अध्याय ११०
मन्दिरमा येसुको अन्तिम दिन
मत्ति २३:२५–२४:२ मर्कुस १२:४१–१३:२ लुका २१:१-६
येसु धर्मगुरुहरूको अझै निन्दा गर्नुहुन्छ
मन्दिर नाश हुनेछ
गरिब विधवा दुई वटा साना सिक्का खसाल्छे
मन्दिरमा अन्तिम पटक जानुहुँदा पनि येसुले शास्त्री र फरिसीहरूलाई सबैको अगाडि कपटी भनेर तिनीहरूको कपट पर्दाफास गर्नुहुन्छ। अलङ्कार चलाउँदै उहाँ यसो भन्नुहुन्छ: “तिमीहरू ती कचौरा र थालजस्ता छौ, जुन बाहिर मात्र माझिएको हुन्छ तर भित्र भने फोहोरै हुन्छ। तिमीहरूभित्र लोभ र भोगविलास भरिएको छ। ए अन्धो फरिसी, पहिला कचौरा र थालको भित्रपट्टि माझ, तब त्यसको बाहिरपट्टि पनि सफा हुनेछ।” (मत्ति २३:२५, २६) व्यवस्थाअनुसार शुद्ध पार्नुपर्ने कुराहरूको सन्दर्भमा र बाहिरी रूपको सन्दर्भमा फरिसीहरू एकदमै नाटीकुटी गर्छन् तर तिनीहरू भित्र कस्तो छु भन्ने कुरालाई चाहिँ बेवास्ता गर्छन् र लाक्षणिक हृदयलाई शुद्ध बनाउनदेखि चुक्छन्।
तिनीहरूको कपट अर्को कुरामा पनि देखिन्छ। तिनीहरू भविष्यवक्ताहरूको चिहान बनाएर त्यसलाई सिँगार्न अग्रसर हुन्छन्। तर वास्तवमा येसुले भन्नुभएझैँ तिनीहरू “भविष्यवक्ताहरूको हत्याराहरूका सन्तान” हुन्। (मत्ति २३:३१) तिनीहरूले येसुलाई मार्न प्रयास गरेर यो कुरा प्रमाणित गरेका छन्।—युहन्ना ५:१८; ७:१, २५.
ती धर्मगुरुहरूले पश्चात्ताप नगरेमा तिनीहरूले भोग्नुपर्ने नतिजाबारे येसु यसो भन्नुहुन्छ: “ए विषालु सर्पका बच्चाहरू हो, तिमीहरू गेहेन्नाको इन्साफबाट कसरी उम्कौला?” (मत्ति २३:३३) नजिकैको हिन्नोम बेँसीमा फोहोर जलाउने गरिन्छ र यो दुष्ट शास्त्री अनि फरिसीहरूले भोग्ने अनन्त विनाशको प्रतीक हो।
येसुका चेलाहरूले “भविष्यवक्ताहरू, बुद्धिमान् मानिसहरू र शिक्षकहरू”-को रूपमा उहाँको प्रतिनिधित्व गर्नेछन्। अनि तिनीहरूलाई कस्तो व्यवहार गरिनेछ? धर्मगुरुहरूलाई सम्बोधन गर्दै येसु यसो भन्नुहुन्छ: “[मेरा चेलाहरूमध्ये] केहीलाई तिमीहरूले मार्नेछौ, केहीलाई खम्बामा टाँग्नेछौ अनि केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र केहीलाई चाहिँ सहर-सहरमा खेदो गर्नेछौ; धर्मी मानिसहरूमध्ये पृथ्वीमा ज-जसको रगत बगाइयो, ती सबैको दोष तिमीहरूमाथि आइपरोस्—धर्मी मानिस हाबिलदेखि . . . जकरियाको रगतसम्म, जसको तिमीहरूले . . . हत्या गरेका थियौ।” उहाँ यस्तो चेतावनी दिनुहुन्छ: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यी सब यस पुस्तामाथि आइपर्नेछ।” (मत्ति २३:३४-३६) इस्वी संवत् ७० मा रोमी सेनाले यरुसलेम नाश गर्दा र हजारौँ यहुदीले ज्यान गुमाउँदा यो कुरा साँचो साबित हुन्छ।
यस्तो भयावह परिस्थितिबारे सोच्दा येसु व्याकुल हुनुहुन्छ। दुःखित हुँदै उहाँ यसो भन्नुहुन्छ: “यरुसलेम, हे यरुसलेम, तँ जसले भविष्यवक्ताहरूलाई मारिस् र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हानिस्! कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ मैले तेरा छोराछोरीलाई कत्ति पटक बटुल्न चाहेँ! तर तिमीहरूले मानेनौ। हेर! परमेश्वरले तिमीहरूको घरलाई त्याग्नुभएको छ।” (मत्ति २३:३७, ३८) उहाँका श्रोताहरूलाई उहाँ कुन “घर”-बारे कुरा गर्दै हुनुहुन्छ जस्तो लागेको हुन सक्छ। उहाँ परमेश्वरले सुरक्षा दिइरहनुभएको जस्तो देखिने यरुसलेममा अवस्थित भव्य मन्दिरलाई सङ्केत गर्दै हुनुहुन्छ कि?
येसु अझै भन्नुहुन्छ: “म तिमीहरूलाई भन्छु, तिमीहरूले अबदेखि मलाई कुनै पनि हालतमा देख्नेछैनौ, जबसम्म तिमीहरू यसो भन्दैनौ: ‘यहोवाको नाममा आउने धन्यका हुन्!’” (मत्ति २३:३९) उहाँ भजन ११८:२६ का यी भविष्यसूचक शब्दहरू उद्धृत गर्दै हुनुहुन्छ: “यहोवाको नाममा आउने धन्यका हुन्; यहोवाको भवनबाट हामी तिमीहरूलाई आशिष् दिन्छौँ।” स्पष्ट छ, यो मन्दिर नाश भएपछि कोही पनि परमेश्वरको नाममा यहाँ आउनेछैन।
अब येसु मन्दिरमा सानो मुख भएको बिगुल आकारका दानपात्रहरू राखिएको ठाउँमा जानुहुन्छ। मानिसहरूले ती दानपात्रहरूमा अनुदान खसाल्न सक्छन् अनि येसु यहुदीहरूले त्यसै गरिरहेको देख्नुहुन्छ। धनीहरू “धेरै सिक्का खसाल्दै” छन्। त्यत्तिकैमा येसु एउटी गरिब विधवाले “असाध्यै थोरै मोलका दुई साना सिक्का” खसालेकी देख्नुहुन्छ। (मर्कुस १२:४१, ४२) यस विधवाको अनुदान देखेर परमेश्वर कत्ति खुसी हुनुहुन्छ भनेर येसुलाई राम्ररी थाह छ।
चेलाहरूलाई बोलाएर येसु यसो भन्नुहुन्छ: “म तिमीहरूलाई साँच्चै भन्छु, यस गरिब विधवाले दानपात्रहरूमा पैसा खसाल्ने अरू सबैले भन्दा धेरै खसाली।” किन? उहाँ अझै यसो भन्नुहुन्छ: “किनकि अरू सबैले आफ्नो प्रशस्तताबाट खसाले तर उसले त अभाव हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।” (मर्कुस १२:४३, ४४) यस विधवाको सोचाइ र काम धर्मगुरुहरूको भन्दा कत्ति फरक!
नीसान ११ अझै सिद्धिएको छैन र येसु अन्तिम पटक मन्दिरबाट बाहिर निस्कनुहुन्छ। उहाँको एक जना चेला यसो भन्छन्: “गुरुज्यू, हेर्नुहोस् त! कति सुन्दर ढुङ्गा अनि कति शानदार भवनहरू!” (मर्कुस १३:१) हुन पनि मन्दिरका पर्खालहरू बनाउन प्रयोग गरिएका कुनै-कुनै ढुङ्गा असाध्यै ठूलो छ, जसले गर्दा यो मन्दिर बलियो र स्थायीजस्तो देखिन्छ। त्यसैले येसुले यसो भन्नु अचम्मलाग्दो छ: “तिमीले देखिरहेका यी भव्य भवनहरू एउटा ढुङ्गामाथि अर्को ढुङ्गासमेत नरहनेगरि ढालिनेछन्।”—मर्कुस १३:२.
यी कुराहरू भनिसक्नुभएपछि येसु र उहाँका प्रेषितहरू किद्रोन बेँसी पार गरेर जैतुन डाँडा उक्लनुहुन्छ। डाँडाको एउटा भागमा पुग्दा चार जना प्रेषित—पत्रुस, अन्द्रियास, याकुब र युहन्ना येसुसँगै छन्। त्यहाँबाट उहाँहरूले यरुसलेमको भव्य मन्दिर देख्न सक्नुहुन्छ।