठनले कुन कुन निर्माण योजनाहरू तीव्र गतिले अघि बढाइ रहेको छ? (ख) भौतिक र आध्यात्मिक निर्माण कार्यमा यहोवाको आत्मा कसरी प्रत्यक्ष गरी देख्न सकिन्छ?
१८ आज यहोवाका साक्षीहरूले ईश्वरीय प्रेरणाद्वारा प्राप्त नक्शाहरू अनुसार निर्माण नगरे तापनि, तिनीहरू सित परमेश्वरको आत्मा चाहिं छ। यसले गर्दा, तिनीहरूले इस्राएलका दिनहरूमा झैं, संसारलाई छक्क पार्ने गरी निर्माण गर्ने प्रेरणा पाउँछन्। (जकरिया ४:६) समय अल्प छ। राज्य सभा-गृहहरू र अन्य भवनहरू तुरुन्तै चाहिएको छ। कुनै कुनै देशहरूमा चाँड-चाँडो निर्माण गरिने राज्य सभा-गृहहरू एउटा साधारण कुरा भइ सकेका छन्। उदाहरणका लागि, बितेका १० वर्षहरू भित्र, प्राप्त रिपोर्ट अनुसार क्यानाडामा मात्र ३०६ हॅलहरूको निर्माण गरियो र प्रत्येकको निर्माण गर्दा २ दिनभन्दा कम समय लाग्यो। विश्वभरि यहोवाका कार्य तीव्र गतिले बढेको हुनाकारण, जम्मा जम्मी ४३ नयाँ शाखा कार्यालयहरूको निर्माण अथवा शाखालाई बढाउने योजना गरिंदै छ। यस बाहेक, ब्रुक्लिनमा लगभग १००० जना बेथल स्वंय-सेवकहरू बस्ने ३० तले भवनको निर्माण सिद्धिन लागेको छ। साथै, न्यु योर्क स्टेट, प्याटरसन्मा बाइबलसम्बन्धी शिक्षा-केन्द्रको निर्माण कार्य त्यसका लागि खटाइएको समय तालिका भन्दापनि धेरै नै चाँडो अघि बढी रहेको छ। वाच टावर सोसाइटीले अझसम्म आँटेका जम्मै निर्माण कार्यहरू भन्दा यो सबैभन्दा विशाल हो।
१९ यी योजनाहरूको कार्यदक्षता र उच्चगुणस्तर सहितको प्रगति देखेर संसारका मान्यता प्राप्त निर्माण कम्पनीहरू पनि छक्क पर्छन्। यसको पछाडि कारण के छ? यहोवाका समर्पित साक्षीहरूले गरेको ठूलो योगदान। भौतिक समर्थन बाहेक हार्दिक रूपमा आफ्नो समय र शक्ति दिन पनि उहाँको आत्माले तिनीहरूलाई प्रेरित गर्दछ। निर्माण-स्थलहरूमा प्र- शिक्षित र समर्पित कार्यकर्त्ताहरूको धुइरो लागेको हुन्छ। नता त्यहाँ कर्मचारीहरूको कुनै हडताल हुन्छ न कसैले काममा आले-टाले नै गरिरहेको हुन्छ। यहोवाको आत्माले नै प्रेरणा दिन्छ। जस्तो कि मोशाको पालोमा वेदीका निर्माणकर्ताहरूले र सुलेमानको पालोमा मन्दिरका निर्माणकर्ताहरूले प्रेरणा पाएका थिए। यी कार्यकर्त्ताहरूमा हुनु पर्ने सबैभन्दा ठूलो गुण आध्यात्मिकता हो।—प्रस्थान ३५:३०-३५; ३६:१-३; ३९:४२, ४३; १ राजा ६:११-१४ सङ्ग तुलना गर्नु होस्।
२०. (क) सुसमाचार कतिको विस्तृत रूपमा प्रचार गरिनेछ? (ख) यहोवाका जनहरूले कुन आशिषयुक्त आशा राख्तछन्?
२० मन्दिरको निर्माण समाप्त भइसके पछि पनि सुलेमानले आफ्नो निर्माण कार्यक्रम कायम नै राखे। (२ इतिहास ८:१-६) आधुनिक समयका साक्षीहरूको वृद्धि अर्थात् सभा-गृहहरू र अन्य अरू सुविधाहरूको निर्माणको आवश्यकता कुन हद्सम्म बढ्ने हो, हामी जान्दैनौं। तथापि, हामी यति चाहिं जान्दछौं कि राज्यको यो सुसमाचारको प्रचार यहोवाले अह्राउनु र चाहनु भए बमोजिम सम्पन्न भइसके पछि, “महा सङ्कष्ट” आउनेछ। (मत्ती २४:१४, २१) लोभी मानिसहरूले फेरि दूषित पार्न नसक्ने पृथ्वीमा मानवजातिले “नयाँ स्वर्ग र नयाँ पृथ्वी” अर्थात् यहोवाको प्रबन्धद्वारा असीमित आशिषहरू उपभोग गर्नेछन्। अतः हामी ‘परमेश्वरले सृष्टि गरेको कुरामा आनन्द र हर्ष मनाँउ’ र हाम्रा महान सृष्टिकर्ताको हर प्रशंसा गरौं!—यशैया ६५:१७-१९, २१, २५. (w93 1/1)
[फुटनोट]
a वाचटावर बाइबल एन्ड ट्रेक्ट सोसाइटी ॲफ न्यु यर्क, इन्करपरेटेड द्वारा प्रकाशित “लेट यर किंङ्गडम कम”-का १०५-१६, १८६-९ पानाहरू हेर्नुहोस्।
के तपाईं व्याख्या गर्न सक्नु हुन्छ?
▫ हाम्रा महान सृष्टिकर्तामा रमाउनु पर्ने के के कारणहरू छन्?
▫ सेवा-साल १९९२-को रिपोर्ट अनुसार कुन कुन क्षेत्रमा वृद्धि भएको छ?
▫ जुन जुन देशहरूमा साक्षी दिने कार्यमा प्रतिबन्ध लगाइएको थियो, त्यहाँ के कस्ता महान आशिषहरू अनुभव गरिएको कुराबारे रिपोर्ट आएको छ?
▫ जवान मानिसहरू र अग्रगामीहरूले यहोवाको सङ्गठनमा भएको वृद्धिमा योगदान कसरी पुऱ्याएका छन्?
▫ यहोवाका जनहरू दुवै भौतिक र आध्यात्मिक निर्माण-कार्यहरूमा कसरी व्यस्त रहेका छन्?
[पृष्ठ ११-मा भएको पेटी]
गत साल प्रचार र शिक्षा दिने कार्यमा सय करोडभन्दा बढी घण्टाहरू बिताइयो
[पृष्ठ ४-मा भएको चित्र]
प्रचार गर्ने र शिक्षा दिने कार्यमा यहोवाको आशिष छ भन्ने कुरा गत साल बप्तिस्मा लिने लाखौं उम्मेदवारहरू बाट प्रदर्शित हुन्छ
[पृष्ठ १०-मा भएको चित्र]
जवान मानिसहरूको ठूलो सङ्खयाले ‘सृष्टिकर्ताको सम्झना’ गरिरहेका छन्