के तपाईं यहोवाको दिनको लागि तयार हुनुहुन्छ?
“परमप्रभुको भयानक दिन नजीकै छ, नजीकै, त्यो चाँडै आउँदैछ।”—सपन्याह १:१४.
१-३. (क) यहोवाको दिनबारे बाइबलमा के भनिएको छ? (ख) हामीले सामना गर्नुपर्ने “परमप्रभुको दिन” कुन हो?
यहोवाको भयानक दिन २४ घण्टे दिन होइन। यो लामो समयावधि हो जुन समयको दौडान उहाँले दुष्टहरूको न्याय गर्नुहुनेछ। अन्धकार, क्रोध, भयानक रीस, संकष्ट र उजाडको त्यो दिनदेखि अभक्त मानिसहरू डराउनुपर्ने कारण छ। (यशैया १३:९; आमोस ५:१८-२०; सपन्याह १:१५) योएलको भविष्यवाणीमा यसो भनिएको छ: “हाय, त्यो दिन! किनकि परमप्रभुको दिन नजीकै छ। त्यो ता सर्वशक्तिमानको तर्फबाट सत्यानाश जस्तै आउनेछ।” (योएल १:१५) तर त्यस भयानक दिनमा परमेश्वरले “सोझो हृदय भएको मानिसलाई” बचाउनुहुनेछ।—भजन ७:१०.
२ “परमप्रभुको दिन” भन्ने अभिव्यक्तिले परमेश्वरले विभिन्न समयमा ल्याउने न्यायदण्डलाई बुझाउँछ। उदाहरणका लागि, ईसापूर्व ६०७ मा यरूशलेममाथि न्याय गर्न यहोवाले बेबिलोनीहरूलाई चलाउँदा त्यहाँ “परमप्रभुको दिन” आइपऱ्यो। (सपन्याह १:४-७) त्यसै गरी इस्वी संवत् ७० मा परमेश्वरको पुत्रलाई तिरस्कार गर्ने यहूदी राष्ट्रको न्याय गर्न परमेश्वरले रोमीहरूलाई चलाउँदा तिनीहरूले परमेश्वरको न्यायदण्ड भोग्नुपऱ्यो। (दानियल ९:२४-२७; यूहन्ना १९:१५) ‘सबै जातिहरूसित लडाइँ गर्ने’ “परमप्रभुको दिन[बारे]” पनि बाइबलमा भविष्यवाणी गरिएको छ। (जकरिया १४:१-३) प्रेरणा पाएर प्रेरित पावलले त्यस दिनलाई ख्रीष्टको उपस्थितिसित जोडे जुन सन् १९१४ मा येशू स्वर्गमा राजाको रूपमा विराजमान हुँदा सुरु भयो। (२ थिस्सलोनिकी २:१, २) यहोवाको दिन एकदमै नजिकै मडारिरहेको यो समयमा सन् २००७ को लागि यहोवाका साक्षीहरूको वार्षिक पद एकदमै उपयुक्त साबित भएको छ। सपन्याह १:१४ बाट लिइएको यो वार्षिक पद यस्तो छ: “परमप्रभुको भयानक दिन नजीकै छ।”
३ परमेश्वरको भयानक दिन नजिक भएकोले तयार रहने समय अहिल्यै हो। त्यो दिनको लागि तपाईं कसरी तयार रहन सक्नुहुन्छ? यहोवाको दिनको लागि तयार रहन तपाईंले थप कदमहरू चाल्नुपर्छ कि?
तयार रहनुहोस्
४. कुन सबैभन्दा ठूलो परीक्षाको लागि येशूले आफूलाई तयार राख्नुभयो?
४ यस रीतिरिवाजको अन्तसम्बन्धी भविष्यवाणीमा येशू ख्रीष्टले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “तिमीहरू पनि तयार रहो।” (मत्ती २४:४४) येशूले यो कुरा भन्नुहुँदा उहाँ आफै सबैभन्दा ठूलो परीक्षा अर्थात् छुटकाराको बलिदानको रूपमा मर्नको लागि तयार हुनुहुन्थ्यो। (मत्ती २०:२८) येशूले आफूलाई तयार राखेको तरिकाबाट हामी कस्तो पाठ सिक्न सक्छौं?
५, ६. (क) परमेश्वर र मानिसहरूप्रतिको प्रेमले यहोवाको दिनको लागि तयार रहन हामीलाई कसरी मदत गर्छ? (ख) छिमेकीप्रति प्रेम देखाउने सन्दर्भमा येशूले कस्तो उदाहरण बसाल्नुभयो?
५ येशूले यहोवा र उहाँका उच्च स्तरहरूलाई सारा तनमनले प्रेम गर्नुहुन्थ्यो। येशूको सन्दर्भमा हिब्रू १:९ मा यसो भनिएको छ: “तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ, यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई, तपाईंका साथीहरूभन्दा बढता गरेर खुशीको तेलले अभिषेक गर्नुभएको छ।” स्वर्गमा हुनुहुने आफ्नो पिताप्रतिको प्रेमले गर्दा नै येशूले उहाँप्रति निष्ठा कायम राख्न सक्नुभयो। हामी पनि परमेश्वरलाई त्यसरी नै प्रेम गर्छौं र उहाँले चाहनुभएअनुसार जीवन बिताउँछौं भने उहाँले हाम्रो रक्षा गर्नुहुनेछ। (भजन ३१:२३) त्यस्तो प्रेम र आज्ञाकारिताले हामीलाई यहोवाको त्यो भयानक दिनको लागि तयार रहन मदत गर्नेछ।
६ मानिसहरूप्रति प्रेम देखाउनु येशूको व्यक्तित्वको एउटा प्रमुख भाग थियो। हो, “भीडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। किनभने तिनीहरू गोठालो नभएका भेडाहरू जस्तै हैरान भई तितर-बितर भएका थिए।” (मत्ती ९:३६) त्यसैले त येशूले मानिसहरूलाई सुसमाचार प्रचार गर्नुभयो। त्यसरी नै हामी पनि प्रेमले गर्दा छिमेकीहरूलाई राज्यको सन्देश सुनाउन उत्प्रेरित हुन्छौं। परमेश्वर र छिमेकीप्रतिको प्रेमले हामीलाई मसीही सेवकहरूको रूपमा सक्रिय रहन र यहोवाको भयानक दिनको लागि तयार रहन मदत गर्छ।—मत्ती २२:३७-३९.
७. यहोवाको दिन पर्खदैं गर्दा हामी किन आनन्दित हुन सक्छौं?
७ येशू यहोवाको इच्छाबमोजिम गर्न प्रसन्न हुनुहुन्थ्यो। (भजन ४०:८) हामीले पनि त्यस्तै मनोवृत्ति राख्यौं भने यहोवालाई पवित्र सेवा चढाउँदा आनन्द पाउनेछौं। येशूजस्तै हामी पनि उदारचित्तका हुन्छौं र यसले हामीलाई साँच्चै आनन्दित तुल्याउनेछ। (प्रेरित २०:३५) हो, “परमप्रभुको आनन्दनै [हामीहरूको] बल हो।” अनि यही आनन्दको कारण, यहोवाको भयानक दिनको लागि हामी अझ राम्ररी तयार हुनेछौं।—नहेम्याह ८:१०.
८. हामी प्रार्थनामा किन यहोवासित झन्-झनै नजिक हुनुपर्छ?
८ परमेश्वरलाई व्यग्र प्रार्थना गर्दा येशूले विश्वासको जाँचको लागि तयार रहन मदत पाउनुभयो। यूहन्नाले बप्तिस्मा दिंदा उहाँले प्रार्थना गरिरहनुभएको थियो। प्रेरितहरू छान्नुअघि उहाँले रातभर प्रार्थना गर्नुभयो। (लूका ६:१२-१६) अनि आफ्नो पार्थिव जीवनको अन्तिम रात उहाँले गरेको प्रार्थनाले कुनचाहिं बाइबल पाठकको मन छुँदैन र? (मर्कूस १४:३२-४२; यूहन्ना १७:१-२६) के तपाईं पनि येशूले जस्तै अक्सर प्रार्थना गर्ने गर्नुहुन्छ? यहोवालाई प्रार्थना गरिरहनुहोस्, हतार नगरी समय लगाएर प्रार्थना गर्नुहोस्, पवित्र आत्माको डोऱ्याइ खोज्नुहोस् र डोऱ्याइ पाएको स्पष्ट हुँदा त्यसलाई स्वीकारी हाल्नुहोस्। यहोवाको भयानक दिन एकदमै नजिक भएको यस निर्णायक समयमा स्वर्गमा हुनुहुने पितासित बलियो सम्बन्ध राख्नु एकदमै महत्त्वपूर्ण छ। त्यसैकारण हरहालतमा यहोवासित प्रार्थनामा झन्-झनै नजिक हुनुहोस्।—याकूब ४:८.
९. यहोवाको नाउँ पवित्र पार्ने कुरामा चासो राख्नु कत्तिको महत्त्वपूर्ण छ?
९ यहोवाको नाउँ पवित्र पार्ने कुराप्रतिको चासोले गर्दा पनि येशूलाई आफूमाथि आइपर्ने परीक्षाहरूका लागि तयार रहन मदत गऱ्यो। भन्ने हो भने, येशूले आफ्ना अनुयायीहरूलाई प्रार्थना गर्न सिकाउँदा यो बिन्ती पनि समावेश गर्न सिकाउनुभयो: “तपाईंको नाउँ पवित्र गरिओस्।” (मत्ती ६:९) यहोवाको नाउँ पवित्र गरिओस् भनेर हामी गहिरो इच्छा राख्छौं भने उहाँको नाउँको बदनाम हुने कुनै पनि काम गर्नदेखि जोगिने कोसिस गर्नेछौं। फलस्वरूप, हामी यहोवाको भयानक दिनको लागि अझ राम्ररी तयार हुनेछौं।
तपाईंले केही परिवर्तन गर्नुपर्छ कि?
१०. हामीले आफ्नो जीवन केलाएर हेर्नु किन उपयुक्त छ?
१० यहोवाको दिन भोलि नै आयो भने के तपाईं तयार हुनुहुन्छ? हामी प्रत्येकले आ-आफ्नो कार्य र मनोवृत्तिमा केही छाँटकाँट गर्नुपर्छ कि भनेर केलाएर हेर्नु बेस हुन्छ। मानिसको जीवन छोटो र अनिश्चित छ। यसलाई विचार गर्दा हामी सबै, हरेक दिन आध्यात्मिक तवरमा सजग रहनुपर्छ। (उपदेशक ९:११, १२; याकूब ४:१३-१५) त्यसैले आउनुहोस्, हामीले आफ्नो जीवनमा ध्यान दिनुपर्ने केही पक्षलाई विचार गरौं।
११. तपाईंको बाइबल पढाइको लक्ष्य कस्तो छ?
११ एउटा महत्त्वपूर्ण पक्ष भनेको ‘विश्वासी दासको’ दिनहुँ बाइबल पढ्ने सल्लाह हो। (मत्ती २४:४५) प्रत्येक वर्ष उत्पत्तिदेखि प्रकाशसम्म ध्यान दिएर पढी सिध्याउने लक्ष्य राख्न सक्नुहुन्छ। दिनमा चार अध्याय जति पढ्दा वर्षदिनमा बाइबलका १,१८९ अध्यायहरू पढी सिध्याउन सक्नुहुन्छ। इस्राएलको प्रत्येक राजाले यहोवाको व्यवस्था “आफ्नो जीवनभरि” पढ्नुपर्थ्यो। यहोशूले पनि त्यसै गरे। (व्यवस्था १७:१४-२०; यहोशू १:७, ८) परमेश्वरको वचन बाइबलले आध्यात्मिक गोठाला अर्थात् प्राचीनहरूलाई “पक्का सिद्धान्त” सिकाउन मदत गर्ने भएकोले तिनीहरूले दिनहुँ बाइबल पढ्नु कत्ति महत्त्वपूर्ण छ!—तीतस २:१.
१२. यहोवाको दिन नजिक भएकोले हामी के गर्न उत्प्रेरित हुनुपर्ने हो?
१२ यहोवाको दिन नजिक भएकोले तपाईं मसीही सभाहरूमा नियमित उपस्थित हुन र यथासक्दो भाग लिन उत्प्रेरित हुनुपर्ने हो। (हिब्रू १०:२४, २५) यसो गर्दा अनन्त जीवन पाउन नियुक्त भएकाहरूलाई भेट्टाएर मदत गर्न कोसिस गर्ने राज्य प्रचारकको हैसियतमा तपाईं आफ्नो योग्यतालाई तिखार्न सक्नुहुन्छ। (प्रेरित १३:४८) सायद तपाईं अन्य तरिकामा पनि मण्डलीमा अझ सक्रिय हुन सक्नुहुन्छ। जस्तै, वृद्धहरूलाई मदत गरेर र जवानहरूलाई प्रोत्साहन दिएर। यस्ता प्रयासहरू कत्ति सन्तोषजनक साबित हुन सक्छन्!
अरूसँगको तपाईंको सन्बन्ध
१३. नयाँ व्यक्तित्व धारण गर्ने सन्दर्भमा हामीले आफूलाई कस्ता प्रश्नहरू सोध्न सक्छौं?
१३ यहोवाको दिन एकदमै नजिक भएकोले ‘परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभाव धारण गर्न’ तपाईंले अझ प्रयास गर्नुपर्छ कि? (एफिसी ४:२०-२४, NRV) तपाईंले ईश्वरीय गुणहरू खेती गर्दै जाँदा ‘परमेश्वरको आत्माअनुसार हिंडेको’ र यसका फलहरू फलाएको अरूले याद गर्नेछन्। (गलाती ५:१६, २२-२५) तपाईं र तपाईंको परिवारले नयाँ व्यक्तित्व धारण गरेको कुनै खास क्षेत्र के तपाईं औंल्याउन सक्नुहुन्छ? (कलस्सी ३:९, १०) उदाहरणको लागि, के तपाईं सँगी विश्वासी र अरूमाझ दयाका कार्यहरू गर्ने व्यक्तिको रूपमा चिनिनुहुन्छ? (गलाती ६:१०) बाइबलको नियमित अध्ययनले तपाईंलाई ईश्वरीय गुणहरू विकास गर्न मदत गर्नेछ जसले गर्दा तपाईं यहोवाको दिनको लागि तयार रहन सक्नुहुन्छ।
१४. कुनै व्यक्तिले संयम खेती गर्ने कोसिस गर्दा किन पवित्र आत्माको लागि प्रार्थना गर्नुपर्छ?
१४ तपाईंलाई झरङ्ग रीस उठ्छ र संयमको अझ धेरै आवश्यकता छ भनेर महसुस गर्नुभएको छ भने नि? परमेश्वरको आत्माका फलहरूमध्ये एउटा संयम हो र परमेश्वरको पवित्र आत्माले तपाईंमा यो गुण उत्पन्न गर्न सक्छ। त्यसैले येशूले भन्नुभएको यो कुरालाई मनमा राख्दै पवित्र आत्माको लागि प्रार्थना गर्नुहोस्: “माग, त तिमीहरूलाई दिइनेछ, खोज, त तिमीहरूले भेट्टाउनेछौ, घच्घच्याओ, त तिमीहरूको निम्ति खोलिनेछ। . . . तिमीहरू दुष्ट भईकन आफ्ना छोराछोरीहरूलाई असल कुरो दिन जान्दछौ भने, तिमीहरूका स्वर्गीय पिताले उहाँसँग माग्नेहरूलाई कति बढता गरेर पवित्र आत्मा दिनुहुनेछ।”—लूका ११:९-१३.
१५. कुनै सँगी विश्वासी र तपाईंबीच सम्बन्ध बिग्रिएको छ भने के गर्नुपर्छ?
१५ मानिलिनुहोस्, कुनै सँगी विश्वासी र तपाईंबीच सम्बन्ध बिग्रिएको छ। त्यस्तो बेला सम्बन्धमा सुधार ल्याउन हर प्रयास गर्नुहोस्। यसो गर्दा मण्डलीको शान्ति र एकतालाई बढवा दिइरहनुभएको हुनेछ। (भजन १३३:१-३) मत्ती ५:२३, २४ वा मत्ती १८:१५-१७ मा पाइने येशूको सल्लाह लागू गर्नुहोस्। घाम अस्ताउनुअघि सम्म पनि तपाईंको रीस मरेको छैन भने सो सुधार्न पाइला चाली हाल्नुहोस्। अक्सर त्यस्तो बेलामा चाहिने कुरा भनेकै क्षमा दिन इच्छुक हुनु हो। पावलले यस्तो लेखे: “जसरी परमेश्वरले पनि ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरीनै एकले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्कोप्रति कोमल मनको र दयालु होओ।”—एफिसी ४:२५, २६, ३२.
१६. वैवाहिक सम्बन्धमा किन कोमलताको खाँचो पर्छ?
१६ वैवाहिक सम्बन्धमा कोमल अनुकम्पा र कहिलेकाहीं क्षमाको दरकार पर्छ। तपाईं आफ्नो वैवाहिक जोडीप्रति अझ धेरै मायालु र अनुकम्पापूर्ण हुनुपरेको छ भने परमेश्वर र उहाँको वचनको मदत लिएर त्यो लक्ष्यसम्म पुग्न मेहनत गर्नुहोस्। पहिलो कोरिन्थी ७:१-५ को सल्लाह स्वीकार्दै सम्बन्धमा सुधार ल्याउन र अवफादार हुनबाट जोगिन अझै केही कुरामा तपाईंले उन्नति गर्नुपरेको छ कि? पक्कै पनि यो, पति र पत्नी “कोमल मनको” हुनुपर्ने एउटा क्षेत्र हो।
१७. यदि कसैले गम्भीर पाप गरेका छन् भने कस्ता कदमहरू चाल्नुपर्छ?
१७ तपाईंले कुनै तरिकामा गम्भीर पाप गर्नुभएको छ भने नि? परिस्थितिलाई सच्याउन तुरुन्तै कदम चालिहाल्नुहोस्। हरहालतमा मसीही प्राचीनहरूको मदत लिनुहोस्। तिनीहरूको प्रार्थना र सल्लाहले फेरि आध्यात्मिक सुस्वास्थ्य पाउन मदत गर्नेछ। (याकूब ५:१३-१६) पश्चात्तापी मनोभावका साथ यहोवालाई प्रार्थना गर्नुहोस्। त्यसो गर्नुभएन भने तपाईंलाई दोषी भावना र खलबलिएको अन्तस्करणले सताइरहने छ। दाऊदले त्यस्तो अनुभव गरेका थिए तर यहोवा समक्ष आफ्नो पाप स्वीकारेपछि तिनले कत्ति सञ्चो महसुस गरे! दाऊदले यस्तो लेखे: “त्यो धन्यको हो, जसको अपराध क्षमा भएको छ, र जसको पाप ढाकिएको छ। त्यो मानिस धन्यको हो, जसको अधर्मको लेखा परमप्रभुले राख्नुहुन्न, र जसको आत्मामा छल छँदैछैन।” (भजन ३२:१-५) पाप गर्नेले साँचो पश्चात्ताप गर्छन् भने यहोवाले क्षमा दिनुहुन्छ।—भजन १०३:८-१४; हितोपदेश २८:१३.
संसारको भाग नहुनुहोस्
१८. संसारलाई तपाईंले कसरी हेर्नुपर्छ?
१८ तपाईं पक्कै पनि स्वर्गमा हुनुहुने हाम्रा पिताले प्रतिज्ञा गरेको अद्भुत नयाँ संसारको प्रतीक्षामा हुनुहुन्छ। त्यसोभए, परमेश्वरबाट तर्किएका अधार्मिक मानिसहरूले भरिएको संसारलाई तपाईं कसरी हेर्नुहुन्छ? “यस संसारको शासक” शैतानले येशू ख्रीष्टलाई आफ्नो वशमा राख्न सकेन। (यूहन्ना १२:३१; १४:३०) तपाईं पनि आफूलाई शैतान र त्यसको संसारले वशमा राखेको पक्कै चाहनुहुन्न। त्यसैले प्रेरित यूहन्नाको यो सल्लाह पालन गर्नुहोस्: “संसारलाई प्रेम नगर, नता संसारमा भएका कुनै चीजलाई प्रेम गर।” यही नै बुद्धिमानी मार्ग हुनेछ किनभने “संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि बितेर जान्छ, तर परमेश्वरको इच्छाबमोजिम गर्ने चाहिं सधैंभरि रहिरहन्छ।”—१ यूहन्ना २:१५-१७.
१९. जवान मसीहीहरूलाई कस्ता खालका लक्ष्यहरू राख्न प्रोत्साहन दिइएको छ?
१९ के तपाईंले आफ्ना छोराछोरीलाई “दुनियाँबाट निष्कलङ्क” रहन मदत गरिरहनुभएको छ? (याकूब १:२७) बल्छीमा माछा पारेको जस्तै गरी शैतानले तपाईंका छोराछोरीलाई पनि पक्रन चाहन्छ। जवानहरूलाई शैतानको संसारसित एकै चालका बनाउन विभिन्न क्लब तथा संगठनहरू खोलिएका छन्। तर परमेश्वरका सेवकहरू यस दुष्ट रीतिरिवाजको विनाशबाट बचाइने एक मात्र संगठनको भाग भइसकेका छन्। त्यसैले जवान मसीहीहरूलाई “प्रभुको काममा प्रशस्त हुँदै” जान प्रोत्साहन दिनुपर्छ। (१ कोरिन्थी १५:५८) परमेश्वरको डर राख्ने आमाबाबुले आफ्ना छोराछोरीलाई जीवनमा आनन्द र सन्तोष दिने लक्ष्य राख्न मदत गर्नुपर्छ जसले यहोवाको आदर गर्नुका साथै तिनीहरूलाई उहाँको दिनको लागि तयार रहन मदत गर्नेछ।
यहोवाको भयानक दिन पछिको समयलाई विचार गर्नुहोस्
२०. हामीले अनन्त जीवनलाई किन बिर्सनु हुँदैन?
२० तपाईंले अनन्त जीवनलाई बिर्सनु भएन भने शान्त मन लिएर यहोवाको दिन पर्खन सक्नुहुनेछ। (यहूदा २०, २१) तपाईं प्रमोदवनमा पाइने अनन्त जीवनको प्रतीक्षा गर्नुहुन्छ। त्यतिबेला तपाईंसित युवावस्थाको नयाँ जोस हुनेछ अनि लाभदायक लक्ष्य पछ्याउन र यहोवाबारे अझ बढी सिक्न असीमित समय पाउनुहुनेछ। वास्तवमा त्यतिबेला तपाईं सदा सर्वदा नै यहोवाबारे सिक्न सक्नुहुन्छ किनभने अहिले त मानिसहरूलाई उहाँबारे “एक छेउ मात्र” थाह छ। (अय्यूब २६:१४) कस्तो रोमाञ्चकारी प्रत्याशा!
२१, २२. तपाईं र पुनरुत्थान भएकाहरूबीच कस्ता कुराहरूको आदानप्रदान हुन सक्छ?
२१ प्रमोदवनमा, पुनरुत्थान भएकाहरूले हामीले जान्न नसकेका विगतका थुप्रै विवरणबारे हामीलाई बताइदिन सक्छन्। अभक्त मानिसहरूलाई यहोवाको सन्देश घोषणा गर्न आवश्यक साहस हनोकले कसरी पाए, तिनले हामीलाई बताउने छन्। (यहूदा १४, १५) नूहले पक्कै पनि जहाज बनाउँदा खेरिको अनुभव सुनाउने छन्। ऊरको सुखसुविधा चटक्कै त्यागेर पालमा बस्नुपर्दा अब्राहाम र सारालाई कस्तो महसुस भयो, उनीहरूकै मुखबाट सुन्न सक्नेछौं। आफ्ना मानिसहरूको पक्षमा उभिंदै एस्तरले हामानको षड्यन्त्र कसरी विफल तुल्याइन्, त्यसबारे उनले बताउँदै गरेको क्षण कल्पना गर्नुहोस्। (एस्तर ७:१-६) अनि माछाको पेटमा तीन दिन बिताएको बारे योनाको अनुभव वा येशूलाई बप्तिस्मा दिंदा बप्तिस्मा दिने यूहन्नाले महसुस गरेको कुरा सुन्दै गरेको क्षणलाई पनि कल्पना गर्नुहोस्। (लूका ३:२१, २२; ७:२८) हामी कत्ति रोचक कुराहरू सिक्न सक्छौं!
२२ ख्रीष्टको हजार वर्षीय शासनको दौडान तपाईंले पुनरुत्थान भएकाहरूलाई “परमेश्वरको ज्ञान” सिकाउने सुअवसर पाउन सक्नुहुन्छ। (हितोपदेश २:१-६) आज मानिसहरूले परमेश्वरको ज्ञान लिंदै त्यसअनुसार हिंडेको देख्न पाउनु कत्ति आनन्ददायी कुरा! तर, भविष्यमा तपाईंले परापूर्वकालका मानिसहरूलाई सिकाउन गरेको प्रयासमा यहोवाले आशिष् दिनुहुँदा र तिनीहरूले कृतज्ञ हुँदै राम्रो प्रतिक्रिया देखाउँदा महसुस हुने आनन्दको कल्पना गर्नुहोस्!
२३. हामी के गर्न कटिबद्ध हुनुपर्छ?
२३ यहोवाका जनहरूको हैसियतमा हामीले अहिले आनन्द उठाइरहेका कुराहरूको गन्ती गर्न वा विश्लेषण गर्न हामी असिद्ध मानिसहरूको क्षमताले भ्याउँदैन। (भजन ४०:५) हामी विशेष गरी परमेश्वरले गर्नुभएका आध्यात्मिक प्रबन्धहरूका लागि कृतज्ञ छौं। (यशैया ४८:१७, १८) हाम्रो परिस्थिति जस्तोसुकै भए तापनि यहोवाको भयानक दिनलाई पर्खंदै गर्दा उहाँलाई तनमनले पवित्र सेवा चढाऔं।
तपाईं के भन्नुहुन्छ?
• “परमप्रभुको दिन” भनेको के हो?
• यहोवाको दिनको लागि तपाईं आफूलाई कसरी तयार राख्न सक्नुहुन्छ?
• यहोवाको भयानक दिन एकदमै नजिक भएकोले हामीले कस्ता छाँटकाँटहरू गर्नुपर्ने हुन सक्छ?
• यहोवाको दिन अन्त भएपछि तपाईं कस्ता कुराको प्रतीक्षा गर्नुहुन्छ?
[पृष्ठ १४-मा भएको चित्र]
येशूले आफूलाई परीक्षाहरूका लागि तयार राख्नुभयो
[पृष्ठ १७-मा भएको चित्र]
पुनरुत्थान भएकाहरूलाई यहोवाको ज्ञान सिक्न मदत गर्नु कत्ति ठूलो सुअवसर हुनेछ!