“तेरा हातहरू ढीला हुन नपाऊन्”
“तेरा हातहरू ढीला हुन नपाऊन्। परमप्रभु तेरा परमेश्वर तेरो बीचमा हुनुहुन्छ। उहाँ बचाउनलाई सामर्थी हुनुहुन्छ।”—सपन्याह ३:१६, १७.
१. सपन्याहको भविष्यवाणीबारे बाइबलविद्ले के भने?
सपन्याहको भविष्यवाणी सा.यु.पू. सातौं अनि छैटौं शताब्दीको प्रथम पूर्तिसम्म मात्र सीमित थिएन। सपन्याहको टिप्पणी गर्दै प्राध्यापक सि. एफ. किलले यसरी लेखे: “सपन्याहको भविष्यवाणी . . . सारा संसारमाथि आउने विश्वव्यापी दण्डको घोषणादेखि सुरु हुन्छ। यहूदाको पापले गर्दा त्यसमाथि अनि यहोवाका जनहरूप्रति देखाएको वैमनस्यको कारण संसारका राष्ट्रहरूमाथि त्यो न्याय आइपर्नेछ। तर त्यो त्यतिकैमा टुंगिंदैन। यहोवाको भयानक अनि डरलाग्दो दिनको सम्पूर्ण समयको दौडान पनि त्यो भविष्यवाणी लागू हुन्छ।”
२. सपन्याहको समयमा र अहिले मसीहीजगतभित्र कुन मिल्दोजुल्दो स्थिति छ?
२ आज, यहोवाले सपन्याहको समयको भन्दा व्यापक विनाशका लागि राष्ट्रहरूलाई जम्मा गर्ने न्यायिक निर्णय गर्नुभएको छ। (सपन्याह ३:८) विशेषगरि, मसीही हुँ भनी दाबी गर्ने ती राष्ट्रहरू परमेश्वरको दृष्टिमा निन्दनीय छन्। यहोवाप्रति अविश्वासी हुँदा यरूशलेमले कठोर दण्ड पाएजस्तै मसीहीजगतले आफ्नो पथभ्रष्ट तौरतरिकाहरूका लागि परमेश्वरलाई जवाफ दिनैपर्छ। सपन्याहको दिनमा यहूदा तथा यरूशलेम विरुद्ध घोषणा गरिएका ईश्वरीय न्यायवचनहरू मसीहीजगतका चर्च तथा मतहरूमाथि झन् बढ्ता लागू हुन्छ। परमेश्वरको अनादर गर्ने कतिपय गैरमसीही सिद्धान्तहरू अपनाएर तिनीहरूले शुद्ध उपासनालाई अशुद्ध बनाएका छन्। तिनीहरूले लाखौं हट्टाकट्टा युवकहरूलाई युद्धको आधुनिक वेदीमा बलि चढाएका छन्। यसबाहेक, यस प्रतिरूपी यरूशलेमका बासिन्दाहरूले तथाकथित मसीहीधर्मलाई ज्योतिषविद्या, प्रेतात्मासम्बन्धी चलन र बाल उपासनाको सम्झना गराउने पतित यौन अनैतिकतासित मुछेका छन्।—सपन्याह १:४, ५.
३. आजका अधिकांश सांसारिक नेता तथा राजनैतिक सरकारहरूबारे के भन्न सकिन्छ र सपन्याहले कस्तो भविष्यवाणी गरे?
३ मसीहीजगतका अधिकांश राजनैतिक नेताहरू चर्चका गण्यमान्य मानिस हुन मन पराउँछन्। तर यहूदाका “भारादारहरू[जस्तै]” तिनीहरूमध्ये धेरैजसो “गर्जने सिंह” अनि “ब्वाँसाहरू” भएका छन्। तिनीहरू अरूको नाजायज फाइदा उठाउँछन्। (सपन्याह ३:१-३) त्यस्ता नेताहरूका राजनैतिक चम्चाहरूले “आफ्ना मालिकहरूका घर[लाई] मारपीट र छल[ले]” भर्छन्। (सपन्याह १:९) घूसखोरी र भ्रष्टाचार सर्वव्याप्त छ। मसीहीजगतभित्र अनि बाहिरका राजनैतिक सरकारहरूमध्ये थुप्रैले सेनाहरूका यहोवाका जनहरू अर्थात् उहाँका साक्षीहरूसित “अहंकार” गर्छन्। तिनीहरूप्रति तुच्छ “मत[लाई]” जस्तो व्यवहार गर्छन्। (सपन्याह २:८; प्रेरित २४:५, १४) त्यस्ता सबै राजनैतिक नेता तथा तिनीहरूका अनुयायीहरूबारे सपन्याहले यसरी भविष्यवाणी गरे: “परमप्रभुको क्रोधको दिनमा नता तिनीहरूका चाँदीले न तिनीहरूका सुनले तिनीहरूलाई बचाउनसक्नेछ। तर उहाँको डाहको आगोले सारा देश भस्म पारिनेछ, किनकि उहाँले खतम पार्नुहुनेछ, पृथ्वीका सारा बासिन्दाहरूलाई डरलाग्दोगरी खतम पार्नुहुनेछ।”—सपन्याह १:१८.
“परमप्रभुको रीसको दिन तिमीहरूमाथि आउन अघिनै जम्मा होऊ”
४. यहोवाको भयानक दिनबाट बच्ने मानिसहरू हुनेछन् भनेर कुन कुराले देखाउँछ तर तिनीहरूले के गर्नैपर्छ?
४ सा.यु.पू. सातौं शताब्दीमा यहूदाका सबै बासिन्दाहरू नाश भएनन्। त्यस्तैगरि यहोवाको भयानक दिनबाट बच्ने मानिसहरू पनि हुनेछन्। त्यस्ता मानिसहरूलाई यहोवाले आफ्नो अगमवक्ता सपन्याहद्वारा यसो भन्नुभयो: “सजायको आज्ञा आउन अघिनै र भूस जस्तै दिन बितेर जान अघिनै, परमप्रभुको भयंकर रीस तिमीहरूमाथि आउन अघिनै, परमप्रभुको रीसको दिन तिमीहरूमाथि आउन अघिनै जम्मा होऊ। हे पृथ्वीका दीन जन हो, जसले उहाँको न्यायको वचन पालन गरेको छ, परमप्रभुको खोजी गर। धार्मिकता खोज, नम्रता खोज, परमप्रभुको रीसको दिनमा शायद तिमीहरूले शरण पाउँछौ कि।”—सपन्याह २:२, ३.
५. यस अन्तको समयमा सपन्याहको चेताउनी पालन गर्ने पहिलो व्यक्तिहरू को थिए र यहोवाले तिनीहरूलाई कसरी चलाउनुभएको छ?
५ यो संसारको अन्तको समयमा त्यो भविष्यसूचक निमन्त्रणा स्वीकार्ने पहिलो जनहरू आत्मिक इस्राएलका शेष जनहरू अर्थात् अभिषिक्त मसीहीहरू थिए। (रोमी २:२८, २९; ९:६; गलाती ६:१६) तिनीहरूले धार्मिकता तथा नम्रता खोजेको अनि यहोवाका न्यायिक निर्णयहरूप्रति आदर देखाएको हुँदा सन् १९१९ मा महान् बेबिलोन अर्थात् झूटा धर्मको विश्वसाम्राज्यबाट छुटकारा पाउनुका साथै ईश्वरीय अनुमोदन पाए। त्यहाँदेखि र अझ विशेषगरि सन् १९२२ देखि यी विश्वासी शेष जनहरूले मसीहीजगतका चर्च तथा मतका साथै राजनैतिक राष्ट्रहरू विरुद्ध निर्भयतापूर्वक यहोवाको न्यायवचन घोषणा गरिरहेका छन्।
६. (क) सपन्याहले विश्वासी शेष जनहरूबारे कस्तो भविष्यवाणी गरे? (ख) यो भविष्यवाणी कसरी पूरा भएको छ?
६ यी विश्वासी शेष जनहरूबारे सपन्याहले यस्तो भविष्यवाणी गरे: “तेरो बीचमा एउटा दीन र नम्र जातिलाई म छोड़िराख्नेछु, र तिनीहरूले परमप्रभुको नाउँमा विश्वास गर्नेछन्। इस्राएलका बाँकी रहेकाहरूले अधर्म गर्नेछैनन्, नता झूट बोल्नेछन्, न तिनीहरूका मुखमा छल हुनेछ, किनकि तिनीहरू चरनमा हुनेछन् र विश्राम गर्नेछन्, र कसैले तिनीहरूलाई तर्साउनेछैन।” (सपन्याह ३:१२, १३) यी अभिषिक्त मसीहीहरूले सधैं र अझ विशेषगरि सन् १९३१ मा यहोवाका साक्षीहरू भन्ने नाउँ ग्रहण गरेदेखि यहोवाको नाउँलाई प्राधान्यता दिएका छन्। (यशैया ४३:१०-१२) यहोवाको सार्वभौमिकताको विवादमाथि प्रकाश पारेर तिनीहरूले ईश्वरीय नाउँलाई आदर गरेका छन्। र त्यही नाउँ तिनीहरूको निम्ति शरणस्थान साबित भएको छ। (हितोपदेश १८:१०) यहोवाले तिनीहरूलाई प्रशस्त आध्यात्मिक आहार दिनुभएको छ र तिनीहरू कुनै डरबिना आध्यात्मिक प्रमोदवनमा बस्छन्।—सपन्याह ३:१६, १७.
“सारा जातिहरूमध्ये . . . कीर्ति र प्रशंसा”
७, ८. (क) आत्मिक इस्राएलका शेष जनहरूमाथि अर्को कुन भविष्यवाणी पनि पूरा भएको छ? (ख) लाखौं मानिसहरूले कुन कुरा बुझ्न थालेका छन् र यस सम्बन्धमा तपाईंलाई कस्तो लाग्छ?
७ यहोवाको नाउँ तथा उहाँको वचनका धार्मिक सिद्धान्तहरूप्रति शेष जनहरूले देखाएको गहिरो स्नेह अरूको दृष्टिबाट लुकेको छैन। निष्कपट मानिसहरूले शेष जनहरूको चालचलन र यो संसारको राजनैतिक तथा धार्मिक नेताहरूको भ्रष्टाचार अनि पाखण्डबीच भिन्नता देखेका छन्। यहोवाले “[आत्मिक] इस्राएलका बाँकी रहेकाहरू[लाई]” आशिष् दिनुभएको छ। उहाँको नाउँ वहन गर्ने सुअवसर दिएर तिनीहरूको सम्मान गर्नुभएको छ। अनि पृथ्वीका मानिसहरूबीच तिनीहरूको राम्रो छवि बसाल्नुभएको छ। यो सपन्याहले भविष्यवाणी गरेजस्तै भएको छ: “‘त्यसबेला म तिमीहरूलाई घरमा ल्याउनेछु, र त्यही बेला म तिमीहरूलाई जम्मा गर्नेछु। जब म तिमीहरूको सुदिन तिमीहरूकै नजरको सामने फर्काएर ल्याउनेछु तब पृथ्वीका सारा जातिहरूमध्ये म तिमीहरूको कीर्ति र प्रशंसा फिजाउनेछु’ परमप्रभु भन्नुहुन्छ।”—सपन्याह ३:२०.
८ वास्तवमा यहोवाले शेष जनहरूलाई आशिष् दिइरहनुभएको छ भनेर सन् १९३५ देखि लाखौं मानिसहरूले बुझ्न थालेका छन्। तिनीहरू खुशी भएर यसो भन्दै यी आत्मिक यहूदी वा इस्राएलीहरूलाई पछ्याउँछन्: “हामीले सुनेका छौं कि परमेश्वर तपाइँसित हुनुहुन्छ।” (जकरिया ८:२३) ख्रीष्टले “आफ्नो सारा [पार्थिव] सम्पत्तिमाथि नियुक्त” गर्नुभएको “विश्वासी र बुद्धिमान दास” यी शेष अभिषिक्त जनहरू नै हुन् भनी “अरू भेड़ा[ले]” स्वीकार्छन्। दासवर्गले “ठीक ठीक समयमा” तयार पारेको आध्यात्मिक भोजनलाई तिनीहरू कृतज्ञतापूर्वक लिन्छन्।—यूहन्ना १०:१६; मत्ती २४:४५-४७.
९. लाखौं मानिसहरूले कुन “भाषा” बोल्न सिकिरहेका छन् र शेष अभिषिक्त जनहरूसित “एकै हृदयको भएर” अरू भेडाहरूले कुन विशाल काम गरिरहेका छन्?
९ शेष जनहरू सँगसँगै अरू भेडाहरूका यी लाखौं मानिसहरूले “शुद्ध भाषा” अनुरूप बाँच्न र बोल्न सिकिरहेका छन्।a सपन्याह मार्फत यहोवाले यस्तो भविष्यवाणी गर्नुभयो: “त्यस बेला देश देशका मानिसहरूलाई एउटा शुद्ध भाषा बोल्न लाउनेछु, र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरेर एकै हृदयको भएर उहाँको सेवा गर्नेछन्।” (सपन्याह ३:९) हो, “सानो बगाल[का]” अभिषिक्त सदस्यहरूसित “एकै हृदयको भएर” अरू भेडाहरू एकतापूर्वक यहोवाको सेवा गर्छन्। “औ राज्यको यो सुसमाचार सारा संसारमा . . . साक्षीको निम्ति प्रचार” गर्ने महत्त्वपूर्ण काम गर्छन्।—लूका १२:३२; मत्ती २४:१४.
‘यहोवाको दिन . . . आउनेछ’
१०. शेष अभिषिक्त जनहरू कुन कुरामा सधैं विश्वस्त थिए र समूहको हैसियतमा तिनीहरूले कुन कुरा देख्न पाउनेछन्?
१० प्रेरित पत्रुसले प्रेरणाद्वारा लेखेका निम्न शब्दहरूलाई शेष अभिषिक्त जनहरूले सधैं मनमा राखेका छन्: “कसै कसैले सम्झेझैं आफ्नो प्रतिज्ञाको बारेमा प्रभु (यहोवा, न्युव) ढीलो गर्नुहुन्न, तर कोही पनि नष्ट नहोस्, तर सबै जनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभुले (यहोवा, न्युव) तिमीहरूतर्फ धीरज देखाउनुभएको छ। तर प्रभुको (यहोवा, न्युव) दिन चोर जस्तैगरी आउनेछ।” (२ पत्रुस ३:९, १०) विश्वासी दासवर्गका सदस्यहरूले हाम्रो समयमा आउँदै गरेको यहोवाको दिनमाथि कहिल्यै शंका गरेका छैनन्। यरूशलेमको प्रतिरूप मसीहीजगत अनि त्यसपछि महान् बेबिलोनका बाँकी तत्त्वहरूमाथि परमेश्वरको न्याय सुरु हुनेबित्तिकै त्यो भयानक दिन सुरु हुनेछ।—सपन्याह १:२-४; प्रकाश १७:१, ५; १९:१, २.
११, १२. (क) सपन्याहको भविष्यवाणीको अर्को कुन अंश पनि शेष जनहरूमाथि पूरा भएको छ? (ख) “तेरा हातहरू ढीला हुन नपाऊन्” भन्ने आह्वानलाई शेष अभिषिक्त जनहरूले कसरी पालन गरेका छन्?
११ सन् १९१९ मा झूटा धर्मको विश्वव्यापी साम्राज्य महान् बेबिलोनको आध्यात्मिक कैदबाट छुटकारा पाएकोमा विश्वासी शेष जनहरू रमाउँछन्। तिनीहरूले सपन्याहको यस भविष्यवाणीको पूर्ति अनुभव गरेका छन्: “हे सियोनकी छोरी, गा। हे इस्राएल जयजयकार गर्। हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्। तेरो विरुद्धमा भएको न्याय परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरो शत्रुहरूलाई निकालिदिनुभएको छ। इस्राएलका महाराजा, अर्थात् परमप्रभु तेरो बीचमा हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन। त्यस दिन यरूशलेमलाई यसो भनिनेछ, ‘तँ नडरा, हे सियोन। तेरा हातहरू ढीला हुन नपाऊन्।’”—सपन्याह ३:१४-१७.
१२ यहोवा आफ्नोमाझ हुनुहुन्छ भनेर शेष अभिषिक्त जनहरू विश्वस्त छन् अनि तिनीहरूले त्यसको प्रशस्त प्रमाणहरू पनि पाएका छन्। त्यसैले तिनीहरू निर्भयी भएर आफ्नो ईश्वरीय काम पूरा गर्न अगाडि बढेका छन्। तिनीहरूले राज्यको सुसमाचार प्रचार गर्नुका साथै मसीहीजगत, महान् बेबिलोनका बाँकी तत्त्व अनि शैतानको सम्पूर्ण दुष्ट रीतिरिवाज विरुद्ध यहोवाको न्यायवचन सुनाएका छन्। सन् १९१९ देखि हर कठिनाइका बावजूद तिनीहरूले यो ईश्वरीय आज्ञा पालन गरेका छन्: “तँ नडरा, हे सियोन। तेरा हातहरू ढीला हुन नपाऊन्।” यहोवाको राज्यको घोषणा गर्ने अरबौं पर्चा, पत्रिका, पुस्तक तथा पुस्तिकाहरू वितरण गर्न तिनीहरूले मेहनत गरेका छन्। सन् १९३५ देखि तिनीहरूसित झुम्मिन आएका अरू भेडाहरूका लागि तिनीहरू विश्वास-उत्प्रेरक नमुना भएका छन्।
“तेरा हातहरू ढीला हुन नपाऊन्”
१३, १४. (क) केही यहूदीहरू यहोवाको सेवा गर्न किन पछि सरे र त्यो कसरी प्रकट भयो? (ख) हामीले कुन कुरा गरेमा मूर्खतापूर्ण हुनेछ र कुन काममा हाम्रो हात ढीला हुनु हुँदैन?
१३ यहोवाको भयानक दिनलाई ‘पर्खुञ्जेल’ हामीले सपन्याहको भविष्यवाणीबाट कसरी व्यवहारिक मदत पाउन पाउनसक्छौं? प्रथमतः हामी सपन्याहको समयका यहूदीहरूजस्तो हुनु हुँदैन। किनभने तिनीहरूले यहोवाको दिनको निकटताबारे शंका गरेर यहोवाको पछि लाग्न छाडे। त्यस्ता यहूदीहरूले मुखैले त्यस्तो शंका व्यक्त गरेनन् होला। तर यहोवाको दिन नजीकै छ भनेर तिनीहरूले साँच्चै विश्वास गरेनन् भन्ने कुरा तिनीहरूको कामैले देखाइरहेको थियो। यहोवालाई पर्खनुको साटो तिनीहरूले धन सम्पत्ति थुपार्नेतर्फ ध्यान दिए।—सपन्याह १:१२, १३; ३:८.
१४ आफ्नो हृदयमा शंका उब्जन दिने समय अहिले होइन। हाम्रो मन वा हृदयमा यहोवाको दिनलाई टाढा सम्झनु ठूलो मूर्खता हुनेछ। (२ पत्रुस ३:१-४, १०) यहोवाको पछि लाग्न छाड्नु वा उहाँको सेवामा ‘हातहरू ढीला बनाउनुदेखि’ हामी अलग बस्नुपर्छ। त्यसको अर्थ, “सुसमाचार” प्रचार गर्ने काममा हामी “अल्छे” हुनु हुँदैन।—हितोपदेश १०:४; मर्कूस १३:१०.
भावशून्यतासित लड्ने
१५. कुन कुराले गर्दा यहोवाको सेवामा हाम्रो हात अल्छे हुनसक्छ र सपन्याहले यो समस्याबारे कसरी भविष्यवाणी गरे?
१५ दोस्रो, भावशून्यताले गर्दा कमजोर हुनदेखि हामी सतर्क हुनुपर्छ। अधिकांश पश्चिमी देशहरूमा मानिसहरूले आध्यात्मिक कुराहरूमा कुनै चासो नदेखाउने हुँदा केही सुसमाचारकहरू निरुत्साहित हुनसक्छन्। त्यस्तो भावशून्यता सपन्याहको समयमा पनि थियो। यहोवाले आफ्नो अगमवक्ताद्वारा यसो भन्नुभयो: “‘परमप्रभुले नता असल गर्नुहुन्छ न खराब गर्नुहुन्छ’ भन्ने मानिसहरूलाई म सजाय दिनेछु।” (सपन्याह १:१२) यस पद्यांशले “कठोर, भावशून्य वा मानव क्रियाकलापमा सर्वोच्च शक्तिले हस्तक्षेप गर्नुहुन्छ भन्ने कुरामा रत्तिभर विश्वास नगर्ने” मानिसहरूलाई संकेत गर्छ भनेर ए. बी. डेभिडसनले क्याम्ब्रिज बाइबल फर स्कूल्स् एण्ड कलेजेस् (विद्यालय तथा कलेजहरूका लागि क्याम्ब्रिज बाइबल) नामक पुस्तकमा लेखे।
१६. मसीहीजगतको चर्चका अधिकांश सदस्यहरूबीच कस्तो मनस्थिति पाइन्छ तर यहोवाले हामीलाई कस्तो प्रोत्साहन दिनुहुन्छ?
१६ आज सारा संसार र अझ विशेषगरि सम्पन्न राष्ट्रहरूमा भावशून्य प्रवृत्ति व्याप्त छ। हाम्रो समयमा यहोवाले मानव क्रियाकलापमा हस्तक्षेप गर्नुहुनेछ भनेर मसीहीजगतको चर्चका सदस्यहरूले समेत विश्वास गर्दैनन्। हामीले सुसमाचार सुनाउने प्रयत्न गर्दा तिनीहरू शंकालु दृष्टिले हेर्छन् वा “मलाई चासो छैन” भन्ने कटु जवाफ दिन्छन्। यस्तो परिस्थितिमाझ साक्षी कार्यमा लागिरहनु ठूलो चुनौती हुनसक्छ। त्यसले हाम्रो धीरजको जाँच गर्छ। तथापि, यहोवाले सपन्याहको भविष्यवाणी मार्फत आफ्ना विश्वासी जनहरूलाई यसो भन्दै बलियो बनाउनुहुन्छ: “तेरा हातहरू ढीला हुन नपाऊन्। परमप्रभु तेरा परमेश्वर तेरो बीचमा हुनुहुन्छ। उहाँ बचाउनालाई सामर्थी हुनुहुन्छ। तेरो कारण उहाँ आनन्दित हुनुहुन्छ। आफ्ना प्रेममा उहाँले तँलाई फेरि नयाँ तुल्याउनुहुन्छ। पर्वको दिनमा झैं तेरो कारण उहाँ गीत गाएर रमाउनुहुनेछ।”—सपन्याह ३:१६, १७.
१७. अरू भेडाहरूका नयाँ जनहरूले कुन असल नमुना पछ्याउनुपर्छ र कसरी?
१७ वास्तवमा यहोवाका जनहरूको आधुनिक इतिहासलाई हेर्ने हो भने, शेष अभिषिक्त जनका साथै अरू भेडाहरूका पाको जनहरूले यी आखिरी दिनहरूमा मानिसहरूलाई जम्मा गर्ने ठूलो काम गरेका छन्। यी सबै विश्वासी मसीहीहरूले दशकौंदेखि धीरज धारण गरेका छन्। मसीहीजगतका अधिकांश मानिसहरू भावशून्य हुँदा तिनीहरू निरुत्साहित भएका छैनन्। अतः आज अधिकांश मुलुकहरूमा मानिसहरूले आध्यात्मिक कुराप्रति भावशून्यता देखायो भन्दैमा अरू भेडाका नयाँ जनहरू निरुत्साहित नहोऊन्। तिनीहरूले आफ्नो ‘हातलाई ढीला नबनाऊन्’ वा अल्छे नहोऊन्। अनि विशेषगरि भेडाखाले मानिसहरूलाई यहोवाको दिन अनि तत्पश्चात् प्राप्त हुने आशिष्हरूबारे साँचो कुरा बुझ्न मदत गर्ने उद्देश्यले तयार पारिएको प्रहरीधरहरा, ब्यूँझनुहोस्! र अन्य राम्रा प्रकाशनहरू प्रयोग गर्न तिनीहरूले कुनै मौका नचुकाऊन्।
भयानक दिनलाई पर्खंदै अगाडि बढ्नुहोस्!
१८, १९. (क) मत्ती २४:१३ र यशैया ३५:३, ४ मा हामीलाई धीरज धारण गर्न कस्ता प्रोत्साहनहरू दिइएका छन्? (ख) यहोवाको सेवामा एकताबद्ध हुँदै अघि बढ्यौं भने कस्तो आशिष् पाउनेछौं?
१८ येशूले यसो भन्नुभयो: “अन्तसम्म स्थिर रहने चाहिंले उद्धार पाउनेछ।” (मत्ती २४:१३) त्यसकारण, यहोवाको भयानक दिनलाई पर्खंदा हामीसित “कमजोर हात” वा “दुर्बल घुँडाहरू” नहोस्! (यशैया ३५:३, ४) सपन्याहको भविष्यवाणीले यहोवाबारे यस्तो आश्वासन दिन्छ: “उहाँ बचाउनालाई सामर्थी हुनुहुन्छ।” (सपन्याह ३:१७) “महा संकष्ट[को]” अन्तिम चरणमा यहोवाले आफ्नो पुत्रलाई राजनैतिक राष्ट्रहरूलाई धूलोपीठो पार्ने आज्ञा दिनुहुनेछ। हो, उहाँका जनहरूसित अहंकार गर्ने ती राष्ट्रहरू नाश हुँदा “ठूलो भीड़[लाई]” चाहिं उहाँले जोगाउनुहुनेछ।—प्रकाश ७:९, १४; सपन्याह २:१०, ११; भजन २:७-९.
१९ यहोवाको भयानक दिन झन् झन् नजीकिंदै जाँदा हामी चाहिं “एकै हृदयको भएर” जोशपूर्वक उहाँको सेवा गरौं। (सपन्याह ३:९) त्यसो गऱ्यौं भने हामीलगायत अरू अनगिन्ती मानिसहरूले “परमप्रभुको रीसको दिनमा . . . शरण” पाउनुका साथै उहाँको नाउँ पवित्र पारिएको देख्नसक्नेछौं।
[फुटनोट]
a “शुद्ध भाषा[बारे]” सविवरण छलफल गर्नु परेमा वाचटावर अप्रिल १, १९९१, पृष्ठ २०-५ अनि प्रहरीधरहरा मे १, १९९२ को पृष्ठ १६-२६ हेर्नुहोस्।
पुनरावृत्ति
◻ मसीहीजगतभित्रको अवस्था र सपन्याहको समयको धार्मिक स्थिति कुन कुन ढंगमा मिल्दोजुल्दो छ?
◻ आजका अधिकांश राजनैतिक नेताहरू कसरी सपन्याहको समयका सांसारिक “भारादारहरू[जस्तै]” छन्?
◻ शेष जनहरूमाथि सपन्याहका पुस्तकका कस्ता प्रतिज्ञाहरू पूरा भएका छन्?
◻ लाखौं मानिसहरूले कुन कुरा बुझ्न थालेका छन्?
◻ यहोवाको सेवा गर्दा किन हामीले आफ्नो हात ढीला हुन दिनु हुँदैन?
[पृष्ठ १५-मा भएको चित्र]
सपन्याहले जस्तै विश्वासी शेष अभिषिक्त जनहरूले निर्भयतापूर्वक यहोवाको न्यायवचन घोषणा गरिरहेका छन्
[पृष्ठ १८-मा भएको चित्र]
मानिसहरूको भावशून्यताले गर्दा “अरू भेड़ाहरू” निरुत्साही भएका छैनन्