राष्ट्रहरूसँग यहोवाको विवाद
“हल्लाको प्रतिध्वनि पृथ्वीको पल्लो छेउसम्मै सुनिनेछ, किनभने पृथ्वीका जातिहरूका विरुद्धमा परमप्रभुको अभियोग छ।”—यर्मिया २५:३१.
यहूदा देशले डरलाग्दो समयको सामना गर्नु परेको थियो। एक जना असल राजा, योशियाहले यहोवाको बल्दो रीसलाई केही समयसम्म रोकेका थिए। तर सा.यु.पू. ६२९ मा योशियाह मारिएपछि के भयो? तिनी पछिका राजाहरूले यहोवाको अनादर गरे।
२ दोस्रो राजा २४:१९ अनुसार योशियाहको चौथो पुत्र अर्थात् यहूदाका अन्तिम राजा सिदकियाहले पनि “[तिनको दाइ] यहोयाकीमले गरेझैं परमप्रभुको दृष्टिमा जे कुरा खराब थियो त्यही गरे।” त्यसको नतिजा? यरूशलेमको विरुद्धमा नबूकदनेसर जाइलागे, सिदकियाहलाई बन्दी बनाए, तिनकै आँखा सामुन्ने तिनका पुत्रहरू मारिए, तिनी अन्धो बनाइए अनि बाबेलमा लगिए। यस बाहेक यहोवाको उपासनामा प्रयोग गरिने भाँडा-कुँडाहरूलाई बेबिलोनीहरूले लुटको मालझैं हडपे। तिनीहरूले मन्दिर र शहरमा आगो लगाएर त्यसलाई ध्वस्त पारे। बचेकाहरू बाबेलको निर्वासनमा लगिए।
३ त्यो वर्ष, सा.यु.पू. ६०७ ले यरूशलेमको अन्तिम विनाशलाई मात्र होइन तर लूका २१:२४ मा उल्लिखित “अन्यजातिको समय” को सुरुआतलाई पनि चिह्नित गऱ्यो। यो २,५२० वर्ष लामो अवधि हाम्रो शताब्दीमा आएर सन् १९१४ मा पूरा भयो। अब भने नबूकदनेसरभन्दा महान, आफ्नो गद्दीनसीन पुत्र, येशू ख्रीष्टद्वारा भ्रष्ट संसारमाथि न्यायको घोषणा गर्ने र त्यसलाई कार्यान्वयन गर्ने यहोवाको समय आइसकेको थियो। पृथ्वीमा परमेश्वर र ख्रीष्टको प्रतिनिधित्व गर्छौं भनी दावा गर्ने यहूदाको आधुनिक समरूपदेखि यो न्याय सुरु हुन्छ।
४ यहूदाका राजाहरूको अन्तिम वर्षहरूमा भएका उथलपुथलहरू अनि छिमेकी राष्ट्रहरूलाई समेत असर पार्ने विनाशकारी घटनाहरू र आज मसीहीजगतमा भएको उथलपुथलबीच के हामी कुनै समानता पाउँछौं? अवश्य पाउँछौं! उसोभए यहोवाले कसरी न्याय गर्नुहुनेछ भन्ने सम्बन्धमा यर्मियाको भविष्यवाणीले के सङ्केत गर्छ? आउनुहोस्, विचार गरौं।
५ बेलायती गणितज्ञ र दार्शनिक बट्रान्ड रसलले झण्डै ४० वर्षअघि यसो भनेर टिप्पणी गरेका थिए: “भाग्य वा पूर्व-निर्धारित कारणले भएको जस्तो देखिने एउटा ठूलो विनाशतर्फ संसार लम्कदै गएको देखेर सचेत हुने व्यक्तिहरू १९१४ देखि यता चिन्तित हुँदै गएका छन्।” अनि जर्मन राजनीतिज्ञ कनराट एडिनावरले यसो भने: “१९१४ देखि यता मानिसहरूको जीवनबाट सुरक्षा र शान्ति भन्ने कुरा हराइसकेको छ।”
६ यर्मियाको समयमाझैं आज पनि विशेषतः यस शताब्दीमा भएका दुई विश्व-युद्धमा बगाइएको निर्दोष रगतको भलले जगतको अन्त नजिकै आएको कुरालाई सङ्केत गर्छ। यी युद्धहरूमा भाग लिने अधिकांश राष्ट्रहरू बाइबलको परमेश्वरलाई उपासना गर्छु भनी दावा गर्ने मसीहीजगतका थिए। कत्रो ठूलो ढोंग! त्यसैकारण यहोवाले आफ्ना साक्षीहरूलाई यर्मिया २५:५, ६ का यी शब्दहरू भन्न पठाउनु भएकोमा कुनै आश्चर्य छैन: “तिमीहरू हरेक आफ्नो खराब चाल र कुकर्मदेखि फर्क . . . औ पराई देवताहरूको सेवा र भक्ति गर्नलाई तिनीहरूको पछि नलाग, अथवा तिमीहरूको हातले बनाएका कामबाट मलाई रीस नउठाऊ। तब म तिमीहरूको केही नोक्सानी गर्नेछैनँ।”
७ तथापि, मसीहीजगतका राष्ट्रहरूले आफ्नो चाल फेरेनन्। कोरिया र भियतनाममा तिनीहरूले युद्ध देवतालाई गरेको अरू थुप्रै बलिहरूद्वारा यो कुरा स्पष्ट देखिएको छ। अनि मृत्युका व्यापारीहरू, हात-हतियार निर्माताहरूलाई तिनीहरूले वित्तीय सहायता दिन बन्द गरेका छैनन्। सन् १९८० दशकको झण्डै एक लाख करोड डलरको वार्षिक हातहतियार निर्माण खर्चमा मसीहीजगतका मुलुकहरूले सबैभन्दा बढी खर्च गरे। संयुक्त राज्य अमेरिकाको १९५१ देखि १९९१ सम्मको सैनिक खर्च सबै अमेरिकी कर्पोरेसनहरूको कुल नाफाभन्दा बढी थियो। शीत युद्ध अन्त भएको ठूलो ढ्वाङ्ग फुकिएपछि पुराना आणविक हातहतियारहरूमा कटौती गरिएको छ। तर त्योभन्दा खतरनाक हातहतियारहरूका ठूल-ठूला भण्डारहरू भने अहिलेसम्म बाँकि नै छन् र झन् झन् बढाइँदैछन्। कुनै पनि दिन त्यसको प्रयोग गरिन सकिन्छ।
मसीहीजगतको छाडा संसार विरुद्ध न्यायदण्ड
८ यर्मिया २५:८, ९ मा उल्लिखित यहोवाका अरू शब्दहरू विशेषगरि अब मसीही धार्मिकताको स्तरअनुरूप बाँच्न असफल भएको मसीहीजगतमाथि लागू हुन्छ, सो पदमा यस्तो लेखिएको छ: “यसकारण सेनाहरूका परमप्रभु भन्नुहुन्छ, ‘किनभने तिमीहरूले मेरा वचन पालन गरेनौ, यसैले हेर, म उत्तरका सबै कुलहरूलाई र मेरो दास, बाबेलको राजा नबूकदनेसरलाई डाकेर ल्याउनेछु। म तिनीहरूलाई यो देश र यसका बासिन्दाहरू र चारैतिर रहने यी सबै जातिहरूका विरुद्धमा ल्याउनेछु। म तिनीहरूलाई बिलकुलै नाश गर्नेछु। म तिनीहरूलाई भय र घृणा उत्पन्न गराउने औ सधैं उजाड़ रहिरहने तुल्याउनेछु।’” यसर्थ परमेश्वरका जन भनौंदा मसीहीजगतबाट महासङ्कष्ट सुरु हुनेछ र अन्तमा सारा पृथ्वीका ‘सबै जातिहरूमा’ व्याप्त हुनेछ।
९ एउटा समय थियो जब मसीहीजगतमा पनि बाइबलको आदर गरिन्थ्यो, विवाह र परिवारलाई सर्वत्र आनन्दको स्रोत मानिन्थ्यो, मानिसहरू सबेरै उठ्थे र आफ्नो दैनिक कामबाट सन्तोष पाउँथे। साँझको मधुरो बत्तीको प्रकाशमा परमेश्वरको वचन पढेर र अध्ययन गरेर धेरैजसो मानिसहरू आफूलाई ताजा बनाउँथे। तर आज लैङ्गिक छाडापन, पारपाचुके, लागू पदार्थको दुरुपयोग र मतवालापन, खराबी, लोभ, काममा आलस्यपन, टिभि को लत र अन्य दुराचारहरूले डरलाग्दोगरि जीवनलाई भ्रष्ट पारेको छ। यी सबै कुराहरू मसीहीजगतको छाडा संसारमाथि यहोवा परमेश्वरले ल्याउन लाग्नु भएको विनाशअघि हुने कुराहरू हुन्।
१० यर्मिया अध्याय २५ पद १० र ११ मा यहोवा यसरी घोषणा गर्नुहुन्छ: “तिनीहरूबाट आनन्द र हर्षको आवाज, दुलहाको सोर र दुलहीको सोर जाँतोको पिंधाइ र बत्तीको उज्यालो म उठाइलानेछु। यो सारा देश नष्ट र उजाड हुनेछ।” मसीहीजगतका भव्य मन्दिर तथा विलासी दरवारहरू भताभुङ्ग हुँदा साँच्चै नै त्यो छक्कलाग्दो हुनेछ। यो विनाश कतिको व्यापक हुनेछ? यर्मियाको समयमा यहूदा र छिमेकी राष्ट्रहरू ७० वर्षसम्म उजाड अवस्थामा रहे। यसलाई भजनसंग्रह ९०:१० ले एउटा जीवन भनेर वर्णन गर्छ। तर हाम्रो समयमा परमेश्वरको न्याय पूर्ण र सदाकालको लागि हुनेछ।
महान बेबिलोन विरुद्ध न्यायदण्ड
११ प्रकाश १७:१२-१७ मा अगमवाणी गरिएझैं यहोवाले आफ्नो आश्चर्यलाग्दो काम सुरु गर्ने समय आउनेछ। यो आश्चर्यलाग्दो काम गर्न उहाँले “दश सिङ्” अर्थात् सैन्य शक्तिले सुसज्जित संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूको मनमा झूटो धर्मको विश्व साम्राज्यलाई विनाश गर्ने “आफ्नो विचार” राख्नु हुनेछ। तर यो कसरी हुनेछ? प्रकाश अध्याय १७ पद १६ अनुसार त्यस “दश सिङ्” ले “वेश्यासँग दुश्मनी [गर्नसक्ने] . . . र त्यसलाई आगोमा भस्म [पार्नसक्ने]” थुप्रै तरिकाहरू छन्। यो कुरा सत्य हो, आज आणविक हातहतियारहरूको तीव्र मात्रामा वृद्धि भएको छ र युद्ध हुने सम्भावना भएका अनेकौं स्थानहरूमा अझै पनि वृद्धि हुँदैछ। तर आफ्नो प्रतिशोध पूरा गर्न यहोवाले आफ्नो विचार कसरी राजनैतिक शासकहरूको मनमा हालिदिनुहुनेछ भनेर हेर्न हामीले पर्खनै पर्छ।
१२ प्राचीन समयमा यहोवाको बल्दो क्रोधको सामना गर्ने पालो बाबेलको थियो। त्यसै अनुरूप यर्मिया अध्याय २५ पद १२ देखि भविष्यवाणीले अर्कै मोड लिन्छ। यहोवाको न्यायदण्ड दिने व्यक्तिको रूपमा अब नबूकदनेसर र बाबेल छैनन्। तिनीहरूलाई अब बाँकि सांसारिक राष्ट्रहरूसँगै सामेल गरिएको छ। यो कुरा आज हाम्रो परिस्थितिसँग मिल्दोजुल्दो छ। प्रकाश अध्याय १७ को “दश सिङ्” ले झूटा धर्मलाई विनाश गर्नेछ तर प्रकाश अध्याय १९ मा वर्णन गरेझैं तिनीहरू आफै पनि “पृथ्वीका” अरू “राजाहरू”-सँगसँगै नाश हुनेछन्। यहोवाका मानिसहरूलाई भ्रष्ट पार्ने “सबै जातिहरू” सँगसँगै बाबेलको कसरी न्याय हुन्छ भनेर यर्मिया २५:१३, १४ ले वर्णन गर्छ। यहूदालाई दण्ड दिन यहोवाले नबूकदनेसरलाई चलाउनुभएको थियो। तर तिनी र तिनी पछिका बाबेलका राजाहरू घमण्डी भएर आफैलाई यहोवाभन्दा महान तुल्याउन थाले। उदाहरणका लागि, तिनीहरूले यहोवाको मन्दिरका भाँडा-कुँडाहरूलाई अपवित्र पारे। (दानिएल ५:२२, २३) बेबिलोनीहरूले यरूशलेमलाई नष्ट गर्दा यहूदाका छिमेकी राष्ट्रहरू—मोआब, अम्मोन, टायर, एदोम र अरू राष्ट्रहरूले खुशी मनाए र परमेश्वरका जनहरूको खिसी गरे। तिनीहरूले पनि यहोवाको हातबाट त्यसको प्रतिफल पाउनै पर्छ।
“जम्मै जातिहरू” को विरुद्ध न्यायदण्ड
१३ यसर्थ अध्याय २५ पद १५ अनि १६ को रेकर्डअनुसार यर्मिया यसो भनेर घोषणा गर्छन्: “परमप्रभु इस्राएलका परमेश्वरले मलाई भन्नुभयो, ‘मेरो हातबाट यो क्रोधको दाखमद्यको कचौरा ली, र ती जम्मै जातिहरू जसकहाँ म तँलाई पठाउनेछु, तिनीहरूलाई त्यो पिउनलगा। त्यो पिएर तिनीहरू धरमराउनेछन्, औ मैले तिनीहरूका बीचमा पठाएको तरवारको कारणले गर्दा तिनीहरू बौलाहा होइजानेछन्।’” त्यो किन ‘यहोवाको क्रोधको दाखमद्यको कचौरा’ हो? मत्ती २६:३९, ४२ र यूहन्ना १८:११ मा येशूले आफ्नो लागि परमेश्वरको इच्छालाई चित्रित गर्न “कचौरा” को चर्चा गर्नुभयो। त्यस्तैगरी राष्ट्रहरूलाई उहाँको ईश्वरीय प्रतिशोध पियाउने यहोवाको इच्छालाई चित्रित गर्न कचौराको प्रयोग गरिएको छ। यर्मिया २५:१७-२६ मा ती राष्ट्रका समूहहरूको सूची दिइएको छ जसले आज वर्तमान समयका राष्ट्रहरूलाई पूर्वसङ्केत गर्छ।
१४ यहूदालाई जस्तै मसीहीजगतलाई पनि “उजाड़, घृणित र श्रापित” पारिएपछि झूटो धर्मको विश्व साम्राज्यलाई विनाशले पर्खनेछ। त्यसपछि मिस्र देशद्वारा चित्रित सारा संसारले यहोवाको क्रोधको मद्यको कचौराबाट पिउनैपर्छ! हो, “उत्तर दिशाका नजीक र टाढा बस्ने सबै राजाहरू एक पछि अर्कोलाई र पृथ्वीमा हुने सबै संसारका राज्यहरू” ले त्यो पिउनै पर्छ। अन्तमा “[शिशाक] को राजाले त्यो पिउनेछ।” को हो यो “शिशाक”? शिशाक बाबेल देशको प्रतिकात्मक नाउँ अर्थात् क्रिप्टोग्राम वा कोड हो। बाबेलको अदृश्य शासक शैतान भएझैं येशूले सङ्केत गर्नुभएअनुसार आज पनि त्यही नै यो “संसारको शासक” हो। (यूहन्ना १४:३०) तसर्थ, यहोवाको क्रोधको कचौरा चारैतिर बाँडिदा हुने घटनाक्रमलाई स्पष्ट पार्ने सम्बन्धमा यर्मिया २५:१७-२६ मा भएका कुराहरू प्रकाश अध्याय १८ देखि २० सम्मका कुराहरूसँग मेल खान्छ। सर्वप्रथम झूटो धर्मको विश्व साम्राज्य, त्यसपछि राजनैतिक शक्तिहरू नाश हुनै पर्छ। अनि शैतान अगाध खाँधमा थुनिनु पर्छ।—प्रकाश १८:८; १९:१९-२१; २०:१-३.
१५ शीतयुद्धको तथाकथित अन्तपछि एउटै मात्र महाशक्ति बाँकि रहेकोले हाल शान्ति र सुरक्षाका सम्बन्धमा निकै चर्चा सुनिन्छ। प्रकाश १७:१० अनुसार त्यो महाशक्ति, अर्थात् जङ्गली जनावरको सातौं शिर “अलि बेर अवश्य रहनै पर्छ।” तर त्यो “अलि बेर” सकिनै लागेको छ। “शान्ति र सुरक्षा” को सबै राजनैतिक नाराहरूको सट्टा चाँडै ‘अचानक विनाश’ आइलाग्नेछ। प्रेरित पावल त्यस्तै बताउँछन्।—१ थिस्सलोनिकी ५:२, ३.
१६ मसीहीजगतदेखि लिएर शैतानको सारा सांसारिक व्यवस्थाले यहोवाको प्रतिशोधको कचौराबाट पिउनै पर्छ। यर्मिया अध्याय २५ को पदहरू २७ देखि २९ मा उहाँले यर्मियालाई दिनुभएको अरू आज्ञाले यसलाई समर्थन गर्छ: “तैंले तिनीहरूलाई यसो भन्, ‘सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “पिऊ, मात र वान्ता गर, लोट र फेरि कहिल्यै नउठ, मैले तिमीहरूका बीचमा पठाएको तरवारको कारणले गर्दा यो हुनेछ।”’ औ यदि तिनीहरूले तेरो हातबाट त्यो कचौरा पिउनलाई इन्कार गऱ्यो भने तैंले तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूले त्यो पिउनै पर्छ। किनभने हेर, जुन शहर मेरो नाउँमा कहलिएको छ त्यसमा म विपत्ति ल्याउनलागेको छु, औ के तिमीहरू दण्ड नपाई बाँच्नेछौ?”’ ‘तिमीहरू दण्ड नपाई छोड़िनेछैनौ, किनभने म पृथ्वीका सबै बासिन्दाहरूको विरुद्धमा तरवार खटाउने छु,’ सेनाहरूका परमप्रभु भन्नु हुन्छ।”
१७ ती शब्दहरू कडा छन्—वास्तवमा डरलाग्दा छन् किनभने ती शब्दहरू सारा विश्वका सार्वभौम प्रभु, यहोवा परमेश्वरले भन्नुभएको हो। उहाँले हजारौं वर्षदेखि आफ्नो पवित्र नाउँको विरुद्धमा गरिएका बेइज्जती, बदनामी र घृणाहरूलाई धैर्यपूर्वक सहँदै आउनु भएको छ। तर अब भने उहाँको प्यारो पुत्र, येशू ख्रीष्टले पृथ्वीमा हुनुहुँदा आफ्ना चेलाहरूलाई सिकाउनु भएको यस प्रार्थनाको उत्तर दिने बेला आइपुगेको छ: “तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर, ‘हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमाझैं यस पृथ्वीमा पूरा होस्।’” (मत्ती ६:९, १०) आफ्नो प्रतिशोध पोखाउने सम्बन्धमा येशू आफ्नो तरवार सरह होस् भन्ने इच्छा यहोवाकै हो।
१८ प्रकाश अध्याय ६ मा सर्वप्रथम येशू ‘विजय गर्दै र विजय गर्न’ सेतो घोडामाथि सवार हुनुभएको हामी पढ्छौं। (पद २) सन् १९१४ मा स्वर्गीय राजाको रूपमा सिंहासनारुढ हुनु भएपछि यसको थालनी भयो। उहाँको पछि-पछि आउने अरू घोडाहरू र घोडसवारहरूले पृथ्वीमाथि आइपरेका ठूला युद्धहरू, अनिकाल र रूढीहरूलाई चित्रित गर्छन्। तर यो उथलपुथल कहिले टुङ्गिने हो? मुक्तिका लागि आत्मिक इस्राएल र सारा जातिबाट एउटा ठूलो भीड जम्मा नहोउञ्जेलसम्म “पृथ्वीका चारै बतासलाई” चार दूतहरूले रोकेर राखेका छन् भनेर हामीलाई प्रकाश अध्याय ७ ले बताउँछ। (पद १) त्यसपछि के हुन्छ?
१९ यर्मिया अध्याय २५, ३० र ३१ पदहरू अगाडि यसो भन्छन्: “‘परमप्रभु उँभोबाट गर्जनुहुनेछ, आफ्नो पवित्र बासस्थानबाट उहाँले आफ्नो सोर सुनाउनुहुनेछ, आफ्नो बथानको विरुद्धमा उहाँ खूब जोरसित गर्जनुहुनेछ, र पृथ्वीका बासिन्दाहरूका विरुद्धमा दाखमद्य कुल्चनेहरूजस्तै कराउनुहुनेछ। हल्लाको प्रतिध्वनि पृथ्वीको पल्लो छेउसम्मै सुनिनेछ, किनभने पृथ्वीका जातिहरूका विरुद्धमा परमप्रभुको अभियोग छ, सब मानिसहरूसित उहाँ मुद्दा लड्नुहुनेछ, औ दुष्टलाई चाहिं उहाँले तरवारले नाश गर्नुहुनेछ,’ परमप्रभु भन्नुहुन्छ।” यसप्रकार यहोवाको क्रोधको कचौराबाट नपिइ कुनै राष्ट्रलाई धरै छैन। त्यसकारण ती चार स्वर्गदूतहरूले यहोवाको क्रोधको प्रचण्ड तूफानी हावालाई मुक्त गर्नुअघि नै आफूलाई अन्य राष्ट्रहरूको दुष्ट्याइँबाट अलग पार्नु प्रत्येक सहृदय व्यक्तिहरूका लागि अत्यावश्यक छ। त्यो हावा वास्तवमा प्रचण्ड नै हुनेछ किनभने पदहरू ३२ र ३३ मा यर्मियाका भविष्यवाणीले यसो भन्छ:
२० “परमप्रभु भन्नुहुन्छ, ‘हेर! विपत्ति एक जातिदेखि अर्को जातिसम्मै फैलिंदै जानेछ, पृथ्वीको पल्लो भागदेखि एउटा ठूलो तूफान चल्नेछ। त्यस दिन परमप्रभुले मार्नुभएकाहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म हुनेछन्। तिनीहरूका निम्ति कसैले विलाप गर्नेछैन, नता ती लाशहरूलाई कसैले जम्मा गर्नेछ, न गाड़नेछ। तिनीहरू जमीनमा मल हुनेछन्।’” साँच्चै नै यो बीभत्स दृश्य हो तर परमेश्वरले प्रतिज्ञा गर्नुभएको प्रमोदवन ल्याउनुअघि पृथ्वीबाट सबै दुष्टता हटाउन यसो गर्नु आवश्यक छ।
गोठालाहरूको विलाप अनि रोदन
२१ यहोवाको न्यायबारे पदहरू ३४ देखि ३६ ले यसो भन्छन्: “विलाप गर, हे गोठाला हो, रोऊ, तिमी बथानका मालिकहरू, खरानीमा लड़ीबड़ी गर। किनभने तिमीहरूका मारिने र तितर-बितर हुने दिनहरू आएका छन्, छानेर राखेका भेड़ाझैं तिमीहरू ढल्नेछौ। गोठालाहरूका निम्ति शरणस्थान रहनेछैन, बथानका मालिकहरूका निम्ति भाग्ने ठाउँ हुनेछैन। गोठालाहरूको रोदन सुन्नथाल्यो, बथानका मालिकहरूको विलाप, किनभने परमप्रभुले तिनीहरूका खर्क नष्ट पार्दैहुनुहुन्छ।”
२२ यी गोठालाहरू को हुन्? तिनीहरू धार्मिक गुरुहरू होइनन्। तिनीहरूले त पहिले नै यहोवाको क्रोध पिइसकेका छन्। तिनीहरू यर्मिया ६:३ मा पनि वर्णन गरिएका युद्धरत गोठालाहरू हुन्, जसले यहोवाको विरुद्धमा झुण्डका झुण्ड फौजहरू जम्मा गर्छन्। यिनीहरू ती राजनैतिक शासकहरू हुन् जो दलितहरूलाई दुःख दिएर धनी भएका छन्। यिनीहरूमध्ये धेरैजसो दलाली र भ्रष्टाचार गर्न खप्पीस छन्। दुरावस्था भएका देशहरूमा अनिकालले सारा मानिसहरू मर्दा पनि त्यसबारे यिनीहरूले मन्द दृष्टि राखेका छन्। हात-हतियार बेच्ने व्यापारीहरू र वातावरण बिगार्ने लोभीहरूजस्ता “बथानका मालिक- हरूलाई” तिनीहरू धनी बनाउँछन् तर चिकित्सा सहायता र पौष्टिक खाद्य-पदार्थजस्ता कुराहरूको प्रबन्ध गर्न भने अस्वीकार गर्छन्। यी कुराहरू दिएको भए मरिरहेका करोडौं केटाकेटीहरूको ज्यादै कम लागतमा पनि ज्यान बचाउन सकिन्थ्यो।
२३ आफ्नो निम्ति मात्र शान्ति खोज्नेहरूका बारेमा यर्मिया अध्याय २५ को पदहरू ३७ र ३८ ले यसो भन्दै समापन गरेकोमा आश्चर्य मान्नुपर्ने केही छैन: “परमप्रभुको भीषण क्रोधले गर्दा शान्तसित रहेका गोठहरू उजाड़ पारिए। सिंहलेझैं उहाँले आफ्नो ठाउँ छोड़नुभएको छ किनभने कठोर तरवार र उहाँको भीषण क्रोधको कारण तिनीहरूको देश उजाड़ भएको छ।” वास्तवमा यो आश्चर्यमय कुरा हो! तथापि, प्रकाश १९:१५, १६ को उल्लेखअनुसार फलामको डण्डाले राष्ट्रहरूलाई शासन गर्नुहुने “राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु” द्वारा यहोवाको अग्निमय क्रोध अवश्य पनि व्यक्त हुनेछ। अनि त्यसपछि?
२४ के तपाईं कुनै भङ्ककर तूफानबाट बच्नु भएको छ? त्यो डरलाग्दो अनुभव हुनसक्छ। तर भोलिपल्ट बिहान चारैतिर सबै कुरा अस्तव्यस्त देख्नु भए तापनि प्रायः हावा यति स्वच्छ अनि शान्त हुन्छ, त्यस्तो सुन्दर दिनको लागि तपाईंले यहोवालाई धन्यवाद दिन सक्नुहुन्छ। त्यस्तैगरि महासङ्कष्टको तूफानी हावाहरू शान्त भएपछि यस पृथ्वीलाई एउटा शानदार प्रमोदवन बनाउने काममा भाग लिन आफूलाई जीवित पाउनु भएकोमा तपाईं यहोवालाई धन्यवाद चढाउन सक्नु हुनेछ। राष्ट्रहरूसँगको यहोवाको विवाद पूरै समाप्त भइसकेको हुनेछ। उहाँको नाउँको पवित्रीकरण अनि सहस्राब्दी मसीही राज्यमा उहाँको इच्छा पूरा हुने बाटो खुलिसकेको हुनेछ। त्यो राज्य छिट्टै आओस्! (w94 3/1)
पुनरावृत्ति यस लेखको अनुच्छेद ५-२४ सम्म
▫ मसीहीजगतको कस्ता ढोङ्गी कामहरूको अहिले न्याय हुने भएको छ?
▫ यर्मिया २५:१२-३८ मा न्यायको कस्तो विस्तृत दृष्टिकोण लिइएको छ?
▫ कुन प्रतिशोधको कचौरा सबै राष्ट्रहरूलाई पालैसँग दिइन्छ?
▫ विलाप गर्ने अनि रूने गोठालाहरू को हुन् र किन तिनीहरू विचलित छन्?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. (क) राजा योशियाहको मृत्युपश्चात् यहूदामा के भयो? (ख) यहूदाका अन्तिम राजा को थिए र तिनले आफ्नो अविश्वासको कस्तो प्रतिफल पाए?
३. सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश सँगसँगै कुन अवधि पनि सुरु भयो र यस अवधिको अन्तमा के हुन लागेको थियो?
४. यर्मियाको भविष्यवाणीसँग सम्बन्धित अब कस्ता प्रश्नहरू उठ्छन्?
५, ६. (क) सन् १९१४ देखि मसीहीजगतको अवस्था कसरी विनाशअघिको यहूदाको अवस्थासँग मिल्दोजुल्दो छ? (ख) आधुनिक यर्मियाले मसीहीजगतलाई कस्तो समाचार दिएको छ?
७. मसीहीजगतले यहोवाको आज्ञा अवहेलना गरेका छन् भन्ने के प्रमाण छ?
८. यर्मिया २५:८, ९ का शब्दहरू मसीहीजगतमाथि कसरी पूरा हुनेछ?
९. हाम्रो समयमा मसीहीजगतको आध्यात्मिक अवस्था कुन तरिकाहरूमा झन् खराब भएको छ?
१०. यहोवाको न्यायदण्डपश्चात् मसीहीजगतको अवस्था वर्णन गर्नुहोस्।
११. मसीहीजगतलाई नाश गर्न कसलाई चलाइनेछ? किन?
१२. (क) यरूशलेमलाई नाश गरेपछि बाबेलमाथि के भयो? (ख) मसीहीजगतको नाशपश्चात् राष्ट्रहरूमाथि के हुनेछ?
१३. “क्रोधको दाखमद्यको कचौरा” को अर्थ के हो र यस कचौराबाट पिउनेजतिलाई के हुन्छ?
१४. यर्मियाको भविष्यवाणीअनुसार कसले यहोवाको क्रोधको दाखमद्यको कचौराबाट पिउनुपर्छ र हाम्रो दिनमा यसले के चित्रण गर्छ?
१५. “शान्ति र सुरक्षा” को नारापछि के हुनेछ?
१६, १७. (क) यहोवाको न्यायदण्डबाट उम्कन खोज्नेहरूको कस्तो हविगत हुन्छ? (ख) कस्तो विध्वंशकारी रूपमा यहोवाको इच्छा पृथ्वीमा चाँडै पूरा हुनेछ?
१८, १९. (क) यहोवाको नाउँमा विजय गर्न को अघि बढ्छ र आफ्नो विजय समाप्त गर्नुअघि उसले कुन कुरालाई पर्खन्छ? (ख) स्वर्गदूतहरूले यहोवाको क्रोधको प्रचण्ड तूफानी हावालाई मुक्त गर्दा पृथ्वीमा कस्ता डरलाग्दा घटनाहरू घट्नेछन्?
२०. कस्तो दृश्यले यहोवाको न्यायदण्डको कठोरतालाई प्रष्ट पार्छ तर यसो गर्नु किन आवश्यक छ?
२१, २२. (क) यर्मिया २५:३४-३६ अनुसार इस्राएलका “गोठालाहरू” को थिए र तिनीहरूलाई विलाप गर्न किन बाध्य गराइयो? (ख) आधुनिक दिनको कुन गोठालाहरू यहोवाको क्रोधको योग्य छन् र किन तिनीहरू क्रोधको योग्य छन्?
२३. यहोवाको विनाशकारी कार्यपश्चात् शैतानको कार्यक्षेत्रको कस्तो हविगत हुन्छ वर्णन गर्नुहोस्।
२४. झूटो धर्म अनि शैतानको बाँकि संसारको नाशले धार्मिक मानवजातिको निम्ति कस्तो आशिष ल्याउनेछ?
[पृष्ठ १८-मा भएको चित्र]
यहोवाले मसीहीजगतको विनाश गर्ने साधन छान्नुभएको छ
[पृष्ठ २२-मा भएको चित्र]
महासङ्कष्टको तुफानी हावापछि एउटा सफा पृथ्वी देखा पर्नेछ