भविष्यवक्ताहरूलाई नमुनाको रूपमा लिनुहोस्—योएल
१. प्रचारकार्यमा हामी कसरी योएलको नम्रताको अनुकरण गर्न सक्छौं?
१ भविष्यवक्ता योएल को थिए? तिनले आफू “पतुएलको छोरो” भनी बताएका छन्। (योए १:१) यी नम्र भविष्यवक्ताले सन्देशवाहकको रूपमा आफ्नो भूमिकालाई भन्दा यहोवाको सन्देशलाई महत्त्व दिए। त्यसैगरि हामी पनि प्रचारकार्यमा भाग लिंदा आफ्नो प्रशंसा वा अरूले आफूलाई चिनोस् भन्ने चाहँदैनौं बरु मानिसहरूको ध्यान यहोवा अनि बाइबलतर्फ खिच्छौं। (१ कोरि. ९:१६; २ कोरि. ३:५) साथै हामीले सुनाउने सन्देशमा शक्ति छ। योएलको भविष्यवाणीका कस्ता पक्षहरूले आज हामीलाई जोस र आशा दिन्छ?
२. यहोवाको दिन नजिकै छ भन्ने कुरा विचार गर्दा हामी के गर्न उत्प्रेरित हुन्छौं?
२ “परमप्रभुको दिन नजिकै छ।” (योए. १:१५): यी शब्दहरू लेखिएको हजारौं वर्ष भए तापनि त्यसको पूर्ति हुने समयमा हामी बाँचिरहेका छौं। संसारको खस्कँदो अवस्था र हाम्रो इलाकाका मानिसहरूले देखाउने भावशून्यता र तिनीहरूले गर्ने खिसीले यस दुष्ट युगको अन्त आइसकेको छ भन्ने स्पष्ट प्रमाण दिन्छ। (२ तिमो. ३:१-५; २ पत्रु. ३:३, ४) अन्तको समय नजिकै छ भन्ने कुरा विचार गर्दा हामीले प्रचारकार्यलाई आफ्नो जीवनमा प्राथमिकता दिने हर कारण छ।—२ पत्रु. ३:११, १२.
३. महासङ्कष्ट नजिकै जाँदा प्रचारकार्यलाई हामीले किन विशेष महत्त्व दिनुपर्छ?
३ “परमप्रभु आफ्नो प्रजाको निम्ति शरणस्थान।” (योए. ३:१६): यो पदमा बताइएको थरथर काम्नु भन्ने अभिव्यक्तिलाई महासङ्कष्टमा यहोवाले ल्याउने न्यायदण्डसित मात्र तुलना गर्न सकिन्छ। यहोवाले त्यस समयमा आफ्ना विश्वासी सेवकहरूलाई बचाउनुहुनेछ भनेर थाह पाउनु हाम्रो लागि सान्त्वनाको कुरा हो। (प्रका. ७:९, १४) प्रचारकार्यमा भाग लिंदा र यहोवाले हामीलाई हेरचाह गर्नुभएको र बल दिनुभएको अनुभव गर्दा हामी आउनै लागेको महासङ्कष्टमा विश्वासी र धीरजी हुन सक्छौं।
४. हामीसित खुसी हुने अनि विश्वस्त भएर भविष्यको सामना गर्ने कस्तो कारण छ?
४ कसै-कसैले योएलले दिएको सन्देशलाई विनाशको सन्देश भने तापनि यसले परमेश्वरको जनलाई छुटकाराको उज्ज्वल आशा दिन्छ। (योए. २:३२) त्यसैले आउनुहोस्, योएल २:२३ का यी शब्दहरू पछ्याऔं: “खुशी होऊ, र परमप्रभु आफ्ना परमेश्वरमा रमाहट गर।” अनि भविष्यलाई विश्वस्त भई सामना गरौं र परमेश्वरको राज्यको सुसमाचार जोसिलो भई प्रचार गरौं।