पृथ्वीमा अनन्त जीवन–फेरि पाइएको आशा
“हे दानियल, यी . . . वचनहरूलाई . . . अन्तको समयको लागि बन्द गरिराख। धेरै जना यता र उता जानेछन् र साँचो ज्ञान प्रशस्त हुनेछ।”—दानि. १२:४, NW.
१, २. यस लेखमा कुन प्रश्नहरू छलफल गर्नेछौं?
पार्थिव प्रमोदवनमा अनन्त जीवनको आशा बाइबल आधारित हो भनेर आज लाखौंले राम्ररी बुझेका छन्। (प्रका. ७:९, १७) मानिसलाई केही वर्ष बाँचेर मर्न नभई सधैंभरि बाँच्न बनाइएको थियो भनी मानव इतिहासको सुरुमा परमेश्वरले प्रकाश पार्नुभयो।—उत्प. १:२६-२८.
२ आदमले गुमाएको सिद्धता फेरि पाउनु इस्राएलीहरूको एउटा आशा थियो। पार्थिव प्रमोदवनमा मानिसजातिको लागि अनन्त जीवन परमेश्वरले कसरी सम्भव तुल्याउनुहुन्छ ख्रीष्टियान युनानी धर्मशास्त्रले स्पष्ट पार्छ। त्यसोभए मानिसको यो आशा फेरि किन पाउनुपऱ्यो? यसलाई कसरी छर्लंग पारियो र लाखौंलाई थाह दिइयो?
ओझेलमा पारिएको आशा
३. पृथ्वीमा अनन्त जीवन पाउने मानिसजातिको आशा ओझेलमा पर्नु किन छक्कलाग्दो कुरा होइन?
३ येशूले भविष्यवाणी गर्नुभएको थियो, उहाँको शिक्षालाई बङ्ग्याउने झूटा अगमवक्ताहरू खडा हुनेछन् र धेरैलाई भ्रममा पार्नेछन्। (मत्ती २४:११) प्रेरित पत्रुसले ख्रीष्टियानहरूलाई यस्तो चेतावनी दिए: “तिमीहरूमा पनि झूटा शिक्षकहरू हुनेछन्।” (२ पत्रु. २:१) प्रेरित पावलले “यस्तो समय आउनेछ,” भनी बताए “जब [मानिसहरू] पक्का सिद्धान्तलाई नसहने हुनेछन्, तर आफ्ना अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूको थुप्रो लगाउनेछन्, र जे सुन्नलाई तिनीहरूको कान उत्सुक बन्छ त्यही मात्र सुन्नेछन्।” (२ तिमो. ४:३, ४) मानिसहरूलाई बहकाउने काममा शैतान संलग्न छ र मानिस अनि पृथ्वीको लागि परमेश्वरको उद्देश्यबारेको मन छुने सत्य ओझेलमा पार्न त्यसले चर्चजगत्लाई चलाएको छ।—२ कोरिन्थी ४:३, ४ पढ्नुहोस्।
४. चर्चजगत्का अगुवाहरूले मानिसजातिको कस्तो आशालाई अस्वीकार गरे?
४ परमेश्वरको राज्य स्वर्गमा स्थापित राज्य हो। यसले सबै मानव शासनहरूलाई चक्नाचूर पार्नेछ र तिनीहरूको अन्त गरिदिनेछ भनी धर्मशास्त्र बताउँछ। (दानि. २:४४) ख्रीष्टको हजार वर्षीय शासनको दौडान शैतानलाई बाँधेर अगाध खाँदमा फालिनेछ, मरिसकेकाहरूको पुनरुत्थान गरिनेछ र मानिसजाति फेरि सिद्ध हुनेछन्। (प्रका. २०:१-३, ६, १२; २१:१-४) तर चर्चजगत्का अगुवाहरूले भिन्न विचार अँगालेका छन्। उदाहरणको लागि, तेस्रो शताब्दीमा अलेक्जेन्ड्रियाका फादर अरिजेनले हजार वर्षीय शासनको दौडान पृथ्वीमा आशिष् पाइन्छ भनेर विश्वास गर्नेहरूको निन्दा गरे। हिप्पोका क्याथोलिक धर्मविद् अगस्टिनले (इस्वी संवत् ३५४-४३०) “हजार वर्षीय शासन नै हुँदैन भन्ने धारणाको समर्थन गर्थे” भनी द क्याथोलिक इन्साइक्लोपीडिया बताउँछ।a
५, ६. अरिजेन र अगस्टिनले हजार वर्षीय शासनको विरोध किन गरेका?
५ अरिजेन र अगस्टिनले किन हजार वर्षीय शासनको विरोध गरेका? अरिजेनले युनानी परम्पराबाट अमर आत्माको शिक्षा लिएका थिए। अमर आत्माबारे प्लेटोको शिक्षाबाट पूरै प्रभावित भएर अरिजेनले “आत्माबारे प्लेटोको विचार चर्चको शिक्षामा गाभिदिए” भनी धर्मविद् भर्नर यागे बताउँछन्। फलस्वरूप, अरिजेनले हजार वर्षीय शासनको दौडान पाउने आशिष्हरू पृथ्वीमा हुन सक्दैन तर स्वर्गमा हुन्छ भनेर सिकाउन थाले।
६ तेत्तीस वर्षको उमेरमा नाउँ मात्रको ख्रीष्टियान धर्म अँगाल्नुअघि अगस्टिन नवप्लेटोवादी अर्थात् प्लेटोका शिक्षाको आधारमा तेस्रो शताब्दीमा प्लोटिनसले विकास गरेको दर्शनको समर्थक थिए। अगस्टिनले धर्म परिवर्तन गरे तापनि तिनको सोचाइ नवप्लेटोवादी नै रहिरह्यो। द न्यु इन्साइक्लोपीडिया ब्रिटानिका-अनुसार “नयाँ नियमको शिक्षालाई प्लेटोको युनानी दर्शनको परम्परासित मिसाउनुमा अगस्टिनको ठूलो हात छ।” प्रकाश अध्याय २० मा चित्रण गरिएको हजार वर्षीय शासनलाई अगस्टिनले “नीति-कथा जस्तोगरि प्रस्तुत” गरे भनी द क्याथोलिक इन्साइक्लोपीडिया बताउँछ। अझै यसो भन्छ: “यो व्याख्या . . . पछि पश्चिमी धर्मविद्हरूले स्वीकारे र हजार वर्षीय शासनबारे पहिला जुन विश्वास राखिन्थ्यो त्यो हराएर गयो।”
७. पृथ्वीमा अनन्त जीवन पाउने मानिसको आशालाई कुन कुराले कमजोर तुल्यायो र कसरी?
७ पृथ्वीमा अनन्त जीवनको आशालाई प्राचीन बेबिलोनमा व्याप्त एउटा शिक्षाले कमजोर तुल्याइदियो जुन पछि पूरै संसारमा फैलियो। त्यो शिक्षा थियो: मानिसको प्राण वा आत्मा अमर हुन्छ जुन शरीरमा बास मात्र गरेको हुन्छ। यो शिक्षालाई चर्चले अँगालेपछि धर्मविद्हरूले स्वर्गीय आशाबारे बताएको बाइबल पदहरूले सबै असल मानिसहरू स्वर्गमा जान्छन् भनी बुझाएको जस्तो बनाउन धर्मशास्त्रलाई बङ्ग्याए। यो शिक्षाअनुसार पृथ्वीमा मानिसको जीवन अस्थायी हुन्छ र यस दौडान तिनी स्वर्गमा जीवन पाउन योग्यको छ/छैन पक्का गरिन्छ। यहूदीहरूले राख्दै आएको पृथ्वीमा अनन्त जीवनको आशालाई पनि त्यसरी नै बंग्याइएको थियो। यहूदीहरूले अमर आत्माको शिक्षा स्वीकार्न थालेपछि पृथ्वीमा जिउने सुरुको आशा विलीन हुन थाल्यो। यो अमर आत्माको शिक्षा मानिसबारे बाइबलले भन्ने कुराभन्दा कत्ति फरक! मानिस शारीरिक प्राणी हो, आत्मिक होइन। यहोवाले प्रथम मानिसलाई भन्नुभयो: “तँ माटै होस्।” (उत्प. ३:१९) मानिसको अनन्त घर स्वर्ग होइन, पृथ्वी हो।—भजन १०४:५; ११५:१६ पढ्नुहोस्।
अन्धकारमा सत्य चम्कन्छ
८. मानिसको आशाबारे सन् १६०० को दशकका केही शास्त्रविद्हरूले के भने?
८ ख्रीष्टियान भनी दाबी गर्ने धेरैजसो धर्मले पृथ्वीमा अनन्त जीवनको आशालाई अस्वीकार गरे तापनि शैतानले यो सत्यलाई सधैं ओझेलमा पार्न सकेन। वर्षौंको दौडान, बाइबल एकदमै ध्यान दिएर पढ्ने केही व्यक्तिहरूले परमेश्वरले मानिसजातिलाई कसरी सिद्धतामा पुनस्थार्पित गर्नुहुन्छ, त्यसका केही पक्षहरू बुझेपछि सत्यका चमकहरू देखे। (भज. ९७:११; मत्ती ७:१३, १४; १३:३७-३९) सन् १६०० को दशकसम्म त बाइबलको अनुवाद र मुद्रणको कारण यो पवित्र धर्मशास्त्र सजिलै उपलब्ध हुन थालिसकेको थियो। सन् १६५१ मा एक शास्त्रविद्ले लेखे कि आदमले गर्दा मानिसले “पार्थिव प्रमोदवन र पृथ्वीमा अनन्त जीवन गुमाएका छन्,” त्यसैले ख्रीष्टद्वारा “सबै मानिसले पृथ्वीमा बाँच्न पाउनेछन्। नत्र यो तुलना बेकारको हुन्छ।” (१ कोरिन्थी १५:२१, २२ पढ्नुहोस्) प्रख्यात अंग्रेज कवि जोन मिल्टनले (सन् १६०८-१६७४) प्रमोदवन गुम्यो (Paradise Lost) र यसको दोस्रो भाग प्रमोदवन पुनः प्राप्त भयो (Paradise Regained) महाकाव्य लेखे। मिल्टनले आफ्नो महाकाव्यमा विश्वासीहरूले पाउने पार्थिव प्रमोदवनको इनामबारे उल्लेख गरे। मिल्टनले आफ्नो अधिकांश जीवन बाइबल अध्ययनमै बिताएको भए तापनि ख्रीष्टको उपस्थिति नभएसम्म बाइबलका सम्पूर्ण सत्य पूरै बुझ्न सकिंदैन भनी मानिलिए।
९, १०. (क) मानिसजातिको आशाबारे आइज्याक न्युटनले के लेखे? (ख) न्युटनलाई ख्रीष्टको उपस्थिति धेरै पछि हुन्छ जस्तो लाग्नुको कारण के थियो?
९ प्रख्यात गणितज्ञ सर आइज्याक न्युटनले (सन् १६४२-१७२७) पनि बाइबलमा गहिरो चासो राख्थे। तिनले बुझेका थिए कि पवित्र जनहरूलाई स्वर्गमा पुनरुत्थान गरिनेछ र तिनीहरूले ख्रीष्टसँगै अदृश्य रूपमा शासन गर्नेछन्। (प्रका. ५:९, १०) त्यस राज्यका प्रजाहरूबारे चाहिं तिनले यस्तो लेखे: “इन्साफको दिनपछि पृथ्वी मानिसहरूद्वारा आबाद हुनेछ र १,००० वर्ष मात्र होइन तर सदासर्वदा आबाद हुनेछ।”
१० न्युटनले ख्रीष्टको उपस्थिति शताब्दीऔंपछि हुन्छ भन्ठाने। स्तिफन स्नोबेलन भन्ने एक जना इतिहासकारका अनुसार न्युटनलाई परमेश्वरको राज्य धेरै पछि मात्र आउँछ जस्तो लाग्नुको एउटा कारण त्यतिबेला एकदमै जरा गाडेर बसेको बाइबल विपरीत त्रिएकको शिक्षा थियो। तिनलाई परमेश्वरको राज्यको सुसमाचार प्रचार गर्न सक्ने कुनै समूह छ जस्तो नलागेकोले सुसमाचारमा अझै घुम्टो लागे बराबर थियो। न्युटनले लेखे: “दानियलको र [यूहन्नाको पुस्तकमा लिपिबद्ध] यूहन्नाको भविष्यवाणी अन्तको समय नआउन्जेल बुझ्न सकिंदैन। दानियलले भने ‘धेरै जना यता र उता जानेछन् र साँचो ज्ञान प्रशस्त हुनेछ।’ किनभने महा संकष्ट आउनुअघि र संसारको अन्त हुनुअघि सारा राष्ट्रमा सुसमाचार प्रचार गर्नै पर्छ। महा संकष्ट आउनुअघि राज्यको सुसमाचार प्रचार गरेन भने महा संकष्टबाट बचेर खजूरका हाँगाहरू लिएर उभिने ठूलो जमात हरेक जातिबाटको गन्न नसक्ने हुनै सक्दैन।”—दानि. १२:४; मत्ती २४:१४; प्रका. ७:९, १०.
११. मिल्टन र न्युटनको समयमा मानिसजातिको आशाको कुरा किन धेरैजसोलाई थाह थिएन?
११ मिल्टन र न्युटनको समयमा चर्चको आधिकारिक शिक्षाभन्दा फरक विचार व्यक्त गर्नु खतरनाक थियो। त्यसैले बाइबलको अनुसन्धानबाट थाह पाएर तिनीहरूले लेखेका सामग्रीहरू प्रायः मृत्युपछि मात्र छापियो। सोह्रौं शताब्दीका प्रोटेस्टेन्ट सुधारवादीहरू अमर आत्माको शिक्षा सुधार्नदेखि चुके र मुख्य-मुख्य प्रोटेस्टेन्ट चर्चहरूले अगस्टिनको धारणालाई नै निरन्तरता दिंदै हजार वर्षीय शासन विगतको कुरा हो भविष्यको होइन भनेर सिकाए। के त्यसोभए अन्तको समयमा ज्ञान बढेको छ त?
“साँचो ज्ञान प्रशस्त हुनेछ”
१२. साँचो ज्ञान कहिलेदेखि प्रशस्त हुनेथियो?
१२ “अन्तको समय”-बारे दानियलले एकदमै सकारात्मक कुरा लेखे। (दानियल १२:३, ४, ९, १० पढ्नुहोस्) त्यतिबेला “धर्मीहरू आफ्ना पिताको राज्यमा सूर्य जस्ता चम्किला हुनेछन्” भनी येशूले भन्नुभयो। (मत्ती १३:४३) अन्तको समयमा साँचो ज्ञान कसरी प्रशस्त भयो? अन्तको समय सुरु भएको वर्ष अर्थात् सन् १९१४ अघिको दशकमा भएका केही ऐतिहासिक घटनाहरू विचार गर्नुहोस्।
१३. मानिसलाई सिद्ध अवस्थामा फर्काउने विषयलाई केलाएपछि चार्ल्स टेज रसलले के लेखे?
१३ सन् १८०० को दशकको अन्ततिर केही निष्कपट व्यक्तिहरू “पक्का कुराहरूको नमूना” बुझ्ने कोसिस गर्दैथिए। (२ तिमो. १:१३) तीमध्ये एक चार्ल्स टेज रसल थिए। सन् १८७० मा तिनी र सत्यको खोजी गरिरहेका अरू केही व्यक्तिहरू मिलेर बाइबल अध्ययन गर्न एउटा समूह गठन गरे। सन् १८७२ मा तिनीहरूले मानिसलाई सिद्ध अवस्थामा फर्काउने विषयलाई केलाए। पछि रसलले लेखे: “अहिले परीक्षा भोगिरहेको चर्चले (अभिषिक्त ख्रीष्टियानहरूको मण्डली) पाउने इनाम र पृथ्वीका अरू विश्वासी मानिसहरूले पाउने इनामबीचको भिन्नता अहिलेसम्म हामीले स्पष्टसित बुझ्न सकेका थिएनौं।” पछिल्लो समूहले इनामस्वरूप “तिनीहरूका पूर्वज आदमले पाप गरेपछि गुमाएको सिद्धता फेरि पाउनेछन्।” आफ्नो यस बाइबल अध्ययनमा अरूको पनि मदत पाएको कुरा रसलले स्वीकारे। तिनीहरू को थिए?
१४. (क) हेन्री डेनले प्रेरित ३:२१ लाई कसरी बुझे? (ख) डेनले पृथ्वीमा सधैंभरि को बाँच्नेछन् भने?
१४ तीमध्ये एक हेन्री डेन थिए। “पवित्र अगमवक्ताहरूका मुखबाट बोल्नुभएका सबै थोकको पुनर्स्थापना”-बारे तिनले लेखे। (प्रेरित ३:२१, NRV ) यस पुनर्स्थापनामा ख्रीष्टको हजार वर्षीय शासनको दौडान मानिसजातिलाई फेरि सिद्ध अवस्थामा फर्काउनु पनि समावेश छ भनेर डेनलाई थाह थियो। डेनले थुप्रैलाई अलमलमा पारिरहेको प्रश्नलाई पनि केलाए। त्यो प्रश्न थियो: पृथ्वीमा को सधैंभरि बाँच्नेछ? तिनले बताए कि लाखौंको पुनरुत्थान हुनेछ, सत्य सिकाइनेछ र तिनीहरूले ख्रीष्टमा विश्वास गर्ने मौका पाउनेछन्।
१५. पुनरुत्थानबारे जर्ज स्टोर्सले के बुझे?
१५ सन् १८७० मा जर्ज स्टोर्स पनि यस्तो निष्कर्षमा पुगे: अधर्मीहरूको पुनरुत्थान हुनेछ र अनन्त जीवन पाउने सुअवसर तिनीहरूलाई पनि प्रदान गरिनेछ। यसरी पुनरुत्थान भएकाहरूमध्ये जसले यो सुअवसर स्वीकार्दैनन् तिनीहरू ‘सय वर्ष भए पनि मर्नेछन्’ भनेर पनि तिनले धर्मशास्त्रबाट बुझे। (यशै. ६५:२०) जर्ज स्टोर्स ब्रूकलिन, न्यु योर्कमा बस्थे र बाइबल परीक्षक (Bible Examiner) भन्ने पत्रिकाको सम्पादन गर्थे।
१६. बाइबल विद्यार्थीहरू चर्चहरूभन्दा भिन्न देखिनुको कारण के थियो?
१६ सुसमाचार सबैतिर थाह दिने समय भएको छ भनेर रसलले बाइबलबाट बुझे। त्यसैले सन् १८७९ मा तिनले जायन्स् वाच टावर एण्ड हेरल्ड अफ क्राइस्ट्स प्रेजेन्स प्रकाशित गर्न थाले। यो पत्रिका अहिले प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ नामले चिनिन्छ। पहिला मानिसजातिको आशाबारे सत्य कुरा बुझ्ने मानिसहरू एकदमै थोरै थिए। तर पछि थुप्रै राष्ट्रमा रहेका बाइबल विद्यार्थीहरूको समूहले प्रहरीधरहरा पाउनुका साथै यसको अध्ययन गर्न थाले। थोरै मात्र स्वर्ग जानेछन् र लाखौंले यसै पृथ्वीमा सिद्ध जीवन पाउनेछन् भन्ने विश्वासले गर्दा बाइबल विद्यार्थीहरू अधिकांश चर्चहरूभन्दा भिन्न देखिए।
१७. साँचो ज्ञान कसरी प्रशस्त भयो?
१७ भविष्यवाणी गरिएको “अन्तको समय” सन् १९१४ मा सुरु भयो। के मानिसजातिको आशाबारे साँचो ज्ञान प्रशस्त भयो? (दानि. १२:४, NW ) सन् १९१३ सम्ममा रसलका प्रवचनहरू २,००० अखबारमा छापिए र जम्माजम्मी १,५०,००,००० मानिसहरूले पढे। सन् १९१४ को अन्तसम्ममा तीन महादेशका ९०,००,००० मानिसहरूले “फोटो-ड्रामा अफ क्रिएसन” हेरिसकेका थिए। यो, ख्रीष्टको हजार वर्षीय शासनबारे व्याख्या गरिएको चलचित्र र स्लाइड कार्यक्रम थियो। सन् १९१८ देखि सन् १९२५ सम्म यहोवाका सेवकहरूले “अहिले बाँचिरहेका लाखौं कहिल्यै मर्नेछैनन्” भन्ने विषयको भाषण ३० भन्दा धेरै भाषामा संसारभरि प्रस्तुत गरे। यो भाषणमा पृथ्वीमा पाइने अनन्त जीवनको आशाबारे बताइएको थियो। सन् १९३४ सम्ममा यहोवाका साक्षीहरूले पृथ्वीमा सधैंभरि बाँच्ने आशा राख्नेहरूले बप्तिस्मा लिनुपर्छ भनी बुझे। यस समझले गर्दा तिनीहरू राज्यको सुसमाचार प्रचार गर्न झनै जुरमुरिए। आज, पृथ्वीमा सधैंभरि बाँच्ने प्रत्याशाले लाखौंको हृदय यहोवाप्रतिको कृतज्ञताले भरिदिएको छ।
“महिमाको स्वतन्त्रता” अगाडि!
१८, १९. यशैया ६५:२१-२५ मा कस्तो जीवनबारे भविष्यवाणी गरिएको छ?
१८ पृथ्वीमा परमेश्वरका जनहरूले कस्तो प्रकारको जीवनको आनन्द उठाउनेछन् त्यसबारे लेख्न अगमवक्ता यशैया उत्प्रेरित भए। (यशैया ६५:२१-२५ पढ्नुहोस्) यशैयाले यी शब्दहरू लेखेको समयका अर्थात् झन्डै २,७०० वर्षअघिका केही रूखहरू अझै जीवितै होलान्। पूर्ण बल र सुस्वास्थ्यका साथ तपाईं आफै त्यति लामो समय बाँचेको के कल्पना गर्न सक्नुहुन्छ?
१९ जीवन, जन्मदेखि मृत्युसम्मको छोटो यात्रा हुनेछैन। बरु विभिन्न निर्माणकार्य गर्ने, बोटबिरुवा रोप्ने, खेतीपाती गर्ने र विभिन्न कुरा सिक्ने अनगिन्ती सुअवसरहरू पाउनेछौं। तपाईंले गाँस्न सक्ने मित्रताहरूबारे सोच्नुहोस्। त्यस्ता मायालु सम्बन्धहरू कहिल्यै नटुट्नेगरि मजबुत हुँदै जानेछ। त्यतिबेला “परमेश्वरको सन्तान”-ले पृथ्वीमा “महिमाको स्वतन्त्रता”-को कत्ति आनन्द उठाउनेछन्!—रोमी ८:२१. ( w 09 8/15)
[फुटनोट]
a अगस्टिनले दाबी गरे कि परमेश्वरको राज्यको हजार वर्षीय शासन भविष्यमा हुने कुरा होइन तर यो क्याथोलिक चर्चको स्थापनासँगै सुरु भइसक्यो।
के तपाईं बुझाउन सक्नुहुन्छ?
• मानिसका लागि पृथ्वीमा अनन्त जीवनको आशा कसरी ओझेलमा पऱ्यो?
• सन् १६०० को दशकमा केही बाइबल पाठकहरूले कस्तो समझ पाए?
• सन् १९१४ को छेउछाउ पुग्दा मानिसजातिको साँचो आशा कसरी झन् स्पष्ट भयो?
• पार्थिव आशाको ज्ञान कसरी प्रशस्त भएको छ?
[पृष्ठ १९-मा भएको चित्रहरू]
कवि जोन मिल्टन (बायाँ) र गणितज्ञ आइज्याक न्युटनलाई (दायाँ) पृथ्वीमा अनन्त जीवनको आशाबारे थाह थियो
[पृष्ठ २१-मा भएको चित्रहरू]
सुरु-सुरुका बाइबल विद्यार्थीहरूले मानिसजातिको साँचो आशाबारे संसारभरि थाह दिने समय भएको छ भनेर बाइबलबाट बुझे