“सङ्कष्टको समय” बाट को उम्कने छ?
“परमप्रभुको [यहोवा, न्यु०व०] नाउँ लिने जोसुकै पनि बचाइनेछ।”—योएल २:३२.
१. दानियल र मलाकी अनुसार, “कष्टको समयमा” उद्धार पाउन सक्नेहरूमा हुने लक्षणहरू के हुन्?
हाम्रा दिनलाई ध्यानमा राख्तै अगमवक्ता दानियलले लेखेका थिए: “यस्तो सङ्कष्टको समय आउनेछ, . . . एक राष्ट्र भएको समयदेखि त्यस बेलासम्म त्यस्तो ता कहिल्यै भएको थिएन। तर त्यसै बेला तेरा जाति . . . , हरेक जसको नाउँ यस पुस्तकमा लेखिएको छ, तिनीहरूले छुटकारा पाउनेछ।” (दानियल १२:१) यी वास्तवमा कति आश्वासनपूर्ण शब्दहरू हुन्! यहोवाले स्वीकार्नु भएका जनहरूलाई उहाँले सम्झिनु हुनेछ भनी मलाकी ३:१६ ले पनि भन्दछ: “परमप्रभुको डर मान्नेहरूले आपसमा कुरा गरे, औ परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुभयो, औ उहाँको डर मान्नेहरू र उहाँको नाउँको सोच गर्नेहरूको नाउँ सम्झनाको पुस्तकमा उहाँकै सामने लेखियो।”
२. यहोवाको नाउँबारे मनन गर्नाले के प्रतिफल पाउन सकिन्छ?
२ यहोवाको नाउँमा मनन गर्नाले उहाँ, उहाँका ख्रीष्ट, र उहाँका राज्यका महान उद्देश्यहरूबारे ठीकठीक ज्ञान पाउन सकिन्छ। यस प्रकार, उहाँका जनहरूले उहाँको श्रद्धा गर्न, उहाँसँग एउटा घनिष्ठ र समर्पणको भावयुक्त सम्बन्ध कायम राख्न र ‘आफ्नो सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले, आफ्नो सारा शक्तिले’ उहाँलाई प्रेम गर्न सिक्तछन्। (मर्कूस १२:३३; प्रकाश ४:११) यहोवाले येशू ख्रीष्टको बलिदानद्वारा एउटा कृपापूर्ण प्रबन्ध मिलाइ दिनु भएको छ जसबाट पृथ्वीका नम्र जनहरूले अनन्त जीवन पाउन सक्नेछन्। तसर्थ, यिनीहरूले पनि येशू जन्मु भएको बेलामा स्वर्गीय दूतगणले परमेश्वरको प्रशंसा गर्दै गाएका यी शब्दहरूलाई विश्वस्त भएर दोहोर्याउन सक्तछन्: “परमधाममा परमेश्वरलाई महिमा, र पृथ्वीमा उहाँ प्रसन्न हुनुभएका मानिसहरूलाई शान्ति।”—लूका २:१४.
३. यस पृथ्वीमाथि शान्ति आउनुभन्दा अघि, यहोवाको कुन कार्य सम्पन्न हुनै पर्दछ?
३ त्यो शान्ति धेरैजस्ता मानिसहरूले सोचेको भन्दा नजिक आइ पुगिसकेको छ। तर त्यो आउनुभन्दा अघि, एउटा भ्रष्ट संसारमाथि यहोवाको इन्साफ कार्यान्वयन हुनै परेको छ। उहाँका अगमवक्ता सपन्याहले भन्दछन्: “परमप्रभुको भयानक दिन नजीकै छ, त्यो चाँडै आउँदैछ।” कुन प्रकारको दिन हो त्यो? भविष्यवाणी अगाडि भन्दछ: “परमप्रभुको दिन नमीठो हुनेछ। त्यो दिन वीर पुरुष पनि ठूलो सोरले रुने छ। त्यो दिन क्रोधको दिन हो, सङ्कष्ट र दुःखको दिन, बर्बादी र उजाडको दिन, अँध्यारो र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन। किल्लाहरू र अल्गा अल्गा गढी भएका शहरहरूका विरुद्धमा तुरही बजाउँदै चढाइ गर्ने दिन। म मानिसहरूमाथि सङ्कष्ट ल्याउने छु, तिनीहरू अन्धा मानिसहरू जस्तै हिंडनेछन्, किनभने तिनीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका छन्।”—सपन्याह १:१४-१७; हबकूक २:३; ३:१-६, १६-१९ पनि हेर्नुहोस्।
४. परमेश्वरलाई चिन्ने र सेवा गर्ने आमन्त्रणलाई आज कसले ध्यानपूर्वक सुनीरहेका छन्?
४ यो एउटा खुशीको कुरा हो कि आज परमेश्वरलाई चिन्ने र सेवा गर्ने आमन्त्रणलाई लाखौंले स्वीकार गरिरहेका छन्। नयाँ वाचामा सम्मिलित हुने अभिषिक्त मसीहीहरूबारे यसरी भविष्यवाणी गरिएको थियो: “‘सानादेखि ठूलासम्म सबैले मलाई चिन्नेछन्,’ परमप्रभु भन्नुहुन्छ।” (यर्मिया ३१:३४) यिनीहरूले नै वर्तमान समयमा प्रचार कार्यको अगुवाइ लिएका छन्। र अब जसै शेष अभिषिक्त जनहरूले आफ्नो पार्थिव जीवन समाप्त गरिरहेका छन्, “अरू भेडाका” “ठूलो भीड” परमेश्वरको मन्दिरजस्तै व्यवस्था अन्तर्गत ‘दिन-रात [उहाँको] सेवा गर्न’ अगाडि सरेका छन्। (प्रकाश ७:९, १५; यूहन्ना १०:१६) यो अमूल्य मौकाको आनन्द के तपाईं उठाइ रहनु भएको छ?
“धन-सम्पत्तिहरू” कसरी भित्र आउँछन्
५, ६. सारा राष्ट्रहरू विनाशका निम्ति हल्लाइनुअघि, बचाउको के काम हुनेछ?
५ अब हामी हाग्गै २:७ तर्फ ध्यान दिऊँ, जहाँ यहोवाले उहाँको उपासनाको आत्मिक भवनबारे भविष्यवाणी गर्नु भएको छ। उहाँ भन्नुहुन्छ: “सबै जातिहरूलाई हल्लाउने छु, र सबै जाति जातिका धन-सम्पत्तिहरू आउनेछ, र म यस भवनलाई महिमाले परिपूर्ण पारिदिनेछु।” ‘जातिहरूलाई हल्लाउनु’ भनेको यहोवाले जाति-जातिमाथि आफ्नो इन्साफ कार्यान्वयन गर्नु हो भनेर बाइबलका भविष्यवाणीहरूले देखाउँदछन्। (नहूम १:५, ६; प्रकाश ६:१२-१७) तसर्थ, हाग्गै २:७ मा भविष्यवाणी गरिएको यहोवाको कार्य चरमविन्दुमा तब पुग्नेछ जब राष्ट्रहरू तिनीहरूको अस्तित्वलाई नै मेटाउनेगरी हल्लाइने छ—ध्वस्त पारिनेछ। तर “जाति जातिका धन-सम्पत्तिहरू” बारे के भन्न सकिन्छ? त्यो आखिरी विनाश नहोउञ्जेलसम्म के तिनीहरूले बाहिर नै बसेर, पर्खिरहनु पर्नेछ? पर्नेछैन।
६ योएल २:३२ ले भन्दछ कि, “परमप्रभुको नाउँ लिने जोसुकै बचाइनेछ; किनकि परमप्रभुले भन्नुभएअनुसार सियोन डाँडा र यरूशलेममा बाँचेर उम्कनेहरू हुनेछन्, औ बाँकी रहेकाहरूमा ती हुनेछन्, जसलाई परमप्रभुले बोलाउनुहुन्छ।” यहोवाले तिनीहरूलाई बाहिर निकाल्नु हुन्छ, र महा सङ्कष्टको अन्तिम हल्लाइ शुरुहुनुभन्दा अघि तिनीहरूले येशूको बलिदानमा विश्वास गर्दै यहोवाको नाउँमा पुकारा गर्दछन्। (यूहन्ना ६:४४; प्रेरित २:३८, ३९ सङ्ग तुलना गर्नुहोस्।) सङ्ख्यामा आज चालीस लाख भन्दा बढी पुगी सकेको त्यो अनमोल ठूलो-भीड, हार-मागेडोनमा ‘जाति-जातिहरू हल्लनेछन्’ भनी प्रतीक्षा गर्दै, खुशीका साथ यहोवाको उपासनाको भवनमा ‘आउँछन्।’—प्रकाश ७:९, १०, १४.
७. ‘यहोवाको नाउँमा पुकार्नुमा’ कुन कुन कुराहरू विथोलित छन्?
७ यी बाँच्नेहरूले यहोवाको नाउँ कसरी पुकार्दछन्? याकूब ४:८ ले यसो भन्दै हामीलाई सङ्केत दिन्छ: “परमेश्वरका नजीक आओ, र उहाँ तिमीहरूका नजीक आउनुहुनेछ। हे पापी हो, तिमीहरूको हात शुद्ध पार, र हे दोमनका हो, तिमीहरूको हृदय पवित्र पार।” अगुवाई गर्ने शेष अभिषिक्त जनहरूजस्तै, हार-मागेडोनमा बाँचेर ठूलो भीडमा सामेल हुने आशा राख्नेहरूले पनि निर्णयात्मक कदम चाल्नु पर्दछ। तपाईं बाँच्ने आशा राख्नु हुन्छ भने, तपाईंले यहोवाका शुद्ध पार्ने वचनका गहिरो गरी अध्ययन गर्नुपर्दछ र आफ्नो जीवनमा उहाँका धार्मिक स्तरहरूलाई प्रयोगमा ल्याउनु पर्छ। यहोवालाई आफ्नो जीवन समर्पण गर्न तपाईंले निर्णय लिनु पर्नेछ र पानीमा बप्तिस्मा लिनु भएर यसलाई प्रदर्सित गर्नु पर्दछ। विश्वासका साथ यहोवाको नाउँको पुकारा गर्नुमा उहाँका निम्ति साक्षी दिने काम पनि सम्मिलित छ। यस प्रकार, रोमीको १० अध्याय, ९ र १० पद्यहरूमा पावल लेख्तछन्: “यदि तिमीले प्रभु येशूलाई आफ्नो मुखले स्वीकार गऱ्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट बिउँताउनुभयो भनी हृदयमा विश्वास गऱ्यौ भने तिम्रो उद्धार हुनेछ। किनभने मानिसले हृदयबाट धार्मिकतालाई विश्वास गर्नसक्छ, औ मुखबाट उद्धारको निम्ति स्वीकार गरिन्छ।” अनि १३ पद्यमा, प्रेरितले योएलको भविष्यवाणीलाई उद्धृत गर्छन् र “प्रभुको [यहोवाको न्यु०व०] नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ” भन्ने कुरामाथि जोड दिन्छन्।
‘खोज, खोज, खोज’
८. (क) सपन्याह अगमवक्ताअनुसार, उद्धारका निम्ति यहोवा के चाहनु हुन्छ? (ख) सपन्याह २:३ को “सायद” भन्ने शब्दले हामीलाई के चेतावनी दिन्छ?
८ हाम्रो उद्धारका निम्ति यहोवा के चाहनु हुन्छ, हामी बाइबलको पुस्तक सपन्याहको दोस्रो अध्यायको २ र ३ पद्यहरूमा ध्यान दिंदा पाउँदछौं: “परमप्रभुको भयङ्कर रीस तिमीहरूमाथि आउनअघिनै, परमप्रभुको रीसको दिन तिमीहरूमाथि आउनअघिनै जम्मा होऊ। हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा सायद तिमीहरूले शरण पाउँछौ कि।” “सायद” भन्ने शब्दमाथि ध्यान दिनुहोस्। एक पटक उद्धार पाइयो भन्दैमा सँधैका निम्ति उद्धार पाइयो भन्न सकिन्दैन। हामीले त्यस दिन शरण पाउने कुरा, यी तीन थोक हामीले निरन्तर गरी नै रहनुमा निर्भर र्गदछ। हामीले यहोवाको खोजी गर्नुपर्छ, धार्मिकताको खोजी गर्नुपर्छ, र नम्रताको खोजी गर्नु पर्छ।
९. नम्रताको खोजी गर्नेहरूलाई इनाम कसरी दिइनेछ?
९ नम्रताको खोजी गर्नाले वास्तवमा एउटा अद्भुत इनाम पाइनेछ! भजनसंग्रह ३७ को ९ देखि ११ पद्यहरूमा हामी पढ्दछौं: “परमप्रभुको बाटो हेर्ने जतिले देश अधिकार गर्नेछन्। किनकि थोरै बेरपछि, दुष्ट रहनेछैन . . . नम्रहरूले देश अधिकार गर्नेछन्, र प्रशस्त शान्तिमा आफै खुशी मनाउनेछन्।” धार्मिकता खोज्दा नि? २९ पद्य भन्दछ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधँभरि रहन्छन्।” यहोवालाई खोजी गर्नाले के हुन्छ, ३९ र ४० पद्यहरू भन्दछन्: “धर्मात्माको उद्धार परमप्रभुबाट हुन्छ, दुःखको समयमा उहाँनै तिनीहरूको दृढ गढ हुनुहुन्छ। औ परमप्रभुले मदत गरेर तिनीहरूलाई जोगाउनुहुन्छ। उहाँले तिनीहरूलाई दुष्टबाट जोगाएर बचाउनुहुन्छ, किनभने तिनीहरू उहाँको शरण परेका हुन्छन्।”
१०. यहोवाको खोजी गर्न र नम्रताको खोजी गर्न कसले विशेष रूपमा इन्कार गरेका छन्?
१० मसीहीजगतका विभिन्न मतहरू यहोवाको खोजीगर्न असफल भएका छन्। तिनीहरूका पादरीले उहाँको अनमोल नाउँलाई त्यागेका छन् र त्यसलाई तिनीहरूका बाइबल अनुवादहरूबाट धृष्टतापूर्वक हटाइ नै दिएका छन्। तिनीहरू नामरहितका परमेश्वर वा प्रभुको उपासना गर्न र एउटा गैर-मसीही त्रिएकको भक्तिगर्न रुचाउँछन्। साथै, मसीहीजगतले धार्मिकताको खोजी गर्दैन। उसका धेरै अनुयायीहरूले छाडा जीवनशैली या त अपनाएका छन् या त्यसको समर्थन गर्छन्। येशूले गर्नु भए झैं, नम्रताको खोजी गर्नुको सट्टा, तिनीहरूले उदाहरणका लागि, टेलिभिजनमा विलासी र अक्सर अनैतिक जीवनशैलीको सानसित प्रदर्शन गर्दछन्। आफ्ना झुन्डलाई धुतेर पादरीहरू आफूलाई मोटाउँछन्। याकूब ५:५ का शब्दहरूअनुसार, तिनीहरू “यस पृथ्वीमा सुख-विलास र आनन्दमा मस्त भएर बसेका छन्।” यहोवाको दिन जसै नजिक आउँदछ, तिनीहरूले बुझ्नेछन् कि यी प्रेरित शब्दहरू तिनीहरूलाई नै प्रयोग हुँदो रहेछ: “क्रोधको अन्तिम समयमा धन-सम्पत्तिको केही मोल हुँदैन।”—हितोपदेश ११:४.
११. पापको मानिस को हो, र त्यसले कसरी रगतको ठूलो दोष आफूमाथि थुपारेको छ?
११ सामान्य युगको प्रथम शताब्दीमा, यहोवाको दिन आइपुगी सक्यो भनी केही मसीहीहरू उत्तेजित भएका थिए भन्ने कुरा प्रेरित पावलले थिस्सलोनिकीहरूलाई लेखेका दोस्रो पत्रमा उल्लेखित छ। तर त्यो दिन आउनुभन्दा अघि पहिले धर्मत्याग हुनेछ र “पापको मानिस” प्रकट हुनुपर्छ भनी पावलले चेतावनी दिए। (२ थिस्सलोनिकी २:१-३) अहिले, २० वीं शताब्दीमा, त्यो धर्मत्यागको विशालता र परमेश्वरको नजरमा मसीहीजगतका पादरीहरू कत्तिका पापी छन् भन्ने कुरा हामी राम्रोसँग बुझ्न सक्तछौं। १९१४ देखिन् यताका आखिरी दिनहरूमा, पादरीहरूले युद्धलाई समर्थन गर्दै रगतको ठूलो दोष आफूमाथि थुपारेका छन्। (योएल ३:१०) तिनीहरूले आत्माको अमरत्व, परगेटरी, नरक-कुण्डको सन्ताप, सानो बच्चाहरूको बप्तिस्मा र त्रिएकजस्ता झूटा सिद्धान्तहरू सिकाउने काम जारी नै राखेका छन्। यहोवाले आफ्नो इन्साफ कार्यान्वयन गर्नुहुँदा, तिनीहरूको के गति हुने हो? हितोपदेश १९:५ भन्दछ: “झूटा कुरा मात्रै गर्ने त्यसै उम्कँदैन।”
१२. (क) चाँडैनै ध्वस्त हुने मानवीय “स्वर्ग” र “पृथ्वी” के हुन्? (ख) यो दुष्ट रीतिरिवाजको आउने विनाशबाट हामी के सिक्तछौं?
१२ हामी २ पत्रुस ३:१० मा पढ्दछौं: “प्रभुको [यहोवाको न्यु०व०] दिन चोर जस्तैगरी आउनेछ, जसमा आकाशचाहिं ठूलो शब्दले बितिजानेछ, र पृथ्वी र त्यसमा भएका कामहरू चाहिं स्वाहा हुनेछ।” मानवजातिलाई तम्बूले ढाके झैं ढाकेर बसेका भ्रष्ट शासनहरू, साथै आजको पतित मानव समाजमा सम्मिलित सारा तत्वहरू परमेश्वरको पृथ्वीबाट बढारिएर फ्याँकिनेछन्। सत्यानाश पार्ने हतियारहरूका उत्पादक तथा व्यापारीहरू, ठगहरू, कपटी धर्मावलम्बीहरू र तिनीहरूका पादरी समूह र नैतिक पतन, हिंसा र अपराधलाई बढावा दिनेहरू—सबै नै नामेट हुनेछन्। यहोवाको क्रोधमा तिनीहरू सबै नै हराएर जानेछन्। तर ११ र १२ पद्यहरूमा, पत्रुसले मसीहीहरूलाई सतर्क पार्ने यो कुरा थप्दछन्: “यी सबै कुराहरू यसरी पग्लन्छ भन्ने देखेर सबै पवित्र जीवन र भक्तिमा तिमीहरू कस्तो किसिमका मानिस हुनुपर्छ? परमेश्वरको त्यस दिनको बाटो हेर्दै, [त्यस्को] उत्सुकतासाथ इच्छा” गर।
माइकलले कारबाई सुरु गर्दछन्!
१३, १४. यहोवाको शासनाधिकारको सबैभन्दा महान पुष्टिकर्त्ता को हुनुहुन्छ, र १९१४ देखि उहाँ कसरी सक्रिय हुनुभएको छ?
१३ यहोवाको “कष्टको समयमा” कोही पनि कसरी उम्केलान्? मानिसहरूलाई उम्कने मौका दिनका लागी, परमेश्वरले प्रतिनिधिको रूपमा प्रधान दूत माइकललाई नियुक्त गर्नु भएको छ। माइकलको नाउँको अर्थ हो “परमेश्वर जस्तो को छ र?” त्यसैकारण, यहोवाको शासनाधिकारको औचित्य स्थापित गर्दै, यहोवा मात्र साँचो परमेश्वर हुनुहुन्छ र सारा विश्वको न्यायपूर्ण सार्वभौम प्रभु पनि उहाँ हुनुहुन्छ भनी प्रमाणित गर्ने उपयुक्त व्यक्ति माइकल नै हुनुहुन्छ।
१४ प्रकाश १२ अध्याय को ७ देखि १७ सम्मका पद्यहरूमा, १९१४ देखिन्का “प्रभुका दिन” सित सम्बन्धित कस्ता असामान्य घटनाहरूको वर्णन गरिएको छ! (प्रकाश १:१०) प्रधान दूत माइकलले पाखण्डी शैतानलाई स्वर्गबाट पृथ्वीमा फालिदिन्छन्। पछि, १९ अध्यायका ११ देखि १६ पद्यहरूसम्म “विश्वासयोग्य र सत्य” कहलिनुहुनेले “सर्वशक्तिमान परमेश्वरको क्रोधको मद्यको कोलमा कुल्चनु” हुने कुराको वर्णन गरिएकोछ। स्वर्गका यी शक्तिशाली योद्धालाई “राजाहरूका राजा र प्रभुहरूका प्रभु” भन्ने नाउँ दिइएको छ। अन्तमा, प्रकाश २० अध्यायका १ र २ पद्यहरूमा शैतानलाई अगाध खाँदमा फालेर त्यसलाई त्यहाँ एक हजार वर्षसम्म बाँधेर राख्ने एउटा महान दूतबारे चर्चा गरिएको छ। निःसन्देह, यी शास्त्र-पद्यहरूले यहोवाको सार्वभौमिकतालाई स्थापित गर्नु हुने एक मात्र व्यक्ति, प्रभु येशू ख्रीष्टलाई औंल्याउँदछन् जसलाई १९१४ मा यहोवाले आफ्नो महिमित स्वर्गीय सिंहासनमा बसाउनु भयो।
१५. कुन विशेष ढङ्गमा माइकल चाँडै नै “देखा पर्नेछन्?”
१५ दानियल १२:१ मा भनिएअनुसार, १९१४ मा राजा हुनु भएदेखिन् यता, यहोवाका जनहरूका पक्षमा माइकल “देखा परेका [खडा हुनु भएका, न्यु०व०]” छन्। तर चाँडै नै माइकल एउटा विशेष रूपमा “देखा” पर्नु हुनेछ—अथवा पृथ्वीबाट सारा दुष्टता हटाउने यहोवाका प्रतिनिधि र परमेश्वरका जनहरूको विश्वव्यापी समाजका उद्धारकर्त्ताको रूपमा उहाँ देखा पर्नु हुनेछ। त्यो “कष्टको समय” कति ठूलो हुनेछ भन्ने कुराको सङ्केत मत्ती २४:२१, २२ मा येशूका शब्दहरूबाट पाइन्छ: “त्यस बेला यस्तो महा सङ्कष्ट हुनेछ, जो जगतको शुरुदेखि अहिलेसम्म भएको छैन, नता फेरि कहिल्यै हुनेछ। औ ती दिन नघटाइएका भए कोही देहधारी बाँच्नसक्ने थिएन तर चुनिएकाहरूका निम्ति ती दिन घटाइनेछन्।”
१६. महा सङ्कष्टको समयमा बचाइने देहधारी के हो?
१६ कति खुशीको कुरा कि त्यस बेला केही देहधारी चाहिं बाँच्न सक्ने रहेछन्! होइन, सा०यु० ७० मा यरूशलेम शहरभित्र फँसेका ती विद्रोही यहूदीहरू बाँचेका जस्तैगरी बाँच्ने होइनन् किनभने ती यूहदीहरूमध्ये कतिलाई ता दास बनाएर रोम लगे। बरु, “अन्तको समयमा” बाँच्नेहरू मसीही मण्डलीका ती सदस्यहरू जस्ता हुनेछन् जो यरूशलेमको वरिपरि आखिरी घेराव सुरु हुँदा, यरूशलेमबाट भागिसकेका थिए। तिनीहरू परमेश्वरका आफ्नै जनहरू अथवा ठूलो भीडका लाखौं व्यक्तिहरूका साथसाथै त्यस बेलासम्म पृथ्वीमा बाँची रहेका केही अभिषिक्त जनहरू हुनेछन्। (दानियल १२:४) ठूलो भीड “महा सङ्कष्टबाट बाहिर आउनेछन्।” किन? किनभने “तिनीहरूले आफ्ना आफ्ना लुगाहरू थुमाको रगतमा धोएर सेता बनाएका छन्।” येशूले बगाउनु भएको रगतमा छुटकारा दिने शक्ति छ भनी तिनीहरू विश्वास गर्दछन् र वफादारीका साथ परमेश्वरको सेवा गरेर तिनीहरूले सो विश्वासको प्रदर्शन गर्दछन्। अहिले पनि, “सिंहासनमा बस्नुहुने,” यहोवाले तिनीहरूमाथि आफ्नो संरक्षात्मक तम्बू फैलाउनु भएको छ र थुमा, येशू ख्रीष्टले गोठालाले झैं, तिनीहरूलाई डोर्याउनु हुँदै जीवनका पानीहरूका फोहोरासम्म लानुहुन्छ।—प्रकाश ७:१४, १५.
१७. आउँदो कष्टको समयमा शरण पाउनका निम्ति खासगरी ठूलो भीडलाई के गर्ने प्रोत्साहन दिइन्छ?
१७ यहोवाको, धार्मिकताको, र नम्रताको खोजी गर्दा ठूलो भीडका लाखौं व्यक्तिहरूले सच्चाइको निम्ति आफ्नो प्रथम प्रेमलाई कहिले चिसो हुन दिनुहुँदैन! यदि तपाईं ती भेडा खालका मानिसहरू मध्येका हुनुहुन्छ भने, तपाईंले के गर्नु पर्दछ? कलस्सी अध्याय ३ को ५ देखि १४ पद्यहरूमा भनिएअनुसार, तपाईंले सम्पूर्ण रूपमा “पुरानो मनुष्यत्वलाई त्यसका कामहरूसमेत त्याग्नु” पर्दछ। दैवी मदत खोज्नु हुँदै, ‘सही ज्ञानमा आधारित नयाँ व्यक्तित्व धारण गर्ने’ परिश्रम गर्नुहोस्। नम्रतापूर्वक, यहोवाको प्रशंसा गर्न र उहाँका महान उद्देश्यहरू अरूहरूलाई जनाउन सधैं उत्साहित हुनुहोस्। यस प्रकार, “यहोवाको भयङ्कर रीसको दिनमा,” अर्थात् “कष्टको समयमा” तपाईंले शरण पाउन सक्नुहुनेछ।
१८, १९. उद्धारका निम्ति स्थिर रहनु के कारणले महत्त्वपूर्ण भएको छ?
१८ त्यो दिन अब नजिकै छ! त्यो हामी तर्फ चाँडचाँडो आउँदै छ। बितेका केही ५७ वर्षहरूदेखिन् ठूलो भीडका व्यक्तिहरूलाई जम्मा गर्ने काम कायम रहेको छ। ती मध्ये केही मरिसकेका छन् र तिनीहरू पुनरुत्थानका निम्ति पर्खिरहेका छन्। तर प्रकाशितवाक्यको भविष्यवाणीद्वारा हामी विश्वस्त छौं कि एउटा सामूहिक रूपमा ठूलो भीडले महा सङ्कष्ट पार गर्नेछ र त्यो “एउटा नयाँ पृथ्वीको” समाजका केन्द्र-विन्दु हुनेछ। (प्रकाश २१:१) के तपाईं त्यहाँ हुनुहुनेछ? त्यो सम्भव छ, किनकि मत्ती २४:१३ मा येशू भन्नु हुन्छ: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।”
१९ यस पुरानो रीतिरिवाजमा यहोवाका जनहरूले अनुभव गरिरहेका क्लेशहरू अझै बढ्न सक्छन्। र कष्टपूर्ण महा सङ्कष्ट आउँदा तपाईंले धेरै कठिनाइहरू झेल्नु पर्न सक्छ। तर यहोवा र उहाँको सङ्गठनको नजिक रहनुहोस्। जागा रहनुहोस्! “‘परमप्रभु भन्नुहुन्छ, यसकारण नाश पार्नलाई म नउठुञ्जेल तिमीहरू मलाई पर्खिरहो। जाति जातिहरू र राज्य राज्यहरूलाई जम्मा गरेर तिनीहरूमाथि मेरो रीस, मेरो भयानक रीस पूरा खन्याउने मेरो इच्छा छ, किनकि सम्पूर्ण पृथ्वी मेरो डाहको आगोले भस्म हुनेछ।’”—सपन्याह ३:८.
२०. जसै “कष्टको समयको” पराकाष्ठा नजिक आउँदछ, हामीले के गर्नै पर्दछ?
२० हाम्रो संरक्षण र प्रोत्साहनका निम्ति, यहोवाले आफ्ना जनहरूलाई कृपापूर्वक “एउटा शुद्ध भाषा” प्रदान गर्नु भएको छ, जसमा उहाँको आउँनेवाला राज्यको महान संदेश सम्मिलित छ, “ताकि तिनीहरू सबैले परमप्रभुको [यहोवाको न्यु०व०] नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा” गर्न सकून्। (सपन्याह ३:९) “कष्टका समयको” पराकाष्ठा जसै चाँडचाँडो नजिक आउँद छ, हामी उत्साहका साथ सेवा गर्दै, अरू नम्र व्यक्तिहरूलाई उद्धारका निम्ति ‘यहोवाको नाउँलाई पुकार्ने’ मदत दिने गरौं। (w 5/01/92)
के तपाईंलाई सम्झना छ?
◻ पृथ्वीमा शान्ति ल्याउनुभन्दा अघि यहोवाको कुन कार्य सम्पन्न हुनेछ?
◻ योएलका अनुसार, बाँच्नका निम्ति के गर्नु पर्दछ?
◻ सपन्याहका अनुसार, नम्र जनहरू यहोवाको बल्दो रीसबाट कसरी बाँच्नु सक्नेछन्?
◻ “पापको मानिस” को हो, र त्यसले आफूमाथि रगतको दोष कसरी थुपारेको छ?
◻ उद्धारका निम्ति स्थिर रहनु कतिको महत्त्वपूर्ण छ?