झूटा शिक्षकहरूको विरुद्धमा यहोवाको न्यायदण्ड
“यरूशलेमका अगमवक्ताहरूमा मैले साह्रै घिनलाग्दो कुरो देखें। तिनीहरू व्यभिचार गर्दछन्, र झूटो चाल चल्छन्। . . . तिनीहरू सबै मेरो निम्ति सदोमझैं [र गमोराका बासिन्दाहरूजस्तै] भएका छन्।”—यर्मिया २३:१४.
ईश्वरीय शिक्षामा लाग्ने कुनै पनि व्यक्तिले एउटा गम्भीर जिम्मेवारी बहन गर्छ। याकूब ३:१ ले यस्तो चेताउनी दिन्छ: “भाइ हो, हामीले ज्यादै दोष पाउनेछौं भनी जानेर धेरैजना शिक्षक नबन।” हो, ग्रहणयोग्य लेखा दिने सम्बन्धमा अरू साधारण मसीहीहरूको भन्दा परमेश्वरको वचनका शिक्षकहरूको गहन जिम्मेवारी छ। झूटा शिक्षक साबित हुनेहरूका निम्ति यसको के अर्थ हुनेछ? आउनुहोस्, यर्मियाकालीन परिस्थितिलाई विचार गरौं। हाल घटिरहेका घटनाहरूलाई ती कुराहरूले कसरी पूर्वसङ्केत गऱ्यो भनेर अब हामी हेर्नेछौं।
२ सा.यु.पू. ६४७, राजा योशियाहको शासनकालको १३ औं वर्षमा यर्मियालाई यहोवाको अगमवक्ता नियुक्त गरियो। यहूदाको विरुद्धमा यहोवा परमेश्वरको एउटा गुनासो थियो। त्यसकारण त्यसको घोषणा गर्न उहाँले यर्मियालाई पठाउनुभयो। यरूशलेमका झूटा अगमवक्ताहरू वा शिक्षकहरूले परमेश्वरको नजरमा “साह्रै घिनलाग्दो कुरो” गरिरहेका थिए। तिनीहरूको दुष्टता अचाक्ली भएको हुँदा परमेश्वरले यरूशलेम र यहूदाको तुलना सदोम र गमोरासित गर्नुभयो। यर्मिया अध्याय २३ ले हामीलाई यसबारे बताउँछ। पद १४ ले भन्छ:
३ “यरूशलेमका अगमवक्ताहरूमा मैले साह्रै घिनलाग्दो कुरो देखें। तिनीहरू व्यभिचार गर्दछन्, र झूटो चाल चल्छन्। खराब गर्नेहरूका हात यिनीहरू बलिया पार्दछन्। यसैले कोही पनि आफ्नो दुष्टतादेखि फर्कंदैन। तिनीहरू सबै मेरो निम्ति सदोमझैं [र गमोराका बासिन्दाहरूजस्तै] भएका छन्।”
४ हो, ती अगमवक्ता वा शिक्षकहरूले अति नराम्रो नैतिक उदाहरण देखाए र वास्तवमा भन्ने हो भने तिनीहरूले अरू मानिसहरूलाई समेत त्यसै गर्न उक्साए। आज मसीहीजगतको स्थितिलाई हेर्नुहोस्! के तिनीहरू पनि यर्मियाकालीन ती मानिसहरू जस्तै छैनन् र? पादरीहरूले आज व्यभिचारी र समलिङ्गीहरूलाई आफ्नै ओहदामा रहिरहने अनि चर्च सेवाहरूमा लागिरहने मौका समेत दिन्छन्। अतः चर्चमा भर्ती भएका अधिकांश सदस्यहरू पनि अनैतिक हुनु के अब कुनै छक्कलाग्दो कुरा हो र?
५ यरूशलेमका निवासीहरूलाई यहोवाले सदोम र गमोराका निवासीहरूसँग तुलना गर्नुभयो। तर मसीहीजगतको अनैतिक अवस्था सदोम र गमोराको भन्दा झन् खराब छ। हो, यहोवाको नजरमा मसीहीजगत झन् बढी निन्दनीय छ। त्यसका शिक्षकहरूले मसीही नैतिक नियमलाई तुच्छ ठान्छन्। तिनीहरूको यस्तो व्यवहारले भ्रष्ट नैतिक वातावरणको सृजना हुन्छ, जहाँ खराब काम गर्ने हर प्रकारका छली लालसाहरू हुन्छन्। यस्तो नैतिक अवस्था यति व्याप्त छ कि आजभोलि खराबीलाई एउटा साधारण कुरा ठानिन्छ।
“झूटो चाल” चल्नु
६ यरूशलेमका अगमवक्ताहरूको विषयमा पद १४ ले के भन्छ, अब त्यसलाई विचार गर्नुहोस्। तिनीहरू “झूटो चाल” मा चलिरहेका थिए। पद १५ को पछिल्लो भागले यसो भन्छ: “यरूशलेमका अगमवक्ताहरूदेखि देशभरि भक्तिहीनता फैलिएको छ!” त्यसपछि पद १६ ले अझै यसो भन्छ: “सेनाहरूका परमप्रभु भन्नुहुन्छ, ‘तिनीहरूका हृदयलाई आशाले भरिपूर्ण पार्ने अगमवक्ताहरूका कुरा तिमीहरू नसुन। तिनीहरू परमप्रभुको मुखको वचन होइन, तर आफ्नै मनको दर्शनको कुरा बताउँदछन्।’”
७ यरूशलेमका झूटा अगमवक्ताहरूझैं मसीहीजगतका पादरीहरू पनि झूटो चाल चल्छन्। तिनीहरू परमेश्वरको वचनमा नभएका धर्मत्यागी सिद्धान्त तथा शिक्षाहरू फैलाउँछन्। यीमध्ये केही शिक्षाहरू के के हुन्? आत्माको अमरत्त्व, त्रिएक, पापमोचन स्थान र अनन्त सन्तापको नरककुण्ड। यसको अलावा मनपर्ने खालका कुराहरू प्रचार गरेर तिनीहरू मानिसहरूको कानलाई प्रसन्न पार्छन्। मसीहीजगतमाथि परमेश्वरको शान्ति भएकोले कुनै विपत्ति आउनेछैन भनेर तिनीहरू बारम्बार दोहोऱ्याउँछन्। तर वास्तवमा ती पादरीहरू “आफ्नै मनको दर्शनको कुरा” बताउँदैछन्। ती सबै झूट हुन्। यस्ता झूटा कुराहरूमाथि विश्वास गर्नेजति सबै आध्यात्मिक रूपमा विषाक्त भएका छन्। तिनीहरू आफ्नै विनाशतर्फ भर्मिएका छन्।
८ यस्ता झूटा शिक्षकहरूको विषयमा पद २१ मा यहोवाले के भन्नुहुन्छ, विचार गर्नुहोस्: “यी अगमवक्ताहरूलाई मैले पठाइँन, तर तिनीहरू कुदेर गए। तिनीहरूसित म बोलिनँ तापनि तिनीहरूले अगमवाणी कहे।” अतः आज पादरीहरू परमेश्वरद्वारा पठाइएका होइनन् नता तिनीहरू उहाँको सच्चाइ नै सिकाउँछन्। त्यसको नतिजा? चर्च धाउनेहरूसँग बाइबलसम्बन्धी ज्ञानको ठूलो कमी पाईन्छ किनभने तिनीहरूका पादरीहरूले सांसारिक दर्शनहरू मात्र सिकाउँछन्।
९ यस बाहेक पादरीहरूले आज झूटो आशाको ढ्वाङ फुक्छन्। ध्यान दिनुहोस्, पद २५ ले के भन्छ: “‘मैले सपना देखेको छु, मैले सपना देखेको छु,’ भन्दै मेरो नाउँमा झूटा अगमवाणी कहने अगमवक्ताहरूको कुरा मैले सुनेको छु।” यी कस्ता सपनाहरू हुन्? पद ३२ ले हामीलाई भन्छ: “‘मैले तिनीहरूलाई नपठाएर पनि र आज्ञा नदिएर पनि झूटा कुरा गरेर तिनीहरूका बेपरवाहीले मेरो प्रजालाई भर्माउँदछन्। यसैले यस प्रजालाई तिनीहरूबाट केही लाभ हुनेछैन,’ परमप्रभु भन्नुहुन्छ।”
१० पादरीहरूले कस्ता झूटा सपनाहरू वा आशाहरू सिकाएका छन्? भनौं भने शान्ति र सुरक्षाका लागि मानिसहरूको एकमात्र आशा संयुक्त राष्ट्र सङ्घ भएको छ। हालैका वर्षहरूमा तिनीहरूले संरासं लाई “मैत्री र शान्तिको अन्तिम आशा,” “शान्ति र न्यायको सर्वोच्च अदालत,” “विश्व शान्तिका लागि प्रमुख लौकिक आशा” भनेर संज्ञा दिएका छन्। कत्रो भ्रान्ति! मानवजातिको एउटै मात्र आशा परमेश्वरको राज्य हो। येशूको प्रचार कार्यको मुख्य विषय पनि यही थियो। तर पादरीहरूले यस स्वर्गीय सरकारको प्रचार गर्दैनन् र सिकाउँदा पनि सिकाउँदैनन्।
११ पद २७ ले हामीलाई अझ बढी कुरा भन्छ। “तिनीहरूका पिता-पुर्खाहरूले बाल देवताको कारण मेरो नाउँ बिर्सेझैं यी अगमवक्ताहरूले एक दोस्रालाई आफ्ना सपना कहेर मेरो प्रजालाई मेरो नाउँ बिर्सनलाउने विचार गर्छन्।” यरूशलेमका झूटा अगमवक्ताहरूले मानिसहरूलाई परमेश्वरको नाउँ बिर्सन लगाए। के आजका झूटा धार्मिक शिक्षकहरूले पनि त्यस्तै गरेका छैनन् र? त्योभन्दा खराब कुरा, तिनीहरू परमेश्वरको नाउँ, यहोवालाई समेत लुकाउँछन्। त्यस नाउँको प्रयोग गर्नु आवश्यक छैन भनेर सिकाउँछन् र आफ्ना बाइबल अनुवादहरूबाट त्यसलाई हटाउँछन्। परमेश्वरको नाउँ यहोवा हो भनेर सिकाउने जोसुकै व्यक्तिको पनि तिनीहरू घोर विरोध गर्छन्। तर यर्मिया वर्ग अर्थात् आत्माले अभिषिक्त शेष मसीहीहरू र तिनीहरूका सहचरहरूले येशूले गर्नु भएझैं गरेका छन्। लाखौं मानिसहरूलाई तिनीहरूले परमेश्वरको नाउँ सिकाएका छन्।—यूहन्ना १७:६.
तिनीहरूको दोषको पर्दाफास
१२ पादरीहरू आफ्ना बगाललाई विनाशको फराकिलो बाटोतर्फ लैजाने झूटा शिक्षकहरू हुन् भनी यर्मिया वर्गले बारम्बार पर्दाफास गरेको छ। हो, यी स्वप्नदर्शीहरू किन यहोवाको प्रतिकूल न्यायको योग्य छन् भनेर शेष वर्गले स्पष्ट पारेको छ। उदाहरणको लागि, यहोवाका सेवकहरूले प्रकाश १८:२४ लाई धेरै पटक उल्लेख गरेका छन्। उक्त पदले महान बेबिलोनमा “पृथ्वीमा मारिएका सबैका” रगत पाइयो भनी बताउँछ। धार्मिक मतभेदको कारण लडिएका सबै लडाइँहरूलाई विचार गर्नुहोस्। झूटा धार्मिक शिक्षकहरूमाथि कत्रो ठूलो रक्तदोष! तिनीहरूको शिक्षाले विभाजन खडा गरेको छ र विपरीत धर्म तथा राष्ट्रका मानिसहरूमा घृणाको भावलाई बढाएको छ। पहिलो विश्व-युद्धको सम्बन्धमा प्रिचर्स प्रेजेन्ट आर्म्स भन्ने पुस्तकले भन्छ: “पादरीहरूले युद्धलाई उग्र आध्यात्मिक महत्त्व र प्रेरणा दिए . . . यसप्रकार चर्च, युद्ध प्रणालीको भाग हुनुको साथै पूर्णतया अन्तर्गस्त भयो।” दोस्रो विश्व-युद्धको सम्बन्धमा पनि त्यस्तै भन्न सकिन्छ। पादरीहरूले युद्धरत राष्ट्रहरूलाई पूर्ण समर्थन गरे अनि तिनीहरूका सैन्यदललाई आशिष दिए। मसीहीजगतमै दुई वटा विश्व-युद्धहरू सुरु भए अनि एकै धर्मावलम्बीहरूले एक-अर्काको विरूद्ध मारकाट गरे। मसीहीजगतभित्र विद्यमान राजनैतिक तथा धार्मिक गुटबन्दीको कारण आजसम्म रक्तपात कायमै छ। तिनीहरूको झूटो शिक्षाले गर्दा कस्तो भयावह नतिजा भएको छ!
१३ यर्मिया अध्याय २३ पद २२ ले के भन्छ, ध्यान दिनुहोस्: “तिनीहरू मेरो सभामा बसेका भए तिनीहरूले मेरो प्रजालाई मेरो वचन बताउने थिए, र तिनीहरूलाई उनीहरूले कुबाटोदेखि र तिनीहरूका कामको दुष्टतादेखि फर्काएर ल्याउने थिए।” मसीहीजगतका धार्मिक अगमवक्ताहरू परमेश्वरको सभामा भएका भए, विश्वासी र बुद्धिमान सेवकजस्तै परमेश्वरको नजिक भएका भए तिनीहरू पनि परमेश्वरको स्तरबमोजिम चलिरहेका हुनेथिए। मसीहीजगतका मानिसहरूलाई परमेश्वरको वचन सुनाइरहेका हुनेथिए। तर त्यसको विपरीत यी आधुनिक दिनका झूटा शिक्षकहरूले आफ्ना अनुयायीहरूलाई परमेश्वरको विरोधी, शैतान अर्थात् दियाबलको अन्धा सेवकहरू बनाएका छन्।
१४ यर्मिया वर्गले गरेको पादरीहरूको पर्दाफास सशक्त साबित भएको छ। उदाहरणको लागि, १९५८, न्यु योर्क शहरमा सम्पन्न यहोवाका साक्षीहरूको ईश्वरीय इच्छा अन्तर्राष्ट्रिय सम्मेलनमा वाच टावर सोसाइटीका उपाध्यक्षले एउटा वक्तव्य प्रस्तुत गरे, जसको एउटा अंश यसप्रकार थियो: “कुनै द्वयार्थक कुरा वा हिचकिचाहट बिना हामी यो घोषणा गर्छौं कि सम्पूर्ण अपराध, खराबी, घृणा, कलह, पूर्वाग्रह, . . . र पागलपनाको मूल जरा नै गलत धर्म अर्थात् झूटा धर्म हो; यसको पछाडि मानवजातिको अदृश्य शत्रु, शैतान अर्थात् दियाबल छ। धार्मिक शिक्षकहरू अनि नेताहरू विश्व परिस्थितिका लागि सबैभन्दा बढी जिम्मेवार छन्; र मसीहीजगतका धार्मिक पादरी यिनीहरूमध्ये सबैभन्दा निन्दनीय छन्। . . . पहिलो विश्व-युद्धदेखि मसीहीजगत र परमेश्वरबीचको सम्बन्ध यर्मियाकालीन इस्राएलको जस्तै छ। हो, यर्मियाले देखेको यरूशलेमको विनाशभन्दा डरलाग्दो अनि विनाशकारी नाश मसीहीजगतले भोग्नेछ।”
झूटा शिक्षकहरूमाथि न्यायदण्ड
१५ यस्तो चेताउनी पाउँदा पाउँदै पनि पादरीहरूले कस्तो कदम चाल्दै आएका छन् त? ठीक पद १७ ले बताएझैं। त्यहाँ यसो भन्छ: “परमप्रभुको वचनको अवहेलना गर्नेहरूलाई तिनीहरू निरन्तर भन्छन्, ‘तिमीहरूलाई भलै हुन्छ,’ र अट्टेरी गरी आफ्नै मनको इच्छामा हिंड्नेहरूलाई तिनीहरू भन्छन्, ‘तिमीहरूमाथि कुनै विपत्ति आउनेछैन’।” के यो साँचो हो? होइन! पादरीहरूका अगमवाणीहरूको झूटलाई यहोवाले पर्दाफास गर्नुहुनेछ। तिनीहरूले उहाँको नाउँमा भनेका कुराहरू उहाँले पूरा गर्नु हुनेछैन। तथापि, परमेश्वरसँग शान्तिपूर्ण सम्बन्धबारे पादरीहरूले दिएका झूटा आश्वासन निकै भ्रमात्मक छन्!
१६ के तपाईं यसरी सोच्नु हुँदैछ, ‘मलाई पादरीहरूका झूटा शिक्षाहरूले मूर्ख बनाउने? त्यस्तो कहिल्यै हुन सक्दैन!’ तर त्यति विश्वस्त नहुनुहोस्! पादरीहरूका झूटा शिक्षाहरूले निष्ठाहीन, घिनलाग्दो नैतिक वातावरणको अभिवृद्धि गरेको छ भनेर नबिर्सनुहोस्। तिनीहरूका भ्रष्ट शिक्षाहरूले जस्तोसुकै अनैतिक कुरालाई न्यायसङ्गत बनाउँछ। चलचित्र, टिभि, पत्रिकाहरू र सङ्गीत जस्ता मनोरञ्जनका सबै क्षेत्रहरूमा यस्तो भ्रष्ट नैतिक वातावरण व्याप्त छ। अतः हामी अति सावधान हुनुपर्छ, कतै हामी पनि यो भ्रष्ट तर चालै नपाइ रहरलाग्दो हुनसक्ने नैतिक वातावरणको प्रभावमा नपरौं। युवाहरू निम्नस्तरीय भिडियोहरू र सङ्गीतमा फस्न सक्छन्। परमेश्वरको धार्मिक स्तर कायम राख्ने सम्बन्धमा पादरीहरूले पाएको असफलता र तिनीहरूका झूटा शिक्षाहरूको प्रत्यक्ष प्रभावले गर्दा नै आज मानिसहरूमा मनमानी गर्ने मनोवृत्ति व्याप्त भएको हो भनेर पनि स्मरण रहोस्। यस्ता अनैतिक विचारधाराहरूको विरुद्धमा यर्मिया वर्ग लड्दैछ र मसीहीजगतमा व्याप्त खराबीको विरोध गर्न तिनीहरूले यहोवाका सेवकहरूलाई मदत गर्दैछन्।
१७ महान न्यायाधीश, यहोवाबाट मसीहीजगतका झूटा शिक्षकहरूले कस्तो न्याय पाउनेछन्? पद १९, २०, ३९, र ४० यसरी उत्तर दिन्छन्: “हेर परमप्रभुको आँधी, उहाँको क्रोध उठेको छ, भुमरी चल्ने आँधी-बेह्री, दुष्टहरूका टाउकामा त्यो बजारिनेछ। आफ्नो मनको उद्देश्य सिद्ध नहोउञ्जेल, परमप्रभुको रीस मर्नेछैन। . . . यसकारण हेर, म निश्चय तिमीहरूलाई मेरो सामनेदेखि उठाएर फ्याँकिदिनेछु—तिमीहरूलाई र मैले तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको शहरसमेतलाई। औ म तिमीहरूमाथि सदा सर्वदाको गिल्ला र सधैं रहिरहने लाज ल्याउनेछु, जो कहिल्यै बिर्सनेछैन।” दुष्ट यरूशलेम र त्यसका मन्दिरमाथि यी सब कुराहरू घटेका थिए र अब त्यस्तै विपत्ति दुष्ट मसीहीजगतमाथि चाँडै आउनेछ!
“परमप्रभुको बोझ के हो” भनेर घोषणा गर्ने
१८ त्यसोभए, यर्मिया वर्ग र तिनीहरूका सहचरहरूको जिम्मेवारी के हो त? पद ३३ ले हामीलाई भन्छ: “जब यस प्रजाको कसैले अथवा कुनै अगमवक्ता वा कुनै पूजाहारीले तिमीहरूलाई ‘परमप्रभुको बोझ के हो?’ भनी सोध्यो भने, तिमीहरूले तिनीहरूलाई भन्नू ‘बोझ तिमीहरूनै हौ’ औ म तिमीहरूलाई फालिदिनेछु, परमप्रभु भन्नुहुन्छ।”
१९ “बोझ” का लागि चलाइएको हिब्रू शब्दको दुई अर्थ छ। यसले महत्त्वपूर्ण ईश्वरीय घोषणा अथवा निराश र थकित बनाउने कुनै कुरालाई सङ्केत गर्न सक्छ। यहाँ प्रयोग गरिएको “परमप्रभुको बोझ” ले महत्त्वपूर्ण अगमवाणी अर्थात् यरूशलेमको नाशबारे गरिएको घोषणालाई सङ्केत गर्छ। तर यहोवाबाट आएको त्यस्ता महत्त्वपूर्ण भविष्यसूचक वचनहरूलाई यर्मियाले बारम्बार सुनाउँदा के मानिसहरूले मन पराए? मन पराएनन्, तिनीहरूले यसो भनेर यर्मियाको खिसी गरे, ‘अब तिमीसँग कुनचाहिं भविष्यवाणी (बोझ) छ हँ? तिम्रो भविष्यवाणी थकाइलाग्दो अर्को बोझ हुनेछ भनेर हामीलाई राम्ररी थाहा छ!’ तर परमेश्वरले तिनीहरूलाई के भन्नुभयो? उहाँले भन्नुभयो: “बोझ तिमीहरूनै हौ! औ म तिमीहरूलाई फालिदिनेछु।” हो, यी मानिसहरू यहोवाको निम्ति बोझ नै थिए, र तिनीहरू उहाँमाथि अझै बोझ नबनिरहून् भनेर उहाँले तिनीहरूलाई फ्याँक्न लाग्नु भएको थियो।
२० आज “परमप्रभुको बोझ” के हो? त्यो हो परमेश्वरको वचनमा पाइने गहकिलो भविष्यसूचक समाचार। त्यो सर्वनाशको समाचारले भारी छ र त्यसले मसीहीजगतमाथि आउनै लागेको नाशको घोषणा गर्छ। हामी यहोवाका जनहरूमाथि “परमप्रभुको बोझ” बारे घोषणा गर्ने गहन जिम्मेवारी आइपरेको छ। जसै अन्त नजिक आउँछ, मसीहीजगतका स्वेच्छाचारी मानिसहरू “बोझ” हुन्, यहोवा परमेश्वरको निम्ति “बोझ तिमीहरूनै हौ” भनेर हामीले सबैलाई भन्नुपरेको छ। मसीहीजगतलाई विपत्तिमा छाडेर उहाँले आफूलाई छिट्टै यस “बोझबाट” मुक्त गराउनु हुनेछ भनेर हामीले सबैलाई बताउनु परेको छ।
२१ सा.यु.पू. ६०७, यर्मियाको समयमा बेबिलोनीहरूको हातबाट यरूशलेमको नाश गरेर यहोवाको न्यायदण्ड दिइएको थियो। ती ढिट, अविश्वासी इस्राएलीहरूका लागि त्यस्तो विनाश अगमवाणीले भनेझैं निन्दनीय अनि अपमानजनक थियो। (यर्मिया २३:३९, ४०) तिनीहरूले बारम्बार अनादर गरेका परमेश्वर, यहोवाले अब तिनीहरूका दुष्टताको नतिजा भोग्न तिनीहरूलाई त्याग्नुभयो भनेर त्यसले देखायो। अन्तमा गएर ती अट्टेरी झूटा अगमवक्ताहरूको मुख टालियो। यद्यपि, यर्मियाको मुखले भने अगमवाणी गर्न बन्द गरेन। यहोवाले तिनलाई त्याग्नु भएन। त्यस्तैगरि उहाँको महत्त्वपूर्ण निर्णयले मसीहीजगतका पादरीहरू र तिनीहरूको झूटमाथि विश्वास गर्नेहरूको प्राण लिंदा यहोवाले यर्मिया वर्गलाई त्याग्नु हुनेछैन।
२२ हो, धार्मिक मसीहीजगतको सम्पत्ति खोसिएर त्यसलाई लज्जास्पद ढङ्गमा पर्दाफास गरेपछि त्यसको अवस्था पनि सा.यु.पू. ६०७ पछिको यरूशलेमको जस्तै उजाड र निर्जन हुनेछ। यहोवाले सुनाउनु भएको यो न्याय झूटा शिक्षकहरूका लागि न्यायोचित छ। यो न्याय अवश्य पूरा हुनेछ। बितेको समयमा यर्मियाका सबै प्रेरित चेताउनीहरू पूरा भएझैं आधुनिक दिनमा त्यसको पूर्ति हुनेछ। त्यसकारण हामी पनि यर्मिया जस्तै होऔं। मानिसहरूलाई निर्भयसाथ यहोवाको भविष्यसूचक बोझबारे घोषणा गरौं ताकि सबै झूटा शिक्षकहरूमाथि पूरा मापमा उहाँको धार्मिक न्याय किन आउँदैछ भनेर तिनीहरूले थाहा पाऊन्! (w94 3/1)
पुनरावृत्तिका लागि प्रश्नहरू
▫ यहोवाको नजरमा पुरातन इस्राएल कतिको खराब थियो?
▫ कुन तरिकामा मसीहीजगत ‘झूटो चाल चल्छन्’?
▫ आधुनिक दिनका पादरीहरूको दोषको पर्दाफास कसरी भइरहेको छ?
▫ अहिले घोषणा भइरहेको “परमप्रभुको बोझ” के हो?
[अध्ययनका लागि प्रश्नहरू]
१. ईश्वरीय शिक्षामा लाग्ने व्यक्तिले किन गम्भीर जिम्मेवारी बहन गर्छ?
२, ३. यरूशलेमका झूटा शिक्षकहरूको सम्बन्धमा यहोवाले यर्मिया मार्फत् कस्तो न्यायदण्ड सुनाउनुभयो?
४. यरूशलेमका शिक्षकहरूको खराब नैतिक उदाहरण आजको मसीहीजगतसँग कसरी मिल्दोजुल्दो छ?
५. मसीहीजगतको अनैतिक अवस्था किन सदोम र गमोराको भन्दा झन् खराब छ?
६. यरूशलेमका अगमवक्ताहरूको खराबीबारे यर्मियाले के भने?
७, ८. मसीहीजगतका पादरीहरू कसरी यरूशलेमका झूटा शिक्षकहरूजस्तै छन् र चर्च धाउनेहरूलाई यसले कसरी असर गरेको छ?
९, १०. (क) यरूशलेमका झूटा शिक्षकहरू कस्ता सपनाहरू देख्थे? (ख) मसीहीजगतका पादरीहरूले पनि कसरी त्यस्तै ‘झूटा सपनाहरू’ सिकाएका छन्?
११. (क) परमेश्वरको नाउँमाथि समेत यरूशलेमका झूटा शिक्षकहरूको कस्तो नराम्रो असर परेको थियो? (ख) यर्मिया वर्गको विपरीत आजका झूटा धार्मिक शिक्षकहरूले ईश्वरीय नाउँलाई के गरेका छन्?
१२. (क) झूटा धार्मिक शिक्षकहरूमाथि किन ठूलो रक्तदोष छ? (ख) दुवै विश्व-युद्धहरूमा पादरीहरूले कस्तो भूमिका निभाए?
१३. मसीहीजगतका पादरीहरूको यहोवासँग कुनै सम्बन्ध छैन भनेर यर्मिया २३:२२ ले कसरी पुष्टि गर्छ?
१४. सन् १९५८ मा मसीहीजगतका पादरीहरूको कस्तो सशक्त पर्दाफास गरियो?
१५. पादरीहरूले शान्तिको कस्ता अगमवाणीहरू गरेका छन्? के ती पूरा हुनेछन्?
१६. (क) यो संसारको नैतिक वातावरण कस्तो छ अनि यसको लागि को को जिम्मेवार छन्? (ख) यस संसारको निम्नस्तरीय नैतिक विचारधाराबारे यर्मिया वर्गले के गर्दैछ?
१७. (क) यर्मियाअनुसार दुष्ट यरूशलेममाथि कस्तो न्यायदण्ड आउन लागेको थियो? (ख) मसीहीजगतमाथि चाँडै नै के हुनेछ?
१८, १९. यहूदा विरुद्ध यर्मियाले कस्तो “परमप्रभुको बोझ” को घोषणा गरे र कुन आशयसाथ?
२०. आज “परमप्रभुको बोझ” के हो?
२१. (क) यरूशलेमलाई सा.यु.पू. ६०७ मा किन नाश गरियो? (ख) यरूशलेमको विनाशपश्चात् झूटा अगमवक्ताहरू अनि यहोवाका साँचो अगमवक्ताहरूलाई के भयो र यसले आज हामीलाई के आश्वासन दिन्छ?
२२. यहोवाको न्यायदण्डपछि मसीहीजगतको अवस्था कस्तो हुनेछ?
[पृष्ठ ८-मा भएको चित्र]
यरुशलेमका अगमवक्ताहरूले “घिनलाग्दो कुरा” गरे
[पृष्ठ ९-मा भएको चित्र]
तिनीहरू “आफ्नै मनको दर्शनको कुरा बताउँदछन्”
[पृष्ठ १०-मा भएको चित्र]
विनाशपश्चात् यरूशलेमको अवस्थाले मसीहीजगतको अन्तिम अवस्था चित्रण गर्छ