बाइबल लेख्न परमेश्वरले मानिसहरूलाई कसरी प्रेरित गर्नुभयो?
इतिहासमा आज जति सञ्चार माध्यम कहिल्यै रोचक भएको छैन। टेलिफोन, फ्याक्स, कम्प्युटरजस्ता मेशिनहरूद्वारा तुरुन्तातुरुन्तै संसारको सबै कुनामा समाचारहरू पठाउनसक्ने समय पनि आउनेछ भनी वर्षौंअघि कसले पो सोचेको थियो होला र।
तर एउटा यस्तो रोचक प्रकारको सञ्चार माध्यम पनि छ जसमा मानिसले निपुणता हासिल गर्न सक्दैन। त्यो हो, ईश्वरीय प्रेरणा। यहोवाले ४० जना मानिसहरूलाई उहाँको वचन, पवित्र बाइबल लेख्न प्रेरित गर्नुभयो। जसरी मानिसहरूले एकभन्दा बढी तरिका चलाएर सञ्चार कायम राख्छन्, त्यसरी नै यहोवाले पनि धर्मशास्त्र लेख्न प्रेरित गर्न थुप्रै सञ्चार माध्यम चलाउनुभयो।
श्रुतिलेख। परमेश्वरले विभिन्न माध्यमहरूद्वारा मानिसहरूलाई आफ्नो सन्देश बताउनुभयो जुन पछि बाइबलमा रेकर्ड गरियो।a उदाहरणका लागि, व्यवस्थाको करारसम्बन्धी विधिविधानहरूबारे विचार गर्नुहोस्। यहोवाले मोशालाई भन्नुभयो: “यी कुरा लेख्, किनकि यिनै कुराबमोजिम तँ र इस्राएलसित मैले करार बाँधेको छु।” (प्रस्थान ३४:२७) “स्वर्गदूतहरूबाट ठहराएको” ती “कुरा” मोशाले सारे जुन आज हामी बाइबल पुस्तक प्रस्थान, लेवी, गन्ती तथा व्यवस्थामा पाउँछौं।—प्रेरित ७:५३.
यशैया, यर्मिया, इजकिएल, आमोस, नहूम र मीकालगायत अन्य थुप्रै अगमवक्ताहरूले स्वर्गदूतहरू मार्फत परमेश्वरका विशेष सन्देशहरू पाए। कहिलेकाहीं यी मानिसहरूले आफ्ना घोषणाहरू यस्ता वाक्यांशहरूबाट सुरु गर्थे: “परमप्रभु यसो भन्नुहुन्छ।” (यशैया ३७:६; यर्मिया २:२; इजकिएल ११:५; आमोस १:३; मीका २:३; नहूम १:१२) अनि परमेश्वरले बताउनुभएको कुरा तिनीहरू लिखित रूपमा राख्थे।
दर्शन, सपना तथा स्वप्नावस्था। दर्शन भन्नाले कुनै व्यक्ति जागा अवस्थामा हुँदा नै तिनको मनमा अक्सर कुनै असामान्य तरिकाद्वारा प्रभाव, दृश्य वा सन्देश हालिदिनु हो। उदाहरणका लागि, पत्रुस, याकूब र यूहन्ना “पूरै जागा भएपछि” येशूको रूप परिवर्तन भएको दर्शन देखे। (लूका ९:२८-३६; २ पत्रुस १:१६-२१) अरू कुनै बेला चाहिं सपनामा वा रातिको दर्शन मार्फत सन्देश दिइन्थ्यो जसमा सन्देश पाउने व्यक्ति अर्ध निद्रामै हुन्थ्यो। अतः दानियलले यसो लेखे, “पलंगमा ढल्किरहेको बेलामा मैले देखेको दर्शन” वा अनुवादक रोनाल्द ए. नक्सको अनुवादअनुसार “मेरो सपनामा देखेको दर्शन।”—दानियल ४:१०.
यहोवाले स्वप्नावस्थामा राख्नुभएको व्यक्ति केही हदसम्म जागा भए तापनि स्पष्टतः एकदम एकाग्र अवस्थामा हुन्थे। (प्रेरित १०:९-१६ तुलना गर्नुहोस्।) बाइबलमा “स्वप्नावस्था” बुझाउन अनुवाद गरिएको युनानी शब्दको (एकस्टासीस) अर्थ ‘हटाउनु वा स्थानान्तर गर्नु हो।’ यसले मनस्थिति सामान्य अवस्थामा नहुनु भन्ने बुझाउँछ। अतः, स्वप्नावस्था भएको मानिसलाई आफू वरपर भइरहेको कुराको यादै हुँदैन तर दर्शन चाहिं स्पष्ट हुन्छ। प्रेरित पावल पनि सम्भवतः त्यस्तै स्वप्नावस्थामा थिए जब “[“अन्त कतै लगिएर,” NW] त्यसले बयान गरी नसक्ने कुराहरू सुन्यो, जे उच्चारण गर्न मानिसको निम्ति न्यायसंगत छैन।”—२ कोरिन्थी १२:२-४.
परमेश्वरको सन्देश जस्ताको तस्तै लेख्नुपर्ने बाइबल लेखकहरूले भन्दा दर्शन वा सपना वा स्वप्नावस्थामा सन्देश पाउने लेखकहरूले जे देखे, त्यो आफ्नै शब्दमा लेख्न अलि बढी स्वतन्त्रता पाउँथे। हबकूकलाई यसो भनियो: “तैंले यो दर्शन पाटीहरूमा प्रष्ट गरी लेख्, र पढ़नेले त्यो छर्लङै पढ़नसकोस्।”—हबकूक २:२.
तर के यसको अर्थ परमेश्वरले उच्चारण गरेर शब्द शब्द नै लेख्न लाउनुभएको सन्देशहरूभन्दा बाइबलका यी भागहरू अलि कम प्रेरित भएका हुन् त? पटक्कै होइन। यहोवाले पवित्र आत्माद्वारा प्रत्येक लेखकको मनमा उहाँको सन्देशहरू हालि दिनुभयो ताकि मानिसको नभई परमेश्वरको विचार व्यक्त गरिने थियो। यहोवाले लेखकलाई उपयुक्त शब्दहरू छनौट गर्न दिनुभए तापनि कुनै महत्त्वपूर्ण जानकारीहरू नछुटोस् र अन्तमा मानिसहरूले परमेश्वरको वचन भनी ग्रहण गरोस् भन्नको निम्ति उहाँले लेखकको मन अनि हृदयलाई डोऱ्याउनुभयो।—१ थिस्सलोनिकी २:१३.
ईश्वरीय प्रकटीकरण। पहिला नै प्रकाश पारिएका र लेखिएका इतिहासबारे अगमवाणीहरू पनि बाइबलमा पाइन्छ र यो मानव योग्यताभन्दा कता हो कता महान् छ। उदाहरणका लागि, ‘युनानीहरूका राजा’ महान् सिकन्दरको उत्थान र पतनबारे लगभग २०० वर्षअघि नै भविष्यवाणी गरिएको थियो! (दानियल ८:१-८, २०-२२) मानिसहरूले कहिल्यै नदेखेका घटनाहरूबारे पनि बाइबलमा बताइएको छ। स्वर्ग र पृथ्वीको सृष्टि त्यस्तै एउटा उदाहरण हो। (उत्पत्ति १:१-२७; २:७, ८) अनि अय्यूबको पुस्तकमा लिपिबद्ध गरिएजस्तै स्वर्गमा भएका वार्तालापहरू पनि बाइबलमा उल्लेख छन्।—अय्यूब १:६-१२; २:१-६.
परमेश्वरले लेखकहरूलाई सीधै सन्देश प्रकट नगर्नु भए तापनि त्यस्ता घटनाहरू परमेश्वरले कसैको मार्फत बताउनुभयो। त्यो मौखिक वा लिखित इतिहासको भाग बन्न पुग्यो जुन बाइबलमा लिखित रूपमा नभएसम्म एउटा पुस्ताले अर्को पुस्तालाई बताइरह्यो। (पृष्ठ ७ को पेटी हेर्नुहोस्।) कुरा जस्तोसुकै होस्, यस्ता सबै जानकारीहरूको स्रोत परमेश्वर नै हुनुहुन्छ र विवरणहरू गलत, बढाइचढाइ गरेको वा मिथ्या नहोस् भनी परमेश्वरले नै ती लेखकहरूलाई निर्देशन दिनुभयो भनेर निर्धक्क हुनसक्छौं। भविष्यवाणीको सन्दर्भमा पत्रुसले यसो लेखे: “पवित्र आत्माबाट उत्तेजित भएर मानिसहरूले परमेश्वरका तर्फबाट बोल्दथिए।”b—२ पत्रुस १:२१.
अत्यन्तै कडा मेहनतको खाँचो
बाइबल लेखकहरू “पवित्र आत्माबाट उत्तेजित” भए तापनि तिनीहरू आफैले पनि बुद्धि पुऱ्याउनु आवश्यक थियो। उदाहरणका लागि, सुलेमानले “आफ्नो मनमा धेरै नीतिवचनहरू विचार गरे, र तिनलाई कसरी क्रमैसित प्रयोग गर्नु भनी चेष्टा गरे। तिनले अभिरूचिको निम्ति मीठा मीठा शब्दहरू छाने, तर जे तिनले लेखे ती बिलकुलै सत्य थिए।”—उपदेशक १२:९, १०.
बाइबलका कुनै कुनै लेखकहरूले आफ्नो लेखोटलाई आधिकारिक रूप दिन निकै अनुसन्धान गर्नुपरेको थियो। उदाहरणका लागि, लूकाले सुसमाचारको पुस्तकको विवरणसम्बन्धी यसो लेखे: “तिनै कुरा निश्चय गरी तपाईंले पनि जान्नुहोस् भनेर . . . क्रमैअनुसार लेखिदिन मलाई ठीक लाग्यो।” निस्सन्देह, परमेश्वरको आत्माले विश्वसनीय ऐतिहासिक कागजातहरू भेट्टाउन र भरपर्दो प्रत्यक्षदर्शीहरूको अन्तरवार्ता लिने लूकाको प्रयासहरूमा आशिष् दिएको थियो। सम्भवतः, लूकाले त्यतिबेलाका चेलाहरू तथा येशूको आमा मरियमको अन्तरवार्ता लिएको हुनसक्छ। अनि ती जानकारी सही ढंगमा लिपिबद्ध गर्न परमेश्वरको आत्माले लूकालाई डोऱ्याउने थियो।—लूका १:१-४.
येशू मर्नुभएको ६५ वर्षपछि यूहन्नाले साक्षात् देखेका कुराहरू यूहन्नाको पुस्तकमा लिपिबद्ध गरे। यो पुस्तक लूकाको सुसमाचारको पुस्तकभन्दा बेग्लै छ। समयको अन्तरालमा ती घटनाहरू ताजै राख्नको लागि निस्सन्देह यहोवाको आत्माले यूहन्नाको स्मरणशक्तिलाई तिखाऱ्यो। यो येशूले आफ्ना अनुयायीहरूलाई प्रतिज्ञा गर्नुभएको कुराअनुरूप हुनेथियो: “तर शान्तिदाता, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँलेनै तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका कुरा जति सम्झना गराउनुहुनेछ।”—यूहन्ना १४:२६.
कहिलेकाहीं बाइबल लेखकहरूले घटनाहरू साक्षात् देखेका पहिलेका ऐतिहासिक लेखकहरूको लेखोटहरूबाट पनि केही कुराहरू जम्मा गरे र यस्ता विवरणहरू सबै प्रेरित थिएनन्। यर्मियाले पहिलो र दोस्रो राजाको अधिकांश भाग यसरी नै जम्मा गरेका थिए। (२ राजा १:१८) एज्राले पहिलो र दोस्रो इतिहासको पुस्तकको लागि कम्तीमा पनि १४ वटा प्रेरित नभएका विषयवस्तुहरू चलाए जसमा “दाऊद राजाको शासनको इतिहास” र “यहूदा र इस्राएलका राजाहरूका इतिहास” समावेश छन्। (१ इतिहास २७:२४; २ इतिहास १६:११) मोशाले “परमप्रभुको युद्धको पुस्तक[बाट]” समेत उद्धृत गरे। यो सम्भवतः परमेश्वरका जनहरूको युद्धबारे भरपर्दो विषयवस्तु थियो।—गन्ती २१:१४, १५.
यस्ता रेकर्डहरूबाट भरपर्दो कुराहरू मात्र छान्न बाइबल लेखकहरूलाई प्रेरित गर्न पवित्र आत्माले सक्रिय भूमिका खेलेको हुनुपर्छ र यी भागहरू पछि प्रेरित बाइबलको भाग हुन पुगे।
व्यवहारिक सल्लाह—कसबाट?
बाइबलमा व्यक्तिगत अनुभवहरूको आधारमा दिइएका व्यवहारिक सल्लाहको भण्डार पनि छ। उदाहरणका लागि, सुलेमानले लेखे: “मानिसको निम्ति आफ्नो परिश्रमको सट्टामा खानु, पिउनु र मोज-मजा गर्नुभन्दा अरू बढ़ी केही छैन। तापनि मैले यो देखें कि यो पनि परमेश्वरको हातबाटै मिल्दछ।” (उपदेशक २:२४) पावलले विवाहसम्बन्धी “म आफ्नो सल्लाह दिन्छु” भने तर तिनले यसो पनि भने “म सम्झन्छु कि ममा पनि परमेश्वरका आत्मा हुनुहुन्छ।” (१ कोरिन्थी ७:२५, ३९, ४०) पावलसित पक्कै पनि परमेश्वरको आत्मा थियो किनभने प्रेरित पत्रुसले उल्लेख गरेअनुसार पावलले जे लेखे त्यो “उनलाई दिइएको ज्ञानअनुसार” थियो। (२ पत्रुस ३:१५, १६) अतः, परमेश्वरको आत्माद्वारा निर्देशित भई तिनले आफ्नो विचार व्यक्त गरिरहेका थिए।
बाइबल लेखकहरूले त्यतिबेला उपलब्ध शास्त्रपद तथा अध्ययनहरूको आधारमा व्यक्तिगत विचारहरू व्यक्त गर्थे। तिनीहरूको लेखोट परमेश्वरको विचारअनुरूप थियो भनी हामी निर्धक्क हुनसक्छौं। तिनीहरूले जे रेकर्ड गरे, त्यो परमेश्वरको वचनको भाग बन्न गयो।
निस्सन्देह, बाइबलमा यस्ता व्यक्तिहरूको कथन पनि पाइन्छन्, जसका विचारहरू त्रुटिपूर्ण थिए। (अय्यूब १५:१५ सित ४२:७ तुलना गर्नुहोस्।) साथसाथै बाइबलमा परमेश्वरका जनहरूको चिन्तित अवस्थालाई बुझाउने अभिव्यक्तिहरू पनि पाइन्छन् तर त्यस्ता अभिव्यक्तिहरूले घटनाहरूको सम्पूर्ण विवरण दिंदैन।c त्यस्ता व्यक्तिगत विचारहरू लेख्दा पनि सही रेकर्ड राख्न लेखकहरू परमेश्वरको आत्माद्वारा नै निर्देशित हुन्थे। यसबाट गलत तर्कहरू चिन्न र पर्दाफास गर्न मदत मिल्थ्यो। यसबाहेक, कुनै पनि तार्किक पाठकले लेखकको सोचाइ जायज हो कि होइन प्रसंगबाट स्पष्ट बुझ्नसक्छन्।
निष्कर्षमा, हामी सम्पूर्ण बाइबल परमेश्वरको सन्देश हो भनेर निश्चित हुनसक्छौं। निस्सन्देह, यहोवाले यसमा भएको सबै विषयवस्तु उहाँको उद्देश्यअनुरूप होस् र यसले उहाँको सेवा गर्न चाहनेहरूलाई आवश्यक निर्देशनहरू देओस् भनेर पक्का गर्नुभयो।—रोमी १५:४.
मानव लेखकहरू—किन?
बाइबल लेख्न यहोवाले मानव लेखकहरू चलाउनुभयो र यसबाट उहाँको महान् बुद्धि झल्किन्छ। यसलाई एकचोटि यसो विचार गर्नुहोस्: परमेश्वरले स्वर्गदूतहरूलाई लेखाउन लगाउनुभएको भए के बाइबल त्यति नै रोचक हुनेथियो होला? हो, परमेश्वरका गुनहरू र उहाँले कसरी व्यवहार गर्नुहुन्छ त्यसबारे स्वर्गदूतहरूको दृष्टिकोण पढ्न पाउँदा हामी रोमाञ्चित हुनेथियौं। तर मानव विचारहरू पटक्कै नहुँदो हो त बाइबलका सन्देशहरू बुझ्न हामीलाई धौ-धौ पर्नेथियो।
उदाहरणका लागि: बाइबलको विवरणमा राजा दाऊदले व्यभिचार, हत्या गरे र त्यसपछि पश्चात्ताप गरे भनेर मात्रै पनि लेख्न सकिन्थ्यो। तर दाऊदका आफ्नै शब्दहरूमा तिनले खेद प्रकट गरेको हृदय विदारक अभिव्यक्ति तथा यहोवालाई क्षमायाचना गरेको विवरण पढ्न पाउनु कत्ति उत्तम छ! तिनले लेखे, “मेरो पाप सदा मेरै सामनेमा छ। चूर्ण आत्मानै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, चूर्ण र पूरा पश्चातापी हृदयलाई तपाईंले तुच्छ ठान्नुहुन्न।” (भजन ५१:३, १७) तसर्थ, बाइबलमा मानिसमा पाइने न्यानोपना, विविधता र आकर्षण छ।
हो, यहोवाले हामीलाई उहाँको वचन दिन सर्वोत्तम मार्ग अपनाउनुभयो। कमजोर र त्रुटिपूर्ण मानिसहरूलाई चलाउनुभए तापनि तिनीहरूको लेखोटमा कुनै गल्ती नहोस् भनेर उहाँले पवित्र आत्माद्वारा तिनीहरूलाई उत्तेजित पार्नुभयो। अतः, बाइबलमा सर्वोत्कृष्ट मूल्य तथा मान्यताहरू छन्। यसका सल्लाहहरू एकदमै जायज छन् र भावी पार्थिव प्रमोदवनबारे यसका भविष्यवाणीहरू भरपर्दो छन्।—भजन ११९:१०५; २ पत्रुस ३:१३.
हरेक दिन परमेश्वरको वचनको केही भाग पढ्ने बानी बसाले कसो होला? पत्रुसले यसो लेखे: “नयाँ जन्मेका बालकहरूजस्तै छलरहितको आत्मिक दूधको तृष्णा गर, र त्यसबाट तिमीहरू मुक्तिको निम्ति बढ़दै जाओ।” (१ पत्रुस २:२) परमेश्वरको वचन परमेश्वरद्वारा नै प्रेरित भएकोले सबै धर्मशास्त्र “सिकाउनलाई, अर्ती दिनालाई, सच्याउनालाई, उचित जीवन यापन गर्नालाई उपयोगी हुन्छ, र परमेश्वरको जन हरेक सुकर्ममा पूर्णरूपले सुसज्जित भई सिद्ध भएको” पाउनुहुनेछ।—२ तिमोथी ३:१६, १७.
[फुटनोटहरू]
a एक अवसरमा अर्थात् दश आज्ञा दिनुहुँदा “उहाँका आफ्ना औंलाले” लेख्नुभएको थियो। अनि मोशाले केवल यी शब्दहरू पाटीमा सारे।—प्रस्थान ३१:१८; व्यवस्था १०:१-५.
b “उत्तेजित भएर” अर्थ बुझाउने युनानी शब्द फेरो प्रेरित २७:१५, १७ मा अर्कै रूपमा चलाइएको छ। त्यहाँ तुफानले जहाजलाई हुत्याएको भनी वर्णन गर्न प्रयोग गरिएको छ। अतः, पवित्र आत्माले बाइबल लेखकहरूलाई ‘मार्ग निर्देशन’ दियो। यसले तिनीहरूलाई शंकास्पद जानकारीहरू इन्कार गर्न र वास्तविक कुराहरू मात्र लेख्न प्रेरित गऱ्यो।
c उदाहरणका लागि, १ राजा १९:४ सित पद १४ र १८ तुलना गर्नुहोस्; अय्यूब १०:१-३; भजन ७३:१२, १३, २१; योना ४:१-३, ९; हबकूक १:१-४, १३.
[पृष्ठ ७-मा भएको चित्र/पेटी]
मोशाले जानकारीहरू कहाँबाट पाए?
मोशाले बाइबल पुस्तक उत्पत्ति लेखे तर तिनले रेकर्ड गरेका सबै घटनाहरू तिनी जन्मिनुभन्दा धेरै अघिका थिए। त्यसोभए, तिनले ती सबै जानकारीहरू कहाँबाट पाए त? परमेश्वरले सीधै तिनलाई प्रकट गर्नुभएको या केही घटनाका विवरणहरू पुस्तौंदेखि पितापुर्खाहरूले आफ्ना सन्तानहरूलाई बताउँदै आएको हुनसक्छ। प्राचीन समयमा मानिसहरूको आयु लामो हुने हुँदा मोशाले लिपिबद्ध गरेका प्रायजसो घटनाहरू आदमदेखि मोशासम्म केवल पाँच मानिसहरूबाट आएको हुनसक्छ। तिनीहरू मतूशेलह, शेम, इसहाक, लेवी र अम्राम हुन्।
यसबाहेक, मोशाले लिखित अभिलेखहरू पनि हेरे होलान्। यस सन्दर्भमा एउटा चाखलाग्दो कुरा के छ भने, मोशाले कुनै मानिसबारे कुरा गर्नुअघि अक्सर “वंशावली यिनै हुन्” भन्ने वाक्यांश प्रयोग गरेका छन्। (उत्पत्ति ६:९; १०:१; ११:१०, २७; २५:१२, १९; ३६:१, ९; ३७:२) “इतिहास” अनुवाद गरिएको हिब्रू शब्द टोलेडोथ्-ले पहिला नै लेखिएको ऐतिहासिक कागजपत्रहरूलाई संकेत गर्छ भनी केही शास्त्रविद्हरू भन्छन्। ती स्रोतहरूलाई मोशाले आफ्नो लेखोटको आधारको रूपमा चलाएको हुनुपर्छ। निस्सन्देह, तिनले यसै गरे भनी ठोकुवा गर्न भने सकिंदैन।
उत्पत्तिको पुस्तकमा भएका जानकारीहरू माथि उल्लिखित तीनैवटा माध्यमबाट संग्रह गरिएको हुनसक्छ। जस्तो कि, कुनै कुनै सीधै प्रकट भएका, कुनै कुनै अरूले बताएका अनि कुनै कुनै चाहिं लिखित अभिलेखहरूबाट सारिएका। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, मोशालाई परमेश्वरकै आत्माले प्रेरित गरेको थियो। यसर्थ, तिनले लेखेको कुरालाई परमेश्वरको वचन भनी स्वीकार्न मिल्छ।
[पृष्ठ ४-मा भएको चित्र]
परमेश्वरले बाइबल लेख्न मानिसहरूलाई विभिन्न तरिकाबाट प्रेरित गर्नुभयो