जागा रहने समय अहिल्यै हो!
“अब निद्राबाट बिउँझने ठीक बेला आइपुगेको छ।” (रोमी १३:११) प्रेरित पावलले उक्त शब्द सा.यु. ७० मा यहूदी रीतिरिवाजको विध्वंशकारी अन्त हुनुभन्दा १४ वर्षअघि रोमका मसीहीहरूलाई लेखेका थिए। आध्यात्मिक तवरमा जागा रहेकाले यहूदी मसीहीहरू त्यस निर्णायक समयमा यरूशलेममा थिएनन्। फलतः तिनीहरू मृत्यु वा दासत्वबाट बचे। तर तिनीहरूले शहरबाट भाग्नुपर्छ भनेर कसरी थाह पाए?
यरूशलेमलाई शत्रुहरूले घेरा हाल्नेछन् र त्यहाँका बासिन्दाहरूलाई जमीनमा पछार्नेछन् भनी येशू ख्रीष्टले चेताउनी दिनुभएको थियो। (लूका १९:४३, ४४) त्यसपछि येशूले आफ्ना विश्वासी अनुयायीहरूलाई दिनुभएका विभिन्न चिह्नहरू ठम्याउन गाह्रो थिएन। (लूका २१:७-२४) यरूशलेममा बसोबास गर्ने मसीहीहरूको निम्ति शहर छोड्नुको अर्थ आफ्नो घर र जागिर छोड्नु थियो। यद्यपि, तिनीहरू सतर्क भएकाले र त्यहाँबाट भागेकाले ज्यान जोगियो।
येशूले यरूशलेमको विनाशबारे भविष्यवाणी गर्नुहुँदा उहाँका चेलाहरूले प्रश्न गरे: “हामीलाई भन्नुहोस्, यो कुरा कहिले हुनेछन्, र तपाईंको आगमन र जगत्को अन्तको चिह्न के हुन्छ?” (मत्ती २४:३) जवाफमा येशूले आफ्नो भावी उपस्थितिलाई नूहको समयमा भएको विश्वव्यापी जलप्रलयपूर्व समयसित तुलना गर्नुभयो। जलप्रलयमा दुष्टहरू सबैको विनाश भएको येशूले औंल्याउनुभयो। (मत्ती २४:२१, ३७-३९) यसप्रकार, परमेश्वरले मानव मामिलामा पुनः हस्तक्षेप गर्नुहुनेछ भनी उहाँले संकेत गर्नुभयो। तर कुन हदसम्म? यस दुष्ट संसार वा रीतिरिवाजलाई नाश गर्ने हदसम्म! (२ पत्रुस ३:५, ६ तुलना गर्नुहोस्।) के त्यो हाम्रो समयमा हुनसक्छ?
के सबै कुरा सुरुदेखि जस्तैगरि चल्दै आएका छन्?
प्रथम शताब्दीमा आफ्नो पवित्र शहर, यरूशलेम नाश हुनेछ भनी कमै यहूदीहरूले कल्पना गरेका थिए होलान्। ज्वालामुखी सँगै बस्ने तर आफ्नै आँखाले विस्फोट भएको नदेखेकाहरूले पनि त्यस्तैगरि सजिलै पत्याउँदैनन्। चेताउनीहरू दिंदा प्रायः मानिसहरू “मेरो जीवनकालमै हुँदैन” भन्छन्। “अक्सर ज्वालामुखी विस्फोट दुई वा तीन शताब्दीमा एक चोटि मात्र हुन्छ” भनी ज्वालामुखी विशेषज्ञ लायोनल विल्सन भन्छन्। “विस्फोटनको कारण तपाईंको आमाबाबु अन्तै सर्नुपरेको भए तपाईं चिन्तित हुनुहुन्छ। तर बाजेबज्यैका समयमा भएको हो भने त्यो कथाजस्तो लाग्नसक्छ।”
तथापि, सही जानकारीहरू पायौं भने खतराका चिह्नहरू ठम्याउन र तिनीहरूलाई गम्भीरतापूर्वक लिन मदत मिल्नेछ। माउन्ट पेलिबाट भागेका मानिसहरूलाई ज्वालामुखीबारे ज्ञान थियो र तिनीहरूले खतराका चिह्नहरू बुझे। माउन्ट पिनाटोबु विस्फोटन हुनु केही समयअघि पनि त्यस्तै चिह्नहरूको सही अर्थ लगाइएको थियो। पहाड भित्रभित्रै गुम्सिरहेको लाभा, ग्याँस, माटो इत्यादिबारे अध्ययन गरिरहेका ज्वालामुखी विशेषज्ञहरूले मानिसहरूलाई इलाका छोडेर जान मनाए।
निस्सन्देह, कोही कोही मानिसहरूलाई जति नै चेताउनी दिए पनि खतराका चिह्नलाई सधैं बेवास्ता गर्नेछन् र केही हुनेछैन भनी ढिपी कस्नेछन्। तिनीहरूले ठोस कदम चाल्नेहरूलाई गिज्याउनेसमेत गर्लान्। त्यस्तो विचारधारा हाम्रो समयमा व्याप्त हुनेछ भनी प्रेरित पत्रुसले भविष्यवाणी गरे। तिनले भने: “पहिलेनै यो जान, कि पछि-पछिका दिनहरूमा गिल्ला गर्नेहरू गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखिनै सृष्टिको शुरूदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्।’ ”—२ पत्रुस ३:३, ४.
हामी “आखिरी दिनमा” छौं भनी के तपाईं पत्याउनुहुन्छ? विश्वको कोलम्बिया इतिहास-मा (अंग्रेजी) जोन ए. ग्यारेटि र पिटर गे प्रश्न गर्छन्: “के हामीले हाम्रो सभ्यता भताभुंग भइरहेको देखिरहेका छौं?” त्यसपछि यी इतिहासकारहरू सरकारका समस्याहरू, विश्वभरि बढिरहेको अपराध र अराजकता, भताभुंग भइरहेको पारिवारिक जीवन, सामाजिक समस्या हल गर्न विज्ञान तथा प्रविधिको असफलता, अख्तियारको संकट अनि विश्वभरि नैतिकता र धर्ममा देखा परेको ह्रासको विश्लेषण गर्छन्। तिनीहरू निष्कर्षमा भन्छन्: “यी सबै अन्तका जोरदार प्रमाणहरू बाहेक अरू केही होइनन्।”
“अन्त” आउनै लागेको छ भनी विश्वास गर्न हामीसित ठोस कारणहरू छन्। तर यस पार्थिव पृथ्वीकै अन्त हुन्छ भनी हामीले धन्दा मान्नु पर्दैन किनभने परमेश्वरले पृथ्वी “कहिल्यै नडग्मगाओस् भनेर, . . . बसाल्नुभयो” भनी बाइबलले बताउँछ। (भजन १०४:५) तैपनि, मानिसजातिलाई अचाक्ली सास्ती दिने यस दुष्ट रीतिरिवाजको अन्त चाँडै हुने प्रत्याशा हामीले गर्नसक्छौं। किन? किनभने येशू ख्रीष्टले औंल्याउनुभएका यस रीतिरिवाजको अन्तका थुप्रै चिह्नहरू हामी देख्नसक्छौं। (“आखिरी दिनका केही चिह्नहरू” पेटी हेर्नुहोस्।) येशूका शब्दहरूसित विश्व घटनाहरूलाई तुलना गरे कसो होला? त्यसो गर्दा तपाईं अनि तपाईंको परिवारलाई फाइदा हुने निर्णयहरू गर्न सायद तपाईंले मदत पाउनुहुनेछ। तर किन अहिल्यै कदम चाल्नुपर्ने?
जागा रहन साँच्चै जरुरी छ
वैज्ञानिकहरूलाई ज्वालामुखी विस्फोट हुनै लागेको छ भनी थाह भए तापनि ठीक कुन समयमा हुन्छ भन्न सक्दैनन्। त्यस्तैगरि, यस रीतिरिवाजको अन्तबारे येशूले भन्नुभयो: “त्यस दिन र घड़ीको विषयमा कसैले जान्दैन, नता स्वर्गका दूतहरूले, न पुत्रले, तर पिताले मात्र।” (मत्ती २४:३६) यस रीतिरिवाजको अन्त कहिले हुन्छ भनी हामीलाई ठ्याक्कै थाह नभएकोले येशूले हामीलाई निम्न चेताउनी दिनुभयो: “तर यो जान, कि घरको मालिकले चोर कुन पहरमा आउँछ भनी जानेको भए, उ जागा रहनेथियो, र आफ्नो घर फोरिन दिने थिएन। यसकारण तिमीहरू पनि तयार रहो किनकि मानिसको पुत्र [येशू] तिमीहरूले नचिताएको बेलामा आउँछ।”—मत्ती २४:४३, ४४.
संसारका मानिसहरूले आशै नगरेको बेला यस रीतिरिवाजको विध्वंशकारी अन्त हुनेछ भनी येशूका शब्दहरूले संकेत गर्छन्। हामी उहाँकै अनुयायीहरू भए तापनि ‘आफू तयार रहेको’ प्रमाणित गर्नु जरुरी छ। हाम्रो परिस्थिति आफ्नो घरमा अचानक चोर घुस्दा वाल्ल पर्ने घरपतिको जस्तै हुनेछ।
त्यस्तैगरि, प्रेरित पावलले थिस्सलोनिकीका मसीहीहरूलाई भने: “तिमीहरू आफै ठीक ठीक जान्दछौ, प्रभुको दिन ता रातमा चोर आएझैं आउनेछ। तर हे भाइ हो, त्यो दिन तिमीहरूमाथि चोरजस्तै गरी आइपर्ला भन्ने अन्धकारमा तिमीहरू छैनौ।” पावलले यस्तो आग्रह पनि गरे: “अरूहरूझैं हामी नसुतौं, तर जागा रहौं र होशियार होऔं।” (१ थिस्सलोनिकी ५:२, ४, ६) “जागा रहौं र होशियार होऔं” भन्नुको अर्थ के हो?
प्रथम शताब्दीका मसीहीहरू यरूशलेमबाट भागेझैं हामी पनि सुरक्षाको निम्ति एउटा शहरबाट भागेर मात्र पुग्दैन। रोमका सँगी विश्वासीहरूलाई निद्राबाट ब्यूँझन सल्लाह दिएपछि पावलले “अन्धकारका काम छोड़ेर . . . प्रभु येशू ख्रीष्टलाई धारण गर” भन्ने आग्रह गरे। (रोमी १३:१२, १४) येशूको पाइलालाई पछ्याइरह्यौं भने हामी आफ्नो समयबारे जागा छौं भनेर देखाइरहेका हुनेछौं। अनि आध्यात्मिक सतर्कता अपनाउँदा हामीले यस दुष्ट रीतिरिवाजको अन्तको बेला ईश्वरीय सुरक्षा प्राप्त गर्नेछौं।—१ पत्रुस २:२१.
येशू ख्रीष्टलाई पछ्याउनेहरूले अर्थपूर्ण र सन्तोषजनक जीवनको आनन्द उठाउँछन्। यहोवाका लाखौं साक्षीहरूले मसीही शिष्यत्वको जुवा दयालु र स्फूर्तिदायक पाएका छन्। (मत्ती ११:२९, ३०) चेला हुन सर्वप्रथम ‘परमेश्वर अनि उहाँले पठाउनुभएको येशू ख्रीष्टलाई चिन्नुपर्छ।’ (यूहन्ना १७:३) मानिसहरूले “सत्यको ज्ञान” पाऊन् भन्ने हेतुले साक्षीहरू हरेक हप्ता लाखौं घरहरू जान्छन्। (१ तिमोथी २:४) तपाईंसित तपाईंकै घरमा निश्शुल्क गृह बाइबल अध्ययन सञ्चालन गर्न पाउँदा तिनीहरू खुसी हुनेछन्। अनि तपाईंले पनि परमेश्वरको वचनको ज्ञान हासिल गर्दै जानुभएपछि तपाईं पनि हामी बाँचिरहेको समय भिन्न छ भनी विश्वस्त हुनुहुनेछ। निस्सन्देह, जागा रहने समय अहिल्यै हो!
[पृष्ठ ७-मा भएका चित्र/पेटी]
आखिरी दिनका केही चिह्नहरू
“राज्यको विरुद्धमा राज्य उठ्नेछ”; ‘पृथ्वीबाट शान्ति हरण हुनेछ।’ (मत्ती २४:७; प्रकाश ६:४)
यस शताब्दीको दुई विश्वयुद्धलगायत अन्य दर्जनौ भिडन्तहरूले यस पृथ्वीको शान्ति हरण गरेको छ। “प्रथम अनि दोस्रो विश्वयुद्ध दुवै यसअघि लडिएका अन्य युद्धहरूभन्दा हातहतियारको प्रयोग, भीषण, व्यापक तथा धनजनको क्षतिको हिसाबमा फरक छन्। . . . ती दुवै विश्वयुद्धले थुप्रै मानिसहरूको ज्यान लिए, थुप्रो धनसम्पत्ति नाश गरे साथै यी दुवै युद्धले जस्तो त अरू कुनै पनि युद्धले विश्वका अधिकांश मानिसहरूलाई दुःखकष्ट दिएका छैनन्।” अहिले युद्धहरूबाट सेनाहरूभन्दा महिला तथा केटाकेटी बढी पीडित छन्। संयुक्त राष्ट्र संघीय बाल कोषअनुसार विगत दस वर्षमा युद्धले बीस लाखभन्दा बढी केटाकेटीको ज्यान लिएको छ।
“ठाउँ ठाउँमा अनिकाल” (मत्ती २४:७; प्रकाश ६:५, ६, ८)
सन् १९९६ मा गहुँ र मकैको भाउ स्वात्तै बढ्यो। कारण? विश्व खाद्यान्न भण्डारमा यी खाद्यान्नहरूको आपूर्ति जम्मा ५० दिनलाई पुग्ने मात्र थियो। यस्तो कम संख्या पहिला कहिल्यै पुगेको थिएन। आधारभूत भोजनको बढ्दो मूल्यको अर्थ विश्वका करोडौं जनसंख्या जसमध्ये थुप्रै केटाकेटीहरू छन्, भोको पेट रहनेछन्।
“ठाउँ ठाउँमा . . . भैंचालो हुनेछ” (मत्ती २४:७)
विगत २,५०० वर्षको दौडान नौ वटा भैंचालोले मात्र प्रत्येक चोटि १,००,००० मानिसहरूको ज्यान लिएका छन्। यीमध्ये चार वटा १९१४ यता भएका हुन्।
“अधर्म बढ़ने” (मत्ती २४:१२)
यस २० औं शताब्दीको अन्त नजिकिंदै जाँदा अधर्म वा कानुनको अवहेलना गर्नेहरूको झनै बिगबिगी छ। नागरिकहरूमाथि आतंककारी आक्रमण, हत्याराहरू र आमहत्याहरू यस हिंस्रक आखिरी दिनको केही डरलाग्दा पक्षहरू हुन्।
“विभिन्न ठाउँहरूमा रूढ़ी . . . हुनेछ” (लूका २१:११)
सन् १९९० को दशकभित्र मात्र झन्डै ३ करोड मानिसहरू क्षयरोगको कारण मर्ने छन्। रोगका जीवाणु बोक्ने कीटाणुमाथि एन्टिबायोटिक झन् झनै प्रभावहीन भइरहेको छ। औलो एउटा अर्को प्राणघातक रोग हो र यस रोगबाट वर्षेनी ३० देखि ५० करोड मानिसहरू ग्रसित हुन्छन् र झन्डै २० लाखको मृत्यु हुन्छ। यस शताब्दीको अन्तसम्ममा एड्सले वर्षेनी १८ लाखको ज्यान लिने अनुमान लगाइएको छ। “आज मानव समाजले एकपछि अर्को महामारीको अनुभव गरिरहेको छ” भनी विश्व अवस्था १९९६ (अंग्रेजी) घोषणा गर्छ।
“राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ” (मत्ती २४:१४)
यहोवाका साक्षीहरूले १९९७ मा परमेश्वरको राज्य सुसमाचार प्रचार गर्न एक अरब घण्टाभन्दा बढी समय बिताए। पचास लाखभन्दा बढी साक्षीहरूले यो सन्देश २३२ मुलुकहरूमा नियमित तवरले सुनाउँछन्।
[स्रोत]
FAO photo/B. Imevbore
U.S. Coast Guard photo
[पृष्ठ ४, ५-मा भएका चित्र]
आध्यात्मिक तवरमा जागा रहेको हुनाले मसीहीहरू यरूशलेमबाट भागे