हाम्रो “देशमा” यहोवाका आशिष्हरू
“जहाँ त्यो नदी बग्छ त्यहाँ जेसुकै पनि बाँच्नेछ।”—इजकिएल ४७:९.
१, २. (क) पानी कत्तिको महत्त्वपूर्ण छ? (ख) इजकिएलको दर्शनको मन्दिरले केको चित्रण गर्छ?
पानी, अद्भुत तरल पदार्थ हो। सारा भौतिक जीवन यसमा निर्भर छ। यो बिना हामीमध्ये कोही पनि लामो समयसम्म बाँच्न सक्दैनौं। सफाईको लागि पनि पानी नै चाहिन्छ किनभने त्यसले फोहर कुराहरूलाई पखाल्छ। त्यसकारण, हामी पानीले शरीर, लुगाफाटा र खानेकुरासमेत पखाल्छौं। यसो गर्दा हाम्रो जीवन बच्न सक्छ।
२ बाइबलमा पानीले यहोवाका जीवनदायी आध्यात्मिक प्रबन्धहरूको चित्रण गर्छ। (यर्मिया २:१३; यूहन्ना ४:७-१५) यी प्रबन्धहरूमध्ये परमेश्वरको वचनमा पाइने उहाँको ज्ञान अनि ख्रीष्टको छुडौतीको बलिदानद्वारा मानिसहरूलाई पखाल्ने प्रक्रिया पनि हो। (एफिसी ५:२५-२७) इजकिएलले देखेको मन्दिरको दर्शनमा मन्दिरबाट निस्कने निवारक खोलाले त्यस्ता जीवनदायी आशिष्हरूको चित्रण गर्छ। तर त्यो खोला कहिले बग्न थाल्छ र अहिले हाम्रो निम्ति त्यसको अर्थ के हो?
पुनर्स्थापित देशमा बग्ने नदी
३. इजकिएल ४७:२-१२ मा लेखिएअनुसार इजकिएलले कस्तो अनुभव गरे?
३ बेबिलोनमा बन्दी बनाइएका इजकिएलका जनहरूलाई यहोवाका प्रबन्धहरू नितान्त आवश्यक परेको थियो। त्यसकारण, इजकिएलले दर्शनमा मन्दिरको पवित्रस्थानबाट पानी बगेको देख्नु कति प्रोत्साहनजनक कुरा हो! स्वर्गदूतले १,००० हातको अन्तरमा खोला नाप्छन्। यसको गहिराइ एकैनासे छैन, कतै गोलीगाँठो डुब्नेदेखि लिएर घुँडासम्म डुब्ने र कतै पौडनु पर्ने भल। नदीले जीवन र उर्वरता ल्याउँछ। (इजकिएल ४७:२-११) इजकिएललाई यसो भनियो: “नदीका दुवै किनारमा अनेक किसिमका खानुहुने फलका रूखहरू उम्रनेछन्।” (इजकिएल ४७:१२क) निर्जीव पानी मृत सागरमा पुगेपछि त्यो मृत सागर जीवन्त हुन थाल्छ! माछाहरू पौडन थाल्छन्। माछा व्यवसाय फस्टाउन थाल्छ।
४, ५. नदीबारे योएलको भविष्यवाणी कुन अर्थमा इजकिएलको जस्तै छ र यो किन उल्लेखनीय छ?
४ यो सुन्दर भविष्यवाणीले निर्वासित यहूदीहरूलाई शताब्दीयौंअघि गरिएको भविष्यवाणी स्मरण गराएको हुनुपर्छ: “अनि त्यस दिन पहाड़हरूबाट मीठो दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बहनलाग्नेछ। यहूदाका सबै खोला–नालाहरूमा पानी बग्न थाल्नेछ, र परमेश्वरको भवनबाट एउटा मूल फुटेर शित्तीमको बेंसीलाई भिजाउनेछ।”a (योएल ३:१८) इजकिएलको जस्तै योएलको भविष्यवाणीले परमेश्वरको भवन अर्थात् मन्दिरबाट खोला निस्कनेछ र त्यसले सुखा भूमिलाई जीवन्त पार्नेछ भनी बताउँछ।
५ योएलको भविष्यवाणी हाम्रो समयमा पूरा भइरहेको छ भनी प्रहरीधरहरा-ले बताउँदै आएको धेरै भइसक्यो।b त्यसोभए, इजकिएलको दर्शनको कुरा पनि त्यही हो। पुरातन इस्राएलमा जस्तै अहिले परमेश्वरका जनहरूको पुनर्स्थापित देशमा यहोवाका प्रबन्ध तथा आशिष्हरू बगिरहेका छन्।
आशिष्हरूको प्रवाह
६. दर्शनको वेदीमा रगत छर्कनुले यहूदीहरूलाई कुन कुराको स्मरण गराएको हुनुपर्छ?
६ परमेश्वरका पुनर्स्थापित जनहरूले पाउने आशिष्को स्रोत के हो? याद गर्नुहोस्, जीवनको पानी परमेश्वरको मन्दिरबाट बग्छ। त्यस्तैगरि, शुद्ध उपासनाको प्रबन्ध अर्थात् यहोवाको महान् आध्यात्मिक मन्दिरबाट उहाँका आशिष्हरू आउँछन्। इजकिएलको दर्शनले अर्को महत्त्वपूर्ण विवरण बताउँछ। भित्री चोकमा वेदीको दक्षिणतिरबाट एउटा खोला बग्छ। (इजकिएल ४७:१) उक्त वेदी दर्शनमा देखेको मन्दिरको ठीक बीचमा अवस्थित छ। यहोवाले त्यसको सविवरण इजकिएललाई बताउनुहुन्छ र बलिदानको रगत त्यसमा छर्नु भनी आदेश दिनुहुन्छ। (इजकिएल ४३:१३-१८, २०) यो वेदीले सारा इस्राएलीहरूको निम्ति ठूलो अर्थ राख्थ्यो। सिनै पर्वतको फेदीमा मोशाले वेदीमा रगत छर्कंदा यहोवासित तिनीहरूको करार सदर भएको थियो। (प्रस्थान २४:४-८) अतः दर्शनको मन्दिरमा रगत छर्नुले पुनर्स्थापित भूमिमा फर्केपछि तिनीहरूले यहोवाको करारलाई आदर गरूञ्जेल उहाँका आशिष्हरू पाइरहनेछन् भनी स्मरण गराएको हुनुपर्छ।—व्यवस्था २८:१-१४.
७. अहिले मसीहीहरूका लागि प्रतीकात्मक वेदीको अर्थ के हो?
७ त्यसरी नै अहिले परमेश्वरका जनहरूले पनि एउटा करार मार्फत आशिष् पाइरहेका छन् र त्यो नयाँ हुनुका साथै उत्तम करार हो। (यर्मिया ३१:३१-३४) यो करार पनि निकै अघि येशू ख्रीष्टको रगतद्वारा सदर गरिएको थियो। (हिब्रू ९:१५-२०) आज हामी करारको सहभागी अर्थात् अभिषिक्त जनहरूमध्येका होऔं वा उक्त करारबाट लाभ उठाउने “अरू भेडा[मध्येका]”, यस प्रतीकात्मक वेदी हाम्रो निम्ति पनि अर्थपूर्ण छ। यसले ख्रीष्टको बलिदानसित सम्बन्धित यहोवाको इच्छालाई चित्रण गर्छ। (यूहन्ना १०:१६; हिब्रू १०:१०) आध्यात्मिक मन्दिरको केन्द्रविन्दु प्रतीकात्मक वेदी भएझैं शुद्ध उपासनाको केन्द्रविन्दु ख्रीष्टको छुडौतीको बलिदान हो। यो हाम्रा पापहरू क्षमा हुने तथा हाम्रा भावी आशाहरूको आधार हो। (१ यूहन्ना २:२) तसर्थ, हामी “ख्रीष्टको व्यवस्था” अर्थात् नयाँ करारसित सम्बन्धित व्यवस्थाअनुसार जीवन बिताउने प्रयास गर्छौं। (गलाती ६:२) त्यसो गरूञ्जेल जीवनको लागि यहोवाले गर्नुभएका प्रबन्धहरू बिना अवरोध हामीले पाइरहनेछौं।
८. (क) दर्शनको मन्दिरको भित्री चोकमा कुन कुराको कमी थियो? (ख) दर्शनको मन्दिरका पूजाहारीहरूले आफूलाई कसरी सफा गर्नसक्थे?
८ त्यस्तै एउटा लाभ, यहोवाको सामु धर्मी ठहरिनु हो। दर्शनको मन्दिरमा एउटा कुरा कमी छ जुन पवित्रस्थानको चोक र सुलेमानको मन्दिरको चोकको प्रमुख कुरा थियो। त्यो हो, पूजाहारीहरूले धुने ठूलो बाटा जसलाई पछि विशाल-खड्कुँलो भनियो। (प्रस्थान ३०:१८-२१; २ इतिहास ४:२-६) त्यसोभए, इजकिएलको दर्शनको मन्दिरका पूजाहारीहरूले चोख्याउन के प्रयोग गर्नसक्थे? त्यसको लागि भित्री चोकबाट बग्ने निवारण शक्ति भएको खोला छँदै छ नि! हो, यहोवाले तिनीहरूलाई स्वच्छ, पवित्र रहने माध्यमको प्रबन्ध गर्नुहुने थियो।
९. अभिषिक्त तथा ठूलो भीडकाहरू कसरी स्वच्छ ठहरिन सक्छन्?
९ त्यसरी नै अहिले अभिषिक्त जनहरूले यहोवासित स्वच्छ सम्बन्धको आनन्द उठाउन सकिरहेका छन्। उहाँ तिनीहरूलाई पवित्र ठान्नुहुन्छ र धर्मी घोषित गर्नुहुन्छ। (रोमी ५:१, २) गैरपूजाहारी जातिद्वारा चित्रित “ठूलो भीड” नि? तिनीहरू बाहिरी चोकमा उपासना गर्छन् र दर्शनमा देखेको त्यो मन्दिरबाट त्यही खोला बग्छ। त्यसकारण, प्रेरित यूहन्नाले आध्यात्मिक मन्दिरको चोकमा उपासना चढाउन एउटा ठूलो भीड सेता लुगा लगाएर उभिएको देख्नु कत्ति उपयुक्त छ! (प्रकाश ७:९-१४) यस पतित संसारमा तिनीहरूले जस्तोसुकै व्यवहार किन भोग्नु नपरोस्, ख्रीष्टको छुडौतीको बलिदानमा विश्वास राखुञ्जेल यहोवाले तिनीहरूलाई स्वच्छ तथा शुद्ध ठान्नुहुनेछ भनी ढुक्क हुनसक्छन्। तिनीहरूले कसरी विश्वास राख्छन्? येशूको पाइलामा हिंडेर अनि छुडौतीको बलिदानमा पूर्ण विश्वास गरेर।—१ पत्रुस २:२१.
१०, ११. प्रतीकात्मक पानीको एउटा महत्त्वपूर्ण पक्ष के हो र यो नदी बढ्नुसित कसरी सम्बन्धित छ?
१० माथि उल्लेख भएझैं यस आध्यात्मिक पानीको अर्को महत्त्वपूर्ण पक्ष छ। त्यो हो, ज्ञान। पुनर्स्थापित इस्राएलमा यहोवाले पूजाहारीवर्गलाई आध्यात्मिक निर्देशन प्रदान गर्नुभएर आशिष् दिनुभयो। (इजकिएल ४४:२३) त्यसरी नै अहिले यहोवाले आफ्ना जनहरूलाई “राजकीय पूजाहारीगिरी” मार्फत आफ्नो सत्य वचनबारे प्रशस्त निर्देशन दिइरहनुभएको छ। (१ पत्रुस २:९) अहिले आखिरी दिनमा यहोवा परमेश्वर, मानवजातिको लागि उहाँको उद्देश्य अनि विशेषगरि येशू ख्रीष्ट तथा मसीही राज्यसम्बन्धी प्रचुर मात्रामा ज्ञान पाइरहेका छौं। यस आध्यात्मिक स्फूर्तिको गहिरा गहिरा कुराहरू पाउनु अत्यन्तै ठूलो कुरा हो!—दानियल १२:४.
११ स्वर्गदूतले नापेको खोला झन् झन् गहिरो हुँदै गएझैं यहोवाले दिनुहुने जीवनदायी आशिष्हरू पनि आध्यात्मिक देशमा प्रवेश गरिरहेका मानिसहरूको मागअनुरूप नाटकीय ढंगमा पाइरहेका छौं। पुनर्स्थापनासम्बन्धी अर्को भविष्यवाणी यसप्रकार छ: “थोरै चाहिं हजार हुनेछ, र तुच्छ चाहिं एउटा सामर्थी जाति हुनेछ। म, परमप्रभुले, त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।” (यशैया ६०:२२) यी शब्दहरू अहिले साँचो साबित भएको छ, लाखौं मानिसहरूले साँचो उपासनामा हाम्रो साथ दिइरहेका छन्! यहोवाको बाटो हेर्नेहरूलाई उहाँले प्रशस्त “पानी” उपलब्ध गराउनुभएको छ। (प्रकाश २२:१७) उहाँले आफ्नो पार्थिव संगठन मार्फत सारा संसारभरि सयौं भाषाहरूमा बाइबल तथा बाइबल प्रकाशनहरू वितरण गर्ने प्रबन्ध मिलाउनुहुन्छ। त्यस्तैगरि, मसीही सभा तथा अधिवेशनहरू पनि सारा संसारभरि आयोजना गरिन्छ ताकि सबैले सच्चाइको स्वच्छ पानी पाउनसकोस्। यस्ता प्रबन्धहरूले मानिसहरूमाथि कस्तो असर पार्छ?
पानीले जीवन प्रदान गर्छ!
१२. (क) इजकिएलको दर्शनका रूखहरूले त्यत्तिको फल दिन सक्नुको कारण के हो? (ख) यी आखिरी दिनमा ती फलदायी रूखहरूले केको प्रतिनिधित्व गर्छ?
१२ इजकिएलको दर्शनको नदीले जीवन तथा सुस्वास्थ्य प्रदान गर्छ। इजकिएलले नदीको छेउछाउमा उम्रने रूखहरूबारे थाह पाएपछि तिनलाई यसो भनियो, “तिनीहरूका पात ओइलाउनेछैनन्। तिनीहरूका फलहरू कहिल्यै शेष हुनेछैनन्। . . . तिनीहरूको फल खानको निम्ति र तिनीहरूका पातहरू चाहिं आरोग्यको लागि हुनेछन्।” यी रूखहरू किन यस्तो अचम्मका छन्? “किनभने तिनीहरूका पानी पवित्रस्थानदेखि निस्कन्छ।” (इजकिएल ४७:१२ख) यी प्रतीकात्मक रूखहरूले येशूको छुडौतीको बलिदानको आधारमा मानिसजातिलाई सिद्धतासम्म पुऱ्याउने यहोवाका प्रबन्धहरूको चित्रण गर्छ। यतिखेर यस पृथ्वीमा अभिषिक्त शेषजनले आध्यात्मिक स्फूर्ति तथा निवारण प्रदान गर्न नेतृत्व लिइरहेका छन्। यी १,४४,००० सबैले स्वर्गमा आफ्नो इनाम पाइसकेपछि ख्रीष्टका सहशासकहरूको हैसियतमा तिनीहरूको पूजाहारी कामबाट हुने फाइदाहरू भविष्यमा पनि कायमै हुनेछ र त्यसले आदमले ल्याएको मृत्युमाथि विजय हासिल गर्नेछ।—प्रकाश ५:९, १०; २१:२-४.
१३. हाम्रो समयमा कस्तो प्रकारको निवारण भइरहेको छ?
१३ दर्शनको नदी निर्जीव मृत सागरमा पुगेपछि सबैलाई निको पार्छ। यो सागरले आध्यात्मिक तवरमा मृत अवस्थाको चित्रण गर्छ। तर जीवित जीवात “कुनै पनि त्यो नदीको पानीमा आउँछ तब त्यसले त्यसबाट जीवन पाउँछ।” (इजकिएल ४७:९) त्यसरी नै आखिरी दिनमा जीवनको पानी जहाँ जहाँ पुगेको छ, त्यहाँ त्यहाँ मानिसहरू आध्यात्मिक तवरमा जीवित भइरहेका छन्। त्यसरी अभिषिक्त शेषजनहरूले १९१९ मा सबैभन्दा पहिला स्फूर्ति पाए। तिनीहरू मृत्युरूपी निष्क्रिय अवस्थाबाट निस्केर आध्यात्मिक तवरमा जीवित भए। (इजकिएल ३७:१-१४; प्रकाश ११:३, ७-१२) त्यतिबेलादेखि त्यो महत्त्वपूर्ण पानी, आध्यात्मिक तवरमा मरेका अरू व्यक्तिहरूसम्म पुगेको छ र तिनीहरू जीवित भएर यहोवालाई प्रेम तथा सेवा गर्ने अरू भेडाको ठूलो भीड बनिएको छ। पुनरुत्थान हुने अगगिन्ती मानिसहरूले पनि चाँडै यो प्रबन्धबाट लाभ उठाउनेछन्।
१४. मृत सागरको किनारामा फस्टाएको माछा व्यवसायले अहिले कुन कुराको चित्रण गर्छ?
१४ आध्यात्मिक स्फूर्तिको परिणाम उत्पादनशीलता हो। पहिले मृत सागरको किनारामा फस्टाएको माछापालन व्यवसायबाट यो प्रस्ट हुन्छ। येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्नुभयो: “म तिमीहरूलाई मानिसहरूका जलाहारी तुल्याउनेछु।” (मत्ती ४:१९) आखिरी दिनमा अभिषिक्त शेष जन जम्मा गरेर जालहारीको काम सुरु भयो तर त्यो काम त्यहीं टुंगिएको छैन। सबै राष्ट्रका मानिसहरूले यहोवाको मन्दिरबाट बग्ने जीवनदायी पानीलगायत सही ज्ञान पाइरहेका छन्। पानी जहाँ जहाँ पुगेको छ, त्यहाँ आध्यात्मिक जीवन फस्टाएको छ।
१५. जीवनको लागि परमेश्वरको प्रबन्ध सबैले स्वीकार्ने छैनन् भनी केले देखाउँछ र त्यस्ताहरूले कस्तो परिणाम भोग्नेछन्?
१५ निस्सन्देह, अहिले सबैले जीवनको सन्देशलाई स्वीकारिरहेका छैनन्। ख्रीष्टको सहस्र वर्षीय शासनको दौडान पुनरुत्थान हुने सबैले पनि त्यो स्वीकार्ने छैनन्। (यशैया ६५:२०; प्रकाश २१:८) समुद्रका ती भागहरू निको हुने छैनन् भनी स्वर्गदूतले घोषणा गर्छ। सिमसार र दहहरूका पानी “नूनिलोनै रहनेछन्।” (इजकिएल ४७:११) अहिले हाम्रो समयका मानिसहरूको सन्दर्भमा भन्ने हो भने, यहोवाको जीवनदायी पानी पाउने सबैले त्यो स्वीकार्दैनन्। (यशैया ६:१०) आध्यात्मिक तवरमा निर्जीव तथा बिरामी अवस्थामा बस्न रोज्नेहरू सबै आरमागेडोनमा नूनिलोनै रहनेछन् अर्थात् तिनीहरूको अनन्त विनाश हुनेछ। (प्रकाश १९:११-२१) तथापि, विश्वासी भई त्यो पानी पिउनेहरूले उक्त भविष्यवाणीको अन्तिम पूर्ति देख्ने आशा गर्नसक्छन्।
प्रमोदनवनमा नदी बग्छ
१६. इजकिएलको मन्दिरको दर्शनको अन्तिम पूर्ति कहिले र कसरी हुनेछ?
१६ पुनर्स्थापनासम्बन्धी अन्य भविष्यवाणीहरूझैं इजकिएकले देखेको दर्शनको अन्तिम पूर्ति सहस्रवर्षमा हुनेछ। त्यतिबेला पूजाहारीवर्ग यस पृथ्वीमा हुनेछैनन्। “तिनीहरू परमेश्वर र ख्रीष्टका पूजाहारीहरू भएर उहाँसँग एक हजार वर्षसम्म [स्वर्गमा] राज्य गर्नेछन्।” (प्रकाश २०:६) यी पूजाहारीहरू ख्रीष्टको छुडौतीको बलिदानका सम्पूर्ण लाभहरू प्रदान गर्न ख्रीष्टसित स्वर्गमा हुनेछन्। यसरी धर्मी मानवजातिलाई बचाइनेछ, पुनः सिद्ध बनाइनेछ।—यूहन्ना ३:१७.
१७, १८. (क) प्रकाश २२:१, २ मा जीवनदायी नदी कसरी वर्णन गरिएको छ र त्यो दर्शनको प्रमुख पूर्ति हुने समय कहिले हो? (ख) प्रमोदवनमा जीवनको पानीको नदी किन अझ विस्तार हुनेछ?
१७ भनौं भने, इजकिएलले देखेको नदीमा जीवनको सबैभन्दा अत्यावश्यक पानी हुनेछ। प्रकाश २२:१, २ मा लिपिबद्ध भविष्यवाणीको प्राथमिक पूर्ति यही हो: “तब तिनले मलाई परमेश्वर र थुमाको सिंहासनबाट निस्किरहेको त्यस शहरको सड़कको बीचमा बिल्लौरजस्तो चहकिलो जीवनको नदी देखाए। त्यस नदीको वारि र पारि प्रत्येक महीना बाह्रै किसिमको फल फलाउने जीवनको रूख थियो। त्यस रूखका पातहरूचाहिं जाति जातिका मानिसहरूलाई निको पार्नाको निम्ति थिए।”
१८ सहस्र वर्षमा सबै प्रकारको शारीरिक, मानसिक, भावनात्मक बिरामीहरू निको हुनेछन्। प्रतीकात्मक रूखहरू मार्फत “जाति जातिका मानिसहरूलाई निको” हुनुले यसको राम्रो चित्रण गर्छ। ख्रीष्ट र १,४४,००० ले मिलाएका प्रबन्धहरूप्रति हामी साँच्चै कृतज्ञ हुनुपर्छ किनभने “त्यहाँका बासिन्दाहरूले यसो भन्नेछैनन्, ‘म बिरामी परें।’ ” (यशैया ३३:२४) अनि त्यो नदीको व्यापक विस्तार हुनेछ। पुनरुत्थान भएका लाखौं, करोडौं मानिसहरूको निम्ति जीवनको शुद्ध पानी प्रबन्ध गर्न यो अझ चौडा तथा गहिरो हुनुपर्नेछ। इजकिएलको दर्शनमा नदीले मृत सागरलाई निको पाऱ्यो र पानी जहाँ जहाँ पुग्यो, त्यहाँ त्यहाँ जीवन्त पाऱ्यो। अतः छुडौतीको बलिदानले प्रदान गर्ने लाभहरूमध्ये एउटा हो, प्रमोदवनमा पुरुष तथा स्त्री पूर्णतया जीवित हुनेछन् अनि आदमबाट पाएको मृत्युबाट मुक्त हुनेछन्। त्यतिबेला “पुस्तकहरू” खोलिनेछन् भनी प्रकाश २०:१२ ले भविष्यवाणी गर्छ र थप ज्योति प्रदान गरिनेछ अनि पुनरुत्थान हुनेहरूले यसबाट लाभ उठाउन सक्नेछन्। दुःखको कुरा, प्रमोदवनमा पनि कसै कसैले निको हुन इन्कार गर्नेछन्। अनन्त विनाशमा “नूनिलोनै रहने” यी विद्रोहीहरू नै हुन्।—प्रकाश २०:१५.
१९. (क) प्रमोदवनमा जमीन बाँडफाँट गर्ने कार्य कसरी पूरा हुनेछ? (ख) प्रमोदवनमा शहरले कुन कुराको चित्रण गर्छ? (ग) मन्दिरबाट टाढा अवस्थित शहरको महत्त्व के हो?
१९ त्यतिबेला इजकिएलले दर्शनमा देखेअनुसार जमीन बाँडफाँट गर्ने कार्यको पनि अन्तिम पूर्ति हुनेछ। इजकिएलले दर्शनमा जमीन भाग लगाएको देखे। त्यसरी नै हरेक विश्वासी मसीहीले प्रमोदवनमा एउटा ठाउँ, पैतृक सम्पत्ति पाउनेछन् भनेर विश्वस्त हुनसक्छन्। सम्भवतः आफ्नै घर बनाएर त्यसको हेरचाह गर्ने चाहना व्यवस्थित ढंगमा पूरा हुनेछ। (यशैया ६५:२१; १ कोरिन्थी १४:३३) इजकिएलले देखेको शहरले यहोवाले पृथ्वीको लागि प्रबन्ध गर्नुभएको प्रशासकीय प्रबन्धको सही चित्रण गर्छ। अभिषिक्त पूजाहारीवर्ग मानिसजातिसित हुनेछैनन्। दर्शनले मन्दिरभन्दा टाढा “अपवित्र” ठाउँमा शहरको चित्रण गर्नुले नै त्यसको संकेत गर्छ। (इजकिएल ४८:१५) तथापि, १,४४,००० ख्रीष्टसित स्वर्गमा शासन गर्नेछन् भने पृथ्वीमा राजाका प्रतिनिधिहरू हुनेछन्। धार्मिकताको राजकुमार हुन येशूले रोज्नुभएको राजावर्गको मायालु डोऱ्याई र निर्देशनबाट मानव प्रजाहरूले निकै लाभ उठाउनेछन्। तर त्यो राज्यको केन्द्रबिन्दु पृथ्वीमा नभई स्वर्गमा हुनेछ। राजावर्गलगायत पृथ्वीका सबै जना मसीही राज्यको अधीनमा हुनेछन्।—दानियल २:४४; ७:१४, १८, २२.
२०, २१. (क) शहरको नाउँ किन उपयुक्त छ? (ख) इजकिएलको दर्शन बुझेपछि हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्नुपर्ने हो?
२० इजकिएलको भविष्यवाणीका अन्तिम शब्दहरूमा ध्यान दिनुहोस्: “त्यस शहरको नाउँ सदा सर्वदैको निम्ति ‘यहोवा–शामा’ हुनेछ।” (इजकिएल ४८:३५) यो शहर नता मानिसहरूलाई शक्ति वा हैकम दिन न मानिसहरूको इच्छा लागू गर्न नै स्थापना भएको हो। यो यहोवाको शहर हो। यसले उहाँको मन अनि कामकुरा गर्ने उहाँको मायालु तथा व्यवहारिक तरिका झल्काउनेछ। (याकूब ३:१७) यहोवाले मानवजातिको “नयाँ संसार[लाई]” अनन्तसम्म आशिष् दिनुहुनेछ भनी यसले हृदयस्पर्शी आश्वासन दिन्छ।—२ पत्रुस ३:१३.
२१ के हामी यस्तो भावी प्रत्याशामा रमाउँदैनौं र? त्यसकारण, हामी प्रत्येकले यी प्रश्नहरू सोध्नु उपयुक्त छ, ‘इजकिएलको दर्शनमा प्रकट गरिएका अद्भुत आशिष्हरूप्रति म कस्तो प्रतिक्रिया देखाउँछु? अभिषिक्त शेषजन तथा राजावर्गका सम्भाव्य सदस्यहरूको मायालु निरीक्षकहरूले गरिरहेका कामलाई के म आज्ञाकारी भएर समर्थन गर्छु? अहिले प्रचुर मात्रामा बगिरहेको जीवनको पानीको के म पूर्ण सदुपयोग गर्छु? के मैले शुद्ध उपासनालाई मेरो जीवनको केन्द्रविन्दु बनाएको छु?’ हामी सबै जना यहोवाको मार्गमा सधैंभरि रमाइरहन सकौं!
[फुटनोटहरू]
a यो यरूशलेमको दक्षिणपूर्वदेखि मृत सागरको अन्तसम्म फैलिएको किद्रोनको बेंसी हुनसक्छ। यसको विशेषगरि तल्लो भाग ओभानो र वर्षभरि सुखा रहन्छ।
b प्रहरीधरहरा मे १, १८८१ र जून १, १९८१ (अंग्रेजी) हेर्नुहोस्।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
◻ मन्दिरबाट बग्ने पानीले कुन कुराको चित्रण गर्छ?
◻ प्रतीकात्मक नदी मार्फत यहोवाले कस्तो निवारण गर्नुभएको छ र नदी किन अझ बढेको छ?
◻ नदी किनाराका रूखहरूले केको चित्रण गर्छ?
◻ सहस्र वर्षीय शासनमा शहरले केको प्रतिनिधित्व गर्नेछ र शहरको नाउँ किन उपयुक्त छ?
[पृष्ठ २३-मा भएका चित्रहरू]
जीवनको नदीले मुक्तिको लागि परमेश्वरको प्रबन्धको प्रतिनिधित्व गर्छ