यहोवाको ईश्वरीय रथ सँग-सँगै हिंड्नुहोस्
“तैंले तिनीहरूलाई मेरो वचन सुना, चाहे तिनीहरूले सुनून् वा सुन्नलाई अस्वीकार गरून्।”—इजकिएल २:७.
१, २. इजकिएलले कुन शाही रथलाई देखे र तिनलाई के भनियो?
यहोवाको ईश्वरीय रथ उहाँका सेवकहरूको सामुन्ने अब उभिएको छ। तिनीहरूले विश्वासका आँखाहरूद्वारा, आफ्ना सार्वभौम प्रभुको त्यो शाही सवारी देख्तछन्। त्यो सवारी महिमायुक्त, भीषण र वैभवशाली छ।
२ त्यही शाही रथ, करीब २,६०० वर्ष अघि, परमेश्वरका अगमवक्ता इजकिएलको सामुन्ने आएर खड़ा भएको थियो। सिंहासन राखिएको यो रथ—अथवा आत्मिक प्राणीहरूले बनेको परमेश्वरको स्वर्गीय सङ्गठनबाट—यहोवाले इजकिएललाई यो अद्भुत आदेश दिनु भयो: “तिनीहरू निर्लज्ज र ढीट छन्। म तँलाई तिनीहरूकहाँ पठाउँछु, औ तैंले तिनीहरूलाई भन्नेछस्, परमप्रभु [यहोवा, न्यु. व.] परमेश्वर भन्नु हुन्छ। औ तिनीहरूले सुने पनि वा सुन्नलाई अस्वीकार गरे तापनि (किनभने तिनीहरू वागी सन्तान हुन्) तिनीहरूले आफ्ना बीचमा एउटा अगमवक्ता ता रहेछन् भन्ने कुरा जान्नेछन्।”—इजकिएल २:४, ५.
३. आजको आधुनिक समयमा, इजकिएलको भूमिका कसले निभाइ रहेछ?
३ ईश्वरीय हातको एक मात्र माध्यम भएर सेवा गर्दै इजकिएलले त्यो जिम्मेवारी दृढ़ताका साथ निभाए। त्यसैगरी, आज पनि परमेश्वरको प्रत्यक्ष नियन्त्रणमा एक मात्र सङ्गठनात्मक माध्यम छ। इजकिएल श्रेणी, अथवा शेष अभिषिक्त जनहरूले आखिरी साक्षी दिने कामको अगुवाइ गरिरहेका छन् र तिनीहरूलाई “ठूलो भीड़,” अर्थात् “अरू भेड़ाहरूले” वरिपरिबाट समर्थन दिइरहेकाछन्। (प्रकाश ७:९, १०; यूहन्ना १०:१६) असल गोठाला येशू ख्रीष्टसँग मिलेर तिनीहरू “एकै बगाल” भएका छन्, र उहाँले नै महान रथ चालक यहोवा परमेश्वरको अधीनमा तिनीहरूको नेतृत्व गर्दै हुनु हुन्छ।
४, ५. परमेश्वरको दृश्य सङ्गठनको सुरूआत कसरी भयो र यशैया ६०:२२ अनुसार, यसले के अनुभव गरेको छ?
४ यो विश्वव्यापी सङ्गठनको सुरूआत सानो भएता पनि, यहोवाको निर्देशनमा यस्को वृद्धि भएको छ र आज “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देओ; किनकि उहाँको ठूलो इन्साफको समय आएको छ र स्वर्ग, पृथ्वी, समुद्र र पानीका मूलहरू बनाउनुहुनेलाई दण्डवत् गर” भन्ने आदेशको घोषणा गर्ने एउटा शक्तिशाली माध्यम हुन गएको छ। (प्रकाश १४:७) जसरी इजकिएलले आफैले आफैलाई परमेश्वरको अगमवक्ता नियुक्त गरेनन्, त्यसरी नै परमेश्वरको दृश्य सङ्गठनले स्वंयलाई स्थापित अथवा नियुक्त गरेको होइन। यो कुनै मानवीय इच्छा अथवा प्रयासबाट उत्पन्न भएको होइन। त्यो ईश्वरीय रथ चालकले नै यो सङ्गठनको अस्तित्व स्थापित गर्नु भयो। परमेश्वरको आत्माबाट प्राप्त शक्ति र पवित्र स्वर्गदूतहरूको समर्थनका साथ, यहोवाका जनहरूले साँच्चै नै ‘थोरै चाँहि हजार . . . र तुच्छ चाहिं एउटा सामर्थी जाति’ भएको प्रभावशाली वृद्धि अनुभव गरेका छन्।—यशैया ६०:२२.
५ यहोवाका ४,०००,००० भन्दा बढ़ी साक्षीहरूले २१२ देशहरूमा राज्यको सन्देशको घोषणा गरिरहेका छन्। तिनीहरू ६३,००० भन्दा बढ़ी मण्डलीहरूका समूहमा छन् र यी मण्डलीहरू, जिल्ला र सर्कटमा सङ्गठित छन्। प्रमुख कार्यालयको केन्द्र अर्थात् सञ्चालक समितिको निर्देशनमा, शाखा कार्यालय र छापा-खानाहरू विस्तृतरूपमा सञ्चालित भइरहेछन्। एक भएर, तिनीहरू सबै जना सुसमाचार प्रचार गर्दै, चासो देखाउनेहरूलाई शिक्षा दिंदै, भेलाहुने ठाउँहरूको निमार्ण गर्दै, अघि बढ़दैछन्। हो, यहोवाको दृश्य सङ्गठन त्यो ईश्वरीय रथ र त्यस्का चालक सँग-सँगै अघि बढ़ी रहेछ।
६. यहोवाको दृश्य सङ्गठन सँग-सँगै हिंड्नुमा कुन कुरा विथोलित छ?
६ तपाईं यहोवाका साक्षीहरू मध्येको हुनुहुन्छ भने, के तपाईं परमेश्वरको दृश्य सङ्गठन सँग-सँगै हिंड्नु हुँदैछ? यसको अर्थ सभाहरूमा धाउनु र सेवकाईमा भाग लिनु मात्र होइन। यस कदममा प्रगति र आध्यात्मिक वृद्धि समावेश छ। यहाँ एउटा सकारात्मक दृष्टिकोण अपनाउने, प्राथमिकता अनुसार उचित लक्ष्यहरू आफ्नो सामुन्ने राख्ने र सङ्गठनको वर्तमान स्थितिबारे चेत हुने कुराहरू सम्मिलित छन्। हामी यहोवाका ईश्वरीय रथ सँग-सँगै हिंड्दैछौं भने, हाम्रो जीवन पद्धति, हामीले घोषणा गरिरहेको समाचार अनुरूप हुनेछ।
७. परमेश्वरका अगमवक्ताको हैसियतमा, इजकिएलको आचरणलाई हामीले किन ध्यान दिनु उचित हो?
७ यस प्रकार सँग-सँगै हिंड्ने कुरामा, यहोवाका आधुनिक सेवकहरूले इजकिएलको उदाहरणबाट धेरै कुरा सिक्न सक्छन्। यहोवाले विशेषरूपमा अगमवक्ता नियुक्त गर्नु भएको भएतापनि, इजकिएलमा तिनका आफ्ना भावनाहरू, चिन्ताहरू र विभिन्न आवश्यकताहरू छँदै नै थियो। उदाहरणका लागि, भर्खरै विवाह गरेको जवान मानिस हुनाकारण, आफ्नी पत्नीको मृत्यु हुँदा, इजकिएलले शोक अनुभव गरे। तापनि, यहोवाको अगमवक्ता भएर पूरा गर्नु पर्ने आफ्नो दायित्व तिनले कहिले बिर्सेनन्। अरू कुराहरूमा पनि इजकिएलको आचरणलाई विचार गर्यौं भने, परमेश्वरको दृश्य सङ्गठन सँग-सँगै हिंड्न हामीले आफूलाई बलियो पार्न सक्नेछौं। यसले हामीलाई उहाँको दृश्य सङ्गठन सँग-सँगै हिंड्ने योग्यको तुल्याउने छ।
जिम्मेवारी स्वीकारे र पूरा गरे
८. आफ्नो जिम्मेवारीको सम्बन्धमा, इजकिएलले के उदाहरण कायम गरे?
८ आफ्नो जिम्मेवारी स्वीकारेर पूरा गर्दै, इजकिएलले हाम्रा लागि एउटा असल उदाहरण कायम गरे। तथापि, त्यो पूरा गर्न, आज्ञाकारिता र साहसको खाँचो थियो, किनभने हामी पढ़दछौं: “तँ चाहिं, हे मानिस, तिनीहरू देखि नडरा, नता तिनीहरूका कुरादेखि डरा। तँसित काँढ़ा र लुहुढ़े काँढ़ा भए तापनि, अथवा तँलाई बिच्छुहरूका बीचमा बस्नु परे तापनि तिनीहरूका कुरादेखि तँ नडरा, नता तिनीहरूका अनुहार देखेर भयभीत हो, किनभने तिनीहरू ता वागी सन्तान हुन्। तैंले तिनीहरूलाई मेरो वचन सुना, चाहे तिनीहरूले सुनून् वा सुन्नलाई अस्वीकार गरून्, किनभने तिनीहरू वागी सन्तान हुन्। तर तैंले चाहिं, हे मानिस, म तँलाई जे भन्छु त्यो कुरा सुन्। त्यो वागी सन्तानझैं तँ वागी न हो।”—इजकिएल २:६-८.
९. के गरेर मात्र, इजकिएल रगतको दोषबाट मुक्त हुन सक्ने थिए?
९ आफ्नो जिम्मेवारी पूरा गर्न, अरूले तिनलाई पछिबाट घचेटी रहनु पर्ने गरी इजकिएलले डर अथवा उदासिनता प्रकट गर्नु थिएन। तिनले यहोवाका वचनहरू स्वेच्छा र साहसपूर्वक बोलेमा मात्र तिनी रगतको दोषबाट मुक्त हुने थिए। इजकिएललाई भनियो: “तर यदि तैंले दुष्टलाई चेताउनी दिइस् र त्यो आफ्नो दुष्ट्याइँ अथवा आफ्नो दुष्ट चालदेखि फर्कदैन भने ता त्यो आफ्नो अधर्ममानै मर्नेछ, तर तैंले चाहिं आफ्नो प्राण बचाएको हुनेछस्।”—इजकिएल ३:१९.
१०. इजकिएल श्रेणीकाहरू कसरी ती अगमवक्ता जस्तै साबित भएका छन्?
१० इजकिएलले झैं, इजकिएल श्रेणीका अभिषिक्त जनहरूले आफ्ना ईश्वर-प्रदत जिम्मेवारी स्वीकारेकाछन् र त्यो पूरा पनि गरिरहेकाछन्। हामी यहोवाका साक्षीहरू हौं भने, हाम्रो जीवन र अरूहरूको जीवन पनि हाम्रो आज्ञाकारितामा भर पर्दछ भन्ने कुरा हामीले याद राख्नु पर्दछ। (१ तिमोथी ४:१५, १६) प्रत्येक साक्षी यहोवाको सङ्गठन सँग-सँगै हिंड्नु आवश्यक छ। परमेश्वरले हामीलाई उहाँको रथसँग बाँध्नु भएर तान्दै लैजानु हुनेछैन। उदासिनता र दोमन भएका मानिसहरूले रथका चालकको अपमान गर्छन्। यसकारण, यहोवाका दृश्य सङ्गठनले हामीलाई ईश्वरीय चासोका कुराहरूलाई नै आफ्नो जीवनको केन्द्र बनाउनु भनेर आग्रह गर्छ। यस प्रकारका प्रोत्साहनहरूलाई हामीले नियमित रूपमा ध्यान दिने गर्यौं भने, हामी परमेश्वरको सङ्गठन सँग-सँगै हिंड्ने छौं र यसले हाम्रो पवित्र सेवकाईलाई एउटा दैनिक टन्टा अथवा औपचारिकता हुन दिने छैन। निश्चय नै, यहोवाका जनहरूले सामूहिक रूपमा भक्तिको विशेष प्रदर्शन गरेकाछन्। तर व्यक्तिगत रूपमा, हामीले त्यो गतिलाई कायम राख्नु पर्दछ।
परमेश्वरका वचनहरू हृदयबाट ग्रहण गर्नु
११. परमेश्वरका वचनहरूका सम्बन्धमा, इजकिएलले के कायम गरे?
११ परमेश्वरका वचनहरूलाई आफ्नो हृदय भित्रबाट ग्रहण गरेर पनि, इजकिएलले एउटा असल उदाहरण कायम गरेका छन्। आज्ञा भए पछि, तिनले एउटा ईश्वर-प्रदत पुस्तक खाए। “र त्यो मेरो मुखमा महझैं मीठो भयो” भनेर इजकिएलले भने। त्यो पुस्तक “विलाप, शोक र दुःखका कुराहरूले” भरिएको भएता पनि, इजकिएलका लागि त्यो मीठो थियो किनभने तिनले यहोवाको प्रतिनिधित्व गर्ने सौभाग्यको मूल्याङ्कन गरे। आफ्नो ईश्वर-प्रदत जिम्मेवारी पूरा गर्नु, यी अगमवक्ताका लागि एउटा मीठो अनुभव थियो। परमेश्वरले तिनलाई भन्नु भयो: “हे मानिस, तँलाई भनेका सबै कुरा तेरो मनमा राख र ती सुन्।” (इजकिएल २:९-३:३, १०) परमेश्वरले इजकिएललाई के कस्ता कुराहरूमा सहभागी हुन दिनु भएछ भन्ने कुराको विशेष जानकारी तिनलाई ती दर्शनहरू द्वारा भयो र यसले गर्दा यहोवासँगको तिनको सम्बन्ध अझ बलियो हुन सक्यो।
१२. इजकिएलले अगमवक्ताको हैसियतमा बिताएका दुई दशक भन्दा बढ़ी समय भित्र के गरे?
१२ विभिन्न उद्देश्यहरू र स्रोताहरूका लागि इजकिएलले दर्शनहरू र सन्देशहरू पाए। तिनले सावधानीपूर्वक सुनेर सोही बमोजिम बोल्न र काम गर्नु परेको थियो। अगमवक्ताको हैसियतमा सेवा गरेको करीब २२ वर्षको दौड़ानमा, तिनलाई प्रगतिशील ढङ्गमा नया नया कुराहरूको सूचना र प्रणालिहरू प्रकाशित गरियो। कहिले-काहिं, विशेष शब्दहरू प्रयोग गरिएको सन्देश इजकिएलले बोले। अरू बेलामा, तिनले अभिनय समेत गर्नु पर्द थियो। उदाहरणका लागि, यरूशलेमलाई चित्रण गर्ने एउटा इँटको सामुन्ने तिनले ढल्केर बस्नु पऱ्यो। (इजकिएल ४:१-८) आफ्नी पत्नीको मृत्यु हुँदा तिनले देखाएको प्रतिक्रिया जस्ता व्यक्तिगत कुराहरूका पछाड़ि पनि एउटा सन्देश थियो। इजकिएल २४:१५-१९) जहिले पनि ठीक सन्देश प्रस्तुत गर्दै, ठीक समयमा, ठीक कदम उठाउँदै, तिनी सधैं प्रगतिशील हुनु परेको थियो। आफूलाई खटाइएको कामको कारण, इजकिएल यहोवासँग एउटा अति नै घनिष्ठ र उन्नतिशील सम्बन्धमा बाँधिएका थिए।
१३. यहोवासँग हामीले एउटा घनिष्ठ सम्बन्ध कसरी कायम राख्न सक्छौं?
१३ त्यसैगरी, यहोवाका सहकर्मीहरूको हैसियतमा उहाँसँग एउटा घनिष्ठ सम्बन्ध बनाउन र त्यसलाई कायम पनि राख्नका लागि, हामीले परमेश्वरको वचन आफ्नो हृदय भित्र ग्रहण गर्नु पर्दछ। (१ कोरिन्थी ३:९) यस अर्थमा, परमेश्वरको दृश्य सङ्गठन सँग-सँगै हिंड्नु, र ठीक ठीक समयमा जसै हाम्रो सामुन्ने आत्मिक आहार प्रस्तुत हुन्छ, त्यसलाई हामीले पनि प्रगतिशील ढङ्गमा लिने गर्नु पर्दछ। (मत्ती २४:४५-४७) “शुद्ध भाषाको” नियमित रूपमा वृद्धि हुँदैछ। (सपन्याह ३:९) हामीहरू समयसङ्गत छौं भने मात्र त्यो रथका चालकले दिनु भएको निर्देशन प्रति हामी आज्ञाकारी हुन सक्ने छौं।
१४, १५. परमेश्वरको सङ्गठनले कायम गरेको गति सँग-सँगै हिंड्ने हो भने, कुन प्रकारको समय तालिका आवश्यक छ?
१४ यसका लागि, हामीलाई व्यक्तिगत प्रार्थना गर्ने, व्यक्तिगत अध्ययन गर्ने र सुसमाचारको पवित्र सेवकाईमा भाग लिने एउटा राम्रो समय तालिकाको आवश्यकता छ। (रोमी १५:१६) परमेश्वरको सन्देश लेखिएको पुस्तक इजकिएलले खाएको उदाहरणलाई सम्झनु होस्। इजकिएलले त्यो पुस्तकको एक भाग मात्र होइन, सम्पूर्ण भाग खाइ दिए। तिनले आफूलाई व्यक्तिगत रूपमा मीठो लाग्ने भागहरू मात्र खोज्दै खाएनन्। त्यसै गरी, बाइबल र अन्य मसीही प्रकाशनहरूको हाम्रो व्यक्तिगत अध्ययन नियमित रूपमा हुनु पर्दछ। यस प्रकार, क्रम अनुसार प्रस्तुत गरिएको आत्मिक आहार हामीले उन्नतिशील ढङ्गमा लिन सक्नेछौं र आत्मिक टेबलमाथि राखिएका सबै कुरा अथवा सच्चाइका गहिरा कुराहरू समेत हामीले लिने गर्नु पर्दछ।
१५ खँदिलो खानेकुराको अर्थ बुझ्न के हामीले प्रार्थनापूर्वक प्रयास गर्दछौं? सँग-सँगै हिंड्नका लागि, हाम्रो ज्ञान र समझ-शक्ति प्रारम्भिक कुराहरूमा सीमित नभएर, प्रगतिशील हुनु पर्दछ, किनभने हामीहरू पढ़दछौं: “दूधको सहभागी हुने हरेक मानिस धार्मिकताको वचनको अनुभव गर्न नसक्ने हुन्छ, किनकि त्यो बालकै हो। तर खँदिलो खानेकुरा चाहिं पूरा बढ़ेका मानिसहरूका निम्ति हो, जो त्यसको प्रयोगबाट खराब र असल छुट्याउनलाई ज्ञानेन्द्रियको अभ्यास भएका हुन्छन्।” (हिब्रू ५:१३, १४) हो, परमेश्वरको सङ्गठनले कायम गरेको गति अनुसार हिंड्नका लागि, आध्यात्मिक प्रगति गर्नु अति नै आवश्यक छ।
उदासिनताले गर्दा पछि नहटने
१६, १७. इजकिएलले उदासिनता, ठट्टा र चासोको कमीको सामना कसरी गरे?
१६ आज्ञाकारी भएर र अरूहरूले देखाएका उदासिनता अथवा ठट्टाको कारण पछि नहटेर पनि, इजकिएलले एउटा राम्रो उदाहरण कायम गरेका छन्। त्यसै प्रकार, शुद्ध भाषाको वृद्धि सँग-सँगै हामी पनि हिंड्यौं भने, त्यो शाही रथका चालकले लिनु भएको बाटोसँग हाम्रो सहमती हुनेछ। यसप्रकार, हामीहरू उहाँका आज्ञाहरू प्रति चेतनशील हुन र यहोवाका न्याय-दण्डका सन्देशहरू हामी जस-जसलाई सुनाउछौं, तिनीहरूले देखाएका उदासिनता र ठट्टाको कारण पछि नहटने बल हामीले पाउने छौं। केही मानिसहरूले सक्रिय रूपले विरोध गर्नेछन् र तिनीहरू कठोर मन र हृदयका हुनेछन् भनी परमेश्वरले इजकिएललाई अघिबाटै चेताउनी दिनु भए झैं, हामीलाई पनि अग्रिम चेताउनी दिनु भएको छ। कुनै कुनै व्यक्तिहरूले चाहिं यहोवालाई नै सुन्न नचाहेको कारण, हामीले प्रचार गरेका कुराहरू सुन्ने छैनन्। (इजकिएल ३:७-९) अझ अरूहरू चाँहि इजकिएल ३३:३१, ३२ मा उल्लेख गरिए झैं, कपटी हुनेछन्: “यसैले जस्तो मानिसको स्वभाव छ, त्यसरीनै धुइरो लागेर मेरा मानिसहरू आउनेछन् र तेरो अगि बस्नेछन्। तैंले भन्ने कुरा तिनीहरूले सुन्नेछन्, तर त्यस बमोजिम गर्ने छैनन्। ‘साह्रै राम्रो कुरा रहेछ’ भनी तिनीहरूले भन्नेछन्, तर तिनीहरूको हृदय भने आफ्नै स्वार्थको पछि हुन्छ। तँ ता तिनीहरूका निम्ति सुरिलो सोर भएको गायक अथवा निपुण वीणा वादकभन्दा बढ़ी अरू केही हुनेछैनस्। तैंले भनेका कुरा ता तिनीहरूले सुन्नेछन् तर कदापि त्यस बमोजिम गर्नेछैनन्।”
१७ यस्को प्रतिफल के हुनेछ? ३३ वाँ पदले बताउँछ: “तर समय आउँछ, औ निश्चय आउनेछ, जब तिनीहरूका बीचमा एउटा अगमवक्ता थिए भनी तिनीहरूले जान्नेछन्।” यसकारण, मानिसहरूले चासो देखाएनन् भन्दैमा, इजकिएलले आफ्नो काम बन्द नगरेको कुरा ती शब्दहरूबाट प्रष्ट हुन्छ। अरूहरूका उदासिनताले गर्दा, तिनी निरूत्साहित भएनन्। मानिसहरूले सुनून् वा नसुनून्, तिनले परमेश्वरको आज्ञा पालन गरे र आफ्नो जिम्मेवारी पूरा गरे।
१८. तपाईंले स्वयंलाई के प्रश्नहरू सोध्न सक्नु हुन्छ?
१८ सबैले परमेश्वरको डर राखून् र उहाँलाई महिमा दिऊन् भनेर घोषणा गर्ने कामलाई यहोवाको दृश्य सङ्गठनले तीब्रतासाथ बढ़ाइ रहेकोछ। एउटा नैतिक जीवन-शैली अपनाउनु भयो अथवा राज्यबारे निर्भयता साथ साक्षी दिनु भयो भन्दैमा अरूहरूले आलोचना गर्दा, के तपाईं धैर्य धारण गर्नु हुन्छ? रगत अस्वीकार गर्नु हुँदा, राष्ट्रिय प्रतीकहरूको उपासनामा भाग नलिनु हुँदा र सांसारिक उत्सवहरूलाई मान्यता नदिनु हुँदा, तपाईंमाथि विशेष दबाउ आइपर्दा, के तपाईं दृढ़ हुनु हुन्छ?—मत्ती ५:११, १२; १ पत्रुस ४:४, ५.
१९. यहोवाको ईश्वरीय रथ सँग-सँगै हिंड्दै छौं भने, आएका निर्देशनहरूबारे हामी के गर्नेछौं?
१९ यो एउटा सजिलो मार्ग कदापि पनि होइन तर अन्तसम्म धैर्य धारण गर्नेहरू बाँच्नेछन्। (मत्ती २४:१३) हामीले संसारका मानिसहरूलाई तिनीहरू जस्तै हामीलाई पनि तुल्याउन र यहोवाको ईश्वरीय रथ सँग-सँगै हिंड्न देखिन् हामीलाई रोक्न यहोवाको मदत द्वारा दिने छैनौं। (इजकिएल २:८; रोमी १२:२१) रथरूपी स्वर्गदूतिय सङ्गठन सँग-सँगै हामीहरू हिंडिरहेका छौं भने, परमेश्वरको दृश्य सङ्गठन द्वारा आएका निर्देशन र सर-सल्लाहहरू तुरुन्त पालन गर्नेछौं। हाम्रो विश्वासमाथि आउने आक्रमणहरूको सामना गर्न, जीवनको वचनलाई बलियो गरी पक्रन र हाम्रो आँखा त्यो ईश्वरीय रथका शाही चालकमाथि केन्द्रित राख्न, जे कुराहरू आवश्यक छन्, ती सबै यहोवाले हामीलाई दिनु हुन्छ।
सँग-सँगै हिंडने प्रेरणा
२०. इजकिएलले लेखेका कुन कुन कुराहरूबाट हामीले सँग-सँगै हिंड्ने प्रेरणा पाउनु पर्दछ?
२० इजकिएलले देखेका दर्शनहरूले हामीलाई सँग-सँगै हिंड्ने प्रेरणा दिनु पर्दछ। तिनले इस्राएलीहरूका निम्ति परमेश्वरका न्याय- को वचनहरूको घोषणा मात्र गरेनन्, तर पुनःस्थापनाबारे भविष्यवाणीहरू पनि लेखे। नियुक्त गरिएको समयमा, यहोवाको सिंहासनमा बसेर राज्य गर्ने अधिकार हुनेवाला व्यक्ति बारे पनि तिनले सङ्केत गरे। (इजकिएल २१:२७) शाही सेवक “दाऊदले” परमेश्वरका जनहरूलाई पुनः एकत्रित गरेर तिनीहरूको गोठालो गर्नु हुनेछ। (इजकिएल ३४:२३, २४) तिनीहरूमाथि मागोगको गोगले आक्रमण गरेता पनि, परमेश्वरले तिनीहरूलाई बचाउनु हुनेछ र उहाँका शत्रुहरू पनि, आफू नाश हुने बेलामा, ‘यहोवालाई चिन्न’ बाध्य हुनेछन्। (इजकिएल ३८:८-१२; ३९:४, ७) तब परमेश्वरका सेवकहरूले एउटा आत्मिक मन्दिरसँग सम्बन्धित शुद्ध उपासनाको रीतिरिवाजमा अनन्तकालीन जीवन उपभोग गर्नेछन्। पवित्र स्थान देखि निस्केको जीवनका पानीहरू मानिसहरूलाई पोषण र आरोग्य दिने श्रोत हुनेछ र पैतृक सम्पत्तिको रूपमा एउटा देश तिनीहरूका आशिषका लागि छुट्टाइने छ। —इजकिएल ४०:२; ४७:९, १२, २१.
२१. यहोवाका आधुनिक साक्षीहरूले निभाउनु परेको भूमिका इजकिएलको भूमिका भन्दा किन ठूलो छ?
२१ ती भविष्यवाणीहरू लेख्न पाउँदा इजकिएल कति पुलकित भए होलान्! तापनि, यहोवाका आधुनिक साक्षीहरूले निभाउनु परेको भूमिका अझ ठूलो छ। हामी त्यो समयमा छौं जब ती मध्येका केही भविष्यवाणीहरू पूरा भइरहेछन्। वास्तवमा, कुनै कुनै पूर्तिहरूमा हामीले एउटा सक्रिय भाग लिइरहेका छौं। अधिकार भएका जन, येशू ख्रीष्ट आज शासन गर्नु हुँदैछ भनी हामी विश्वस्त छौं भनेर के हामीले व्यक्तिगत रूपमा, आफ्नो जीवन-शैलीबाट प्रकट गर्दछौं? यहोवाले चाँड़ै नै आफ्नो नाउँलाई उँचा पार्नु हुनेछ र उहाँको सङ्गठन सँग-सँगै हिंड्नेहरूलाई उहाँको नया संसारमा प्रवेश गर्न दिनु हुनेछ भनी के हामी व्यक्तिगत रूपमा विश्वस्त छौं? (२ पत्रुस ३:१३) यस प्रकारको आस्थाका साथै आफ्नो विश्वासलाई प्रमाणित पार्ने कामहरू द्वारा हामी प्रदर्शित गर्दछौं कि यहोवाका ईश्वरीय रथ सँग-सँगै हामी पनि हिंडिरहेका छौं।
लगातार सँग-सँगै हिंडिरहनु होस्
२२. एउटा स्पष्ट आध्यात्मिक दृष्टिकोण कायम राख्नका लागि, अलमल्याउने टन्टाहरूबाट अलग्ग बस्न के गर्न सकिन्छ?
२२ ‘आफ्नो हात हलोमा’ राखी सके पछि, अब हामी संसारका प्रलोभनहरू प्रति फर्केर हेर्नु हुँदैन। (लूका ९:६२; १७:३२; तितस २:११-१३) यसकारण, पृथ्वीमा धन थुपार्ने हामीमा कुनै प्रकारको मानसिक झुकाउ छ भने, त्यसलाई दबाऊँ र आफ्नो आँखालाई सरल र परमेश्वरको राज्यमा केन्द्रित पारौं। (मत्ती ९:१९-२२, ३३) आफ्नो जीवन शैलीलाई सीधासादा तुल्याउँदै, सकेसम्म सांसारिक टन्टाहरू हटायौं भने, यहोवाको सङ्गठन सँग-सँगै हिंड्न हामीले धेरै नै सहायता पाउने छौं। (हिब्रू १२:१-३) विभिन्न अल्झोहरूले, हाम्रो दृष्टिबाट त्यो ईश्वरीय रथ र त्यसमा सवार हुनु भएका व्यक्तिलाई धमिलो पार्न सक्तछ। तर उहाँको मदत द्वारा, हामी, इजकिएलले झैं, एउटा स्पष्ट आत्मिक दृष्टिकोण कायम राख्न सक्तछौं।
२३. विश्वासी साक्षीहरूले नया व्यक्तिहरूका लागि के गर्नु आवश्यक छ?
२३ परमेश्वरको ईश्वरीय रथ सँग-सँगै हिंड्न, नया नया व्यक्तिहरूलाई सहायता दिनु पनि, यहोवाका साक्षीहरूको हैसियतमा, हाम्रो एउटा जिम्मेवारी हो। १९९० मा, येशू ख्रीष्टको मृत्युको स्मरणार्थमा करीब १०,०००,००० जनहरू उपस्थित थिए। यी धैरै त्यस्ता होलान् जो समय समयमा कुनै कुनै मसीही सभाहरूका लागि शायद आउने गर्छन्। तर यहोवाका दृश्य सङ्गठन सँग-सँगै हिंड्ने महत्त्व यिनीहरूले पनि बुझ्नु आवश्यक छ। यहोवाका विश्वासी साक्षीहरूको हैसियतमा, हामीहरूले यिनीहरूलाई प्रोत्साहन दिने गरेर, आफ्नै प्रवृत्ति द्वारा मदत दिन सक्ने छौं।
२४. यी अन्तका समयहरूमा हामीले के गर्नु उचित हो?
२४ यी अन्तका समयहरू हुन्। विश्वासका आँखाहरू द्वारा, हामीले शाही रथ हाम्रो आँखा अगाड़ि तानिएको देखेका छौं। त्यो रथका शाही चालकले उहाँको दृश्य सङ्गठनलाई, जाति-जातिमा गएर प्रचार गर्ने आज्ञा दिनु भएको छ जसबाट, अन्त आउँदा, यहोवा को हुनु हुन्छ भनी तिनीहरूले चिन्नेछन्। (इजकिएल ३९:७) यहोवाको ईश्वरीय रथ सँग-सँगै हिंड्दै परमेश्वरको सार्वभौमिकताको स्थापन र उहाँको पवित्र नाउँलाई उँचा पार्ने काममा भाग लिने यो महान मौका उठाऊँ। (w03/15/91)
तपाईं कसरी जवाफ दिनु हुन्छ?
◻ आफ्नो जिम्मेवारी सम्बन्धित कुराहरूमा इजकिएलले कस्तो उदाहरण छाड़े?
◻ परमेश्वरको दृश्य सङ्गठन सँग-सँगै हिंड्नु भनेको अर्थ के हो?
◻ इजकिएलले यहोवाको वचनलाई कस्तो ठाने?
◻ उदासिनताको सामना गर्दा, हामीले इजकिएलको उदाहरणको कसरी अनुसरण गर्न सक्ने छौं?
◻ यहोवाको ईश्वरीय रथ सँग-सँगै हिंड्न उहाँका सेवकहरूलाई कुन कुन कुराले प्रेरित पार्नु पर्दछ?
[पृष्ठ १४-मा भएको चित्र]
यहोवाको ईश्वरीय रथ सँग-सँगै हिंड्न के कुराको आवश्यकता पर्दछ?
[पृष्ठ १४-मा भएको चित्र]
आफ्नो ईश्वर-प्रदत जिम्मेवारीको इजकिएलले मूल्याङ्कन गरे। के तपाईं पनि गर्नु हुन्छ?