भरोसा पुनर्स्थापित हुनसक्छ!
अहिले भरोसाको हाहाकार हुनु “आखिरी दिन[को]” एउटा चिह्न भए तापनि हजारौं वर्षअघि पनि भरोसाको कमी नभएको चाहिं होइन। (२ तिमोथी ३:१) सर्वप्रथम त त्यस्तो हुनै नपर्ने ठाउँ अर्थात् प्रमोदवनमै भरोसाको कमी देखियो। बाइबलले त्यस ठाउँबारे यसो भन्छ: “परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैंचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीं राख्नुभयो। औ हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो। औ बगैंचाको बीचमा जीवनको रूख औ असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो।”—उत्पत्ति २:८, ९.
अहिले भरोसाको हाहाकार हुनुसँग यसको के सम्बन्ध छ, त्यसपछिका पदहरूले प्रकाश पार्छन्। हामी त्यहाँ यसरी पढ्छौं: “उहाँले [यहोवाले] मानिसलाई यो आज्ञा दिनुभयो, ‘बगैंचाका सबै रूखका फल तैंले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिं नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् त्यसै दिन तँ मर्नेछस्।’ ” (उत्पत्ति २:१६, १७) यहोवाले भन्नुभएको कुरामा शंका गर्ने के आदमसँग कुनै कारण थियो र?
हामी अझै यस्तो पढ्छौं: “परमप्रभु परमेश्वरले बनाउनुभएका वनपशुहरूमध्ये साँप धूर्त थियो। त्यसले स्त्रीलाई भन्यो, “के परमेश्वरले तिमीहरूलाई बगैंचाको कुनै रूखको फल नखानू भनी भन्नुभएको छ?” स्त्रीले साँपलाई भनिन्, “बगैंचाका रूखहरूका फल हामी खानसक्छौं, तर बगैंचाको बीचमा भएको रूखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ, “त्यो चाहिं नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ।” साँपले स्त्रीलाई भन्यो, “तिमीहरू कदापि मर्दैनौ। किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू पनि परमेश्वरजस्तै हुनेछौ।” अनि जब स्त्रीले त्यस रूखको फल खानलाई असल र हेर्नमा रहरलादो, औ कसैलाई बुद्धिमान बन्नलाई सो रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रूखको फल टिपेर खाइन्, र आफ्ना पतिलाई पनि दिइन्, औ तिनले पनि खाए।”—उत्पत्ति ३:१-६.
परमेश्वरले दिनुभएको स्पष्ट चेताउनी बेवास्ता गरेर आदम र हव्वाले यहोवाप्रति भरोसाको कमी देखाए। साँपको माध्यमद्वारा हव्वासँग बोल्ने परमेश्वरको विरोधी शैतानले जसो भन्यो तिनीहरूले त्यसै गरे। यहोवाको शासन पद्धतिमाथि शैतानको भरोसा थिएन। यसैकारण र साथै घमण्ड अनि महत्त्वाकांक्षी हृदयको कारण त्यसले परमेश्वरको विद्रोह गऱ्यो अनि मानिसहरूलाई पनि त्यसै गर्न बहकायो। त्यसले मानिसहरूलाई परमेश्वर भरोसायोग्य हुनुहुन्न भनेर सोच्न उत्प्रेरित गरायो।
परिणाम? तनावपूर्ण सम्बन्ध
अरूप्रति भरोसा नभएका मानिसहरू मित्रताको बन्धनमा रहिरहन नसकेको त तपाईंलाई पनि थाहै होला। सा.यु.पू. प्रथम शताब्दीका ल्याटिन लेखक पुब्लिलुस सुरसले यसरी लेखे: “मित्रताको एकमात्र बन्धन भरोसा हो।” विद्रोह गरेर आदम र हव्वाले परमेश्वरमाथि भरोसा छैन भनी देखाए। अतः परमेश्वरले पनि तिनीहरूलाई भरोसा गर्ने कारणै रहेन। प्रथम मानवहरूले परमेश्वरमाथि भरोसा अथवा विश्वास नगरेर उहाँसितको मित्रता गुमाए। तिनीहरूलाई विद्रोहको सजाय दिनुभएपछि यहोवा फेरि तिनीहरूसँग बोल्नुभयो भन्ने कुनै संकेत पाइँदैन।
आदम र हव्वाबीचको सम्बन्ध पनि चौपट भयो। यहोवाले हव्वालाई चेताउनी दिनुभयो: “दुःखसँग तैंले बालक जन्माउनेछस्, तापनि तेरो इच्छा पतितर्फनै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्नेछ।” (उत्पत्ति ३:१६) द जेरूशलेम बाइबल यसो भन्छ: “त्यसले तँमाथि प्रभुत्व जमाउनेछ।” आदमले परमेश्वरको इच्छाबमोजिम मायालु ढंगमा पत्नीमाथि शिरत्वको अभ्यास गर्नुको साटो हव्वाको मालिक भएर प्रभुत्व जमाए।
तिनीहरूले पाप गरेपछि आदमले पत्नीमाथि दोष थोपार्ने प्रयास गरे। तिनको विचारमा पत्नीकै कारण तिनीहरू सुन्दर प्रमोदवनदेखि वञ्जर पृथ्वीमा खेदिनुपऱ्यो, माटोमा नफर्कुञ्जेल असिद्ध भएर कमारासरह जीवन बिताउने दण्ड भोग्नुपऱ्यो। (उत्पत्ति ३:१७-१९) यही कुरा तिनीहरूबीच झगडाको गुँड भएको हुनुपर्छ भनी हामी कल्पना गर्नसक्छौं। आदमले जंगिएर हव्वाको कुरामा कहिल्यै कान थाप्दिनँ भने होलान्। हुनसक्छ, तिनले हव्वालाई यसो भन्न उचित ठाने, ‘आजदेखि म मालिक हुँ बुझ्यौ!’ अर्कोतर्फ, आदमले परिवारको अगुवाइ लिन नसकेको जस्तो लागेर हव्वाले तिनीमाथि भरोसा राख्नै छाडिन् होला। जेसुकै होस्, मानिसहरूले परमेश्वरमाथि भरोसाको कमी देखाएर उहाँसितको मित्रता गुमाए अनि एकआपसको सम्बन्ध भताभुंग बनाए।
कसमाथि भरोसा राख्नसक्छौं?
आदम र हव्वाको उदाहरणले सबैजना भरोसायोग्य छैनन् भनेर देखाउँछ। त्यसोभए को भरोसायोग्य छ र को छैन, हामी कसरी थाह पाउनसक्छौं त?
भजन १४६:३ हामीलाई यस्तो सल्लाह दिन्छ: “राजाहरूमाथि तँ भरोसा नगर्, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन।” अनि यर्मिया १७:५-७ मा हामी यस्तो पढ्छौं: “श्रापित होस् त्यो मानिस जसले मानिसहरूमाथि भरोसा राख्तछ, र शारीरिक शक्तिलाई आफ्नै तागत सम्झन्छ, जसको हृदय परमप्रभुदेखि टाढा भएको छ।” अर्कोतर्फ, “त्यो मानिस धन्यको हो, जसले परमप्रभुमाथि भरोसा राख्तछ, जसको आशा परमप्रभु हुनुहुन्छ।”
हो, मानिसहरूमाथि भरोसा राख्नु सधैं गलत नै हुन्छ भन्ने होइन। माथि उद्धृत पदहरूले परमेश्वरमाथि राखिएको भरोसा कहिल्यै व्यर्थ हुँदैन तर असिद्ध मानिसहरूमाथि भरोसा राख्नाले विपत्तिको संघारसम्म पुऱ्याउनसक्छ भनेर औंल्याएको मात्र हो। उदाहरणका लागि, परमेश्वरले मात्र गर्न सक्नुहुने उद्धार अनि शान्ति र सुरक्षाका लागि मानिसहरूमाथि भरोसा राख्नेहरू निराश हुनेछन्।—भजन ४६:९; १ थिस्सलोनिकी ५:३.
भनौं भने, मानव तथा मानव संस्थाहरू परमेश्वरका उद्देश्यबमोजिम चलेको र ईश्वरीय सिद्धान्तहरू प्रदर्शित गरेको खण्डमा मात्र तिनीहरूमाथि भरोसा गर्न सकिन्छ। तसर्थ, यदि हामी आफूमाथि अरूले भरोसा राखेको चाहन्छौं भने हामीले इमानदार र भरोसायोग्य भएर सत्य बोल्नैपर्छ। (हितोपदेश १२:१९; एफिसी ४:२५; हिब्रू १३:१८) बाइबल सिद्धान्तहरूअनुरूप चलेको खण्डमा मात्र हामीमाथि अरूले राखेको भरोसा उचित ठहर्नेछ र त्यो पारस्परिक बल अनि प्रोत्साहनको स्रोत साबित हुनेछ।
भरोसाको पुनर्स्थापना
यहोवाका साक्षीहरूसँग परमेश्वरमाथि भरोसा राख्ने र अरूलाई पनि त्यसै गर्न प्रोत्साहन दिने ठोस आधार छ। यहोवा विश्वासयोग्य र वफादार हुनुहुन्छ। उहाँले भन्नुभएका हरेक कुरा पूरा गर्नुहुनेछ भनी विश्वस्त हुनसक्छौं किनकि “परमेश्वरलाई झूट बोल्न असम्भव छ।” प्रेमको परमेश्वरमाथि भरोसा राख्दा कहिल्यै निराशामा डुब्नुपर्नेछैन।—हिब्रू ६:१८; भजन ९४:१४; यशैया ४६:९-११; १ यूहन्ना ४:८.
एकताबद्ध भएर यहोवामाथि भरोसा राख्ने अनि उहाँका सिद्धान्तहरूअनुरूप जीवन बिताउनेहरू एकआपसमा भरोसा राख्न उत्प्रेरित हुन्छन्। भरोसाको हाहाकारमा रन्थनिएको यस संसारमा भरोसायोग्य मानिस पाउनु कत्ति आनन्दको कुरा हो! यसो कल्पना गर्नुहोस् त, हरेक मानिसको वचन र कार्यमा पूर्णतया भरोसा राख्न सकिए यो संसारको रूप नै अर्कै हुन्थ्यो! परमेश्वरले प्रतिज्ञा गर्नुभएको नयाँ संसारमा यस्तै हुनेछ। फेरि कहिल्यै भरोसाको हाहाकार हुनेछैन!
के तपाईं त्यतिखेर बाँच्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, परमेश्वरले चाहनुहुने कुराहरू अझ बढी सिकेर उहाँ र उहाँका प्रतिज्ञाहरूमाथिको भरोसालाई अझ बलियो बनाउन यहोवाका साक्षीहरू तपाईंलाई आह्वान गर्छन्। बाइबल अध्ययनले परमेश्वरको अस्तित्व छ, उहाँ मानिसजातिको हितप्रति चासो राख्नुहुन्छ अनि उहाँले अब छिट्टै आफ्नो राज्यद्वारा संसारका समस्याहरू समाधान गर्नुहुनेछ भनेर देखाउँछ। लाखौंले परमेश्वर र उहाँको वचन बाइबलमाथि भरोसा राख्न सिकेका छन्। तपाईंलाई यहोवाका साक्षीहरू खुसीसाथ निश्शुल्क बाइबल अध्ययनको जनसेवा प्रदर्शित गर्नेछन्। अथवा थप जानकारीका लागि यस पत्रिकाको प्रकाशकलाई पत्राचार गर्नुहोस्।
[पृष्ठ ५-मा भएको ठूलो अक्षरको क्याप्सन]
परमेश्वरमाथि भरोसाको कमी हुँदा मानिसहरूको सम्बन्ध भताभुंग भयो
[पृष्ठ ६-मा भएको ठूलो अक्षरको क्याप्सन]
परमेश्वरका उद्देश्यबमोजिम चलेको खण्डमा मात्र मानिसहरूमाथि भरोसा गर्न सकिन्छ