स्वर्गदूतहरूले तपाईंलाई कसरी मदत गर्नसक्छन्
परमेश्वरको वचनले स्वर्गदूतहरूको अस्तित्व छ भनेर पुष्टि गर्छ। यसले यस्ता लाखौं लाख आत्मिक प्राणीहरू छन् भनेर बताउँछ। यहोवाका सेवक दानियलले स्वर्गीय कुराहरूको दर्शन देखे। तिनले त्यसबारे लेखे: “हजारौं हजारले [परमेश्वरको] सेवा गर्दथिए। लक्खौं लाख उहाँको सामु खड़ा भइरहन्थे।”—दानियल ७:१०.
ध्यान दिनुहोस्, दानियलका उक्त शब्दहरूले अनेकौं स्वर्गदूतहरू थिए भनेर मात्र बताउँदैनन्। ती शब्दहरूअनुसार स्वर्गदूतहरूले परमेश्वरको सेवा पनि गर्थे। तिनीहरू उहाँका सेवकहरू हुन्। भजनरचयिताले उक्त कुरासँग मिल्ने भजन गाए: “हे परमप्रभुका दूत हो, हे शक्तिमान वीर हो, जसले उहाँको वचन शिरोपर गर्दछ, उहाँकै वचनको शब्द सुन्दै उहाँलाई धन्यको भन। हे परमप्रभुका सारा सेना हो, हे उहाँका सेवक हो, जो उहाँको इच्छाबमोजिम गर्दछौ, परमप्रभुलाई धन्यको भन।”—भजन १०३:२०, २१.
बाइबलले स्वर्गदूतहरूको जीवन मानिसजातिको रूपमा पृथ्वीमा सुरु भएको थिएन भनेर पनि बताउँछ। यहोवाले पृथ्वी सृष्टि गर्नुअघि नै स्वर्गदूतहरूलाई स्वर्गमा सृष्टि गर्नुभएको थियो। परमेश्वरले ‘पृथ्वीको जग बसाल्नुहुँदा स्वर्गीय जनहरू रमाहटले कराएका थिए।’—अय्यूब ३८:४-७.
स्वर्गदूतहरू आत्मिक प्राणी हुन्। तिनीहरू अदृश्य, शक्तिशाली र बुद्धिमान् छन्। बाइबलमा आत्मिक प्राणी बुझाउन हिब्रू मालक र युनानी अजिलस भन्ने शब्दलाई “स्वर्गदूत” भनेर अनुवाद गरिएको छ। बाइबलमा उक्त शब्दहरू झन्डै ४०० पटक प्रयोग गरिएका छन्। ती दुवै शब्दको एउटै अर्थ छ र त्यो हो, “सन्देशवाहक।”
स्वर्गदूतहरूसितको जम्काभेट
निस्सन्देह, स्वर्गदूतहरू सन्देशवाहकहरू हुन्। गब्रिएल स्वर्गदूत मरियमकहाँ प्रकट भएको बाइबल विवरण त तपाईंलाई थाहै होला। गब्रिएलले मरियमलाई तिनी कन्ये भए तापनि तिनले एउटा छोरा जन्माउनेछिन् जसको नाउँ येशू राखिनेछ भनेर बताए। (लूका १:२६-३३) चउरमा बसेका केही गोठालाहरूसामू पनि एउटा स्वर्गदूत देखा पऱ्यो। तिनले यसो भने: “तिमीहरूका निम्ति एउटा मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ।” (लूका २:८-११) त्यसैगरि, स्वर्गदूतहरूले हागार, अब्राहाम, लूत, याकूब, मोशा, गिदोन, येशू तथा अन्य व्यक्तिहरूलाई सन्देश दिए भन्ने विवरण बाइबलमा पाइन्छ।—उत्पत्ति १६:७-१२; १८:१-५, १०; १९:१-३; ३२:२४-३०; प्रस्थान ३:१, २; न्यायकर्त्ता ६:११-२२; लूका २२:३९-४३; हिब्रू १३:२.
चाखलाग्दो कुरा के छ भने, स्वर्गदूतहरूले दिएका ती सबै सन्देशहरू त्यससँग सम्बन्धित मानिसहरूको उद्देश्यअनुरूप नभई परमेश्वरको उद्देश्यअनुरूप थिए। स्वर्गदूतहरू परमेश्वरको इच्छा अनि समयअनुसार उहाँका प्रतिनिधिहरूको रूपमा देखा परे। तिनीहरूलाई मानिसहरूले बोलाएका थिएनन्।
मदतको लागि हामीले स्वर्गदूतहरूलाई पुकार्नु हुन्छ?
दुःखकष्टको भुमरीमा पर्दा स्वर्गदूतहरूलाई पुकार्नु उचित हो? यदि हो भने, हामीलाई राम्ररी मदत गर्नसक्ने एउटा स्वर्गदूतको नाउँ जान्न चाहन्छौं होला। त्यसैकारण, व्यापार प्रवर्धन गर्ने केही पुस्तकहरूले थुप्रै स्वर्गदूतहरूको अनुमानित नाउँका साथै तिनीहरूको ओहदा, पद र दायित्वहरूको सूची बनाएका छन्। एउटा पुस्तकले “टप टेन स्वर्गदूतहरू,” अर्थात् “पश्चिमी मुलुकका चिरपरिचित स्वर्गदूतहरू[को]” नामावली प्रकाशित गरेको छ। स्वर्गदूतहरूको सूचीको साथमा आँखा बन्द गर्ने, मनमनै स्वर्गदूतको नाउँ जप्ने, लामो सास तान्ने, बिस्तारै सास छोड्ने अनि “तिनीहरूसँग सम्भाव्य सम्पर्क राख्ने हिसाबले तयार हुने” सुझाउ दिइएको छ।
यसको विपरीत, बाइबलले परमेश्वरका दुई विश्वासी स्वर्गदूतहरूको मात्र नाउँ बताएको छ। तिनीहरू हुन्, माइकल र गब्रिएल। (दानियल १२:१; लूका १:२६) सायद तिनीहरूको नाउँ बताउनुको कारण स्वर्गदूतहरू व्यक्तित्वहीन शक्ति मात्र नभई नाउँसहितको बेग्लाबेग्लै आत्मिक व्यक्तिहरू हुन् भनेर प्रकट गर्नु हो।
चाखलाग्दो कुरा, केही स्वर्गदूतहरूले मानिसहरूलाई आफ्नो नाउँ बताउन इन्कार गरे। याकूबले स्वर्गदूतलाई तिनको नाउँ सोध्दा आफ्नो नाउँ बताएनन्। (उत्पत्ति ३२:२९) यहोशूकहाँ प्रकट हुने स्वर्गदूतलाई तिनको परिचय माग्दा तिनले “परमप्रभुको फौजको कप्तान . . . हुँ” मात्र भने। (यहोशू ५:१४) शिमशोनको आमाबाबुले स्वर्गदूतको नाउँ सोध्दा तिनले यसो भने: “तिमी किन मेरो नाउँ सोध्ने आँट गर्छौ? यो नाउँ आश्चर्यपूर्ण छ।” (न्यायकर्त्ता १३:१७, १८) बाइबलले स्वर्गदूतहरूको नाउँको सूची प्रस्तुत नगरेर हामीलाई स्वर्गदूतहरूको अनुचित आदर र उपासना गर्नुदेखि जोगाएको छ। बाइबलले तिनीहरूलाई पुकार्न मनाही गरेको पनि निम्न कुराहरूले देखाउँछन्।
परमेश्वरलाई पुकार्ने
आत्मिक संसारका गतिविधिहरूबारे हामी सबैलाई थाह हुनुपर्छ भनेर बाइबलले बताउँछ। प्रेरित पावलले लेखे: “परमेश्वरबाट प्रेरणा भएको हरेक धर्मशास्त्र जो छ, सो सिकाउनलाई . . . उपयोगी हुन्छ, र परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको होस्।” (२ तिमोथी ३:१६, १७) परमेश्वरले हामीलाई थुप्रै स्वर्गदूतहरूको नाउँ थाह होस् भन्ने चाहनुभएको भए उहाँले आफ्नो वचन बाइबलमा ती नाउँहरू प्रकट गर्नुहुने थियो। परमेश्वरले स्वर्गदूतहरूसँग कसरी सम्पर्क राख्ने अनि कसरी प्रार्थनाद्वारा कुरा गर्ने भनेर हामीलाई निर्देशन दिन चाहनुभएको भए उहाँले त्यसको जानकारी धर्मशास्त्रमा दिनुहुने थियो।
यसको विपरीत, बरु येशूले यसरी सिकाउनुभयो: “तिमी जब प्रार्थना गर्दछौ, त्यसबेला आफ्नो भित्री कोठाभित्र पस, र ढोका थुनेर गुप्तमा बसेका तिम्रा पितालाई प्रार्थना गर, . . . तिमीहरूचाहिं यस किसिमले प्रार्थना गर। हे हाम्रा स्वर्गमा बस्ने पिता, तपाईंको नाउँ पवित्र गरिओस्।” (मत्ती ६:६, ९) धर्मशास्त्रीय दृष्टिकोण यो हो: हामीले स्वर्गदूतहरूलाई पुकार्नु वा प्रार्थना गर्नुहुँदैन तर स्वर्गदूतहरूको सृष्टिकर्ता अर्थात् परमेश्वर स्वयंलाई प्रार्थनाद्वारा पुकार्नुपर्छ। उहाँको नाउँ रहस्यमय छैन अनि उक्त नाउँ प्रकट गर्न, दर्शन देख्ने व्यक्तिको आवश्यकता पनि छैन। ईश्वरीय नाउँ अस्पष्ट पार्ने प्रयास गरिए तापनि बाइबलमा उक्त नाउँ ७,००० पटक भन्दा बढी प्रयोग गरिएको छ। उदाहरणका लागि, स्वर्गमा हुनुहुने पितालाई सम्बोधन गर्दै भजनरचयिताले यसरी गाए: “तिनीहरूले जानून्, कि तपाईं जसको नाउँ परमप्रभु [“यहोवा,” NW] हो, तपाईं सारा पृथ्वीमा सर्वोच्च हुनुहुन्छ।”—भजन ८३:१८.
हामीले उचित तरिकामा यहोवालाई पुकाऱ्यौं भने उहाँले अवश्य हाम्रो प्रार्थना सुन्नहुनेछ। बाइबल यस्तो आश्वासन दिन्छ: “जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता र सान्त्वना दिन सारा पृथ्वीभरिनै परमप्रभुको दृष्टि रहिरहन्छ।”—२ इतिहास १६:९.
स्वर्गदूतहरू र नैतिकता
पत्रपत्रिकाहरूमा अक्सर बताउने गरिएजस्तो स्वर्गदूतहरूले मानिसहरूको न्याय गर्दैनन्। यो उचित पनि हो किनकि स्वर्गदूतहरूलाई मानिसहरूको न्याय गर्ने अधिकार दिइएको छैन। “सबै इन्साफ गर्ने काम पुत्रलाई [अर्थात् येशू ख्रीष्टलाई] दिनुभएको” भए तापनि यहोवा “सबका न्यायकर्त्ता” हुनुहुन्छ। (हिब्रू १२:२३; यूहन्ना ५:२२) यद्यपि, हामीले जसरी जीवन यापन गरे पनि स्वर्गदूतहरूलाई केही वास्ता छैन भन्ठान्नु गलत हुनेछ। येशूले भन्नुभयो: “परमेश्वरका दूतहरूका सामने पश्चाताप गर्ने एक जना पापीप्रति आनन्द हुनेछ।”—लूका १५:१०.
तथापि, स्वर्गदूतहरू मूक दर्शक मात्र होइनन्। विगतमा तिनीहरूले परमेश्वरको न्याय वचनअनुरूप दण्ड दिने काम गरेका छन्। उदाहरणका लागि, परमेश्वरले प्राचीन मिश्रीहरू विरुद्ध स्वर्गदूतहरू चलाउनुभयो। भजन ७८:४९ अनुसार, “उहाँले तिनीहरूमाथि आफ्नो रीसको भयानक रूप, क्रोध, घृणा र दुःख, र दुष्टका दूतहरूको एक दल पठाउनुभयो।” त्यसैगरि, बाइबल विवरणअनुसार एकै रातमा एउटै स्वर्गदूतले १,८५,००० अश्शूरी सेनाहरू नाश गरे।—२ राजा १९:३५.
त्यसैगरि, परमेश्वरका धार्मिक स्तरहरू अस्वीकार गरेर अरूको हकहित खतरामा पार्नेहरूलाई भविष्यमा स्वर्गदूतहरूले नाश गर्नेछन्। येशूले ‘उहाँको शक्तिशाली स्वर्गदूतहरूसँग . . . स्वर्गबाट बल्दो आगोमा प्रकाश हुनुभएर, परमेश्वरलाई नचिन्नेहरूलाई, . . . सुसमाचार नमान्नेहरूको बदला लिनुहुनेछ।’—२ थिस्सलोनिकी १:७, ८.
यसप्रकार परमेश्वरका विश्वासी स्वर्गदूतहरूले उहाँका निर्देशनहरू पालन गर्नुका साथै धार्मिक स्तरहरू समर्थन गरेर सधैं उहाँको इच्छा पूरा गर्छन् भनी बाइबलले देखाउँछ। स्पष्टतः, हामी परमेश्वरका स्वर्गदूतहरूको मदत चाहन्छौं भने परमेश्वरको इच्छा जान्नु र त्यहीबमोजिम चल्ने उत्कट प्रयास गर्नु आवश्यक छ।
संरक्षक स्वर्गदूतहरू
के स्वर्गदूतहरूले मानिसहरूको देखभाल र सुरक्षा गर्छन्? प्रेरित पावलले यस्तो प्रश्न गरे: “के मुक्तिका हकदार हुनेहरूका खातिरमा सेवा गर्नालाई पठाइएका ती [स्वर्गदूतहरू] सेवा गर्ने आत्माहरू होइनन्?” (हिब्रू १:१४) स्पष्टतः, पावलको प्रश्नको जवाफ हुन्छ, हो।
बेबिलोनी राजा नबूकदनेसरले निर्माण गरेको सुनको मूर्तिलाई दण्डवत् गर्न इन्कार गर्दा तीन हिब्रूहरू शद्रक, मेशक र अबेद्नगोलाई दन्केको आगोको भट्टीमा फ्याँकियो। तथापि, परमेश्वरका ती विश्वासी सेवकहरूलाई आगोले छोएन। राजाले भट्टीमा हेर्दा “चार जना मानिसहरू” देखे अनि “चौथोको अनुहारचाहिं एक ईश्वरजस्तै देखि[यो]” भनेर तिनले बताए। (दानियल ३:२५) यसको केही वर्षपछि, दानियललाई तिनको विश्वासीलोपनाको कारण सिंहको खोरमा हालियो। तिनलाई पनि केही हानि भएन। तिनले यस्तो घोषणा गरे: “सिंहहरूका मुख थुनिदिनलाई मेरा परमेश्वरले आफ्ना दूत पठाउनुभयो।”—दानियल ६:२२.
सा.यु. प्रथम शताब्दीमा येशूका अनुयायीहरूको मण्डली खडा भएपछि फेरि स्वर्गदूतहरू प्रकट भए अनि प्रेरितहरूलाई झ्यालखानाबाट छुटाए। (प्रेरित ५:१७-२४; १२:६-१२) अनि एक चोटि समुद्री यात्राको दौडान पावलको जीवन जोखिममा पर्दा स्वर्गदूतले तिनी सकुशल रोममा पुग्नेछन् भनी आश्वासन दिए।—प्रेरित २७:१३-२४.
यहोवा परमेश्वरका आधुनिक सेवकहरू परमेश्वरका अदृश्य स्वर्गदूतहरू साँच्चै अस्तित्वमा छन् अनि तिनीहरूले एलीशा र तिनका चाकरलाई गरेजस्तै रक्षा गर्नसक्छन् भनेर पूर्णतया विश्वस्त छन्। (२ राजा ६:१५-१७) निस्सन्देह, “उहाँसित डराउनेको चारैतिर परमप्रभुका दूतले छाउनी बनाउँछन्, र तिनीहरूलाई छुटकारा दिन्छन्।”—भजन ३४:७; ९१:११.
स्वर्गदूतहरूले बोकेको सन्देश
स्वर्गदूतहरू यहोवा परमेश्वरको सेवा गर्नेहरूको हकहितको चिन्ता गर्नुका साथै उहाँ र उहाँको उद्देश्यहरूबारे मानिसहरूले सिकून् भन्ने पनि चाहन्छन्। प्रेरित यूहन्नाले लेखे: “पृथ्वीमा रहनेहरू हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार साथमा भएका एउटा दूत स्वर्गको बीचमा उड़िरहेको देखें। औ तिनले ठूलो सोरले भन्दारहेछन्, ‘परमेश्वरसँग डराओ, र उहाँलाई महिमा देओ।’ ”—प्रकाश १४:६, ७.
यो “अनन्त सुसमाचार” के हो, तपाईं जान्न चाहनुहुन्छ? चाहनुहुन्छ भने, यहोवाका साक्षीहरूलाई सोध्नुहोस्। तिनीहरू तपाईंलाई त्यसबारे बताउन खुसी हुनेछन्।
[पृष्ठ ७-मा भएको चित्र]
स्वर्गको बीचमा अनन्त सुसमाचार घोषणा गरिरहेको स्वर्गदूत। के तपाईं यसबारे जान्न चाहनुहुन्छ?