अध्याय १०९
येसु आफ्ना विरोधीहरूको निन्दा गर्नुहुन्छ
मत्ति २२:४१–२३:२४ मर्कुस १२:३५-४० लुका २०:४१-४७
ख्रिष्ट कसको छोरा हुनुहुन्छ?
येसु आफ्ना विरोधीहरूको कपट पर्दाफास गर्नुहुन्छ
येसुका विरोधीहरू उहाँको अपमान गर्न वा उहाँलाई फसाएर रोमीहरूको हातमा सुम्पन असफल हुन्छन्। (लुका २०:२०) आज नीसान ११ हो र उहाँ मन्दिरमै हुनुहुन्छ। अब उहाँ आफ्नो साँचो चिनारी प्रकट गर्नुहुन्छ। आफै अग्रसर हुँदै उहाँ यस्तो सोध्नुहुन्छ: “ख्रिष्टको विषयमा तिमीहरूको के धारणा छ? ऊ कसको छोरा हो?” (मत्ति २२:४२) ख्रिष्ट अर्थात् मसीह दाउदको वंशबाट आउनेछन् भनेर सबैलाई थाह भएकै कुरा हो। अनि तिनीहरू पनि त्यही जवाफ दिन्छन्।—मत्ति ९:२७; १२:२३; युहन्ना ७:४२.
येसु सोध्नुहुन्छ: “त्यसोभए पवित्र शक्तिको प्रेरणा पाएर दाउदले किन उसलाई प्रभु भनेर सम्बोधन गर्दै यसो भने त, ‘यहोवाले मेरा प्रभुलाई भन्नुभयो: “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ”’? यदि दाउदले उसलाई प्रभु भनी सम्बोधन गर्छन् भने ऊ कसरी तिनको छोरा हुन्छ?”—मत्ति २२:४३-४५.
फरिसीहरू केही जवाफ दिँदैनन् किनभने तिनीहरू रोमीहरूको दमनबाट छुटकारा दिने दाउदको मानव सन्तानको प्रतीक्षामा छन्। तर भजन ११०:१, २ मा भएका दाउदका शब्दहरूतर्फ ध्यान खिच्दै येसुले मसीह मानव सन्तान मात्र हुनेछैनन् भनेर प्रस्ट पार्नुहुन्छ। तिनी दाउदका प्रभु हुन् र परमेश्वरको दाहिने हाततिर बसेपछि तिनले शासन गर्न थाल्नेछन्। येसुको जवाफले गर्दा उहाँका विरोधीहरू नाजवाफ हुन्छन्।
चेलाहरू र अरू थुप्रैले उहाँको कुरा सुनिरहेका छन्। अब उहाँ चेलाहरूसित कुरा गर्दै शास्त्री र फरिसीहरूबारे चेतावनी दिनुहुन्छ। तिनीहरूले “आफैलाई मोसाको व्यवस्थाको शिक्षक बनाएका छन्।” येसु आफ्नो श्रोतालाई यस्तो निर्देशन दिनुहुन्छ: “तिनीहरूले तिमीहरूलाई जे-जे भन्छन्, ती सबै गर तर तिनीहरूले गरेजस्तै चाहिँ नगर किनभने तिनीहरू भन्न त भन्छन् तर गर्दैनन्।”—मत्ति २३:२, ३.
त्यसपछि येसु तिनीहरू कति कपटी छन् भन्ने उदाहरण दिँदै यसो भन्नुहुन्छ: “तिनीहरू आफ्ना जन्तर ठूलठूला बनाउँछन्।” केही यहुदीहरू व्यवस्थाका केही अंशहरू लेखेर राखिएको सानो बट्टा आफ्नो निधार वा देब्रे पाखुरामा बाँध्ने गर्छन्। फरिसीहरू आफूले व्यवस्थाको एक-एक कुरा पालन गरेको भान पार्न त्यो बट्टा ठूलो बनाउँछन्। साथै तिनीहरू “आफ्ना लुगाको झुम्का लामा-लामा पार्छन्।” व्यवस्थाअनुसार इस्राएलीहरूले आफ्नो लुगामा झुम्का बनाउनुपर्थ्यो तर फरिसीहरू भने आफ्नो लुगाको झुम्का अरूको भन्दा लामो बनाउँछन्। (गन्ती १५:३८-४०) “तिनीहरू जे-जति गर्छन्, ती सब मानिसहरूले देखून् भनेर गर्छन्।”—मत्ति २३:५.
येसुका चेलाहरूलाई समेत अरूभन्दा ठूलो बन्ने चाहनाले असर गर्न सक्थ्यो। त्यसैले उहाँ उनीहरूलाई यस्तो सल्लाह दिनुहुन्छ: “तिमीहरूलाई भने रब्बी नभनियोस् किनकि तिमीहरूको गुरु एकै जना हुनुहुन्छ र तिमीहरूचाहिँ सबै दाजुभाइ हौ। साथै तिमीहरू पृथ्वीमा कसैलाई पिता नभन किनकि तिमीहरूका पिता एकै जना हुनुहुन्छ, जो स्वर्गमा बस्नुहुन्छ। न त कसैले तिमीहरूलाई नेता भनोस् किनकि तिमीहरूका नेता एकै जना हुनुहुन्छ, जो ख्रिष्ट हुनुहुन्छ।” त्यसोभए चेलाहरूले आफूलाई कस्तो सम्झेर व्यवहार गर्नुपर्थ्यो? येसु उनीहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ तिमीहरूको सेवक बनोस्। जसले आफूलाई उच्च पार्छ, उसलाई होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”—मत्ति २३:८-१२.
यसपछि येसु ती कपटी शास्त्री र फरिसीहरूलाई धिक्कार्नुहुन्छ। जस्तै, उहाँ यसो भन्नुहुन्छ: “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू मानिसहरू नपसून् भनेर स्वर्गको राज्यको ढोका बन्द गरिदिन्छौ। तिमीहरू न आफू पस्छौ न त पस्न खोज्नेहरूलाई नै भित्र छिर्न दिन्छौ।”—मत्ति २३:१३.
येसु फरिसीहरूको निन्दा गर्नुहुन्छ किनभने तिनीहरू आध्यात्मिक कुराहरूलाई बेवास्ता गर्छन्। तिनीहरूले बनाएको मनलाग्दी नियमहरूबाट यो स्पष्ट हुन्छ। उदाहरणको लागि, तिनीहरू भन्छन्: “यदि कसैले मन्दिरको कसम खान्छ भने त्यो केही होइन तर कसैले मन्दिरको सुनको कसम खान्छ भने उसले त्यो पूरा गर्नै पर्छ।” यसरी तिनीहरू मन्दिर यहोवाको उपासनास्थल हो र यसले मानिसहरूलाई उहाँसित नजिक हुन मदत गर्छ भन्ने कुरालाई भन्दा मन्दिरको सुनलाई धेरै महत्त्व दिएर नैतिक रूपमा अन्धो भएको कुरा देखाउँछन्। तिनीहरू “न्याय, कृपा र वफादारी जस्ता व्यवस्थाका गहकिला कुराहरूलाई बेवास्ता” गर्छन्।—मत्ति २३:१६, २३; लुका ११:४२.
येसु फरिसीहरूलाई यसो भन्नुहुन्छ: “ए अन्धा अगुवाहरू हो! तिमीहरू भुसुना चाल्छौ तर उँटलाई चाहिँ निलिहाल्छौ!” (मत्ति २३:२४) व्यवस्थाअनुसार भुसुना अशुद्ध भएकोले तिनीहरू दाखमद्यबाट भुसुना चालेर निकाल्छन्। तर व्यवस्थाका गहकिला कुराहरूलाई बेवास्ता गरेर एक अर्थमा तिनीहरू उँटलाई चाहिँ निल्छन्। उँट पनि व्यवस्थाअनुसार अशुद्ध जनावर हो, केवल यो भुसुनाभन्दा कैयौँ गुना ठूलो हुन्छ।—लेवी ११:४, २१-२४.