अहिलेको डरलाग्दो समयम “हृदयको शुद्धता” कायम राख्नुहोस्
“नैतिक शुद्धताले आज चर्चमा एउटा समस्याको रूप लिएको छ भनेर कसैले नकार्न सक्दैन।” क्याथोलिक पत्रकार भिट्टोऱ्यो मेस्सोरीले हालै इटालीको चर्च संलग्न भएको यौन दुराचारबारे उक्त टिप्पणी गरे। पादरीहरू ब्रह्मचर्य रहनुपर्ने आवश्यकता हटाउँदैमा यो समस्या समाधान हुँदैन किनभने यौन दुराचारका ८० प्रतिशत घटनाहरू त समलिङ्गीहरूसँग सम्बन्धित छन्—पुरुष र केटाहरूसित यौन दुर्व्यवहार गर्ने विकृत यौन झुकाव भएका पादरीका घटनाहरू।”—ला स्टाम्पा।
सर्वत्र फैलिएको दुष्टता यस संसारको “आखिरी दिन”-को चिह्न हो भन्ने कुरामा कुनै शंका छैन। (२ तिमो. ३:१-५) खस्कँदै गएको नैतिकताले सर्वसाधारण मानिसहरूमा मात्र होइन तर आफूलाई परमेश्वरका मानिस भनी दाबी गर्नेहरूमा पनि नकारात्मक प्रभाव पारिरहेको छ भनी समाचारहरूबाट स्पष्ट हुन्छ। तिनीहरूका भ्रष्ट र अशुद्ध हृदयले तिनीहरूलाई पतित कार्यहरू गर्न लालायित गर्छ। (एफि. २:२) जायजै कारणले येशूले यस्तो चेतावनी दिनुभयो: “हृदयबाटनै दुष्ट विचार, हत्या, जारी, व्यभिचार, चोरी, झूटो साक्षी, निन्दा बाहिर निस्कन्छन्।” (मत्ती १५:१९) तर यहोवा परमेश्वर आफ्ना सेवकहरूले “हृदयको शुद्धता” रुचाएको चाहनुहुन्छ। (हितो. २२:११, NRV) त्यसोभए यो डरलाग्दो समयमा ख्रीष्टियानले कसरी शुद्ध हृदय कायम राख्न सक्छन्?
“हृदयमा शुद्ध” हुनु भनेको के हो?
बाइबलमा अक्सर “हृदय” शब्दलाई प्रतीकात्मक अर्थमा चलाइएको छ। एउटा सन्दर्भ पुस्तकअनुसार हृदयले “मानिसको भित्री भागलाई” संकेत गर्छ र “यो एउटा यस्तो भाग हो जसलाई परमेश्वर महत्त्वपूर्ण ठान्नुहुन्छ, यसले परमेश्वरसितको सम्बन्ध र नैतिक आचरणलाई असर गर्छ।” हृदयले हाम्रो भित्री व्यक्तित्वलाई बुझाउँछ। माथि उल्लेख गरिएको पुस्तकले जोड दिएअनुसार यहोवाले जाँच्नुहुने र आफ्ना सेवकहरूमा मोल गर्नुहुने कुरा यही हृदय हो।—१ पत्रु. ३:४.
बाइबलमा “शुद्ध” भन्ने शब्दले शारीरिक अर्थमा सफा हुनुलाई बुझाउन सक्छ। तर यो शब्दले नैतिक र धार्मिक अर्थमा निष्खोट हुनु अर्थात् नमिसिनु, बिटुलो वा भ्रष्ट नहुनुलाई पनि संकेत गर्छ। डाँडाको उपदेशमा येशूले भन्नुभयो: “धन्य हृदयमा शुद्ध हुनेहरू।” उहाँले भित्री रूपमा शुद्ध हुनेहरूलाई संकेत गर्दै हुनुहुन्थ्यो। (मत्ती ५:८) तिनीहरूका भावना, चाहना र मनसाय शुद्ध हुन्छन्। प्रेम र कृतज्ञताले ओतप्रोत भई तिनीहरू यहोवालाई निष्कपटतासाथ आफ्नो सम्पूर्ण हृदयले प्रेम गर्छन्। (लूका १०:२७) तपाईं पनि यस अर्थमा शुद्ध हुन चाहनुहुन्छ नि, होइन र?
“हृदयमा शुद्ध” हुनुका चुनौतीहरू
यहोवाको सेवकको “हात निष्कलंक” भएर मात्र पुग्दैन, “हृदय” पनि “शुद्ध” हुनुपर्छ। (भज. २४:३, ४) तर आज परमेश्वरका सेवकहरूका लागि “हृदय शुद्ध” राख्नु झन्-झनै चुनौतीपूर्ण भइरहेको छ। शैतान र त्यसको अधीनमा भएको संसारको साथै हाम्रो आफ्नै असिद्ध शरीरले हामीलाई यहोवाबाट टाढिन एकदमै दबाब दिन्छ। यी दबाबको प्रतिरोध गर्न हामीले “हृदयको शुद्धता”-लाई प्रेम गर्नु र यसलाई बलियोसित पक्रिराख्नु अत्यावश्यक छ। यसले हामीलाई सुरक्षित राख्नेछ र परमेश्वरको मित्र भइरहन मदत गर्नेछ। हामी कसरी शुद्ध हृदय कायम राख्न सक्छौं?
हिब्रू ३:१२ मा हामी यस्तो चेतावनी पाउँछौं: “हे भाइ हो, होशियार बस, नत्रता जीवित परमेश्वरबाट पतित हुनलाई तिमीहरूमा कसैको अविश्वासको दुष्ट हृदय हुनेछ।” ‘अविश्वासी’ हृदय विकास गऱ्यौं भने हामी “हृदयमा शुद्ध” भइरहन सक्दैनौं। परमेश्वरमाथिको विश्वास कमजोर पार्न शैतानले कस्ता शिक्षाहरू फैलाएको छ? तीमध्ये केही हुन्: क्रमविकासको सिद्धान्त, नैतिकता र धर्मको सम्बन्धमा सापेक्षवाद र पवित्र धर्मशास्त्र ईश्वरप्रेरित हो भन्ने कुरामा शंका। हामीले आफूलाई यस्ता घातक विचारहरूको प्रभावमा पर्न दिनुहुँदैन। (कल. २:८) यस्ता आक्रमणबाट आफूलाई सुरक्षित राख्ने प्रमुख तरिका दिनहुँ बाइबल पढ्नु र गहिरो मनन गर्नु हो। परमेश्वरको वचनको सही ज्ञानले यहोवाप्रतिको हाम्रो प्रेम बढाउन र उहाँले मानिसजातिसित व्यवहार गर्ने तरिका अझ राम्ररी बुझ्न मदत गर्नेछ। यदि हामी झूटा तर्कहरू तिरस्कार गर्न र यहोवामाथिको विश्वास बलियो बनाइरहन चाहन्छौं भने यस्तो प्रेम र बुझाइ अपरिहार्य छ। यसो गर्दा शुद्ध हृदय कायम राख्न सक्छौं।—१ तिमो. १:३-५.
शारीरिक अभिलाषाहरूको सामना गर्नुपर्दा
“हृदयको शुद्धता” कायम राख्ने कोसिस गर्दा हामीले सामना गर्न सक्ने अर्को आक्रमण शारीरिक र भौतिक अभिलाषाहरू हुन्। (१ यूह. २:१५, १६) पैसाप्रतिको प्रेम वा धनसम्पत्ति थुपार्ने र भौतिक कुराहरू प्राप्त गर्ने चाहनाले हृदय भ्रष्ट पार्न सक्छ जसले ख्रीष्टियानलाई परमेश्वरको इच्छा विपरीत कामहरू गर्नतर्फ धकेल्न सक्छ। कोही-कोहीले काममा बेइमानी गरेका, अरूलाई ठगेका र अरूको पैसा वा सामानसमेत चोरेका छन्।—१ तिमो. ६:९, १०.
अर्कोतर्फ, यहोवालाई दुःखी तुल्याउने हो कि भन्ने स्वस्थकर भय विकास गर्दा, न्यायलाई प्रेम गर्दा र असल अन्तस्करण कायम राख्ने संकल्प गर्दा हामी “हृदयको शुद्धता”-लाई प्रेम गर्छौं भनी देखाउँछौं। यस्तो प्रेमले हामीलाई “सबै कुरामा इमान्दारी” भई चल्न उत्प्रेरित गर्छ। (हिब्रू १३:१८) ईमानसँग व्यवहार गर्दा हाम्रो इमानदारिताले असल साक्षी दिन सक्छ। इटालीका एक साक्षी इमिलियो एउटा सार्वजनिक यातायात कम्पनीमा ड्राइभर काम गर्छन्। तिनले एकचोटि ४७० युरो (लगभग ने.रु. ५२,०००) भएको पैसाको थैली भेट्टाए। आफ्ना सहकर्मीहरूलाई आश्चर्यचकित पार्दै तिनले उक्त थैली आफ्नो हाकिमलाई बुझाए। पछि ती हाकिमले त्यो थैली सम्बन्धित व्यक्तिलाई फर्काइदिए। इमिलियोको यो काम देखेर तिनका केही सहकर्मीहरू यति प्रभावित भए कि तिनीहरूले बाइबलप्रति चासो देखाए र अध्ययन सुरु गरे। नतिजास्वरूप, दुई परिवारका सात सदस्यले सत्य ग्रहण गरे। हो, शुद्ध हृदयले इमानदारिसाथ व्यवहार गर्दा अरू पनि परमेश्वरको प्रशंसा गर्न साँच्चै उत्प्रेरित हुन सक्छन्।—ती. २:१०.
ख्रीष्टियानको हृदयको शुद्धतालाई नकारात्मक असर पार्न सक्ने अर्को कुरा यौनसम्बन्धी विकृत र अनैतिक विचारधारा हो। विवाहपूर्वको यौन सम्बन्ध, विवाहबाहिरको यौन सम्बन्ध र समलैङ्गिक सम्बन्धलाई थुप्रैले सामान्य रूपमा हेर्छन्, यसले ख्रीष्टियानको हृदय भ्रष्ट पार्न सक्छ। यौन अनैतिकताको वशमा पर्ने व्यक्तिले आफ्नो पाप लुकाउँदै कपट्याइँपूर्वक दोहोरो जीवन बिताइरहेको हुन सक्छ। यसले पक्कै पनि “हृदयको शुद्धता” झल्काउँदैन।
पन्ध्र वर्षका हुँदा गब्रिएलले बप्तिस्मा गरे र लगत्तै अग्रगामी सेवा सुरु गरे। तर पछि तिनले नाइटक्लबमा खराब साथीहरूसित समय बिताउन थाले। (भज. २६:४) यो अनैतिक र ढोंगी जीवनशैलीको सुरुआत थियो। पछि तिनलाई ख्रीष्टियान मण्डलीबाट बहिष्कार गर्नुपऱ्यो। यहोवाले दिनुभएको त्यस्तो अनुशासनले तिनलाई गहिरिएर सोच्न बाध्य तुल्यायो। गब्रिएल सम्झन्छन्: “मैले पहिला कहिल्यै गम्भीरतापूर्वक नलिएका सबै कुरा गर्न थालें। यहोवाले साँच्चै के भन्दै हुनुहुन्छ बुझ्ने कोसिस गर्दै दिनहुँ बाइबल पढें। साथै, हाम्रा प्रकाशनहरू ध्यानसित अध्ययन गरें। व्यक्तिगत अध्ययन गर्नु कत्ति इनामदायी र सन्तोषजनक हुँदो रहेछ अनि बाइबल पढाइ र व्यग्र प्रार्थनाबाट कत्ति बल पाउन सकिंदो रहेछ, मैले थाह पाएँ।” यसले गब्रिएललाई तिनको अनैतिक आचरण त्याग्न र यहोवासितको सम्बन्ध पुनः कायम गर्न मदत गऱ्यो।
अहिले गब्रिएल आफ्नी पत्नीसित फेरि अग्रगामीको रूपमा सेवा गर्दैछन्। बाइबल अनि “विश्वासी र बुद्धिमान् दास”-द्वारा प्राप्त प्रकाशनहरूको अध्ययनले कसरी कुनै व्यक्तिलाई शुद्ध हृदय राख्न र अनैतिकतालाई तिरस्कार गर्न मदत गर्छ, गब्रिएलको अनुभवले पुष्टि गर्छ।—मत्ती २४:४५; भज. १४३:१०.
परीक्षामा पर्दा “हृदयको शुद्धता”
विरोधीहरूको दबाब, आर्थिक कठिनाइ र गम्भीर बिमारीले परमेश्वरका केही सेवकहरूलाई निरुत्साहित बनाएको छ। कहिलेकाहीं तिनीहरूको हृदयलाई पनि नकारात्मक असर पारेको छ। राजा दाऊदले समेत यस्तो अनुभव गरे: “मेरो आत्मा मभित्र खिन्न भएको छ, मेरो हृदय मभित्रै दिक्क भएको छ।” (भज. १४३:४) यस्तो अवस्थाबाट माथि उठ्न केले तिनलाई मदत दियो? परमेश्वरले आफ्ना सेवकहरूसित गर्नुभएको व्यवहार र तिनी आफैलाई पनि कसरी उद्धार गर्नुभयो, दाऊदले सम्झे। यहोवाले आफ्नो महान् नाउँको खातिर के गर्नुभयो, त्यसबारे तिनले मनन गरे। दाऊद परमेश्वरका कार्यहरूमा मग्न भए। (भज. १४३:५) त्यसैगरि, सृष्टिकर्ता र उहाँले हाम्रो लागि गर्नुभएका अनि गरिरहनुभएका सबै कुरामा मनन गर्दा परीक्षामा पर्दासमेत मदत मिल्नेछ।
आफूमाथि अन्याय हुँदा वा अन्याय भएजस्तो महसुस हुँदा हामीलाई तिक्तताको भावनाले पिरोल्न सक्छ। त्यसबारे मात्र सोचिरहँदा हामीमा आफ्ना भाइहरूबारे नकारात्मक भावना आउन सक्छ। हामी अरूसित संगत गर्न छोड्ने, टाढिने र अरूप्रति खासै चासो नदेखाउने हुन सक्छौं। तर के यस्तो प्रतिक्रिया ‘शुद्ध हृदय’ राख्ने हाम्रो चाहनासित मेल खान्छ? स्पष्टतया, हृदयको अवस्था यस्तो राख्नुमा ख्रीष्टियान भाइहरूसितको व्यवहार र असमझदारी हुँदा कस्तो प्रतिक्रिया देखाउँछौं, त्यो समावेश छ।
झन्-झनै भ्रष्ट हुँदै र नैतिक रूपमा खस्कँदै गइरहेको संसारमा हामी साँचो ख्रीष्टियानहरू भने भिन्नै छौं। किन? किनभने हामी “हृदयको शुद्धता”-लाई प्रेम गर्छौं। परमेश्वरको इच्छा गर्दा प्राप्त हुने मनोशान्तिले हाम्रो जीवनमा सकारात्मक असर पार्छ। सबैभन्दा महत्त्वपूर्ण, “हृदय शुद्ध” भएकाहरूलाई प्रेम गर्ने हाम्रा सृष्टिकर्ता यहोवासित घनिष्ठ मित्रताको आनन्द उठाउँछौं। (भज. ७३:१) हो, हामी आनन्दित मानिसहरूमध्ये हुन सक्छौं किनभने येशूले प्रतिज्ञा गरेझैं यहोवाले “हृदयको शुद्धता”-लाई प्रेम गर्नेहरूका खातिर कदम चाल्नुहुँदा “तिनीहरूले परमेश्वरलाई देख्नेछन्।”—मत्ती ५:८. (w10-E 03/15)