मसीही विश्वासको जाँच हुनेछ
“सबैमा विश्वास छैन।”—२ थिस्सलोनिकी ३:२.
१. सबैमा विश्वास छैन भनेर इतिहासले कसरी देखाएको छ?
इतिहासभरि साँचो विश्वासी पुरुष, महिला तथा केटाकेटीहरू पाइन्छन्। तिनीहरूका विश्वासको अघि “साँचो” भन्ने विशेषण थप्नु अति उपयुक्त छ किनकि अरू करोडौं मानिसहरूले सहजै पत्याएको अर्थात् कुनै मनासिब आधार वा कारणबिना स्वीकार्न तयार हुने खालको विश्वास प्रकट गरेका छन्। यस्तो विश्वासमा अक्सर झूटा देवताहरू वा सर्वशक्तिमान् यहोवा र उहाँको वचनसित मेल नखाने उपासना विथोलित भएको पाइन्छ। अतः प्रेरित पावलले यसो लेखे: “सबैमा विश्वास छैन।”—२ थिस्सलोनिकी ३:२.
२. हामीले आफ्नो विश्वास जाँच्नु किन महत्त्वपूर्ण छ?
२ पावलको उक्त कुराले त्यतिखेर केही मानिसहरू पक्का विश्वासी थिए भन्ने संकेत गर्छ भने अहिले पनि त्यस्ता मानिसहरू छन्। यस पत्रिकाका अधिकांश पाठकहरू यस्तै विश्वास प्राप्त गर्न र त्यो विश्वासमा बढ्दै जान चाहन्छन्। यस्तो विश्वास ईश्वरीय सच्चाइको सही ज्ञानमा आधारित हुन्छ। (यूहन्ना १८:३७; हिब्रू ११:६) के तपाईं पनि त्यसै गर्न चाहनुहुन्छ? चाहनुहुन्छ भने यस्तो विश्वास चिन्नु जरुरी छ अनि विश्वासको जाँच सामना गर्न तयार हुनुहोस्। विश्वासको जाँच हुनेछ भनी कसरी भन्न सकिन्छ?
३, ४. विश्वासको जाँच हुने सन्दर्भमा किन येशूलाई विचार गर्नुपर्छ?
३ हाम्रो विश्वास येशू ख्रीष्टमा केन्द्रित छ भन्ने कुरा हामी कदापि नकार्न सक्दैनौं। भनौं भने, बाइबलले उहाँलाई विश्वास सिद्ध तुल्याउनुहुने भनेको छ। उहाँले भन्नुभएका तथा गर्नुभएका कुरा र विशेषगरि पूरा गर्नुभएका भविष्यवाणीको आधारमा येशूलाई विश्वास सिद्ध तुल्याउनुहुने भनिएको हो। मानिसजातिले विश्वासको जग बसाल्नसक्ने उहाँले बलियो आधार बनाउनुभयो। (हिब्रू १२:२; प्रकाश १:१, २) यद्यपि, येशू “सबै कुरामा हामीजस्तै परीक्षित, र पनि पापरहित हुनुहुन्छ” भनेर हामीले पढ्यौं। (हिब्रू ४:१५) हो, येशूको विश्वास जाँचियो। यस कुराले हामी निरुत्साहित वा आशंकित हुनुको साटो सान्त्वना पाउँछौं।
४ येशूले असामान्य परीक्षाहरू सामना गर्नुहुँदै शूलीको मृत्युसम्म भोग्नुभएर “आज्ञा पालन गर्न सिक्नुभयो।” (हिब्रू ५:८) आफूमाथि आइपर्ने जुनसुकै परीक्षाहरूको बावजूद साँचो विश्वासअनुरूप मानिसहरू जीवन बिताउन सक्छन् भनेर उहाँले प्रमाणित गर्नुभयो। यो खासगरि त्यतिबेला महत्त्वपूर्ण हुन्छ जुनबेला हामी येशूले आफ्ना अनुयायीहरूबारे भन्नुभएको कुरा विचार गर्छौं: “मैले जे कुरा तिमीहरूलाई भनें, त्यो सम्झ, दास आफ्नो मालिकभन्दा ठूलो हुँदैन।” (यूहन्ना १५:२०) वास्तवमा, येशूले हाम्रो समयका आफ्ना अनुयायीहरूबारे यस्तो भविष्यवाणी गर्नुभयो: “मेरो नाउँको खातिर सबै जातिमध्ये तिमीहरू घृणित हुनेछौ।”—मत्ती २४:९.
५. हामीले पनि परीक्षाहरू सामना गर्नेछौं भनेर धर्मशास्त्रले कसरी संकेत गर्छ?
५ यस शताब्दीको प्रारम्भतिर परमेश्वरको परिवारबाट इन्साफ सुरु भयो। धर्मशास्त्रले यस्तो भविष्यवाणी गरेको थियो: “परमेश्वरकै परिवारबाट शुरू भएर इन्साफ हुने बेला आएको छ, र यदि पहिले हामीबाट शुरू हुन्छ भनेता परमेश्वरको सुसमाचार नमान्नेहरूको अन्त कस्तो होला? औ धर्मात्माको कठिनसँग उद्धार हुन्छ भनेता अभक्त र पापीहरूको के ठेगान लाग्ला?”—१ पत्रुस ४:१७, १८.
विश्वासको जाँच—किन?
६. जाँचिएको विश्वास किन मूल्यवान् हुन्छ?
६ एक अर्थमा, नजाँचिएको विश्वास अयोग्य ठहरिन्छ र त्यसको गुनबारे अरू कसैलाई थाह हुँदैन। तपाईं यस्तो विश्वासलाई नगद भुक्तानी नगरिएको चेकसित तुलना गर्न सक्नुहुन्छ। तपाईंले गर्नुभएको कामको खातिर, सरसामानको बदलामा अथवा उपहारस्वरूप चेक पाउनुहोला। यसो हेर्दा त त्यो चेक ठीकै लाग्ला। तर के त्यो भुक्तानी गरिएला? त्यसमा भरिए बराबरको नगद के तपाईंले पाउनुहुन्छ होला त? त्यसैगरि, हाम्रो विश्वास पनि देखावटी हुँदैमा वा विश्वास गर्छु भनेर मात्र पुग्दैन। हाम्रो विश्वास मजबुत र उत्कृष्ट छ भनेर प्रमाणित गर्न चाहन्छौं भने त्यसको जाँच हुनैपर्छ। विश्वासको जाँच भएपछि पो त्यो साँच्चै बलियो र मूल्यवान् रहेछ भनी बुझ्नसक्छौं। हाम्रो विश्वास कुन क्षेत्रमा खार्नुपर्ने अथवा बलियो बनाउनुपर्ने हो, त्यो पनि यस्तो जाँचले देखाउँछ।
७, ८. कस्ता कस्ता स्रोतबाट हाम्रो विश्वासको जाँच हुन्छ?
७ परमेश्वरले हामीमाथि सतावट र अन्य परीक्षाहरू आइपर्न दिनुहुन्छ। हामी यस्तो लेखिएको पाउँछौं: “परीक्षामा पर्दा कुनै मानिसले पनि यसो नभनोस्, ‘परमेश्वरबाट मेरो परीक्षा भएको छ,’ किनभने कुनै खराब कुराबाट परमेश्वरको परीक्षा हुनसक्तैन, औ उहाँ आफैले कुनै मानिसको परीक्षा गर्नुहुन्न।” (याकूब १:१३) त्यसोभए, यस्ता परीक्षाहरूका लागि को वा के दोषी छ त? शैतान, यस संसार र हाम्रो आफ्नै असिद्ध शरीर।
८ शैतानले यस संसार, संसारका सोचविचार र तौरतरिकाहरूमा जोरदार प्रभाव पारेको छ भनेर सायद हामी मानिलिन्छौ। (१ यूहन्ना ५:१९) अनि त्यसले मसीहीहरू विरुद्ध सतावट ओइराउँछ भनेर पनि हामी जान्दछौं। (प्रकाश १२:१७) तर हामी प्रलोभनदेखि हार मान्नेछौं, परमेश्वरप्रति अनाज्ञाकारी हुनेछौं अनि यहोवाको अनुमोदन गुमाउनेछौं भन्ने आशा गर्दै शैतानले हाम्रो असिद्ध शरीरलाई उक्साएर, सांसारिक प्रलोभनमा पारेर बहकाउने कोसिस गर्छ भनेर पनि के हामी उत्तिकै विश्वस्त छौं? निस्सन्देह, शैतानका तरकीबहरूले हामीलाई छक्क नपार्नुपर्ने हो किनकि त्यसले येशूलाई प्रलोभनमा पार्ने कोसिस गर्दा त्यस्तै चाल चलेको थियो।—मत्ती ४:१-११.
९. विश्वासका उदाहरणहरूबाट हामी कसरी फाइदा उठाउनसक्छौं?
९ यहोवाले हामीलाई आफ्नो वचन र मसीही मण्डली मार्फत विश्वासका सकारात्मक उदाहरणहरू दिनुभएको छ। हामी ती उदाहरणहरू अनुकरण गर्नसक्छौं। पावलले यस्तो सल्लाह दिए: “ए भाइ हो, तिमीहरू मसँगसँगै मेरा देखासिकी गर्नेहरू होओ, र जसरी हामी तिमीहरूका नमुना भएका छौं त्यसरी हिंडनेहरूलाई हेर।” (फिलिप्पी ३:१७) परमेश्वरका प्रथम शताब्दीका अभिषिक्त सेवक पावलले असामान्य परीक्षाहरूको बावजूद विश्वासको क्रियाकलाप अघि बढाउने अगुवाइ लिए। अहिले २० औं शताब्दीको अन्तमा पनि विश्वासका यस्ता उदाहरणहरूको कमी छैन। पावलले हिब्रू १३:७ का शब्दहरू लेखेका बेला ती जति प्रभावशाली थिए अहिले पनि उत्तिकै छन्: “तिमीहरूलाई परमेश्वरको वचन सुनाउने र तिमीहरूका अगुवाहरूलाई सम्झ र तिमीहरूका जीवनको नतिजालाई विचार गरेर तिनीहरूको विश्वासको देखा-सिकि गर।”
१०. वर्तमान समयमा हामीसँग विश्वासका कस्ता विशेष उदाहरणहरू छन्?
१० विशेषगरि, शेष अभिषिक्त जनहरूको आचरणलाई विचार गर्दा उक्त सल्लाह प्रभावकारी पाउँछौं। हामी तिनीहरूको उदाहरण मनन र विश्वास अनुकरण गर्नसक्छौं। तिनीहरूको विश्वास परीक्षाहरूद्वारा खारिएर साँचो साबित भएको छ। सन् १८७० दशकका मुठीभर मानिसहरू वृद्धि भएर अहिले विश्वव्यापी मसीही भ्रातृत्व बनेको छ। त्यस समयदेखिका अभिषिक्त जनहरूको विश्वास र धैर्यले गर्दा अहिले यहोवाका ५५ लाखभन्दा बढी साक्षीहरूले परमेश्वरको राज्यबारे प्रचार गरिरहेका र सिकाइरहेका छन्। वर्तमान समयका जोसिला उपासकहरूको विश्वव्यापी जमात जाँचिएको विश्वासको प्रमाण हो।—तीतस २:१४.
सन् १९१४ मा विश्वासको जाँच
११. सि. टि. रसल र तिनका साथीहरूका लागि सन् १९१४ कुन अर्थमा उल्लेखनीय समय थियो?
११ प्रथम विश्वयुद्ध सुरु हुनुभन्दा वर्षौंअघिदेखि शेष अभिषिक्त जनहरूले बाइबल भविष्यवाणीअनुसार १९१४ एउटा उल्लेखनीय वर्ष हुनेछ भनी उद्घोषणा गरिरहेका थिए। तथापि, तिनीहरूका कतिपय प्रत्याशाहरू समयअगावै अनुमान गरिएका थिए र तिनीहरूले लख काटेका कुराहरू पूर्णतया सही थिएनन्। उदाहरणका लागि, वाच टावर सोसाइटीका प्रथम अध्यक्ष सि. टि. रसल र तिनका साथीहरूले व्यापक तवरमा प्रचारकार्य गर्नुपर्ने आवश्यकता देखे। तिनीहरूले यो कुरा पढेका थिए: “राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती २४:१४) यद्यपि, तिनीहरूको सानो समूहले कसरी यो काम गर्नसक्थ्यो त?
१२. रसलका एक जना साथीले बाइबल सच्चाइप्रति कस्तो प्रतिक्रिया देखाए?
१२ उक्त कुराले रसलका साथी ए. एच. म्याकमिलनमाथि कस्तो प्रभाव पाऱ्यो, ध्यान दिनुहोस्। म्याकमिलनको जन्म क्यानाडामा भएको थियो। तिनले २० वर्ष नपुग्दै रसलद्वारा लिखित युगानुयुगको योजना (१८८६, अंग्रेजी) नामक पुस्तक हात पारेका थिए। (यस पुस्तकलाई युगानुयुगको ईश्वरीय योजना पनि भनिन्छ र यही नै व्यापक तवरमा वितरण भएको धर्मशास्त्रको अध्ययन-को [अंग्रेजी] खण्ड १ हुन गयो। समय नजिकै छ [१८८९, अंग्रेजी] नामक यस पुस्तकको खण्ड २ ले १९१४ साल “अन्यजातिको समय[को]” अन्त भनी औंल्यायो। [लूका २१:२४]) म्याकमिलनले त्यही रातदेखि त्यो पुस्तक पढ्न थाले र मनमनै सोचे: “ओहो! सच्चाइ यही हो जस्तो छ!” सन् १९०० को ग्रीष्म याममा त्यतिखेर बाइबल स्टुडेन्ट्स भनिने यहोवाका साक्षीहरूको अधिवेशनमा रसलसँग तिनको भेट भयो। केही समय नबित्दै तिनले बप्तिस्मा लिए अनि भाइ रसलसँग सोसाइटीको न्यु योर्कस्थित मुख्यालयमा काम गर्न थाले।
१३. मत्ती २४:१४ को पूर्तिबारे म्याकमिलन र तिनका साथीहरूले कस्तो समस्या देखे?
१३ बाइबल अध्ययनको आधारमा अभिषिक्त मसीहीहरूले १९१४ मा परमेश्वरको उद्देश्यले एउटा नयाँ मोड लिनेछ भनी औंल्याए। तर बाँकी रहेको थोरै समयमा मत्ती २४:१४ को भविष्यवाणीबमोजिम कसरी सबै जातिलाई प्रचार गर्न सकिएला भनेर म्याकमिलन तथा अन्य भाइहरू छक्क परे। तिनले पछि यसो भने: “यस विषयमा भाइ रसलसँग बारम्बार बहस गरेको मलाई अझै याद छ। तिनी यसो भन्थे: ‘भाइहरू हो, यरूशलेममा भन्दा न्यु योर्कमा धेरै यहूदीहरू छन् नि। डब्लिनमा भन्दा यहाँ धेरै आइरिसहरू छन्। अनि रोममा भन्दा यहाँ धेरै इटालेलीहरू छन्। तिनीहरूलाई यहीं प्रचार गऱ्यौं भने सबै जातिहरूलाई सन्देश सुनाएको बराबर नै त हो।’ तर तिनको यस्तो कुराले हाम्रो चित्त बुझेन। तसर्थ, हामीले ‘फोटो ड्रामा’ बनाउने विचार गऱ्यौं।”
१४. सन् १९१४ अघिसम्म कस्तो उल्लेखनीय कार्य भइरहेको थियो?
१४ “फोटो ड्रामा अफ क्रिएशन” एउटा अपूर्व काम साबित भयो! यसमा फोनोग्राफमा रेकर्ड गरिएका बाइबलआधारित भाषण तथा धुनसँग ठ्याक्क मिलाइएका चलचित्र तथा रंगिन स्लाइडहरू समावेश थिए। संयुक्त राज्य अमेरिकास्थित आर्कान्सासमा सम्पन्न अधिवेशनबारे १९१३ मा प्रहरीधरहरा-ले (अंग्रेजी) यसो भन्यो: “चलचित्रहरू प्रयोग गरेर बाइबल सत्य सिकाउने समय आएको छ भनी सोसाइटीको सर्वसम्मतिले निश्चय गरेको छ। . . . [रसलले] तीन वर्षदेखि यस योजनामा काम गरिरहेको कुरा बताएका थिए। अहिलेसम्म सयवटा जति सुन्दर चित्रहरू प्रायः तयार भइसकेका छन्। निस्सन्देह, यसले ठूलो भीडलाई आकर्षित गर्नेछ अनि सुसमाचार घोषणा गर्नुका साथै मानिसहरूलाई पुनः परमेश्वरप्रतिको विश्वासमा सुदृढ बनाउनेछ।”
१५. “फोटो ड्रामा”-ले कस्ता परिणामहरू ल्यायो?
१५ जनवरी १९१४ मा प्रथमपटक “फोटो ड्रामा” प्रदर्शनले आफ्नो लक्षित उद्देश्य पूर्ति गऱ्यो। सन् १९१४ को प्रहरीधरहरा-बाट (अंग्रेजी) उद्धृत रिपोर्ट यसप्रकार छन्:
अप्रिल १: “एक जना सेवकले ड्रामाको दुई भाग हेरेपछि यसो भने, ‘मैले फोटो ड्रामा अफ क्रिएशन-को आधा भाग जति हेरेको छु। तर धर्मविज्ञानसम्बन्धी पाठशालामा तीन वर्ष अध्ययन गर्दा मैले बाइबलबारे जे जति सिकें, यसबाट त्योभन्दा बढी सिकेको छु।’ एक जना यहूदीले ड्रामा हेरेपछि यसो भने, ‘म यहाँबाट अझ असल यहूदी भएर फर्कंदैछु। थुप्रै क्याथोलिक पूजाहारी तथा ननहरूले यो ड्रामा हेरेर गहिरो मूल्यांकन व्यक्त गरेका छन्। . . . अहिलेसम्म यस ड्रामा-का मात्र बाह्र सेटहरू तयार गरिएका छन् . . . यद्यपि, यसलाई ३१ वटा शहरहरूमा देखाइसकेका छौं . . . प्रत्येक दिन ३५,००० भन्दा बढी मानिसहरूले हेर्दैछन्, सुन्दैछन्, प्रशंसा गर्दैछन्, विचार गर्दैछन् र लाभ उठाउँदैछन्।’ ”
जून १५: “ती चित्रहरूले गर्दा सच्चाइ फैलाउन अझ जोसिलो भएको छु। अनि स्वर्गमा हुनुहुने पिता र हाम्रा जेठा दाइ येशूप्रतिको मेरो प्रेम अझ प्रगाढ भएको छ। फोटो ड्रामा अफ क्रिएशन र यसलाई प्रदर्शन गर्न पसिना बगाइरहेका सबैमाथि परमेश्वरको प्रशस्त आशिष् होस् भनी दिनहुँ प्रार्थना गर्छु . . . परमेश्वरको सेवामा तपाईंको सेवक, एफ. डब्लु. नोच।—आयोवा।”
जुलाई १५: “ड्रामाका चित्रले यस शहरमा असाध्यै राम्रो प्रभाव पारेको देखेर हामी दंगदास छौं। यस ड्रामाद्वारा साक्षी दिनाले आफूलाई प्रभुको रत्न साबित गर्ने थुप्रै मानिसहरू जम्मा गर्ने काम पूरा हुनेछ भनी हामी आश्वस्त छौं। यहाँ केही उत्सुक बाइबल विद्यार्थीहरूले फोटो ड्रामाकै परिणामस्वरूप मण्डलीसँग संगत गर्न थालेका छन्। . . . प्रभुमा तपाईंहरूकी बहिनी, इमा एल. ब्रिकर।”
नोभेम्बर १५: “किंग्सवेस्थित लन्डन नाट्यशालामा प्रदर्शित फोटो ड्रामा अफ क्रिएशन मार्फत शानदार साक्षी दिइयो भन्ने सुन्न पाउँदा तपाईंहरू पक्कै खुसी हुनुहुनेछ। ड्रामाका हरेक पक्षमा अद्भुत ढंगमा प्रभुको डोऱ्याइ झल्किएको छ। अतः भाइहरू साह्रै हर्षित छन् . . . दर्शकहरूमा विभिन्न आर्थिक तथा सामाजिक स्तरका र जातिका मानिसहरू थिए; थुप्रै पादरीहरू समेत उपस्थित भए। एक जना भिकारले त . . . फेरि आएर आफ्नो पत्नीसँग ड्रामा हेर्नलाई टिकटसमेत मागे। चर्च अफ इंगल्याण्डका एक जना पादरीले दोहऱ्याइ तेहऱ्याइ हेरे, . . . अनि ड्रामा हेर्न आफ्ना थुप्रै साथीहरू पनि ल्याए। दुई जना विशप र थुप्रै ठूलाबडा व्यक्तिहरू पनि उपस्थित भए।”
डिसेम्बर १: “हामीले तपाईंहरू मार्फत पाएको अपार तथा अमूल्य आशिष्का लागि म र मेरी श्रीमती स्वर्गमा हुनुहुने पितालाई धन्यवाद दिन्छौं। तपाईंहरूको आकर्षक फोटो ड्रामा हेर्न पाएकै कारण हामीले सच्चाइ स्वीकाऱ्यौं . . . हामीसँग तपाईंहरूको धर्मशास्त्रको अध्ययन-का (अंग्रेजी) छवटा खण्डहरू छन्। यी अति नै मदतकारी छन्।”
त्यतिबेला परीक्षाहरूको सामना कसरी गरियो
१६. सन् १९१४ मा किन विश्वासको जाँच भयो?
१६ तथापि, प्रभुलाई भेट्ने आफ्नो प्रत्याशा १९१४ मा पूरा नहुँदा ती निष्कपट तथा समर्पित मसीहीहरूलाई के भयो? त्यतिबेला जत्तिको परीक्षाहरू पहिले कहिल्यै भोगिएको थिएन। नोभेम्बर १, १९१४ प्रहरीधरहरा-ले (अंग्रेजी) यसो भन्छ: “नबिर्सौं, हामीले परीक्षाका घडीहरू बिताइरहेका छौं।” यस सन्दर्भमा यहोवाका साक्षीहरू—परमेश्वरको राज्यका उद्घोषकहरू (अंग्रेजी, १९९३) नामक पुस्तकले यसो भन्यो: “साँच्चै १९१४ देखि १९१८ सम्मका वर्षहरू बाइबल स्टुडेन्ट्सका लागि ‘परीक्षाको घडी’ नै साबित भयो।” त्यसउप्रान्त साक्षी दिने महान् कार्यमा लाग्न के तिनीहरूले आफ्नो विश्वासलाई खारिन दिए? अनि के आफ्नो सोचविचारमा काँटछाँट गरे?
१७. सन् १९१४ पश्चात् पनि संसारमै रहिरहने विषयमा विश्वासी अभिषिक्त जनहरूले कस्तो प्रतिक्रिया देखाए?
१७ सेप्टेम्बर १, १९१६ प्रहरीधरहरा-ले (अंग्रेजी) यसो भन्यो: “हामीले चर्चका सदस्यहरू [अभिषिक्त जनहरू] जम्मा गर्ने काम अन्य जातिहरूको समय अन्त हुनुअगावै पूरा होला भन्ठानेका थियौं; तर यसबारे बाइबलमा प्रस्टसित केही बताइएको थिएन। . . . के कटनी गर्ने कार्य अहिलेसम्म चलिरहेकोमा हामी दुःखी छौं त? . . . प्रिय भाइहरू हो, हाम्रो वर्तमान मनोवृत्ति परमेश्वरप्रति अपार कृतज्ञता झल्काउने, उहाँले हामीलाई बुझ्ने र चिन्ने सुअवसर दिनुभएको हृदयग्राही सच्चाइबारे अझ धेरै जान्ने र त्यो सच्चाइ अरूलाई बुझ्ने मदत दिन झनै जोसिलो हुने हुनुपर्छ।” तिनीहरूको विश्वासको जाँच भयो। यद्यपि, तिनीहरूले त्यसको सामना गरे र सफल पनि भए। तर विश्वासको जाँच अनेकौंपटक र विभिन्न प्रकारले हुन्छ भनेर मसीहीहरू सचेत हुनुपर्छ।
१८, १९. भाइ रसलको मृत्युको केही समयपश्चात् परमेश्वरका जनहरूमाथि अरू कस्ता विश्वासका जाँचहरू आइपरे?
१८ उदाहरणका लागि, भाइ चार्ल्स टि. रसलको मृत्युको केही समयपश्चात् शेष जनहरूमाथि अर्को प्रकारको जाँच आइपऱ्यो। त्यो थियो, तिनीहरूको वफादारी र विश्वासको जाँच। मत्ती २४:४५ मा उल्लिखित “विश्वासी र बुद्धिमान दास” को हुन्? कसै कसैको विचारमा भाइ रसल थिए। फलतः संगठनका नयाँ प्रबन्धहरूमा सहयोग पुऱ्याउन तिनीहरू हिचकिचाए। रसल नै विश्वासी र बुद्धिमान् दास थिए भने तिनको मृत्युपछि अरू भाइहरूले के गर्ने? तिनीहरू कुनै नवनियुक्त व्यक्तिको पछि लाग्ने कि यहोवाले एक जना मात्र नभएर सम्पूर्ण मसीहीहरूलाई माध्यम वा दासको रूपमा प्रयोग गरिरहनुभएको छ भनेर बुझ्ने?
१९ साँचो मसीहीहरूमाथि १९१८ मा अर्को जाँच आइपऱ्यो। त्यतिखेर, मसीहीजगत्का पादरीहरूद्वारा उक्साएका सांसारिक अख्तियारवालाहरूले यहोवाको संगठन विरुद्ध ‘नियमद्वारा अधर्म रचे।’ (भजन ९४:२०) उत्तर अमेरिका र युरोपमा बाइबल स्टुडेन्ट्सहरूमाथि हिंसात्मक सतावट सुरु भयो। पादरीहरूद्वारा उत्प्रेरित विरोध मे ७, १९१८ का दिन चरम सीमामा पुग्यो। त्यस दिन सं. रा. सं.-ले जे. एफ. रदरफोर्ड र ए. एच. म्याकमिलनलगायत तिनका थुप्रै साथीहरू गिरफ्तार गर्ने पुर्जी दियो। तिनीहरूमाथि राजद्रोहको झूटो आरोप लगाइयो र तिनीहरूले आफू निर्दोष भएको सफाइ दिंदा अख्तियारवालाहरूले कानमा तेल हालेर बसे।
२०, २१. मलाकी ३:१-३ मा भविष्यवाणी गरिएबमोजिम अभिषिक्त जनहरूबीच के गरियो?
२० त्यतिखेर बुझ्न नसकिए तापनि मलाकी ३:१-३ मा बताइएबमोजिम खार्ने काम भइरहेको थियो: “उनको आउने दिनमा को टिक्नसक्छ? औ उनी देखा पर्दा को खड़ा हुनसक्छ? किनकि उनी [करारको दूत] सुनारको आगो र धोबीको साबुनजस्तै छन्। चाँदी खार्ने र सफा गर्ने जस्तो गरी उनी बस्नेछन्, र लेवीका सन्तानलाई उनले शुद्ध पार्नेछन्, र सुन र चाँदीझैं निर्मल पार्नेछन्। औ तिनीहरूले धर्मसित परमप्रभुमा भेटी चढ़ाउनेछन्।”
२१ प्रथम विश्वयुद्ध अन्त हुनै लाग्दा केही बाइबल स्टुडेन्ट्सहरूले विश्वासको अर्को जाँच सामना गर्नुपऱ्यो। त्यो थियो, सांसारिक सैनिक मामिलाहरूमा कडिकडाइका साथ तटस्थ रहने कि नरहने। (यूहन्ना १७:१६; १८:३६) कोही कोही त तटस्थ रहेनन्। अतः यहोवाले आफ्ना उपासकहरूको सानो झुन्डलाई सांसारिक कलंकहरूबाट शुद्ध पार्न १९१८ मा “करारका दूत” येशू ख्रीष्टलाई आफ्नो आध्यात्मिक मन्दिरमा पठाउनुभयो। साँचो विश्वास प्रदर्शित गर्नेहरूले त्यस अनुभवबाट सिके र जोसिला भएर प्रचारकार्यमा अघि बढीरहे।
२२. विश्वासको जाँचबारे के छलफल गर्न बाँकी नै छ?
२२ अहिलेसम्म हामीले जे छलफल गऱ्यौं, त्यो ऐतिहासिक चासोको विषय मात्र होइन। यहोवाका विश्वव्यापी मण्डलीहरूको वर्तमान आध्यात्मिक स्थितिसित यसको प्रत्यक्ष सम्बन्ध छ। आउनुहोस्, आज परमेश्वरका जनहरूले सामना गर्नुपरेका केही विश्वासका जाँचहरूबारे यसपछिको लेखमा विचार गरौं। अनि त्यस्ता जाँचहरू हामी कसरी सफलतासाथ सामना गर्नसक्छौं, हेरौं।
के तपाईंलाई सम्झना छ?
◻ यहोवाका जनहरूले आफ्नो विश्वासको जाँच हुनेछ भनेर किन आशा गर्नुपर्छ?
◻ परमेश्वरको सन्देश फैलाउन १९१४ अघि के कस्ता प्रयासहरू भइरहेका थिए?
◻ “फोटो ड्रामा”-मा के थियो र यसले कस्ता परिणामहरू ल्यायो?
◻ अभिषिक्त जनहरूका लागि १९१४-१८ का वर्षहरू कसरी परीक्षाका घडी साबित भए?
[पृष्ठ १२-मा भएको चित्र]
उन्नाइसौं शताब्दीको अन्त र २० औं शताब्दीको प्रारम्भतिर थुप्रै मुलुकका मानिसहरूले “सहस्रवर्षीय प्रभात” (अंग्रेजी) श्रृंखलाबाट बाइबल अध्ययन गरिरहेका थिए। यस श्रृंखलालाई पछि “धर्मशास्त्रको अध्ययन” भनियो
[पृष्ठ १३-मा भएको चित्र]
सि. टि. रसलले दृश्य र श्रव्य संयोजनका लागि पठाएको पत्रको भूमिकामा यसो भनेका छन्: “ ‘फोटो ड्रामा अफ क्रिएशन’ आइ बि एस ए—[इन्टरनेशनल बाइबल स्टुडेन्टस् एसोसिएशन] -द्वारा प्रस्तुत गरिएको हो। यसको उद्देश्य धार्मिक एवं वैज्ञानिक तथ्यहरूसहित बाइबललाई पुष्टि गर्दै मानिसहरूलाई शिक्षा दिनु हो”
[पृष्ठ १५-मा भएको चित्र]
डेमेत्रियस पापाजर्ज “फोटो ड्रामा अफ क्रिएशन” देखाउँदै हिंड्थे। पछि, मसीही तटस्थताको कारण थुनामा परे