यहोवाको दिव्यज्योतिर्मय रथ अघि बढ्छ
“ती पांग्राहरूलाई ‘हुरूरूरू घुम्ने’ भनिएको मैले सुने” —इजकिएल १०:१३.
१. यहोवाकहाँ कुन प्रकारको सवारी साधन छ?
चिप्लो र टल्कने जेट वायुयान भएका यी दिनहरुमा, विश्व नेताहरुले भनिठान्लान् कि तिनीहरुले यात्रा साधन कौशलमा चरम सीमाको आनन्द उठाई रहेका छन्। तरैपनि, २,६०० वर्ष अघि, यहोवा परमेश्वरले प्रकाश पार्नुभयो कि उहाँकहाँ यस्तो अत्युत्तम सवारी साधन छ, जसको बराबरी कुनै यन्त्रकारले कहिलै देखेको छैन। यो एउटा विशाल, डर उत्पन्न गराउने रथ हो! के ब्रह्माण्डको सृष्टिकर्ता एउटा रथ जस्तो वाहनमा सवारी हुनुहुन्छ भन्ने कुरो अनौठो हो? अहँ, किनभने यहोवाको दिव्य वाहन मानिसले चिताएको कुनैपनि वाहन भन्दा एकदम फरक छ।
२. इजकिएल अध्याय १ ले यहोवाको दिव्यज्योतिर्मय रथलाई कुन प्रकारले चित्रित गरेको छ, र अगमवक्ताले हाम्रो ध्यान पहिले कता तिर खिच्छन्?
२ इजकिएलको भविष्य वाणीको पहिलो अध्यायमा, यहोवालाई एउटा अजङ्गको दिव्य ज्योतिर्मय स्वर्गीय रथमा चढ्नुभएको चित्रित गरिएको छ। यो डर उत्पन्न गराउने चार पांग्रे वाहन स्वचालित छ र अचम्मका कार्यहरु गर्न सक्छ। इजकिएलले यो स्वर्गीय रथलाई सा. यु. पू ६१३ सालमा, एउटा दर्शनमा देख्यो जब तिनी प्राचीन बेबिलोनको एउटा जलनिर्गमको किनारमा थिए। भविष्यद्वक्ताले पहिले हाम्रो ध्यानलाई यहोवाको दिव्य रथको सेवा टहल गर्नेहरु तर्फ खिच्छन्। जसो हामी पढदै जान्छौं, इजकिएलले देखेको कुरोलाई हामीहरु दृष्टिगत गर्न खोजौं।
चार जीवित प्राणीहरु
३. प्रत्येक करुबको चार मोहडाले के जनाउँछ?
३ इजकिएल विवरण दिन्छ: “औ मैले आँधी-बेह्री र घना बादल उत्तरबाट आइरहेको देखें। बादलको चारैतिर उज्यालो थियो औ एकोहोरो आगो चम्किरहेको थियो . . . र त्यसको बीचबाट चार जीवित प्राणीहरुझैं देखा परे। (इजकिएल १:४, ५) ती चार जीवित प्राणीहरु, अर्थात् करुबहरु, प्रत्येकका चार पखेटा, अनि चार मोहडा थिए। तिनीहरुको एउटा मोहडा सिंहको जस्तै, यहोवाको न्यायलाई जनाउदै, एउटा गोरूको झै, परमेश्वरको शक्तिको प्रतिनिधित्व गर्दै, अनि एउटा चीलको मोहडा, उहाँको बुद्धिलाई इङ्गित गर्थ्यो। तिनीहरुको मानिसको जस्तै मोहडा पनि थियो, जसले यहोवाको प्रेमलाई तोकछ।—व्यवस्था ३२:४; अय्यूब १२:१३; यशैया ४०:२६; इजकिएल १:१०; १ यूहन्ना ४:८.
४. ती करुबहरुका चार मोहडा किन भएको, र रफ्तारमा ती करुबहरु कस्ता थिए?
४ प्रत्येक करूबको एउटा मोहडा चार दिशाको एक दिशा तिर हेरेको हुन्थ्यो। यसर्थ, ती करुबहरुले तुरून्तै दिशा परिवर्तनगर्न सक्थे र इच्छागरेको दिशातर्फ फर्केको मोहडालाई पछ्याउन सक्थे। तर रफतारबारे ती करुबहरु कस्ता थिए? किन नि, तिनीहरु ता चट्यांगको वेगमा चल्न सक्थे! (इजकिएल १:१४) कुनै पनि मानिसले बनाएको वाहनले त्यो गति प्राप्त गर्न सकेको छैन।
५. इजकिएलले त्यो रथको पांग्राहरु र तिनका घेराहरुको बखान कसरी गरे?
५ एक्कासी, रथको पांग्राहरु दृष्टिमा आउँछन्। ती कति असामान्य छन्! १६ अनि १८ पदहरु भन्दछ: “तिनीहरुको रूप अनि बनावट चाहिं पांग्राभित्र पांग्रा भएझैं थियो। ती पांग्राका घेराहरुको उँचाई यति थियो कि तिनीहरुले डर उत्पन्न गराउथे; ती चारै घेराका वरिपरि आँखाहरुले भरिएका थिए।” प्रत्येक करुबनेर एउटा पांग्राको परिणाम हुन्छ चार पांग्रा चार सम्बन्धित ठाँउहरुमा। ती पांग्राहरु फिरोजा, एक प्रकारको प्रकाशभेध अर्थात् पारभासक पहेंलो अथवा हरियो पत्थरझैं चमक्नथ्यो। यसले यो गौरवमय दर्शन माथि उज्यालो अनि सुन्दरता थप्छ। किनकि पांग्राहरुका घेराहरु “वरिपरि आँखाहरुले भरिएका थिए”, तिनीहरु अन्धा-धुन्ध जता मन लाग्यो त्यहि दिशातर्फ गएका थिएनन्। अनि पांग्राहरु अपरिमित ऊँचो थिए, यसकारण तिनका अक्षका केवल एउटा परिक्रमाले असामान्य दूरी ढाक्न सक्थ्यो। तिनीहरु, ती चार करुब जस्तै, चट्यागं सरी चल्न सकथ्ये।
पांग्राभित्र पांग्रा
६. (क) त्यो रथको पांग्राभित्र पांग्रा कुन रीतिमा भएको? (ख) ती पांग्राहरुले आफ्नो चाल कसको अनुरुप गर्थे?
६ अर्को कुरो पनि असामान्य थियो। प्रत्येक पांग्राभित्र एउटा पांग्रा थियो—त्यही व्यास भएको जसद्वारा मूल पांग्राभित्र त्यो तेर्सो भएर अटेको थियो। केवल यसप्रकारले नै त्यो पांग्रालाई “तिनीहरु हिंड्दा तिनीहरु चारैपट्टि कुनै पनि तर्फ हिंडथे” भन्न मिल्छ। (पद १७) तत्कालै, ती पांग्राहरुले दिशा परिवर्तन गर्नसक्थे किनभने पांग्राको एउटा बगल प्रत्येक दिशातर्फ फर्केको थियो। ती पांग्राहरुले आफ्नो चाल ती चार करुब अनुरुप संचालन गर्थे। ती चार पांग्राहरु माथि, परमेश्वरको रथको अंग अदृश्य आड माथि अडिन सकथ्यो जस्तै गरि एउटा शक्तिशाली मोटर डुङ्गा जब पानी माथि उडछ् तब हावाको गद्दीले त्यसलाई थाम्छ।
७. ती पांग्राहरुका शक्ति स्रोत के थियो?
७ ती चार करूब अनुरुप आफ्नो चाल बढाउने शक्ति त्यो पांग्राहरुले कहाँबाट पाए? सर्वशक्तिमान परमेश्वरको पवित्र आत्माबाट। पद २० भन्छ: “आत्माले जता जान लान्थे, तिनीहरु त्यतै जान्थे . . . ती जीवित प्राणीहरुका आत्मा तिनै पांग्रामा थिए।” परमेश्वरको जुन अदृश्य सक्रिय शक्ति करुबहरुमा थियो, ती पांग्राहरु भित्र पनि त्यही शक्ति थियो।
८. ती पांग्राहरुलाई के नाम दिइएको थियो, र किन?
८ ती पांग्राहरुलाई “हुरुरुरु घुम्ने” भनेर उल्लेख गरिएको थियो। (इजकिएल १०:१३) यसबाट प्रत्यक्ष भयो कि प्रत्येक पांग्राले के काम गर्छ। यो कि ता गुडछ अथवा फनफनी घुम्छ। त्यो दिव्यज्योतिर्मय रथको यो भागलाई यसरी खुट्याउनाले यो दिव्य ज्योतिर्मय रथको हिड्ने गतिमाथि ध्यान आकर्षित गर्छ। त्यसका पांग्राहरु वेगले फनफनी घुमेतापनि, तिनीहरुका आँखाको प्रशस्तताले गर्दा तिनीहरु सदैव आफ्नो बाटो देख्न सक्थे।
९. त्यो रथको तेज-चल्ने चार पांग्राहरुमाथि जे थियो त्यसलाई इजकिएलले कसरी वर्णन गरे?
९ तर अब हामीहरु हेरौं र बुझौं ती डरलाग्दा उचाँइ भएको, तेज-चल्दो चार पांग्राहरु माथि के छ। इजकिएलको अध्यायको १ को २२ पद भन्छ: “ती जीवित प्राणीको शिरको मास्तिर आकाशजस्तै देखिन्थ्यो डरलाग्दो बरफको झलमल्ल जस्तै, औ तिनीहरुका शिरहरुमाथि फिंजिएको।” (न्यु वर्ल्ड) त्यो विस्तीर्ण क्षेत्र, ठोस भएतापनि, पारभासक थियो, “डरलाग्दो बरफको झलमल्ल जस्तै।” जसै घाम त्यसमाथि पर्दथ्यो त्यो लाखौं हीराझै झलमल्ल हुन्थ्यो। साँचै नै डर-उत्पन्न गराउने!
महिमायुक्त रथ सवार
१०. (क) त्यो राजगद्दी र त्यसमाथि विद्यमान को बयान कसरी गरियो? (ख) रथ सवार महिमाले घेरिएको छ भन्ने तथ्यले के जनाउँछ?
१० प्रत्यक्ष छ, त्यो रथ थामियो त्यसको रथीलाई इजकिएलसँग बोल्न दिनको निम्ति। त्यो विस्तीर्ण क्षेत्र माथि, राजगद्दी जस्तै केही छ, छाँटकाँटमा नीरमणि, अर्थात गाढा नीलो झैं। राजगद्दीमाथि, कोही छ जसको छाँटकाँट मानिसको जस्तो छ। त्यो मानव आकारले इजकिएललाई यो ईश्वरीय आविर्भावको मूल्याङ्कन गर्न राम्ररी सहायता गर्न सक्थ्यो। तर त्यो मानव आकार महिमाले घेरिएको छ, जुनकारणले त्यो राजतसुवर्ण जस्तै टल्कन्थ्यो, जुन चाँदी अनि सुनको ज्वलन्त मिश्रित धातु हो। कस्तो थरथर कमाउने सुन्दरता! यो मानव आकारको कमरदेखि, त्यो ललित महिमाको माथि अनि मुनि दुवै तिर फैलिएको छ। यसप्रकार त्यो सम्पूर्ण आकार महिमाले घेरिएको छ। यसले यो दर्शाउँछ कि यहोवाको गौरव अवर्णनीय छ। यस अतिरिक्त, यो रथ सवारसँग एउटा लावण्यमय इन्द्रेनी छ। आँधीबेरी पश्चात इन्द्रेनीले कस्तो साम्य अनि निश्चलताको सन्देश दिन्छ! उहाँको प्रवृत्ति साम्य भएको हुनाले, यहोवाले बुद्धि, न्याय, शक्ति, र प्रेमको विशेष गुणहरु अच्युत संतुलनमा राख्नुहुन्छ।
११. यहोवाको रथ र राजगद्दीको दर्शनले इजकिएलमाथि कस्तो प्रभाव पाऱ्यो?
११ यहोवाको रथ अनि राजगद्दी उज्यालो र सुन्दर रँगहरुले घेरिएका छन्। अन्धकारको र रहस्यमय ज्ञानको राजकुमार, शैतानको ठीक उल्टो! अनि यी सबैले इजकिएलमाथि कस्तो प्रभाव पाऱ्यो? “जब मैले त्यो देखें,” उनी भन्दछन्, “तब म घोप्टो परें, औ कोही बोलिरहेको सोर मैंले सुनें।”—इजकिएल १:२८.
रथले के चित्रित गर्छ
१२. यहोवाको दिव्यज्योतिर्मय रथले के चित्रित गर्छ?
१२ यो उदेकलाग्दो रथले के चित्रित गर्छ? यहोवाको दिव्यज्योतिर्मय, अर्थात स्वर्गीय संगठन। अदृश्य भुवनमा उहाँको पवित्र आत्मिक प्राणीहरु—सराफहरु, करुबहरु, र स्वर्गदूतहरु द्वारा यो निर्मित छ। किनकि यहोवा परमेश्वर सर्वोच्च परमेश्वर हुनुहुन्छ, उहाँका सबै आत्मिक प्राणीहरु उहाँको अधिनमा छन्, अनि तिनीहरु माथि सवार हुनुहुन्छ यस अर्थमा कि उहाँले तिनीहरुमाथि हितकारी प्रभुत्व गर्नुहुन्छ र तिनीहरुलाई आफ्नो उद्देश्यनुसार चलाउनुहुन्छ।—भजनसंग्रह १०३:२०.
१३. (क) यहोवा आफ्नो संगठनमाथि सवार हुनुहुन्छ भनी किन भन्न सकिन्छ? (ख) यहोवाको चार पांग्रे रथ अघि बढेको दर्शनले तपाईंलाई कसरी प्रभाव पाऱ्यो?
१३ रथमा चढेझैं यहोवा यो संगठनमाथि सवार हुनुहुन्छ, जसले गर्दा जता-जता उहाँको आत्मालाई जान मन लाग्छ उतै उतै उहाँले यसलाई हाँक्नुहुन्छ। यो बेअन्दाज, अनियन्त्ति र बुद्धिमानी सुपरीक्षण विना दगुर्दैन। यो संगठनलाई जता मन लाग्यो त्यो दिशामा परमेश्वरले जान दिनु हुँदैन। बरु, यसले उहाँको निर्देशनलाई पछ्याउँछ। एकजूट भएर, सबै परमेश्वरको अभिप्रायहरुको पूर्ण सम्पादनको निम्ति अघि बढी रहेका छन्। यहोवाको चार-पांग्रे दिव्यज्योतिर्मय रथ अघि बढेको दर्शनबाट थाहा लाग्छ कि यो स्वर्गीय संगठन कस्तो उदेकलाग्दो छ! यसैसँग सुस्वरतामा, यहोवाको संगठनलाई चतुर्कोण, अर्थात् अच्युत संतुलनमा छ भनी देखाएको छ।
पालेझैं नियुक्त
१४. इजकिएल अगमवक्ताले कसलाई चित्रित गर्छ?
१४ तर अगमवक्ता इजकिएलले कसलाई चित्रित गर्छ? इतिहासको प्रमाणबाट, यो प्रष्ट छ कि आत्माद्वारा अभिषिक्त यहोवाका साक्षीहरु त्यो दिव्य रथसँग संलग्न छन्। यसप्रकार, १९१९ उप्रान्त इजकिएलले यहोवाको बाँकि अभिषिक्त जनहरुलाई चित्रित गर्छ। आध्यात्मिक तवरमा, परमेश्वरको स्वर्गीय संगठनले त्यही सालमा बाँकि अभिषिक्तहरुसँग सम्पर्क गरे, तिनीहरुलाई विश्वभरि यहोवाका साक्षी भनेर पुनःप्रेरित गर्नुको लागी। (तुलना गर्नुहोस् प्रकाश ११:१–१२।) त्यो रथसरह संगठन त्यत्ति बेला अघि बढी रहेको थियो, जसरी आज पनि छ। वास्तवमा, यसको उन्नतिको पांग्रो पहिले भन्दा छिटो घुमिरहेछ। यहोवा वेगमा अघि बढनुहुँदैछ!
१५. दिव्यज्योतिर्मय रथ सवारको वाणीले के भन्छ, र इजकिएललाई के गर्न खटाइयो?
१५ त्यो दिव्य रथ उसको अगाडि खिचिएर अडिनुको अर्थ जान्न इजकिएललाई रहर भयो। जब एउटा वाणी रथ माथि बसिरहेकोबाट आउँदा, उसले थाहा पायो। यो डर-उत्पन्न गराउने दृश्य देख्दा भावले दबिएर, इजकिएल घोप्टो परे। सुन्नुहोस् जसै दिव्यज्योतिर्मय रथको सवार भन्दछ: “हे मानिस, खडा हो, र म तँसित कुरा गर्नेछु।” (इजकिएल २:१) यहोवाले तब इजकिएललाई पाले र इस्राएलको घरानालाई चेताउनी दिनु भनी नियुक्त गर्नु हुन्छ। उनलाई इश्वरीय नाममा बोल्न पनि आदेश दिनुभयो। इजकिएलको नामको अर्थ हो “परमेश्वरले बलियो पार्नु हुन्छ।” यसकारण यस्तो भएको छ कि परमेश्वरले इजकिएल वर्गलाई बलियो तुल्याउनुभएको छ र बाहिर पठाउनुभएको छ, मसीही जगतको निम्ति पाले खटाएर।
१६, १७. (क) दिव्यज्योतिर्मय रथको दर्शनले इजकिएललाई के लाभ दियो? (ख) हाम्रो दिनमा, त्यो दिव्यज्योतिर्मय रथको दर्शनको समझले इजकिएल वर्ग अनि ठूलो भीडमाथि कस्तो प्रभाव पारेको छ?
१६ त्यो दिव्यज्योतिर्मय रथको दर्शनले इजकिएलको मतिलाई स्थिरगर्ने र रन्थन्याउने काम गऱ्यो भने, अर्कोतिर उसलाई पालेभएर यरुशलेमको आउँदो विनाशको चेताउनी दिने आयुक्तिको लागि पनि तैयार पाऱ्यो। आजको पाले वर्गको निम्ति पनि यो कुरो साँचो भएको छ। यहोवाको दिव्यज्योतिर्मय रथ अघि बढ्दै गरेको दर्शनको समझले बाँकि अभिषिक्तहरु माथि पनि ठूलो प्रभाव पारेको छ। १९३१ मा तिनीहरुले इजकिएलको दर्शनबारे अझ थप जानकारी पाए, जुन भिन्ʹडीकेशन्, बुक वन, ले प्रकाश पाऱ्यो। तसर्थ, तिनीहरु आत्मसंयमी मूल्याङ्कनले यति भरिए कि अक्टोबर १५, १९३१ देखि लिएर, अगस्त १, १९५० सम्म, द वॅचटावर् को मुख्य पृष्ठ नक्शाको माथिल्लो दाहिने पट्टीको कुनामा इजकिएलको दर्शनको त्यो दिव्यज्योतिर्मय रथको एउटा चित्रकारको परिकल्पना हुन्थ्यो। यसप्रकार, इजकिएल वर्गले तिनीहरुले पाएका आयुक्ति कायम मुकायम गरेका छन्, र पाले भई इश्वरीय चेताउनीको ध्वनि सुनाएर सेवा गरिरहेका छन्। आफ्नो दिव्यज्योतिर्मय रथ माथि सिंहासनारुढ यहोवा परमेश्वरबाट मसीही जगतमाथि आउने अग्निमय विनाशको समय आज भन्दा नजिक कहिले भएको थिएन!
१७ आज, भेडा खालका मानिसहरूको “एउटा ठूलो भीड” बाँकि अभिषिक्तसँग संलग्न छ। (प्रकाश ७:९) एकजूट भएर, तिनीहरु मसीही जगत र यो राक्षसी रीतिरिवाज माथि आउँदै गरेको विनाशको चेताउनीको ध्वनि बजाउँदैछन्। यो चेताउनी दिने काम छिटो छिटो अघि बढदैछ, र प्रकाश १४:६, ७ ले इङ्गित गरे जस्तै स्वर्गदूतहरुले यसको समर्थन गरिरहेका छन्।
दिव्यज्योतिर्मय रथसँग अघि बड्न
१८. स्वर्गदूतहरुको निरन्तर समर्थन पाउनको लागि के गर्नुपर्छ, अनि के मा हामीहरु संवेदनशील हुनु पऱ्यो?
१८ इश्वरीय न्यायको चेताउनी दिने काम पूरो गर्न यहोवाको पार्थिव सेवकहरुले पाएको अधिकारलाई सहायता दिदैं, ती वश्य स्वर्गदूतहरु मिलोमतोमा परमेश्वरको स्वर्गीय संगठनमा भाग लिन्छन। यदि हामीहरुलाई परमेश्वरका यी बलिष्ट स्वर्गीय सेवकहरुबाट लगातार संरक्षण र मार्ग दर्शनको आकांक्षा गर्छौं भने, हामीहरु पनि मिलोमतोमा चल्नुपऱ्यो र त्यो लाक्षणिक हुरुरुरु धुम्ने पांग्राहरुसँग बराबर अघि सर्नुपऱ्यो। अझ, यहोवाको दृश्य संगठनको भाग भएर उहाँको दिव्यज्योतिर्मय रथको बराबर चल्दै, परमेश्वरको आत्माको नेतृत्व प्रति हामीहरु संवेदनशील हुनुपऱ्यो। (तुलना गर्नुहोस् फिलिप्पी २:१३।) यदि हामीहरु यहोवाका साक्षीहरु हौं भने, त्यो दिव्यज्योतिर्मय रथ जुन दिशामा जान्छ त्यहि दिशामा हामीहरु लाग्नु पर्छ। अवश्य पनि त्यसको तेर्सो-उद्देश्यमा हामीहरुले कामगर्नु भएन। हामीहरु जानुपर्ने बाटोको निर्देशन पाएपछि, त्यसलाई पछ्याउनु पऱ्यो। यसप्रकार, मण्डली विभाजित हुने छैन।—१ कोरिन्थी १: १०.
१९. (क) जसरी त्यो दिव्यज्योतिर्मय रथको पांग्राहरु वरिपरि आँखाहरु छन्, त्यस्तै प्रकारले यहोवाको जन के प्रति सतर्क हुनुपऱ्यो? (ख) यी कलहकारी दिनहरुमा हाम्रा गतिविधि क्रम कस्तो हुनु पऱ्यो?
१९ परमेश्वरको रथको पांग्राहरुको वरिपरि आँखाहरुले सतर्कता जनाउँछ। जसरी त्यो स्वर्गीय सँगठन सतर्क छ, त्यसरी नै हामीहरु पनि यहोवाको पार्थिव संगठनलाई समर्थन गर्न सतर्क हुनुपऱ्यो। मण्डलीय स्तरमा, हामीहरुले आफ्नो समर्थन देखाउनु सक्छौं स्थानीय प्राचीनहरुलाई सहयोग दिएर। (हिब्रू १३:१७) अनि यी कलहकारी समयहरुमा, मसीहीहरु यहोवाको संगठनसँग एकदमै नजीक टाँसिनु पऱ्यो। घटनाहरुमाथि हाम्रो आफ्नो अर्थ हामीहरु राख्ने इच्छा गर्दैनौं, नत्रता हामीहरु यहोवाको दिव्यज्योतिर्मय रथसँग हिडीरहेको हुनेछैनौं। हामीहरु आफैलाई सधैं सोध्ने गरौं, ‘दिव्यज्योतिर्मय रथ कुन दिशामा जाँदैछ होला?’ यदि हामीहरु परमेश्वरको दृश्य संगठनसाथ हिड्छौं भने, हामीहरु अदृश्य संगठनसँग पनि हिंडी रहेको हुनेछौं।
२०. फिलिप्पी ३:१३–१६ मा प्रेरित पावलले के असल सल्लाह दिएका छन्?
२० यस सम्बन्धमा, पावलले लेखे: “ए भाइ हो, मैलै पक्री सकेको छु भनी म अझै सम्झन्नँ, तर पछाडिका कुराहरुलाई बिर्सेर अगाडिका कुराहरुतिर लम्केर म एउटा काम गर्छु। ख्रीष्ट येशूमा परमेश्वरको, उच्च बोलावटको पुरस्कारको निम्ति निशानातिर म अगाडि बढदछु। यसैकारण हामी परिपक्वहरू (न्यु वर्ल्ड) चाहिं सबै यस्तै मनका होऔं। औ तिमीहरु कोही केही कुरामा भिन्न विचारका छौ भने परमेश्वरले तिमीहरुलाई यो पनि प्रकट गरिदिनुहुनेछ। केवल जतिसम्म हामीले प्रगति गरिसकेका छौं, त्यही नित्यक्रम बमोजिम हामी व्यवस्थित भएर हिडीरहौं।”—फिलिप्पी ३:१३–१६ न्यु वर्ल्ड.
२१. के नित्यक्रम पछ्याएमा यहोवाको संगठन सँगसँगै आध्यात्मिक उन्नतिगर्न संभव हुन्छ?
२१ यहाँ “नित्यक्रम” शब्दको अर्थ हामीहरुले आफैलाई झिक्नु नसक्ने नराम्रो चत्रक्रम होइन। यहोवाको सेवकहरुकहाँ असल नित्यक्रम हुन्छ जसद्वारा तिनीहरु आध्यात्मिक उन्नति गर्छन्। यो नित्यक्रम हो, व्यक्तिगत बाइबल अध्ययनमा लाग्नु, मण्डलीको सभाहरुमा भाग लिनु, नियमित रुपमा राज्यको सुसमाचारको प्रचारगर्नु, र यहोवाको स्वर्गीय संगठनको गुणहरु प्रतिबिम्ब गर्नु। यस्तो नित्यक्रमले तिनीहरुलाई यहोवाको दिव्यज्योतिर्मय रथसरी संगठनलाई पछ्याउने सामर्थ्य दिन्छ। यो काइदामा लागि रहेर, हामीले आफ्नो लक्ष प्राप्त गर्नेछौं, कि त स्वर्गमा अविनाशी जीवनको पुरस्कार अथवा पार्थिव प्रमोदवनमा अनन्त जीवन।
२२. (क) बाँकि अभिषिक्त जन र अरू भेडाको ठूलो भीड मिलेर संगठीत हुनको निम्ति, के गर्नुपर्नेछ? (ख) यहोवाको दृष्टिबाट के कुरो उम्किंदैन?
२२ यूहन्ना १०:१६ ले औंल्याएझैं, “अरु भेडा” र इजकिएल वर्ग मिलेर संगठित हुनेछन्। यसकारण, यहोवाको संगठनमा भएका सबैले इजकिएलको अध्याय १ को यथेष्ट अर्थ र महत्व पक्रनु अनिवार्य छ यदि तिनीहरुलाई परमेश्वरको दिव्यज्योतिर्मय रथसँग मिलोमतोमा चल्नु छ भने। यसको दर्शनले हामीहरुलाई यो मूल्याङ्कन गर्न सहायता दिन्छ कि हामीहरु परमेश्वरको संगठन, दृश्य अनि अदृश्यसँग सुस्वरतामा चल्नु पर्छ। यो पनि मनमा राख्नुहोस्, कि, यहोवाको आँखाहरु “जसका हृदय उहाँ प्रति भक्त छन् तिनीहरुलाई सहायता र सान्त्वना दिन सारा पृथ्वी भरिनै घुमिरहन्छ।” (२ इतिहास १६:९) एउटा कुरो पनि यहोवाको दृष्टिबाट उम्किन्दैन, विशेष गरि आफूलाई सार्वभौमिक सम्राट सिद्ध गर्ने विषयमा कुनै पनि थोक।
२३. यहोवाको दिव्यज्योतिर्मय रथ अघि बढी रहेको हुनाले, हामीहरुले के गर्नु पऱ्यो?
२३ यहोवाको दिव्यज्योतिर्मय रथ आज अवश्य नै अघि बढीरहेको छ। चाँडै त्यो रथमाथि सवार यशस्वी रथीको अनुरुप सबै थोक गौरवमा आउनेछन्—सबै उहाँलाई सार्वभौमिक प्रभु सिद्ध गराउनुको निम्ति। उहाँका सराफहरु, करुबहरु, र स्वर्गदूतहरुले हामीहरुलाई यो विश्वव्यापी प्रचारको महान काममा हाम्रो समर्थन गरिरहेका छन्। त्यसो भए, हामीहरु, यहोवाको स्वर्गीय संगठन सँगसँगै अघि बढौं। तर त्यो छिटो-चल्ने दिव्यज्योतिर्मय रथसँग कसरी पाइला चाल्न सकौंला? यस पत्रिकाको अर्को अंकले यस बारे छलफल गर्नेछ। (w91 3/15)
तपाईले कसरी जवाफ दिनुहुन्छ?
▫ इजकिएलले देखेको चार जीवित प्राणीहरुले के गुणहरुको प्रतिनिधित्व गर्छ?
▫ यहोवाको दिव्यज्योतिर्मय रथले के चित्रित गर्छ?
▫ परमेश्वरको अगमवक्ता इजकिएलले कसलाई चित्रित गर्छ?
▫ यहोवाको दिव्यज्योतिर्मय रथको समझले इजकिएल वर्ग र ठूलो भीडलाई कसरी प्रभाव पारेको छ?