बाइबलकालीन यरूशलेम—पुरातत्त्वले के प्रमाणित गर्छ?
विशेषगरि सन् १९६७ देखि यता यरूशलेममा चाखलाग्दो र ठूलठूला पुरातात्त्विक क्रियाकलापहरू भएका छन्। उत्खनन गरिएका थुप्रै ठाउँहरू आज जनसाधारणले हेर्नसक्छन्। तसर्थ, आउनुहोस् तीमध्ये केही ठाउँको यसो भ्रमण गरौं र हेरौं, कसरी पुरातत्त्व र बाइबल इतिहास एकअर्कामा मेल खाँदो रहेछ।
राजा दाऊदको यरूशलेम
राजा दाऊदको पुरातन शहर बसालिएको ठाउँ अर्थात् बाइबलमा सीनै पर्वत भनिएको क्षेत्र आधुनिक यरूशलेमको मुख्य शहरभित्र पर्छ र त्यसको अहिले महत्त्वै नभएको जस्तो देखिन्छ। मरिसकेका प्राध्यापक यिगाल शीलोको नेतृत्वमा सन् १९७८-८५ बीच उत्खनन गर्दा पूर्वी डाँडापट्टि भऱ्यांग भऱ्यांग परेको विशाल बनावट वा टेको दिने पर्खाल फेला पऱ्यो।
प्राध्यापक शीलोले यसलाई भऱ्यांग भऱ्यांग परेको पर्खालको विशाल बनावटका भग्नावशेषहरू हुन् भनेर दाबी गरे। त्यसैमाथि यबूसीहरूले (दाऊदको विजयअघिका बासिन्दाहरू) किल्ला खडा गरे। तिनले के बताए भने, यी पर्खालहरूमाथि पाइएको भऱ्यांग भऱ्यांग परेको बनावट दाऊदले यबूसीहरूको किल्ला भएको ठाउँमा बनाएको नयाँ गढीको भाग थियो। दोस्रो शमूएल ५:९ मा यस्तो लेखिएको पाउँछौं: “दाऊद त्यही गढीमा बस्नलागे, र त्यसलाई दाऊदको शहर भनिन थालियो। दाऊदले मिल्लोदेखि सुरु गरेर त्यसको चारैतिर भित्रपट्टि शहर बनाए।”
यसै गढीको नजीकै पुरातन शहरमा पानी ल्याइने नहरहरू छन्। तीमध्ये कतिवटा त दाऊदको समयको जस्तो देखिन्छ। यरूशलेमको पानीको नाला प्रणालीबारे बाइबलमा गरिएका कतिपय कथनहरूले प्रश्न खडा गरेका छन्। उदाहरणका लागि, दाऊदले आफ्ना मानिसहरूलाई यसो भने “हरेक जसले यबूसीलाई मार्छ त्यसले . . . पानीको नालाबाट पसेर मारोस्।” (२ शमूएल ५:८) अनि दाऊदको सेनापति योआबले त्यसै गरे। “पानीको नाला” भन्ने अभिव्यक्तिको खास अर्थ के हो?
प्रसिद्ध शीलोम नालाबारे पनि अरू प्रश्नहरू उठेका छन्। सम्भवतः यो नाला सा.यु.पू. आठौं शताब्दीमा हिजकियाह राजाका इञ्जिनियरहरूले खनेका थिए र यो कुरा २ राजा २०:२० अनि २ इतिहास ३२:३० मा उल्लेख गरिएको छ। दुइ विपरीत दिशाबाट खन्नेहरूले यो नाला कसरी जोड्न सके? सोझो सुरुङ खन्नुको साटो तिनीहरूले किन बांगोटेढो गरेर लामो सुरुङ खन्न चाहे? विशेषगरि, तिनीहरूले टुकी बालेर काम गर्न थालेदेखि त्यतिबेला कसरी सास फेर्नको लागि प्रशस्त हावा पाए होलान्?
बाइबलीय पुरातत्त्व पुनरावलोकन (अंग्रेजी) पत्रिकाले यी प्रश्नहरूको सन्तोषजनक जवाफ दिएको छ। यस उत्खननको भूतत्त्व सर्वेक्षणका परामर्शकर्त्ता डान गिलले भनेको कुरा यसरी उद्धृत गरिन्छ: “दाऊदको शहरमुनि पूर्ण-विकसित प्राकृतिक कार्स्ट प्रणाली छ। कार्स्ट भूतत्त्वसम्बन्धी शब्द हो र यसले जमिनमुनिका चट्टानहरूमा पानी सोसिएर बग्दा बनिने ओडार तथा कुलो अर्थात् खाल्डाखोल्डी भएको ठाउँलाई बुझाउँछ। दाऊदको शहरमुनि भएको पानी संग्रह गरिने ठाउँको भूतात्त्विक जाँचपड्तालले के देखाउँछ भने, भूक्षयद्वारा बनिएको प्राकृतिक (कार्स्टिंक) कुलो र खाडलहरूलाई वास्तवमा दक्ष मानिसहरूले बनाएका हुन्। त्यसको अर्थ, ती कुलो र खाडलहरूलाई पानी आपूर्ति गर्ने प्रणाली बनाउनमा प्रयोग गरियो।”
शीलोम नाला कसरी उत्खनन गरियो भनेर उपरोक्त कुराले बताउनसक्छ। पहाडमुनिको बांगोटेढो प्राकृतिक कुलोकै रूपमा यसलाई खनेर ल्याउन सकिन्थ्यो। दुइतिरबाट खन्नेहरूले त्यहाँको ओडारहरूलाई हेरफेर गरेर अस्थायी सुरुङ खन्नसक्थे। त्यसपछि, गिहोन तलाउबाट शीलोम पोखरीसम्म पानी बग्ने कुलो खनियो। यो चाहिं इञ्जिनियर कार्यको साँच्चै कमाल थियो किनभने यी तलाउ र पोखरीबीचको लमाइ ५३३ मिटर भए तापनि उचाइ चाहिं ३२ सेन्टिमिटर अग्लोमा मात्र छ।
त्यस पुरातन शहरमा आउने पानीको मुख्य स्रोत गिहोन तलाउ हो भनेर विद्वानहरूलाई पहिल्यै थाह थियो। यो तलाउ शहरको पर्खालबाहिर थियो तर नाला र ३६ फिट गहिरो खाडलको प्रबन्ध गर्न एकदमै नजीक पर्थ्यो। त्यसैकारण, शहरवासीहरू पानी ल्याउन सुरक्षा पर्खालबाहिर जानु पर्दैन थियो। चार्ल्स वारेनले सन् १८६७ मा यस प्रणाली खोजेर फेला पारेपछि यसलाई वारेनको खाडल भनिन्छ। तर यी नाला र खाडल कहिले बनाइएका थिए? के ती दाऊदको समयमा थिए? के योआबले त्यो पानीको नाला प्रयोग गरे? डान गिल यस्तो जवाफ दिन्छन्: “वास्तवमा, वारेन खाडल प्राकृतिक खाल्डो हो कि होइन भनेर जाँच्न हामीले कार्बन-१४ द्वारा यसका सम्म नपरेका पर्खालहरूको कडा पाप्रालाई जाँच्यौं। यस जाँचबाट त्यो खाडल मानिसले खनेको हो भन्ने कुनै प्रमाण हात लागेन किनभने त्यो पाप्रा लगभग ४०,००० वर्षभन्दा पुरानो भएको संकेत पाइयो। निस्सन्देह, यसद्वारा प्रमाणित हुन्छ कि त्यो खाडल मानिसले खनेको थिएन।”
हिजकियाहको समयका भग्नावशेषहरू
अश्शूर राष्ट्रले भेटेजति ठाउँहरू कब्जा गरिरहेको समयमा राजा हिजकियाह जीवित थिए। हिजकियाहको शासनको छैटौं वर्षमा अश्शूरीहरूले दश कुलको राज्यको राजधानी सामरिया कब्जा गरे। त्यसको आठ वर्षपछि (सा.यु.पू. ७३२) यहूदा र यरूशलेमलाई आतंकित पार्दै अश्शूरीहरू फेरि आए। दोस्रो इतिहास ३२:१-८ ले हिजकियाहको प्रतिरक्षा नीतिको वर्णन गर्छ। यस समयका कुनै भग्नावशेष फेला परेको छ?
हो, प्राध्यापक नेमान आभिगादले सन् १९६९ मा त्यस समयका प्रमाणहरू भेटाए। उत्खननहरूमा भेटाइएअनुसार एउटा विशाल पर्खालको पहिलो भाग १३० फिट लामो, २३ फिट चौडा र अनुमानित २७ फिट अग्लो थियो। त्यो पर्खालको एक भाग जमिनमुनि चट्टान भएको ठाउँमा र अर्को भाग त्यतिबेला भर्खरै निर्मित घरहरू भत्काएर त्यहाँ खडा गरिएको थियो। यो पर्खाल कसले र कहिले बनाए? पुरातत्त्वसम्बन्धी एउटा पत्रिकाको प्रतिवेदनअनुसार, “बाइबलका दुइटा पदहरूले पर्खाल बनिएको तारिख र बनाउनुको उद्देश्य पत्ता लगाउन आभिगादलाई मदत दिए।” यी पदहरू यसप्रकार छन्: “तब राजाले साहससित काम गरे। तिनले शहरको पर्खालका सबै प्वालहरू राम्ररी मरम्मत गरेर तिनमा बुर्जाहरू बनाए। पर्खालको बाहिरपट्टि तिनले अर्को पर्खाल बनाए।” (२ इतिहास ३२:५) “तिमीहरूले यरूशलेमका घरहरू गन्यौ, र पर्खाल बलियो पार्न ती घरहरू भत्कायौ।” (यशैया २२:१०) आज त्यहाँ भ्रमण गर्नेहरूले यस सुविख्यात चौडा पर्खालको भागलाई पुरातन शहरको यहूदी प्रान्तमा देख्नसक्छन्।
त्यतिबेलाको यरूशलेमको आकारबारे अहिलेसम्म राखिएको सोचाइभन्दा त्यो यरूशलेम निकै ठूलो थियो भनेर विभिन्न उत्खननहरूले पनि देखाउँछन्। शायद यसो हुनुको कारण अश्शूरीहरूले उत्तरी राज्यलाई जितेपछि त्यहाँबाट शरणार्थीहरूको ओइरो लागेर हो। प्राध्यापक शीलोको अनुमानअनुसार यबूसी शहरको क्षेत्र १५ एकड थियो। सुलेमानको समयमा यसको क्षेत्र लगभग ४० एकड थियो। त्यसको ३०० वर्षपछि अर्थात् राजा हिजकियाहको समयसम्म शहरको त्यो किल्लाबन्दी क्षेत्र बढेर लगभग १५० एकड भएको थियो।
प्रथम मन्दिरको समयका चिहानहरू
बेबिलोनीहरूले सा.यु.पू. ६०७ मा यरूशलेमलाई नाश गर्नअघिका अर्थात् प्रथम मन्दिरको समयका चिहानहरू पनि जानकारीको अर्को स्रोत भएका छन्। सन् १९७९/८० तिर हिनोम उपत्यकामा सामूहिक चिहान उत्खनन गर्दा अघि कहिले नपुगेको निष्कर्षमा पुगियो। पुरातत्त्वविद् गेब्रिएल बार्के भन्छन्, “यरूशलेममा गरिएको सम्पूर्ण पुरातात्त्विक अनुसन्धानको इतिहासमध्ये यो यस्तो विरलै पाइएको भण्डारमध्ये एउटा हो, जसमा प्रथम मन्दिरको सम्पूर्ण थोक पाइएको छ। यसमा एक हजारभन्दा धेरै वस्तुहरू थिए भनेर पुरातत्त्वविद् गेब्रिएल बार्के भन्छन्। तिनी अझ भन्छन्: “इस्राएल र विशेषगरि यरूशलेममा गरिएको पुरातात्त्विक कार्यको उत्कट आशा नै लिखित थोकहरू भेटाउनु हो।” त्यहाँ पाइएका दुइ स-साना चाँदीपत्रहरूमा के छ?
बार्के बताउँछन्: “मैले भेटाएको नबेह्रिएको चाँदीपत्रलाई म्याग्निफाइङ ग्लासमा राखेर हेर्दा त्यसको सतहभरि निम्छरो अक्षरहरू थिए, ती कुनै तीखो औजारले एकदमै पातलो र कमजोर पातामा लेखेका थिए। . . . यस लेखमा स्पष्टसित देखिने ईश्वरीय नाउँ पुरातन हिब्रू लिपि योद-हे-वा-हे मा लेखिएको चारवटा हिब्रू अक्षरहरूले बनिएको छ।” बार्केले अर्को प्रकाशनमा यसरी थपे: “अचम्मको कुरा त के हो भने, चाँदीका ती दुइटै पाताहरूमा लेखिएका आशीर्वादका सूत्रहरू बाइबलमा उल्लिखित पूजाहारीले दिने आशीर्वादसित हुबहु मिल्छ।” (गन्ती ६:२४-२६) यरूशलेममा पत्ता लागेका लिपिमा यहोवाको नाउँ पाइएको यो प्रथम चोटि थियो।
यी चाँदीपत्रहरू कुन समयका हुन् भनेर विद्वानहरूले कसरी भन्नसके? मुख्यतः पुरातत्त्वसम्बन्धी ती नै कुराद्वारा, जसको सहायताले ती चाँदीपत्रहरू भेटाएको थियो। सा.यु.पू. सातौं र छैटौं शताब्दीलाई इंगित गर्ने ३०० भन्दा बढी माटोको भाँडाकुँडा फेला परे। चाँदीपत्रमा लेखिएको लेखोटले पनि अरू लिपिहरूमा भएको तारिखलाई नै देखाउँछ। यी पत्रहरूलाई यरूशलेमको इजरायल संग्रहालयममा राखिएका छन्।
सा.यु.पू. ६०७ मा यरूशलेमको विनाश
बाइबल पुस्तकहरू २ राजा अध्याय २५, २ इतिहास अध्याय ३६ र यर्मिया अध्याय ३९ मा नबुकदनेसरको सेनाले सा.यु.पू. ६०७ मा यरूशलेमलाई जलाएर विनाश गरेको थियो भनेर बताइएको छ। के हालैको उत्खननहरूले यो ऐतिहासिक विवरणको सत्यतालाई प्रमाणित गरे? प्राध्यापक यिगाल शीलोको भनाइअनुसार “बाइबलमा उल्लिखित [बेबिलोनको विनाशसम्बन्धी] विवरण . . . प्रस्टै फेला परेका पुरातात्त्विक प्रमाणद्वारा शतप्रतिशत प्रमाणित हुन्छ। जस्तै, विभिन्न भवनहरूको पूर्णतया विनाश अनि घरहरूका काठले बनिएका भागहरू आगोले भस्म भएको।” तिनले अझ यसरी टिप्पणी गरे: “यस विनाशको एक एक चिह्नहरू यरूशलेममा हरेक पटक उत्खनन गर्दा पाइएका छन्।”
आजभन्दा २,५०० वर्षभन्दाअघि भएको त्यस विनाशका भग्नावशेषहरू त्यहाँ भ्रमणमा जाने जोसुकैले हेर्नसक्छन्। इस्राएली बुर्जा, जलेको भवन र बुल्लाइ घरहरू पुरातात्त्विक क्षेत्रका नाउँ चलेका कुराहरू हुन् र जनसाधारणले यी हेर्नसक्छन्। पुरातन यरूशलेम देखियो (अंग्रेजी) पुस्तकमा पुरातत्त्वविद्हरू जेन एम. काहिल र डेविड टार्लर बताउँछन्: “बेबिलोनीहरूको हातबाट यरूशलेमको ठूलो विनाश भएको कुरा जलेको भवन र बुल्लाइ घरजस्ता भवनहरू भएका जमिनमुनि जलेर थुप्रिएका भग्नावशेषहरूद्वारा मात्र प्रमाणित भएको होइन तर तहसनहस भएका भवनहरूको गहिरो गाडिएको ढुंगाका टुक्राहरू, जुन पूर्वी भिरोलो ठाउँ नै ओगटेर गाडिएको छ, त्यसद्वारा पनि प्रमाणित हुन्छ। यस शहरको विनाशसम्बन्धी बाइबलीय विवरणहरूलाई . . . पुरातात्त्विक कुराहरूले प्रमाणित गर्छन्।”
तसर्थ, पुरातात्त्विक उत्खननहरूद्वारा यरूशलेमबारे बाइबलको विवरण २५ वर्षको दौडान थुप्रै तरिकामा सही प्रमाणित भएको छ। त्यो समयावधि थियो, दाऊदको समयदेखि सा.यु.पू. ६०७ मा यसको विनाश भएको समयसम्म। तर सा.यु. प्रथम शताब्दीको यरूशलेमबारे के भन्न सकिन्छ त?
येशूको समयको यरूशलेम
उत्खननहरू, बाइबल, प्रथम शताब्दीको यहूदी इतिहासकार जोसेफस र अरू स्रोतहरूले येशूको समयको अर्थात् सा.यु. ७० मा रोमीहरूले नाश गर्नअघिको यरूशलेमबारे बताउन विद्वानहरूलाई मदत दिन्छन्। उत्खननद्वारा नयाँ कुराहरू भेट्टाउँदै जाँदा यरूशलेमको एउटा ठूलो होटलपछाडि प्रदर्शित येशूकालीन यरूशलेमको सानो नमुनाको रूप बदलिंदै जान्छ। त्यस शहरको मुख्य आकर्षण नै मन्दिर भएको पर्वत हो र यसलाई हेरोदले सुलेमानको समयको भन्दा दुइ गुणा ठूलो बनाएका थिए। यो, पुरातन समयको मानवनिर्मित सबैभन्दा ठूलो प्लेटफार्म थियो। यसको लमाइ लगभग ४८० मिटर र चौडाइ २८० मिटर थियो। एक विद्वानको भनाइअनुसार त्यस प्लेटफार्म निर्माणमा प्रयोग गरिएका केही ढुंगाहरू ५० टनका थिए र एउटा त ४०० टनको समेत थियो र “पुरातन समयमा त्यत्रो ठूलो ढुंगा कहीं पनि प्रयोग गरिएको थिएन।”
येशूले यसो भन्नुभएको सुन्दा केही मानिसहरू छक्क पर्नु कुनै अचम्म होइन: “यस मन्दिरलाई भत्काइदेऊ, र म त्यो तीन दिनमा खडा गर्नेछु।” उहाँले “आफ्ना शरीरको मन्दिरको विषयमा” भन्नुभएको भए तापनि तिनीहरूले चाहिं त्यो भव्य मन्दिर भन्ठाने। तसर्थ, तिनीहरूले भने: “यो मन्दिर छियालीस वर्षमा बनाइयो, र के तपाईं त्यसलाई तीन दिनमा खडा गर्नसक्नुहुन्छ र?” (यूहन्ना २:१९-२१) मन्दिर भएको पर्वत वरिपरि गरिएका उत्खननहरूको परिणामस्वरूप, अहिले भ्रमणकारीहरूले पर्खालका भागहरू, येशूको समयका वास्तुकला र सम्भवतः दक्षिण मन्दिरको ढोकासम्म येशू हिंड्नुभएका खुड्किलाहरू समेत देख्नसक्छन्।
मन्दिर भएको पर्वतको पश्चिम ढोका नजीकै पुरातन शहरको यहूदी प्रान्तमा सा.यु. प्रथम शताब्दीको राम्ररी जीर्णोद्धार गरिएका दुइटा उत्खनन स्थानहरू छन्। ती दुइ स्थानहरू जलेको भवन र हेरोदको प्रान्त नाउँले प्रचलित छन्। जलेको भवन भेट्टाएपछि पुरातात्त्विक नेमान आभिगादले लेखे: “त्यो भवन सा.यु. ७० मा अर्थात् यरूशलेम विनाश भएको बेला रोमीहरूले जलाएका थिए भनेर अहिले सोह्रै आना प्रस्ट भएको छ। त्यस शहरमा गरिएको उत्खननहरूमा यरूशलेम शहर जलेको जीवन्त र स्पष्ट पुरातात्त्विक प्रमाण प्रथम पटक देखा पऱ्यो।”—पृष्ठ १२ को तस्बिर हेर्नुहोस्।
यी आविष्कारहरूमध्ये केहीले येशूको जीवनबारे कतिपय घटनाहरूलाई स्पष्ट पार्छ। ती भवनहरू प्रधानपूजाहारीहरूलगायत यरूशलेमका धनी मानिसहरू बस्ने माथिल्लो शहरमा थिए। ती भवनहरूमा विधिविधानअनुसार नुहाइने थुप्रै भाँडाहरू पाइयो। एक विदुषी भन्छिन्: “यी नुहाउने भाँडाहरूद्वारा के प्रमाणित हुन्छ भने, दोस्रो मन्दिरको समयमा माथिल्लो शहरका वासिन्दाहरूले शुद्धतासम्बन्धी विधिविधानहरू कडिकडाइसाथ पालन गर्थे। (यी व्यवस्थाहरू मिश्नाहमा लिपिबद्ध छन्। जसका दश अध्यायहरूमा मिक्भेह-का विवरणहरू छन्।)” यस जानकारीले हामीलाई फरिसी र शास्त्रीहरूले मान्ने यी विधिविधानहरूबारे येशूले गर्नुभएका टिप्पणीहरू बुझ्न मदत दिन्छ।—मत्ती १५:१-२०; मर्कूस ७:१-१५.
आश्चर्यलाग्दोगरि ढुंगाका थुप्रै भाँडाहरू पनि यरूशलेममा पाइएका छन्। नेमान आभिगाद लेख्छन्: “त्यसोभए, यरूशलेमभरि ती एक्कासि र यति धेरै मात्रामा किन देखा परे त? यसको जवाफ हलाखा-मा पाइन्छ। मिश्नाह-ले बताएअनुसार ती ढुंगाका भाँडाहरू तुरुन्तै अशुद्ध नहुने चीजहरूमध्ये पर्थे। . . . स्पष्टतया, शुद्धतासम्बन्धी विधिविधानमा ढुंगा अशुद्ध हुँदैन थियो।” यस कुराबाट येशूले पानीबाट बनाउनुभएको रक्सीलाई माटोको भाँडाको साटो ढुंगाको भाँडामा किन राखे भनेर थाह पाइन्छ।—लेवी ११:३३; यूहन्ना २:६.
इजरायल संग्रहालय घुम्न जाँदा दुइटा असाधारण अस्थिगृह देखिन्छ। बाइबलीय पुरातात्त्विक पुनरावलोकन बताउँछ: “मुख्यतः, रोमीहरूले सा.यु. ७० मा यरूशलेम विनाश गर्नुभन्दा लगभग सय वर्षअघि यी अस्थिगृहहरू प्रयोग गरिएका थिए। . . . मृत शरीरलाई चिहानको भित्तामा बनाइएको खाल्डोमा राखिन्थ्यो र मासु कुहिएर झरेपछि हड्डी जति चूनढुंगाले सजाइएको भाँडो वा अस्थिगृहमा राखिन्थ्यो।” प्रदर्शित गरिएका ती दुइटा अस्थिगृह सन् १९९० को नोभेम्बरतिर चिहानभित्र पाइएका थिए। पुरातत्त्वविद् भी ग्रीनहट बताउँछन्: “चिहानका ती दुइ अस्थिगृहमा भएको शब्द . . . ‘कैयाफा’ पुरातात्त्विक सन्दर्भमा प्रथम पटक देखिएको हो। सम्भवतः यो . . . नयाँ नियममा . . . उल्लिखित प्रधानपूजाहारी कैयाफाको परिवारको नाम हुनुपर्छ। यी नै कैयाफाको यरूशलेमको घरबाट येशूलाई रोमी शासक पोन्तियस पिलातसकहाँ पठाइएको थियो।” एउटा अस्थिगृहमा लगभग ६० वर्षीय मानिसका हड्डीहरू छन्। ती हड्डीहरू कैयाफाका हुन् भनेर विद्वानहरू अनुमान लगाउँछन्। येशूको समयका प्राप्त चीजहरूलाई एक विद्वान यसरी उल्लेख गर्छन्: “अर्को अस्थिगृहहरूमा पाएको एउटा सिक्का हेरोद अग्रिपाले बनाएका थिए (सा.यु. ३७-४४)। कैयाफाका ती दुइ अस्थिगृहहरू शताब्दीको सुरुआतभन्दा अघिका हुनसक्छन्।”
एरिजोनास्थित विश्वविद्यालयमा नियर इस्टर्न पुरातत्त्वविज्ञानका प्राध्यापक विलियम जी. डेभरले यरूशलेमबारे यस्तो टिप्पणी गरे: “पुरातात्त्विक इतिहासको यस मुख्य भागबाट विगत १५ वर्षभित्र जति सिक्यौं त्यति त त्यसअघिका पूरै १५० वर्षको दौडानमा पनि सिकेनौं भन्नुमा अत्युक्ति नहोला।” हालका दशकहरूमा यरूशलेममा गरिएका ठूलठूला थुप्रै पुरातात्त्विक क्रियाकलापहरूले बाइबल इतिहासलाई छर्लंगै पारेका छन्।
[पृष्ठ ९-मा भएको चित्रको स्रोत]
यरूशलेमस्थित होलील्याण्ड होटलको प्रांगनमा राखिएको दोस्रो मन्दिरताका यरूशलेम शहरको नमुना
[पृष्ठ १०-मा भएका चित्र]
माथि: यरूशलेमको मन्दिर भएको डाँडाको दक्षिणी कुना
दाहिने: वारेनको खाडलभित्र पस्दै