के तपाईंले सद्गुण पछ्याइरहनुभएको छ?
“तिनमा केही सद्गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।”—फिलिप्पी ४:८.
१. दुर्गुण के हो र यसले यहोवाको उपासनालाई किन भ्रष्ट पार्न सकेको छैन?
दुर्गुण भनेको नैतिक पतन वा भ्रष्टता हो। हामी बाँचिरहेको संसारमा यो व्याप्त छ। (एफिसी २:१-३) तथापि, यहोवा परमेश्वरले उहाँको स्वच्छ उपासना भ्रष्ट हुन दिनुहुनेछैन। मसीही प्रकाशन, सभा, सम्मेलन तथा अधिवेशनहरूले हामीलाई कुकर्मी आचरण विरुद्ध सामयिक चेताउनी दिन्छन्। परमेश्वरको नजरमा “जुन कुरो असल छ” त्यसैमा लागिरहन धर्मशास्त्रबाट ठोस मदत पाउँछौं। (रोमी १२:९) तसर्थ, संगठनको हैसियतमा यहोवाका साक्षीहरू स्वच्छ, सद्गुणी हुन प्रयास गरिरहेका छन्। तर व्यक्तिगत तवरमा नि? के तपाईंले साँच्चै सद्गुण पछ्याइरहनुभएको छ?
२. सद्गुण के हो र सद्गुणी रहिरहन किन कडा प्रयास गर्नुपर्छ?
२ सद्गुण भनेको नैतिक श्रेष्ठता, भलाइ, सही कार्य तथा सोचाइ हो। यो निष्क्रिय नभई सक्रिय, सकारात्मक गुण हो। सद्गुण भनेको पाप नगर्नु मात्र होइन। यसको अर्थ असल काममा लागिरहनु हो। (१ तिमोथी ६:११) प्रेरित पावलले सँगी मसीहीहरूलाई यसरी आग्रह गरे: “विश्वासमा सद्गुण” थप। त्यो कसरी गर्न सकिन्छ? “[परमेश्वरका मूल्यवान् प्रतिज्ञाहरूमा] सबै किसिमका प्रयत्नले।” (२ पत्रुस १:५) हाम्रो पापी झुकाउले गर्दा सद्गुणी हुन कडा प्रयास गर्नुपर्छ। यद्यपि, विगतका ईश्वरभीरु व्यक्तिहरू कटु विरोधको बावजूद सद्गुणी हुनसके।
तिनले सद्गुण पछ्याए
३. कस्ता दुष्ट कार्यहरूका लागि राजा आहाज दोषी थिए?
३ सद्गुण पछ्याउने थुप्रै व्यक्तिहरूको विवरण धर्मशास्त्रमा पाइन्छ। उदाहरणका लागि, सद्गुणी हिजकियाह। तिनको बुबा, यहूदाका राजा आहाजले मोलेकको उपासना गरेको कुरा स्पष्ट छ। “आहाज राजगद्दी आरोहण गर्दा [बीस] वर्षका थिए, औ तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे। तिनले आफ्ना पुर्खा दाऊदलेझैं परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरेनन्, तर इस्राएलका राजाहरूका चालमा तिनी हिंड़े। इस्राएलको पक्षमा भएर जुन जातिहरूलाई परमप्रभुले देशबाट निकाल्नुभएको थियो तिनीहरूकै घिनलाग्दा चालमा हिंड़ेर तिनले आफ्नो छोरालाई आगोमा होम गरे। तिनले डाँड़ाहरूमा भएका पूजा-थानहरूमा र डाँड़ाहरूका टाकुराहरूमा र झ्याम्म परेका रूखहरूमा पनि बलिदान चढ़ाउने र धूप बाल्ने गरे।” (२ राजा १६:२-४) ‘आगोमा होम गर्नुले’ मानव बलिदानलाई नभई चोख्याउने विधिलाई बुझाउँछ भनी कसै कसैले दाबी गर्छन्। तथापि, जोन डेले मोलेक—पुरानो नियममा मानव बलिदानको ईश्वर (अंग्रेजी) नामक आफ्नो पुस्तकमा यस्तो टिप्पणी गर्छन्: “प्राचीन ग्रीस तथा रोम र प्युनिक [कार्थेजिनियन] स्रोतको साथसाथै पुरातात्त्विक प्रमाणअनुसार . . . कनानी संसारमा मानव बलिदान गर्ने चलन थियो। त्यसकारण पुरानो नियमले [मानव बलिदानबारे] बताएकोमा शंका गर्नुपर्ने कुनै कारण छैन।” यसबाहेक, २ इतिहास २८:३ मा तोकेरै भनिएको छ, आहाजले “आफ्नो छोरालाई आगोमा होम गरे।” (तुलना गर्नुहोस् व्यवस्था १२:३१; भजन १०६:३७, ३८) कस्तो दुष्ट कार्य!
४. दुर्गुणले भरिएको वातावरणमा हिजकियाहले कस्तो आचरण कायम गरे?
४ यस्तो दुर्गुणले भरिएको संसारमा हिजकियाहको अवस्था कस्तो थियो? यस सन्दर्भमा ११९ औं भजन चाखलाग्दो छ किनभने कसै कसैको सोचाइमा हिजकियाह राजकुमार छँदै तिनले उक्त भजन रचेका थिए। (भजन ११९:४६, ९९, १००) त्यसकारण तिनको अवस्था यी शब्दहरूले झल्काउनसक्छ: “राजाहरूले पनि बसेर मेरो विरुद्धमा कुरा गरेका थिए। तर तपाईंको दासले ता तपाईंका नियममा ध्यान दियो। दुःखित भएको हुनाले मेरो मन पग्लन्छ।” (भजन ११९:२३, २८) चारैतिर झूटो धर्मका उपासकहरू भएको हुँदा हिजकियाहले शाही भारदारहरूबाट निकै उपहास सहनुपरेको हुनसक्छ। अचाक्ली उपहास सहनुपरेको हुँदा तिनलाई निदाउनै गाह्रो पऱ्यो होला। यद्यपि, तिनले सद्गुण पछ्याए। समयको दौडान राजा पनि भए अनि “परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही गरे . . . तिनले इस्राएलका परमेश्वरमाथि भरोसा राखे।”—२ राजा १८:१-५.
तिनीहरू सद्गुणी भए
५. दानियल तथा तिनका तीन सहचरहरूले कस्ता परीक्षाहरू भोगे?
५ सद्गुणी हुनेहरूमध्ये दानियल र तिनका तीन जना हिब्रू सहचरहरू, हनन्याह, मीशाएल र अजर्याह उदाहरणीय थिए। तिनीहरूलाई आफ्नो मातृभूमिबाट जबरजस्ती निकालेर बेबिलोनको निर्वासनमा लगिएको थियो। यी चार युवाहरूलाई बेबिलोनी नाउँ पनि दिइयो—बेलतसजर, शद्रक, मेशेक, अबेद्नगो। तिनीहरूलाई “राजा आफैले खाने गरेका मीठा मीठा भोजन” दिइयो र त्यसमध्ये केही भोजन त परमेश्वरको व्यवस्थाले निषेध गरेको थियो। साथै, “कल्दीहरूका भाषा र साहित्य” सिक्न तिनीहरू तीन वर्षे तालिम लिन बाध्य थिए। यो तालिम नयाँ भाषा सिक्नु जस्तो मात्र थिएन किनभने सम्भवतः यहाँ “कल्दी” शब्दले शिक्षितवर्गलाई बुझाउँछ। तसर्थ, यी हिब्रू युवाहरूको चारैतिर बांगोटेढो बेबिलोनी शिक्षा थियो।—दानियल १:१-७.
६. दानियलले सद्गुण पछ्याए भनी हामी किन भन्नसक्छौं?
६ बेबिलोनीहरूको जस्तै चालढाल गर्नुपर्ने अचाक्ली दबाबको बावजूद दानियल र तिनका तीन जना सहचरहरूले दुर्गुणी नभई सद्गुणी हुन रोजे। दानियल १:२१ यसो भन्छ: “औ दानियल चाहिं कोरेस राजाको शासनकालको पहिलो वर्षसम्म काममा रहिरहे।” हो, कतिपय शक्तिशाली राजाहरूको उत्थान र पतन होउञ्जेल दानियल यहोवाको सद्गुणी सेवक भएर लगभग ८० वर्षसम्म उहाँको सेवामा “रहिरहे।” भ्रष्ट सरकारी अधिकृतहरूको षड्यन्त्र तथा जालसाजी र बेबिलोनी धर्ममा व्याप्त यौन दुर्गुणको बावजूद तिनी परमेश्वरप्रति विश्वासी रहे। दानियलले सद्गुण पछ्याइरहे।
७. दानियल र तिनका तीन जना सहचरहरूले पछ्याएको मार्गबाट हामी के सिक्नसक्छौं?
७ हामीले ईश्वरभीरु दानियल र तिनका सहचरहरूबाट निकै कुराहरू सिक्नसक्छौं। तिनीहरूले सद्गुण पछ्याए अनि बेबिलोनी संस्कृतिमा छ्यासमिस हुन इन्कार गरे। तिनीहरूलाई बेबिलोनी नाउँ दिइए तापनि यहोवाका सेवकहरूको हैसियतमा आफ्नो चिनारी कहिल्यै गुमाएनन्। भनौं भने, ७० वर्षपछि बेबिलोनी राजाले दानियललाई तिनको हिब्रू नाउँले बोलाए! (दानियल ५:१३) आफ्नो लामो जीवनकालभरि दानियलले स-साना कुराहरूमा पनि सम्झौता गर्न इन्कार गरे। जवान व्यक्तिको हैसियतमा “राजाले तिनीहरूलाई दिनू भनी अह्राएका भोजन र दाखमद्य खाएर आफूलाई अशुद्ध नपार्ने दानियलले निश्चय गरे।” (दानियल १:८) निस्सन्देह, दानियल र तिनका तीन जना सहचरहरूले लिएको दृढ अडानले तिनीहरूलाई जीवन-मृत्युको दोसाँधबाट बच्न बल प्रदान गऱ्यो।—दानियल, अध्याय ३ र ६.
आज सद्गुण पछ्याउने
८. शैतानको संसारमा छ्यासमिस हुनदेखि मसीही युवाहरू कसरी जोगिनसक्छन्?
८ दानियल र तिनका तीन साथीहरूजस्तै वर्तमान समयमा परमेश्वरका जनहरू पनि शैतानको दुष्ट संसारमा छ्यासमिस हुँदैनन्। (१ यूहन्ना ५:१९) तपाईं मसीही युवा हुनुहुन्छ भने आफ्ना साथीभाइहरूले जस्तै पहिरन लगाउने, संगीत सुन्ने कुरामा निकै दबाब महसुस गर्नुहुन्छ होला। लोकप्रिय हुँदै गएका सबै फेसन वा स्टाइल पछ्याउनुको साटो दृढ रहनुहोस् र “यस संसारसित एकै चालका” नहुनुहोस्। (रोमी १२:२) “नास्तिकपना र संसारको तृष्णालाई इन्कार गरेर . . . आत्मसंयम, धार्मिक र भक्तिको जीवन” बिताउनुहोस्। (तीतस २:११, १२) साथीभाइको होइन तर यहोवाको अनुमोदन पाउनु महत्त्वपूर्ण कुरा हो।—हितोपदेश १२:२.
९. व्यापारजगत्मा मसीहीहरूमाथि कस्ता दबाबहरू आइपर्नसक्छन् र तिनीहरूको व्यवहार कस्तो हुनुपर्छ?
९ वयस्क मसीहीहरूले पनि दबाबहरू सामना गर्छन्। यद्यपि, तिनीहरू सद्गुणी हुनैपर्छ। मसीही व्यापारीहरू शंकास्पद तरिका अपनाउन वा सरकारी नियम र कर छल्न लोभिनसक्छन्। अन्य व्यापारी वा सहकर्मीहरूको व्यवहार जस्तोसुकै किन नहोस्, हामी “सबै कुरामा इमान्दारीसाथ रहने इच्छा” गर्छौं। (हिब्रू १३:१८) हामीलाई धर्मशास्त्रले मालिक, कामदार, ग्राहक र सरकारी अधिकृतहरूप्रति इमानदार तथा निष्पक्ष हुन माग गर्छ। (व्यवस्था २५:१३-१६; मत्ती ५:३७; रोमी १३:१; १ तिमोथी ५:१८; तीतस २:९, १०) हामी पनि आफ्नो व्यापारिक कारोबारहरूमा निष्खोट हुने प्रयास गरौं। सही विवरण राख्ने अनि लिखित सम्झौताहरू गर्ने गर्दा पछि प्रायजसो गलतफहमी हुँदैन।
सतर्क हुनुहोस्!
१०. संगीत छनौट गर्दा किन ‘सतर्क’ हुनुपर्छ?
१० भजन ११९:९ ले परमेश्वरको नजरमा सद्गुणी हुनुपर्ने अर्को महत्त्वपूर्ण पक्षलाई जोड दिन्छ। भजनरचयिताले यसरी गाए: “जवान मानिसले आफ्नो चालचलन कसरी शुद्ध राख्नसक्ला? तपाईंको वचनमा ध्यान दिएरनै हो।” शैतानको एउटा असाध्यै प्रभावकारी हतियार संगीत हो किनभने संगीतले भावनाहरू उथलपुथल गर्नसक्छ। दुःखको कुरा, केही मसीहीहरू संगीतको सन्दर्भमा ‘सतर्क’ नहुँदा ऱ्याप र हेभी मेटलजस्ता उग्र संगीत सुन्न आकर्षित भएका छन्। कसै कसैले तिनीहरूलाई त्यस्तो संगीतले हानि पुऱ्याउँदैन वा तिनीहरू गीतको बोलमा ध्यान दिंदैनन् भनी तर्क गर्लान्। अरूले भन्लान्, तिनीहरूलाई केवल गितारको चर्को आवाज र ताल मन पर्छ। तर रमाइलो हुँदैमा मसीहीहरूका लागि त्यो उचित हुन्छ नै भन्ने छैन। तिनीहरूलाई चासोको विषय हो, “प्रभुलाई मनपर्ने” हो कि होइन। (एफिसी ५:१०) साधारणतया, हेभी मेटल तथा ऱ्यापले अपवित्रता, करनी र शैतानवादजस्ता दुर्गुणहरूको बढावा गर्छ। यस्ता कुराहरू परमेश्वरका जनहरूलाई पटक्कै सुहाउँदैन।a (एफिसी ५:३) जवान होस् या वृद्ध, हामी प्रत्येकले यो प्रश्नमा ध्यान दिनु बेस हुनेछ, मैले सुन्ने संगीतबाट म के पछ्याउँदैछु भनेर झल्कन्छ—सद्गुण वा दुर्गुण?
११. टेलिभिजन कार्यक्रम, भिडिओ तथा चलचित्रहरूको सन्दर्भमा मसीहीहरू कसरी सतर्क हुनसक्छन्?
११ धेरैजसो टेलिभिजन कार्यक्रम, भिडिओ तथा चलचित्रहरूले दुर्गुणलाई बढावा दिन्छन्। एक प्रख्यात बाल मनोचिकित्सकअनुसार आजकल निर्माण गरिने प्रायजसो चलचित्रहरूमा ‘विलासिता, यौन, हिंसा, लोभ र स्वार्थ’ देखाइन्छ। तसर्थ, सतर्क हुनु भनेको हामीले हेर्ने कुरामा होशियार हुनु पनि हो। भजनरचयिताले यसरी प्रार्थना गरे: “व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखा फर्काइदिनुहोस्।” (भजन ११९:३७) जोसेफ नाउँका मसीही युवाले यो सिद्धान्त लागू गरे। एउटा चलचित्रले सुस्पष्ट यौन र हिंसा देखाउन थालेपछि तिनी सिनेमा हलबाट जुरुक्क उठेर गए। के तिनले यसो गर्न अप्ठ्यारो माने? जोसेफ भन्छन्, “अहँ, पटक्कै अप्ठ्यारो लागेन। किनभने यहोवालाई खुशी पार्न मलाई सबैभन्दा बढी पीर लागेको थियो।”
अध्ययन तथा मनन गर्नुको महत्त्व
१२. सद्गुण पछ्याउन व्यक्तिगत अध्ययन तथा मनन गर्नु किन महत्त्वपूर्ण छ?
१२ खराब कुराहरू नगर्नु मात्र यथेष्ट छैन। सद्गुण पछ्याउनुमा परमेश्वरको वचनमा आधारित राम्रा कुराहरू अध्ययन गर्नुका साथै मनन गर्नु पनि समावेश छ। यसो गरेर जीवनमा ती धार्मिक सिद्धान्तहरू लागू गर्न सकिन्छ। भजनरचयिताले यस्तो उद्गार व्यक्त गरे, “आहा! तपाईंको व्यवस्थालाई म कस्तो प्रेम गर्दछु! दिनभरि मेरो ध्यान त्यसैमा रहन्छ।” (भजन ११९:९७) के बाइबल र मसीही प्रकाशनहरूको व्यक्तिगत अध्ययन तपाईंको साप्ताहिक तालिकामा समावेश छ? हो, परमेश्वरको वचनको लगनशील अध्ययन र त्यसमा प्रार्थनापूर्वक मनन गर्न समय निकाल्नु साँच्चै चुनौतीपूर्ण हुनसक्छ। तर प्रायजसो अन्य क्रियाकलापहरू कम गरेर समय निकाल्नु सम्भव हुन्छ। (एफिसी ५:१५, १६) शायद बिहान सबेरै उठेर प्रार्थना, अध्ययन तथा मनन गर्नु उपयुक्त होला।—भजन ११९:१४७ तुलना गर्नुहोस्।
१३, १४. (क) मनन गर्नुको महत्त्व किन बयान गरेर साध्य छैन? (ख) यौन अनैतिकतालाई घृणा गर्न कुन शास्त्रपदहरूमा मनन गरेर मदत पाउनसक्छौं?
१३ मनन गर्नुको महत्त्व बयान गरेर साध्य छैन किनभने यसो गर्दा सिकेको कुरा सम्झन सजिलो हुन्छ। अझ महत्त्वपूर्ण त, यसले ईश्वरीय दृष्टिकोण बढाउन मदत गर्नसक्छ। जस्तै: परमेश्वरले करनीलाई निषेध गर्नुभएको छ भनी थाह पाउनु अनि ‘जुन कुरो खराब छ, त्यसलाई घृणा गर्नु र जुन कुरो असल छ, त्यसैमा लागिरहनुबीच’ आकाश जमीनको फरक छ। (रोमी १२:९) कलस्सी ३:५ जस्ता मूल बाइबल पदहरूमा मनन गरेर हामीले पनि यौन अनैतिकताबारे यहोवाको जस्तै दृष्टिकोण अपनाउनसक्छौं। त्यहाँ यस्तो आग्रह गरिएको छ: “यसकारण पृथ्वीमा भएका तिमीहरूका अंगहरूलाई आत्मसंयमद्वारा वशमा पार, व्यभिचार, अशुद्धपना उद्वेग, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।” आफैलाई सोध्नुहोस्: ‘कस्तो यौन इच्छालाई मैले दबाउनुपर्छ? अशुद्ध विचार जगाउनसक्ने कस्ता कुराहरूबाट अलग बस्नुपर्छ? विपरीत लिंगको व्यक्तिसितको व्यवहारमा मैले छाँटकाँट गर्नुपरेको छ कि?’—१ तिमोथी ५:१, २ तुलना गर्नुहोस्।
१४ पावलले मसीहीहरूलाई करनी नगर्न तथा आत्मसंयमी हुन आग्रह गरे ताकि “यस कुरामा कसैले अपराध गरेर आफ्नो भाइलाई खराबी नगरोस्।” (१ थिस्सलोनिकी ४:३-७) आफैलाई सोध्नुहोस्: ‘करनी गर्नु किन हानिकारक हो? यस सन्दर्भमा मैले पाप गरें भने आफूलाई वा अरूलाई कस्तो हानि पुग्नसक्छ? यसले मेरो आध्यात्मिक, भावनात्मक तथा शारीरिक पक्षमा कस्तो असर पार्ला? परमेश्वरको वचन भंग गरेपछि पनि पश्चात्ताप नगर्ने मण्डलीका सदस्यहरू नि? तिनीहरूले कस्तो हालत भोग्नुपरेका छन्?’ त्यस्तो आचरणबारे धर्मशास्त्रले बताउने कुरा हृदयंगम गऱ्यौं भने परमेश्वरले खराब ठान्नुहुने कुराहरूप्रति कटु घृणा गर्न थाल्छौं। (प्रस्थान २०:१४; १ कोरिन्थी ५:११-१३; ६:९, १०; गलाती ५:१९-२१; प्रकाश २१:८) पावल भन्छन्, करनी गर्ने व्यक्तिले “मानिसलाई होइन तर परमेश्वरलाई इन्कार गर्छ।” (१ थिस्सलोनिकी ४:८) कुन चाहिं साँचो मसीहीले आफ्नो स्वर्गमा हुनुहुने पिताको बेवास्ता गर्लान् र?
सद्गुण तथा संगति
१५. सद्गुण पछ्याउने प्रयासमा संगतिले कस्तो भूमिका खेल्छ?
१५ सद्गुणी हुने अर्को सहायक असल संगति हो। भजनरचयिताले यसरी गाए: “तपाईं [यहोवाको] डर मान्नेहरू र तपाईंका आदेश पालन गर्नेहरूका म एक साथी हुँ।” (भजन ११९:६३) हामीलाई मसीही सभाहरूमा प्रदान गरिने स्वास्थ्यकर संगति चाहिन्छ। (हिब्रू १०:२४, २५) आफूलाई एक्लो बनायौं भने अरूको कुरामा वास्तै नराखी अत्यन्तै आत्मकेन्द्रित हुने र दुर्गुणी हुनसक्छौं। (हितोपदेश १८:१) तथापि, न्यानो मसीही संगतिले सद्गुणी हुने हाम्रो कटिबद्धतालाई बलियो बनाउनसक्छ। निस्सन्देह, हामी खराब संगतिदेखि पनि सतर्क हुनुपर्छ। आफ्ना छिमेकी, सहकर्मी र सहपाठीहरूसित मित्रैलो हुनसक्छौं। तर हामी साँच्चै बुद्धिमानीपूर्वक हिंडिरहेका छौं भने, मसीही सद्गुण नपछ्याउने व्यक्तिहरूसित त्यति घनिष्ठ हुनेछैनौं।—कलस्सी ४:५ तुलना गर्नुहोस्।
१६. वर्तमान समयमा सद्गुण पछ्याउने प्रयासमा १ कोरिन्थी १५:३३ लागू गरेर कसरी मदत पाउनसक्छौं?
१६ पावलले लेखे: “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” यसो भनेर तिनले ख्रीष्टमा विश्वास गर्नेहरूलाई चेताउनी दिइरहेका थिए किनभने पुनरुत्थानबारे धर्मशास्त्रीय शिक्षा इन्कार गर्ने मसीही भनौंदाहरूसित संगत गर्दा तिनीहरूको विश्वास ढलपल हुनसक्थ्यो। पावलको चेताउनीमा मुछिएको सिद्धान्त मण्डलीभित्र र बाहिरका व्यक्तिहरूसितको संगति दुवैमा लागू हुन्छ। (१ कोरिन्थी १५:१२, ३३) हुन त हो, आध्यात्मिक भाइबहिनीहरूसित कुनै व्यक्तिगत कुरामा सहमत नहुँदा हामी तिनीहरूलाई चटक्कै त्याग्न चाहँदैनौं। (मत्ती ७:४, ५; रोमी १४:१-१२) तर, मण्डलीको कुनै सदस्य शंकास्पद आचरणमा संलग्न छ वा कटु व्यवहार तथा गनगन गर्छ भने होशियार हुनु खाँचो छ। (२ तिमोथी २:२०-२२) “प्रोत्साहनको आदानप्रदान” गर्ने व्यक्तिहरूसित घनिष्ठ हुनु बुद्धिमानी हो। (रोमी १:११, १२, NW) यसो गर्दा हामीले सद्गुणी मार्ग पछ्याउँदै “जीवनको मार्ग[मा]” लागिरहन मदत पाउनेछौं।—भजन १६:११.
सद्गुण पछ्याइरहनुहोस्
१७. गन्ती अध्याय २५ अनुसार इस्राएलीहरूले कस्तो विपत्ति भोगे र यसबाट हामी कस्तो पाठ सिक्नसक्छौं?
१७ प्रतिज्ञा गरेको देशमा प्रवेश गर्नै लाग्दा हजारौं इस्राएलीहरूले दुर्गुण पछ्याउन रोजे अनि विपत्ति भोगे। (गन्ती, अध्याय २५) आज, यहोवाका जनहरू धार्मिक नयाँ संसारको सँघारमा छन्। यस संसारका दुर्गुणहरू तिरस्कार गरिरहनेहरूले मात्र त्यहाँ प्रवेश गर्न पाउनेछन्। असिद्ध हुनाकारण हामीसित गलत झुकाउहरू होलान् तर परमेश्वरले उहाँको पवित्र आत्माको डोऱ्याइमा धार्मिक मार्ग पछ्याउन मदत दिन सक्नुहुन्छ। (गलाती ५:१६; १ थिस्सलोनिकी ४:३, ४) अतः यहोशूले इस्राएललाई दिएको यो आग्रह पालन गरौं: “परमप्रभुको भय मान, र निष्कपट र सत्यतासाथ उहाँको सेवा गर।” (यहोशू २४:१४) यहोवालाई अप्रसन्न नतुल्याउने श्रद्धेय भयले हामीलाई सद्गुणी मार्ग पछ्याउन मदत गर्नेछ।
१८. दुर्गुण र सद्गुणको सन्दर्भमा सबै मसीहीहरूको कस्तो कटिबद्धता हुनुपर्छ?
१८ परमेश्वरलाई खुशी तुल्याउने तपाईंको भित्री इच्छा हो भने पावलको यो आग्रह पालन गर्न कटिबद्ध हुनुहोस्: “जे कुरा सच्चा छन्, जे कुरा आदरणीय छन्, जे कुरा चोखा छन्, जे कुरा असल छन्, जे कुरा मनपर्दा छन्, तिनमा केही सद्गुण र केही प्रशंसा छ भने, तिनै कुराको विचार गर।” यसो गर्नुभयो भने परिणाम के हुनेछ? पावलले भने: “तिनै काम गर, औ शान्तिका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।” (फिलिप्पी ४:८, ९) हो, यहोवाको मदत पाएपछि तपाईं दुर्गुणलाई तिरस्कार गरेर सद्गुण पछ्याउन सक्नुहुन्छ।
[फुटनोट]
a प्रहरीधरहरा अप्रिल १५, १९९३, पृष्ठ १९-२४ र फेब्रुअरी ८, फेब्रुअरी २२ र मार्च २२, १९९३ का श्रृंखलाबद्ध लेखहरू तथा नोभेम्बर २२, १९९६ ब्यूँझनुहोस्! (अंग्रेजी) हेर्नुहोस्।
पुनरावृत्तिका लागि बुँदाहरू
◻ सद्गुण पछ्याउन के चाहिन्छ?
◻ कस्तो परिस्थितिमा हिजकियाह, दानियल र तिनका तीन साथीहरू सद्गुणी रहे?
◻ शैतानका युक्तिहरूको विरोध गर्न हामी कसरी दानियलजस्तै हुनसक्छौं?
◻ मनोरञ्जनको सन्दर्भमा मसीहीहरू किन सतर्क हुनुपर्छ?
◻ सद्गुणी हुने प्रयासमा अध्ययन, मनन तथा संगतिले कस्तो भूमिका निर्वाह गर्छ?
[[पृष्ठ १५-मा भएको चित्र]
चारैतिर मोलेकका उपासकहरू भए तापनि जवान हिजकियाहले सद्गुण पछ्याए
[पृष्ठ १७-मा भएको चित्र]
मनोरञ्जनको सन्दर्भमा मसीहीहरू सतर्क हुनुपर्छ