के तपाईं यहोवाले जस्तै क्षमा गर्नुहुन्छ?
“तिमीहरूले मानिसहरूका कसूर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका कसूर क्षमा गरेनौ भनेता तिमीहरूका पिताले तिमीहरूका कसूर क्षमा गर्नुहुनेछैन।”—मत्ती ६:१४, १५.
“परमप्रभु दयासागर र अनुग्रही, रीसमा ढीला र अति करुणामय हुनुहुन्छ। उहाँले सधैं हप्काइरहनुहुन्न। नता उहाँले सधैंभरि रीस लिइराख्नुहुन्छ। उहाँले हामीसँग हाम्रा पापअनुसारको व्यवहार गर्नुभएको छैन, नता हाम्रा अधर्मअनुसार हामीसित बदला दिनुभएको छ। किनकि पृथ्वीबाट स्वर्ग जति अल्गो छ। उहाँसँग डराउनेहरूमाथि उहाँको कृपा त्यत्तिकै ठूलो हुन्छ। पश्चिमबाट पूर्व जत्ति टाढ़ा छ, उहाँले हाम्रा अपराधहरू हामीबाट त्यत्तिनै टाढ़ा हटाइदिनुभएको छ। जसरी बाबुले आफ्ना छोरा-छोरीहरूलाई टिठाउँछन्, त्यसरीनै उहाँसँग डराउनेहरूलाई परमप्रभुले टिठाउनुहुन्छ। किनभने उहाँले हाम्रो बनोट जान्नुहुन्छ। मानिसहरू माटोनै हुन् भनी उहाँ सम्झनुहुन्छ।”—भजनसंग्रह १०३:८-१४.
२ पापैमा हाम्रो गर्भधारण भएकोले अनि सदा पापको व्यवस्थाको चङ्गुलमा लैजान खोज्ने पुर्खौली असिद्धताका साथ अधर्ममै जन्मिएको हुँदा ‘हामी माटोको कण मात्र हौं’ भनी सम्झनुहुने खालको परमेश्वर हामीलाई नितान्त आवश्यक छ। भजनसंग्रह १०३ अध्यायमा दाऊदले यहोवालाई अति सुन्दर शैलीमा वर्णन गरेको तीन सय वर्षपश्चात्, पहिले गरेका पापहरू क्षमा गर्नुभएका लागि बाइबलका अर्को लेखक मीकाले पनि सोही परमेश्वरको त्यस्तै प्रशंसा गरेका छन्: “तपाईं जस्तो परमेश्वर को छ, जसले अधर्म क्षमा गर्नुहुन्छ, र आफ्नो निज धनको बाँकी रहेकाहरूको अपराध छोड़िदिनुहुन्छ? उहाँले आफ्नो रीस सधैंसम्मलाई राखिछोड़नुहुन्न, किनकि उहाँ दया गर्न रूचाउनुहुन्छ। उहाँले फर्केर हामीलाई टिठाउनुहुन्छ। उहाँले हाम्रा अपराधहरूलाई खुट्टाले कुल्चनुहुन्छ। तपाईंले तिनीहरूका सबै पाप समुद्रको गहराइमा फालिदिनुहुन्छ।”—मीका ७:१८, १९.
३ युनानी शास्त्रमा “क्षमा” शब्दको अर्थ “छोडी दिनु” हो। ध्यान दिनुहोस्, यहाँ दाऊद र मीकाले पनि त्यही कुरा मनमोहक तथा वर्णात्मक शैलीमा जनाउँछन्। यहोवाले दिनुहुने क्षमाको आश्चर्यलाग्दो सीमालाई पूर्णतयाः मूल्यांकन गर्न आउनुहोस्, त्यसका थुप्रै उदाहरणहरूमध्ये केही पुनरावृत्ति गरौं। यहोवाको मन फिराएर विनाशबाट क्षमातर्फ लैजान सकिन्छ भनेर पहिलो उदाहरणले देखाउँछ।
मोशा हस्तक्षेप गर्छन्—यहोवा सुन्नुहुन्छ
४ यहोवाले इस्राएलको राष्ट्रलाई मिश्रबाट सुरक्षापूर्वक छुटाएर तिनीहरूको बासस्थानको रूपमा प्रतिज्ञा गर्नु भएको देश नजिकै ल्याउनुभयो। तर त्यहाँका मानिसहरूको डरले गर्दा तिनीहरू अगि बढ्न मानेनन्। यहोवाले मिश्रबाट दश विनाशकारी विपत्तिहरूबाट छुटाउनु भएको, लाल समुद्रको बीच उम्कने मार्ग खोलिदिनु भएको, तिनीहरूलाई खेद्ने मिश्री पल्टनको सर्वनाश गर्नुभएको, सीनै पर्वतमाझ यहोवाको छानिएको जाति बन्ने वाचा बाँध्नुभएको र तिनीहरूको जीवन धान्न आश्चर्यपूर्ण ढङ्गले स्वर्गबाट दिनहुँ मन्न बर्षाउनु भएको देख्दादेख्दै पनि केही भीमकाय कनानीहरूको कारण तिनीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न डराए।—गन्ती १४:१-४.
५ मोशा र हारून मानिसहरूको भय देखेर असमञ्जसमा परे। यहोशू र कालेब, दुई विश्वासी जासुसहरूले इस्राएललाई जम्मा गर्न खोजे: ‘दूध र मह बहने त्यो देश अत्यन्तै असल छ। ती मानिसहरूसित नडराओ; यहोवा हामीहरूसित हुनुहुन्छ!’ तर यी शब्दहरू सुनेर प्रोत्साहित हुनु त कहाँ हो कहाँ ती त्रसित, विद्रोही मानिसहरूले उल्टा यहोशू र कालेबलाई ढुङ्गाले हान्न खोजे।—गन्ती १४:५-१०.
६ यहोवा क्रोधित हुनुभयो! “अनि परमप्रभुले मोशालाई भन्नुभयो, ‘यी मानिसहरूले मलाई कतिसम्म तिरस्कार गरिरहन्छन्? यिनीहरूका बीचमा मैले गरेका चिह्नहरू देखेर पनि यिनीहरूले कतिसम्म ममाथि अविश्वास गर्छन्? तिनीहरूलाई म रूढ़ीले मार्नेछु, र तिनीहरूका अधिकार खोसेर तँबाटै तिनीहरूभन्दा ठूलो र शक्तिशाली जाति बनाउनेछु।’ तर मोशाले परमप्रभुलाई भने, ‘मिश्रीहरूले यो सुने भने के भन्लान्? तिनीहरूका बीचबाट आफ्नो शक्ति देखाएर तपाईंले नै यिनीहरूलाई ल्याउनुभएको हो। यस देशका बासिन्दाहरूलाई मिश्रीहरूले यो कुरा बताउनेछन्। . . . अब तपाईंले यस जातिलाई एउटा मानिसजस्तै गरी मारिदिनुहुन्छ भनेता तपाईंको कीर्ति सुन्ने जातिहरूले यसो भनेर कुरा गर्नेछन्, “परमप्रभुले ती मानिसहरूलाई दिन्छु भनी शपथ खानु- भएको देशमा ल्याउनसक्नुभएन, यसैकारण तिनीहरूलाई वनमा मारिदिनुभयो।”’”—गन्ती १४:११-१६.
७ यहोवाको नाउँको खातिर मोशाले क्षमायाचनाका लागि बिन्तीभाउ गरे: “‘बिन्ती छ, तपाईंको महान् करुणाअनुसार र मिश्रदेशदेखि अहिलेसम्म क्षमा गरिरहनुभएझैं यी मानिसहरूको अधर्म क्षमा गर्नुहोस्।’ तब परमप्रभुले भन्नुभयो, ‘तैंले भने बमोजिमनै मैले क्षमा गरिदिएको छु।’”—गन्ती १४:१९, २०.
मनश्शेको मूर्तिपूजा र दाऊदको व्यभिचार
८ असल राजा हिजकियाहको छोरो, मनश्शेको सम्बन्धमा पनि यहोवाले दिनुभएको क्षमाको उल्लेखनीय उदाहरण देख्न सकिन्छ। यरूशलेममा शासन गर्न थाल्दा मनश्शे १२ वर्षका मात्र थिए। तिनले डाँडाहरूमा पूजाथानहरू स्थापना गरे, बाल देवताको वेदी बनाए, पवित्र खम्बाहरू बनाए, तारामण्डलको सामने घोप्टो परे, मन्त्रतन्त्र तथा जोखाना खेलाए, धामी-झाँक्री तथा भावी बताउनेहरू राखे, यहोवाको मन्दिरमा खोपेको मूर्ति राखे र आफ्नै छोराहरूलाई हिनोमको बेंसीको आगोमा होमे। “तिनले परमप्रभुको दृष्टिमा साह्रै खराबी गरे” र “परमप्रभुले इस्राएलको निम्ति नाश गरेका जातिहरूभन्दा पनि धेरै ज्यादा मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई कुपथमा चलाए।”—२ इतिहास ३३:१-९.
९ अन्ततः यहोवाले अश्शूरीहरूलाई यहूदाको विरूद्ध खडा गर्नुभयो र तिनीहरूले मनश्शेलाई कैद गरेर बेबिलोनमा लगे। “आफ्नो कष्टमा तिनले परमप्रभु आफ्ना परमेश्वरलाई प्रार्थना गरेर उहाँलाई शान्त गराउन खोजे। औ आफ्ना पुर्खाहरूका परमेश्वरकहाँ विनम्र भएर झुके। तिनले प्रार्थना गरे। औ परमेश्वरले तिनको प्रार्थना ग्रहण गर्नुभयो। उहाँले तिनलाई यरूशलेममा फेरि फर्काएर ल्याउनुभयो, र तिनलाई राजगद्दीमा बसाल्नुभयो। यसरी मनश्शेले परमप्रभुनै परमेश्वर हुनुहुँदो रहेछ भन्ने थाह पाए।” (२ इतिहास ३३:११-१३) त्यसपछि मनश्शेले विदेशी देवताहरू, मूर्तिहरू र वेदीहरू हटाएर शहरबाहिर फाल्न लगाए। तिनले यहोवाको वेदीमा बलिदानहरू चढाउन थाले र यहूदालाई पनि साँचो परमेश्वरको सेवा गर्न फिराए। विनम्रता, प्रार्थना र खराब आचरण सुधार्न चालिएका कदमहरूले पश्चात्ताप योग्य फल फलाउँदा यहोवा क्षमा गर्न इच्छुक हुनुहुन्छ भन्ने कुराको यो अद्भुत प्रदर्शन हो।—२ इतिहास ३३:१५, १६.
१० दाऊदले हित्ती उरियाहकी पत्नीसित गरेको व्यभिचारबारे विदितै छ। तिनले व्यभिचार मात्रै गरेनन् तर उनी गर्भवती हुँदा त्यसलाई ढाकछोप गर्न विस्तृत कदम पनि चाले। घर गएर आफ्नी पत्नीसित शारीरिक सम्बन्ध राखोस् भन्ने उद्देश्यले राजा दाऊदले उरियाहलाई लडाइँबाट छुट्टि दिए। तर रणभूमिमा भएका सह-सिपाहीहरूप्रतिको खातिर उरियाह घर जान मानेनन्। त्यसपछि दाऊदले तिनलाई खाना खान बोलाएर बेस्सरी मद्य पिलाए, तैपनि उरियाह आफ्नी पत्नीकहाँ गएनन्। अन्तमा उरियाहलाई युद्ध चर्किएको ठाउँमा खटाएर मार्न दाऊदले आफ्नो जर्नेललाई समाचार पठाए। र ठीक त्यस्तै भयो।—२ शमूएल ११:२-२५.
११ यहोवाले राजाको पाप उदांग गर्न नातान अगमवक्तालाई दाऊदकहाँ पठाउनुभयो। “दाऊदले नातानलाई भने, ‘मैले परमप्रभुको विरूद्धमा पाप गरें।’ नातानले तिनलाई जवाफ दिए, ‘परमप्रभुले तपाईंको पापको फल अर्कोमाथि हालिदिनुभयो। तपाईं मर्नुहुनेछैन।’” (२ शमूएल १२:१३) आफूले गरेको पापको कारण दाऊदले साह्रै दोषी अनुभव गरे र आफ्नो हार्दिक प्रार्थनामा तिनले यहोवासमक्ष यसरी आफ्नो पश्चात्ताप जाहेर गरे: “किनकि तपाईं बलिदानमा प्रसन्न हुनुहुन्न, नत्रता म त्यो चढ़ाउने थिएँ। होमबलि तपाईंलाई मनपर्दैन। चूर्ण आत्मानै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, चूर्ण र पूरा पश्चातापी हृदयलाई तपाईंले तुच्छ ठान्नुहुन्न।” (भजनसंग्रह ५१:१६, १७) दाऊदले चूर्ण हृदयबाट गरेको प्रार्थनालाई यहोवाले बेवास्ता गर्नुभएन। यद्यपि, “दोषीलाई कुनै किसिमले पनि निर्दोष नठहराउनुहुने” भनी प्रस्थान ३४:६, ७ मा उल्लिखित क्षमासम्बन्धी यहोवाको अभिव्यक्तिअनुरूप दाऊदले निकै ठूलो दण्ड भोगे।
सुलेमानको मन्दिर समर्पण
१२ यहोवाको मन्दिर निर्माण-कार्य सम्पन्न भएपछि त्यसको समर्पणको प्रार्थनामा सुलेमानले यसो भने: “तपाईंको दास र तपाईंको प्रजा इस्राएलले यस ठाउँतिर फर्केर प्रार्थना गर्दा तिनीहरूको अर्जबिन्ती तपाईंले सुन्नुहोस्। आफ्नो बासस्थान स्वर्गबाट तिनीहरूको बिन्ती सुन्नुहोस्, र सुनेर तिनीहरूलाई क्षमा गर्नुहोस्।” यहोवाले प्रत्युत्तरमा भन्नुभयो: “जब म आकाशको ढोका थुन्छु, र पानी पर्दैन, अथवा देशलाई नाश गर्ने सलहलाई आज्ञा दिन्छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु। यदि मेरो आफ्नै नाउँ दिएको मेरो प्रजाले मप्रति अर्पण गरेर प्रार्थना गर्छ, र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म फेरि अघिको जस्तै स्वस्थ्य पार्नेछु।”—२ इतिहास ६:२१; ७:१३, १४.
१३ यहोवाले तपाईंमाथि आफ्नो दृष्टि लगाउनु हुँदा तपाईं कस्तो व्यक्ति हुनुहुन्थ्यो भन्ने आधारमा नभइ तपाईं अहिले कस्तो व्यक्ति हुनुहुन्छ, त्यसको आधारमा ग्रहण गर्नुहुन्छ। इजकिएल ३३:१३-१६ ले भनेजस्तै उहाँले गर्नुहुनेछ: “हुनसक्छ, मैले त्यस धर्मी मानिसलाई ‘तैंले आफ्नो प्राण बचाउनसक्छस्’ भनी भन्दा त्यसले आफ्नो धार्मिकतामा भर परेर अपराध गर्ला, तब ता त्यसको कुनै पनि धार्मिकताको कामको सम्झना हुनेछैन। त्यसले गरेको पापको कारण त्यो मर्नेछ। औ हुनसक्छ मैले दुष्टलाई मृत्यु दण्डको आज्ञा दिंदा त्यसले आफ्नो दुष्ट चाल त्यागेर न्यायसंगत र ठीक काम गर्ला, यदि त्यसले धितो फर्काइदियो, आफूले चोरी लगेको मालको क्षतिपूर्ति गरिदियो, असल जीवन मार्गमा चलेर अरू अधर्म गरेन भने, त्यो बाँच्नेछ, त्यो मर्नेछैन। त्यसले गरेको कुनै पापको लेखा लिइनेछैन। त्यसले न्यायसंगत र ठीक काम गरेको हुनाले त्यो बाँच्नेछ।”
१४ यहोवा परमेश्वरले हामीलाई दिनुहुने क्षमाको एउटा विशेष पक्ष छ। त्यो हो, उहाँले क्षमा गर्नुहुन्छ र बिर्सनु पनि हुन्छ। एकअर्कालाई क्षमा गर्दा यो पक्ष समावेश गर्न मानिसहरूलाई साह्रै गाह्रो लाग्छ। केही मानिसहरूले यसो भन्छन्: ‘तिमीले जे गऱ्यौ त्यसका लागि म क्षमा गर्छु तर त्यसलाई म कदापि बिर्सनेछैन।’ यसको ठीक विपरीत यहोवाले के गर्नेछु भन्नुहुन्छ त्यसलाई विचार गर्नुहोस्: “म तिनीहरूका अपराधलाई क्षमा गर्नेछु, र म तिनीहरूका पापलाई फेरि कहिल्यै सम्झनेछैनँ।”—यर्मिया ३१:३४.
१५ हजारौं वर्षदेखि यहोवाले आफ्ना पार्थिव उपासकहरूलाई क्षमा गर्दै आउनुभएको छ। तिनीहरूले जानाजानी र अन्जानमा गरेका पापहरूलाई यहोवाले क्षमा गर्दै आउनुभएको छ। उहाँले दिनुहुने करुणा, धीरज र क्षमाको कुनै अन्त छैन। यशैया ५५:७ भन्छ: “दुष्टहरूले आफ्नो बाटो र अधर्मीहरूले आफ्नो विचार त्यागोस् र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, औ उहाँले त्यसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ।”
मसीही युनानी शास्त्रमा क्षमाशीलता
१६ मसीही युनानी शास्त्र यहोवाले दिनुभएको क्षमाका विवरणहरूले ओतप्रोत छन्। क्षमा दिने सम्बन्धमा आफ्नो अनि यहोवाको मन मिल्छ भनी देखाउँदै येशूले बारम्बार त्यसको उल्लेख गर्नुभयो। येशू दुरुस्त यहोवाको मूर्तरूप हुनुहुन्छ, उहाँको सोचाइ यहोवाको जस्तै छ र उहाँ यहोवाको प्रतिबिम्ब हुनुहुन्छ; उहाँलाई चिन्नु यहोवालाई चिन्नु समान हो।—यूहन्ना १२:४५-५०; १४:९; हिब्रू १:३.
१७ दश हजार तोडा (लगभग ३,३०,००,००० अमेरिकी डलर) ऋण लिने दासलाई राजाले दिएको माफीबारे येशूले दिनु भएको एउटा दृष्टान्तबाट यहोवाले प्रशस्त मात्रामा क्षमा गर्नुहुन्छ भनी देखिन्छ। दृष्टान्तमा ऋण माफी पाउने दासले १०० दिनार (केही ६० अमेरिकी डलर) लिने सह-दासलाई माफी नदिएको थाहा पाउँदा राजा ज्यादै क्रोधित हुन्छन्। “‘ए दुष्ट नोकर, तैंले मसँग बिन्ती गरेको हुनाले मैले तँलाई तेरो त्यो सब ऋण माफी गरिदिएँ। जस्तो मैले तँमाथि दया गरें, तैंले पनि तेरो साथीमाथि दया गर्नुपर्ने थिएन?’ तब त्यसका मालिकले रिसाएर त्यसलाई त्यसको सबै ऋण नतिरुञ्जेल झ्यालखानका हाकिमको हातमा जिम्मा लगाइदिए।” त्यसपछि येशूले यसको प्रयोग बताउनु भयो: “मेरा स्वर्गको पिताले पनि, तिमीहरू हरेकले आफ्नो भाइलाई आफ्नो हृदयले माफी दिएनौ भने, तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”—मत्ती १८:२३-३५.
१८ येशूले यो दृष्टान्त दिनुअघि पत्रुसले सोधेका थिए: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा कति पल्टसम्म पाप गरे म त्यसलाई क्षमा गरूँ? के सात पल्टसम्म?” पत्रुस आफूलाई निकै उदार सम्झिन्थे। शास्त्री र फरिसीहरूले क्षमा दिने सीमा तोकेको भए तापनि येशूले पत्रुसलाई भन्नुभयो: “म तिमीलाई सात पल्टसम्म भन्दिनँ, तर सात गुणा सत्तरीपल्टसम्म।” (मत्ती १८:२१, २२) येशूले भन्नुभएअनुसार दिनभरको लागि सात गुणा ज्यादै कम थियो: “आफ्नो विषयमा होशियार रहो। तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई सम्झाऊ, र त्यो पछतायो भने त्यसलाई क्षमा गर। औ दिनभरिमा सातपल्ट त्यसले तिम्रो विरुद्धमा अपराध गर्छ र सातैपल्ट तिमीकहाँ फर्किआएर ‘म पछताउँछु,’ भन्छ भने, तिमीले त्यसलाई क्षमा गर्नू।” (लूका १७:३, ४) आनन्दको कुरा, यहोवाले क्षमा गर्नुहुँदा उहाँले हाम्रो पापको लेखा राख्नुहुन्न।
१९ पश्चात्ताप गरेर पाप स्वीकार्ने विनम्रता हामीमा छ भने हामीमाथि अनुग्रह देखाउन यहोवा तयार हुनुहुन्छ: “यदि हामीले आफ्ना पापको स्वीकार गर्यौं भने, हाम्रो पाप क्षमा गर्न र हामीलाई सबै अधर्मबाट शुद्ध पार्नालाई उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ।”—१ यूहन्ना १:९.
२० क्रोधित मानिसहरूको जमातले ढुङ्गा वर्षाउँदा येशूको चेला स्तिफनसले अद्वितीय क्षमावन्त आत्मा देखाउँदै यसरी बिन्ती गरे: “‘हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।’ . . . तिनले घुँड़ा टेकेर ठूलो सोरले कराएर भने, ‘हे प्रभु यो पाप यिनीहरूलाई नलागोस्।’ औ तिनको प्राणान्त भयो।”—प्रेरित ७:५९, ६०.
२१ क्षमा गर्न इच्छुक हुने सम्बन्धमा येशूले त्योभन्दा विस्मयकारी उदाहरण देखाउनुभयो। शत्रुहरूले उहाँलाई गिरफ्तार गरेर गैरकानुनी मुद्दा चलाए, दोषी ठहराए, गिल्ला गरे, थुके, छालाका डोरीहरूमा हाड र फलामका टुक्राहरू गाँसिएका कोर्रा लगाए र अन्तमा किल्ला ठोकेर घण्टौं शूलीमा झुण्डाए। यी सबैजसो कर्तुतहरूमा रोमीहरू सहभागी थिए। तैपनि शासनाको शूलीमा प्राण त्याग्न लाग्नु भएको बेला आफूलाई झुण्ड्याउने सैनिकहरूको विषयमा स्वर्गमा हुनुहुने पितालाई उहाँले यसो भन्नुभयो: “हे पिता, तिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि तिनीहरू के गरिरहेछन् ती जान्दैनन्।”—लूका २३:३४.
२२ डाँडाको उपदेशमा येशूले यसो भन्नुभएको थियो: “आफ्ना शत्रुहरूलाई प्रेम गर, औ तिमीहरूलाई खेदो गर्नेहरूका निम्ति प्रार्थना गर।” आफ्नो पार्थिव सेवकाईको अन्तसम्मै येशूले त्यस सिद्धान्तको पालना गर्नुभयो। आफ्नो पतित शरीरका कमजोरीहरूसित सङ्घर्ष गर्नुपर्ने हामी जस्ताहरूका लागि के यो साह्रै कठिन कुरा हो? चेलाहरूलाई नमूना प्रार्थना सुनाउनु भएपछि येशूले सिकाउनु भएका यी शब्दहरूलाई मात्रै भएपनि हामी सबैले प्रयोगमा ल्याउने प्रयत्न गर्नुपर्ने हो: “तिमीहरूले मानिसहरूका कसूर क्षमा गर्यौ भने तिमीहरूका स्वर्गका पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका कसूर क्षमा गरेनौ भनेता तिमीहरूका पिताले पनि तिमीहरूका कसूर क्षमा गर्नुहुनेछैन।” (मत्ती ५:४४; ६:१४, १५) यहोवाले जस्तै क्षमा गऱ्यौं भने हामी पनि क्षमा गर्नेछौं र बिर्सनेछौं। (w94 10/15)
के तपाईंले सम्झनुभएको छ?
◻ यहोवाले हाम्रो पापसित कस्तो व्यवहार गर्नुहुन्छ र किन?
◻ मनश्शेलाई आफ्नो राज्य किन फिर्ता दिइयो?
◻ क्षमा गर्ने सम्बन्धमा यहोवाको कुन विशिष्ट पक्ष अनुकरण गर्नु मानवजातिको लागि चुनौतिपूर्ण छ?
◻ क्षमा गर्न येशूले देखाउनुभएको इच्छुकता किन विस्मयकारी छ?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. हामीलाई कस्तो खालको परमेश्वर चाहिएको छ र किन?
३. क्षमा गर्नुको अर्थ के हो?
४. यहोवाले गर्नुभएका कस्ता कस्ता शक्तिको प्रदर्शनहरू बावजूद पनि इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न डराए?
५. दुई विश्वासी जासुसहरूले इस्राएलीहरूलाई कसरी जम्मा गर्न खोजे?
६, ७. (क) इस्राएलीहरूले प्रतिज्ञा गरिएको देशमा प्रवेश गर्न इन्कार गर्दा यहोवाले के गर्ने निधो गर्नुभयो? (ख) यहोवाले इस्राएलमाथि सुनाउनुभएको दण्डप्रति मोशाले किन आपत्ति जनाए र यसको नतिजा के भयो?
८. यहूदाका राजा मनश्शेको कस्तो रेकर्ड थियो?
९. मनश्शेप्रति यहोवा कसरी दयावन्त हुनुभयो र यसको नतिजा के भयो?
१०. उरियाहकी पत्नीसित गरेको पापलाई दाऊदले कसरी ढाकछोप गर्ने प्रयत्न गरे?
११. दाऊदलाई कसरी आफ्नो पापको प्रायश्चित गराइयो र त्यसको बावजूद तिनले कस्तो कष्ट सहनुपऱ्यो?
१२. मन्दिर समर्पण गर्दा सुलेमानले कस्तो बिन्ती गरे र यहोवाले के प्रत्युत्तर दिनुभयो?
१३. यहोवाले कुनै व्यक्तिलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ भन्ने सम्बन्धमा इजकिएल ३३:१३-१६ ले के बताउँछ?
१४. यहोवाले गर्नुहुने क्षमाको विशिष्ट पक्ष के हो?
१५. यहोवाले दिनुभएको क्षमाको कस्तो रेकर्ड छ?
१६. येशूले दिनुहुने क्षमा र यहोवाले दिनुहुने क्षमा मिल्दाजुल्दा छन् भनेर हामी कसरी भन्न सक्छौं?
१७. यहोवाले “प्रशस्त मात्रामा” क्षमा गर्नुहुन्छ भनी येशूले कुन दृष्टान्तद्वारा देखाउनु भयो?
१८. क्षमासम्बन्धी पत्रुसको दृष्टिकोण कसरी येशूको भन्दा भिन्न थियो?
१९. यहोवाबाट क्षमा चाहन्छौं भने हामीले के गर्नैपर्छ?
२०. पाप क्षमा गर्ने कस्तो इच्छुकता स्तिफनसले देखाए?
२१. रोमी सैनिकहरूलाई क्षमा गर्न येशूले देखाउनुभएको इच्छुकता किन विस्मयकारी थियो?
२२. डाँडाको उपदेशमा दिनुभएका कुन शब्दहरूलाई हामीले प्रयोगमा ल्याउने प्रयत्न गर्नुपर्छ?
[पृष्ठ २७-मा भएको चित्र]
परमेश्वरबाट क्षमा प्राप्त गर्नुपर्ने आवश्यकता बुझ्न नातानले दाऊदलाई मदत गरे