-
“तिनीहरूले कस्तो घोर दुष्ट र घिनलाग्दा काम गरिरहेका छन्, हेर”यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
-
-
तेस्रो दृश्य: “स्त्रीहरू . . . तम्मुज देवताको लागि रोइरहेका”
१३. धर्मत्यागी स्त्रीहरूले मन्दिरको एउटा ढोकामा के गरिरहेको इजकिएलले देखे?
१३ इजकिएल ८:१३, १४ पढ्नुहोस्। घिनलाग्दा कुराहरूबारे पहिलो दुइटा दृश्य इजकिएललाई देखाएपछि यहोवा परमेश्वरले तिनलाई यसो भन्नुभयो: “तिनीहरूले यीभन्दा पनि घिनलाग्दा कुराहरू गरिरहेको तिमीले देख्नेछौ।” त्यसोभए इजकिएलले त्यसपछि के देखे? तिनले “यहोवाको मन्दिरको उत्तर ढोकामा . . . स्त्रीहरू बसेर तम्मुज देवताको लागि रोइरहेका” देखे। तम्मुज मेसोपोटामियाको एउटा देवता थियो, जसलाई पुरातन सुमेरी लेखोटमा दुमुजी भनिएको छ र तिनी प्रजनन देवी इश्तारका प्रेमी हुन् भन्ने धारणा छ।d ती इस्राएली स्त्रीहरू तम्मुजको मृत्युसित सम्बन्धित कुनै धार्मिक परम्परा पछ्याउँदै रोइरहेको हुनुपर्छ। यसरी यहोवा परमेश्वरको मन्दिरमा तम्मुजको लागि रोएर ती स्त्रीहरूले शुद्ध उपासनाको केन्द्रमै मूर्तिपूजासित सम्बन्धित कुराहरू गरिरहेका थिए। तर झूटो उपासना परमेश्वरको मन्दिरमा गर्दैमा त्यो ग्रहणयोग्य हुने थिएन। वास्तवमा ती धर्मत्यागी स्त्रीहरूले यहोवा परमेश्वरको नजरमा “घिनलाग्दा कुराहरू” गरिरहेका थिए!
१४. धर्मत्यागी स्त्रीहरूले गरिरहेको कामप्रति यहोवा परमेश्वरको दृष्टिकोणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ?
१४ ती स्त्रीहरूले गरिरहेको कामप्रति यहोवा परमेश्वरको दृष्टिकोणबाट हामी कस्तो पाठ सिक्न सक्छौँ? हाम्रो उपासना शुद्ध बनाइराख्न हामीले त्यसमा कहिल्यै झूटा रीतिथितिहरू छ्यासमिस गर्नु हुँदैन। त्यसैले झूटो धर्मबाट सुरु भएका चाडपर्वहरूबाट हामी पूरै अलग रहनुपर्छ। त्यस्ता चाडपर्वहरू कहाँबाट सुरु भयो भन्ने कुराले के कुनै फरक पार्छ? हो, पार्छ! आज क्रिसमस, इस्टर, जन्मदिनलगायत अन्य चाडपर्वहरू मनाउँदा केही फरक पर्दैन जस्तो लाग्न सक्छ। तर यो कुरा नबिर्सौँ, झूटा धार्मिक प्रचलनहरू सुरु भएको यहोवा परमेश्वर आफैले देख्नुभएको थियो र यी नै प्रचलनहरू आज पनि मानिसहरू मनाउने गर्छन्। मानिसहरूले त्यस्ता प्रचलनहरू मनाउन थालेको धेरै समय हुँदैमा अथवा तिनीहरूले त्यसलाई शुद्ध उपासनासित छ्यासमिस गर्न खोज्दैमा यहोवा परमेश्वरको नजरमा ती प्रचलनहरू कम घिनलाग्दो हुँदैनन्।—२ कोरि. ६:१७; प्रका. १८:२, ४.
-