हृदय जाँच्नुहुने यहोवालाई खोज्नुहोस्
“मलाई खोज र तिमीहरू बाँच्नेछौ।”—आमोस ५:४.
१, २. यहोवाले “हृदय हेरीकन विचार” गर्नुहुन्छ भनी धर्मशास्त्रले बताउनुको अर्थ के हो?
यहोवा परमेश्वरले अगमवक्ता शमूएललाई यसो भन्नुभयो: “मानिसले रूप हेरीकन विचार गर्छ तर परमप्रभुले हृदय हेरीकन विचार गर्छन्।” (१ शमूएल १६:७) यहोवाले कसरी “हृदय हेरीकन विचार” गर्नुहुन्छ?
२ धर्मशास्त्रमा हृदयलाई अक्सर लाक्षणिक अर्थमा प्रयोग गरिएको छ र यसले कुनै व्यक्ति भित्र कस्तो छ भन्ने कुरालाई अर्थात् उसका इच्छा, उसका विचार, उसका भावना तथा उसका स्नेहलाई सङ्केत गर्छ। त्यसकारण परमेश्वरले हृदय हेरीकन विचार गर्नुहुन्छ भनी बाइबलले भन्दा उहाँले बाहिरी रूप मात्र नभई त्यो व्यक्ति वास्तवमा कस्तो छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुहुन्छ भन्ने अर्थ बुझाउँछ।
परमेश्वर इस्राएलको जाँच गर्नुहुन्छ
३, ४. आमोस ६:४-६ अनुसार इस्राएलको दस-गोत्रे राज्यमा कस्तो अवस्था थियो?
३ हृदय जाँच गर्नुहुनेले आमोसको समयमा इस्राएलको दस-गोत्रे राज्यलाई नियाल्नुहुँदा उहाँले के देख्नुभयो? आमोस ६:४-६ ले ‘हात्तीदाँतका पलङ्गमा सुत्ने र आफ्ना आफ्ना गद्दीमा लम्पसार पर्ने’ मानिसहरूबारे बताउँछ। तिनीहरू ‘भेड़ा–बाख्राको बगालबाट पाठाहरू र गाई–गोरुको गोठबाट बाछा खान्थे।’ यस्ता व्यक्तिहरू ‘वीणाको लयमा बेकामको गीत गाउँथे’ अनि ‘ठूला ठूला कचौरामा दाखमद्य पिउँथे।’
४ झट्ट हेर्दा यो दृश्य निकै रमाइलो देखिन सक्छ। धनीहरू आफ्ना विलासी महलहरूमा असल थोकहरू खाने र पिउने गर्थे अनि राम्रा-राम्रा वाद्ययन्त्रहरूबाट मनोरञ्जन लिने गर्थे। तिनीहरूसित “हात्तीदाँतका पलङ्ग” पनि थिए। पुरातत्त्वविद्हरूले इस्राएल राज्यको राजधानी सहर, सामरियामा अत्यन्तै कौशलतासाथ कुँदिएका हात्तीदाँतहरू भेट्टाएका छन्। (१ राजा १०:२२) जसमध्ये थुप्रै सम्भवतः फर्निचरमा जोडिएको थियो वा घरको भित्तामा मोहरिएको थियो।
५. आमोसको समयका इस्राएलीहरूसित यहोवा किन अप्रसन्न हुनुहुन्थ्यो?
५ के इस्राएलीहरूले आरामदायी जीवन बिताएको, स्वादिलो खानेकुरा खाएको, असल दाखमद्य पिएको र सुमधुर सङ्गीत सुनेको कारण यहोवा अप्रसन्न हुनुभएको थियो? पक्कै थिएन! वास्तवमा भन्ने हो भने, उहाँले मानिसको आनन्दको लागि यस्ता कुराहरू प्रचुर मात्रामा उपलब्ध गराउनुहुन्छ। (१ तिमोथी ६:१७) यहोवालाई अप्रसन्न तुल्याएको कुरा त मानिसहरूका गलत इच्छाहरू, तिनीहरूको हृदयको खराब अवस्था, परमेश्वरप्रति तिनीहरूको अनादरपूर्ण मनोवृत्ति र सँगी इस्राएलीहरूप्रति प्रेमको कमी थियो।
६. आमोसको समयमा इस्राएलको आध्यात्मिक अवस्था कस्तो थियो?
६ ‘आफ्ना आफ्ना गद्दीमा लम्पसार पर्ने, बगालबाट पाठाहरू खाने र वीणाको लयमा बेकामको गीत गाउनेहरू’ अचम्ममा पर्नै आँटेका थिए। ती मानिसहरूलाई यस्तो प्रश्न सोधियो: ‘के तिमीहरू दुःखको दिन पन्छाउन खोज्दैछौ?’ इस्राएलको अवस्था देखेर तिनीहरू अत्यन्तै दुःखी हुनुपर्थ्यो तर तिनीहरूले “यूसुफको विनाशमा केही अफसोस” गरेका थिएनन्। (आमोस ६:३-६) त्यो राष्ट्र आर्थिक तवरमा सम्पन्न भए तापनि परमेश्वरले यूसुफ—वा इस्राएल—आध्यात्मिक तवरमा खत्तम भइसकेको पाउनुभयो। यद्यपि, यसप्रति कुनै वास्तै नराखी मानिसहरू आ-आफ्नै दिनचर्यामा लागिरहे। आज थुप्रै मानिसहरूले यस्तै प्रकारको मनोवृत्ति झल्काउँछन्। हामी एकदमै अप्ठ्यारो समयमा बाँचिरहेका छौं भनी तिनीहरूले स्वीकार्न त स्वीकार्लान्, तर यसले आफूलाई व्यक्तिगत तवरमा असर नगरेसम्म तिनीहरू अरूको दुःखकष्टको मतलबै राख्दैनन् र आध्यात्मिक कुराहरूप्रति कुनै चासो देखाउँदैनन्।
इस्राएल—खस्कँदै गइरहेको राष्ट्र
७. इस्राएलका मानिसहरूले ईश्वरीय चेतावनी नसुनेको खण्डमा तिनीहरूलाई के हुने थियो?
७ यस राष्ट्रको बाहिरी रूप आकर्षक भए तापनि आमोसको पुस्तकले यसको खस्कँदो अवस्थाको चित्र प्रस्तुत गर्छ। मानिसहरूले ईश्वरीय चेतावनीहरू नसुनेका र आफ्नो दृष्टिकोण नसच्याएका कारण यहोवाले तिनीहरूलाई त्यागेर शत्रुहरूका हातमा पर्न दिनुहुने थियो। अश्शूरीहरूले तिनीहरूका हात्तीदाँतका भव्य पलङ्गहरूबाट घिसारेर तिनीहरूलाई कैदमा लैजाने थिए। अनि तिनीहरूले आरामदायी जीवन बिताउन पाउने थिएनन्!
८. इस्राएल कसरी यस्तो खराब आध्यात्मिक अवस्थामा पुगेको थियो?
८ इस्राएलीहरू कसरी यस्तो अवस्थामा पुगेका थिए? यस्तो अवस्था सा.यु.पू. ९९७ मा राजा सुलेमानपश्चात् तिनको छोरा रहबामले शासन गर्न थालेपछि र इस्राएलको दस-गोत्र यहूदा र बिन्यामिनको गोत्रबाट टुक्रिएपछि सुरु हुन थालेको थियो। इस्राएलको दस-गोत्रे राज्यको प्रथम राजा “नबातको छोरा” यारोबाम प्रथम थिए। (१ राजा ११:२६) यारोबामले यहोवाको उपासना गर्नको लागि यरूशलेमसम्म यात्रा गर्न आफ्नो राज्यका मानिसहरूलाई गाह्रो हुन्छ भनेर तिनीहरूलाई विश्वास दिलाए। तथापि, तिनी मानिसहरूको भलाइको लागि वास्तवमा चिन्तित थिएनन्। बरु, तिनले त आफ्नै स्वार्थ पूर्ति गर्न खोजिरहेका थिए। (१ राजा १२:२६) इस्राएलीहरू यहोवाको आदर गर्ने वार्षिक चाडहरूका लागि यरूशलेमको मन्दिरमा गइरहे भने पछि गएर तिनीहरू फेरि यहूदाको राज्यप्रति नै वफादार होलान् भन्ने डर यारोबामलाई थियो। यस्तो हुन नदिन यारोबामले एउटा दानमा र अर्को बेतेलमा गरी सुनका दुईवटा बाछा स्थापना गरे। यसरी बाछो उपासना इस्राएलको राज्यमा राष्ट्रिय धर्म बन्यो।—२ इतिहास ११:१३-१५.
९, १०. (क) राजा यारोबाम प्रथमले कस्ता धार्मिक उत्सवहरू आयोजना गरे? (ख) राजा यारोबाम द्वितीयको समयमा इस्राएलमा आयोजना गरिएका चाडहरूलाई परमेश्वरले कुन दृष्टिकोणले हेर्नुभयो?
९ यारोबामले यस नयाँ धर्मलाई सबैको लागि मान्य बनाउने कोसिस गरे। तिनले यरूशलेममा मनाइने चाडहरूजस्तै खालका उत्सवहरूको आयोजना गरे। हामी १ राजा १२:३२ मा यस्तो लेखिएको पाउँछौं: “तिनले आठौं महीनाको पन्ध्रौं दिनमा यहूदामा भएको चाड़जस्तै एउटा चाड़ ठहराए, र वेदीमा बलिहरू चढ़ाए।”
१० यस्ता झूटा धार्मिक चाडहरूलाई यहोवाले कहिल्यै अनुमोदन दिनुभएन। एक शताब्दीभन्दा पछि, सा.यु.पू. ८४४ मा इस्राएलको दस-गोत्रे राज्यको राजा यारोबाम द्वितीयको शासनकालमा आमोसमार्फत उहाँले यसबारे स्पष्टसित बताउनुभयो। (आमोस १:१) आमोस ५:२१-२४ अनुसार परमेश्वरले यसो भन्नुभयो: “तिमीहरूका चाड़हरूलाई म घृणा गर्छु। म तुच्छ ठान्छु, औ तिमीहरूका पवित्र सभाहरूदेखि म प्रसन्न हुन्नँ। तिमीहरूले मेरो निम्ति होमबलि र अन्नबलि चढ़ाए तापनि म ती ग्रहण गर्नेछैनँ, नता तिमीहरूले चढ़ाएका मोटा मोटा पशुहरूका मेलबलिमाथि म नजर लाउनेछु। तिमीहरूका गीतहरूको हल्ला मदेखि टाढ़ा राख, किनभने म तिमीहरूका वीणाहरूका तान सुन्न चाहन्नँ। तर न्यायचाहिं पानीझैं र धार्मिकता उर्लंदो खोलाझैं बढ़ेर बगून्।”
वर्तमान समयका समानताहरू
११, १२. पुरातन इस्राएलको उपासना र मसीहीजगत्मा पाइने उपासनाबीच कस्ता समानताहरू छन्?
११ स्पष्ट छ, यहोवाले इस्राएलको चाडहरूमा भाग लिनेहरूको हृदय जाँच्नुभयो र उहाँले तिनीहरूका उत्सव तथा बलिहरू इन्कार गर्नुभयो। त्यसै गरी आज परमेश्वरले मसीहीजगत्का क्रिसमस र इस्टरजस्ता मूर्तिपूजक उत्सवहरू तिरस्कार गर्नुहुन्छ। यहोवाका उपासकहरूको लागि धर्म र अधर्मको मेल हुन सक्दैन, उज्यालो र अँध्यारोको संगति हुन सक्दैन।—२ कोरिन्थी ६:१४-१६.
१२ बाछाको उपासना गर्ने इस्राएलीहरू र मसीहीजगत्को उपासनाबीच अरू समानताहरू पनि देख्न सकिन्छ। केही कथित मसीहीहरूले परमेश्वरको वचन साँचो हो भनी स्वीकारे तापनि मसीहीजगत्को उपासना परमेश्वरप्रतिको साँचो प्रेमद्वारा उत्प्रेरित भएको छैन। यदि त्यसो भएको भए, त्यसले यहोवाको उपासना “आत्मा र सत्यतामा” गर्ने कुरालाई जोड दिने थियो किनभने उहाँलाई यस्तै खालको उपासनाले प्रसन्न तुल्याउँछ। (यूहन्ना ४:२४) यसबाहेक, मसीहीजगत्ले “न्यायचाहिं पानीझैं र धार्मिकता उर्लंदो खोलाझैं बढेर” बग्न दिंदैन। यसो नगरी त्यसले परमेश्वरका नैतिक आवश्यकताहरूलाई सधैं हल्कासित लिइरहन्छ। त्यसले व्यभिचार र अरू घोर पापहरूलाई सहन्छ र समलिङ्गी विवाहलाई आशिष्समेत दिन्छ!
“भलाइ[लाई] प्रेम गर”
१३. हामी किन आमोस ५:१५ का शब्दहरू अनुरूप चल्नु आवश्यक छ?
१३ यहोवालाई स्वीकार्य ढङ्गमा उहाँको उपासना गर्न चाहनेहरूलाई उहाँ यसो भन्नुहुन्छ: “बुराइलाई घृणा औ भलाइ[लाई] प्रेम गर।” (आमोस ५:१५) प्रेम र घृणा लाक्षणिक हृदयबाट उत्पन्न हुने प्रबल भावनाहरू हुन्। हृदय छली हुने भएकोले यसलाई सुरक्षित राख्न हामीले यथाशक्य गर्नै पर्छ। (हितोपदेश ४:२३; यर्मिया १७:९) हामीले आफ्नो हृदयलाई गलत चाहनाहरूले पोसिन दियौं भने हामी बुराइलाई प्रेम गर्न र भलाइलाई घृणा गर्न थाल्न सक्छौं। अनि यस्ता चाहनाहरू पूरा गर्न हामीले पाप गरिरह्यौं भने जतिसुकै जोस देखाए तापनि परमेश्वरको अनुग्रह फेरि पाउन सक्दैनौं। त्यसैले “बुराइलाई घृणा औ भलाइ[लाई] प्रेम” गर्न परमेश्वरको मदतको लागि प्रार्थना गरौं।
१४, १५. (क) इस्राएलमा भलाइ गर्नेहरूमध्ये को-को थिए तर तिनीहरूमध्ये कोही-कोहीलाई कस्तो व्यवहार गरिंदै थियो? (ख) आज पूर्ण-समय सेवामा लागेकाहरूलाई हामी कसरी प्रोत्साहन दिन सक्छौं?
१४ सबै इस्राएलीहरूले यहोवाको नजरमा बुराइ गरिरहेका थिएनन्। उदाहरणका लागि होशे र आमोसले ‘भलाइलाई प्रेम गरे’ अनि अगमवक्ताको रूपमा विश्वासीपूर्वक परमेश्वरको सेवा गरे। अरूले नाजिरीको भाकल गरे। आफ्नो नाजिरीको भाकलको समयावधिभर तिनीहरू दाखबाट तयार पारिएका कुराहरू, विशेष गरी दाखमद्यबाट अलग रहे। (गन्ती ६:१-४) यस्ता राम्रा कामकुरा गर्ने मानिसहरूको आत्मत्यागी जीवन पद्धतिप्रति अरू इस्राएलीहरूले कस्तो दृष्टिकोण राखे? यस प्रश्नको दुःखलाग्दो जवाफले आध्यात्मिक तवरमा त्यो राष्ट्र कुन हदसम्म खस्किएको थियो भन्ने कुरा प्रस्ट पार्छ। आमोस २:१२ यसो भन्छ: “तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउनलायौ, र अगमवक्ताहरूलाई ‘अगमवाणी नभन’ भनी आज्ञा दियौ।”
१५ नाजिरी तथा अगमवक्ताहरूको विश्वासी उदाहरण देखेर ती इस्राएलीहरूलाई लाज लाग्नुपर्ने हो र तिनीहरू आफ्नो मार्ग परिवर्तन गर्न उत्प्रेरित हुनुपर्ने हो। यसको सट्टा निर्दयी हुँदै तिनीहरूले परमेश्वरलाई महिमा दिनदेखि वफादार जनहरूलाई निरुत्साहित पार्न खोजे। यस्ता सँगी मसीहीहरू जो अग्रगामी, मिसनरी, परिभ्रमण निरीक्षक, वा बेथेल परिवारका सदस्यहरू हुन्, तिनीहरूलाई आफ्नो पूर्ण-समय सेवा छोडेर तथाकथित सामान्य जीवनमा फर्कने सल्लाह हामी कहिल्यै पनि नदिऔं। बरु, तिनीहरूको असल कार्यमा लागिरहन तिनीहरूलाई प्रोत्साहन दिऔं!
१६. इस्राएलीहरूको अवस्था आमोसको समयमा भन्दा मोशाको समयमा किन राम्रो थियो?
१६ आमोसको समयमा थुप्रै इस्राएलीहरूले भौतिक तवरमा सम्पन्न जीवन बिताइरहेका भए तापनि तिनीहरू “परमेश्वरतर्फ धनी” थिएनन्। (लूका १२:१३-२१) तिनीहरूका पुर्खाहरूले उजाड-स्थानमा ४० वर्षसम्म मन्न मात्र खाएका थिए। तिनीहरूले मोटो बहरको भोज खाएका थिएनन् वा अल्छी मान्दै हात्तीदाँतको पलङ्गमा लम्पसार परेका थिएनन्। तथापि, मोशाले तिनीहरूलाई यसो भन्नु उचित थियो: “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष दिनुभएको छ। . . . यी चालीस वर्षभरि परमप्रभु परमेश्वर तिमीहरूसँगै हुनुहुन्छ, औ तिमीहरूलाई केही कुराको अभाव भएको छैन।” (व्यवस्था २:७) हो, उजाड-स्थानमा इस्राएलीहरूलाई आधारभूत कुराको कहिल्यै खाँचो परेन। सबैभन्दा ठूलो कुरा त तिनीहरूले परमेश्वरको प्रेम, सुरक्षा र आशिष् पाएका थिए!
१७. यहोवाले प्रारम्भिक इस्राएलीहरूलाई किन प्रतिज्ञा गरिएको देशसम्म डोऱ्याउनुभयो?
१७ यहोवाले तिनीहरूका पुर्खाहरूलाई प्रतिज्ञा गरिएको देशमा ल्याउनुभयो र तिनीहरूका सबै शत्रुहरूलाई हटाउन तिनीहरूलाई मदत गर्नुभयो भनी उहाँले इस्राएलीहरूलाई सम्झाउनुभयो। (आमोस २:९, १०) तर परमेश्वरले ती प्रारम्भिक इस्राएलीहरूलाई किन मिश्रबाट निकालेर प्रतिज्ञा गरिएको देशसम्म डोऱ्याउनुभएको थियो? तिनीहरूले सुख-सयलको जीवन बिताएर आफ्ना सृष्टिकर्तालाई तिरस्कार गरून् भनेर हो? पक्कै होइन! बरु, तिनीहरूले स्वतन्त्र र आध्यात्मिक तवरमा स्वच्छ जातिको हैसियतमा परमेश्वरको सेवा गर्न सकून् भनेर उहाँले यसो गर्नुभएको थियो। तर इस्राएलको दस-गोत्रे राज्यका बासिन्दाहरूले बुराइलाई घृणा र भलाइलाई प्रेम गरेनन्। बरु तिनीहरू यहोवा परमेश्वरलाई होइन, खोपिएका मूर्तिहरूलाई महिमा दिंदै थिए। कस्तो लाजमर्दो कुरा!
यहोवाले लेखा लिनुहुन्छ
१८. यहोवाले हामीलाई किन आध्यात्मिक तवरमा स्वतन्त्र तुल्याउनुभएको छ?
१८ परमेश्वरले इस्राएलीहरूको घृणित आचरणलाई देखेर पनि नदेखेझैं गर्नुहुने थिएन। यसो भनेर उहाँले आफ्नो स्थिति सुस्पष्ट पार्नुभयो: “म तिमीहरूका सबै अधर्मको दण्ड तिमीहरूलाईनै दिनेछु।” (आमोस ३:२) यी शब्दहरूले हामीलाई वर्तमान समयको मिश्र अर्थात् यस वर्तमान दुष्ट रीतिरिवाजबाट हाम्रो आफ्नै छुटकाराबारे मनन गर्न लगाउनुपर्छ। यहोवाले हामीलाई स्वार्थी लक्ष्यहरूको पछि लाग्न सकोस् भनेर स्वतन्त्र तुल्याउनुभएको होइन। बरु, स्वच्छ उपासनामा सरिक भएका स्वतन्त्र जातिको रूपमा हामीले उहाँलाई हृदयदेखि प्रशंसा गर्न सकोस् भनेर उहाँले यसो गर्नुभएको हो। अनि हामी सबैले आफ्नो ईश्वर-प्रदत्त स्वतन्त्रता कुन तरिकामा चलाइरहेका छौं, त्यसको लागि लेखा दिनुपर्छ।—रोमी १४:१२.
१९. आमोस ४:४, ५ अनुसार अधिकांश इस्राएलीहरूले कुन कुरालाई प्रेम गर्न थालेका थिए?
१९ दुःखको कुरा, आमोसले घोषणा गरेका शक्तिशाली सन्देश इस्राएलका अधिकांश बासिन्दाहरूले वास्तै गरेनन्। आमोस ४:४, ५ मा लिपिबद्ध निम्न शब्दहरूद्वारा अगमवक्ताले तिनीहरूको आध्यात्मिक तवरमा रोगी हृदयको अवस्था प्रकट गरे: “बेतेलमा आएर अपराध गर। गिलगालमा आएर अपराधको संख्या बढ़ाऊ। . . . किनभने हे इस्राएलीहरू हो, तिमीहरूलाई त्यस्तै गर्नु मनपर्छ।” इस्राएलीहरूले उचित इच्छाहरू खेती गरेका थिएनन्। तिनीहरूले आफ्नो हृदय सुरक्षित राखेका थिएनन्। फलस्वरूप, तिनीहरूमध्ये अधिकांशले बुराइलाई प्रेम र भलाइलाई घृणा गर्न थालेका थिए। बाछाको उपासना गर्ने ती हठी व्यक्तिहरू परिवर्तन भएनन्। यहोवाले लेखा लिनुहुने थियो र तिनीहरू पापी अवस्थामै मर्ने थिए!
२०. कुनै व्यक्तिले आमोस ५:४ मा बताइएको जस्तो मार्ग कसरी पछ्याउन सक्छ?
२० त्यतिबेला इस्राएलमा बसिरहेको जुनसुकै व्यक्तिलाई पनि यहोवाप्रति विश्वासी रहिरहन गाह्रो भएको हुनुपर्छ। भन्ने हो भने, पानीको धारको विपरीत दिशामा पौडी खेल्न गाह्रो हुन्छ भनेर आजका जवान तथा वृद्ध मसीहीहरूलाई राम्रैसित थाह छ। यद्यपि, परमेश्वरप्रतिको प्रेम र उहाँलाई खुसी तुल्याउने चाहनाले केही इस्राएलीहरूलाई साँचो उपासना गर्न उत्प्रेरित गऱ्यो। यहोवाले तिनीहरूलाई आमोस ५:४ मा लिपिबद्ध यो न्यानो निमन्त्रणा दिनुभयो: “मलाई खोज र तिमीहरू बाँच्नेछौ।” आज पनि पश्चात्ताप गर्ने अनि उहाँको वचनको सही ज्ञान लिएर तथा उहाँको इच्छा गरेर उहाँलाई खोज्नेहरूप्रति परमेश्वरले त्यसरी नै दया देखाउनुहुन्छ। यस्तो मार्ग पछ्याउन सजिलो त छैन तर यसले अनन्त जीवनतर्फ डोऱ्याउँछ।—यूहन्ना १७:३.
आध्यात्मिक अनिकालको बावजुद संवृद्धि
२१. साँचो उपासना नगर्नेहरूमाथि कस्तो अनिकाल आइपर्छ?
२१ साँचो उपासनाको समर्थन नगर्नेहरूले कस्तो अवस्थाको सामना गर्नुपर्ने थियो? सबैभन्दा दयनीय खालको अनिकाल अर्थात् आध्यात्मिक अनिकालको! सार्वभौम प्रभु यहोवाले यसो भन्नुभयो: “हेर्, यस्ता दिनहरू आउँदैछन्, जब म देशमा अनिकाल ल्याउनेछु—अनिकाल, जुनचाहिं नता अन्नको न पानीको हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ।” (आमोस ८:११) मसीहीजगत् यस्तै आध्यात्मिक अनिकालको चपेटामा परेको छ। तर तिनीहरूमध्ये इमानदार हृदय भएकाहरूले परमेश्वरका जनहरूको आध्यात्मिक संवृद्धि देख्न सक्छन् र तिनीहरू यहोवाको संगठनतर्फ ओइरिरहेका छन्। मसीहीजगत् तथा साँचो मसीहीहरूमाझ व्याप्त अवस्थाबीचको भिन्नता यहोवाले भन्नुभएका यी शब्दहरूमा सही चित्रण गरिएको छ: “हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरू भने भोकाउनेछौ। हेर, मेरा दासहरूले पिउनेछन्, तर तिमीहरू भने तिर्खाउनेछौ। हेर, मेरा दासहरूले हर्ष मनाउनेछन्, तर तिमीहरू चाहिं लाजमा पर्नेछौ।”—यशैया ६५:१३.
२२. हामीसित किन आनन्दित हुने कारण छ?
२२ हामीले जेजति आध्यात्मिक प्रबन्ध तथा आशिष्हरू पाएका छौं, यहोवाका सेवकहरूको हैसियतमा के हामी व्यक्तिगत तवरमा त्यसको मूल्याङ्कन गर्छौं? जब हामी बाइबल र मसीही प्रकाशनहरू पढ्छौं अनि हाम्रा सभा, सम्मेलन तथा अधिवेशनहरूमा उपस्थित हुन्छौं, हृदयको आनन्दित अवस्थाको कारण साँच्चै हामीलाई आनन्दले गाउन मन लाग्छ। आमोसको ईश्वर-प्रेरित भविष्यवाणीलगायत परमेश्वरको वचनको सुस्पष्ट समझ भएको कारण हामी हर्ष मनाउँछौं।
२३. परमेश्वरको महिमा गर्नेहरूले कस्तो आनन्द उठाउँछन्?
२३ परमेश्वरलाई प्रेम गर्ने र उहाँलाई महिमा दिन चाहने सबै मानिसहरूका लागि आमोसको भविष्यवाणीमा आशाको सन्देश छ। अहिले हाम्रो आर्थिक अवस्था जस्तोसुकै किन नहोस् वा यस सङ्कटग्रस्त संसारमा जस्तोसुकै परीक्षाहरूको सामना किन गर्न नपरोस्, परमेश्वरलाई प्रेम गर्ने हामीहरूले ईश्वरीय आशिष्हरू र सर्वोत्तम आध्यात्मिक खानपीनको आनन्द उठाइरहेका छौं। (हितोपदेश १०:२२; मत्ती २४:४५-४७) यसको लागि सबै महिमा परमेश्वरलाई नै जान्छ, जसले हाम्रो लाभको लागि सबै कुराहरू प्रचुर मात्रामा प्रबन्ध गर्नुहुन्छ। त्यसकारण सधैंभरि उहाँलाई हाम्रो हृदयदेखि प्रशंसा दिइरहन हामी कटिबद्ध होऔं! हामीले हृदय जाँच्नुहुने यहोवालाई खोज्यौं भने त्यो हाम्रो आनन्ददायी सुअवसर हुनेछ।
तपाईं कसरी जवाफ दिनुहुन्छ?
• आमोसको समयमा इस्राएलमा कस्तो अवस्था थियो?
• इस्राएलको दस-गोत्रे राज्यका घटनाक्रमहरूको वर्तमान समयसित कस्तो समानता छ?
• अहिले, भविष्यवाणी गरिएको कस्तो अनिकाल भइरहेको छ र यसले कसलाई असर गरेको छैन?
[पृष्ठ २१-मा भएका चित्रहरू]
थुप्रै इस्राएलीहरू सुख-सयलमा बस्थे तर तिनीहरू आध्यात्मिक तवरमा सम्पन्न थिएनन्
[पृष्ठ २३-मा भएको चित्र]
पूर्ण-समय सेवकहरूलाई भलाइको काममा लागिरहन प्रोत्साहन दिनुहोस्
[पृष्ठ २४, २५-मा भएका चित्रहरू]
यहोवाका आनन्दित जनहरूमाझ आध्यात्मिक अनिकाल छैन