यहोवाको दिन नजिकै छ
“हे बूढ़ा मानिसहरू हो, यो कुरा सुन। हे देशका सबै बासिन्दाहरू हो, कान थाप।”—योएल १:२.
१, २. यहूदामा भइरहेको कस्तो अवस्थाको कारण यहोवाले योएललाई आफ्ना सशक्त भविष्यवाणीहरू घोषणा गर्न प्रेरित गर्नुभयो?
“हाय त्यो दिन! किनकि परमप्रभुको दिन नजीकै छ। त्यो ता सर्वशक्तिमानको तर्फबाट सत्यानाश जस्तै आउनेछ।” कस्तो भयंकर घोषणा! आफ्ना जनहरूका लागि परमेश्वरको यो सन्देश अगमवक्ता योएलले घोषणा गरेका थिए।
२ योएल १:१५ का ती शब्दहरू सा.यु.पू. ८२० तिर यहूदामा लेखिएको थियो। त्यतिखेर त्यहाँका पहाडहरू हराभरा थिए। फलफूल तथा बालीनाली प्रशस्त थियो। पशुहरू चर्ने ठूलठूला हरिया चौरहरू थिए। यद्यपि, त्यहाँ पक्कै केही गडबड थियो। यरूशलेम तथा यहूदामा बाल उपासना फस्टाइरहेको थियो। मानिसहरू मात्तिएर झूटा देवहरूसामु घिनलाग्दा कामहरू गर्थे। (२ इतिहास २१:४-६, ११ तुलना गर्नुहोस्।) के यहोवाले यी सबै सहिरहनु हुनेथियो?
३. यहोवाले केबारे चेताउनी दिनुभयो र ती राष्ट्रहरू के को लागि तयार रहनुपर्थ्यो?
३ बाइबल पुस्तक योएलले यसको सुस्पष्ट जवाफ दिन्छ। यहोवा परमेश्वरले आफ्नो सार्वभौमिकता उच्च पार्नुका साथै आफ्नो पवित्र नाउँलाई निष्कलंक पार्नुहुनेथियो। यहोवाको महा दिन नजिक थियो। परमेश्वरले “यहोशापातको बेंसीमा” सबै राष्ट्रहरूमाथि न्याय गर्नुहुनेथियो। (योएल ३:१२) सर्वशक्तिमान् परमेश्वर यहोवासित लड्न तिनीहरू तयार होऊन्। हामीले पनि यहोवाको महा दिन सामना गर्नुपर्छ। अतः योएलको भविष्यसूचक वाणीले अहिले के अर्थ राख्छ र बितेका समयमा के अर्थ राख्थ्यो, गहिरिएर हेरौं।
कीराहरूको आक्रमण
४. योएलले चेताउनी दिएको घटना कत्तिको भयानक हुनेथियो?
४ आफ्ना अगमवक्ता मार्फत यहोवा यसो भन्नुहुन्छ: “हे बूढ़ा मानिसहरू हो, यो कुरा सुन। हे देशका सबै बासिन्दाहरू हो, कान थाप। के तिमीहरूका दिनमा अथवा तिमीहरूका पिता–पुर्खाका दिनमा यस्तो कहिल्यै भएको थियो?” (योएल १:२, ३) ती बूढापाकाहरू तथा सबै मानिसहरूले आफ्नो वा आफ्ना पितापुर्खाको जीवनकालमा नभएको घटना आशा गर्नसक्थे। त्यो घटना यति असामान्य हुनेथियो कि तेस्रो पुस्तासम्म त्यसको सम्झना भइरहने थियो! त्यो अद्भुत घटना के थियो? यसको जवाफका लागि हामी योएलको दिनमा बाँचिरहेको कल्पना गरौं।
५, ६. (क) योएलले भविष्यवाणी गरेको विपत्ति वर्णन गर्नुहोस्। (ख) यस विपत्तिको स्रोत को हुनुहुन्थ्यो?
५ सुन्नुहोस्! योएल टाढाबाट एउटा चर्को आवाज आएको सुन्छन्। आकाश अँध्यारो हुन्छ र टाउकोमाथि कालो बादल मडारिंदा त्यो डरलाग्दो आवाज झन् झन् चर्को हुन्छ। त्यसपछि धूवाँजस्तो बादलको मुस्लो आउँछ। त्यो बादल कहाँ हो र, करोडौं कीराहरूको बथान पो रहेछ। लौ न, तिनीहरूले बित्यास पार्ने भए! अब योएल १:४ मा ध्यान देऔं। यो बथानमा पखेटा भएका सलहहरू मात्र कहाँ हुन् र! आम्मै! पखेटा नभएका र हेर्दै सिकसिक लाग्ने भोका सलहहरूको बथान पनि आइरहेको छ। बतासले हुर्ऱ्याएका यी सलहहरू छिनभरमै आइपुग्छन् र तिनीहरूको आवाज रथ दौडेको जस्तो सुनिन्छ। (योएल २:५) असाध्यै भोकाएकोले बथानका बथान यी सलहहरूले लहलहाउँदो बालीलाई तुरुन्तै सखाप पार्नसक्छन्।
६ पुतली बन्नै लागेका झुसिल्कीराहरू पनि ताँती लगाएर आइरहेका छन्। यी भोका झुसिल्कीराहरूले बोटबिरुवालाई नंग्याउनसक्छन्। तिनीहरू बोटमा एउटै पात बाँकी नरहनेगरि सिनित्तै पार्छन् र हरियो बोटको नाउँमा सेतो डाँठ मात्र ठिंग छोड्छन्। अनि तिनीहरूले जे जति बाँकी छोड्छन् त्यो, सलहहरूले खाइहाल्छन् र सलहहरूले छोडेको खान चटपटे साङ्लाहरू त छँदैछन्। तर ध्यान दिनुहोस्: योएल अध्याय २ पद ११ मा परमेश्वरले सलहको बथानलाई “आफ्नो सेना” भन्नुहुन्छ। हो, सलहको विपत्तिद्वारा यहूदाको भूमिलाई सखाप पारेर महा अनिकाल ल्याउने उहाँ नै हुनुहुन्छ। तर कहिले? “यहोवाको दिन” आउनुअघि।
“हे मतवाला हो, जाग”!
७. (क) यहूदाका धार्मिक नेताहरूको अवस्था कस्तो थियो? (ख) आज मसीहीजगत्का पादरीहरूको अवस्था त्यतिखेर यहूदाका धार्मिक नेताहरूको जस्तै कसरी भएको छ?
७ एउटा हुल्याहा हूल अर्थात् यहूदाका धार्मिक नेताहरूलाई तोकेरै यस्तो आज्ञा दिइएको छ: “हे मतवाला हो, जाग र रोऊ। तिमी सबै दाख–मद्य पिउनेहरू हो, नयाँ दाख–मद्यको निम्ति विलाप गर, किनकि दाख–मद्य तिमीहरूको मुखमा अब जुट्ने छैन।” (योएल १:५) हो, यहूदाका आध्यात्मिक मतवालाहरूलाई ‘जागा हुन,’ नमात्तिनू भनिएको थियो। तर यसलाई उहिलेको इतिहास मात्र नठान्नुहोस्। यहोवाको महा दिन नआउञ्जेल अहिले पनि मसीहीजगत्का पादरीवर्ग प्रतीकात्मक अर्थमा दाख-मद्यले मात्तिएका छन्। फलस्वरूप, सर्वोच्च परमेश्वरको आज्ञा तिनीहरूको कानमा छिरेकै छैन। यहोवाको महा र भयानक दिन आउँदा त्यसरी मात्तिनेहरू कत्ति झसंग हुनेछन्!
८, ९. (क) सलहहरू र तिनीहरूले पार्ने विनाशको वर्णन योएल कसरी गर्छन्? (ख) आज यी सलहहरूले कसलाई चित्रण गर्छन्?
८ सलहको बथान हेर्नुहोस् त! “अनगन्ती संख्या भएको एउटा बलियो जाति मेरो देशको विरुद्धमा आएको छ। त्यसका दाँत सिंहका दाँत जस्तै छन्, र त्यसका दाह्रा सिंहनीका जस्तै छन्। त्यसले मेरा दाखका बोटहरू उजाड़ पारिदियो, र मेरो नेभाराका बोटहरू भाँचिदियो। त्यसले तिनका बोक्रा लाछेर नाङ्गो पारी फालिदियो। त्यसका हाँगाहरू सेतै बनाइदियो। आफ्नो तरुणी अवस्थाको लोग्नेको निम्ति भाङरा लगाएर विलाप गर्ने कन्ये केटीले झैं विलाप गर।”—योएल १:६-८.
९ के यो यहूदामाथि आक्रमण गर्ने सलहहरूको “जाति” अर्थात् सलहको बथानको कुरा मात्रै हो? हैन, त्यसको विशेष अर्थ छ। योएल १:६ र प्रकाश ९:७ दुवैमा परमेश्वरका जनहरूलाई सलहको रूपमा चित्रण गरिएको छ। वर्तमान् समयको सलहका सेना यहोवाका अभिषिक्त सलहहरूको सैन्य दल हो र अहिले यस समूहलाई येशूको “अरू भेड़ा[का]” लगभग ५६,००,००० मानिसहरूले साथ दिइरहेका छन्। (यूहन्ना १०:१६) यहोवाका उपासकहरूको यस विशाल समूहको भाग हुन पाएकोमा के तपाईं आनन्दित हुनुहुन्न र?
१०. यहूदामा सलहले ल्याएको विपत्तिले कस्तो असर गर्छ?
१० योएल १:९-१२ मा सलहको विपत्तिका केही असरहरूबारे पढ्छौं। एकपछि अर्को गरी आएका बथानहरूले भूमिलाई स्वाहा पार्छन्। फलतः अन्न, मद्य तथा तेलको अभाव हुन्छ र धोकेबाज पूजाहारीहरू आफ्नो जिम्मेवारी पूरा गर्नसक्दैनन्। सलहहरूले अनाज सखाप पारेर फलफूलका बोटहरूसमेत नांगो बनाएको हुँदा भूमिले समेत विलाप गर्छ। दाखबारीहरू उजाड भएको हुँदा जँड्याहा बाल उपासकहरू प्याकप्याक भए। तिनीहरू आध्यात्मिक जँड्याहा पनि थिए!
“हे पूजाहारीहरू हो, . . . विलाप गर”
११, १२. (क) आज परमेश्वरको पूजाहारी हुने दाबी कसले गर्छ? (ख) आधुनिक समयका सलहहरूको विपत्तिले मसीहीजगत्का पादरीहरूमाथि कस्तो असर पारेको छ?
११ यी पथभ्रष्ट पूजाहारीहरूलाई परमेश्वर के भन्नुहुन्छ, सुन्नुहोस्: “हे पूजाहारीहरू हो, भाङ्रा लाएर विलाप गर। हे वेदीका सेवकहरू हो, विलाप गर।” (योएल १:१३) योएलको भविष्यवाणीको प्रथम पूर्ति हुँदा लेवी पूजाहारीहरू वेदीमा सेवा गर्थे। तर यसको अन्तिम पूर्ति हुँदा नि? आज, मसीहीजगत्का पादरीवर्गले परमेश्वरको वेदीमा सेवा गर्ने अख्तियार पाएका छौं र उहाँका सेवक तथा “पूजाहारी” हौं भन्ने दाबी गर्छ। तथापि, अहिले परमेश्वरको वर्तमान् समयका सलहहरू सक्रिय हुँदा के भइरहेको छ?
१२ यहोवाका जनहरू सक्रिय भएको र तिनीहरूले ईश्वरीय न्यायको चेताउनी दिएको सुनेर मसीहीजगत्का “पूजाहारीहरू” तर्सिन्छन्। परमेश्वरको राज्य सन्देशले बरबाद गर्नसक्ने हुँदा तिनीहरू रिस र क्रोधले छाती पिटीपिटी विलाप गर्छन्। अनि आफ्नो हातबाट बगाल फुत्किएको देखेर तिनीहरू चिच्याउँछन्, कराउँछन्। तिनीहरूका हरिया चौरहरू उजाड भएकाले तिनीहरू भाङ्ग्रा लगाएर रात बिताऊन्, आयस्रोत नोक्सानी भएकोमा बिलौना गरून्। चाँडै, तिनीहरूले आ-आफ्नो पूजाहारीत्व पनि गुमाउनेछन्! भनौं भने, तिनीहरूको अन्त नजिकै भएकोले परमेश्वर तिनीहरूलाई रातभरि बिलौना गर भन्नुहुन्छ।
१३. के मसीहीजगत्ले सामूहिक तवरमा यहोवाको चेताउनीतर्फ ध्यान दिनेछन्?
१३ योएल १:१४ अनुसार तिनीहरूको एकमात्र आशा, पश्चात्ताप गरेर “परमप्रभुमा पुकारा” गर्नु हो। तर के मसीहीजगत्का सम्पूर्ण पादरीवर्गले यहोवालाई पुकार्ला भन्ने आशा हामी गर्नसक्छौं? अहँ सक्दैनौं! यिनीहरूमध्ये कोही कोही यहोवाको चेताउनी सुनेर सजग होलान्। तर यी पादरीवर्ग तथा तिनीहरूका अनुयायीहरू आध्यात्मिक तवरमा झन् झन् दरिद्र हुँदै जानेछन्। अगमवक्ता आमोसले यस्तो भविष्यवाणी गरे: “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘हेर्, यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु—अनिकाल, जुनचाहिं नता अन्नको न पानीको हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ।’ ” (आमोस ८:११) तथापि, परमेश्वरले माया गरेर “विश्वासी र बुद्धिमान दास” मार्फत प्रचुर आध्यात्मिक भोजन प्रबन्ध गरिदिनुभएकोमा हामी कत्ति कृतज्ञ छौं!—मत्ती २४:४५-४७.
१४. सलहहरूको विपत्ति कुन घटनाको पूर्वसूचक हो?
१४ सलहको विपत्तिले पूर्वचेताउनीको काम गरेझैं आज हाम्रोलागि पनि त्यसले चेताउनी दिन्छ। तर के को? योएल स्पष्टसित हामीलाई यसो भन्छन्: “हाय, त्यो दिन! किनकि परमप्रभुको दिन नजिकै छ। त्यो ता सर्वशक्तिमानको तर्फबाट सत्यानाश जस्तै आउनेछ।” (योएल १:१५) आज परमेश्वरको सलहरूपी सेनाको विश्वव्यापी आक्रमणले यहोवाको महा र भयानक दिन नजिकै छ भनेर स्पष्टसित देखाउँछ। दुष्टहरूमाथि ईश्वरीय न्याय र सार्वभौम सत्ताधारीको हैसियतमा यहोवा विजयी हुनुहुने त्यस विशेष दिन कहिले आउला भनेर सोझो हृदय हुने जति सबै तिर्सना गर्छन्।
१५. भूमिको उजाड अवस्था देखेर ईश्वरीय चेताउनीलाई पालन गर्नेहरूको प्रतिक्रिया कस्तो हुन्छ?
१५ योएल १:१६-२० अनुसार पुरातन यहूदामा खाद्यान्नको हाहाकार भयो। आनन्द पनि गुम्यो। भण्डारहरू रित्तिए अनि भकारीहरू भत्काउनुपऱ्यो। सलहहरूले वनस्पति स्वाहा पारेको हुँदा गाईबस्तुहरूले चर्ने ठाउँ पाएनन्। त्यसकारण, गाईबस्तुहरू यत्रतत्र भौंतारिए अनि भेडाका बथानहरू मासिए। कस्तो विपत्ति! त्यस्तो गन्जागोलमा योएलको हालत के भयो? पद १९ अनुसार तिनी यसो भन्छन्: “हे परमप्रभु म तपाईंमा पुकारा गर्दछु।” आज पनि कतिपयले ईश्वरीय चेताउनीहरू पालन गरेर यहोवा परमेश्वरमाथि भरोसा राख्दै पुकार्छन्।
“परमप्रभुको दिन आउँदै छ”
१६. “देशका सारा बासिन्दाहरू” किन विचलित हुनुपर्थ्यो?
१६ परमेश्वरको यो आज्ञा सुन्नुहोस्: “सियोनमा नरसिंगा फूक, मेरो पवित्र पर्वतमा जगाउको ध्वनि बजाऊ। देशका सारा बासिन्दाहरू थरथर कामून्।” (योएल २:१) किन त्यसो गर्ने? त्यही भविष्यवाणीले यस्तो जवाफ दिन्छ: “किनकि परमप्रभुको दिन आउँदै छ, त्यो नजिकै छ, अन्धकार र उदासी दिन, बादल र बाक्लो अँध्यारोले ढाकेको दिन। अन्धकारले छाएझैं . . . डाँड़ाहरूमा फैलिएको छ।” (योएल २:१, २) यहोवाको महा दिन नजिकै भएकोले साँच्चै हतार गर्नुपरेको छ।
१७. सलहको विपत्तिले गर्दा यहूदा र त्यहाँका बासिन्दाहरू कसरी प्रभावित भए?
१७ ती निर्दयी सलहहरूले प्रमोदवनरूपी बगैंचालाई उजाड पार्दा योएल अगमवक्ताको त्यो दर्शनले कस्तो छाप पाऱ्यो होला, यसो कल्पना गर्नुहोस् त। सलहहरूको सेनाको वर्णन सुन्नुहोस्: “तिनीहरूको अनुहार घोड़ाको अनुहारजस्तै छ, र युद्धका घोड़ाहरूझैं ती कुद्छन्। पहाड़का टाकुरामा कुदेका रथहरूका आवाजझैं ती कुद्छन्, ठूटाहरूलाई भस्म गर्ने आगोको ज्वालाको आवाजझैं, लड़ाईंको निम्ति पंक्ति बाँधेका बलिया सिपाहीझैं। तिनीहरूका सामने मानिसहरू भयभीत हुन्छन्।” (योएल २:४-६) योएलको दिनमा सलहको विपत्ति आउँदा बाल उपासकहरू असाध्यै भयभीत भए र तिनीहरू कत्तिको तर्सिएका थिए भनेर अनुहारबाटै देखिन्थ्यो।
१८, १९. आज परमेश्वरका जनहरूको क्रियाकलाप कसरी सलहको विपत्तिजस्तै भएको छ?
१८ व्यवस्थित ढंगमा काम गर्ने ती अथक सलहहरूलाई कुनै पनि कुराले रोक्नसकेन। तिनीहरू “वीर योद्धाहरूझैं” दौडे र पर्खालहरू चढे। तिनीहरूमध्ये कतिपय शत्रुका हतियारले ढले तर अरू चाहिं ‘रोकिएनन्।’ (योएल २:७, ८) परमेश्वरको वर्तमान् समयका प्रतीकात्मक सलहहरूको सेनाको कस्तो ज्वलन्त भविष्यसूचक विवरण! आज पनि यहोवाका सलहरूपी सेनाहरू सोझै अघि बढिरहेका छन्। विरोधीहरूले खडा गरेको कुनै “पर्खालले” तिनीहरूलाई रोक्नसकेन। तिनीहरू सम्झौता गरेर परमेश्वरप्रतिको निष्ठा तोड्दैनन्। बरु, मर्न तयार छन्। जस्तै, जर्मनीमा नाजी सरकार सत्तामा छँदा हिटलरलाई दण्डवत् गर्न इन्कार गर्ने हजारौं साक्षीहरू ‘शत्रुका हतियारले’ ढले।
१९ परमेश्वरको आधुनिक समयका सलहरूपी सेनाले मसीहीजगत्को “शहरमा” पूर्णतया साक्षी दिइसकेका छन्। (योएल २:९) भनौं भने, तिनीहरूले विश्वभरि नै साक्षी दिइसकेका छन्। तिनीहरूले अहिले पनि यहोवाको सन्देश सुनाउन अनेकन् अवरोधहरू उछिनेका छन्, करोडौं मानिसहरूको घरमा गइरहेका छन्, सडकमा मानिसहरूसित भेटेर कुरा गरिरहेका छन्, फोन मार्फत तिनीहरूसित कुराकानी गरिरहेका छन् र तिनीहरूलाई जसरी भए पनि भेट्न खोजिरहेका छन्। निस्सन्देह, तिनीहरूले अरबौं बाइबल प्रकाशनहरू वितरण गरिसकेका छन् र जन प्रचार अनि घर-घरको अथक सेवकाईद्वारा ती प्रकाशनहरू अझ व्यापक वितरण गर्नेछन्।—प्रेरित २०:२०, २१.
२०. आधुनिक समयका सलहहरूलाई कसले समर्थन गरिरहेको छ र यसको परिणाम कस्तो भएको छ?
२० योएल २:१० ले बताएअनुसार सलहको बथान बादलसरह हुन्छ र त्यसले सूर्य, चन्द्र तथा तारागणलाई छोप्नसक्छ। (यशैया ६०:८ तुलना गर्नुहोस्।) यस्तो सैन्यदललाई कसले टेवा दिइरहेको होला भन्ने कुरामा के कुनै शंका छ र? कीराहरूको गर्जनलाई माथ गर्ने योएल २:११ को यस्तो आवाज हामी सुन्छौं: “परमप्रभुले आफ्नो सेनाको सामने आफ्नो सोर सुनाउनुहुन्छ, किनकि उहाँको सेना अत्यन्त ठूलो छ। आफ्नो वचन पूरा गर्न उहाँ सामर्थी हुनुहुन्छ। परमप्रभुको दिन महा र साह्रै डरलाग्दो छ, त्यसमा को टिक्नसक्छ र?” हो, यहोवा परमेश्वरको त्यस महा दिन आउनअघि उहाँले सलहहरूको सैन्यदल पठाइरहनुभएको छ।
“प्रभु ढीलो गर्नुहुन्न”
२१. ‘यहोवाको दिन चोरजस्तै आउँदा’ के हुनेछ?
२१ योएलले जस्तै प्रेरित पत्रुसले पनि यहोवाको महा दिनबारे बताए। तिनले लेखे: “प्रभुको दिन चोर जस्तैगरी आउनेछ, जसमा आकाशचाहिं ठूलो शब्दले बितिजानेछ, र पृथ्वी र त्यसमा भएका कामहरू चाहिं स्वाहा हुनेछ।” (२ पत्रुस ३:१०) शैतान अर्थात् दियाबलको प्रभावमा परेर दुष्ट सरकारी “स्वर्गले” परमेश्वरबाट तर्किएको मानवजातिको “संसार[माथि]” शासन गर्छ। (एफिसी ६:१२; १ यूहन्ना ५:१९) यी प्रतीकात्मक स्वर्ग तथा पृथ्वी, यहोवाको महा दिनको ईश्वरीय क्रोधबाट बच्नेछैनन्। बरु, यी स्वर्ग तथा पृथ्वीको ठाउँमा “हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले बास गर्छ।”—२ पत्रुस ३:१३.
२२, २३. (क) यहोवाले करुणामयी भएर देखाउनुभएको धीरजप्रति हामीले कस्तो प्रतिक्रिया जनाउनुपर्ने हो? (ख) नजिकिंदै गएको यहोवाको दिनप्रति हामीले कस्तो प्रतिक्रिया जनाउनुपर्ने हो?
२२ विश्वासको जाँच हुने वर्तमान् कठिन परिस्थिति तथा अनेकन् टन्टाहरूले गर्दा समयको तत्परतालाई बिर्सनसक्ने सम्भावना छ। तर सदा अघि बढिरहने प्रतीकात्मक सलहहरूले गर्दा थुप्रै मानिसहरूले परमेश्वरको राज्य सन्देश स्वीकारिरहेका छन्। परमेश्वरले यसको लागि समय दिनुभए तापनि उहाँले देखाउनुभएको धीरजलाई, उहाँले ढिलो गर्नुभएको ठान्नु हुँदैन। “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढीलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभुले तिमीहरूतर्फ धीरज देखाउनुभएको छ।”—२ पत्रुस ३:९.
२३ यहोवाको त्यस महा र भयानक दिन पर्खुञ्जेल २ पत्रुस ३:११, १२ मा उल्लिखित पत्रुसका यी शब्दहरू नबिर्सौं: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्ने देखेर सबै पवित्र जीवन र भक्तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्वरको त्यस दिनको बाटो हेर्दै, उत्सुक्तासाथ इच्छा गरेर, जुन कारणबाट आगलागी भएको आकाश पग्लिहाल्नेछ, र तत्त्वहरू चाहिं उखुम गर्मीले गलिहाल्नेछ”! यो काम सकिनुअघि नियमित तथा अर्थपूर्ण ढंगमा सुसमाचार प्रचार गरेर यहोवाको सलह सेनासँगसँगै हिंड्नु पनि समावेश छ।—मर्कूस १३:१०.
२४, २५. (क) यहोवाको सलह सेनासित मिलेर काम गर्न पाउनुभएको विशेषाधिकारप्रति तपाईं कस्तो प्रतिक्रिया व्यक्त गर्नुहुन्छ? (ख) योएल कस्तो अर्थपूर्ण प्रश्न सोध्छन्?
२४ यहोवाको महा र भयानक दिन अचानक सुरु नहोउञ्जेल परमेश्वरको सलह सेनाले यो काम गरिरहनेछ। कुनै रीतिले रोक्न नसकिने यी सलहहरूको दलको अस्तित्व नै यहोवाको दिन नजिकै छ भन्ने उल्लेखनीय प्रमाण हो। यहोवाको महा र भयानक दिन आउनअघि परमेश्वरका अभिषिक्त सलह तथा तिनीहरूका सहचरहरूसँगसँगै सेवा गर्न पाएकोमा के तपाईं आनन्दित हुनुहुन्न र?
२५ यहोवाको त्यस दिन कत्ति भयानक हुनेछ! त्यसैकारण, यस्तो प्रश्न सोधिएकोमा हामी अचम्म मान्दैनौं: “त्यसमा को टिक्नसक्छ र?” (योएल २:११) यो प्रश्नलगायत अन्य थुप्रै प्रश्नहरू यसपछिका दुइटा लेखहरूमा छलफल गरिनेछ।
के तपाईं व्याख्या गर्न सक्नुहुन्छ?
◻ यहोवाले यहूदामाथि कीराहरूको विपत्ति आउँदैछ भनेर किन चेताउनी दिनुभयो?
◻ योएलको भविष्यवाणीको आधुनिक पूर्तिमा यहोवाका सलहहरू को हुन्?
◻ मसीहीजगत्का अगुवाहरूले सलहको विपत्तिप्रति कस्तो प्रतिक्रिया जनाउँछन् र तिनीहरूमध्ये कोही कोही यसको परिणामबाट कसरी उम्कनसक्छन्?
◻ यो २० औं शताब्दीमा सलहको विपत्ति कुन हद्सम्म फैलिएको छ र यो कहिलेसम्म रहिरहन्छ?
[पृष्ठ ९-मा भएको चित्र]
कीराहरूको विपत्ति त्योभन्दा पनि डरलाग्दो विपत्तिको पूर्वचेताउनीजस्तै थियो
[स्रोत]
उजाड रूख: FAO photo/G. Singh
[पृष्ठ १०-मा भएको चित्र]
आधुनिक समयको सलहको विपत्तिपछाडि यहोवा परमेश्वरको हात छ
[पृष्ठ ८-मा भएको चित्रको स्रोत]
सलह: FAO photo/G. Tortoli; सलहको बथान: FAO photo/Desert Locust Survey