परमेश्वरको मन्दिरमा “हृदय” लगाउनुहोस्!
“हे मानिस, . . . म जे जे तँलाई देखाउनेछु सो सबै हृदयमा राख्, . . . तैंले देखेका सबै कुरा इस्राएलीहरूलाई बता।”—इजकिएल ४०:४.
१. परमेश्वरका छानिएका जनहरूले सा.यु.पू. ५३९ मा आफूलाई कस्तो अवस्थामा पाए?
इस्राएलले निर्वासनमा बिताएको १४ औं वर्ष, सा.यु.पू. ५९३ को कुरा हो। बेबिलोनमा जीवन बिताइरहेका यहूदीहरूका लागि आफ्नो मातृभूमि फर्कने कुरा सपनाजस्तो लागेको हुनुपर्छ। तिनीहरूले यरूशलेम छोडेर आउँदा त्यो आगोमा दन्किरहेको थियो, त्यसका ठूलठूला पर्खालहरू ढलेका र तिनीहरूले गर्व गर्ने गरेका भवनहरू भताभुंग भएका थिए। एक समय थियो जब यहोवाको मन्दिर, शहरको सबैभन्दा गरिमामय पक्ष अनि सारा पृथ्वीमा शुद्ध उपासनाको केन्द्र थियो तर अहिले तहसनहस भइसकेको थियो। तिनीहरूले निर्वासनमा अझ निकै वर्ष बिताउनु बाँकी नै थियो। तिनीहरूलाई प्रतिज्ञा गरिएको छुटकारा पाउन अझै ५६ वर्ष पर्खनुपर्नेथियो।—यर्मिया २९:१०.
२. यरूशलेमस्थित परमेश्वरको मन्दिरबारे सम्झँदा इजकिएल किन दुःखी भए?
२ विश्वासी अगमवक्ता इजकिएललाई परमेश्वरको मन्दिर सयौं माइल टाढा जंगली जनावरहरूको बंजर अखडा भइरहेकोमा दुःख लागेको हुनुपर्छ। (यर्मिया९:११) तिनको बुबा त्यहाँ पूजाहारी थिए। (इजकिएल १:३) इजकिएलले पनि त्यो सुअवसर पाउनेथिए तर सानै छँदा सा.यु.पू. ६१७ मा तिनी यरूशलेमका कुलीनहरूसँगसँगै निर्वासनमा लगिए। अहिले ५० वर्षजति पुगेका इजकिएलले यरूशलेम फेरि देख्न पाउने वा मन्दिरको पुनर्निर्माण कार्यमा कुनै भाग लिन पाउने आशा मारिसकेका थिए होलान्। त्यसकारण, त्यो महिमित मन्दिरको दर्शन देख्न पाउँदा इजकिएललाई कस्तो लाग्यो होला, कल्पना गर्नुहोस्!
३. (क) इजकिएलले देखेको मन्दिरको दर्शनको उद्देश्य के थियो? (ख) दर्शनका चार प्रमुख पक्षहरू के हुन्?
३ इजकिएलको पुस्तकको नौ वटा अध्यायमा वर्णन गरिएको विस्तृत दर्शनले निर्वासित यहूदीहरूको विश्वास सुदृढ गर्ने प्रतिज्ञा प्रदान गऱ्यो। शुद्ध उपासना पुनर्स्थापित हुनेथियो! यहोवालाई प्रेम गर्नेहरूको निम्ति त्यो दर्शन त्यतिबेलादेखि अहिले हाम्रो समयसम्म प्रोत्साहनको स्रोत भएको छ। कसरी? सर्वप्रथम, ती यहूदीहरूका लागि यो भविष्यसूचक दर्शनले कस्तो अर्थ राख्यो, हेरौं। यसका चारवटा प्रमुख पक्षहरू छन्: मन्दिर, पूजाहारीगिरी, राजा तथा पुनर्स्थापित देश।
पुनर्स्थापित मन्दिर
४. दर्शनको सुरुमै इजकिएललाई कहाँ लगिन्छ, त्यहाँ तिनले के देख्छन् र कसले डुलाउँछ?
४ सर्वप्रथम, याद गर्नुहोस्, इजकिएललाई एउटा निकै “अल्गो डाँडा[मा]” लगिन्छ। त्यसको दक्षिणतिर विशाल मन्दिर छ र त्यो चारैतिर पर्खालले घेरिएको शहरजस्तो देखिन्छ। “काँसाले बनिएको जस्तै” देखिने स्वर्गदूतले अगमवक्तालाई मन्दिरको हातामा डुलाउन लैजान्छन्। (इजकिएल ४०:२, ३) इजकिएलले दर्शनमा अझ हेर्दै जाँदा स्वर्गदूतले रक्षक बस्ने कोठाहरू भएको मन्दिरका तीन वटा उस्ताउस्तै ढोकाहरू, बाहिरी चोक, भित्री चोक, भान्सा-घर, वेदी, पवित्र र अति पवित्र छुट्याइएको मन्दिरको नाप लिइरहेको देख्छन्।
५. (क) यहोवाले इजकिएललाई कस्तो आश्वासन दिनुहुन्छ? (ख) मन्दिरबाट हटाइनुपर्ने “मरिसकेका राजाहरूका मृत-शरीर” के थियो र यसो गर्नु किन महत्त्वपूर्ण थियो?
५ त्यसपछि, यहोवा स्वयं दर्शनमा देखा पर्नुहुन्छ। उहाँ मन्दिरमा प्रवेश गर्नुहुन्छ र त्यहीं बास गर्नुहुनेछ भनी इजकिएललाई आश्वासन दिनुहुन्छ। तर यहोवाले आफ्नो भवन सफा गर्ने आह्वान गर्नुहुँदै यसो भन्नुहुन्छ: “अब तिनीहरूले आफ्नो मनमानी भक्तिहीनतालाई त्याग्नेछन्, र तिनीहरूका मरिसकेका राजाहरूका मृत–शरीर मबाट हटाउनेछन्, र म तिनीहरूका बीचमा सदा सर्वदा विराजमान हुनेछु।” (इजकिएल ४३:२-४, ७, ९) “मरिसकेका राजाहरूका मृत-शरीर” भन्नुको अर्थ मूर्तिहरू हुन्। यरूशलेमका केही दुष्ट राजाहरूले परमेश्वरको मन्दिरलाई मूर्तिहरूले दूषित तुल्याएका थिए र भनौं भने, तिनीहरूलाई नै आफ्नो राजा बनाए। (आमोस ५:२६ तुलना गर्नुहोस्।) तिनीहरू जीवित नभई निर्जीव अनि यहोवाको नजरमा घीनलाग्दा कुराहरू थिए। त्यसलाई मन्दिरबाट हटाउनै पर्नेथियो।—लेवी २६:३०; यर्मिया १६:१८.
६. मन्दिरको नाप लिनुले कुन कुराको चित्रण गऱ्यो?
६ दर्शनको यो अंशले कुन कुरा बताउन खोजेको थियो? परमेश्वरको मन्दिरमा शुद्ध उपासना पूर्णतया पुनर्स्थापित हुनेछ भनी निर्वासनमा परेकाहरूलाई आश्वासन दिइरहेको थियो। साथै, मन्दिरको नाप लिनुले यो दर्शन पक्कै पूरा हुनेछ भन्ने ईश्वरीय ग्यारेन्टी पनि प्रदान गऱ्यो। (तुलना गर्नुहोस् यर्मिया ३१:३९, ४०; जकरिया २:२-८) मूर्तिपूजाको नामोनिसान मेटाइने थियो। यहोवाले पुनः आफ्नो घरलाई आशिष् दिनुहुने थियो।
पूजाहारीगिरी र राजा
७. लेवी तथा पूजाहारीहरूबारे कस्तो जानकारी दिइन्छ?
७ पूजाहारीगिरीलाई पनि शुद्ध पार्नु वा निखार्नु पर्नेथियो। लेवीहरू मूर्तिपूजामा फसेकोमा गाली खाने लायकका थिए। अर्कोतिर, सादोकका पूजाहारीका छोराहरू शुद्ध रहेकोमा सराहना तथा इनामका योग्य थिए।a तैपनि, पूजाहारी तथा लेवी दुवैले यहोवाको पुनर्स्थापित भवनमा सेवा गर्ने अवसर पाउनेथिए र त्यो तिनीहरू व्यक्तिगत तवरमा कत्तिको विश्वासी थिए, त्यसमा निर्भर हुनेथियो। साथै, यहोवाले यस्तो घोषणा गर्नुभयो: “तिनीहरूले मेरो प्रजालाई पवित्र र अपवित्र कुरा छुट्याउनु सिकाउनेछन्, औ तिनीहरूलाई शुद्ध र अशुद्धको भिन्नता देखाउनेछन्।” (इजकिएल ४४:१०-१६, २३) त्यसकारण, पूजाहारीगिरी पुनर्स्थापित हुनैपर्ने थियो र विश्वासी भएर धैर्यधारण गर्नेहरूले अवश्य इनाम पाउनेथिए।
८. (क) पुरातन इस्राएलका राजाहरू को थिए? (ख) कुन अर्थमा इजकिएलको दर्शनका राजा शुद्ध उपासनाको लागि सक्रिय थिए?
८ यस दर्शनमा एक जना राजाबारे पनि बताइएको छ। मोशाको समयदेखि नै ती राष्ट्रहरूमा राजाहरूको प्रबन्ध थियो। राजा अर्थ बुझाउने हिब्रू शब्द नासी-ले बुबाको घर, जाति वा राष्ट्रको मूलीलाई बुझाउनसक्छ। इजकिएलको दर्शनमा इस्राएलका शासकवर्गले जनतालाई दमन गरेकाले तिनीहरूलाई गाली गर्नुका साथै न्यायी र निष्पक्ष हुन सल्लाह दिनुपऱ्यो। ती राजा पूजाहारीवर्गको नभए तापनि शुद्ध उपासनामा अत्यन्तै सक्रिय छन्। तिनी गैरपूजाहारी जातिसँगै बाहिरी चोकबाट भित्र पस्छन् र निस्कन्छन्, पूर्वी ढोकाको दलानमा बस्छन् अनि मानिसहरूको निम्ति बलिदान चढाउने प्रबन्ध मिलाउँछन्। (इजकिएल ४४:२, ३; ४५:८-१२, १७) यो दर्शनले इजकिएलका मानिसहरूलाई पुनर्स्थापित राष्ट्रमा उदाहरणीय नेताहरू हुनेछन् भन्ने आश्वासन दियो जसले परमेश्वरका जनहरूलाई संगठित पार्न पूजाहारीगिरीलाई समर्थन गर्नेछन् अनि आध्यात्मिक कामकुरामा असल उदाहरण बसाल्छन्।
जग्गा-जमीन
९. (क) जग्गा-जमीन कसरी बाँड्नुपर्ने थियो तर कसले सम्पत्ति पाउनेथिएन? (ख) पवित्र चन्दा के थियो र त्यसमा के के थियो?
९ अन्तमा हामी इजकिएलको दर्शनमा इस्राएल देशको सरसरती वर्णन गरिएको देख्छौं। हरेक जातिको लागि एउटा एउटा भाग छुट्याएर देश बाँडफाँट गर्नुपर्ने थियो। राजाले पनि पैतृक-सम्पत्ति पाउनेथिए। तर पूजाहारीको भागमा केही पर्ने थिएन किनभने यहोवाले यसो भन्नुभयो, “तिनीहरूका पैतृक-सम्पत्ति मनै हुँ।” (इजकिएल ४४:१०, २८; गन्ती १८:२०) दर्शनले राजाको भागमा परेको जमीन, पवित्र स्थान भनिने विशेष क्षेत्रको दायाँ वा बायाँ रहने प्रस्ट गऱ्यो। यो चारकुने जमीन तीन भागमा छुट्याइएको थियो—पश्चात्तापी लेवीहरूको लागि सबैभन्दा माथिको भाग, पूजाहारीहरूको लागि बीचको भाग र उत्पादनशील जमीन भएको तल तिरको भाग शहरको लागि। यहोवाको मन्दिर चाहिं चारकुने जमीनको बीचमा पूजाहारीको भागमा पर्ने थियो।—इजकिएल ४५:१-७.
१०. जग्गा-जमीन बाँडफाँट गर्ने भविष्यवाणीले निर्वासनमा रहेका विश्वासी यहूदीहरूको लागि कस्तो अर्थ राख्यो?
१० यी सबै कुरा सुनेपछि ती निर्वासित जनहरू कत्ति प्रसन्न भए होलान्! हरेक परिवारलाई त्यहाँ पैतृक सम्पत्ति दिने आश्वासन दिइयो। (मीका ४:४ तुलना गर्नुहोस्।) शुद्ध उपासनाले त्यहाँ उच्च, प्रमुख स्थान ओगट्ने थियो। अनि याद गर्नुहोस्, इजकिएलको दर्शनमा राजा पनि पूजाहारीहरूजस्तै मानिसहरूले दान दिएको भूमिमा बस्नेथिए। (इजकिएल ४५:१६) अतः पुनर्स्थापित देशमा नेतृत्व लिन यहोवाले नियुक्त गर्नुभएका मानिसहरूलाई सहयोग तथा आज्ञाकारी भएर समर्थन गर्नुपर्ने थियो। यसरी यो देशले संगठन, सहयोग तथा सुरक्षाको चित्रण गरिरहेको थियो।
११, १२. (क) पुनर्स्थापित मातृभूमिलाई आशिष् दिनुहुनेछ भनी यहोवाले भविष्यसूचक ढंगमा कसरी आश्वासन दिनुहुन्छ? (ख) नदी किनाराका रूखहरूले कुन कुराको चित्रण गऱ्यो?
११ के यहोवाले तिनीहरूको देशलाई आशिष् दिनुहुने थियो? यो भविष्यवाणीले हृदयस्पर्शी विवरण दिन्छ। मन्दिरबाट बगेको खोला फराकिलो हुँदै जान्छ र मृत सागरमा पुगुञ्जेल त्यो ठूलो भलजस्तै हुन्छ। त्यहाँ पुगेपछि त्यो पानीले मृत, निर्जीव पानीलाई पुनः जीवित तुल्याउँछ र नदीको किनारामा माछा व्यवसाय फस्टाउँछ। नदीको किनारामा थुप्रै रूखहरू छन् र त्यसमा वर्षभरि फल्ने फलहरूले पोषण तथा निवारण प्रदान गर्छ।—इजकिएल ४७:१-१२.
१२ यो प्रतिज्ञाले निर्वासनमा परेकाहरूलाई तिनीहरूले पुनर्स्थापनासम्बन्धी पहिले सुनिसकेका प्रतिज्ञाहरू दोहऱ्याउनुका साथै पुष्टि प्रदान गऱ्यो। यहोवाका प्रेरित अगमवक्ताहरूले पुनर्स्थापित, पुनः आबाद भएको इस्राएललाई प्रमोवनदरूपी शैलीमा वर्णन गरेको यो पहिलो पटक होइन। थुप्रै भविष्यवाणीहरूको मूल विषय नै मृत इलाकाहरू पुनः जीवित हुनुथियो। (यशैया ३५:१, ६, ७; ५१:३; इजकिएल ३६:३५; ३७:१-१४) त्यसकारण, मानिसहरूले यहोवाका जीवनदायी आशिष्हरू पुनर्स्थापित मन्दिरबाट नदीजस्तै बग्नेछ भनी आशा गर्नसक्थे। फलतः आध्यात्मिक तवरमा मरिसकेको राष्ट्र पुनः जीवित हुनेथियो। पुनर्स्थापित जनहरूमाझ उल्लेखनीय आध्यात्मिक पुरुषहरू हुनेथिए र ती पुरुषहरू दर्शनको किनाराको रूखहरूजस्तै धर्मी र दृढ हुनेथिए अनि भताभुंग भएको देशलाई पुनर्स्थापित गर्ने कार्यमा नेतृत्व लिनेथिए। यशैयाले पनि “धर्मको वृक्ष[बारे]” बताए जसले “पुराना उजाड़ भएका ठाउँहरू बसाल्ने [थिए]।”—यशैया ६१:३, ४.
यो दर्शन कहिले पूरा भयो?
१३. (क) यहोवाले “धर्मको वृक्ष[द्वारा]” आफ्ना पुनर्स्थापित जनहरूलाई कुन अर्थमा आशिष् दिनुभयो? (ख) मृत सागरबारे भविष्यवाणी कसरी पूरा भयो?
१३ के निर्वासनबाट फर्किनेहरू खिन्न भए? पटक्कै भएनन्! पुनर्स्थापित शेषजनहरू सा.यु.पू. ५३७ मा आफ्नो प्यारो मातृभूमि फर्के। समयमा लेखनदास एज्रा, अगमवक्ता हग्गै तथा जकरियाजस्ता अगमवक्ताहरू अर्थात् “धर्मको वृक्ष[को]” डोऱ्याइमा पुराना उजाड ठाउँहरू बसालिए। नहेम्याह तथा यरूबाबेलजस्ता राजाहरूले त्यस देशमा निष्पक्ष तथा न्यायपूर्ण शासन गरे। यहोवाको मन्दिर पुनर्स्थापित भयो, उहाँको करारद्वारा जीवनका आशिष् तथा जीवनका लागि प्रबन्धहरू पुनः बग्न थाले। (व्यवस्था ३०:१९; यशैया ४८:१७-२०) एउटा आशिष् थियो, ज्ञान। पूजाहारीगिरीले आफ्नो कर्तव्य फेरि पूरा गर्न थाले अनि पूजाहारीहरूले मानिसहरूलाई व्यवस्थासम्बन्धी निर्देशनहरू दिए। (मलाकी २:७) फलस्वरूप, मानिसहरू आध्यात्मिक तवरमा जीवित भए अनि यहोवाका फलदायी सेवकहरू बने। मृत सागर सजीव हुनु तथा त्यहाँ उत्पादनशील माछा व्यवसाय सञ्चालन हुनुले पनि त्यसको सही चित्रण गर्छ।
१४. बाबेलमा निर्वासनबाट फर्केका यहुदीहरूको भन्दा इजकिएलको भविष्यवाणीको अझ महान् पूर्ति हुनेछ भनी किन भन्न सकिन्छ?
१४ के इजकिएलको दर्शनका पूर्ति यी घटनाहरू मात्रै हुन्? होइन, योभन्दा अझ महान् कुरा चित्रण गरिएको छ। विचार गर्नुहोस्: इजकिएलको दर्शनमा देखाइएको नापको मन्दिर त्यसैअनुसार बनाउन सकिने थिएन। हो, यहूदीहरूले यो दर्शनलाई गम्भीरतापूर्वक लिए र कुनै कुनै कुराहरू अक्षरशः पालन गरे।b पहिलेको मन्दिर अवस्थित मोरीयाह पर्वतमा पनि दर्शनमा देखेको मन्दिर अटाउने थिएन। साथै, इजकिएलको मन्दिर उक्त दर्शनमा देखेको शहरमा नभई अलि टाढा अर्कै ठाउँमा थियो र दोस्रो मन्दिर चाहिं पहिलेको मन्दिर भएकै ठाउँमा अर्थात् यरूशलेमभित्र मोरीयाह पर्वतमा अवस्थित थियो। (एज्रा १:१, २) यसबाहेक, यरूशलेमको मन्दिरबाट कुनै पनि नदी बग्दैनथ्यो। त्यसकारण, पुरातन इस्राएलले इजकिएलको भविष्यवाणीको सानो पूर्ति मात्र देखे। यसको अर्थ हो, यो दर्शनको अझ महान्, आध्यात्मिक पूर्ति हुनेछ।
१५. (क) यहोवाको आध्यात्मिक मन्दिर कहिले वास्तविकता भयो? (ख) ख्रीष्ट पृथ्वीमा हुनुहुँदा इजकिएलको दर्शन पूरा भएको होइन भनी कुन कुराले संकेत गर्छ?
१५ स्पष्टतः हामीले इजकिएलको दर्शनको पूर्ति यहोवाको महान् आध्यात्मिक मन्दिरमा पूरा हुने आशा गर्नुपर्छ। यसबारे प्रेरित पावलले हिब्रूको पुस्तकमा विस्तृत वर्णन गरेका छन्। येशू ख्रीष्ट सा.यु. २९ मा प्रधान पूजाहारी नियुक्त हुनुहुँदा त्यो मन्दिर वास्तविकतामा परिणत भयो। तर के इजकिएलको दर्शन येशूको दिनमा पूरा भयो त? स्पष्टतः, पूरा भएन। प्रधान पूजाहारीको हैसियतमा येशूले आफ्नो बप्तिस्मा, बलिदानरूपी मृत्यु र अति पवित्र अर्थात् स्वर्गमा प्रवेश गर्नुभएर प्रायश्चितको दिनसम्बन्धी भविष्यसूचक विवरण पूरा गर्नुभयो। (हिब्रू ९:२४) तर चाखलाग्दो कुरा, इजकिएलको दर्शनमा प्रधान पूजाहारी वा प्रायश्चितको दिनबारे कतै पनि उल्लेख गरिएको पाइँदैन। त्यसकारण, यो दर्शनले सा.यु. प्रथम शताब्दीतिर औंल्याइरहेको थियो भन्नु मनासिब देखिंदैन। त्यसोभए, यो कहिले लागू हुन्छ त?
१६. इजकिएलको दर्शनको विवरणले अर्को कुन भविष्यवाणीको स्मरण गराउँछ र इजकिएलको दर्शनको प्रमुख पूर्ति हुने समयबारे बुझ्न कसरी मदत गर्छ?
१६ यसको जवाफको लागि त्यो दर्शनलाई फेरि नियालेर हेरौं। इजकिएलले यसो लेखे: “दर्शनमा उहाँले मलाई इस्राएलको देशमा ल्याउनुभयो, र एउटा अति अल्गो डाँड़ामा मलाई राख्नुभयो। त्यहाँ मतिर फर्केको एउटा शहरका घरहरूजस्तै मैले देखें।” (इजकिएल ४०:२) यो दर्शनको “अल्गो डाँडाले” हामीलाई मीका ४:१ स्मरण गराउँछ। त्यहाँ यसो भनिएको छ: “तर पछिल्ला दिनमा परमप्रभुको भवनको डाँड़ाचाहिं पहाड़हरूमा सर्वोच्च बनाइने छ, र त्यो सबै पहाड़हरूभन्दा उच्च पारिनेछ। औ अन्यजातिहरू त्यसमा ओइरिएर आउनेछन्।” यो भविष्यवाणी कहिले पूरा हुनेछ? मीका ४:५ ले बताएअनुसार राष्ट्रहरू झूटा देवहरूको उपासनामा लागिरहेको समयमै पूरा हुनेछ। भनौं भने, अहिले हाम्रो समय अर्थात् “पछिल्ला दिनमा” शुद्ध उपासना उच्च पारिएको छ, परमेश्वरका सेवकहरूको जीवनमा शुद्ध उपासनाले पाउनुपर्ने स्थान पाएको छ।
१७. मलाकी ३:१-५ को भविष्यवाणीले इजकिएलको दर्शनको मन्दिर शुद्ध पारिएको समय थाह पाउन कसरी मदत गर्छ?
१७ यो पुनर्स्थापना कसरी सम्भव भयो? नबिर्सनुहोस्, इजकिएलको दर्शनको सबैभन्दा उल्लेखनीय अंश यहोवा मन्दिरमा आउनु अनि उहाँको भवनबाट मूर्तिपूजा हटाउनु भनी जोड दिनु हो। परमेश्वरको आध्यात्मिक मन्दिर सफा गर्ने काम कहिले भयो? मलाकी ३:१-५ मा यहोवा “करारका दूत” येशू ख्रीष्टसित ‘मन्दिरमा आउनुहुने’ समयबारे भविष्यवाणी गरिएको छ। त्यसको उद्देश्य? “[उहाँ] सुनारको आगो र धोबीको साबुनजस्तै [हुनुहुन्छ]।” यसरी शुद्ध गर्ने काम प्रथम विश्वयुद्धको समयमा सुरु भयो। परिणाम के भयो? सन् १९१९ देखि यहोवा आफ्नो भवनमा बास गर्नुभएर आध्यात्मिक देशलाई आशिष् दिनुभएको छ। (यशैया ६६:८) त्यसकारण, हामी आखिरी दिनमा इजकिएलको दर्शनको महत्त्वपूर्ण पूर्ति हुनेछ भन्ने निष्कर्षमा पुग्नसक्छौं।
१८. मन्दिरको दर्शनको अन्तिम पूर्ति कहिले हुनेछ?
१८ पुनर्स्थापनासम्बन्धी अन्य भविष्यवाणीहरूजस्तै इजकिएलको दर्शनको अर्को पूर्ति अर्थात् अन्तिम पूर्ति प्रमोदवनमा हुनेछ। त्यतिबेला मात्रै असल हृदय भएका मानवजातिले परमेश्वरको मन्दिरको प्रबन्धबाट पूर्ण लाभ उठाउनेछन्। तब ख्रीष्टले स्वर्गीय पूजाहारीवर्गका १,४४,००० सित मिलेर छुडौतीको बलिदानका लाभहरू पूर्णतया लागू गर्नुहुनेछ। ख्रीष्टको शासनको अधीनमा बस्ने सबै आज्ञाकारी प्रजाहरू सिद्ध तुल्याइनेछन्। (प्रकाश २०:५, ६) तथापि, इजकिएलको दर्शनको प्रमुख पूर्ति प्रमोदवनमा हुने होइन। किन?
त्यो दर्शन हाम्रो समयमा केन्द्रित छ
१९, २०. दर्शनको प्रमुख पूर्ति प्रमोदवनमा नभई अहिले हुनु किन महत्त्वपूर्ण छ?
१९ इजकिएलले देखेको मन्दिरलाई मूर्तिपूजा तथा आध्यात्मिक व्यभिचारबाट शुद्ध पार्नुपर्ने थियो। (इजकिएल ४३:७-९) यसले पक्कै पनि प्रमोदवनमा यहोवाको उपासनालाई संकेत गरेको हुनसक्दैन। यसबाहेक, दर्शनका पूजाहारीहरूले पुनरुत्थानपछि स्वर्गीय जीवन पाइसकेका वा हजार वर्षीय राज्यमा शासन गरिरहेका पूजाहारीवर्गको नभई पृथ्वीमै छँदाका अभिषिक्त पूजाहारीवर्गको चित्रण गर्छ। किन? किनभने ध्यान दिनुहोस्, दर्शनमा पूजाहारीहरू भित्री चोकमा सेवा गरिरहेका छन्। प्रहरीधरहरा-का लेखहरूले देखाएअनुसार चोकले ख्रीष्टका सहपूजाहारीहरूको पृथ्वीमा हुँदाको अनुपम आध्यात्मिक अवस्थालाई चित्रण गर्छ।c यो पनि याद गर्नुहोस्, दर्शनले पूजाहारीहरूको असिद्धतालाई पनि जोड दिन्छ। तिनीहरूकै पापहरूको लागि पनि बलिदान चढाउनु भनिएको छ। तिनीहरूलाई आध्यात्मिक तथा नैतिक तवरमा अशुद्ध हुनसक्ने खतराबारे चेतावनी दिइएको छ। त्यसकारण, तिनीहरूले पुनरुत्थान भएका अभिषिक्त जनहरूको चित्रण गर्दैनन् जसबारे प्रेरित पावलले यसप्रकार लेखे: “तुरही बज्नेछ, र मरेकाहरू अविनाशी रूपमा बिउँताइनेछन्।” (१ कोरिन्थी १५:५२; इजकिएल ४४:२१, २२, २५, २७) दर्शनका पूजाहारीहरू मानिसहरूसित घुलमिल हुन्छन् र प्रत्यक्ष रूपमा मानिसहरूको सेवा गर्छन्। प्रमोदवनमा यसो हुनेछैन किनभने त्यतिबेला पूजाहारीवर्ग स्वर्गमा हुनेछन्। तसर्थ, उक्त दर्शनले पृथ्वीमा “ठूलो भीड[सित]” मिलेर अभिषिक्त जनहरूले कसरी काम गर्नेछन् भनी स्पष्ट पार्छ।—प्रकाश ७:९; इजकिएल ४२:१४.
२० यसप्रकार, मन्दिरसम्बन्धी इजकिएलको दर्शनले अहिले भइरहेको आध्यात्मिक शुद्धीकरणका लाभदायक असरहरूबारे संकेत गर्छ। तर तपाईंको लागि यसको अर्थ के हो? यो कुनै अस्पष्ट धर्मविज्ञानी रहस्य मात्र होइन। यो दर्शन एक मात्र साँचो परमेश्वर यहोवालाई दिनदिनै गरिने उपासनासँग सम्बन्धित छ। त्यो कसरी हो, यसपछिको लेखमा बुझ्नेछौं।
[फुटनोटहरू]
a यसले इजकिएलको मन छोयो होला किनभने भनिन्छ, तिनी पनि सादोकको पूजाहारी कुलका थिए।
b उदाहरणका लागि, पुरातन मिश्नाहमा लेखिएअनुसार इजकिएलको दर्शनअनुसारै पुनर्स्थापित मन्दिरमा वेदी, मन्दिरको दुई खापा भएको ढोका अनि पकाउने ठाउँ बनाइएको थियो।
c प्रहरीधरहरा जुलाई १, १९९६, पृष्ठ १६; डिसेम्बर १, १९७२ (अंग्रेजी), पृष्ठ ७१८ हेर्नुहोस्।
के तपाईंले सम्झनुभएको छ?
◻ इजकिएलले देखेको दर्शनअनुसार मन्दिर र त्यसको पूजाहारीगिरीको प्रारम्भिक पूर्ति के थियो?
◻ इजकिएलले देखेको दर्शनअनुसार जग्गा-जमीन बाँडफाँट गर्ने कामको प्रारम्भिक पूर्ति कसरी भयो?
◻ पुरातन इस्राएलको पुनर्स्थापना हुँदा विश्वासी राजा र “धर्मको वृक्ष[को]” काम कसले सँभाले?
◻ इजकिएलको मन्दिरको दर्शनको प्रमुख पूर्ति आखिरी दिनमा हुनु किन खाँचो छ?