अध्याय सात
विश्व परिवर्तन गर्ने चार शब्द
१ धेरैअघि भित्तामा लेखिएका चारवटा शब्दहरूको असर कत्तिको व्यापक थियो?
भित्तामा कोरिएका चार सरल शब्दहरू। तर ती चारवटा शब्दहरूले गर्दा एक जना पराक्रमी शासकको सातो उडेको थियो। ती शब्दहरूले दुई जना राजा सत्ताच्युत हुने, तिनीहरूमध्ये एक जनाको मृत्यु हुने र एउटा पराक्रमी विश्वशक्तिको अन्त हुने घोषणा गऱ्यो। एकदमै श्रद्धा गरिएको धार्मिक प्रणालीको पनि ठूलो अपमान भयो। सबैभन्दा महत्त्वपूर्ण कुरा, ती शब्दहरूले यहोवाको शुद्ध उपासना उच्च पार्नुका साथै उहाँको सार्वभौमिकताको पुनः जोडदार प्रमाण दिए र यो पनि त्यतिबेला, जब प्रायजसो मानिसहरू न यहोवाको शुद्ध उपासना न त उहाँको सार्वभौमिकताकै मतलब राख्थे। अझ भन्ने हो भने, ती चार शब्दहरूले अहिलेको विश्व परिस्थितिमाथि समेत प्रकाश पार्छन्! जाबो चारवटा शब्दको यतिबिघ्न शक्ति? कसरी? आउनुहोस्, हामी हेरौं।
२. (क) नबूकदनेसरको मृत्युपछि बेबिलोनमा के भयो? (ख) शासन अब कुन राजाको हातमा थियो?
२ दानियलको चौथो अध्यायमा वर्णन गरिएका घटनाहरू घटेको दशकौं भइसक्यो। घमण्डी राजा नबूकदनेसरले बेबिलोनमाथि गरेका ४३ वर्ष लामो शासन सा.यु.पू. ५८२ मा तिनको मृत्युपछि अन्त भयो। तिनको परिवारबाट थुप्रै उत्तराधिकारीहरू निस्के तर अकाल मृत्यु वा हत्याले गर्दा एकपछि अर्को शासनकालको अन्त भयो। अन्तमा, नाबोनिडस नाउँ गरेको मानिसले विद्रोह गरेर सिंहासन हडपे। चन्द्र-देव सिनको प्रधान पुरोहितनीको छोरा, नाबोनिडसको बेबिलोनको शाही घरानासित रगतको नाता थिएन। कुनै कुनै प्रमाणले देखाएअनुसार तिनले आफ्नो शासनलाई वैधानिक बनाउन नबूकदनेसरकी छोरीसित विवाह गरेर आफ्नो छोरा, बेलसजरलाई सहशासक बनाउनुका साथै बेबिलोनमाथि शासन चलाउने जिम्मा लामो समयसम्म तिनकै हातमा छोडे। त्यसो हो भने, बेलसजर, नबूकदनेसरको नाति हुन जान्छ। आफ्नो हजुरबुबाको हालत देखेर के तिनले सर्वोच्च परमेश्वर यहोवा हुनुहुन्छ र उहाँले जुनसुकै राजालाई पनि तुच्छ तुल्याउन सक्नुहुन्छ भन्ने पाठ सिके? पटक्कै सिकेनन्!—दानियल ४:३७.
भोज अनियन्त्रित हुन जान्छ
३. बेलसजरको भोज कस्तो हुन्थ्यो?
३ दानियलको ५ औं अध्यायको सुरुमै एउटा ठूलो भोजबारे वर्णन गरिएको छ। “बेलसजर राजाले आफ्ना एक हजार शासकहरूका निम्ति एउटा ठूलो भोज लगाए, र ती हजार मानिसहरूको उपस्थितिमा तिनले दाखमद्य पिउनलागे।” (दानियल ५:१) यति धेरै मानिसहरू अनि राजाका उपपत्नी र रखौटीहरू अटाउने कत्ति ठूलो ठाउँ थियो होला, तपाईं कल्पना गर्न सक्नुहुन्छ। एक जना शास्त्रविद् यस्तो टिप्पणी गर्छन्: “बेबिलोनका भोजहरू एकदमै भव्य हुन्थे तर प्रायजसो भोजको अन्तमा मानिसहरू मात्तिन थाल्थे। विदेशबाट झिकाइएका रक्सीहरू र हर किसिमका विलासी चीजबीचहरूले टेबल भरिभराउ हुन्थ्यो। घरमा सुगन्धित अत्तरको बासना हुन्थ्यो; गायक तथा वाद्यवादकहरू त्यहाँ भेला भएका पाहुनाहरूको मन बहलाउँथे।” सबैले देख्ने ठाउँमा आसन ग्रहण गरेका बेलसजरले दाखमद्य कति पिए त्यसको कुनै लेखाजोखा नै भएन।
४. (क) सा.यु.पू. ५३९, अक्टोबर ५ तारिखको रातमा बेबिलोनीहरू भोजभतेरमा मस्त हुनु किन अनौठो हो? (ख) प्राप्त प्रमाणअनुसार शत्रुहरूले आक्रमण गर्दा पनि बेलसजर ढुक्क हुन सक्नुको कारण के थियो?
४ सा.यु.पू. ५३९ अक्टोबर ५/६ तारिखको रातमा बेबिलोनीहरू यस्तो भोजभतेरमा मस्त हुनु अनौठो सुनिन्छ। तिनीहरूको देशमा युद्ध मच्चिरहेको थियो र अवस्था राम्रो थिएन। नाबोनिडसले मादी-फारसी सेनाहरूको हातबाट पराजय भोगेर बेबिलोनको दक्षिणपश्चिममा अवस्थित बोर्सिपामा शरण लिएको धेरै भएको थिएन। अनि अहिले कोरेसका सेना बेबिलोनबाहिर पाल टाँगेर बसिरहेका थिए। यद्यपि, बेलसजर र तिनका हाकिमहरूलाई भने यस्तो अवस्थामा पनि पटक्कै पीर परेको जस्तो देखिंदैन। हुन पनि, तिनीहरूको शहर अजेय बेबिलोन थियो! बडेमाका पर्खालबाहिर यूफ्रेटिस नदीको पानीले घेरा लाएको थियो र यही नदीको पानी शहरभित्रबाट पनि बग्थ्यो। लगभग सय वर्षको दौडान कुनै पनि शत्रुले बेबिलोनलाई सजिलै पराजय गर्न सकेको थिएन। त्यसकारण, बेकारमा किन पीर गर्ने? सायद भोजभतेरको रमझमको आवाजले तिनीहरू आफ्नो शक्तिमा कति ढुक्क छन् भनेर देखाउँछ र शत्रुहरू आत्तिएर हिम्मत हार्नेछन् भनी बेलसजरले सोचेको हुनुपर्छ।
५, ६. रक्सीको मात लागेको बेला बेलसजरले के गरे अनि यो कार्य किन यहोवाको घोर अपमान थियो?
५ बेलसजरलाई रक्सीको मात चढ्न धेरै बेर लागेन। हितोपदेश २०:१ (नयाँ संशोधित संस्करण) ले भनेझैं ‘दाखमद्यले उपहास गर्न लगाउँछ।’ तर अब भने रक्सीको मात चढेर राजाले उपहास मात्र होइन तर एकदमै गम्भीर गल्ती गरे। तिनले यहोवाको मन्दिरबाट ल्याएका पवित्र भाँडाकुँडाहरू भोजमा ल्याउने हुकुम दिए। नबूकदनेसरले यरूशलेममाथि विजय हासिल गर्दा ल्याएका यी भाँडाकुँडाहरू शुद्ध उपासनाको लागि मात्र प्रयोग गर्नुपर्ने थियो। विगतमा यहोवाको मन्दिरमा यी भाँडाकुँडाहरू प्रयोग गर्न अख्तियार पाउने यहूदी पूजाहारीहरूलाई समेत शुद्ध रहने चेताउनी दिइएको थियो।—दानियल ५:२; तुलना गर्नुहोस् यशैया ५२:११.
६ तथापि, बेलसजर योभन्दा अझै अशिष्ट कार्य गर्ने सुरमा थिए। “राजा र तिनका शासकहरू, तिनका उप–पत्नीहरू र रखौटीहरूले . . . दाखमद्य पिए, र सुन, चाँदी, पित्तल, फलाम, काठ र ढुङ्गाका देवताहरूको प्रशंसा गरे।” (दानियल ५:३, ४) अतः बेलसजर यहोवालाई भन्दा झूटा देवहरूलाई उच्च पार्ने सुरमा थिए! बेबिलोनीहरूमा यस्तो मनोवृत्ति हुनु सामान्य कुरा थियो जस्तो देखिन्छ। तिनीहरू यहूदी बन्दीहरूको गिल्ला गर्थे, तिनीहरूको उपासनालाई हाँसोमा उडाउँथे अनि आफ्नो प्यारो मातृभूमि फर्कने आशै मारे पनि हुन्थ्यो जस्तो कुरा गर्थे। (भजन १३७:१-३; यशैया १४:१६, १७) रक्सीले मात्तिएका राजाले ती बन्दीहरू र तिनीहरूको परमेश्वरको अपमान गर्दा भोजमा उपस्थित महिला तथा हाकिमहरू तिनको बल र सामर्थ्य देखेर प्रभावित हुनेछन् भन्ठानेको हुनुपर्छ।a बेलसजर आफ्नो सामर्थ्य देखेर केही समय दंग परे होलान् तर त्यो धेरै बेर टिकेन।
भित्ताको लेखोट
७, ८. बेलसजरको भोजलाई खलबलाउने कस्तो अवस्था सृजना भयो र यसले राजालाई कस्तो असर गऱ्यो?
७ प्रेरित विवरण यसो भन्छ, “एक्कासि मानिसको हातको औंलाले पानसको सामने महलको भित्तामा केही लेख्नलागेको देखियो। औ लेखिरहेको हातको पछिल्तिरको भाग राजाले देखे।” (दानियल ५:५) कस्तो असामान्य दृश्य! अचानक हावामा एउटा हात देखा पऱ्यो र उज्यालो भित्तामा केही अक्षरहरू कोर्न थाल्यो। भोजमा उपस्थित सबै पाहुनाहरू आफ्नो मुन्टो फर्काएर ती अक्षरहरू हेर्न ट्वाल्ल पर्दा कस्तो सन्नाटा छायो होला, कल्पना गर्नुहोस् त। प्लास्टर गरेको भित्तामा त्यो हातले केही अस्पष्ट अक्षरहरू लेख्न थाल्यो।b यो घटना एकदमै अनिष्टकारी र अविस्मरणीय भएको हुँदा मानिसहरूले अहिलेसम्म पनि निकट भविष्यमा हुनै लागेको विनाशको चेताउनी दिन “भित्ताको लेखोट” भन्ने अर्थ बुझिने अंग्रेजी वाक्यांश प्रयोग गर्छन्।
८ यहोवाको भन्दा आफू र आफ्ना देवहरूको सम्मान गर्न खोज्ने घमण्डी राजालाई यसले कस्तो असर गऱ्यो? “यो देखेर राजा भयभीत भए, र तिनको अनुहारको रङ्ग पहेंलो भयो, र तिनका हात–खुट्टै गलेर तिनी थरथर काम्नलागे।” (दानियल ५:६) बेलसजर आफ्ना प्रजाहरूको अगाडि महान् र पराक्रमी देखिन चाहन्थे। तर त्यसो नभएर तिनी सातो उडेको मानिसजस्तै भए, तिनको अनुहार पहेंलो भयो, जीउ थरथर कामेर खुट्टा लगलग हल्लियो। दाऊदले एउटा भजनमा यहोवालाई भनेका यी शब्दहरू साँच्चै सही साबित भए: “अहंकारीहरूलाई झुकाउनका निम्ति तपाईंको नजर तिनीहरूमाथि पर्छ।”—२ शमूएल २२:१, २८, नयाँ संशोधित संस्करण; तुलना गर्नुहोस् हितोपदेश १८:१२.
९. (क) बेलसजरको डर किन ईश्वरीय भय थिएन? (ख) राजाले बेबिलोनका ज्ञानी पुरुषहरूलाई कस्तो इनाम दिने घोषणा गरे?
९ हामीले कुन कुरा बिर्सनु हुँदैन भने, बेलसजरको डर ईश्वरीय भय अर्थात् यहोवाप्रतिको गहिरो श्रद्धेय भय थिएन जुन बुद्धिको सुरुआत हो। (हितोपदेश ९:१०) यो त अस्वस्थकर भय थियो र यस्तो भयले राजालाई बुद्धिमान् बनाएन।c आफूले भर्खरै अपमान गरेको परमेश्वरसित माफी माग्नुको साटो तिनले “मंत्र-तंत्र जान्ने कल्दी र ज्योतिषीहरूलाई” बोलाउन लगाए। तिनले यस्तो घोषणा पनि गरे: “जसले यो लेखोट पढ़ेर मलाई त्यसको अर्थ खोलिदिनसक्छ, त्यसलाई बैजनी पोशाक पहिराइनेछ, र त्यसको गलामा सुनको हार लगाइनेछ, र यस राज्यको दर्जामा त्यो तेस्रो गनिनेछ।” (दानियल ५:७) राज्यमा तेस्रो ठूलो व्यक्ति साँच्चै शक्तिशाली हुने थियो र तिनीभन्दा शक्तिशाली दुइटा दर्जा, नाबोनिडस र बेलसजरको मात्र हुन्थ्यो। त्यस्तो किसिमको ओहदा सामान्यतया बेलसजरको जेठो छोराको लागि छुट्याइएको हुनुपर्छ। त्यो चमत्कारपूर्ण सन्देशको अर्थ खुलाउन राजा कत्तिको आतुर थिए भनेर यहाँ हामी बुझ्नसक्छौं!
१०. भित्ताको लेखोटको अर्थ खुलाउन खोज्ने ज्ञानी पुरुषहरूको कस्तो हालत भयो?
१० ज्ञानी पुरुषहरू सबै भित्र आउन थाले। त्यस्ता पुरुषहरूको कुनै अभाव थिएन किनभने बेबिलोन, झूटो धर्ममा चुर्लुम्मै डुबेको र मन्दिरै मन्दिरले भरिएको शहर थियो। शुभ-अशुभ संकेतहरू पढ्ने र अस्पष्ट लेखोटहरूको अर्थ बताउने दाबी गर्ने मानिसहरूको कुनै कमी थिएन। यी ज्ञानी पुरुषहरू यस्तो मौका पाएकोमा दंग परे होलान्। विशाल जनसमूहको अगाडि आफ्नो कला देखाउने, राजाको अनुग्रह जित्ने अनि ठूलो ओहदा पाउने मौका तिनीहरू सामु थियो। तर तिनीहरूको ठूलो हार भयो! “तिनीहरूले त्यो लेखोट पढ़नसकेनन्, नता तिनीहरूले राजालाई त्यसको अर्थ खोलिदिनसके।”d—दानियल ५:८.
११. बेबिलोनका ज्ञानी पुरुषहरूले अक्षरहरू पढ्न नसक्नुको कारण के हुनसक्छ?
११ बेबिलोनका ज्ञानी पुरुषहरूलाई भित्तामा लेखिएको अक्षर कुन अक्षर हो भनेर छुट्याउनै गाह्रो परेको हो कि होइन, त्यसबारे प्रस्ट छैन। कुन अक्षर हो भनेर छुट्याउन सकेका भए सायद राजालाई मक्ख पार्न मन परी जे पनि भन्थे होलान्। अक्षरहरू प्रस्टै पढ्न सकिने किसिमको नभएका पनि हुनसक्छन्। अरामी र हिब्रू भाषामा व्यञ्जनको मात्र प्रयोग गरिने हुँदा एउटै शब्दको थुप्रै अर्थ हुनसक्छ। त्यसो हो भने, ज्ञानी पुरुषहरूले ती अक्षरहरू मिलेर कुन कुन शब्द बने भनेर छुट्याउन सकेनन् होला। शब्द छुट्याउनै सकेको भए तापनि त्यसको खास अर्थ बुझेर अर्थ खुलाउन नसकेको हुनुपर्छ। जे होस्, एउटा कुरा भने पक्का छ: बेबिलोनका ज्ञानी पुरुषहरूको एकदमै लज्जास्पद हार भयो!
१२. ज्ञानी पुरुषहरूको असफलताले कुन कुरा प्रमाणित गऱ्यो?
१२ यसरी ती ज्ञानी पुरुषहरू ढोंगी र तिनीहरूको धर्म जाली रहेछ भनेर पर्दाफास भयो। तिनीहरू कस्तो निरर्थक साबित भए! बेलसजरले यी धर्मावलम्बीहरूमा भरोसा राख्नु बेकार रहेछ भनी थाह पाएपछि तिनी झनै तर्सिए, तिनको अनुहार रगतै नभएजस्तो पहेंलो भयो र तिनका हाकिमहरू पनि “घबराए।”e—दानियल ५:९.
समझ भएको मानिस बोलाइन्छ
१३. (क) रानीले दानियललाई बोलाउन लगाउनुको कारण के थियो? (ख) दानियलले कस्तो जीवन बिताइरहेका थिए?
१३ यस्तो गम्भीर घडीमा रानी, सम्भवतः मुमा बडामहारानी भोज भइरहेको ठाउँमा प्रवेश गरिन्। उनले भोजमा भएको होहल्ला सुनिन् अनि त्यो अक्षरले भन्न खोजेको कुरा के हो भनेर बताउन सक्ने व्यक्तिबारे उनलाई थाह थियो। दशकौंअघि उनको बुबा नबूकदनेसरले दानियललाई सबै ज्ञानी पुरुषहरूको प्रधान नियुक्त गरेका थिए। रानीलाई दानियल “उत्तम आत्मा, बुद्धि र समझ भएका” मानिस हुन् भनी थाह थियो। बेलसजरलाई दानियलबारे थाह नभएको हुँदा, तिनले पहिले पाएको उच्च सरकारी ओहदा नबूकदनेसरको मृत्युपछि गुमाएको हुनसक्छ। तर दानियलले प्रतिष्ठालाई महत्त्वपूर्ण ठानेका थिएनन्। यतिञ्जेल तिनी ९० वर्ष नाघिसकेको हुनसक्छ। तैपनि, तिनी विश्वासी रहेर यहोवाको सेवा गरिरहेका थिए। बेबिलोनमा आठ दशकसम्म निर्वासित जीवन बिताइसक्दा पनि तिनी हिब्रू नाउँले नै चिनिन्थे। रानीले पनि तिनलाई पहिले दिइएको बेबिलोनी नाउँ काढेर होइन तर दानियल भनेर नै सम्बोधन गरिन्। उनले राजालाई यस्तो आग्रह गरिन्: “यिनै दानियललाई अब बोलाइपठाउनुहोस्, र तिनले अर्थ फुकाइदिनेछन्।”—दानियल १:७; ५:१०-१२.
१४. भित्ताको अक्षर देखेपछि दानियलको कस्तो हालत भयो?
१४ दानियललाई बोलाइयो र तिनी बेलसजरसामु हाजिर भए। आफूले केही समयअघि मात्रै अपमान गरेको परमेश्वरको उपासना गर्ने यहूदीसित बिन्ती गर्नु अलि अप्ठ्यारो कुरा थियो। तैपनि, बेलसजरले ती रहस्यमय शब्दहरू पढेर अर्थ खुलाउन सकेको खण्डमा आफूले पहिले भनेको इनाम अर्थात् राज्यमा तेस्रो महत्त्वपूर्ण दर्जा दिने कुरा बताएर दानियललाई फकाउन खोजे। (दानियल ५:१३-१६) दानियलले आँखा उठाएर भित्तामा लेखिएका अक्षरहरू हेरे अनि पवित्र आत्माले तिनलाई त्यसको अर्थ बुझ्न मदत गऱ्यो। यो यहोवा परमेश्वरले घोषणा गर्नुभएको विनाशको सन्देश थियो! यस्तो कठोर न्याय दानियलले कसरी यो घमण्डी राजालाई बताउने, त्यै पनि तिनका पत्नीहरू र पाहुनाहरूको अगाडि? दानियल कस्तो दोधारमा परे होलान्! राजाले धनसम्पत्ति र प्रतिष्ठा दिने वचन सुनेर के तिनी मख्ख परे? के यो अगमवक्ताले यहोवाको घोषणालाई फितलो तुल्याउने थिए?
१५, १६. बेलसजरले इतिहासबाट कस्तो महत्त्वपूर्ण पाठ सिकेनन् अनि अहिले पनि त्यस्तो अवस्था कत्तिको व्याप्त छ?
१५ साहसी भएर दानियलले यसो भने: “हजूरका उपहारहरू हजूरलेनै राख्नुहोला, अथवा आफ्ना उपहारहरू अरूलाईनै दिनुहोला। तापनि म यो लेखोट पढ़ेर हजूरलाई त्यसको अर्थ खोलिदिनेछु।” (दानियल ५:१७) त्यसपछि दानियलले नबूकदनेसरको महानता मानिलिंदै तिनी एकदमै शक्तिशाली भएकोले चाहेको खण्डमा जसलाई पनि मार्न, ढाल्न, उचाल्न वा तुच्छ पार्न सक्छन् भने। तथापि, नबूकदनेसरलाई महान् बनाउने “सर्वोच्च परमेश्वर” यहोवा हुनुहुन्छ भनी दानियलले बेलसजरलाई सम्झाए। त्यस पराक्रमी राजा अहंकारी हुँदा तिनलाई तुच्छ तुल्याउनुहुने यहोवा नै हुनुहुन्थ्यो। हो, “सर्वोच्च परमेश्वरकोनै मानिसहरूमाथि सर्वाधिकार छ, र आफूले इच्छा गरेकोलाईनै उहाँले राज्य दिनुहुन्छ” भनी स्वीकार्न नबूकदनेसरलाई करै लागेको थियो।—दानियल ५:१८-२१.
१६ बेलसजरलाई “यी सबै कुरा” थाह थियो। यद्यपि, तिनले इतिहासबाट कुनै पाठ सिकेनन्। अझ भन्ने हो भने, बेलसजरले नबूकदनेसरको अनुचित घमण्डभन्दा पनि अचाक्ली गरेर यहोवाको सरासर अपमान गरे। दानियलले राजाको पाप उदांग पारे। यसबाहेक, मूर्तिपूजकहरूको त्यो विशाल जनसमूहअगाडि तिनले बेलसजरलाई झूटा देवहरूले “नता देख्छन् न सुन्छन्, न केही जान्दछन्” भने। परमेश्वरका साहसी अगमवक्ताले यहोवा, ती बेकारका देवहरूजस्तो हुनुहुन्न तर उहाँको “हातमा हजूरको सास” छ भने। अहिले सम्म पनि मानिसहरूले निर्जीव वस्तुहरूलाई आफ्नो देव मान्न छाडेका छैनन्, पैसा, प्रतिष्ठा अनि मोजमस्तीलाई नै तिनीहरू सर्वमहत्त्वपूर्ण कुरा ठान्छन्। तर यीमध्ये कुनैले पनि जीवन दिन सक्दैन। हामी सबैले आफ्नो अस्तित्वको श्रेय दिनुपर्ने, जीवनको हरेक पलको लागि भरोसा गर्नुपर्ने एक मात्र परमेश्वर, यहोवा नै हुनुहुन्छ।—दानियल ५:२२, २३; प्रेरित १७:२४, २५.
रहस्यको अर्थ खुलाइयो!
१७, १८. भित्तामा लेखिएका चारवटा शब्दहरू के थिए र तिनीहरूको अक्षरसः अर्थ के हो?
१७ बेबिलोनका सबै ज्ञानी पुरुषहरूले गर्न नसकेको कुरा अब यस वृद्ध अगमवक्ताले गर्न लागिरहेका थिए। तिनले भित्तामा लेखिएको अक्षर पढेर त्यसको अर्थ खुलाए। ती शब्दहरू थिए: “मेने, मेने, टेकेल, पर्सिन।” (दानियल ५:२४, २५, नयाँ संशोधित संस्करण) तिनीहरूको अर्थ के हो?
१८ ती शब्दहरूको अक्षरसः अर्थ, “मीना, मीना, शेकेल र आधा शेकेल” हो। हरेक शब्दले सिक्काको तौललाई बुझाउँथ्यो र त्यो क्रमानुसार छ। कस्तो बुझ्नै गाह्रो! बेबिलोनी ज्ञानी पुरुषहरूले ती अक्षरहरू चिन्न सकेको भए तापनि त्यसको अर्थ खुलाउन नसकेकोमा छक्क पर्नुपर्ने कुनै कारण छैन।
१९. “मेने” शब्दको अर्थ के हो?
१९ परमेश्वरको पवित्र आत्माले प्रेरित भएर दानियलले यसो भने: “यी शब्दहरूको अर्थ यही हो: मेने, परमेश्वरले हजूरका राज्यका दिन गन्ती गर्नुभएको छ, र त्यसको अन्त गर्नुभएको छ।” (दानियल ५:२६, नयाँ संशोधित संस्करण) पाठकले पहिलो शब्दमा प्रयोग गर्ने स्वरको आधारमा “सिक्का” र “दिन छुट्याइएको छ” वा “दिन गन्ती गर्नुभएको छ” भन्ने अर्थ बुझाउने अरामी शब्द हो भन्न सकिन्छ। यहूदीहरू अब निर्वासनबाट मुक्त हुने समय नजिकै छ भनेर दानियललाई राम्ररी थाह थियो। भविष्यवाणी गरिएअनुसार निर्वासनमा बिताउनुपर्ने ७० वर्षमा ६८ वर्ष बितिसकेको थियो। (यर्मिया २९:१०) आफ्नो समयतालिकाअनुसार चल्नुहुने यहोवाले विश्वशक्तिको हैसियतमा बेबिलोनको शासन गन्ती गरिसक्नुभएको थियो र यो अन्त बेलसजरको भोजमा उपस्थित मानिसहरूले सोचेभन्दा एकदमै नजिक थियो। साँच्चै भन्ने हो भने, बेलसजरको मात्र होइन तर तिनको बुबा नाबोनिडसको पनि अब धेरै समय बाँकि थिएन। त्यसैले, हुनसक्छ यी दुवै राजशासनको अन्त घोषणा गर्न “मेने” शब्द दुई चोटि लेखियो।
२०. “टेकेल” शब्दको अर्थ के थियो र यो बेलसजरमाथि कसरी लागू भयो?
२० अर्कोतिर, “टेकेल” एक चोटि मात्र र त्यो पनि, एक वचनमा लेखियो। यसले उक्त शब्द मुख्यतया बेलसजरका लागि थियो भन्ने संकेत गरेको हुनसक्छ। अनि यो उपयुक्त पनि थियो किनभने तिनी नै यहोवाको घोर अनादर गर्ने व्यक्ति थिए। यस शब्दको अर्थ “शेकेल” हो तर यसका व्यञ्जनहरूमा स्वर थप्दा “जोखिनुभएको छ” भन्ने अर्थ पनि लाग्नसक्छ। त्यसैकारण, दानियलले बेलसजरलाई यसो भने: “टेकेल, हजूर तराजूमा जोखिनुभएको छ, र हल्का भेट्टाइनुभएको छ।” (दानियल ५:२७, नयाँ संशोधित संस्करण) यहोवाको नजरमा सबै राष्ट्रहरू तराजुमा टाँसेको धूलोको पत्रजस्तै महत्त्वहीन छन्। (यशैया ४०:१५) तिनीहरूले कुनै पनि हालतमा यहोवाका उद्देश्यहरू विफल पार्न सक्दैनन्। त्यसोभए, एक जना अहंकारी राजाले के नै गर्न सक्थे र? बेलसजरले आफूलाई ब्रह्माण्डको सार्वभौम शासकभन्दा उच्च पार्न खोजेका थिए। यो जाबो मानिसले यहोवाको अपमान गरेर शुद्ध उपासनाको गिल्ला गर्ने आँट गरेका थिए तर तिनी “हल्का” ठहरिए। हो, बेलसजर आउँदै गरेको विनाश भोग्न योग्यका थिए!
२१. “पर्सिन” शब्द कुन तीनवटा अर्थ बुझाउने तुक्का हो र त्ससले बेबिलोन भविष्यमा पनि विश्वशक्ति रहिरहनेछ वा छैन भन्ने सन्दर्भमा के संकेत गऱ्यो?
२१ भित्तामा लेखिएको अन्तिम शब्द “पर्सिन” थियो। दानियलले यस शब्दको एकवचन रूप, “पेरेस” भनी पढे। किनभने, अर्को राजा अनुपस्थित भएकाले एक जना राजालाई मात्र तिनले सम्बोधन गरिरहेको हुनसक्छ। यस शब्दले यहोवाको महान् रहस्यको चरमोत्कर्षमा पुऱ्यायो र यो तीनवटा अर्थ लाग्न सक्ने तुक्का हो। अक्षरसः भन्ने हो भने, “पर्सिन” शब्दको अर्थ “आधा शेकेल” हो। तर यस अक्षरको अर्को दुइटा अर्थ पनि हुनसक्छ अर्थात् “विभाजन” र “फारसीहरू”। यसकारण, दानियलले यस्तो भविष्यवाणी गरे: “पेरेस, हजूरको राज्य विभाजन भई मादी र फारसीहरूलाई दिइएको छ।”—दानियल ५:२८.
२२. रहस्यको अर्थ खुलाइसकेपछि बेलसजरले कस्तो प्रतिक्रिया देखाए र तिनले के आशा गरेको हुनसक्छ?
२२ यसरी रहस्यको अर्थ खुलाइयो। पराक्रमी बेबिलोन, मादी-फारसी सैन्यदलको हातबाट पतन हुनै लागेको थियो। विनाशको यो घोषणाले गर्दा लुत्रुक्क परे तापनि बेलसजरले आफ्नो वचन पूरा गरे। तिनले हुकुम गरेर दानियललाई बैजनी पोसाक पहिराइदिए, गलामा सुनको हार लगाइदिए र राज्यको तेस्रो सर्वोच्च शासक भनी घोषणा गराए। (दानियल ५:२९) यसले यहोवालाई दिनुपर्ने आदर झल्काउने हुँदा दानियलले यस्तो सम्मान अस्वीकार गरेनन्। निस्सन्देह, बेलसजरले यहोवाको अगमवक्तालाई आदर गरेर आफूले भोग्नुपर्ने दण्ड केही कम होला कि भन्ने आशा गरेको हुनुपर्छ। यदि त्यसो हो भने, “मरेपछि ओखती” भनेझैं भयो।
बेबिलोनको पतन
२३. बेलसजरको भोज चलिरहेकै बेला कुन पुरातन भविष्यवाणी पूरा भइरहेको थियो?
२३ बेलसजर र तिनका दरबारियाहरूले आफ्नै देवहरूको गुनगान गर्दै रक्सीले मात्तिएर यहोवाको उपहास गरिरहेको बेला दरबारबाहिर अनेकन् घटना घटिरहेका थिए। यशैयामार्फत झन्डै दुई शताब्दीअघि गरिएको भविष्यवाणी पूरा भइरहेको थियो। बेबिलोनबारे यहोवाले यस्तो भविष्यवाणी गर्नुभएको थियो: “त्यसको सबै सुस्केरा मैले बन्द गरिदिएको छु।” हो, त्यो दुष्ट शहरले परमेश्वरका चुनिएका जनहरूमाथि गरेको दमनको अन्त हुने थियो। तर कसरी? त्यही भविष्यवाणीमा यसो भनिएको थियो: “ए एलाम, उक्ली, ए मादी, घेरा लगा।” अगमवक्ता यशैयाको समयपछि एलाम, फारसमा गाभियो। यशैयाको त्यही भविष्यवाणीमा अगमवाणी गरिएअनुसार बेलसजरको भोज चलिरहेको समयसम्ममा बेबिलोन विरुद्ध ‘उक्लेर’ “घेरा” लगाउन मादी र फारस एकजूट भइसकेका थिए।—यशैया २१:१, २, ५, ६.
२४. बेबिलोनको पतनबारे कस्ता कुराहरू यशैयाले भविष्यवाणी गरिसकेका थिए?
२४ अझ भन्ने हो भने, यो सैन्यदलको नेता र तिनले अपनाउने रणनीतिका मूलभूत कुराहरूको समेत भविष्यवाणी गरिसकेको थियो। यहोवाले बेबिलोन विरुद्ध खडा गर्न कोरेस नाउँ गरेको व्यक्तिलाई नियुक्त गर्नुहुनेछ भनेर लगभग २०० वर्षअघि नै यशैयाले भविष्यवाणी गरिसकेका थिए। तिनले आक्रमण गर्दा तिनको अगाडि आइपर्ने सबै अवरोधहरू हटाइने थिए। बेबिलोनको पानी ‘सुक्ने थियो’ अनि त्यसका ठूलठूला ढोकाहरू खुला छाडिने थिए। (यशैया ४४:२७-४५:३) अनि त्यस्तै भयो पनि। कोरेसको सेनाले यूफ्रेटिस नदीको पानीलाई अर्कैतिर फर्कायो, नदी तरेर पर्खाल चढ्न तिनीहरूले पानी सुकाए। लापरवाह रक्षकहरूले बेबिलोनका ढोकाहरू खुल्लै छाडेका थिए। शहरका बासिन्दाहरू मोजमज्जामा चुर्लुम्म डुबेको बेलामा आक्रमण गरिएको थियो भन्ने कुरामा इतिहासकारहरू पनि सहमत छन्। बेबिलोनलाई आफ्नो कब्जामा लिन खासै गाह्रो परेन। (यर्मिया ५१:३०) तर त्यतिबेला भएको एउटा मृत्यु भने उल्लेखनीय छ। दानियलले यसो भने: “त्यही रात कल्दीहरूका राजा बेलसजर मारिए। अनि मादी राजा दाराले त्यो राज्य लिए। दारा राजा त्यस बेला बासट्ठी वर्षका थिए।”—दानियल ५:३०, ३१.
भित्ताको लेखोटबाट सिक्ने
२५. (क) बेबिलोन किन झूटो धर्मको विश्व साम्राज्यको एकदमै उपयुक्त प्रतीक हो? (ख) कुन अर्थमा परमेश्वरका आधुनिक सेवकहरू बेबिलोनमा बन्दी बनाइए?
२५ दानियल अध्याय ५ को प्रेरित वचन हाम्रोलागि अत्यन्तै अर्थपूर्ण छ। झूटो धार्मिक प्रचलनहरूको केन्द्र, पुरातन बेबिलोन झूटो धर्मको विश्व साम्राज्यको एकदमै उपयुक्त प्रतीक हो। प्रकाशको किताबमा रक्त पिपासु वेश्याको रूपमा चित्रण गरिएको यस विश्व साम्राज्यलाई “महान् बेबिलोन” नाउँ दिइएको छ। (प्रकाश १७:५) परमेश्वरको अनादर हुने धर्मसिद्धान्त र प्रचलनहरू विरुद्ध चेताउनीहरूको वास्तै नगरी त्यसले परमेश्वरको सत्य वचन प्रचार गर्नेहरूलाई सताएको छ। पादरीहरूले उक्साएर सन् १९१८ मा परमेश्वरको राज्य प्रचारकार्यलाई झन्ड झन्डै नामेटै गर्न खोज्दा पुरातन यरूशलेम र यहूदाका बासिन्दाहरूजस्तै अभिषिक्त मसीहीहरूको विश्वासी शेषजन पनि “महान् बेबिलोन[को]” निर्वासनमा परेका थिए।
२६. (क) सन् १९१९ मा “महान् बेबिलोन[को]” कसरी पतन भयो? (ख) हामीले कुन चेताउनी पालन गर्नुपर्छ र अरूलाई पनि बताउनुपर्छ?
२६ तर अकस्मात् “महान् बेबिलोन[को]” पतन भयो! कुनै ठूलो होहल्लाविना सा.यु.पू. ५३९ मा पुरातन बेबिलोनको पतन भएझैं यसको पनि पतन भयो। तर यो प्रतीकात्मक पतन कम भयानक थिएन। सा.यु. १९१९ मा यहोवाका जनहरू बेबिलोनी बन्धनबाट मुक्त भएर ईश्वरीय अनुमोदन पाउँदा महान् बेबिलोनको पतन भयो। यस बेलादेखि परमेश्वरका जनहरूमाथि “महान् बेबिलोन[को]” पकड रहेन र त्यो महा ठग रहेछ भनेर उदांग हुन थाल्यो। यस्तो पतनपछि त्यो फेरि कहिल्यै उठ्न सकेन र आफ्नो विनाशदेखि कुनै हालतमा पनि त्यसले आफूलाई जोगाउन सक्नेछैन। त्यसैले त, यहोवाका सेवकहरूले यो चेताउनी घोषणा गर्दै आएको धेरै भइसक्यो: “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ। त्यसका पापसँग तिमीहरूको केही संगत हुन नपाओस्।” (प्रकाश १८:४) के तपाईंले त्यो चेताउनी पालन गर्नुभएको छ? के तपाईंले अरूलाई पनि यो चेताउनी बताइरहनुभएको छ?f
२७, २८. (क) दानियलले कुन महत्त्वपूर्ण सत्य कहिल्यै बिर्सेनन्? (ख) यहोवाले वर्तमान दुष्ट संसारलाई चाँडै कारवाही गर्नुहुनेछ भन्ने कस्तो प्रमाण छ?
२७ अतः अहिले पनि भित्तामा लेखोटहरू देखा परिसकेका छन् तर ती “महान् बेबिलोन[को]” लागि मात्र होइन। दानियलको पुस्तकमा लिपिबद्ध मूलभूत सत्यलाई कहिल्यै नबिर्सनुहोस्। त्यो हो, यहोवा ब्रह्माण्डको सार्वभौमसत्ताधारी हुनुहुन्छ। मानिसजातिमाथि शासक नियुक्त गर्ने एकाधिकार केवल उहाँसित छ। (दानियल ४:१७, २५; ५:२१) यहोवाको उद्देश्यका बाधकहरू हटाइनेछन्। यहोवाले ढिलो गर्नुहुनेछैन, निश्चय आफ्नो उद्देश्य पूरा गर्नुहुनेछ। (हबकूक २:३) दानियलको लागि त्यो समय तिनको जीवनको दशौं दशकमा आयो। यहोवाले विश्वशक्तिलाई हटाउनुभएको दानियलले देखे, जुन विश्वशक्तिले दानियल आफू सानो छँदादेखि नै परमेश्वरका जनहरूलाई दमन गरिरहेको थियो।
२८ यहोवा परमेश्वरले स्वर्गको सिंहासनमा मानिसजातिमाथि शासन गर्ने शासक नियुक्त गरिसक्नुभएको छ भन्ने अकाट्य प्रमाण छ। वर्तमान संसारले यो राजा र तिनको शासनलाई इन्कार गर्नु नै यहोवाले आफ्नो राज्यको विरोधीहरूलाई चाँडै हटाउनुहुनेछ भन्ने बलियो प्रमाण हो। (भजन २:१-११; २ पत्रुस ३:३-७) के तपाईंले समयलाई विचार गरेर परमेश्वरको राज्यमाथि आफ्नो भरोसा राखिसक्नुभएको छ? यदि छ भने, तपाईंले भित्ताको लेखोटबाट पक्कै पाठ सिक्नु भएछ!
[फुटनोटहरू]
a एउटा पुरातन अभिलेखमा कोरेस राजाले बेलसजरबारे यसो भने: “देशको [शासक] हुन एउटा नाथे नियुक्त भएको छ।”
b दानियलको विवरणमा उल्लिखित यस्तो सानो कुरासमेत सही साबित भएको छ। पुरातन बेबिलोनको महलका भित्ताहरू इँटाले बनाएर त्यसमाथि प्लास्टर गरिएको हुन्थ्यो भनेर पुरातत्त्वविद्हरूले पत्ता लगाएका छन्।
c बेबिलोनी अन्धविश्वासले गर्दा यो चमत्कार झनै डरलाग्दो भएको हुनुपर्छ। बेबिलोनियन लाइफ एण्ड हिस्ट्री यस्तो टिप्पणी गर्छ: “थुप्रै देवहरूको उपासना गर्नुको अलावा बेबिलोनीहरू प्रेतात्मामा पनि असाध्यै विश्वास गर्ने हुँदा तिनीहरूको धार्मिक साहित्यमा ती प्रेतात्माहरू विरुद्ध गरिने प्रार्थना तथा मंत्र-तंत्रबारे निकै बताइएको पाइन्छ।”
d बिब्लिकल आर्कियोलोजी रिभ्यु यस्तो टिप्पणी गर्छ: “बेबिलोनी विशेषज्ञहरूले शुभ-अशुभ संकेतहरूको हजारौं नमुना तयार पारे। . . . बेलसजरले भित्तामा देखा परेको त्यो लेखोटको अर्थ बुझ्न खोज्दा बेबिलोनका ज्ञानी पुरुषहरूले पक्कै पनि यस्तै शुभ-अशुभ संकेतको कोश पल्टाएको हुनुपर्छ। तर ती सब बेकार भए।”
e कोशकारहरूका अनुसार यहाँ प्रयोग गरिएको “घबराए” भन्ने शब्दले त्यो ठूलो भेलामा नै गन्जागोल र ठूलो हल्लाखल्ला मच्चियो भनेर बुझाउँछ।
f वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीले प्रकाशित गरेको प्रकाश—त्यसको चरमोत्कर्ष निकट! पुस्तकको पृष्ठ २०५-७१ हेर्नुहोस्।
तपाईंले के बुझ्नुभयो?
• सा.यु.पू. ५३९ अक्टोबर ५/६ को रातमा बेलसजरको भोजमा कसरी दखल पुग्यो?
• भित्ताका लेखोटहरूको अर्थ के थियो?
• बेलसजरको भोज चलिरहेकै बेला बेबिलोनको पतनबारे कुन भविष्यवाणी पूरा भइरहेको थियो?
• भित्ताको लेखोटसम्बन्धी विवरणले हाम्रो समयको लागि कस्तो अर्थ राख्छ?
[पृष्ठ ९८-मा भएको पृष्ठभरिको चित्र]
[पृष्ठ १०३-मा भएको पृष्ठभरिको चित्र]