अहिलेको “मन्दिर” र “राजा”
“त्यति बेला राजा पनि तिनीहरूसितै, तिनीहरू भित्र जाँदा भित्र जाने र बाहिर आउँदा बाहिर आउने गरोस्।”—इजकिएल ४६:१०.
१, २. इजकिएलले देखेको मन्दिरको दर्शनको अर्थ बुझ्न कुन महत्त्वपूर्ण सत्यले मदत गर्छ?
केही पुरातन यहूदी रब्बीहरूलाई इजकिएलको पुस्तक स्वीकार्न त्यति सजिलो भएन। ताल्मुदअनुसार कसै कसैले त त्यो पुस्तक पवित्र धर्मशास्त्रमा नगाभ्ने विचारसमेत गरे। तिनीहरूलाई मन्दिरको दर्शन बुझ्न सबैभन्दा गाह्रो भयो अनि त्यो मानिसहरूले बुझ्नै नसक्ने कुरा हो भने। अन्य बाइबल शास्त्रज्ञहरू पनि इजकिएलले देखेको परमेश्वरको मन्दिरको दर्शन बुझ्न नसकेर अलमल्ल परेका छन्। हामी नि?
२ शुद्ध उपासना पुनर्स्थापित भएदेखि यहोवाले आफ्ना जनहरूलाई थुप्रै आध्यात्मिक अन्तरदृष्टि प्रदान गर्नुभएको छ। त्यसमध्ये एउटा, शुद्ध उपासनाको लागि यहोवाको प्रबन्ध अर्थात् परमेश्वरको आध्यात्मिक मन्दिरबारे बुझ्ने समझ हो।a यो महत्त्वपूर्ण सच्चाइले इजकिएलले देखेको मन्दिरको दर्शनको अर्थ बुझ्न निकै मदत गर्छ। यो दर्शनको चार वटा प्रमुख पक्षलाई नियालेर हेरौं—मन्दिर, पूजाहारीगिरी, राजा तथा पुनर्स्थापित देश। अहिले यसको अर्थ के हो?
मन्दिर र तपाईं
३. अग्लो छाना र मन्दिरभित्र पस्दा देखिने भित्ताहरूमा कुँदिएका चित्रहरूबाट हामी के सिक्छौं?
३ आउनुहोस्, हामी दर्शनको मन्दिरको परिक्रमा गरिरहेको कल्पना गरौं। हामी सात खुड्किला चढेपछि एउटा ठूलो ढोकामा पुग्छौं। भित्र पुगेपछि आश्चर्यचकित भएर माथितिर हेर्छौं। सय फिटभन्दा माथि छाना छ! उपासनाको सन्दर्भमा यहोवाका स्तरहरू उच्च छन् भनेर यसले हामीलाई स्मरण गराउँछ। झ्यालबाट छिरेको ज्योतिले भित्तामा कुँदिएका खजूरका रूखहरूलाई अझ चम्किलो बनाउँछ र धर्मशास्त्रमा खजूरले सोझोपनको चित्रण गर्छ। (भजन ९२:१२; इजकिएल ४०:१४, १६, २२) यो पवित्र स्थान नैतिक तथा आध्यात्मिक तवरमा सोझो व्यक्तिहरूको निम्ति हो। यसैअनुरूप यहोवाको लागि हाम्रो उपासना ग्रहणयोग्य होस् भनेर हामी पनि सोझो हुन चाहन्छौं।—भजन ११:७.
४. मन्दिरमा कसलाई प्रवेश गर्न दिइँदैन र यसले हामीलाई के सिकाउँछ?
४ बाटोको दुवै छेउमा रक्षक बस्ने तीन वटा कोठाहरू छन्। हामी भित्र जान सकौंला? यहोवा इजकिएललाई भन्नुहुन्छ, ‘मनमा खतना नगरेका’ विदेशी भित्र प्रवेश गर्न पाउनेछैन। (इजकिएल ४०:१०; ४४:९) त्यसको अर्थ के हो? यसको अर्थ हो, परमेश्वरको व्यवस्थालाई प्रेम गर्ने तथा उहाँको स्तरअनुसार जीवन बिताउनेलाई मात्र उहाँले आफ्नो उपासकको हैसियतमा स्वीकार्नुहुन्छ। (यर्मिया ४:४; रोमी २:२९) उहाँले त्यस्ता व्यक्तिहरूलाई आफ्नो आध्यात्मिक पाल, उहाँको उपासना गर्ने भवनमा स्वागत गर्नुहुन्छ। (भजन १५:१-५) सन् १९१९ मा शुद्ध उपासना पुनर्स्थापित भएदेखि यहोवाको पार्थिव संगठनले क्रमिक रूपमा उहाँका नैतिक नियमहरू स्पष्ट पार्नुका साथै त्यसको समर्थन गर्दै आएको छ। जानाजानी ती नियम पालन गर्न नचाहनेहरूलाई उहाँका जनहरूको समूहमा स्वागत गरिंदैन। गल्ती गरेर पश्चात्ताप नगर्नेहरूलाई अहिले बहिष्कार गर्ने बाइबल आधारित प्रचलनले हाम्रो उपासना स्वच्छ तथा शुद्ध राख्न मदत गरेको छ।—१ कोरिन्थी ५:१३.
५. (क) इजकिएलको दर्शन र प्रकाश ७:९-१५ मा लिपिबद्ध यूहन्नाको दर्शनबीच के समानता छ? (ख) इजकिएलको दर्शनमा बाहिरी चोकमा उपासना गरिरहेका १२ कुलले कसको चित्रण गर्छ?
५ बाहिरको बाटोबाट गएपछि हामी बाहिरी चोकमा पुग्छौं जहाँ मानिसहरू यहोवाको उपासना र प्रशंसा गर्छन्। यसले हामीलाई प्रेरित यूहन्नाको दर्शनको स्मरण गराउँछ जहाँ “ठूलो भीड” यहोवालाई “दिन-रात उहाँको मन्दिरमा” उपासना गरिरहेका छन्। दुइटै दर्शनमा खजूरका बोटहरू छन्। इजकिएलको दर्शनमा ढोकाबाट भित्र छिर्नेबित्तिकै दायाँ बायाँ भित्ताहरू खजूरका बोटले सिंगारिएका छन्। यूहन्नाको दर्शनमा उपासकहरूले हातमा खजूरका हाँगाहरू लिएका छन् र त्यसले यहोवाको प्रशंसा गर्न तथा येशूलाई आफ्नो राजाको हैसियतमा स्वागत गर्न पाउँदाको आनन्द चित्रण गर्छ। (प्रकाश ७:९-१५) इजकिएलको दर्शनको सन्दर्भमा भन्ने हो भने, इस्राएलका १२ कुलले “अरू भेडाको” चित्रण गर्छ। (यूहन्ना १०:१६; तुलना गर्नुहोस् लूका २२:२८-३०) यहोवाको राज्यबारे घोषणा गरेर उहाँको प्रशंसा गर्न पाएकोमा आनन्दित हुनेहरूमध्ये के तपाईं पनि हुनुहुन्छ?
६. बाहिरी चोकमा भान्सा-कोठाहरूको उद्देश्य के थियो र यसले अरू भेडाकाहरूलाई कुन सुअवसरको स्मरण गराउँछ?
६ बाहिरको चोक घुमिसकेपछि हामी ३० वटा भान्सा-कोठाहरू देख्छौं जहाँ मानिसहरू स्वेच्छाले चढाएको बलिदान आफै खान्छन्। (इजकिएल ४०:१७) अहिले अरू भेडाका सदस्यहरूले पशुबलिहरू चढाउँदैनन् तर तिनीहरू आध्यात्मिक मन्दिरमा खाली हात आउँदैनन्। (प्रस्थान २३:१५ तुलना गर्नुहोस्।) प्रेरित पावलले यसरी लेखे: “[येशू]द्वारानै हामी निरन्तर स्तुतिको बलिदान परमेश्वरलाई चढ़ाऔं, जो उहाँको नाउँ स्वीकार गर्ने हाम्रो ओठको फल हो। तर भलाइ गर्न र सहयोगी हुन नबिर्स, किनकि यस्तै बलिदानहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।” (हिब्रू १३:१५, १६; होशे १४:२) यहोवालाई त्यस्ता बलिदानहरू चढाउन पाउनु ठूलो सुअवसर हो।—हितोपदेश ३:९, २७.
७. मन्दिरको नाप लिनुले हामीलाई कुन कुराको आश्वासन दिन्छ?
७ दर्शनमा देखेको यो मन्दिरलाई स्वर्गदूतले नापिरहेको इजकिएल हेरिरहन्छन्। (इजकिएल ४०:३) त्यस्तैगरि, प्रेरित यूहन्नालाई यसो भनिएको थियो: “उठ, र परमेश्वरको मन्दिर, वेदी र त्यसमा पूज्नेहरूलाई नाप।” (प्रकाश ११:१) यसरी नाप्नुको अर्थ के हो? दुवै अवसरमा यसरी नाप्नुले शुद्ध उपासनाको सन्दर्भमा यहोवाको उद्देश्य पूरा गर्न कुनै पनि कुराले रोक्न सक्दैन भन्ने ग्यारेन्टी दियो। त्यस्तैगरि, अहिले सरकारहरूले जस्तोसुकै क्रूर सतावट दिए तापनि शुद्ध उपासनाको पुनर्स्थापना गर्नदेखि कुनै पनि कुराले रोक्न सक्दैन भनी विश्वस्त हुनसक्छौं।
८. ढोकाबाट भित्री चोकमा को प्रवेश गर्छन् र यी ढोकाहरूले हामीलाई कुन कुराको स्मरण गराउँछ?
८ बाहिरी चोकमा हिंड्दा हामी भित्री चोकसम्म पुग्ने तीन वटा ढोका देख्छौं; भित्रपट्टिका ढोकाहरू लहरै छन् र बाहिरका ढोकाहरू जत्रै आकारका छन्। (इजकिएल ४०:६, २०, २३, २४, २७) पूजाहारीहरू मात्र त्यहाँ प्रवेश गर्न पाउँछन्। भित्रका ढोकाहरूले अभिषिक्त जनहरू विशेषगरि ईश्वरीय स्तर तथा नियमअनुसार चल्नुपर्छ भनी स्मरण गराउँछ। निस्सन्देह, सबै साँचो मसीहीहरूलाई त्यही नियम तथा स्तर लागू हुन्छ। तर पूजाहारीहरूको काम के हो र अहिले हाम्रो समयमा त्यसको के अर्थ लाग्छ?
विश्वासी पूजाहारीगिरी
९, १०. इजकिएलको दर्शनमा पूर्व चित्रण गरिएको “राजकीय पूजाहारीगिरी[ले]” कसरी आध्यात्मिक निर्देशन प्रदान गरेको छ?
९ मसीहीपूर्व समयमा पूजाहारीहरूले मन्दिरमा कडा मेहनत गर्थे। बलिदान चढाउन ल्याएका पशुहरू मार्नु, वेदीमा चढाउनु अनि सँगी पूजाहारी तथा मानिसहरूको सेवा गर्नु शारीरिक तवरमा सजिलो काम थिएन। तर तिनीहरूले गर्नुपर्ने अरू महत्त्वपूर्ण काम थियो। यहोवाले पूजाहारीहरूको सन्दर्भमा यस्तो आज्ञा दिनुभयो: “तिनीहरूले मेरो प्रजालाई पवित्र र अपवित्र कुरा छुट्याउनु सिकाउनेछन्, औ तिनीहरूलाई शुद्ध र अशुद्धको भिन्नता देखाउनेछन्।”—इजकिएल ४४:२३; मलाकी २:७.
१० के तपाईं अभिषिक्त जनहरूले “राजकीय पूजाहारीगिरी[को]” हैसियतमा शुद्ध उपासनाको खातिर गरेको कडा मेहनत तथा नम्र सेवाको मूल्यांकन गर्नुहुन्छ? (१ पत्रुस २:९) पुरातन समयका लेवी पूजाहारीहरूले गरे जस्तै यिनीहरूले आध्यात्मिक निर्देशन दिन, परमेश्वरको नजरमा स्वच्छ तथा स्वीकार्य के हो र के स्वीकार्य होइन भनी बुझ्ने मदत दिने काममा नेतृत्व लिएका छन्। (मत्ती २४:४५) बाइबल आधारित प्रकाशन अनि मसीही सभा तथा अधिवेशनहरूद्वारा प्रदान गरिने त्यस्तो निर्देशनले लाखौं मानिसहरूलाई परमेश्वरसित पुनः मिलाप गर्न मदत गरेको छ।—२ कोरिन्थी ५:२०.
११. (क) पूजाहारीहरूलाई शुद्ध गरिनुपर्ने महत्त्वलाई इजकिएलको दर्शनले कसरी जोड दियो? (ख) आखिरी दिनमा अभिषिक्त जनहरू कसरी आध्यात्मिक अर्थमा शुद्ध गरिएका छन्?
११ तथापि, पूजाहारीहरूले अरूलाई स्वच्छ हुनुपर्छ भनेर सिकाएर मात्र पुग्दैन; तिनीहरू आफै पनि स्वच्छ हुनुपर्छ। तसर्थ, इजकिएलले इस्राएलको पूजाहारीगिरीको शुद्धीकरणको पूर्व झलक पाए। (इजकिएल ४४:१०-१६) त्यस्तैगरि, सन् १९१८ मा “खार्ने” व्यक्तिको हैसियतमा यहोवा आध्यात्मिक मन्दिरमा आउनुभयो र अभिषिक्त पूजाहारीवर्गलाई जाँच्नुभयो भनी इतिहासले देखाउँछ। (मलाकी ३:१-५) पहिले मूर्तिपूजामा संलग्न भएका तर अहिले आध्यात्मिक तवरमा स्वच्छ भएकाहरूलाई आध्यात्मिक मन्दिरमा सेवा चढाउन दिइयो। तैपनि, अरू सबैजस्तै अभिषिक्त जनहरू पनि आध्यात्मिक तथा नैतिक तवरमा अशुद्ध हुनसक्ने सम्भावना छ। (इजकिएल ४४:२२, २५-२७) “दुनियाँबाट निष्कलंक” रहन तिनीहरूले निकै परिश्रम गर्नुपरेको छ।—याकूब १:२७; तुलना गर्नुहोस् मर्कूस ७:२०-२३.
१२. हामीले अभिषिक्त जनहरूको कामलाई किन मूल्यांकन गर्नुपर्छ?
१२ हामी सबैले यी प्रश्नहरू सोध्न सक्छौं, ‘के अभिषिक्त जनहरूले वर्षौं अघिदेखि गर्दै आएको विश्वासी सेवाको उदाहरणको म मूल्यांकन गर्छु? के म तिनीहरूको विश्वासको अनुकरण गर्छु?’ अभिषिक्त जनहरू यस पृथ्वीमा सधैं हुनेछैनन् भनी ठूलो भीडले बिर्सनु हुँदैन। इजकिएलको दर्शनका पूजाहारीहरूबारे यहोवाले यसो भन्नुभयो: “तिमीहरूले इस्राएलमा तिनीहरूलाई जग्गा-जमीनको निजी अधिकार नदिनू। मनै तिनीहरूको निजी अधिकार हुँ।” (इजकिएल ४४:२८) त्यस्तैगरि, अभिषिक्त जनहरूको यस पृथ्वीमा सधैंभरि रहने ठाउँ छैन। अभिषिक्त जनहरूको स्वर्गमा पैतृक सम्पत्ति छ; ठूलो भीडका सदस्यहरूले ती अभिषिक्त जनहरू पृथ्वीमा छऊञ्जेल तिनीहरूलाई सहयोग तथा प्रोत्साहन दिन पाउनु आफ्नो सुअवसर ठान्छन्।—मत्ती २५:३४-४०; १ पत्रुस १:३, ४.
राजा—तिनी को हुन्?
१३, १४. (क) राजा किन अरू भेडाको हुनुपर्छ? (ख) राजाले कसको चित्रण गर्छ?
१३ अब एउटा रोमाञ्चकारी प्रश्न उठ्छ। राजाले कसको प्रतिनिधित्व गर्छ? तिनलाई व्यक्तिविशेष र समूहको रूपमा सम्बोधन गरिएको हुँदा तिनी मानिसहरूको समूह हो जस्तो लाग्ला। (इजकिएल ४४:३; ४५:८, ९) तर को हो? अभिषिक्त जन त पक्कै होइन। दर्शनमा तिनी पूजाहारीगिरी सँगसँगै काम गर्छन् तर तिनी पूजाहारी चाहिं होइनन्। पूजाहारीवर्गलाई नदिइएको कुरा अर्थात् तिनलाई जग्गा-जमीनको पैतृक सम्पत्ति दिइएको छ र तिनको भविष्य यसै पृथ्वीमा छ, स्वर्गमा होइन। (इजकिएल ४८:२१) यसबाहेक, इजकिएल ४६:१० यसो भन्छ: “त्यति बेला राजा पनि तिनीहरूसितै, तिनीहरू [गैरपूजाहारी जाति] भित्र [मन्दिरको बाहिरी चोकमा] जाँदा भित्र जाने र बाहिर आउँदा बाहिर आउने गरोस्।” तिनी भित्री चोकमा प्रवेश गर्दैनन् तर बाहिरी चोकमा उपासना गर्छन्, मानिसहरूसँगसँगै मन्दिरभित्र आउने र बाहिर जाने गर्छन्। यी कारणहरूले गर्दा सम्भाव्य राजावर्ग, अरू भेडाको ठूलो भीडमध्येबाट हुनुपर्छ।
१४ स्पष्टतः, राजाले परमेश्वरका जनबीच पूरा गर्नुपर्ने जिम्मेवारी छ। तिनी बाहिरी चोकको पूर्वी ढोकाको दलानमा बस्छन्। (इजकिएल ४४:२, ३) यसले शहरको ढोकामा बसेर न्याय गर्ने इस्राएलका बुढापाकाहरूले गर्ने जस्तै निरीक्षण कार्यलाई संकेत गर्छ। (रूथ ४:१-१२; हितोपदेश २२:२२) वर्तमान समयमा अरू भेडामध्येका क-कसले निरीक्षणको कार्य गरिरहेका छन्? ठूलो भीडमध्येका पार्थिव आशा भएका निरीक्षकहरूले र तिनीहरू पवित्र आत्माले नियुक्त भएका हुन्छन्। (प्रेरित २०:२८) तिनीहरूले यहोवाको दृश्य संगठनभित्र विभिन्न जिम्मेवारीहरू वहन गरेका छन्। अतः यो राजावर्गलाई भावी नयाँ संसारमा प्रशासकीय सेवा गर्नको लागि तयार पारिंदैछ।
१५. (क) ठूलो भीडका प्राचीनहरू र अभिषिक्त पूजाहारीवर्गबीचको सम्बन्धलाई इजकिएलको दर्शनले कसरी प्रकाश पार्छ? (ख) परमेश्वरको पार्थिव संगठनमा अभिषिक्त प्राचीनहरूले कस्तो नेतृत्व लिएका छन्?
१५ त्यसोभए, अभिषिक्त पूजाहारीवर्ग तथा निरीक्षणको कार्य गरिरहेको ठूलो भीडका ती बूढापाकाहरूबीच के सम्बन्ध छ? इजकिएलको दर्शनले संकेत गरेअनुसार प्राचीनहरू ठूलो भीडका सदस्य हुन्, तिनीहरू अधीनमा बसेर सहयोग गर्छन् भने अभिषिक्त जनहरूले आध्यात्मिक नेतृत्व लिन्छन्। कसरी? नबिर्सनुहोस्, दर्शनका पूजाहारीहरूले मानिसहरूलाई आध्यात्मिक कुराहरू सिकाउने जिम्मेवारी पाएका थिए। तिनीहरूलाई कानुनी मामिलामा पनि न्यायकर्ताको हैसियतमा सेवा गर्न अह्राइएको थियो। साथै, लेवीहरूलाई मन्दिरको मूल-ढोकामा “जिम्मा लिएर त्यहाँ सेवा” गर्न खटाइयो। (इजकिएल ४४:११, २३, २४) स्पष्टतः राजा, पूजाहारीहरूको आध्यात्मिक सेवा तथा नेतृत्वको अधीनमा खुशीसाथ बस्नुपर्ने थियो। तसर्थ, वर्तमान समयमा अभिषिक्त जनले शुद्ध उपासनामा नेतृत्व लिनु उचित छ। उदाहरणका लागि, यहोवाका साक्षीहरूको परिचालक निकायका सदस्यहरू तिनीहरूमध्येबाटै छानिएका छन्। ती विश्वासी अभिषिक्त प्राचीनहरूले राजावर्गलाई दशकौंदेखि प्रशिक्षण दिंदै आएका छन्। यस वर्गका सम्भाव्य सदस्यहरूलाई त्यो दिनको लागि तयारी गरिंदैछ जब तिनीहरूले आउँदै गरेको परमेश्वरको नयाँ संसारमा पूर्ण अख्तियार पाउनेछन्।
१६. यशैया ३२:१, २ अनुसार प्राचीनहरूले कस्तो व्यवहार गर्नुपर्छ?
१६ तर यी सम्भाव्य सदस्यहरू कस्तो प्रकारका निरीक्षकहरू हुन् जसले राजावर्गको हैसियतमा अझ ठूलठूला जिम्मेवारीहरू वहन गर्नेछन्? यशैया ३२:१, २ को भविष्यवाणी यसप्रकार छ: “हेर, राजाले न्यायोचित राज्य गर्नेछन्, र भारादारहरूले उचित शासन गर्नेछन्। औ प्रत्येक मानिस बतासबाट लुक्ने ठाउँ, र आँधी–बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै हुनेछ।” यो भविष्यवाणी अहिले पूरा भइरहेको छ किनभने अभिषिक्त र अरू भेडा दुवैका मसीही प्राचीनहरू आफ्नो बगाललाई सतावट दिने तथा निरूत्साहित गर्ने “आँधी-बेह्रीबाट” जोगाउने प्रयास गर्छन्।
१७. मसीही गोठालाहरूले आफूबारे कस्तो दृष्टिकोण राख्नुपर्छ र बगालले तिनीहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?
१७ हिब्रूमा उस्तै अर्थ लाग्ने शब्द “राजकुमार” तथा “राजा” मानिसहरूलाई उचाल्न प्रयोग गरिएका पदवीहरू होइनन्। बरु, त्यसले परमेश्वरको भेडाको हेरचाह गर्न ती पुरुषहरूले वहन गर्नुपर्ने जिम्मेवारीको वर्णन गर्छ। यहोवा यस्तो कडा चेताउनी दिनुहुन्छ: “हे इस्राएलका राजा हो! बस्, अब भयो! उपद्रव र डकैती बन्द गर! न्याय र इन्साफ कायम राख।” (इजकिएल ४५:९) सबै प्राचीनहरूले अहिले त्यो सल्लाह हृदयंगम गर्नु राम्रो हो। (१ पत्रुस ५:२, ३) फलतः बगालले पनि यी गोठालाहरू येशूले प्रदान गर्नुभएको “मानिसहरूलाई वरदान” हुन् भनी मानी लिन्छन्। (एफिसी ४:८) तिनीहरूमा हुनुपर्ने योग्यताहरू परमेश्वरको प्रेरित वचनमा लेखिएका छन्। (१ तिमोथी ३:१-७; तीतस १:५-९) तसर्थ, मसीहीहरू प्राचीनहरूको नेतृत्वमा चल्छन्।—हिब्रू १३:७.
१८. अहिले सम्भाव्य राजावर्गको केही जिम्मेवारीहरू के हुन् र भविष्यमा कस्तो जिम्मेवारी पाउनेछन्?
१८ बाइबलकालीन राजाहरूमध्ये कसैसित धेरै त कसैसित कम अख्तियार थियो। त्यसैगरि, अहिले ठूलो भीडका प्राचीनहरूको पनि बेग्लाबेग्लै जिम्मेवारीहरू छन्। कसैले एउटा मण्डलीको सेवा गर्छन्; अरूले परिभ्रमण निरीक्षकको हैसियतमा थुप्रै मण्डलीहरूको सेवा गर्छन्; कतिले भने शाखा समितिको सदस्यको हैसियतमा सम्पूर्ण देशकै सेवा गर्छन्; अरूले चाहिं परिचालक निकायका विभिन्न समितिहरूलाई प्रत्यक्ष सहयोग पुऱ्याउँछन्। नयाँ संसारमा येशूले पृथ्वीमा भएका यहोवाका उपासकहरूको नेतृत्व लिन “सारा पृथ्वीभरिका राजकुमार” नियुक्त गर्नुहुनेछ। (भजन ४५:१६) निस्सन्देह, येशूले यीमध्ये थुप्रैलाई वर्तमान समयका विश्वासी प्राचीनहरूबाट छान्नुहुनेछ। यी पुरुषहरूले अहिले आफूलाई योग्य साबित गरिरहेको हुँदा उहाँले भविष्यमा थुप्रैलाई अझ ठूलठूला सुअवसरहरू प्रदान गर्नुहुनेछ।
अहिले परमेश्वरका जनहरूको देश
१९. इजकिएलको दर्शनको देशले के चित्रण गर्छ?
१९ इजकिएलको दर्शनले इस्राएलको पुनर्स्थापित देशको पनि चित्रण गर्छ। यसले कुन कुराको प्रतिनिधित्व गर्छ? पुनर्स्थापनासम्बन्धी अन्य भविष्यवाणीहरूले इस्राएलको देश, अदनको बगैंचाजस्तै हुनेछ भनी भविष्यवाणी गरेको थियो। (इजकिएल ३६:३४, ३५) अहिले हामी पुनर्स्थापित “देश[मा]” बस्न पाइरहेका छौं र यो एउटा अर्थमा अदनजस्तै छ। त्यसै अर्थमा हामी प्रायजसो आध्यात्मिक प्रमोदवनबारे कुरा गर्ने गर्छौं। प्रहरीधरहरा-ले हाम्रो “देश[लाई]” परमेश्वरका छानिएका जनहरूको “सक्रिय संसार” भनी परिभाषित गरेको छ।b यहोवाको सेवक जहाँसुकै किन होस्, उसले ख्रीष्ट येशूको पाइलामा हिंडेर साँचो उपासनामा लागिरहने प्रयास गरिरहेको छ भने पुनर्स्थापित देशमै हुन्छ।—१ पत्रुस २:२१.
२०. इजकिएलको दर्शनको “पवित्र ठाउँ[बाट]” हामी कस्तो सिद्धान्त सिक्नसक्छौं र यो कसरी लागू गर्न सकिन्छ?
२० “पवित्र ठाउँ” भनी अलग्गै छुट्याइएको जमीन नि? यो मानिसहरूले पूजाहारी तथा शहरलाई टेवा पुऱ्याउन दिएको चन्दा थियो। त्यस्तैगरि, “देशका सबै मानिसहरूले” जमीनको एउटा अंश राजालाई चन्दा दिनुपर्ने थियो। अहिले यसको अर्थ के हो? परमेश्वरका जनलाई तलब खाने पादरीवर्गको बोझ थोपर्ने भनेको त होइन। (२ थिस्सलोनिकी ३:८) बरु, प्राचीनहरूलाई आज मुख्यतया आध्यात्मिक सहयोग दिइन्छ। यसमा काम पूरा गर्न हात बटाउनु अनि सहयोगी र आज्ञाकारी मनोभाव देखाउनु समावेश छ। यद्यपि, इजकिएलको दिनमा झैं यो चन्दा मानिसका लागि होइन “यहोवालाई” हो।—इजकिएल ४५:१, ७, १६.
२१. इजकिएलको दर्शनमा जमीनको बाँडफाँटबाट हामी के सिक्न सक्छौं?
२१ यस पुनर्स्थापित देशमा राजा तथा पूजाहारीलाई मात्र आ-आफ्नो स्थानमा खटाइएको होइन। देशको बाँडफाँटले १२ कुलमध्ये हरेकले यथेष्ट पैतृक-सम्पत्ति पाएका छन् भनेर देखाउँछ। (इजकिएल ४७:१३, २२, २३) अतः ठूलो भीडले अहिले आध्यात्मिक प्रमोदवनमा मात्र ठाउँ पाउने होइन तर परमेश्वरको राज्यको पार्थिव जगत्मा पनि ठाउँ पाउनेछन्।
२२. (क) इजकिएलको दर्शनको शहरले केको प्रतिनिधित्व गर्छ? (ख) शहरमा चारैतिर ढोकाहरू हुनुबाट हामी के सिक्न सक्छौं?
२२ अन्तमा, उक्त दर्शनको शहरले केको प्रतिनिधित्व गर्छ? यो स्वर्गको शहर होइन किनभने यो “अपवित्र” भागमा पर्छ। (इजकिएल ४८:१५-१७) त्यसकारण, यो पृथ्वीकै कुरा हुनुपर्छ। उसोभए, शहर के हो? के यसले मानिसहरू एक ठाउँमा भेला भएर कुनै व्यवस्थित आधार बनाउन लागेको कुरा बुझाउँदैन र? बुझाउँछ। यसर्थ, शहरले सम्पूर्ण धार्मिक पार्थिव समाजले लाभ उठाओस् भनेर स्थापित पार्थिव प्रशासनलाई चित्रण गरेको जस्तो देखिन्छ। यो आउँदै गरेको “नयाँ पृथ्वी[मा]” पूर्णतया कार्यान्वयन हुनेछ। (२ पत्रुस ३:१३) शहरको सबैतिर हरेक जातिको लागि एउटा एउटा ढोका हुनुले सबैका लागि शहर खुला छ भनी देखाउँछ। अहिले परमेश्वरका जनहरू रहस्यमय तथा गुपचुप प्रशासनको अधीनमा छैनन्। जिम्मेवारी वहन गरेका भाइहरूसित पनि सजिलै कुरा गर्न सकिने हुनुपर्छ; तिनीहरू जुन सिद्धान्तअनुसार चल्छन्, त्यो सबैलाई थाह छ। शहरलाई टेवा पुऱ्याउने जमीनमा सबै जातिका मानिसहरूले खेतीपाती गर्नुले कुन कुराको स्मरण गराउँछ भने त्यस्तो प्रशासनद्वारा निर्देशित विश्वव्यापी प्रबन्ध तथा गतिविधिलाई अरू भेडाले भौतिक तवरमा समेत सहयोग गर्छन्।—इजकिएल ४८:१९, ३०-३४.
२३. यसपछिको लेखमा हामी के छलफल गर्नेछौं?
२३ मन्दिरबाट निस्कने खोला नि? अहिले र भविष्यमा त्यसले केको प्रतिनिधित्व गर्छ, यस श्रृंखलाको अन्तिम तथा तेस्रो लेखमा छलफल गरिनेछ।
[पादटिप्पणीहरू]
a वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पृष्ठ ६४, अनुच्छेद २२ हेर्नुहोस्।
b प्रहरीधरहरा जुलाई १, १९९५, पृष्ठ २० हेर्नुहोस्।
पुनरावलोकनका लागि बुँदाहरू
◻ इजकिएलको दर्शनको मन्दिरले केको चित्रण गर्छ?
◻ मन्दिरमा सेवा गर्ने पूजाहारीहरूले कसको चित्रण गर्छ?
◻ राजावर्ग के हो र त्यसका केही जिम्मेवारीहरू के हुन्?
◻ इजकिएलको दर्शनको देश के हो र यो कुन अर्थमा १२ कुललाई बाँडिएको छ?
◻ शहरले केको चित्रण गर्छ?
[पृष्ठ १५-मा भएको डायग्राम/नक्सा]
(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्)
इजकिएलको दर्शनमा देखाइएको जमीनको बाँडफाँट
बाह्र कुलहरू
ठूलो समुद्र
गालीलको समुद्र
यर्दन नदी
नुनिलो समुद्र
दान
आशेर
नप्ताली
मनस्से
एप्रैम
रूबेन
यहूदा
राजा
बिन्यामीन
शिमोन
इस्साकार
जबूलून
गाद
[डायग्राम]
पवित्र ठाउँको विस्तार
क. “यहोवा त्यहीं हुनुहुन्छ” (यहोवा-शामा); ख. शहरको उत्पादनशील भूमि
लेवीको भाग
यहोवाको वेदी
पूजाहारीको भाग
ख क ख