परमेश्वरको धार्मिकतामाथि हाम्रो भरोसा बलियो बनाउने
“तैंले परमप्रभुमाथि आफ्नो भरोसा राख् भनेरनै तेरो आफ्नै भलाइको नम्ति आज यी कुरा म तँलाई भन्दैछु।”—हितोपदेश २२:१९.
१, २. (क) यहोवाका साक्षीहरू यहोवामाथि किन भरोसा राख्छन्? (हितोपदेश २२:१९) (ख) कसै कसैले आफ्नो भरोसा बलियो बनाउनुपर्छ भनेर कुन कुराले औंल्याउँछ?
साँचो मसीहीहरूले यहोवा र उहाँका उद्देश्यहरूको सही ज्ञान पाएका छन्। तिनीहरूलाई “विश्वासी र बुद्धिमान दास[ले]” मायालु ढंगमा “ठीक ठीक समयमा” आध्यात्मिक भोजन दिन्छन्। (मत्ती २४:४५) तिनीहरूले प्राप्त गरेको ज्ञानले तिनीहरूलाई परमेश्वरमाथि भरोसा राख्ने ठोस आधार प्रदान गर्छ। तसर्थ, सामूहिक रूपमा यहोवाका साक्षीहरू यहोवा र उहाँका धार्मिकतामाथि उल्लेखनीय भरोसा प्रदर्शित गर्छन्।
२ तथापि, केही साक्षीहरूले चाहिं व्यक्तिगत तवरमा यस्तो भरोसा बलियो बनाउनुपर्ने खाँचो भएको जस्तो देखिन्छ। कहिलेकाहीं सोसाइटीले यसका प्रकाशनहरूमा लेखिएका कुराहरूले अन्योलमा पाऱ्यो भन्ने पत्रहरू प्राप्त गर्छ। ती प्रकाशनहरूको कारण आफ्नो सोचविचार काँटछाँट गर्नुपरेको वा पत्राचार गर्ने व्यक्तिलाई विशेषगरि भावनात्मक तवरमा असर गरेकोले यस्ता शंकाहरू उब्जेका हुनसक्छन्।—यूहन्ना ६:६०, ६१ तुलना गर्नुहोस्।
३. यहोवाका विश्वासी सेवकहरूलाई पनि के हुनसक्छ र किन?
३ यहोवाका साँचो सेवकहरूसमेत उपदेशक ९:११ को सत्यता अनुभव गर्छन्: “मैले संसारका अझै एउटा कुरो देखें—वेग कुदाइले दौड जित्नसक्तैन, औ शक्तिले लडाइँ जित्नसकिन्न। भोजन बुद्धिमानको निम्ति, धन-सम्पत्ति समझदारको निम्ति, सफलता निपुण मानिसको निम्ति हुँदैन। समय र अवसरलेनै सबैलाई अधीन गरेको हुन्छ।” विस्तृत वा आध्यात्मिक अर्थमा यो कसरी सत्य साबित हुनसक्छ? सायद हामी त्यस्ता मसीहीहरू पनि चिन्छौं जसले बाइबल सल्लाहहरू पाउनेबित्तिकै व्यवहारमा उतार्थे, सच्चाइमा अडान लिन्थे, बुद्धिमानीसाथ बाइबल सिद्धान्तहरू प्रयोगमा ल्याउँथे अनि जोसका साथ सही ज्ञान पछ्याउँथे। यद्यपि, “समय र अवसर[को]” कारण कुनै दुर्घटनामा पर्दा वा वृद्धावस्थाले गर्दा कसै कसैले ती सबै गर्न नसकेको महसुस गर्नसक्छन्। तिनीहरू मृत्युको मुखमा नपरिकन परमेश्वरले ल्याउनुहुने नयाँ संसारमा प्रवेश गर्न पाइएला नपाइएला भनी सोच्न थाल्लान्।
४, ५. किन मसीहीहरूले यहोवाको धार्मिकतामाथि भरोसा गुमाउनुपर्ने कुनै कारण छैन?
४ मसीहीले आफ्नो पति मा पत्नी गुमाउँदा असह्य पीडा र दुःख अनुभव गर्छ। तिनीहरूले दम्पतीको रूपमा वर्षौं वा दशकौंसम्म सँगै यहोवाको सेवा गरेका हुनसक्छन्। मृत्युले वैवाहिक सम्बन्धको डोरी चट्ट काटिदिन्छ भनेर जीवित पति या पत्नीलाई थाह हुन्छ।a (१ कोरिन्थी ७:३९) त्यतिखेर उसले भरोसा नगुमाउन आफ्नो भावना काबूमा राख्नुपर्छ।—मर्कूस १६:८ तुलना गर्नुहोस्।
५ आफ्नो जीवनसाथी, मुमाबुबा, छोराछोरी वा नङमासुजस्तै मिल्ने मसीही मित्रको मृत्युको घडीलाई यहोवाको धार्मिकतामाथि भरोसा प्रदर्शित गर्ने मौका सम्झनु कत्ति बुद्धिमानी कुरा हो! हामीले व्यक्तिगत क्षति भोग्नुपर्दा समेत यहोवा अधर्मी हुनुहुन्न भनी हामी विश्वस्त हुनसक्छौं। चाहे जीवित रहेर होस् वा पुनरुत्थानद्वारा, अनन्त जीवन पाउनेहरू सबै खुसी हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं। परमेश्वरबारे भजनरचयिताले यसो भने: “तपाईंले आफ्नो मुठी खोल्नुहुन्छ, र सबै जीवित प्राणीहरूको इच्छालाई सन्तुष्ट पार्नुहुन्छ। परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ। उहाँमा पुकारा गर्ने सबैका नजीक परमप्रभु हुनुहुन्छ, उहाँलाई साँचोसित पुकार्ने सबैका नजीक। उहाँसित डराउनेहरूको इच्छा उहाँले पूरा गर्नुहुनेछ। उहाँले तिनीहरूको पुकारा पनि सुन्नुहुनेछ, र तिनीहरूलाई बचाउनुहुनेछ।”—भजन १४५:१६-१९.
व्यर्थै दुःख भोगें भन्ने सोचाइ
६, ७. (क) बितेको समयमा दुःख भोग्ने केही साक्षीहरू अहिले किन भिन्नै दृष्टिकोण राख्नसक्छन्? (ख) बितेको समयमा त्यस्ता दुःखहरू भोग्न दिनुभएकोमा यहोवालाई किन अधर्मी ठान्नु हुँदैन?
६ बितेका समयमा केही साक्षीहरूले दुःख पाएका छन्। किनकि अहिले अन्तस्करणले सायद रोकटोक नगर्ने क्रियाकलापमा भाग लिन तिनीहरूले इन्कार गरे। उदाहरणका लागि, तिनीहरूले वर्षौंअघि खास प्रकारको निजामति सेवा नगर्ने छनौट गरेका हुनसक्छन्। अहिले आएर त्यो भाइले वर्तमान रीतिरिवाजप्रति अपनाउनुपर्ने मसीही तटस्थता कायमै राखेर त्यस्तो क्रियाकलापमा होसियारीपूर्वक भाग लिन सकिंदो रहेछ नि भनेर विचार गर्नसक्छ।
७ तिनले अहिले गर्नसक्ने क्रियाकलाप पहिला निषेध गर्नुभएर तिनलाई दुःख भोग्न दिनुभएकोमा यहोवा अधर्मी हुनुहुन्छ त? यस्तो दुःख अनुभव गर्नेहरू धेरैजसोलाई त्यस्तो लाग्दैन। बरु, तिनीहरू त ब्रह्माण्डीय सार्वभौमिकताप्रति दृढ रहने आफ्नो संकल्प सार्वजनिक अनि स्पष्ट रूपमा प्रदर्शित गर्ने मौका पायौं भनेर आनन्दित पो छन्। (अय्यूब २७:५ तुलना गर्नुहोस्।) आफ्नै अन्तस्करणअनुसार यहोवाको पक्षमा दृढ अडान लिंदा पछुताउनुपर्ने कारणै के छ र? तिनीहरूले मसीही सिद्धान्तहरू बुझ्नुका साथै वफादारीसाथ पालन गरेर वा आफ्नो अन्तस्करणको आवाज सुनेर यहोवाको मित्र बन्न योग्यको प्रमाणित गरेका छन्। निस्सन्देह, आफ्नै अन्तस्करण खलबल्याउने वा अरूलाई समेत ठोकर दिनसक्ने काममा संलग्न नहुनु बुद्धिमानी हो। यस सन्दर्भमा प्रेरित पावलले बसालेका नमुना विचार गर्नसक्छौं।—१ कोरिन्थी ८:१२, १३; १०:३१-३३.
८. पहिले व्यवस्था पालन गर्ने यहूदी मसीहीहरूले यहोवाको धार्मिकताप्रति शंका गर्ने कारण किन थिएन?
८ यहूदीहरूले यहोवालाई खुसी पार्न दस आज्ञाका साथै ६०० जति विविध नियमहरू पालन गर्नुपर्थ्यो। पछि, मसीही प्रबन्धअन्तर्गत यहोवाको सेवा गर्न ती नियमहरू पालन गरिरहनु नपर्ने भयो। जन्मजात यहूदीहरूले समेत पालन गर्नु परेन। खतना गर्ने, विश्राम दिन मान्ने, पशु बलिहरू चढाउने र उपवास बस्नेलगायत अन्य नियमहरू रद्द भए। (१ कोरिन्थी ७:१९; १०:२५; कलस्सी २:१६, १७; हिब्रू १०:१, ११-१४) मसीही बनेका प्रेरितहरूलगायत अन्य यहूदीहरू व्यवस्थाको करारको अधीनमा हुँदा पालन गर्नुपर्ने नियमहरूबाट स्वतन्त्र भए। के पहिला पूरा गर्नुपर्ने आवश्यकताहरू रद्द गरिएकोमा यहोवाको प्रबन्ध अधार्मिक छ भनेर तिनीहरूले गनगन गरे? अहँ, गरेनन्। तिनीहरू परमेश्वरका उद्देश्यहरूबारे विस्तृत समझ पाएर आनन्दित भए।—प्रेरित १६:४, ५.
९. विगतका केही साक्षीहरूको जीवनमा के भयो तर तिनीहरूसँग पछुताउनुपर्ने कारण किन थिएन?
९ आधुनिक जमानामा पनि त्यस्ता केही साक्षीहरू थिए जसले यो गर्नु हुन्छ र त्यो गर्नु हुँदैन भन्ने एकदमै कट्टर दृष्टिकोण राख्थे। फलतः तिनीहरूले अरूको तुलनामा बढी नै दुःख पाए। पछि, तिनीहरूले ज्ञानमा बढ्दै गएपछि आफ्नो दृष्टिकोण फराकिलो पार्ने मदत पाएका छन्। तर पहिले आफ्नो अन्तस्करणअनुसार चल्दा बढी दुःख भोग्नुपरेका भए पनि तिनीहरूसँग पछुताउनुपर्ने कुनै कारण थिएन। तिनीहरूले यहोवाप्रति विश्वासी रहन, “सुसमाचारको खातिर सब थोक ग[र्न]” देखाएको इच्छुकता साँच्चै प्रशंसनीय छ। यहोवाले यसप्रकारको ईश्वरीय भक्तिमा आशिष् वर्षाउनुहुन्छ। (१ कोरिन्थी ९:२३; हिब्रू ६:१०) प्रेरित पत्रुसले अन्तरदृष्टिसहित यसो लेखे: “तिमीहरूले असल गरेर दुःख भोग्नुपर्दा धीरजसँग सहँदछौ भने, यो ता परमेश्वरमा ग्रहणयोग्य हुन्छ।”—१ पत्रुस २:२०.
योनाबाट पाठ सिक्ने
१०, ११. यहोवाले योनालाई (क) निनवे जान अह्राउनुहुँदा (ख) परमेश्वरले निनवेवासीहरूलाई सर्वनाश नगर्नुहुँदा तिनले कसरी यहोवामाथि भरोसाको कमी देखाए?
१० योनाले निनवे जाने निर्देशन पाउँदा तिनीमाथि यहोवाले राख्नुभएको विश्वासलाई तिनले मूल्यांकन गरेनन्। आफ्नै अनाज्ञाकारिताले निम्त्याएको भयावह अनुभवपछि भने बल्ल योनाको होस खुल्यो, तिनले आफ्नो गल्ती महसुस गरे, विदेशी मुलुकमा जाने कार्यभार स्वीकारे र निनवेवासीहरूलाई आउनै लागेको सर्वनाशबारे चेताउनी दिए। त्यसपछि त मनमै नचिताएको कुरा पो भयो: निनवेवासीहरूले पश्चात्तापी मनोवृत्ति देखाएको कारण यहोवाले तिनीहरूलाई सर्वनाश नगर्ने निधो गर्नुभयो।—योना १:१–३:१०.
११ योनाको प्रतिक्रिया? असन्तुष्ट भएर तिनले प्रार्थनामा यहोवासँग गुनासो पोखे। तिनको गुनासोको सार यस्तो थियो: ‘यस्तै हुन्छ जस्तो त मलाई लागेकै थियो नि। त्यसैकारण त म निनवे जान नचाहेको। मैले बडेमानको माछाले स्वाट्टै निलेको त्रास र अपमानलगायत अन्य सबै कुरा सामना गरें, निनवेवासीहरूलाई आउनै लागेको सर्वनाशबारे चेताउनी दिन कडा परिश्रम गरें, अब आएर नतिजा त यस्तो पो! मेरा सबै परिश्रम र दुःख बेकार भए! म त बरु मरेको भए पनि हुन्थ्यो!’—योना ४:१-३.
१२. योनाको अनुभवबाट हामी के सिक्नसक्छौं?
१२ के योनासँग गुनासो पोख्ने ठोस कारण थियो? के गलत काम गरेर पश्चात्ताप गर्नेहरूलाई दया देखाउनु यहोवाको अधर्म थियो? वास्तवमा, योना त खुसीले गद्गद पो हुनुपर्थ्यो किनकि हजारौं मानिसहरू दण्डबाट बचेका थिए। (योना ४:११) तर तिनले देखाएको अनादरपूर्ण गुनासोले यहोवाको धार्मिकतामाथि तिनको पूर्ण भरोसा थिएन भनेर देखाउँछ। तिनले आफ्नै विषयमा बढी अनि अरूको विषयमा चाहिं कम सोचे। हामीले आफू र आफ्ना भावनाहरूलाई सर्वोपरि महत्त्व नदिएर योनाबाट पाठ सिकौं। यहोवाको आज्ञा पालन गर्नु, उहाँले आफ्नो संगठन मार्फत दिनुभएका निर्देशनहरू पछ्याउनु र उहाँका निर्णयहरू स्वीकार्नु नै सही कुरा हो भनी विश्वस्त होऔं। “परमेश्वरसँग डराउनेहरूलाई असलै हुनेछ भनी” हामी विश्वस्त छौं।—उपदेशक ८:१२.
हाम्रो भरोसा बलियो बनाउने समय अहिल्यै हो!
१३. हामी प्रत्येकले यहोवामाथिको भरोसा कसरी बलियो बनाउनसक्छौं?
१३ यहोवामाथिको हाम्रो भरोसा बलियो बनाउनु बुद्धिमानी हो। (हितोपदेश ३:५-८) निस्सन्देह, हाम्रो भरोसालाई बलियो बनाउन यहोवालाई प्रार्थनाद्वारा मदत मागेर मात्र पुग्दैन। भरोसा सही ज्ञानद्वारा बढ्छ। अतः हामीले व्यक्तिगत बाइबल अध्ययन, बाइबल तथा बाइबल विषयहरू व्याख्या गर्ने साहित्यहरूको अध्ययनलाई दैनिक तालिकाको भाग बनाउनुपर्छ। मसीही सभाहरूमा नियमित उपस्थित हुनु जत्ति महत्त्वपूर्ण छ, पूर्वतयारी र सभाहरूमा सकेसम्म भाग लिनु पनि उत्तिकै महत्त्वपूर्ण छ। अरूलाई बाइबल सत्य सुनाउने बानी बसाल्नाले अनि चतुऱ्याइँसाथ अडचनहरू समाधान गर्नाले पनि यहोवा र उहाँको वचनमाथि हाम्रो भरोसा गहिरिंदै जान्छ। यसरी हामी उहाँसँग दिनानुदिन नजिक हुँदै जान्छौं।
१४. चाँडै परमेश्वरका जनहरूले किन यहोवामाथि पहिलेभन्दा झन् बढी भरोसा राख्नुपर्नेछ?
१४ मानिसजातिमाथि अहिलेसम्म कहिल्यै आइनपरेको संकष्टको चरम घडी निकट भविष्यमा अचानक आइपर्नेछ। (मत्ती २४:२१) त्यतिखेर परमेश्वरका जनहरूले यहोवाको धार्मिकता र उहाँको संगठनले दिएका निर्देशनहरूमाथि पहिलेभन्दा झन् बढी भरोसा राख्नुपर्छ। त्यसपछि विश्वस्त भएर तिनीहरूले प्रतीकात्मक अर्थमा यहोवाको यो आज्ञा पालन गर्नेछन्: “हे मेरा मानिस हो, आऊ, तिमीहरू आफ्ना भित्री कोठाहरूमा पसेर ढोकाहरू थुन। परमप्रभुको क्रोध शान्त नहोउञ्जेल केही क्षणको निम्ति लुकिबस।” (यशैया २६:२०) तिनीहरू अहिले नै २३२ मुलुकमा ८५,००० भन्दा बढी मण्डलीहरूको सुरक्षित छत्रछायामा प्रवेश गरिसकेका छन्। ‘आफ्ना भित्री कोठाहरूमा पस’ भन्ने आज्ञामा यदि अन्य कुराहरू समावेश भइहाले भने पनि सो पूरा गर्न यहोवाले मदत दिनुहुनेछ भनी हामी विश्वस्त हुनसक्छौं।
१५. सन् १९९८ को दौडान भरोसा राख्नुपर्ने कुराप्रति कसरी जोड दिइएको छ र त्यो किन एकदमै उचित छ?
१५ अहिले नै हाम्रो भरोसा बलियो बनाउन अत्यावश्यक छ। मसीही भाइबहिनीहरूमाथि, यहोवाको संगठनमाथि र सबैभन्दा मुख्य त यहोवामाथि भरोसा छैन भने बच्नसक्ने सम्भावना नै छैन। अतः यहोवाका संसारभरिका साक्षीहरूलाई १९९८ सालभरि वार्षिक पदद्वारा “प्रभुको [यहोवाको] नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ” भनी स्मरण गराउनु कत्ति उपयुक्त छ! (रोमी १०:१३) हामीले यस कुरामा सधैं भरोसा राख्नुपर्छ। हाम्रो भरोसा अलिकता मात्र पनि तलमाथि भयो भन्ने छनक पायौं भने त्यसलाई अहिले, आजै सुधार गरिहाल्नुपर्छ।
यहोवाको न्याय धार्मिक हुनेछ
१६. भरोसा बढाउँदै लगेनौं भने के हुनसक्छ र त्यसो हुनबाट कसरी जोगिनसक्छौं?
१६ हिब्रू ३:१४ मा अभिषिक्त मसीहीहरूलाई यस्तो चेताउनी दिइएको छ: “यदि हामीले हाम्रा शुरूको विश्वासलाई अन्तसम्मै थामिराख्तछौं भनेता, हामी ख्रीष्टका सह-भागी भएका छौं।” सैद्धान्तिक तवरमा यी शब्दहरू पार्थिव आशा भएका मसीहीहरूमा पनि लागू हुन्छ। सुरुको भरोसा बढ्दै गएन भने बिलाउनसक्छ। सही ज्ञान पछ्याउँदै गएर हाम्रो भरोसाको जग बलियो बनाउनु कत्ति महत्त्वपूर्ण छ!
१७. बचावटको सन्दर्भमा येशूले सही न्याय गर्नुहुनेछ भनेर हामी किन विश्वस्त हुनसक्छौं?
१७ येशूले अब चाँडै सबै राष्ट्रका मानिसहरूलाई जाँच्नुहुनेछ र “जसरी गोठालोले भेडाहरूलाई बाख्राबाट छुट्याउँछ, उसरीनै [उहाँले] तिनीहरू एकलाई अर्कोबाट छुट्याउ[नुहुने]छ।” (मत्ती २५:३१-३३) येशूले को बच्न योग्यको छ, को छैन भनी धार्मिकतासाथ न्याय गर्नुहुनेछ भनी हामी विश्वस्त हुनसक्छौं। यहोवाले उहाँलाई “धर्मपूर्वक संसारको इन्साफ ग[र्न]” ज्ञान, अन्तरदृष्टि र अन्य आवश्यक योग्यताहरू दिनुभएको छ। (प्रेरित १७:३०, ३१) हाम्रो विश्वास अब्राहामको जस्तै होस्। तिनले यसो भने: “दुष्टको साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट [यहोवा] कहिल्यै नहोस्। धर्मीको दशा पनि दुष्टको जस्तै हुनु ता तपाईंबाट पर रहोस्। सारा पृथ्वीका न्यायकर्त्ताले उचित न्याय गर्नुहुन्न र?”—उत्पत्ति १८:२५.
१८. अहिले हामीलाई थाह नभएका कुराहरूमा किन अचाक्ली चिन्तित हुनु हुँदैन?
१८ यहोवाको धार्मिकतामाथि पूर्ण भरोसा राख्दा हामी यस्ता प्रश्नहरूको जवाफ पाउन चिन्तित हुनुपर्दैन: ‘बच्चा र स-साना केटाकेटीहरूको न्याय कसरी हुनेछ? आरमागेडोन आउँदा थुप्रै मानिसहरूले सुसमाचार सुन्नै नपाएका पनि त हुनसक्लान् नि? मानसिक रोगीहरू नि? ती व्यक्तिहरू . . . ?’ हो, यहोवाले यी मामलाहरू कसरी हल गर्नुहुन्छ, अहिले हामीलाई थाह नहुनसक्छ। तथापि, उहाँले धार्मिक अनि दयालु तरिकामा ती हल गर्नुहुनेछ। हामीले यसमा शंका गर्नु हुँदैन। भनौं भने, उहाँले यी मामलाहरू हामीले सोच्दै नसोचेको तरिकाद्वारा हल गर्नुहुँदा हामी छक्कै मात्र होइन आनन्दित पनि हुनसक्छौं।—अय्यूब ४२:३; भजन ७८:११-१६; १३६:४-९; मत्ती १५:३१; लूका २:४७ तुलना गर्नुहोस्।
१९, २०. (क) व्यवहारिक प्रश्न सोध्नु किन गलत होइन? (ख) यहोवाले आवश्यक जवाफ कहिले दिनुहुनेछ?
१९ कुनै कुनै विरोधीहरूले गलत दाबी गरेझैं यहोवाको संगठनले निष्कपट अनि सामयिक प्रश्नहरू सोध्न निरुत्साहित गर्दैन। (१ पत्रुस १:१०-१२) तथापि, बाइबल हामीलाई मूर्ख र काल्पनिक प्रश्नहरू नगर्ने सल्लाह दिन्छ। (तीतस ३:९) व्यवहारिक प्रश्नहरू सोध्नुका साथै त्यसका धर्मशास्त्रीय जवाफ परमेश्वरको वचन र मसीही प्रकाशनहरूमा खोज्नाले हाम्रो सही ज्ञान बढ्नसक्छ। फलतः यहोवामाथि हाम्रो भरोसा बलियो हुन्छ। संगठनले येशूको नमुना पछ्याउँछ। उहाँले जवाफ दिने उचित समय आएपछि मात्र प्रश्नहरूको जवाफ दिनुभयो। उहाँले यसो भन्नुभयो: “तिमीहरूलाई भन्ने मसँग अझ धेरै कुरा छन्, तर अहिले तिमीहरू सहनसक्तैनौ।” (यूहन्ना १६:१२) त्यतिबेला आफैलाई पनि कुनै कुनै कुरा थाह नभएको उहाँले स्वीकार्नुभयो।—मत्ती २४:३६.
२० यहोवाले अझै थुप्रै कुरा प्रकट गर्न बाँकी नै छ। उहाँले आफ्ना उद्देश्यहरू एकदमै उचित समयमा प्रकट गर्नुहुन्छ भनी विश्वस्त भएर उहाँको बाटो हेर्नु कत्ति बुद्धिमानी कुरा हो! हामी विश्वस्त हुनसक्छौं, यहोवाले तोक्नुभएको समय आएपछि उहाँका तौरतरिकाहरूअनुसार थप अन्तरदृष्टि पाउनेछौं। हो, हामीले यहोवा र उहाँले प्रयोग गरिरहनुभएको संगठनमाथि पूर्णतया भरोसा राख्यौं भने इनाम पाउनेछौं। हितोपदेश १४:२६ हामीलाई यस्तो आश्वासन दिन्छ: “परमप्रभुको भयमाथि भरोसा गर्ने बलियो मानिस आफ्ना छोराहरूका निम्ति शरण हुनेछ।”
[फुटनोट]
a अक्टोबर १५, १९६७ को प्रहरीधरहरा (अंग्रेजी), पृष्ठ ६३८; जून १, १९८७, पृष्ठ ३० हेर्नुहोस्।
तपाईंको विचार कस्तो छ?
◻ भावनाहरूले गर्दा यहोवामाथिको भरोसा गुमाउनु किन मूर्खता हो?
◻ योनाको अनुभवबाट हामी के सिक्नसक्छौं?
◻ बाइबल अध्ययन र सभामा नियमित उपस्थित हुनु किन अत्यन्तै महत्त्वपूर्ण छ?
[पृष्ठ १६-मा भएको चित्र]
हामीले व्यक्तिगत क्षति भोग्नुपर्दा समेत यहोवा अधर्मी हुनुहुन्न भनी हामी विश्वस्त हुनसक्छौं
[पृष्ठ १८-मा भएको चित्र]
के तपाईं आफ्नो भरोसा यहोवामाथि नै छ भनेर पक्का हुनुहुन्छ?