भाइलाई आफ्नो गराऊ
“गएर तिमीहरू दुइ मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिमीले तिम्रो भाइलाई आफ्नो गरायौ।”—मत्ती १८:१५.
१, २. दोषहरूको सम्बन्धमा येशूले कस्तो व्यवहारिक सल्लाह दिनुभयो?
येशूसित सेवकाईमा बिताउन अब वर्षदिनजति मात्र बाँकी भएकोले चेलाहरूलाई महत्त्वपूर्ण पाठहरू सिकाउन लाग्नुभएको थियो। तपाईंले ती पाठहरू मत्ती अध्याय १८ मा पढ्न सक्नुहुन्छ। तीमध्ये एउटा सानो बालकजस्तै नम्र हुनु हो। त्यसपछि उहाँले “यी सानाहरूमध्ये एउटालाई” बाधा दिनदेखि होसियार रहन र अलमलिएका “सानाहरू[लाई]” नाश हुनदेखि जोगाउन कोसिस गर्न जोड दिनुहुन्छ। त्यसपछि येशूले मसीहीहरूबीचको मतभेदलाई सुल्झाउने बहुमूल्य, व्यवहारिक सल्लाह दिनुभयो।
२ तपाईंलाई उहाँका यी शब्दहरू सम्झनै होला: “तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गऱ्यो भने, गएर तिमीहरू दुइ मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिमीले तिम्रो भाइलाई आफ्नो गरायौ। तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक दुइ जनालाई लैजाऊ, र दुइ तीन साक्षीका मुखबाट एक एक कुरा पक्का गर। यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्छ भने, समुदायलाई भन, र त्यसले समुदायको बात पनि सुन्न इन्कार गर्छ भने, त्यो तिम्रोलागि अन्यजाति र महसूल उठाउने सरह होस्।” (मत्ती १८:१५-१७) हामीले यो सल्लाह कहिले प्रयोगमा ल्याउनुपर्छ र त्यसो गर्दा हाम्रो मनोवृत्ति कस्तो हुनुपर्छ?
३. अरूले गल्ती गर्दा सामान्यतया हामीले कुन कदम चाल्नुपर्छ?
३ यस अघिको लेखले हामी सबै असिद्ध छौं र गल्तीहरू गर्छौं, त्यसैकारण क्षमा गर्नु आवश्यक छ भनेर जोड दिएको थियो। अनि विशेष गरी सँगी मसीहीले भनेको वा गरेको कामले चित्त दुख्दा त्यसो गर्न सकिन्छ। (१ पत्रुस ४:८) अक्सर, त्यस्तो घटनालाई त्यसै बेवास्ता गर्नु अर्थात् क्षमा गर्नु र बिर्सनु बेस हुन्छ। यसो गर्दा यसले मसीही मण्डलीमा शान्ति कायम गर्छ भन्ने दृष्टिकोण राख्नसक्छौं। (भजन १३३:१; हितोपदेश १९:११) यद्यपि, तपाईंको चित्त दुखाउने भाइ वा बहिनीसित कुरा गरेर समस्या समाधान गर्नैपर्ने आवश्यकता तपाईंले महसुस गर्नुहुन्छ होला। यस्तो मामिलामा येशूका माथि उल्लिखित शब्दहरूले पथप्रदर्शकको काम गर्छ।
४. सैद्धान्तिक रूपमा मत्ती १८:१५ लाई अरूले गल्ती गर्दा कसरी प्रयोग गर्नसक्छौं?
४ येशूले तपाईंहरू “दुइ मात्र हुँदा . . .दोष देखाइदेऊ” भनी सल्लाह दिनुभयो। यसो गर्नु बुद्धिमानी हुन्छ। केही जर्मन बाइबलहरूले “दुई जोडी आँखाबीच” अर्थात् तपाईंको र उसको आँखाबीच दोष देखाइदेऊ भनेर यस वाक्यांशलाई अनुवाद गरेको छ। तपाईं दुइबीच गोप्य तरिकामा समस्या छलफल गर्दा समाधान गर्न सजिलो हुन्छ। तपाईंलाई रिस उठाउने वा कटु वचन प्रहार गर्ने भाइले तपाईं मात्र हुँदा सजिलै आफ्नो गल्ती स्वीकार्नसक्छ। अरू पनि छन् भने, स्वाभाविक असिद्ध मानव झुकावले तिनलाई आफ्नो गल्ती मान्न इन्कार गर्न वा सफाइ पेस गर्न लगाउनसक्छ। तर “दुई जोडी आँखाबीच” कुरा गर्दा कुनै पापकर्म वा जानाजानी गरिएको गल्तीले नभई कुरा नबुझिएकोले पो कुरा बिग्रिएको रहेछ भनी छर्लंग हुनसक्छ। दुवैले कुरा नबुझेकोले समस्या उत्पन्नभएको रहेछ भनी थाह भएपछि यो नगण्य विवादलाई बढ्न नदिएर तपाईंहरूबीचको सम्बन्धलाई सुधार्न सक्नुहुन्छ। यसप्रकार, मत्ती १८:१५ को सिद्धान्तलाई दैनिक जीवनमा भइरहने सानातिना गल्तीहरू समाधान गर्न प्रयोग गर्नसकिन्छ।
उसले के भन्न खोजेको?
५, ६. प्रसंगअनुसार मत्ती १८:१५ ले कस्ता पापहरूलाई औंल्याइरहेको थियो र त्यसले के संकेत गर्छ?
५ तोकेरै भन्ने हो भने, वास्तवमा येशूले दिनुभएको सल्लाह गम्भीर कुराहरूसित सम्बन्धित छ। येशूले “तिम्रो भाइले . . . पाप गऱ्यो भने” भन्नुभयो। वस्तुतः, कुनै गल्ती वा भूल “पाप” हुनसक्छ। (अय्यूब २:१०; हितोपदेश २१:४; याकूब ४:१७) तथापि, प्रसंग केलाएर हेर्दा येशूले उल्लेख गर्नुभएको पाप गम्भीर पाप हो भनेर प्रस्टै बुझिन्छ। यति गम्भीर पाप कि, त्यसले गल्ती गर्ने व्यक्तिलाई “अन्यजाति र महसूल उठाउने सरह” बनाउनसक्थ्यो। यो वाक्यांशको मतलब के हो?
६ येशूको उक्त शब्दहरू सुन्ने चेलाहरूलाई आफ्ना देशवासीहरू अन्यजातिकाहरूसित बसउठ गर्दैनन् भनेर थाह थियो। (यूहन्ना ४:९; १८:२८; प्रेरित १०:२८) निस्सन्देह, तिनीहरू महसुल उठाउनेहरूदेखि टाढै बस्थे। किनकि यहूदी भएर पनि तिनीहरू जनतालाई सताउँथे। त्यसकारण किटेरै भन्ने हो भने, मत्ती १८:१५-१७ मा उल्लेख गरिएको पापले सजिलै क्षमा दिन वा बिर्सन सकिने व्यक्तिगत गल्तीहरू वा चित्त दुखाइलाई होइन तर गम्भीर पापलाई जनाउँथ्यो।—मत्ती १८:२१, २२.a
७, ८. (क) कस्ता प्रकारका पापहरूलाई प्राचीनहरूले समाधान गर्नेछन्? (ख) मत्ती १८:१५-१७ अनुसार कस्ता पापहरू मसीहीहरूले आपसमा सुल्झाउनसक्छन्?
७ व्यवस्थाअन्तर्गत कुनै कुनै पापलाई क्षमा दिएर पुग्दैनथ्यो। ईश्वरनिन्दा, धर्मत्याग, मूर्तिपूजा र करणी, जारी अनि पुरुषगामीजस्ता यौनसम्बन्धी पापहरूको रिपोर्ट गर्नुपर्थ्यो र ती प्राचीनहरूले (अथवा पूजाहारीहरूले) सँभाल्थे। मसीही मण्डलीमा पनि यो कुरा शतप्रतिशत लागू हुन्छ। (लेवी ५:१; २०:१०-१३; गन्ती ५:३०; ३५:१२; व्यवस्था १७:९; १९:१६-१९; हितोपदेश २९:२४) तथापि, यो कुरा याद राख्नुहोस्, येशूले उल्लेख गर्नुभएका पाप गम्भीर प्रकृतिको भए तापनि दुई मानिसहरूबीच सुल्झाउन सकिने खालका थिए। जस्तै: रिसको झोंकमा वा ईर्ष्याले जलेर गरेको निन्दाचर्चो। उदाहरणको लागि, एक जना मसीहीले केही खास निर्माण सामग्रीहरू प्रयोग गर्ने र तोकिएकै दिनमा काम सिद्धयाउने करारनामा गर्ला। अर्कोचाहिंले समयमै अथवा निर्धारित मितिमै रकम चुक्ता गर्ने वचन देला। त्यसै गरी कुनै व्यक्तिले चाहिं आफूले तालिम पाइसकेपछि (अर्कै जागिर खाए पनि) तालिम दिने मालिकसित प्रतिस्पर्धा नगर्ने वा निर्धारित समयसम्म मालिकका ग्राहकहरूलाई आफूकहाँ नतान्ने वा तोकिएको इलाकाभित्र आफ्नो व्यापार नगर्ने प्रतिज्ञा गर्ला।b यस्ता अवस्थाहरूमा यदि वचन दिने भाइले आफ्नो वचन राखेन र पश्चात्तापी भाव पनि देखाएन भने त्यो साह्रै गम्भीर कुरा हुनजान्छ। (प्रकाश २१:८) हो, यस्तो गल्तीहरू दुई जनाले आपसमा सुल्झाउन सक्छन्।
८ त्यसो भए, यस किसिमको समस्या समाधान गर्न कसरी कदम चाल्ने त? येशूका शब्दहरूलाई अक्सर तीन खण्डमा राखेर विचार गरिन्छ। आउनुहोस्, प्रत्येक खण्ड जाँचौं। यी खण्डहरूलाई कानुनको रूपमा लिनुको साटो त्यसको भाव बुझ्ने र तपाईं समस्या समाधान गर्न खोज्नुहुँदैछ भन्ने कुरालाई नबिर्सने प्रयास गर्नुहोस्।
भाइलाई आफ्नो गराउने प्रयास गर्नुहोस्
९. मत्ती १८:१५ प्रयोग गर्ने सम्बन्धमा हामीले के कुरा बिर्सनु हुँदैन?
९ येशूले यसरी कुरा थाल्नुभयो: “तिम्रो भाइले तिम्रो विरुद्धमा पाप गऱ्यो भने, गएर तिमीहरू दुइ मात्र हुँदा त्यसको दोष देखाइदेऊ। त्यसले तिम्रो कुरा सुन्यो भने, तिमीले तिम्रो भाइलाई आफ्नो गरायौ।” स्पष्ट छ, शंकाको भरमा यसो गर्न सकिंदैन। भाइको आँखा खोल्न र सुलह गर्न आवश्यक छ भनेर बुझाउन तपाईंसित कुनै प्रमाण वा भरपर्दो जानकारी हुनुपर्छ। कुरा अझै गम्भीर हुनु वा तिनको मनोवृत्ति बहस गर्ने खालको हुनुभन्दा अगावै तुरुन्तै कदम चालिहाल्नु बेस हुन्छ। अनि नबिर्सनुहोस्, मनमा मात्रै कुरा खेलाएर बस्दा तपाईंलाई झनै हानि गर्नसक्छ। त्यो छलफल तपाईंहरू दुईबीच मात्र हुनुपर्ने भएकोले अरूलाई भनेर सहानुभूति बटुल्ने वा आफ्नो नाक जोगाउने प्रयत्न नगर्नुहोस्। (हितोपदेश १२:२५; १७:९) किन? तपाईंको लक्ष्यले गर्दा।
१०. भाइलाई आफ्नो गराउन कुन कुराले मदत गर्छ?
१० तपाईंको लक्ष्य भाइलाई आफ्नो बनाउने हो, तिनलाई सताउने, लज्जित वा बरबाद पार्ने होइन। तिनले साँच्चै गल्ती गरेका रहेछन् भने यहोवासितको तिनको सम्बन्ध खतरामा छ। तपाईं पक्कै पनि तिनी आफ्नो मसीही भाइ भइरहून् भन्ने चाहनुहुन्छ। त्यसकारण, तपाईं दुइबीच गोप्य छलफल गर्दा शान्त रहनुभयो, कटु वचनहरू प्रहार गर्नुभएन वा औंला ठड्याउँदै कुरा गर्नुभएन भने सफलता हात लाग्ने सम्भावना धेरै हुन्छ। यसरी मायालु ढंगमा कुराकानी गर्दा एउटा कुराचाहिं कहिल्यै नबिर्सनुहोस्, कि तपाईंहरू दुवै असिद्ध अनि पापी हुनुहुन्छ। (रोमी ३:२३, २४) तपाईंले कुरा काट्नुभएको रहेनछ र साँच्चै मदत गर्न चाहनुहुन्छ भन्ने कुरा अर्को पक्षले बुझेपछि समाधान सजिलै निस्कनसक्छ। दुवैको गल्ती भएको रहेछ वा वास्तवमा कुरा नबुझेर पो समस्या खडा भएको रहेछ भनी स्पष्ट हुँदा, यस किसिमको व्यवहारले बुद्धिमानीपन झल्काउनेछ।—हितोपदेश २५:९, १०; २६:२०; याकूब ३:५, ६.
११. दोषी व्यक्तिले हाम्रो कुरा सुनेन भने पनि हामी के गर्नसक्छौं?
११ गल्ती भएको रहेछ र त्यो गम्भीर रहेछ भनेर तपाईंले बुझ्न मदत गर्नुभयो भने अर्को पक्ष पश्चात्ताप गर्न अघि सर्नसक्छ। यद्यपि, घमण्डले तगारो खडा गर्नसक्छ भनेर पनि बुझ्नु आवश्यक छ। (हितोपदेश १६:१८; १७:१९) तसर्थ, सुरुमा तिनले गल्ती स्वीकारेनन् र पश्चात्ताप पनि गरेनन् भने कुराकानीलाई अगाडि नबढाउनुहोस्। केही समय पर्खनुहोस्। येशूले ‘त्यसको दोष एक पटक मात्र देखाइदेऊ’ भन्नुभएन। यो तपाईं आफैले समाधान गर्नसक्नुहुने पाप भएकोले गलाती ६:१ को आत्मा प्रकट गर्दै र “दुई जोडी आँखाबीच” फेरि तिनीसित कुरा गर्ने विचार गर्नुहोस्। हुनसक्छ, तपाईंलाई सफलता हासिल होला। (यहूदा २२, २३ तुलना गर्नुहोस्।) यद्यपि, तिनले पाप गरेकै हो र कुनै पनि हालतमा मानिलिनेछैनन् भनेर तपाईं विश्वस्त हुनुहुन्छ भने के गर्ने?
बुज्रुकसित मदत माग्ने
१२, १३. (क) गल्तीहरू सच्याउने सम्बन्धमा येशूले कुन दोस्रो कदम उल्लेख गर्नुभयो? (ख) यो कदम चाल्दा कुन सल्लाह पालन गर्नु उपयुक्त हुन्छ?
१२ तपाईंले गम्भीर गल्ती गर्नुभयो भने अरूले तपाईंसित तुरुन्तै हार मानेको के तपाईं चाहनुहुन्छ र? अहँ, कदापि चाहनुहुन्न। त्यसै गरी भाइलाई आफ्नो बनाउने, आफू र अरूसित तिनलाई एकताको बन्धनमा बाँधेर परमेश्वरलाई स्वीकार्य उपासना चढाउने पहिलो प्रयासमै हार मान्नु भनेर येशूले भन्नुभएन। येशूले दोस्रो तरिका पनि उल्लेख गर्नुभयो: “तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक दुइ जनालाई लैजाऊ, र दुइ तीन साक्षीका मुखबाट एक एक कुरा पक्का गर।”
१३ उहाँले “दुइ तीन साक्षी” लानु भन्नुभयो। उहाँले पहिले प्रयास गर्नेबित्तिकै उक्त समस्याबारे अरूसित खुलेआम छलफल गर्नसकिन्छ, परिभ्रमण निरीक्षकलाई भेटेर कुरा गर्न सकिन्छ अथवा भाइहरूलाई चिठी लेख्नसकिन्छ भनेर भन्नुभएन। तपाईं विश्वस्त हुनुहोला तर गल्ती नै भएको भनेर वास्तवमा पक्का भइसकेको छैन। अनि तपाईं गलत कुराहरू फैलाएर निन्दाचर्चा गर्ने व्यक्ति कहलाइन पनि त चाहनुहुन्न। (हितोपदेश १६:२८; १८:८) तर येशूले दुई तीन जनालाई साथै लिएर जानु भन्नुभयो। किन? अनि कसलाई?
१४. दोस्रो कदम चाल्दा हामीले कसलाई साथमा लानुपर्छ?
१४ गल्ती भयो भनेर भाइलाई विश्वस्त गराउन र पश्चात्ताप गर्न लगाएर तिनलाई आफ्नो बनाउने प्रयास तपाईं गर्दै हुनुहुन्छ। तसर्थ, यस अवस्थामा गल्ती गर्नेकहाँ लानुहुने ती “दुइ तीन” व्यक्ति घटनाका साक्षीहरू भए सुहाउँदो हुनेछ। हुनसक्छ, घटनास्थलमा तिनीहरू पनि थिए वा व्यापारको सम्बन्धमा के भएको थियो (वा थिएन) त्यसबारे तिनीहरूलाई थाह हुनसक्छ। यस्ता साक्षीहरू छैनन् भने त्यस्तो विषयमा के कसो गर्नुपर्छ भनी अनुभव भएकाहरूलाई साथै लान सक्नुहुन्छ र भएको घटना साँच्चै गल्ती थियो वा थिएन पक्का गर्न सक्नुहुन्छ। यसबाहेक, दोस्रो पटक फेरि कुराकानी गर्नु आवश्यक परेमा पहिले तपाईं दुईबीच भएको कुराकानी अनि दुवैले गरेका प्रयत्नको तिनीहरूले साक्षी पनि दिनसक्छन्। (गन्ती ३५:३०; व्यवस्था १७:६) तसर्थ, तिनीहरूलाई लानुको उद्देश्य निष्पक्ष पार्टीको रूपमा राख्न वा रेफ्रीको काम गराउन होइन कि भाइलाई आफ्नो र तिनीहरूको गराउन मदत गर्नका लागि हो।
१५. दोस्रो कदम चाल्नु आवश्यक परेको खण्डमा मसीही प्राचीनहरू लानु किन मदतकारी साबित हुनसक्छन्?
१५ तपाईंले आफूसँगै लानुहुने व्यक्तिहरू मण्डलीका प्राचीनहरू नै हुनुपर्छ भन्ने छैन। तथापि, प्राचीनहरू जस्ता परिपक्व पुरुषहरू लाँदा, तिनीहरूले आफ्नो आध्यात्मिक क्षमताहरू प्रयोग गरेर मदत गर्नसक्छन्। यस्ता प्राचीनहरू “प्रत्येक मानिस बतासबाट लुक्ने ठाउँ, र आँधी–बेह्रीबाट आड़ लिने ठाउँ, सुखा ठाउँमा पानी भएको खोला, र बिरानो भूमिमा ठूलो चटानको छायाजस्तै” हुन्छन्। (यशैया ३२:१, २) भाइबहिनीहरूसित तर्क गर्न र उनीहरूलाई छाँटकाँट गर्न तिनीहरू पोख्त हुन्छन्। अनि गल्ती गर्ने व्यक्तिले पनि यस्ता “पुरुषहरू[मध्ये] वरदान” प्रति विश्वस्त हुने कारण छ।c (एफिसी ४:८, ११, १२) यस्ता परिपक्व पुरुषहरूसामु छलफल गर्दा र तिनीहरूसित मिलेर प्रार्थना गर्दा भिन्नै किसिमको वातावरण सृजना हुन्छ र समाधान गर्नै नसकिएलाजस्तो देखिने समस्या पनि समाधान हुन्छ।—याकूब ५:१४, १५ तुलना गर्नुहोस्।
तिनलाई आफ्नो बनाउने अन्तिम प्रयास
१६. येशूले उल्लेख गर्नुभएको तेस्रो कदम के हो?
१६ समस्या सुल्झाउने दोस्रो तरिका असफल भएपछि तेस्रो तरिका प्रयोग गर्दा पक्कै पनि मण्डलीका निरीक्षकहरू त्यसमा समावेश हुन्छन्। “यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्छ भने, समुदायलाई भन, र त्यसले समुदायको बात पनि सुन्न इन्कार गर्छ भने, त्यो तिम्रोलागि अन्यजाति र महसूल उठाउने सरह होस्।” यसको अर्थ के हो?
१७, १८. (क) ‘मण्डलीसित कुरा गर्नुको’ अर्थ बुझ्न हामीलाई कुन कुराले मदत गर्छ? (ख) आज हामी यो तरिका कसरी प्रयोग गर्नसक्छौं?
१७ हामी यसलाई सम्पूर्ण मण्डलीको नियमित वा विशेष सभामा व्यक्तिविशेषको पाप वा गल्ती उदांग पार्ने निर्देशनको रूपमा लिंदैनौं। हामी परमेश्वरको वचनबाट उपयुक्त प्रक्रिया निर्धारण गर्नसक्छौं। पुरातन इस्राएलमा अट्टेरी, लफंगा र मतवालाको मामिलामा के गरिन्थ्यो विचार गर्नुहोस्: “आफ्ना आमा-बाबुको हुकूम पालन नगर्ने कुनै अट्टेरी बदमाश छोरालाई अनेक शिक्षा दिंदा पनि तिनीहरूको बात मान्दैन भने, त्यसका आमा-बाबुले त्यसलाई समातेर शहरका बूढ़ा-प्रधानहरूकहाँ शहरको ढोकाबाहिर लैजाऊन्। त्यसपछि तिनीहरूले शहरका बूढ़ा-प्रधानहरूलाई यसो भनून्, ‘यो हाम्रो छोरो ढीट र बदमाश छ। त्यसले हाम्रो हुकूम ठ्याम्मै पालन गर्दैन। यो लफङ्गा र मतवाला हो।’ तब त्यस शहरका सबै पुरुषहरूले त्यसलाई मरूञ्जेल ढुङ्गाले हानून्।”—व्यवस्था २१:१८-२१.
१८ त्यस व्यक्तिका पापहरू न सम्पूर्ण राष्ट्रले नत उसको आफ्नै जातिले सुन्ने वा न्याय गर्ने गरिन्थ्यो। बरु, गन्यमान्य “बूढ़ा-प्रधानहरू[ले]” समुदायका प्रतिनिधिहरूको रूपमा हल गर्ने गर्थे। (व्यवस्था १९:१६, १७ मा ‘तत्कालीन पूजाहारी र न्यायकर्ताहरूले’ छिन्ने मामिलाबारे बताइएको विवरण तुलना गर्नुहोस्।) त्यसै गरी, आज तेस्रो तरिका प्रयोग गर्नु आवश्यक पर्दा मण्डलीको प्रतिनिधि गर्ने प्राचीनहरूले मामिला सुल्झाउँछन्। यसरी समस्या सुल्झाउँदा तिनीहरूको लक्ष्य पनि सम्भव भएसम्म मसीही भाइलाई आफ्नो गराउने नै हुन्छ। प्रस्तुत मामिलाबारे पूर्वानुमान वा भेदभाव नगरिकन निष्पक्ष भई तिनीहरूले त्यस्तो मनोभाव प्रकट गर्छन्।
१९. मामिला छिनफान गर्न नियुक्त गरिएका प्राचीनहरूले के गर्ने प्रयास गर्नेछन्?
१९ पापकर्म साँच्चै भएको (वा भइरहेको) हो कि होइन पक्का गर्न तिनीहरूले तथ्य कुरा के हो लेखाजोखा गर्नुका साथै साक्षीहरूको कुरा सुन्ने प्रयत्न गर्नेछन्। तिनीहरू मण्डलीलाई भ्रष्टाचारबाट जोगाउन र संसारको आत्मालाई टाढा राख्न चाहन्छन्। (१ कोरिन्थी २:१२; ५:७) आफ्नो धर्मशास्त्रीय योग्यताअनुरूप तिनीहरूले “पक्का सिद्धान्तअनुसार शिक्षा दिनसकून्, र ती कुराहरूको खण्डन गर्नेहरूलाई झूटा साबित गर्न सकून्” भन्ने प्रयास गर्नेछन्। (तीतस १:९, नयाँ संशोधित संस्करण) आशा छ, गल्ती गर्ने व्यक्ति, यहोवाको अगमवक्ताले यस्तो लेख्नुपरेको इस्राएलीजस्तो हुनेछैन: “जब मैले तिमीहरूलाई बोलाएँ, तब तिमीहरूले जवाफ दिएनौ। जब म बोलें, तब तिमीहरूले सुनेनौ। तर तिमीहरूले त्यो काम गऱ्यौ, जो मेरो नजरमा दुष्ट थियो, र जस कुरामा म प्रसन्न हुन्नँ, त्यही तिमीहरूले गऱ्यौ।”—यशैया ६५:१२.
२०. पापीले सुन्न अनि पश्चात्ताप गर्न इन्कार गऱ्यो भने के गर्नैपर्छ भनेर येशूले भन्नुभयो?
२० तथापि, कुनै कुनै मामिलामा पापीले यस्तै मनोवृत्ति प्रकट गर्छ। त्यस्तो बेला गर्नुपर्ने के हो, येशूको निर्देशन स्पष्ट छ: “त्यो तिम्रोलागि अन्यजाति र महसुल उठाउने सरह होस्।” प्रभुले अमानवीय व्यवहार गर्ने वा कुनै चोट पुऱ्याउने इच्छा गर्ने सुझाउ दिनुभएन। तथापि यस्ता अपश्चात्तापी पापीलाई मण्डलीबाट निकाल्नुपर्छ भन्ने कुरा प्रेरित पावलले दिएको निर्देशनबाट प्रस्टै बुझिन्छ। (१ कोरिन्थी ५:११-१३) यसो गर्नु पनि अन्ततः, त्यस पापीलाई आफ्नो बनाउनका लागि नै हो।
२१. मण्डलीबाट निष्काषित हुने व्यक्तिसित के गर्ने मौका हुन्छ?
२१ यसो हुनसक्ने सम्भावना हामी येशूले उडन्ता पुत्रबारे दिनुभएको उखानबाट देख्नसक्छौं। दृष्टान्तमा देखाएअनुसार आफ्नो बुबाको घरमा पाइने मायालु सरसंगतिलाई त्यागेर बाहिर हिंडेको केही समयपछि “त्यसको होश खु[ल्यो]।” (लूका १५:११-१८) पावलले तिमोथीलाई केही पापीहरूले समयमा पश्चात्ताप गर्नेछन् र “शैतानको पासोबाट सचेत भई तिनीहरू आफैले छुटकारा पाउ[नेछन्]” भने। (२ तिमोथी २:२४-२६) पश्चात्ताप नगरी पाप गरिरहने र मण्डलीबाट ननिकाली नहुने व्यक्तिले कुनै दिन परमेश्वरको अनुमोदन अनि वफादार मसीहीहरूसितको न्यानो संगतिको कमी महसुस गर्नेछ र होस खुल्नेछ भन्ने पक्का आशा हामी गर्नेछौं।
२२. हामी कसरी हाम्रो भाइलाई आफ्नो बनाउनसक्छौं?
२२ अन्यजाति र महसूल उठाउने व्यक्तिहरू फर्केर आउनैसक्दैनन् भन्ने सोचाइ येशूले राख्नुभएन। महसुल उठाउने लेवी मत्तीले पश्चात्ताप गरे, साँच्चै ‘येशूको पछि लागे’ र प्रेरितसमेत छानिए। (मर्कूस २:१५; लूका १५:१) त्यसै गरी, एक जना पापीले आज “समुदायको बात पनि सुन्न इन्कार” गर्छ र मण्डलीबाट बहिष्कृत हुन्छ भने समयको दौडान पश्चात्ताप गरेर आफ्ना पाइलाहरूलाई सोझ्याउनेछन् भनेर हामी पर्खनसक्छौं। फर्केर आयो भने ऊ फेरि मण्डलीको सदस्य हुनेछ र हामी हाम्रो भाइलाई सत्यमा उपासना गर्न फेरि आफ्नो बनाउन पाएकोमा रमाउनेछौं।
[फुटनोटहरू]
a म्याक्लिन्टक र स्ट्रङको साइक्लोपीडिया यसो भन्छ: “नयाँ नि[यमका] [महसुल उठाउनेहरूलाई] विधर्मीहरूसित बसउठ गर्ने अनि शोषकहरूको औंलामा नाचेर हिंड्ने विश्वासघाती अनि धर्मत्यागी मानिन्थ्यो। तिनीहरू पापीहरूको वर्गमा पर्थे . . . मर्यादित मानिसहरू तिनीहरूबाट टाढै रहने भएकोले तिनीहरूको साथी भन्नु नै तिनीहरूजस्तै समाजबाट वर्जित अन्य महसुल उठाउनेहरू मात्र थिए।”
b व्यापार वा लेनदेनको कुरामा केही छल भएको छ भने त्यो पनि येशूले उल्लेख गर्नुभएको पापमा पर्नसक्छ। मत्ती १८:१५-१७ मा लिपिबद्ध निर्देशन दिनुभएपछि सापटी लिने तर तिर्न नसक्ने दासबारे (कामदार/कर्मचारी) एउटा दृष्टान्त दिनुले यसलाई संकेत गर्छ।
c एक बाइबल शास्त्रज्ञले यस्तो टिप्पणी गरे: “कहिलेकाहीं के हुन्छ भने गल्ती गर्नेले जोसित मतभेद भएको थियो ऊ एक जना मात्र भएको बेलामा भन्दा दुई वा तीन व्यक्तिहरूसामु (विशेष गरी ती व्यक्तिहरू आदरयोग्य छन् भने) दिइएको सल्लाह स्वीकार्न बढी इच्छुक हुने सम्भावना हुन्छ।”
के तपाईंले सम्झनुभएको छ?
◻ मुख्यतः मत्ती १८:१५-१७ ले कस्तो प्रकारको पापलाई संकेत गर्छ?
◻ पहिलो कदम चाल्नु आवश्यक परेको खण्डमा हामीले कुन कुरा बिर्सनु हुँदैन?
◻ दोस्रो कदम चाल्नु आवश्यक परेमा हाम्रोनिम्ति को मदतकारी साबित हुनसक्छ?
◻ तेस्रो कदम चाल्नु परेमा त्यसमा को को बिथोलित हुन्छन् र तैपनि हामी कसरी हाम्रो भाइलाई आफ्नो बनाउनसक्छौं?
[पृष्ठ १८-मा भएको चित्र]
यहूदीहरू महसुल उठाउनेहरूसित संगत गर्दैनथे। मत्तीले आफ्नो मार्ग त्यागेर येशूको पछि लागे
[पृष्ठ २०-मा भएको चित्र]
हामी अक्सर “दुई जोडी आँखाबीच” समस्या समाधान गर्नसक्छौं