हर प्रकारको मूर्तिपूजादेखि जोगिएर बस्नु
“मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सम्बन्ध?”—२ कोरिन्थी ६:१६.
१. इस्राएलको पवित्रस्थान र मन्दिर कुन कुराको पूर्वाभास थियो?
यहोवाको एउटा मन्दिर छ जसमा कुनै मूर्तिहरू छैनन्। यसको नमूनाको पूर्वाभास मोशाले बनाएको इस्राएलको पवित्रस्थान र पछि यरूशलेममा बनाइएका मन्दिरहरूबाट पाइन्थ्यो। ती भवनहरूले “सच्चा बासस्थानलाई,” अर्थात् यहोवाको महान आत्मिक मन्दिरलाई प्रतिनिधित्व गर्दथियो। (हिब्रू ८:१-५) त्यो मन्दिर येशू ख्रीष्टको छुटकाराको बलिदानको आधारमा परमेश्वरसित उपासनाद्वारा सम्पर्क राख्न सकिने व्यवस्था हो।—हिब्रू ९:२-१०, २३.
२. परमेश्वरको महान आत्मिक मन्दिरमा खामाहरू को हुन्छन्, र ठूलो भीडले कुन अवस्थाको आनन्द उठाउँछन्?
२ प्रत्येक अभिषिक्त मसीही स्वर्गमा एउटा स्थान प्राप्त गर्दै “परमेश्वरका मन्दिरका खामा” हुन्छन्। हेरोदले पुनर्निर्माण गरेको मन्दिरमा अन्यजातिहरूका निम्ति रहेको चोकलाई प्रतिनिधित्व गर्ने ठाउँमा यहोवाका अन्य उपासकहरूको “एउटा ठूलो भीडले” “(परमेश्वरको) पवित्र सेवा गर्दछन्।” येशूको बलिदानमा विश्वास राखेका हुनाले तिनीहरू धर्मी ठहरिएका छन् जसले गर्दा तिनीहरू “महा सङ्कष्टलाई” पार गरेर बाँच्नेछन्।—प्रकाश ३:१२; ७:९-१५.
३, ४. पृथ्वीमा रहेको अभिषिक्त मसीहीहरूको मण्डलीलाई केसित तुलना गरिएको छ, र कुन अशुद्धताबाट यो मुक्त हुनुपर्दछ?
३ अभिषिक्त मसीहीहरूको पृथ्वीमा भएको मण्डलीलाई पनि मूर्तिपूजारहित अर्को मन्दिरसित लाक्षणिक रूपमा तुलना गरिएको छ। ती ‘पवित्र आत्माले छाप लगाएकाहरूलाई’ प्रेरित पावलले भने: “प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालीकन ख्रीष्ट येशू आफैचाहिं मुख्य कुने-ढुङ्गो बनिनुभएको छ, जसमा प्रत्येक घर साथसाथै ठीकसँग जोड़िएर प्रभुमा एउटै पवित्र मन्दिर हुनालाई बढ़दै जान्छ, जसमा तिमीहरू पनि आत्मामा परमेश्वरको बासस्थान हुनलाई सँगसँगै बनिंदैजान्छौ।” (एफिसी १:१३; २:२०-२२) छाप लगाइएका यी १,४४,००० “जीवित पत्थरहरूझैं” हुन् जो “पवित्र पूजाहारीगिरीको निम्ति आत्मिक घर बनेका छन्।”—१ पत्रुस २:५; प्रकाश ७:४; १४:१.
४ यी उप-पूजाहारीहरू “परमेश्वरद्वारा निर्माण भएका घर” भएका हुनाले उहाँले यस मन्दिरलाई अशुद्ध हुन दिनु हुँदैन। (१ कोरिन्थी ३:९, १६, १७) पावलले चेतावनी दिए: “विश्वास नगर्नेहरूसँग समान भएर एउटै हलोमा नजोतियौ, किनकि धर्म र अधर्मको के संसर्ग हुन्छ? कि अँध्यारोसित उज्यालोको के सङ्गति? औ ख्रीष्टको शैतानसित के सहमत? कि विश्वास गर्नेको विश्वास नगर्नेसित के हिस्सा? औ मूर्तिहरूसित परमेश्वरको मन्दिरको के सम्बन्ध?” अभिषिक्त मसीहीहरूले, जो “सर्वशक्तिमान यहोवाका हुन्,” मूर्तिपूजाबाट आफूलाई मुक्त राख्नु पर्दछ। (२ कोरिन्थी ६:१४-१८) ठूला भीडकाहरूले पनि हरेक प्रकारको मूर्तिपूजाबाट आफूलाई अलग्ग राख्नु पर्दछ।
५. यहोवा ऐकान्तिक भक्ति चाहनु हुन्छ भनी थाह भएको हुनाले साँचो मसीहीहरूले के गर्छन्?
५ मूर्तिपूजा दुई प्रकारका हुन्छन्। एउटा स्पष्ट र अर्को छली। मूर्तिपूजा झूटा देव-देवीहरूको उपासना गर्नुमा मात्र सीमित छैन। यहोवा वाहेक अरू कुनै चीज वा अरू कसैको उपासना गर्नु मूर्तिपूजा हो। विश्वको सार्वभौम हुनुभएकोले आफ्नो ऐकान्तिक भक्ति उहाँले चाहनु उचित छ। (व्यवस्था ४:२४) यस कुराको जानकारी भएको हुनाले सच्चा मसीहीहरू मूर्तिपूजाको विरुद्धमा शास्त्रले दिएका चेताउनीहरूलाई ध्यान दिन्छन्। (१ कोरिन्थी १०:७) यहोवाका सेवकहरूले जोगिनु पर्ने खालका केही मूर्तिपूजाबारे विचार गरौं।
मसीहीजगतले गरेको मूर्तिपूजाबारे पूर्वाभास
६. इजकिएलले आफ्नो दर्शनमा के घिनलाग्दा कुराहरू देखे?
६ सा० यु० पू० ६१२-मा बाबेलमा निर्वासनमा रहँदा अगमवक्ता इजकिएलले यरूशलेममा यहोवाको मन्दिरमा धर्मत्यागी यहूदीहरूले गरेका घृणास्पद कुराहरूबारे एउटा दर्शन देखेका थिए। इजकिएलले एउटा “डाहको मूर्ति” देखे। सत्तरी जना बुढा-प्रधानहरू मन्दिरमा धूप-बत्ती चढाइ रहेका देखिएका थिए। आइमाईहरू एउटा झूटो देवताको सामु रोइ-कराइ रहेका देखिएका थिए। र २५ जना लोग्ने मानिसहरू सूर्यको उपासना गरिरहेका थिए। यी धर्मत्यागी कार्यहरूको के अर्थ थियो?
७, ८. “डाहको मूर्ति” के थियो होला, र त्यसले यहोवामा किन डाह उत्पन्न गरायो?
७ इजकिएलले दर्शनमा देखेको घृणास्पद कुराहरू मसीहीजगतको मूर्तिपूजाको पूर्वाभास थियो। उदाहरणका लागि, तिनले भने: “हे मानिस, अब तेरो आँखा उठाएर उत्तर दिशातिर हेर औ त्यहाँ प्रवेश-ढोकानिर त्यो डाहको मूर्ति थियो। त्यसपछि उहाँले [यहोवा परमेश्वरले] मलाई भन्नुभयो: ‘हे मानिस, तिनीहरू के गर्दैछन् के तँ देख्छस्? इस्राएलको घरानाले मलाई मेरो पवित्रस्थानदेखि पर हटाउनलाई कस्तो घिनलाग्दा काम यहाँ गरिरहेका छन्।’”—इजकिएल ८:१-६.
८ डाहको मूर्तिको प्रतीकको रूपमा सम्भवतः एउटा पवित्र खामा थियो होला जसले झूटो देवीलाई प्रतिनिधित्व गर्दथियो। कनानीहरूले यसलाई तिनीहरूका देवता, बालकी पत्नी ठान्दथिए। प्रतीक जे भए तापनि, त्यसले यहोवामा डाह उत्पन्न गरायो किनभने उहाँलाई ऐकान्तिक भक्ति चढाउनु भन्ने उहाँको आज्ञाको विरुद्धमा इस्राएलीहरूलाई त्यसले विभाजित गरायो: “म तेरा परमेश्वर हुँ . . . मेरो सामने तैंले अरू कुनै देवता-देवीहरू नमान्नू। तैंलें आफ्नो निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू, औ माथि आकाश अथवा तल पृथ्वी र पृथ्वीमनि पानीमा भएको कुनै आकारको प्रतिमूर्ति नबनाउनू। तँ तिनीहरूका सामने न निउरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तेरा परमेश्वर डाह गर्ने परमेश्वर हुँ।”—प्रस्थान २०:२-५.
९. मसीहीजगतले परमेश्वरलाई डाह गर्न कसरी उकसाएको छ?
९ धर्मत्यागी इस्राएलीहरूले गरेका घृणास्पद कामहरू मध्ये एउटा काम थियो परमेश्वरको मन्दिरमा डाहको मूर्तिको प्रतीकलाई उपासना गर्नू। त्यसै प्रकारले मसीहीजगतका गिर्जाघरहरू परमेश्वरलाई अपमान गर्ने प्रतीकहरू र मूर्तिहरूले अशुद्ध पारिएका छन् जसले गर्दा जसलाई सेवा गर्दछौं भनी तिनीहरू दावा गर्दछन् उहाँलाई तिनीहरूले ऐकान्तिक भक्ति चढाउन सकेका छैनन्। पादरीहरूले परमेश्वरको राज्य नै मानवजातिको आशा हो भन्ने कुरालाई अस्वीकार गर्दै—“पवित्र स्थानमा खड़ा भएको घृणित कुरा”—संयुक्त राष्ट्र सङ्घलाई आराधना गरेका हुनाले पनि परमेश्वरमा डाह उत्पन्न गराएका छन्।—मत्ती २४:१५, १६; मर्कूस १३:१४.
१०. इजकिएलले मन्दिरभित्र के देखे, र मसीहीजगतमा देखिएका कुराहरूसित यो कसरी मिल्दछ?
१० मन्दिरमा प्रवेश गर्दै इजकिएल रिपोर्ट गर्दछन्: “मैले हेरें! त्यहाँ चारैतिर भित्तामा सबै किसिमका घस्रने जन्तुहरू, घिनलाग्दा पशुहरू र इस्राएलका घरानाका जम्मै मूर्तिहरूका चित्रहरू बनाएका रहेछन्। औ तिनीहरूका सामने इस्राएलका घरानाका सत्तरी जना बूढ़ा-प्रधानहरू . . . उभिरहेका रहेछन्। हरेकको हातमा आफ्नो आफ्नो धूपौरो रहेछ, औ धूपको धुवाँ बादलसरह मास्तिर उठिरहँदो रहेछ।” यसो विचार गर्नुहोस्! इस्राएलका बूढा-प्रधानहरूले यहोवाको मन्दिरको भित्तामा झूटा देवताहरूलाई प्रतिनिधित्व गर्ने घिनलाग्दा चित्रहरू कोरेर तिनीहरूलाई धूप चढाइ रहेका। (इजकिएल ८:१०-१२) तुलना गरेर हेर्दा, चराहरू र जङ्गली जनावरहरूलाई मसीहीजगतका देशहरूको प्रतीकको रूपमा प्रयोग गरिएको छ जसलाई मानिसहरूले आफ्नो भक्ति चढाउँछन्। अझ, सबै थोक यहोवा परमेश्वरले नै सृष्टि गर्नु भएको हो भन्ने बाइबलको साँचो विवरणलाई समर्थन गर्नुको सट्टा मानिसहरू जनावरहरूबाट विकाश हुँदै आएका हुन् भन्ने गलत सिद्धान्त- लाई प्रचार गरेर धेरै जसा पादरीहरूले मानिसहरूलाई झुक्याएका छन्।—प्रेरित १७:२४-२८.
११. धर्मत्यागी इस्राएली आइमाईहरू तामुजका सामु किन रोइ-कराइ रहेका थिए?
११ यहोवाको भवनको प्रवेश-द्वारमा तामुजको मूर्तिको सामु धर्मत्यागी इस्राएली आइमाईहरू रोइ-कराइ रहेको इजकिएलले देखे। (इजकिएल ८:१३, १४) बेबिलोनीहरू र सिरियालीहरूले तामुजलाई वर्षा मौसममा पलाउने तर सुखा मौसममा चाहिं सुख्ने किसिमको वनस्पति-देवता भन्दथिए। वनस्पति (साग-सब्जी) सुक्दा तामुज मरेको ठानिन्थ्यो। त्यसैकारण त्यसका उपासकहरू गरमको मौसममा रुने-कराउने गर्दथिए। वर्षा मौसममा वनस्पति (साग-सब्जी) फेरि पलाएर आउँदा तामुज पातालबाट फर्किएर आयो भनिन्थ्यो। उसको नाउँको प्रथम अक्षर, पुरानो ताउ द्वारा उसको प्रतिनिधित्व गराइन्थ्यो, जो क्रुसको एउटा रूप थियो। मसीहीजगतले क्रुसलाई मूर्तिको रूपमा आदर देखाएको कुरालाई यसबाट हामी बुझ्न सक्छौं।
१२. धर्मत्यागी पच्चीस जना इस्राएली लोग्ने मानिसहरूले के गरिरहेको इजकिएलले देखे, र त्यस्तै प्रकारको कुन काम मसीहीजगतमा हुन्छ?
१२ मन्दिरको भित्री चोकमा इजकिएलले पच्चीस जना धर्मत्यागी इस्राएली लोग्नेमानिसहरूले सूर्यलाई उपासना गरिरहेका देखे—जुन कुरा यस प्रकारको मूर्तिपूजा नगर्नु भन्ने यहोवाको आज्ञाको विरुद्धमा थियो। (व्यवस्था ४:१५-१९) ती मूर्तिपूजकहरूले परमेश्वरको नाकको सामु एउटा अश्लील टुसो पनि ठड्याए। सम्भवतः त्यो लोग्ने मानिसको इन्द्रियको प्रतीक थियो। परमेश्वरले तिनीहरूको प्रार्थना सुनिदिनु भएको जस्तै गरी “महा सङ्कष्ट”-को समयमा परमेश्वरसित मसीही जगतले मदतका लागि गरेको विन्ती पनि व्यर्थ हुनेछ। परमेश्वरले तिनीहरूको प्रार्थना न सुन्नु भएकोमा कुनै आश्चर्य हुनेछैन। (मत्ती २४:२१) जसरी ती धर्मत्यागी इस्राएलीहरूले परमेश्वरको मन्दिरतर्फ आफ्नो पिठ्यूँ फर्काएर ज्योति दिने सूर्यको उपासना गर्दथिए, त्यसैगरी मसीही जगतले परमेश्वरको ज्योतिलाई अवहेलना गर्दै झूट्टा सिद्धान्तहरू सिकाउँछन्, सांसारिक ज्ञानको अर्चना गर्दछन्, र अनैतिकता प्रति आँखा चिम्लिन्छन्।—इजकिएल ८:१५-१८.
१३. इजकिएलले दर्शनमा देखेका मूर्तिपूजाका रूपहरूबाट यहोवाका साक्षीहरूले आफूलाई कसरी अलग्ग राख्छन्?
१३ इजकिएलले पहिले दर्शनमा देखेको यरूशलेमको प्रतिरूप मसीहीजगतमा अभ्यास गरिने अनेक प्रकारको मूर्तिपूजाबाट यहोवाका साक्षीहरू आफूलाई जोगाएर राख्छन्। परमेश्वरको अपमान हुने प्रतीकहरूको हामी आराधना गर्दैनौं। सरकारी “उच्च अख्तियारवालाहरूलाई” हामीले आदर देखाए तापनि तिनीहरू प्रतिको हाम्रो अधीनता सापेक्षिक छ। (रोमी १३:१-७; मर्कूस १२:१७; प्रेरित ५:२९) हाम्रो हृदयदेखिको भक्ति परमेश्वर र उहाँको राज्यका लागि मात्र हो। सृष्टिकर्त्ता र उहाँको सृष्टिको ठाउँ विकाशवादको सिद्धान्तलाई दिदैनौं। (प्रकाश ४:११) कहिले पनि हामी क्रुसलाई पूज्य ठान्दैनौं, वुद्धिवाद, दर्शन, वा अन्य कुनै पनि सांसारिक ज्ञानलाई आराध्य ठान्दैनौं। (१ तिमोथी ६:२०, २१) अन्य सबै प्रकारका मूर्तिपूजादेखि पनि हामी जोगिएर बस्छौं। तीमध्ये केही कुराहरू के हुन्?
अन्य प्रकारका मूर्तिपूजाहरू
१४. प्रकाश १३:१-को “जङ्गली जनावरका” सम्बन्धमा यहोवाका सेवकहरूले के अडान लिन्छन्?
१४ मानवजातिले एउटा लाक्षणिक “जङ्गली जनावरलाई” आराधना गरेकोमा मसीहीहरू त्यसमा सहभागी हुँदैनन्। प्रेरित यूहन्नाले भने: “मैले दसवटा सीङ्ग र सातवटा शिर र त्यसका सिङ्गहरूमाथि दशवटा राजमुकुट . . .. पृथ्वीमा रहने हरेकले त्यसलाई दण्डवत् गर्नेछ।” (प्रकाश १३:१, ८) जनावरहरू “राजाहरू,” वा राजनैतिक शक्तिहरूका प्रतीक हुन सक्तछन्। (दानियल ७:१७; ८:३-८, २०-२५) अतः लाक्षणिक जङ्गली जनावरको सातवटा शिरले विश्व-शक्तिहरू—मिस्र, अश्शुर, बाबेल, मादी-फारस, ग्रीस, रोमी, र ब्रिटेन र संयुक्त राज्य अमेरिकाको संयुक्त शक्ति एङ्गलो-अमेरिकन गुटलाई जनाउँछ। मसीही जगतका पादरीले मानिसजातिलाई शैतान, अर्थात “यस संसारको मालिकको” राजनैतिक व्यवस्थालाई आराधना गर्न लगाएर परमेश्वर र ख्रीष्टप्रति घोर अपमान दर्शाएका छन्। (यूहन्ना १२:३१) तथापि, तटस्थ मसीहीहरू र राज्यका समर्थकहरूको हैसियतमा यहोवाका सेवकहरूले यस प्रकारको मूर्तिपूजालाई इन्कार गर्दछन्।—याकूब १:२७.
१५. सांसारिक कलाकारहरूप्रति यहोवाका जनहरूले कस्तो दृष्टिकोण राख्तछन्, र यस सम्बन्धमा एक जना साक्षीले के भने?
१५ संसारमा नाउँ कमाएका मनोरञ्जन र खेल जगतका मानिसहरूलाई आराधना गर्नबाट पनि परमेश्वरका जनहरू आफूलाई अलग्ग राख्छन्। आफू यहोवाका साक्षी भएपछि एक जना सङ्गीतकारले भने: “मनोरञ्जन र नृत्यका लागि चलाइने सङ्गीतले गलत इच्छाहरू जगाउँन सक्तछ . . . कलाकारले आनन्द र कोमलताबारे गीत गाउँदा धेरै स्रोतागणले सो कुराको अभाव आफ्नो पति वा पत्नीमा भएको महसुस गर्न सक्तछन्। कलाकारले के गाइ रहेको हुन्छ त्यसको आधारमा अक्सर उसलाई चिन्न सकिन्छ। यसै कारणले गर्दा मैले चिनेका केही पेशेवर सङ्गीतकार र गवैयाहरूलाई आइमाईहरूले मन पराउँदछन्। यसप्रकारको कल्पना-जगतमा कोही एक पटक डुबी सकेपछि त्यो सजिलैसित त्यस कलाकारलाई आराधना गर्ने स्थितिमा पुग्न सक्तछ। यसको सुरुआत निर्दोष ढङ्गमा हुन सक्तछ, जस्तोकि सम्झनाका लागि कलाकारको हस्ताक्षर मागेर। तर कसै-कसैले चाहिं ती कलाकारलाई आफ्नो एउटा आदर्शको रूपमा मान्दछन्, र उसलाई अत्याधिक महत्त्व दिएर एउटा आराध्य वस्तु बनाउन पुग्छन्। त्यो कलाकारको तस्वीर तिनीहरूले आफ्नो कोठाको भित्तामा झुण्डयाउँछन् र उसैको जस्तो पोशाक लगाउन र कपाल कोर्न सुरु गर्न थाल्दछन्। यस प्रकारको प्रशंसा परमेश्वरका लागि मात्र हो भन्ने कुरा मसीहीहरूले सदा आफ्नो मनमा राख्नु पर्दछ।”
१६. धर्मी स्वर्गदूतहरू मूर्तिपूजालाई इन्कार गर्दछन् भन्ने कुरा केबाट देखिन्छ?
१६ हो, प्रशंसा वा उपासनाको योग्य परमेश्वर मात्र हुनुहुन्छ। स्वर्गदूतले यूहन्नालाई अचम्मका कुराहरू देखाउँदा तिनी “त्यस दूतको पाउमा दण्डवत् गर्न घोप्टे।” तर ती आत्मिक जीवले कुनै प्रकारले आफू पूजित हुन इन्कार गर्दै भने: “हेर, तिमीले यसो नगर। म तिम्रो र अगम बोल्ने तिम्रा दाज्यू-भाइहरूको र यस पुस्तकका वचनहरू पालन गर्नेहरूको सङ्गी-दास हुँ। परमेश्वरलाईनै दण्डवत् गर।” (प्रकाश २२:८, ९) यहोवाको भय, वा उहाँप्रतिको असीम श्रद्धाले गर्दा हामी उहाँलाई मात्र उपासना गर्दछौं। (प्रकाश १४:७) यस प्रकार साँचो ईश्वरीय भक्तिले मूर्तिपूजादेखि हामीलाई जोगाएर राख्तछ।—१ तिमोथी ४:८.
१७. मूर्तिपूजा सरह हुन सक्ने यौनिक अनैतिकतादेखि हामी कसरी जोगिएर बस्न सक्छौं?
१७ यौनिक अनैतिकता एउटा अर्को प्रकारको मूर्तिपूजा हो जसलाई यहोवाका सेवकहरूले इन्कार गर्दछन्। तिनीहरू जान्दछन् कि “कुनै व्यभिचारी, कि अशुद्ध मानिस, अथवा लोभी मानिसले, जो मूर्तिपूजक हो, ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै अधिकार पाउने छैन।” (एफिसी ५:५) यहाँ मूर्तिपूजा यस कारणले विथोलित छ कि अवैध प्रमोदको लालसा नै भक्तिको एउटा वस्तु हुनजान्छ। अनुचित यौनिक इच्छाहरूले गर्दा ईश्वरीय गुणहरू खतरामा पर्दछन्। आफ्ना आँखा र कानहरू अश्लील चित्रहरूमा लगाउनाले एउटा व्यक्तिको पवित्र परमेश्वर यहोवासँग भएको कुनै पनि सम्बन्धलाई खतरामा पार्दछ। (यशैया ६:३) त्यसैले, यस प्रकारको मूर्तिपूजादेखि जोगिएर बस्नका लागि अश्लील चित्रहरू र भ्रष्ट सङ्गीतहरूबाट परमेश्वरका सेवकहरू अलग्ग बस्नु पर्दछ। तिनीहरूले शास्त्रमा आधारित आत्मिक मूल्यहरूलाई समातेर बस्नु पर्ने आवश्यकता छ र “परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको नयाँ मानिसलाई” धारण गरिरहनु पर्दछ।—एफिसी ४:२२-२४.
लोभ र लालचबाट अलग्ग रहनु
१८, १९. (क) लोभ र लालच भनेको के हो? (ख) मूर्तिपूजा सरह हुन सक्ने लोभ र लालचदेखि हामी कसरी जोगिएर बस्न सक्छौं?
१८ मसीहीहरू लोभ र लालचदेखि पनि जोगिएर बस्दछन् किनकि यिनीहरू मूर्तिपूजाकै मिल्दो-जिल्दो रूप हो। लोभ एउटा अपरिमित वा अति लुब्ध इच्छा हो, र लालच चाहिं अर्काको कुनै पनि चीजको लोभ गर्नु हो। येशूले लालचबाट होशियार रहने चेताउनी दिनुभयो र एउटा यस्तो लालची धनी मानिसबारे बताउनु भयो, जसले मरणावस्थामा आफ्नो धनबाट लाभ उठाउन सकेन र जो “परमेश्वरतर्फ धनी नभएको हुनाले” दुःखी अवस्थामा थियो। (लूका १२:१५-२१) पावलले आफ्ना सङ्गी-विश्वासीहरूलाई उचित ढङ्गमा सल्लाह दिए: “पृथ्वीमा भएका तिमीहरूका अङ्गहरूलाई . . . वशमा पार . . . लोभ, जो मूर्तिपूजा हो।”—कलस्सी ३:५.
१९ धनको प्रेममा लग्गु भएकाहरू, खान र पिउनमा खञ्चुवाहरू, वा शक्तिका लागि महत्त्वाकाङ्क्षा राख्नेहरूले त्यस प्रकारका इच्छाहरूलाई आफ्नो आराध्य देव बनाउँदछन्। पावलले सङ्केत गरे जस्तै, लोभी व्यक्ति मूर्तिपूजक हो र त्यस्तो व्यक्ति परमेश्वरको राज्यको हकदार हुनेछैन। (१ कोरिन्थी ६:९, १०; एफिसी ५:५) अतः मूर्तिपूजाको अभ्यास गर्ने बप्तिस्माप्राप्त व्यक्तिलाई मसीही मण्डलीबाट बहिष्कार गर्न सकिन्छ। तथापि, शास्त्र-पदहरूलाई प्रयोगमा ल्याएर र हृदयदेखि प्रार्थना गरेर हामीले आफूलाई लोभबाट अलग्ग राख्न सक्तछौं। हितोपदेश ३०:७-९ भन्दछ: “म तपाईंबाट दुईवटा कुरा माग्दछु [यहोवा परमेश्वर]। म मर्नअघि ती मबाट इन्कार नगर्नुहोस्। छल र झूट मबाट दूर राख्नुहोस्, मलाई नता दरिद्र बनाउनुहोस्, न मलाई धन दिनुहोस्। मलाई चाँहिदो भोजन मात्र जुटाइ दिनुहोस्। किनभने मसित धेरै भयो भने म तपाईंलाई इन्कार गरूँला, र यसो भनूँला, ‘परमप्रभु को हो र?’ यदि म दरिद्र भएँ भने, म चोर्न लागूँला, र परमेश्वरको नाउँमा कलङ्क लगाउँला।” यस प्रकारको मनोवृत्ति राख्नाले मूर्तिपूजक सरहको लोभ र लालचदेखि जोगिएर बस्नमा हामीलाई मदत मिल्न सक्तछ।
आत्म-पूजादेखि जोगिएर बस्नु
२०, २१. आत्म-पूजाबाट यहोवाका जनहरू कसरी जोगिएर बस्तछन्?
२० यहोवाका जनहरू आत्म-पूजादेखि पनि जोगिएर बस्दछन्। आत्म-पूजा गर्नु र स्व-इच्छाअनुसार चल्नु आजको संसारमा साधारण कुरा भएको छ। यश र गौरवको इच्छाले गर्दा धेरै मानिसहरू छक्का-पञ्जा गर्दछन्। तिनीहरू परमेश्चरको होइन, आफ्नो इच्छा पूरा भएको चाहन्छन्। तर छक्का-पञ्जा गर्दै आफूले चाहेको कुरा नै लाद्ने र अरूहरूमाथि हैकम चलाउने प्रयास गऱ्यौं भने त्यो हामीले आत्म-पूजा गरे सरह हुनेछ र परमेश्वरसँग हाम्रो कुनै सम्बन्ध हुन सक्नेछैन। (हितोपदेश ३:३२; मत्ती २०:२०-२८; १ पत्रुस ५:२, ३) येशूका हामी अनुयायी भएका हुनाले सांसारिक छक्का-पञ्जालाई हामीले परित्याग गरेका छौं।—२ कोरिन्थी ४:१, २.
२१ यशको पछि लाग्नुको सट्टा परमेश्वरका जनहरू पावलको यस चेतावनीलाई पालन गर्दछन्: “चाहे तिमीहरू खाओ अथवा पिओ, अथवा तिमीहरू जेसुकै गर, सबै परमेश्वरकै महिमाको निम्ति गर।” (१ कोरिन्थी १०:३१) यहोवाका सेवकहरू भएका हुनाले हामी मूर्तिपूजक हुने गरी आफ्नै इच्छामाथि जोर दिंदैनौं, तर “विश्वासी र बुद्धिमान दास” बाट आएको निर्देशनलाई स्वीकार गर्दै र यहोवाको सङ्गठनलाई पूर्ण सहयोग गर्दै आनन्दपूर्वक ईश्वरीय इच्छालाई पालन गर्दछौं।—मत्ती २४:४५-४७.
होशियार रह!
२२, २३. हर प्रकारको मूर्तिपूजाबाट हामीले आफूलाई कसरी जोगाएर राख्न सक्तछौं?
२२ हामी यहोवाका जन भएका हुनाले भौतिक मूर्तिहरूका सामु घोप्टो परेर दण्डवत् गर्दैनौं। मूर्तिपूजाका सुक्ष्म भन्दा सुक्ष्म रूपदेखि समेत हामी जोगिएर बस्छौं। यथार्थमा हर प्रकारको मूर्तिपूजाबाट हामी अलग्ग बस्नु पर्दछ। त्यसै कारण हामी यूहन्नाको यस सल्लाहलाई पालन गर्दछौं: “मूर्तिहरूबाट जोगिएर बस।”—१ यूहन्ना ५:२१.
२३ यदि तपाईं एक जना यहोवाका साक्षी हुनुहुन्छ भने सधैं नै बाइबलद्वारा प्रशिक्षित आफ्नो विवेक र असल र खराब छुट्टयाउने ज्ञानेन्द्रियलाई चलाउनुहोस्। (हिब्रू ५:१४) अनि तपाईं संसारको मूर्तिपूजक भावनाबाट आफूलाई निष्कलङ्क राख्न सक्नुहुन्छ र ती तीन जना विश्वासी हिब्रूहरू र पहिलेका वफादार मसीहीहरू जस्ता हुनु हुनेछ। तपाईंले यहोवालाई ऐकान्तिक भक्ति चढाउनु हुनेछ र उहाँले तपाईंलाई हर प्रकारको मूर्तिपूजादेखि जोगाएर राख्नु हुनेछ। (w93 1/15)
तपाईंका विचारहरू के छन्?
▫ इजकिएलको दर्शनमा देखिएका मूर्तिपूजाका रूपहरूबाट यहोवाका साक्षीहरूले आफूलाई कसरी जोगाउँछन्?
▫ प्रकाश १३:१-को “जङ्गली जनावर” के हो, र त्यसका सम्बन्धमा यहोवाका सेवकहरूले के अडान लिन्छन्?
▫ मनोरञ्जन र खेल-कूदका नामी कलाकारहरूलाई आराध्य बनाउनबाट किन जोगिनु?
▫ म-पूजाबाट हामी कसरी जोगिन सक्छौं?
▫ हर प्रकारको मूर्तिपूजाबाट किन जोगिनु?
[पृष्ठ २८-मा भएको चित्र]
इजकिएलको दर्शनमा देखिएका घृणित कुराहरूले कसरी मसीही जगतले गरेको मूर्तिपूजालाई चित्रित गर्दछ भन्ने कुरा के तपाईंलाई थाह छ?