येशूको जीवन र सेवकाई
रूचाइएको एक जना अलौकिक शासक
येशूले चमत्कार द्वारा हजारौंलाई खुवाउनु हुँदा, मानिसहरू छक्क पर्छन्। तिनीहरूले आपसमा “संसारमा आउने अगमवक्ता साँच्चै यहाँनै हुनुहुँदोरहेछ,” भन्छन्। येशू, मोशा भन्दा महान अगमवक्ता मात्र होइन, तर उहाँ वास्तवमा सबैले रूचाइएका एक जना शासक पनि हुन सक्नु हुनेछ भन्ने निष्कर्षमा तिनीहरू आउँछन्। यसकारण, बलजफतले उहाँलाई पक्रेर राजा बनाउने योजना तिनीहरूले गर्छन्।
तर तिनीहरूको यो योजना बारे येशूलाई थाह हुन्छ। उहाँ तिनीहरूले बलजफत गर्नु अघि, चाँड़ै नै हिड़िहाल्नुहुन्छ। भीड़हरू सँग विदा लिनु भएपछि, आफ्ना चेलाहरूलाई डुङ्गामा चढ़ेर कफर्नहुम फर्कन लाउनु हुन्छ। त्यस पछि, उहाँ डाँड़ामा प्रार्थना गर्न जानु हुन्छ। त्यो रात येशू त्यहाँ एकलै बस्नु हुन्छ।
बिहान हुनु भन्दा केही बेर अघि, तल समुद्रका छालहरूलाई एउटा तेज बतासले माथि-माथि उचाली रहेको, येशूले डाँड़ाबाट देख्नु हुन्छ। निस्तार चाड़ नजिक भएको हुनाले, जूनको ज्योति छाएको छ। येशूले उहाँका चेलाहरू डुङ्गामा छालहरू सँग सँघर्ष गरिरहेको देख्नु हुन्छ। तिनीहरू आफ्नो भएभरको शक्तिले डुङ्गा ख्याइरहेका हुन्छन्।
यो देखेर, येशू डाँड़ाबाट तल ओर्लनु हुन्छ र छालहरूको बीचबाट हुँदै डुङ्गा तिर हिड़न थाल्नु हुन्छ। तीन चार मिल हिड़ि सके पछि, उहाँ चेलाहरू कहाँ आइ पुग्नु हुन्छ। तर उहाँ अझ अघि जानलागे जस्तै गर्नु हुन्छ। त्यत्तिकैमा तिनीहरूले उहाँलाई देख्छन् र चर्को सोरमा, “यो ता भूत हो!” भनेर कराउँछन्।
तर येशूले सान्त्वना साथ एसो भन्नु हुन्छ: “मै हूँ। नडराओ।”
तर पत्रुसले भने: “हे प्रभु, तपाईं नै हुनुहुन्छ भने, मलाई तपाईंकहाँ पानी माथि-माथि आउने आज्ञा दिनुहोस्।”
येशूले, “आऊ!” भन्नु हुन्छ।
पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानी माथि हिड़न थाल्छन्। तर बतास देखेर, पत्रुस डराउँछन् र डुब्न लागे पछि, चिच्याएर, “हे प्रभु, मलाई बचाउनु होस्!” भन्छन्।
झट्टै येशूले हात पसारेर पत्रुसलाई एसो भन्नु हुँदै समात्नु हुन्छ: “ए अल्पविश्वासी, किन शङ्का गर्यौ?”
पत्रुस र येशू डुङ्गा भित्र पसे पछि बतास शान्त हुन्छ र चेलाहरू छक्क पर्छन। तर के तिनीहरू छक्क पर्नु उचित् हो र? केही घण्टा अघि मात्र येशूले पाँच वटा रोटी र दुई स-साना माछाहरूले हजारौंलाई खुवाउने चमत्कारको मुल्याङ्कन गर्दै, तिनीहरूले “रोटीहरूका विषयको कुरा” बुझेका भए, उहाँ पानीमा हिड़नु भएर बतासलाई शान्त पार्नु भएको कुरा तिनीहरूका लागि त्यत्तिको आश्चर्यचजनक नहुनु पर्ने हो। तर अब, चेलाहरूले येशूलाई भक्ति चड़ाउँदै एसो भन्छन्: “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुँदोरहेछ।”
थोरै समय पश्चात् तिनीहरू गनेसरेतमा पुग्छन्। यो ठाउँ, कफर्नहुमको नजिक, एउटा सुन्दर र उर्वरा तराई हो। त्यहाँ तिनीहरूले आफ्नो डुङ्गाको लङ्गर खसाल्छन्। तर तिनीहरू सबै किनारा तिर जाँदा, मानिसहरूले येशूलाई चिन्छन् र त्यस इलाकामा वरिपरि मानिसहरू पठाएर रोग लागेका सबैलाई उहाँकहाँ खाट खाटमा बोकेर ल्याउँछन्। यी रोगीहरूले उहाँको वस्त्रको छेउ मात्र छोएतापनि, तिनीहरू सम्पूर्णतया निको हुन्छन्।
येशूले हजारौंलाई खुवाउनु भएको चमत्कार देख्ने भीड़ले, येशू गइ सक्नु भएको कुरा भोलीपल्ट थाह पाउँछन्। यसकारण, तिबेरियासबाट साना साना डँङ्गाहरू आउँदा, तिनीहरू यी डुङ्गाहरूमा चढ़ेर कफर्नहुम तिर, येशूलाई खोज्न जान्छन्। तिनीहरूले उहाँलाई फेला पारे पछि, यो प्रश्न गर्छन्: “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?” येशूको उत्तरमा धेरै कुरा प्रकट हुनेछ। यूहन्ना ६:१४-२५; मत्ती १४:२२-३६; मर्कूस ६:४५-५६.
◆ येशूले चमत्कार द्वारा हजारौंलाई खुवाउनु भए पछि, मानिसहरूले उहाँबाट के चाहन्छन्?
◆ येशूले, आफू एकान्तमा बसीरहनु भएको डाँड़ाबाट के देख्नुहुन्छ र यस पछि के गर्नु हुन्छ?
◆ यी सबै कुरा देखेर चेलाहरू छक्क पर्नु किन उचित् थिएन?
◆ तिनीहरू किनारा लागे पछि, के हुन्छ? (w87 9/15)