येशूको जीवन र सेवकाई
पीडितहरूमाथि अनुकम्पा
फरीसीहरू र तिनीहरूको स्वार्थी परम्पराहरूको भर्त्सना गर्नु भए पछि, येशू आफ्ना चेलाहरूसँग जानु हुन्छ। केही समय अघि, तिनीहरूसँग कुनै एकान्त ठाउँमा गएर आराम गर्ने उहाँको कोशिशलाई भीड़हरू आएर विफल पारेको तपाईंलाई यादै होला। अब, आफ्ना चेलाहरूसँग उहाँ, धेरै मील उत्तर तिर, टायर र साइडन तर्फ लाग्नु हुन्छ। यो एक पटक मात्र, येशूले चेलाहरूसँग इस्राएलको सिमाना पार गर्नु हुन्छ।
एउटा बस्ने घर भेट्टाए पछि, उहाँ आउनु भएको कुरा कसैलाई पनि थाह न होस् भनी येशू चाहनु हुन्छ। तर यो गैर इस्राएली इलाकामा पनि उहाँलाई मानिसहरूले पहिचानि हाल्छन्। यहाँ सिरिया को फिनिस्यि मा जन्मेकी यूनानी स्त्रीले उहाँलाई फेला पारेर एसो भन्दै बिन्ती गर्न थाल्छिन्: “हे प्रभु, दाऊदको पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले साह्रै ग्रस्त पारेको छ।” तर येशूले जवाफमा केही भन्नु हुँदैन।
आखिरमा उहाँका चेलाहरूले येशूलाई एसो भन्छन्: “यसलाई बिदा गर्नु होस्, किनभने त्यो हाम्रो पछिपछि कराउँदैछे।”
त्यो स्वास्नीमानिसको वास्ता नगर्नु भएको कारण बताउँनु हुँदै, येशूले एसो भन्नु हुन्छ: “म इस्राएलको घरानाका हराएका भेड़ाहरू बाहेक अरूकहाँ पठाइएको होइन।”
तथापि, त्यो स्वास्नीमानिसले आफ्नो जिद्दी छाड़दिन। येशूकहाँ आएर, उहाँको सामने घोप्टो पर्दै, यो बिन्ती गर्छे: “प्रभु, मलाई सहायता गर्नुहोस्!”
यो स्वास्नीमानिसको निष्कपट बिन्ती सुनेर येशूको हृदयमा दया जागेर आउँछ होला! तापनि, परमेश्वरका जनहरू अर्थात् इस्राएलीहरूको सेवा गर्ने उहाँको प्रथम जिम्मेवारी हो भनेर बताउनु हुन्छ। साथै, यो स्वास्नीमानिसको विश्वासलाई जाँच गर्न होला, उहाँले अरू जातिका मानिसहरू प्रति यहूदीहरूको दृष्टिकोण प्रयोग गर्नु हुँदै, यस प्रकार तर्क गर्नु हुन्छ: “बालकहरूको रोटी लगेर [साना NW] कुक्कुरहरूलाई फालिदिनु मनासिब हुँदैन।”
उहाँको कृपालु आवाज र अनुहार द्वारा येशूले पक्कै पनि गैर यहूदीहरू प्रति आफ्नो कोमल भावना व्यक्त गर्नु हुन्छ। गैर यहूदीहरूलाई मानिसहरूले कुक्कुरसँग गरिएको तुलनालाई पनि उहाँले “साना कुकुरहरू” अथवा कुक्कुरको बच्चाहरू भन्नुभएर कोमलताको भावना थपिदिनु हुन्छ। यो सुनेर त्यो स्वास्नीमानिस रिसाउनुको सट्टा, येशूले सङ्केत गर्नु भएको यहूदी रूढ़िबाद अनुसार नै कुरा गर्दै एसो भन्छे: “हो प्रभु। तर कुक्कुरले पनि ता आफ्ना मालिकको टेबलबाट झरेको टुक्रा खान्छ।”
“ए नारी, तिम्रो विश्वास ठूलो रहेछ। जे तिमी इच्छा गर्छौ, तिमीलाई सो पुगोस्।” र त्यस्तै हुन्छ! तिनी आफ्नो घरमा फर्कन्दा, छोरी निको भएर ओछ्यानमा बसिरहेकी हुन्छे।
सायडन तटबाट, येशू र उहाँका चेलाहरू, यर्दन नदीको पानीको सिरान तिर लाग्छन्। गालीलको समुद्रको अलिक माथि तिर, उहाँहरूले गहिरो नभएको ठाउँबाट यर्दन पार गर्छन र समुद्रको पूर्व, डेकापोलिसमा प्रवेश गर्छन्। त्यहाँ उहाँहरू एउटा पहाड़मा उक्लन्छन् तर भीड़हरूले उहाँहरूलाई फेला पार्छन् र येशू कहाँ तिनीहरूका लङ्गड़ा, लुला, गूँगो र अरू अन्य रोग लागेकाहरूलाई ल्याउँछन्। तिनीहरूले यी बिरामीहरूलाई उहाँको चरण मै फालि दिन्छन् र उहाँले तिनीहरू सबैलाई निको पारि दिनु हुन्छ। मानिसहरू छक्क पर्छन् जसै तिनीहरूले गूँगो बोली रहेको, लङ्गड़ो हिड़ेको, अन्धोहरूको आँखा खुलेको देख्छन् र तिनीहरू सबैले इस्राएलको परमेश्वरको प्रशंसा गर्छन्।
एक जना बहिरो र गूँगो मानिसमा येशूको विशेष ध्यान जान्छ। खास गरी भीड़मा बहिरो मानिसहरू अकसर अलमल्ल पर्छन्। येशूले शायद यो मानिस पनि अन्योलमा परेको देख्नु हुन्छ। यसकारण येशूले तिनलाई भीड़बाट अलग्ग लैजानु हुन्छ। एकलै भए पछि, येशूले तिनको निम्ति के गरी दिन लाग्नु भएकोछ भन्ने कुराको तिनलाई सङ्केत गर्नु हुन्छ। उहाँले आफ्नो औंला त्यो मानिसको कानमा लगाउनु भयो र थुकेर तिनको जिब्रो छुनुभयो। औ स्वर्ग तिर हेरेर लामो सास लिएर एसो भन्नु हुन्छ: “खोलिजा।” औ त्यो मानिसको कान खोलिन्छ र त्यो सफासँग बोल्न सक्ने हुन्छ।
येशूले यतिका मानिसहरूलाई निको पार्नु भए पछि, भीड़हरूले एसो भन्दै मुल्याङ्कन व्यक्त गर्छन्: “उहाँले सबै कुरा असल गर्नु भएको छ। उहाँले बहिरालाई सुन्ने र गूँगोलाई बोल्ने तुल्याउनुहुन्छ।
मत्ती १५:२१-३१; मर्कूस ७:२४-३७.
◻ येशूले यूनानी स्त्रीको छोरीलाई तुरन्तै किन निको पारि दिनु भएन?
◻ यस पछि, येशूले आफ्ना चेलाहरूलाई कहाँ लग्नु हुन्छ?
◻ बोल्नै न सक्ने बहिरो मानिससँग येशूले कसरी कृपापूर्वक व्यवहार गर्नु हुन्छ? (w87 11/15)