बाइबलको समयमा शिक्षा
“आफ्ना छोरा-छोरीहरूलाई सिकाओ।”—व्यवस्था ११:१९.
१. आफ्ना सेवकहरूको शिक्षामा यहोवा चासो लिनु हुन्छ भन्ने कुरा के ले देखाउँछ?
यहोवा महान शिक्षक हुनुहुन्छ। आफ्ना सेवकहरूलाई उहाँले कहिल्यै अज्ञानतामा छाड्नु भएको छैन। तिनीहरूसङ्ग ज्ञान बाँड्न उहाँ सधैं इच्छुक हुनुहुन्छ। उहाँ तिनीहरूलाई आफ्नो इच्छा र तौर-तरिकाहरू सिकाउनु हुन्छ। उहाँको एकमात्र पुत्र, अनगिन्ती सहस्राब्दीदेखि “परमेश्वरको मुख्य कामदार”-को रूपमा उहाँसित निरन्तर सिक्दै हुनु हुन्थ्यो। (हितोपदेश ८:३० न्यू व०) पृथ्वीमा हुनु हुँदा येशूले भन्नुभयो: “जसो पिताले मलाई सिकाउनुभयो तिनै कुरा म बोल्दछु।” (यूहन्ना ८:२८) एलीहूले पनि परमेश्वर एक अतुलनीय शिक्षक हुनु हुन्छ भन्ने कुरालाई सङ्केत गर्दै, “उहाँ जस्तो प्रशिक्षक को छ र?” भनी सोधेका थिए। (अय्यूब ३६:२२ न्यू व०) अगमवक्ता यशैयाले यहोवाको विषयमा उहाँ आफ्ना जनहरूको “गुरु” (महान प्रशिक्षक न्यू व०) हुनु हुन्छ भने र यो अगमवाणी गरे: “तेरा सबै छोरा-छोरीहरू परमप्रभुबाट सिकाइएका हुनेछन्, र तेरा छोरा-छोरीहरूलाई ठूलो शान्ति मिल्नेछ।” (यशैया ३०:२०; ५४:१३) निःसन्देह, आफ्ना बुद्धिमान प्राणीहरू अज्ञानताबाट मुक्त र पूर्ण रूपमा शिक्षित भएको यहोवा चाहनु हुन्छ।
कुलपिताहरूको पालोमा शिक्षा
२, ३. (क) विश्वासी कुलपिताहरूले आफ्ना छोरा-छोरीहरूको शिक्षालाई कुन दृष्टिकोणले हेरे र अब्राहामलाई यहोवाले के निर्देशन दिनुभयो? (ख) अब्राहामका सन्तानलाई शिक्षा दिने निर्देशन पछाडि कुन महान उद्देश्य थियो?
२ कुलपिताहरूको समयमा आफ्ना छोरा-छोरीहरू र घरानालाई सिकाउनु परिवारको शिरको एउटा आधारभूत विशेषाधिकार थियो। आफ्ना बाल-बच्चाहरूलाई सिकाउनु त परमेश्वरका सेवकहरूको धार्मिक कर्तव्य नै थियो। आफ्नो सेवक अब्राहामको विषयमा यहोवाले यसो भन्नुभयो: “त्यसले आफ्ना छोरा-छोरीहरू र घरानालाई धर्म र न्याय गरेर परमप्रभुको मार्ग पालन गर्नलाई आज्ञा देओस् भनेर मैले त्यसलाई छानेको छु। यसैले नै परमप्रभुले अब्राहामसित गर्नुभएको प्रतिज्ञा पूरा गरिदिने छन्।”—उत्पत्ती १८:१९.
३ यहोवाले शिक्षालाई ठूलो महत्त्व दिनु हुन्छ भन्ने कुरा यस ईश्वरीय बयानबाट बोध हुँदछ। आउँदा पुस्ताहरू यहोवाको मार्गमा हिंड्न सकुन् भनेर अब्राहाम, इसहाक र याकूबलाई परमेश्वरले तिनीहरूका घरानालाई उहाँको धार्मिक र न्यायी तरिकाहरूमा शिक्षा दिन अह्राउनु भएको थियो। यसप्रकार, अब्राहामको सन्तान र “पृथ्वीका सबै जातिहरूलाई” दिनु हुने आशिषको सम्बन्धमा गर्नुभएको आफ्ना प्रतिज्ञाहरूलाई यहोवाले पूरा गर्नु हुने थियो।—उत्पत्ती १८:१८; २२:१७, १८.
इस्राएलको शैक्षिक प्रणाली
४, ५.(क) कुन कुराले गर्दा इस्राएलको शैक्षिक प्रणाली अरू राष्ट्रहरूको भन्दा फरक थियो? (ख) कुन अन्य महत्त्वपूर्ण भिन्नताहरूको उल्लेख इनसाइक्लोपीडिया जुडाइका-मा गरिएको छ, र निःसन्देह यो भिन्नताको कारण के थियो?
४ इनसाइक्लोपीडिया जुडाइका भन्छ: “पुरातन इस्राएलको शिक्षण प्रक्रिया बारे जानकारी दिने मुख्य स्रोत बाइबल हो।” इस्राएलको पहिलो मानव शिक्षकको रूपमा यहोवाले मोशालाई चलाउनुभयो। (व्यवस्था १:३, ५; ४:५) यहोवाले तिनलाई दिएका वचनहरू मोशाले अरूहरूलाई बताए। (प्रस्थान २४:३) अत परमेश्वर नै वास्तवमा इस्राएलको मुख्य शिक्षक हुनु हुन्थ्यो। यस कुराले इस्राएलको शैक्षिक प्रणालीलाई अन्य राष्ट्रहरूको भन्दा भिन्न बनायो।
५ सोही सन्दर्भ सामग्री फेरि यसो भन्छ: “मेसोपोटामिया र मिस्रमा उच्च शिक्षा वा पुस्तकको अध्ययन औपचारिक थियो तथा शास्त्री वर्गहरूमा मात्र सीमित थियो। तर यस प्रकारको स्थिति इस्राएलमा थियो जस्तो देखिदैन। निस्सन्देह, यो भिन्नताको कारण हिब्रूहरूले लेख्दा प्रयोग गर्ने सरल अक्षरहरू नै थियो। . . . शिक्षाको इतिहासमा अक्षरको लेखाइ कतिको महत्त्वपूर्ण थियो सो हामीले बिर्सनु हुँदैन। यसले मिस्र, मेसोपोटामिया र दोस्रो सहस्राब्दीका कनानका शास्त्रीहरूमा केन्द्रित सभ्यताको परम्परालाई तोड्ने मार्ग देखायो। शिक्षित हुनका लागि अब जटिल अक्षरहरू र चित्रात्मक लेखन शैलीहरू जान्ने पेसेवर शास्त्रीहरू र पूजाहारीहरू हुन आवश्यक थिएन।”
६. आफ्नो इतिहासको सुरु देखि नै इस्राएलीहरू साक्षर व्यक्तिहरू थिए भन्ने कुराको बाइबलमा के प्रमाण छ?
६ इस्राएलीहरू साक्षर मानिसहरू थिए भन्ने कुराको प्रमाण बाइबलले दिन्छ। प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्नु भन्दा अघि नै तिनीहरूलाई आफ्ना घरको सँघार र मूल-ढोकाहरूमा यहोवाको व्यवस्थाहरू लेख्नु भनी आज्ञा गरिएको थियो। (व्यवस्था ६:१, ९; ११:२०; २७:१-३) निस्सन्देह यो आज्ञा लाक्षणिक नै भए तापनि, एकजना साधारण इस्राएलीलाई लेख्नु पढ्नु नआउँदो हो त यो आज्ञाको कुनै अर्थ नै हुने थिएन। इस्राएलमा राजतन्त्र खडा हुनुभन्दा धेरै अघि नै मोशा र यहोशू जस्ता अगुवाहरू बाहेक अरूहरूले पनि लेख्न जान्दथे भन्ने कुरा यहोशू १८:९ र न्यायकर्त्ता ८:१४ जस्ता पद्यहरूबाट बुझ्न सकिन्छ।—प्रस्थान ३४:२७; यहोशू २४:२६.
शिक्षण पद्धति
७. (क) शास्त्र अनुसार, इस्राएली केटा-केटीहरूलाई आधारभूत शिक्षा कसले दिने गर्थे? (ख) फ्रान्सेली बाइबलविद्ले के जानकारी दिएका छन्?
७ इस्राएलमा आमा र बाबु दुवैले बाल-बच्चाहरूलाई कलिलो उमेर देखि नै सिकाउने गर्थे। (व्यवस्था ११:१८, १९; हितोपदेश १:८; ३१:२६) बाइबलविद्द इ. माँझनो-ले फ्रान्सेली डिक्सनेर द ला बिबलः-मा यसरी लेखे: “बोल्न सक्ने हुने बित्तिकै व्यवस्थाका केही अंशहरू बच्चाले सिक्थ्यो। उसकी आमाले ती पद्यहरू दोहोऱ्याउथिन् र बच्चालाई त्यो याद भइसकेपछि, अर्को छोटो अंश फेरि दिन्थिन्। पछि गएर आफैले मुखस्तगरी भन्न सक्ने पद्यहरूको लिखित ग्रन्थ बच्चाहरूलाई दिइन्थ्यो। यस प्रकार तिनीहरूलाई पढ्ने कामसङ्ग परिचित गराइन्थ्यो र तिनीहरूको अलिक उमेर पुगेपछि प्रभुको व्यवस्थालाई पढेर र त्यसमाथि मनन गर्दै आफ्नो धार्मिक निर्देशनमा लागि रहन सक्थे।”
८. (क) इस्राएलमा कुन आधारभूत शिक्षण पद्धतिको प्रयोग गरिन्थ्यो, तर यसको महत्त्वपूर्ण विशेषता के थियो? (ख) सिकेका कुराहरूलाई मुखाग्र गर्नमा, कुन कुन सहायताको प्रयोग गरिन्थ्यो?
८ यसले यो देखाउँदछ कि मुखाग्र गर्दै कुराहरूलाई सिक्नु त्यतिबेला प्रयोग गरिने एउटा मौलिक शिक्षण पद्धति थियो। यहोवाका व्यवस्थाहरू र उहाँका मानिसहरूसङ्ग उहाँले गर्नुभएका व्यवहारहरू बारे सिकेका कुराहरू तिनीहरूको हृदयसम्म पुग्नु परेको थियो। (व्यवस्था ६:६, ७) ती कुराहरू माथि तिनीहरूले मनन गर्नु पर्थ्यो। (भजनसंग्रह ७७: ११, १२) जवान र पाको, दुवै वर्गका व्यक्तिहरूलाई मुखाग्र गर्ने मद्दत दिन विभिन्न प्रकारका स्मरण सहायकहरूको प्रयोग गरिन्थ्यो। जस्तो कि कुनै भजनका पद्यहरू बेग्ला बेग्लै अक्षरबाट सुरु हुन्थ्यो। तर ती अक्षरहरूलाई वर्णमालाको क्रम अनुसार प्रयोग गरिएको हुन्थ्यो। (जस्तो कि हितोपदेश ३१:१०-३१); यस बाहेक अनुप्रास (समान ध्वनि वा अक्षरबाट सुरु हुने शब्दहरू) पनि प्रयोग गरिन्थ्यो; साथै, अङ्कहरूको पनि प्रयोग गरिन्थ्यो, जस्तो कि हितोपदेशको ३० अध्यायको अन्तिम आधा भागमा चलाइएको पाइन्छ। चाखलाग्दो कुरा के हो भने, पुरातन हिब्रू लेखनका पुराना नमुनाहरू मध्ये एक अर्थात् गेजर पात्रो केही शास्त्रविद्हरूको विचारमा स्कूल जाने केटाहरूले मुखाग्र गर्दा प्रयोग गर्ने पाठ हुनु पर्छ।
पाठ्यक्रम
९. (क) इस्राएली केटा-केटीहरूलाई दिइने अध्ययन कार्यक्रमको एउटा महत्त्वपूर्ण भाग के थियो? (ख) वार्षिक उत्सवको सम्बन्धमा दिइएको शिक्षाबारे बाइबलको एउटा इनसाइक्लोपीडिया-ले के भन्छ?
९ इस्राएलमा दिइने शिक्षा पढ्न र लेख्न सिक्नुमा मात्र सीमित थिएन। तिनीहरूलाई सिकाइने एउटा महत्त्वपूर्ण विषय इतिहास थियो। यहोवाले आफ्ना मानिसहरूका लागि गर्नुभएको अचम्मलाग्दा कामहरूको विषयमा सिक्नु पाठ्यक्रमको एउटा आधारभूत भाग थियो। यी ऐतिहासिक तथ्यहरू, एकदेखि अर्को पुस्तालाई सिकाइनुपर्थ्यो। (व्यवस्था ४:९, १०; भजनसंग्रह ७८:१-७) आफ्ना छोरा-छोरीहरूलाई सिकाउनका लागि परिवारको शिरले वार्षिक उत्सवहरूमा राम्रो मौका पाउथे। (प्रस्थान १३:१४; लेवी २३:३७-४३) यस सिलसिलामा दि इन्टरनैशनल स्ट्यान्डर्ड बाइबल इनसाइक्लोपीडिया भन्छ: “बितेका समयमा यहोवाले आफूलाई तिनीहरू बीच कसरी प्रकट गर्नुभयो, वर्तमान समयमा तिनीहरू कसरी बस्नु पर्ने हो र भविष्यमा आफ्ना मानिसहरूका लागि परमेश्वरका प्रतिज्ञाहरू के थिए, यस्तै कुराहरू केटा-केटीहरूलाई घरमा बाबुले दिएका निर्देशहरू र उत्सवहरूको महत्त्वबारे स्पष्टीकरणहरू द्वारा सिकाइन्थ्यो।”
१०. कुन प्रयोगात्मक तालिम केटीहरूलाई दिइन्थ्यो? अनि केटाहरूलाई?
१० आमा-बाबुले दिने शिक्षामा प्रयोगात्मक प्रशिक्षण पनि सम्मिलित थियो। केटीहरूलाई घरेलु सीपहरू सिकाइन्थ्यो। हितोपदेशको अन्तिम अध्यायले यी सीपहरू थुप्रा र फरक फरक थिए भन्ने कुरा देखाउँदछ। धागो कात्ने, बुन्ने, पकाउने, बेच-बिखन गर्ने र घरलाई व्यवस्थित राख्ने जस्ता कामहरू यसमा सम्मिलित थिए। केटाहरूलाई धेरैजसो तिनीहरूका बाबुको सांसारिक पेशा सिकाइन्थ्यो, चाहे त्यो खेतीपाती वा व्यापार वा शिल्पकला वा जुनसुकै पेशा होस्। पछि-पछिका रब्बीहरूलाई यसो भन्ने बानी नै परिसकेको थियो: “जसले आफ्नो छोरालाई कामलाग्ने धन्दा सिकाउँदैन त्यसले आफ्नो छोरालाई चोर बनाउँछ।”
११. इस्राएलमा शिक्षाको मूल उद्देश्य के थियो, सो कुन कुराले देखाउँछ र यसबाट आजका जवान मानिसहरूले के सिक्न सक्छन्?
११ इस्राएलमा प्रयोग गरिएका शिक्षण पद्धतिहरूको आध्यात्मिक गहराइ हितोपदेशको पुस्तकभरि प्रत्यक्ष देखिन्छ। ती सबैको उद्देश्य “सोझाहरू”-लाई (अनुभव नभएका व्यक्तिहरूलाई, न्यु व०) बुद्धि, अनुशासन, समझ, अन्तर्दृष्टि, न्याय, चातुर्य, ज्ञान र विवेक जस्ता उच्च कुराहरू “परमेश्वरको भय”-का साथ सिकाउनु थियो। (हितोपदेश १:१-७; २:१-१४) आज यहोवाका सेवकहरूले शिक्षामा उन्नति गर्ने तर्फ अग्रसर हुने प्रेरणा यसबाट प्राप्त गर्नुपर्दछ।
पूजाहारीहरू, लेवीहरू, र अगमवक्ताहरू
१२. इस्राएलका मानिसहरूलाई शिक्षा दिने काममा आमा-बाबु बाहेक अरू कसले भाग लिने गर्थे, र “व्यवस्था” भनेर अनुवाद गरिएको हिब्रू शब्दको मूल अर्थ के हो?
१२ आधारभूत शिक्षा आमा-बाबुबाटै दिइने भए तापनि, यहोवाले आफ्ना मानिसहरूलाई पूजाहारीहरू, पूजाहारी वर्गमा नपर्ने लेवीहरू र अगमवक्ताहरूद्वारा अझ शिक्षित पार्नुभयो। लेवीका घरानालाई दिएको आफ्नो आन्तिम आशिषमा मोशाले यसो भने: “तिनीहरूले याकूबलाई तपाईंका विधिहरू सिकाउनेछन् र इस्राएललाई तपाईंका व्यवस्था।” (व्यवस्था ३३:८, १०) यहाँ महत्त्वपूर्ण कुरा के हो भने, हिब्रू भाषामा “व्यवस्था” (टोराह) भन्ने शब्द एउटा यस्तो मूल शब्दबाट लिइएको हो, जसलाई क्रियाको रूपमा प्रस्तुत गर्दा त्यसको अर्थ “देखाउनु,” “सिकाउनु,” “प्रशिक्षित गर्नु,” हुन्छ। इनसाइक्लोपीडिया जुडाइका भन्छ: “अतः त्यो शब्द [टोराह]-को अर्थ ‘उपदेश,’ ‘सिद्धान्त,’ वा ‘निर्देशन,’ हो।”
१३. इस्राएलको व्यवस्था अरू राष्ट्रहरूको कानुनी प्रणाली भन्दा फरक किन थियो?
१३ यस कुराले पनि इस्राएललाई अरू राष्ट्रहरू र आधुनिक समयका राष्ट्रहरूबाट समेत भिन्न तुल्याउँछ। आजका राजनैतिक राष्ट्रहरूका थुप्रै कानुनहरू हुन्छन् तर त्यसको एक छेउमात्र साधारण जनतालाई थाह हुन्छ। मानिसहरू जब कानुनी उल्झनमा फस्छन् तब आफ्ना बचावका लागि तिनीहरूले वकिलहरूलाई धेरै शुल्क तिर्न पर्छन्। कानुनी पाठशालाहरू विशेषज्ञहरूका लागि मात्र हुन्। तथापि, इस्राएलमा चहिं परमेश्वरले मानिसहरूलाई उहाँको उपासना गर्ने र उहाँको इच्छा अनुसार जीवन बिताउने विधि, व्यवस्थाद्वारा बताउनु हुन्थ्यो। यसमा परमेश्वर र छिमेकीका लागि प्रेम सम्मिलित थियो जुन कुरा अरू कानुनी विधानहरूमा पाइँदैन। (लेवी १९:१८; व्यवस्था ६:५) यो व्यवस्था एउटा भावशून्य कानुनी-पुस्तक पटक्कै थिएन। त्यसले सिद्धान्त, शिक्षा र निर्देशनलाई एउटा यस्तो जीवन शैलीको रूपमा प्रस्तुत गर्दथ्यो जसलाई मानिसहरूले सिक्नु खाँचो थियो।
१४. यहोवाले लेवी पूजाहारी वर्गलाई त्याग्नुको एउटा कारण के थियो? (मलाकी २:७, ८)
१४ विश्वासी रहुञ्जेल पूजाहारीहरू र लेवीहरूले मानिसहरूलाई सिकाउने आफ्नो जिम्मेवारीलाई पूरा गरे। तर पूजाहारीहरूले राष्ट्रलाई सिकाउने आफ्नो कर्तव्यलाई धेरैजसो बेवास्ता गरे। परमेश्वरको व्यवस्थाबारे शिक्षाको यस अभावले गर्दा पूजाहारी र जन साधारण, दुवैका लागि परिणाम डरलाग्दो भयो। आठौं शताब्दी सा० यु० पू०-मा यहोवाले यसो भनेर भविष्यवाणी गर्नुभयो: “मेरो प्रजा ज्ञानको कमीले गर्दा नष्ट भयो, किनभने तिमीहरूले ज्ञानलाई अस्वीकार गऱ्यौ। म पनि तिमीहरूलाई मेरा पूजाहारी हुनदेखि अस्वीकार गर्नेछु। किनभने तिमीहरूले आफ्ना परमेश्वरको व्यवस्थालाई बिर्सेका छौ। यसकारण म पनि तिमीहरूका सन्तानलाई बिर्सनेछु।”—होशे ४:६.
१५. (क) पूजाहारीहरू बाहेक, अरू कसलाई पनि यहोवाले इस्राएलमा शिक्षकहरूको रूपमा खडा गर्नुभयो, र शिक्षकहरूको हैसियतमा तिनीहरूको भूमिकाबारे एक बाइबलविद्वले के लेखे? (ख) यहोवाको ज्ञान र मार्गलाई त्यागेको हुनाकारण अन्तमा इस्राएल र यहूदालाई के भयो?
१५ पूजाहारीहरूका साथै अगमवक्ताहरूलाई पनि यहोवाले शिक्षकको रूपमा खडा गर्नुभयो। हामी पढ्छौं: “परमप्रभुले हरेक अगमवक्ता र दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनेर गम्भीर चेताउनी दिनुभयो, ‘तिमीहरू आफ्ना खराब चाल छोड, व्यवस्थामा दिएका मेरा आज्ञा र धर्म-विधिहरू जो मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका थिएँ, र मेरा खास अगमवक्ताहरूद्वारा तिमीहरूलाई सुम्पिदिएको थिएँ, ती पालन गर।’” (२ राजा १७:१३) शिक्षकको रूपमा अगमवक्ताको भूमिकाबारे फ्रान्सेली बाइबलविद् रोलन दे भो-ले यसरी लेखे: “अगमवक्ताहरूसङ्ग पनि मानिसहरूलाई सिकाउने महत्त्वपूर्ण कार्यभार थियो; भविष्यवाणी गर्ने तिनीहरूको काम जत्तिकै त्यो पनि एउटा काम थियो। र तिनीहरूले प्रचार गरेका कुराहरू, भविष्यसूचक प्रेरणाको कारण परमेश्वरको वचन सरह हुन्थ्यो। यो कुरा पक्का हो कि राजतन्त्र अन्तर्गत अगमवक्ताहरू मानिसहरूका धार्मिक र नैतिक शिक्षकहरू नै थिए; र तिनीहरूको कुरालाई मानिसहरूले सधैं नसुने तापनि सबैभन्दा निपुण शिक्षकहरू तिनीहरू नै थिए।” पूजाहारीहरू र लेवीहरूले उचित शिक्षा नदिएको हुनाकारण र यहोवाका अगमवक्ताहरूको कुरालाई मानिसहरूले पनि ध्यान नदिंदा, इस्राएलीहरूले यहोवाका मार्गहरूलाई त्यागे। सा० यु० पू० ७४०-मा सामरिया अश्शूरीहरूको हातमा पऱ्यो र यरूशलेम र त्यसको मन्दिर सा० यु० पू० ६०७-मा बाबेलका मानिसहरू द्वारा नष्ट भयो।
बन्दी भएको बेला र त्यसपछिको शिक्षा
१६, १७. (क) दानियल र तिनका तीन मित्रहरू माथि कुन शैक्षिक कार्यक्रम जबरजस्ती लादियो? (ख) बाबेलको यो शिक्षा लिंदा लिंदै पनि यहोवा प्रति विश्वासी रहिरहने मद्दत तिनीहरूलाई कुन कुराले दियो?
१६ यरूशलेम नष्ट हुनभन्दा करिब दश वर्षअघि राजा यहोयाकीन र राजकुमारहरू र देशका अग्रगण्य मानिसहरूको समूहलाई राजा नबूकदनेसरले बाबेलमा लगेका थिए। (२ राजा २४:१५) यिनीहरू बीच भारदार घरानाका दानियल र अरू तीनजना जवानहरू थिए। (दानियल १:३, ६) यी चारजनालाई नबूकदनेसरले “कल्दीहरूको भाषा र साहित्य” सम्बन्धी तीन वर्ष लामो विशेष तालिम लिने हुकुम दिए। यस बाहेक तिनीहरूका निम्ति “राजा आफैले खाने गरेका मीठा मीठा भोजन र पिउने दाखमद्य”-को प्रबन्ध गरिएको थियो। (दानियल १:४, ५) विभिन्न कारणहरूले गर्दा यो हानिकारक हुन सक्थ्यो। सम्भवतः पाठ्यक्रम एउटा तीन वर्षीय भाषा तालिम मात्र थिएन। केही व्यक्तिहरूको विचार अनुसार, यस पङ्क्तिमा प्रयोग गरिएको “कल्दी” शब्दबाट “बाबेलका आम मानिसहरू होइन तर त्यहाँको शिक्षित वर्ग” बोध हुँदछ। (The Soncino Books of the Bible) दानियलबारे आफ्नो टिप्पणीमा सी० एफ० काइल यसो भन्छन्: “बाबेलका पाठशालाहरूमा सिकाइने कल्दी पूजाहारीहरू र विद्वानहरूको ज्ञान अनुसारको शिक्षा दानियल र तिनका सङ्गीहरूलाई दिनु परेको थियो।” साथै तिनीहरूलाई शाही भोजन दिने प्रबन्धले गर्दा, खाने कुरा बारे मोशाको व्यवस्था अन्तर्गत लगाइएका प्रतिबन्धहरू तिनीहरूले उल्लङ्घन गर्न सक्ने सम्भावना थियो। यस्तो परिस्थितिमा तिनीहरूले के गरे त?
१७ भारदार घरानाका ती चार जवान यहूदीहरूका प्रवक्ताको रूपमा दानियलले तिनीहरू आफ्नो अन्तस्करणको विरुद्धमा खाने र पिउने छैनन् भनी सुरुदेखि नै स्पष्ट पारिदिए। (दानियल १:८, ११-१३) यो निर्णयलाई यहोवाले आशिष दिनुभयो र तिनीहरूको निगरानी गर्ने बाबेलको अधिकारीको हृदय नरम पारिदिनु भयो। (दानियल १:९, १४-१६) जहाँसम्म तिनीहरूको अध्ययनको कुरा आउँछ, बाबेलको संस्कृतिमा आधारित त्यो तीन वर्षीय अनिवार्य पाठ्यक्रमले ती चार जना जवान हिब्रूहरूलाई यहोवा र उहाँको पवित्र उपासना सङ्ग रहेको गहिरो सम्बन्धबाट टाढा लैजान सकेन। तिनीहरूको जीवनमा पछि घटेका घटनाहरूले यस कुरालाई कुनै शङ्कै नहुने गरी प्रमाणित गर्दछ। (दानियल ३ र ६ अध्याय) बाबेलको उच्च शिक्षामा तिनीहरूलाई जबरजस्ती तीन वर्षसम्म चुर्लुम्मै डुबाइ दिइएको थियो। तापनि, यहोवाले तिनीहरूलाई त्यहाँबाट निष्कलङ्क अवस्थामा बाहिर निस्कने सामर्थ्य दिनु भयो। “परमेश्वरले यी चारै युवकहरूलाई विद्या, बुद्धि र सबै कुराको ज्ञान दिनुभयो। औ दानियलमा सबै दर्शन र सपनाहरूको अर्थ खोल्ने ज्ञान भयो। औ बुद्धि र ज्ञानको जे जे कुरामा राजाले तिनीहरूसित परामर्श लिन्थे राज्यभरिमा सबै ज्योतिषी र मंत्र-तंत्र गर्नेहरूभन्दा यिनीहरूलाई दश गुणा असल पाए।”—दानियल १:१७, २०.
१८. बाबेलको कैदबाट छुटकारा पाए पछि यहूदामा कुन शैक्षिक कार्यक्रम जारी गरियो?
१८ बाबेलको कैदबाट छुटकारा पाएपछि, शिक्षा सम्बन्धी एउटा ठूलो कार्य एज्राले पूरा गरे। तिनी एउटा यस्तो पूजाहारी थिए जसले “परमप्रभुको व्यवस्था अध्ययन गर्न र पालन गर्न औ इस्राएलमा धर्म-विधि र धार्मिक-विचार सिकाउन मन दिएका थिए।” (एज्रा ७:१०) यस काममा तिनले विश्वासी लेवीहरूबाट मद्दत पाए जसले “मानिसहरूलाई आफ्नो ठाउँमा बसेकै बेला व्यवस्था बुझाइ” दिने गर्द थिए। (नहेम्याह ८:७) एज्रा एक जना बाइबलविद् र “निपुण लेखनदास” थिए। (एज्रा ७:६, न्यु व०) तिनकै पाला देखि शास्त्रीहरू एउटा वर्गको रूपमा प्रख्यात भए।
रब्बीहरूको पाठशाला
१९. येशू पृथ्वीमा आउनु हुँदा इस्राएलमा शिक्षकहरूको कुन वर्ग स्थापित भइ सकेको थियो र कुन महत्त्वपूर्ण कारणहरूले गर्दा उहाँ र उहाँका चेलाहरूले यहूदी उच्च शिक्षा लिनु भएन?
१९ येशू पृथ्वीमा देखा पर्नु हुँदा, शास्त्रीहरू शिक्षकहरूको एउटा विशिष्ट वर्ग भैसकेका थिए। तर तिनीहरू परमेश्वरको सत्य वचनको शिक्षाहरूमा भन्दा पनि परम्पराहरूमा लीन थिए। तिनीहरू आफूलाई “रब्बी, [न्यू व०]” कहलाउन रुचाउँथे। यो एउटा आदरणीय पद थियो जसको अर्थ “मेरा महान (सर्वश्रेष्ठ) जन” हुन गएको थियो। (मत्ती २३:६, ७ पादटिप्पणी न्यु व०) मसीही युनानी शास्त्रमा, शास्त्रीहरू अक्सर फरिसीहरूसङ्ग सम्बन्धित छन्। र फरिसीहरू मध्येका धेरै जना स्वयं व्यवस्थाका शिक्षकहरू थिए। (प्रेरित ५:३४) येशूले यी दुवै वर्गहरूलाई दोषी घोषित गर्नु भयो किनभने परम्परा र “मानिसका आदेशहरू तिनका सिद्धान्त जस्तागरी” सिकाउँदै तिनीहरूले परमेश्वरको वचनलाई बेकम्मा पारेका थिए। (मत्ती १५:१, ६, ९) नभन्दै, येशू र उहाँका धेरै जसो चेलाहरूले रब्बीहरूका पाठशालाहरू बाट शिक्षा प्राप्त गरेका थिएनन्।—यूहन्ना ७:१४, १५; प्रेरित ४:१३; २२:३.
२०. बाइबलको समयको शिक्षाको यो पुनःरावलोकनले हामीलाई के देखायो, र यहोवाका सेवकहरूलाई शिक्षा चाहिन्छ भन्ने कुरा के ले देखाउँदछ?
२० बाइबलको समयको शिक्षाबारे यो सड़िप्त विवरणले यहोवा आफ्ना मानिसहरूको महान शिक्षक हुनु हुन्छ भन्ने कुरा देखाउँदछ। मोशाद्वारा इस्राएलमा परमेश्वरले शिक्षासम्बन्धी एउटा कुशल प्रणाली गठन गर्नुभयो। तर धेरै समय पश्चात यहूदी उच्च शिक्षाको एउटा प्रणाली विकसित भयो जसले परमेश्वरको वचनको विपरीत जाने कुराहरू सिकायो। येशूले यस्ता कुनै यहूदी पाठशालाहरू नधाउनु भएको भए तापनि, उहाँ एक जना अतुलनीय शिक्षक हुनु हुन्थ्यो। (मत्ती ७:२८, २९; २३:८; यूहन्ना १३:१३) जगतको अन्तसम्म पनि अरूहरूलाई सिकाउन उहाँले आफ्ना चेलाहरूलाई अह्राउनुभयो। (मत्ती २८:१९, २०) यसो गर्न तिनीहरू असल शिक्षकहरू हुन पर्थ्यो र यसका लागि तिनीहरूलाई शिक्षाको आवश्यकता पर्नेथ्यो। अतः आज मसीहीहरूले शिक्षालाई कुन दृष्टिकोणले हेर्नु पर्दछ? यो प्रश्नलाई जाँचने काम आउँदो लेखमा गरिनेछ। (w92 11/1)
स्मरण जाँच
▫ आफ्ना सेवकहरूको शिक्षामा यहोवा चासो लिनु हुन्छ भनेर हामी किन निश्चित छौं?
▫ कुन कुन सन्दर्भमा इस्राएलको शैक्षिक प्रणाली अरू राष्ट्रहरूको भन्दा भिन्दै थियो?
▫ इस्राएलका केटा-केटीहरूले कस्तो शिक्षा पाउँदथिए?
▫ इस्राएलमा कुन शिक्षण पद्धतिको प्रयोग गरिन्थ्यो?
▫ येशू र उहाँका चेलाहरू उच्च शिक्षा प्रदान गर्ने यहूदी पाठशालाहरू किन धाउनु भएन?
[पृष्ठ ८-मा भएको चित्र]
बाबेलमा दिएको अनिवार्य शिक्षाले दानियल र तिनका मित्रहरूलाई यहोवादेखि टाढा लैजान सकेन