फल—असल र खराब
“परमप्रभुले मलाई यो दर्शन दिनुभयो, हेर . . . नेभाराका दुइ डालो राखिएका रहेछन्। एउटा डालोमा खूब असल नेभाराहरू पहिले पाकेका आगौटे-फलहरूजस्तै थिए, तर अर्को डालोमा नराम्रा नेभाराहरू थिए, यति नराम्रा कि ती खान पनि नहुने थिए।”—यर्मिया २४:१, २.
सा.यु.पू. ६१७, यरूशलेम र त्यसका बासिन्दाहरूमाथि परमेश्वरको न्यायोचित दण्ड आउनुभन्दा ठीक दश वर्षअघि। यर्मियाले जोडतोडका साथ ३० वर्षभन्दा बढी प्रचार गरिसकेका थिए। त्यतिबेलाको अवस्थाबारे २ इतिहास ३६:१५ मा एज्राले दिएको ज्वलन्त विवरणलाई एकछिन ध्यान दिनुहोस्: “आफ्नो प्रजा र आफ्नो बासस्थानमाथि दया गर्नुभएको हुनाले परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्वरले तिनीहरूलाई दूतहरूद्वारा घरिघरि चेताउनी दिनुभएको थियो।” तर यी सबै प्रयत्नको नतिजा? दुःखलाग्दो कुरा पद १६ मा एज्रा यसो भन्छन्: “तर परमप्रभुको क्रोध तिनीहरूमाथि नपरुञ्जेल तिनीहरूले उहाँको दूतहरूलाई हंसी-ठट्टा गर्न, उहाँको वचनहरूको निन्दा गर्न र उहाँका अगमवक्ताहरूका गिल्ला गर्न छोड़ेनन्। औ त्यो शान्त हुनैसकेन।”
२ त्यसोभए के त्यसको अर्थ यहूदाको राष्ट्र पूरै नाश हुने थियो त? यसको उत्तरका लागि यर्मियालाई भर्खरै दिइएको महत्त्वपूर्ण दर्शनबारे विचार गरौं। यर्मियालाई दिइएको यो दर्शन यर्मिया अध्याय २४ मा रेकर्ड गरिएको छ। आफूले वाचा बाँध्नुभएका मानिसहरूको गतिविधिलाई सङ्केत गर्न परमेश्वरले यो दर्शनमा नेभाराका दुई डालाको प्रयोग गर्नुभयो। यिनीहरूलाई असल र खराब, दुई भिन्न किसिमको फलले चित्रण गर्नेथियो।
३ परमेश्वरको भविष्यवक्ताले देखेका कुराहरूलाई यर्मिया अध्याय २४ पद १ र २ ले यसरी वर्णन गर्छ: “बाबेलका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमको छोरो यकोन्याह र यहूदाका भारदारहरूसमेत कारीगरहरू र लोहारहरूलाई यरूशलेमबाट कैद गरी बाबेलमा लगेपछि परमप्रभुले मलाई यो दर्शन दिनुभयो, ‘हेर, परमप्रभुको मन्दिरको सामने नेभाराका दुइ डालो राखिएका रहेछन्। एउटा डालोमा खूब असल नेभाराहरू पहिले पाकेका आगौटे-फलहरूजस्तै थिए, तर अर्को डालोमा नराम्रा नेभाराहरू थिए, यति नराम्रा कि ती खान पनि नहुने थिए।’”
दर्शनरूपी असल नेभाराहरू
४ यर्मियाले देखेका कुराबारे तिनलाई सोधिसक्नु भएपछि पद ५ देखि ७ मा यहोवाले भन्नुभयो: “यी राम्रा नेभाराहरू जस्तै मैले यस देशबाट, अर्थात् यहूदाबाट कल्दीहरूको देशमा पठाएकाहरूलाई म त्यतिनै राम्रा सम्झनेछु। तिनीहरूको भलाइको निम्ति म मेरो दृष्टि तिनीहरूमाथि राख्नेछु, र म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु। म तिनीहरूलाई बनाउनेछु, म तिनीहरूलाई नष्ट पार्नेछैनँ। म तिनीहरूलाई रोप्नेछु औ उखेल्नेछैनँ। मनै परमप्रभु हुँ भनी चिन्ने मन तिनीहरूलाई म दिनेछु। औ तिनीहरू मेरा प्रजा र म तिनीहरूका परमेश्वर हुनेछु, किनभने तिनीहरू आफ्नो सम्पूर्ण हृदयले मकहाँ फर्कनेछन्।”
५ अतः यहूदाका लागि आउँदो समय राम्रो हुनेछ भनेर यहोवाले यहाँ भन्नुभएको कुरालाई विचार गर्दा यहूदा राष्ट्र पूरै मेटिइनेछ जस्तो देखिंदैन। तर यस असल नेभाराको डालोको अर्थ के हो?
६ यहूदामाथि राजा भएको तीन महिना र दश दिन बित्दा नबित्दै यकोन्याह वा यहोयाकिनले राजीखुशीका साथ यरूशलेमलाई राजा नबूकदनेसरको हातमा सुम्पिदिए। यहोयाकिन सँगसँगै कैदमा परेर जानेहरूमा दानिएल र तिनका तीन हिब्रू मित्रहरू, हनन्याह, मिशाएल, अजर्याह र साथमा इजकिएल पनि थिए। बाबेलका राजाद्वारा तिनीहरूको जीवन बचाइएको थियो। अतः यी कैदीहरूकै भलाइको निम्ति यहोवाले कल्दीहरूको देशमा पठाउनुभयो भनी भन्न सकिन्थ्यो। ‘तिनीहरूका भलाइको निम्ति तिनीहरूमाथि आफ्नो दृष्टि राख्नेछु’ भनेर पनि यहोवाले प्रतिज्ञा गर्नुभएको के तपाईंले याद गर्नुभयो? यसको पूर्ति कसरी भयो? यसको ८० वर्षपश्चात् सा.यु.पू. ५३७ मा तिनीहरूका शेष सन्तानहरूलाई यहूदा फर्कने आज्ञप्ति जारी गर्न यहोवाले राजा कोरेसलाई प्रेरित गर्नुभयो। यी विश्वासी यहूदीहरूले यरूशलेम शहरको पुनर्निर्माण गरे; आफ्नो परमेश्वर यहोवाको उपासनाका लागि तिनीहरूले एउटा नयाँ मन्दिर स्थापना गरे; र पूरा हृदयका साथ उहाँतर्फ फर्के। त्यसकारण यी सब कुराहरूमा ती कैदीहरू अनि तिनीहरूका सन्तानहरू यहोवाको नजरमा चाँडै पाकेका असल नेभाराहरू जस्तै थिए।
७ तपाईंहरूलाई स्मरणै होला, यस २० औं शताब्दीमा पनि यर्मियाका ती शब्दहरूले हाम्रो लागि महत्त्व राख्छ भनेर हामीले अघिल्लो लेखमा सिकेका थियौं। त्यही कुरा अध्याय २४ मा पनि लागू हुन्छ। प्रथम विश्वयुद्धतिरका ती निराशाजनक वर्षहरूको दौडान यहोवाका थुप्रै समर्पित सेवकहरू कुनै न कुनै तरिकामा महान बेबिलोनको प्रभावमा परे। तर ‘तिनीहरूका भलाइका निम्ति तिनीहरूमाथि यहोवाको सचेत दृष्टि’ थियो। अतः महान कोरेस, ख्रीष्ट येशूको हातद्वारा यहोवाले तिनीहरूलाई महान बेबिलोनको शक्तिबाट छुटाउनु भयो अनि क्रमशः आध्यात्मिक प्रमोदवनमा ल्याउनुभयो। यी आत्मिक इस्राएलीहरूले यसको प्रत्युत्तर दिए र पूर्ण हृदयसाथ यहोवातर्फ फर्के। त्यसपछि सन् १९३१ मा यहोवाका साक्षीहरू भन्ने नाउँ ग्रहण गर्न पाएकोमा तिनीहरू हर्षित भए। साँच्चै नै, यहोवाको दृष्टिमा अब तिनीहरू एकदम असल नेभाराका डालोझैं भए भन्न सकिन्थ्यो।
८ महान बेबिलोनबाट मुक्त पारेर परमेश्वरले देखाउनु भएको अनुग्रहको उद्देश्यलाई यहोवाका साक्षीहरूले बिर्सेका छैनन्। राज्य समाचारको नेभारा जस्तो गुलियो सुसमाचारलाई तिनीहरूले आफैसँग मात्र राखेका छैनन् तर मत्ती २४:१४ मा लेखिएका येशूका यी शब्दहरूलाई पालन गर्दै तिनीहरूले सर्वत्र घोषणा गरेका छन्: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ।” त्यसको नतिजा? सतचालीस लाखभन्दा बढी भेडा खालका मानिसहरू, जो आत्मिक इस्राएलका सदस्य होइनन् तिनीहरूले आफूलाई महान बेबिलोनबाट मुक्त पारेका छन्।
दर्शनरूपी खराब नेभाराहरू
९ तर यर्मियाले दर्शनमा देखेका खराब नेभाराका डालोबारे नि? यर्मिया अब आफ्नो ध्यान यहोवाका शब्दहरूतर्फ फर्काउँछन्। यर्मिया अध्याय २४ पद ८ देखि १० मा हामी उक्त शब्दहरू पाउँछौं: “परमप्रभु भन्नुहुन्छ, ‘ती खानै पनि नहुने जस्ता एकदमै नराम्रा नेभाराहरूलाई झैं म यहूदाको राजा सिदकियाह, त्यसका भारादारहरू, यरूशलेमका बासिन्दा जो बाँचेर यस देशमा बस्छन् र मिश्र देशमा रहेकाहरूलाई व्यवहार गर्नेछु। औ पृथ्वीका सारा राज्यहरूमा जहाँ म तिनीहरूलाई खेदिदिनेछु त्यहाँ तिनीहरू त्रासको कारण, गिल्ला, हाँसोको कारण र सराप बनिनेछन्। औ मैले तिनीहरूलाई र तिनीहरूका पिता-पुर्खाहरूलाई दिएको यस देशदेखि तिनीहरू पूरै नाश नहोउञ्जेलसम्म म तिनीहरूमाथि तरवार, अनिकाल र रूढ़ी पठाइदिनेछु।’”
१० अतः यहोवाको नजरमा सिदकियाह साँच्चै नै एउटा ‘नराम्रो नेभारा’ भएर निस्के। यहोवाको नाउँमा राजा नबूकदनेसरसँग खाएको वफादारीको शपथलाई तोडेर तिनले त्यस राजाको विद्रोह मात्र होइन तर यर्मियाद्वारा आफूले पाएको यहोवाको अनुकम्पालाई समेत पूरै इन्कार गरे। यहाँसम्म कि तिनले यर्मियालाई आफ्नो हिरासतमा राखे! त्यसैकारण त २ इतिहास ३६:१२ मा राजाको व्यवहारलाई एज्राले सारांशमा यसो भन्छन्: “तिनले परमप्रभुको दृष्टिमा जे कुरो खराब थियो त्यही गरे।” यहोवाको दृष्टिमा सिदकियाह र यरूशलेममा बाँकि रहेका मानिसहरू खराब, कुहिएका नेभाराका डालो जस्तै थिए!
हाम्रो दिनको कुहिएका लाक्षणिक नेभाराहरू
११ आज हाम्रो संसार वरिपरि हेर्नुहोस्। हामीले नराम्रो नेभाराका लाक्षणिक डालो पाउनसक्छौं जस्तो के तपाईंलाई लाग्छ? आउनुहोस्, हाम्रो समय र यर्मियाको दिनलाई तुलना गरौं। महासङ्कष्टको समयमा व्यक्त हुने आफ्नो क्रोधबारे राष्ट्रहरूलाई बारम्बार चेताउनी दिन यहोवाले यस २० औं शताब्दीमा यर्मिया वर्ग, शेष अभिषिक्त जनलाई चलाउनु भएको छ। उहाँको नाउँलाई दिनुपर्ने महिमा देओ, उहाँलाई आत्मा र सत्यका साथ उपासना गर अनि उहाँको शासनारूढ पुत्र, येशू ख्रीष्टलाई पृथ्वीको जायज शासकको रूपमा स्वीकार भनेर उहाँले राष्ट्र समूहहरूलाई आग्रह गर्नुभएको छ। तर कस्तो प्रतिक्रिया भएको छ? यर्मियाको दिनमा भए जस्तै। राष्ट्रहरूले यहोवाको नजरमा जे खराब छ त्यही गर्न बन्द गरेनन्।
१२ यस्ता विद्रोही मनोवृत्तिलाई उक्साउनेहरू को हुन्? परमेश्वरको सेवकको रूपमा काम गर्ने अधिकारमाथि प्रश्न खडा गरेर यी यर्मिया खालका समाचारवाहकहरूको कसले ठट्टा गरिरहन्छन्? परमेश्वरको वचनलाई कसले तुच्छ ठानिरहेका छन्? यहोवाका साक्षीहरूमाथि आउने अधिकांश सतावटहरूको पछाडि कसको हात छ? उत्तर एकदम स्पष्ट छ—मसीहीजगत र त्यसमा पनि अझ विशेषगरी पादरी वर्ग! हामीले अघिल्लो लेखमा छलफल गरेका ती मसीहीजगतका कुहिएका, नराम्रा फलहरूलाई हेर्नुहोस्। निश्चय नै, आज पृथ्वीमा नराम्रा नेभाराको लाक्षणिक डालो छ। वास्तवमा भन्ने हो भने त्यो ‘खानै पनि नहुनेगरी नराम्रा’ छन् भनेर यहोवा भन्नुहुन्छ। यर्मियाद्वारा प्रकट गरिएका यहोवाका ती वचनहरू अहिले हाम्रो दिनसम्म पनि गुञ्जिरहेका छन्: ‘तिनीहरू पूरै नाश हुनेछन्’! मसीहीजगतमाथि यहोवाको क्रोध शान्त हुनेछैन।
हाम्रो निम्ति चेताउनीमूलक पाठ
१३ यर्मियाको प्रेरित चेताउनीको समाचारको तात्पर्यलाई जसै हामी जाँच्दै जान्छौं १ कोरिन्थी १०:११ मा उल्लिखित पावलका यी शब्दहरू हाम्रा कानमा गुञ्जन्छन्: “यी कुराहरू तिनीहरूलाई उदाहरणको रूपमा भएथे, र हाम्रो चेताउनीको निम्ति लेखिएका हुन्, जसमाथि पुस्ताहरूको अन्त हुनलागेको छ।” नेभाराका दुई डालोहरूको दर्शनद्वारा दिइएको चेताउनीलाई के हामीले व्यक्तिगत रूपमा हृदयङ्गम गरेका छौं? हामीले अहिले गरिरहेको छलफल ती कुराहरूको महत्त्वपूर्ण भाग हो, जसले गर्दा इस्राएल हाम्रोलागि एउटा चेताउनीपूर्ण उदाहरण भएको छ।
१४ अन्तमा, इस्राएलको सम्बन्धमा राजा दाऊदलाई भनिएको यहोवाका शब्दहरू स्मरण गरौं। दोस्रो शमूएल ७:१० मा ती शब्दहरू यसप्रकार उल्लिखित छन्: “म मेरो प्रजा इस्राएलको निम्ति एउटा स्थान नियुक्त गर्नेछु।” आफ्ना जन, इस्राएलप्रति यहोवाले हर तवरमा करूणामय चिन्ता देखाउनुभयो। आफ्नो जीवनमा असल फलहरू फलाउन इस्राएलीहरूसँग प्रशस्तै कारणहरू थिए। तिनीहरूले यहोवाको ईश्वरीय शिक्षालाई ध्यान दिए र उहाँको आज्ञाहरू पालन गरे मात्र पुग्थ्यो। तर कमैले त्यसो गरे। बहुसङ्ख्यक व्यक्तिहरू यति ढिट र स्वेच्छाचारी थिए कि तिनीहरूले खराब, कुहिएका फलहरू मात्र फलाए।
१५ त्यसोभए हाम्रो दिनको सम्बन्धमा के भन्न सकिन्छ? यहोवाले आफ्नो आत्मिक इस्राएलका शेष अभिषिक्त जन र तिनीहरूका भेडाखाले सहचरहरूप्रति प्रशस्त दया देखाउनु भएको छ। सन् १९१९ मा तिनीहरूको आत्मिक मुक्ति भएदेखि तिनीहरूमाथि निरन्तर उहाँको दृष्टि परिरहेको छ। यशैयाद्वारा उहाँले अगमवाणी गर्नुभएझैं ब्रह्माण्डका सबैभन्दा महान शिक्षक, यहोवा परमेश्वरबाट तिनीहरूले दिनहुँ ईश्वरीय निर्देशनहरू पाउँछन्। (यशैया ५४:१३) उहाँको प्रिय पुत्र, येशू ख्रीष्टद्वारा दिइएको यो शिक्षाले गर्दा तिनीहरूबीच प्रशस्त शान्ति छाएको छ र तिनीहरूलाई यहोवाको नजिक ल्याएको छ। यहोवालाई चिन्न, उहाँले भन्नु भएका कुराहरू सुन्न र आफ्नो जीवनमा असल फलहरू अर्थात् परमेश्वरको प्रशंसा गर्ने फलहरू फलाइरहन यसले हाम्रो लागि कस्तो अद्भुत आत्मिक वातावरण तयार गर्छ! अनि यसैमा हाम्रो जीवन निर्भर पनि छ!
१६ तर यहोवाको सम्पूर्ण अनुग्रहको बावजूद अझै पनि त्यस्ता केही व्यक्तिहरू छन्, जो प्राचीन यहूदाका धेरै व्यक्तिहरूझैं विद्रोही र कठोर हृदयका छन् र आफ्नो जीवनमा खराब, कुहिएका फलहरू फलाउँछन्। कस्तो दुःखलाग्दो कुरा! नेभाराका दुई डालोहरू अनि त्यसका असल र खराब फलहरूद्वारा स्पष्टसँग हाम्रो ध्यानमा ल्याइएका ती चेताउनीपूर्ण शिक्षाहरूलाई हामीहरूमध्ये कसैले कहिल्यै नभुलौं। धर्मत्यागी मसीहीजगतमाथि यहोवाको न्यायोचित दण्ड जसै तीव्र गतिले नजिक आउँछ, हामी सबैले पावलको यस सल्लाहलाई हृदयङ्गम गरौं: “हरेक सुकर्ममा जसै तिमीहरू फल फलाउँदै जान्छौं, अन्तसम्म उहाँलाई खुशी पार्नेगरी [यहोवाका लागि] योग्य चाल चल।”—कलस्सी १:१०. (w94 3/1)
पुनरावृत्ति “फल—असल र खराब” तथा “राष्ट्रहरूसँग यहोवाको विवाद” को अनुच्छेद १-४ सम्म।
▫ असल नेभाराका डालोले के चित्रण गर्छ?
▫ दर्शनरूपी खराब नेभाराका डालो कसरी प्रष्ट भएको छ?
▫ यर्मियाको समाचारले हामीलाई कस्तो चेताउनीमूलक पाठ दिन्छ?
▫ सा.यु.पू. ६०७ को के महत्त्व छ? अनि सा.यु. १९१४ को?
[अध्ययनका लागि प्रश्नहरू]
१. आफ्नो जन इस्राएलका लागि यहोवाले कसरी अनुकम्पा देखाउनुभयो तर तिनीहरूले कस्तो प्रतिक्रिया देखाए?
२, ३. यहोवाले यर्मियालाई देखाउनुभएको ज्वलन्त विवरणको व्याख्या गर्नुहोस्।
४. नेभाराको दर्शनले विश्वासी इस्राएलीहरूलाई कस्तो सान्त्वनादायी समाचार प्रदान गऱ्यो?
५, ६. (क) केही इस्राएलीहरूलाई ‘तिनीहरूकै भलाइको निम्ति’ कल्दीहरूको देशमा कसरी पठाइयो? (ख) निर्वासनमा लगिएका विश्वासी इस्राएलीहरूलाई कसरी यहोवाले ‘तिनीहरूको भलाइको निम्ति दृष्टि’ राख्नुभयो?
७. आधुनिक यर्मिया वर्गको “भलाइ” का लागि यहोवाले कहिले र कसरी आफ्नो दृष्टि देखाउनुभयो?
८. नेभाराजस्तो गुलियो राज्य समाचारलाई यहोवाका साक्षीहरूले कसरी सर्वत्र घोषणा गरेका छन्?
९. यर्मियाको दर्शनको खराब नेभाराले कसको चित्रण गऱ्यो र तिनीहरूलाई के हुन लागेको थियो?
१०. यहोवाले सिदकियाहलाई किन ‘खराब नेभारा’ को रूपमा लिनुभयो?
११, १२. खराब नेभाराको रूपमा आज कसलाई चित्रण गरिएको छ र तिनीहरूलाई के हुनेछ?
१३. पहिलो कोरिन्थी १०:११ मा पावलका शब्दहरूअनुरूप हामीले नेभाराका दुई डालोहरूको दर्शनलाई कसरी बुझ्नुपर्छ?
१४. यहोवाले इस्राएलमाथि देखाउनुभएको करूणामय चिन्ताको प्रत्युत्तर तिनीहरूले कसरी दिए?
१५. आज आत्मिक इस्राएल अनि तिनीहरूका भेडाखाले सहचरहरूले यहोवाको अनुकम्पाको कस्तो प्रत्युत्तर दिएका छन्?
१६. नेभाराका दुई डालाहरूको दर्शनबाट हामी प्रत्येकले कस्तो व्यक्तिगत शिक्षा लिनसक्छौं?
[पृष्ठ १५-मा भएको चित्र]
असल नेभाराहरूले जस्तै परमेश्वरका जनहरूले गुलियो राज्य फल फलाएका छन्
[पृष्ठ १५-मा भएको चित्र]
मसीहीजगत खराब नेभाराका डालो साबित भएका छन्