“हामीलाई भन्नुहोस्, यी कुराहरू कहिले हुनेछन्?”
“नयाँ कुराहरू म बताउनेछु, ती हुनुभन्दा अघिनै म तिनका विषयमा तिमीहरूलाई बताउनेछु।” —यशैया ४२:९.
“आदिदेखि अनन्तसम्मको” कुराहरू बताउनुहुने यहोवा परमेश्वरबाट नै ईश्वरीय शिक्षा आउँछ। (यशैया ४६:१०) अघिल्लो लेखले देखाएझैं प्रेरितहरूले येशूसित त्यस्तो शिक्षा मागे र यसो भन्दै सोधे: “हामीलाई भन्नुहोस्, यी कुरा कहिले हुनेछन्? र यी सबै कुरा हुनलाग्दा के चिह्न हुनेछ?”—मर्कूस १३:४.
२ त्यसको प्रत्युत्तरमा यहूदी रीतिरिवाजको अन्त छिट्टै नै हुनेछ भन्ने प्रमाणस्वरुप येशूले मिश्रित “चिह्न” वर्णन गर्नुभयो। सा०यु० ७०-मा यरूशलेमको विनाश हुँदा यो पूरा भयो। तर पनि टाढाको भविष्यमा येशूका भविष्यवाणीहरूको महान पूर्ति हुने थियो। सन् १९१४-मा “अन्यजातिको समय” अन्त भएपछि व्यापक तवरमा ती चिह्नहरू देखिनेथिए। ती चिह्नहरूले “महासङ्कष्ट”-मा वर्तमान दुष्ट रीतिरिवाजको अन्त हुनेछ भनी प्रकट गर्छन्।a (लूका २१:२४) यस २०औं शताब्दीमा घटेका विश्व युद्धहरू र अरू महत्त्वपूर्ण घटनाहरूद्वारा यो चिह्न पूरा भइरहेको छ भनेर अहिले जीवित लाखौंले पुष्टि दिन सक्छन्। यसले येशूको भविष्यवाणीको ठूलो पूर्तिलाई पनि चिह्नित गर्छ। यस आधुनिक पूर्तिको नमूना स्वरूप सा० यु० ३३ देखि ७० भित्र भएको थियो।
३ अन्यजातिहरूको समयबारे लूकाले उल्लेख गरिसकेपछि मत्ती, मर्कूस र लूकामा भएको समानान्तर विवरणले अरू घटनाक्रमको वर्णन गर्छ जसमा ‘जगतको अन्तको’ मिश्रित चिह्न बाहेक एउटा थप चिह्न समावेश गरिएको छ। (मत्ती २४:३) (पृष्ठ २५-मा यस बुँदालाई दुईसरो थोप्ले विन्दु मुनि इङ्गित गरिएको छ।) मत्ती भन्छन्: “तर ती सङ्कष्टका दिनको तुरुन्त पछि सूर्य अँध्यारो हुनेछ, र जूनले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा स्वर्गका शक्तिहरू डग्मगाउनेछ। औ तब मानिसको पुत्रको चिह्न आकाशमा देखा पर्नेछ औ पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासित आउँदैगरेको देख्नेछन्। औ उसले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठूलो आवाजको साथमा पठाउनेछ, र तिनीहरूले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उसका चुनिएकाहरूलाई जम्मा गर्नेछन्।”—मत्ती २४:२९-३१.
सङ्कष्ट र आकाशीय अद्भुत घटनाहरू
४ त्यो कहिले पूरा हुनेछ? तीनवटै सुसमाचारका विवरणहरूले सूर्य र चन्द्रमा अँध्यारो हुने र ताराहरू खस्ने कुराहरू उल्लेख गर्छन् जसलाई हामी आकाशीय अद्भुत घटनाहरू भन्न सक्छौं। यी घटनाहरू “सङ्कष्ट” पश्चात् हुनेछ भनी येशूले भन्नुभयो। यी कुराहरू बताउनु हुँदा के येशूको मनमा सा०यु० ७०-मा चरमोत्कर्षमा पुगेको सङ्कष्ट थियो अथवा हाम्रो आधुनिक समयभन्दा अझै भविष्यमा हुने महासङ्कष्टबारे उहाँ भन्दैहुनुहुन्थ्यो?—मत्ती २४:२९; मर्कूस १३:२४.
५ अन्यजातिको समय १९१४-मा अन्त भएदेखि परमेश्वरका जनहरूले “महा संकष्ट”-बारे निकै चासो राख्दै आएका छन्। (प्रकाश ७:१४) आधुनिक समयमा हुने महासङ्कष्टको सुरुआत प्रथम विश्व युद्ध हुँदा हुने, त्यसपछि एउटा लामो अन्तराल रहने अनि अन्तिम भाग चाहिं “सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लडाईंमा” पूरा हुनेछ भनी धेरै वर्षसम्म परमेश्वरका जनहरूले सोचेका थिए। यदि त्यस्तो हो भने, “जगतको अन्त” हुनअघिका दशकहरूमा कस्ता घटनाहरू घट्नेथिए त?—प्रकाश १६:१४; मत्ती १३:३९; २४:३; २८:२०.
६ यस अन्तरालभित्र मिश्रित चिह्न लगायत परमेश्वरले जम्मा गर्नुभएका जनहरूद्वारा प्रचार कार्य भएको देखिनेछ भन्ने विचार राखिएको थियो। साथै १९१४-१८ मा सुरु भएको त्यस अन्तरालभित्र ती भविष्यवाणी गरिएका आकाशीय अद्भुत घटनाहरू घट्नेछन् भन्ने आशा राखिएको थियो। (मत्ती २४:२९; मर्कूस १३:२४, २५; लूका २१:२५) अन्तरिक्ष जाँच, रकेटहरू, कस्मीक तथा गामा किरणहरू, चन्द्रमामा अवस्थित उपकरणहरू तथा अवतरणहरू जस्ता आकाशमा हुने शाब्दिक कुराहरूमाथि ध्यान केन्द्रित भयो।
७ यद्यपि, जनवरी १५, १९७०-को द वाचटावर-ले येशूको भविष्यवाणी, विशेषगरि आउँदै गरेको महा- सङ्कष्टबारे गरिएको भविष्यवाणी पुनरावलोकन गऱ्यो। प्रथम शताब्दीका घटनाहरूलाई दृष्टिगत गर्दा आधुनिक दिनमा हुने सङ्कष्ट १९१४-१९१८ मा सुरु भएर केही दशकसम्म स्थगित भई पुनः कायम हुने जस्तो देखिंदैन भनी त्यस पत्रिकाले भन्यो। त्यही पत्रिकाले अन्तमा यसो भन्यो: “पछि कहिल्यै नहुने ‘महासङ्कष्ट’ हुन अझ बाँकि नै छ किनभने त्यसको अर्थ (मसीहीजगत लगायत) झूटो धर्मको विश्व साम्राज्यको विनाश र त्यसपश्चात् आरमागेडोनमा ‘सर्वशक्तिमान परमेश्वरको ठूलो दिनको लडाईं’ हो।”
८ तर आकाशीय अद्भुत घटनाहरू “सङ्कष्टको तुरुन्त पछि” हुनेछ भनी मत्ती २४:२९-ले भन्छ। त्यो कसरी हुन सक्छ? यहाँ उल्लेख गरिएको “सङ्कष्ट” सा०यु० ७०-मा चरमोत्कर्षमा पुगेको सङ्कष्ट हो भनी मे १, १९७५ को द वाचटावर-ले सङ्केत गऱ्यो। तर कुन अर्थमा हाम्रो समयमा भएका आकाशीय अद्भुत घटनाहरूलाई सा०यु० ७०-को “तुरुन्त” पश्चात् घटेका घटनाहरू भन्न सकिन्छ? परमेश्वरको नजरमा ती घटनाहरू बीचका शताब्दीहरू तुलनात्मक ढङ्गमा छोटो छन् भन्ने तर्क गरियो। (रोमी १६:२०; २ पत्रुस ३:८) तथापि, यो भविष्यवाणी र विशेषगरि मत्ती २४:२९-३१ लाई गहिरिएर हेर्दा त्यसले एउटा भिन्दै स्पष्टीकरण औंल्याउँछ। यसले ज्योति “मध्य दिन नहोउञ्जेलसम्म झन् झन् चहकिलो हुँदै जान्छ” भन्ने कुरालाई स्पष्ट पार्छ। (हितोपदेश ४:१८)b यस नयाँ, परिवर्तित स्पष्टीकरण किन उपयुक्त छ त्यसमा ध्यान देऔं।
९ ‘सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो चमक दिनेछैन औ ताराहरू आकाशबाट खस्नेछन्’ भन्ने भविष्यवाणी येशूले आफ्ना चार प्रेरितहरूलाई भन्नुभयो। यहूदीहरू भएकोले हिब्रू शास्त्रहरूमा उल्लिखित त्यस्ता शब्दहरूसित तिनीहरू परिचित थिए। उदाहरणको लागि सपन्याह १:१५-मा परमेश्वरको न्यायको दिनलाई “बर्बादी र उजाड़को दिन, अँध्यारो र विरक्तको दिन, बादल र घोर अन्धकारको दिन” भनिएको थियो। अन्य हिब्रू अगमवक्ताहरूले पनि सूर्य अँध्यारो हुने, चन्द्रमाले आफ्नो चमक नदिने र ताराहरू उज्यालो नहुने विवरण दिएका छन्। बेबिलोन, एदोम, मिश्र र इस्राएलका उत्तरी राज्यहरूको विरुद्धमा भनिएका ईश्वरीय चेतावनीहरूमा पनि तपाईंले यस्तै प्रकारका शब्दहरू पाउनुहुनेछ।—यशैया १३:९, १०; ३४:४, ५; यर्मिया ४:२८; इजकिएल ३२:२, ६-८; आमोस ५:२०; ८:२, ९.
१० येशूले भन्नुभएका यी कुराहरू सुन्नेबित्तिकै पत्रुस र अन्य तीन जना प्रेरितहरूलाई योएल २:२८-३१ र ३:१५-मा योएलको भविष्यवाणी स्मरण भएको हुनुपर्छ। त्यहाँ यसो भनिएको छ: “म मेरो आत्मा सबैमाथि खन्याउनेछु, र तिमीहरूका छोरा-छोरीहरूले भविष्यवाणी कहनेछन्, . . . आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत, आगो र धुवाँका खामाहरू। परमप्रभुको त्यो महा र भयङ्कर दिन आउनभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र चाहिं रगतमा परिवर्तन हुनेछ।” “सूर्य र चन्द्र अँध्यारो हुनेछ र ताराहरूले आफ्नो चमक दिनेछैन।”
११ प्रेरित २:१-४ र १४-२१ मा वर्णन गरिएअनुसार सा०यु० ३३ पेन्तिकोसको दिनमा पुरुष र स्त्री गरी जम्मा १२० जनामाथि परमेश्वरले पवित्र आत्मा खन्याउनुभयो। योएलले भविष्यवाणी गरेको यही नै थियो भनी प्रेरित पत्रुसले प्रष्ट पारे। तर ‘सूर्य अँध्यारो हुने र चन्द्रमा रगतमा परिणत हुने र ताराहरूले आफ्नो चमक दिन छाड्ने सम्बन्धमा’ योएलका शब्दहरूबारे के भन्न सकिन्छ? यसको पूर्ति सा०यु० ३३-मा अथवा यहूदी रीतिरिवाजको अन्तिम ३० वर्षभित्र भयो भन्ने कुनै सङ्केत पाईंदैन।
१२ स्पष्टतया योएलको भविष्यवाणीको पछिल्लो भाग “यहोवाको महान तथा भयङ्कर दिन” अर्थात् यरूशलेमको विनाशसित निकटतम् सम्बन्धित थियो। नोभेम्बर १५, १९६६-को द वाचटावर-ले सा०यु० ७०-मा यरूशलेममाथि आइपरेको सङ्कष्टबारे स्पष्टसित यसो भन्यो: “यरूशलेम र उनको सन्तानहरूलाई ध्यानमा राख्दा त्यो साँच्चै नै ‘यहोवाको दिन’ थियो। अनि त्यस दिनसित प्रशस्त ‘रगत, आगो र धूवाँको मुस्लो सम्बन्धित थियो।’ दिनमा छाएको अँध्यारोलाई सूर्यले हटाएन र शान्त जूनेली रातको सट्टा चन्द्रमाले बगाइएको रगत स्मरण गरायो।”c
१३ हो, हामीले अरू भविष्यवाणीहरूमा पनि देखेझैं योएलले भविष्यवाणी गरेका यी आकाशीय अद्भुत घटनाहरू यहोवाले न्यायदण्ड दिनुहुँदा हुनु पर्ने थियो। यहूदी रीतिरिवाजको अन्त नभएसम्मै यस्ता घटनाहरू भइरहनुको सट्टा यरूशलेमको विरूद्ध न्यायिक शक्तिहरू जाइलाग्दा मात्र सूर्य, चन्द्र र ताराहरू अँध्यारो भए। वर्तमान रीतिरिवाजमाथि यहोवाले न्याय गर्न थाल्नु हुँदा योएलको यस भविष्यवाणीको महान पूर्ति हुनेछ भन्ने आशा गर्नु तर्कसङ्गत छ।
आकाशीय अद्भुत घटनाहरू हुनु अघि कुन सङ्कष्ट?
१४ योएलको भविष्यवाणी (लगायत त्यस्तै शब्दहरू प्रयोग गर्ने अरू भविष्यवाणीहरू)-ले हामीलाई मत्ती २४:२९-का शब्दहरू बुझ्न मदत दिन्छ। ‘सूर्य अँध्यारो हुने, चन्द्रमाले आफ्नो चमक नदिने र ताराहरू खस्ने’ भन्दा येशूले अन्तरिक्षमा पठाइने रकेटहरू, चन्द्रमामा गरिने अवतरणहरू र त्यस्तै प्रकारका घटनाहरू वर्तमान रीतिरिवाजको अन्तका दशकहरूमा घट्नेछन् भनी सङ्केत गरिरहनुभएको थिएन भन्ने स्पष्ट छ। बरु उहाँले अझ भविष्यमा हुन बाँकि “यहोवाको महान र भयङ्कर दिन”-सित सम्बन्धित घटनाहरू औंल्याउँदै हुनुहुन्थ्यो।
१५ उपरोक्त विवरणबाट “सङ्कष्टको तुरुन्तै पश्चात्” हुने आकाशीय अद्भुत घटनाहरू हामी बुझ्न सक्छौं। सा०यु० ७०-मा चरमोत्कर्षमा पुगेका घटनाहरूलाई येशूले सङ्केत गरिरहनुभएको थिएन। बरु, उहाँले टाढाको भविष्यमा संसारको रीतिरिवाजमाथि आइपर्ने महासङ्कष्टलाई औंल्याउँदैहुनुहुन्थ्यो जुन उहाँको प्रतिज्ञा गरिएको “उपस्थिति”-को चरमोत्कर्ष हुनेछ। (मत्ती २४:३) त्यो सङ्कष्ट हुन बाँकि नै छ।
१६ मर्कूस १३:२४-मा भनिएका यी शब्दहरू नि: “ती दिनमा त्यस घोर दुःखपछि सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन”? यहाँ “ती” र “त्यस” भनी प्रयोग गरिएका दुवै पद टाढाको भविष्यमा घट्ने कुरालाई सङ्केत गर्ने व्याख्यात्मक सर्वनाम, युनानी शब्द एकिनोस-का रूपहरू हुन्। धेरै पहिले घटेको (अथवा पूर्वसङ्केत गरिएको) अथवा निकै टाढाको भविष्यमा हुने कुनै कुरालाई सङ्केत गर्न एकिनोस प्रयोग गर्न सकिन्छ। (मत्ती ३:१; ७:२२; १०:१९; २४:३८; मर्कूस १३:११, १७, ३२; १४:२५; लूका १०:१२; २ थिस्सलोनिकी १:१०) तसर्थ, मर्कूस १३:२४-मा सङ्केत गरिएको “त्यस सङ्कष्ट” रोमीहरूले उस्काएको सङ्कष्ट नभई यस वर्तमान रीतिरिवाजको अन्ततिर यहोवाले गर्नुहुने पराक्रमी कार्य हो।
१७ मत्ती २४:२९-३१, मर्कूस १३:२४-२७ र लूका २१:२५-२८ का संशोधित जानकारीहरू प्रकाश अध्याय १७ देखि १९ अनुरुप हुनुको साथै ती विवरणहरूको पुष्टि पनि दिन्छ। तर कुन ढङ्गमा? यो सङ्कष्ट एकै चोटि सुरु भएर टुङ्गिनेछैन भनी सुसमाचारका विवरणहरूले बताउँछ; यस सङ्कष्टको सुरुआतपछि “मानिसको पुत्रको चिह्न” देख्न केही अनाज्ञाकारी मानिसहरू जीवितै हुनेछन् र लूका २१: २६-मा उद्धरण गरिएअनुसार यसरी बिलौना गरेर आफ्नो प्रतिक्रिया व्यक्त गर्नेछन्, “संसारमा हुने डर र आशाले मानिसहरू मूर्च्छा पर्नेछन्।” तिनीहरूमाथि छिट्टै नै आइपर्ने विनाश सङ्केत गर्ने “चिह्न” देख्नाले तिनीहरू अत्यन्त भयभीत हुनेछन्।
१८ अन्तर्राष्ट्रिय “जङ्गली जनावर”-को सैन्य “सिङ्गहरू”-ले “महा वेश्या” अर्थात् महान बेबिलोनमाथि आक्रमण गर्दा भविष्यमा हुने महासङ्कष्ट सुरु हुनेछ भनी प्रकाशका विवरणहरूले देखाउँछ।d (प्रकाश १७:१; १०-१६) तर धेरै मानिसहरू जीवित नै हुनेछन् किनभने राजाहरू, व्यापारीहरू, नाविकहरू र अन्य व्यक्तिहरूले झूटा धर्मको अन्त भएकोमा बिलौना गर्नेछन्। निस्सन्देह, धेरैले यसपश्चात् तिनीहरूमाथि न्याय आइपर्नेछ भनी थाहा पाएका हुनेछन्।—प्रकाश १८:९-१९.
के हुन बाँकि छ?
१९ मत्ती, मर्कूस तथा लूकाको पुस्तकमा पाइने सुसमाचारका विवरणहरू र प्रकाश अध्याय १७-१९-ले छिट्टै के हुनेछ भन्ने विषयमा पर्याप्त प्रकाश पार्छ। परमेश्वरको तोकिएको समयमा झूटो धर्मको विश्व साम्राज्य (महान बेबिलोन) माथि आक्रमण हुँदा महासङ्कष्ट सुरु हुनेछ। विशेषगरि अविश्वासी यरूशलेमको प्रतिरूप मसीहीजगतमाथि यो सङ्कष्ट भयानक हुनेछ। महासङ्कष्टको यस अंशको “तुरुन्त पश्चात्,” “सूर्य, चन्द्र, र ताराहरूमा चिह्न हुनेछन् र पृथ्वीमा जाति जातिका मानिसहरूमा [कहिल्यै नभएको] सङ्कष्ट हुनेछ।”—मत्ती २४:२९; लूका २१:२५.
२० कुन अर्थमा ‘सूर्य अँध्यारो हुनेछ, र जूनले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा स्वर्गका शक्तिहरू डग्मगाउनेछन्’? निस्सन्देह, महासङ्कष्टको सुरु सुरुतिर धेरै ज्योतिहरू अर्थात् धार्मिक संसारका प्रतिष्ठित धर्मगुरुहरूलाई प्रकाश १७:१६-मा उल्लिखित “दश सिङ्ग”-ले उदाङ्ग पारेर नाश गरिसकेको हुनेछ। राजनैतिक शक्तिहरू पनि अवश्य डग्मगाउनेछन्। के भौतिक स्वर्गमा पनि डरलाग्दा चिह्नहरू हुन सक्छन्? सम्भवतः हुनेछन् र जोसेफसले बयान गरेको यहूदी रीतिरिवाजको अन्ततिर घटेका घटनाहरूभन्दा यी घटनाहरू आश्चर्यमय र भयङ्कर हुनेछन्। पुरातन समयमा त्यस्ता विध्वंसकारी कार्यहरू गर्न परमेश्वरले आफ्नो शक्ति प्रयोग गर्नुभएको घटनाहरू हामीलाई विदितै छ र उहाँले त्यस्तै कार्यहरू फेरि पनि गर्न सक्नुहुन्छ।—प्रस्थान १०:२१-२३; यहोशू १०:१२-१४; न्यायकर्त्ता ५:२०; लूका २३:४४, ४५.
२१ यसपश्चात् हुने घटनाक्रमलाई बुझाउन सुसमाचारका तीनै लेखकहरूले टोटे (त्यसपछि) प्रयोग गरेका छन्। “[त्यसपछि] मानिसको पुत्रको चिह्न आकाशमा देखा पर्नेछ।” (मत्ती २४:३०; मर्कूस १३:२६; लूका २१:२७) प्रथम विश्व युद्धदेखि यता येशूका साँचो चेलाहरूले उहाँको अदृश्य उपस्थितिको मिश्रित चिह्नहरू देखेका छन् तर अधिकांश मानिसहरूले भने ती चिह्नहरूलाई चिन्न सकेका छैनन्। तर मत्ती २४:३०-मा भविष्यमा देखिने एउटा अर्को “चिह्न” औंल्याइएको छ। त्यो हो, “मानिसको पुत्र”-को चिह्न जुन सारा मानिसहरूले चिन्न बाध्य हुनेछन्। येशू अदृश्य रूपमा बादलहरूमा आउनु हुँदा विश्वभरिका विरोधी मानिसहरूले त्यस “आगमन”-लाई (युनानी, एरखोमेनोन) मानी लिन बाध्य हुनेछन् किनभने उहाँको राजकीय शक्तिको अलौकिक प्रदर्शन हुनेछ।—प्रकाश १:७.
२२ यसपश्चात् हुने घटनालाई सङ्केत गर्न मत्ती २४:३०-मा पुनः टोटे प्रयोग गरिएको छ। त्यसपश्चात्, शायद आफूमाथि छिट्टै आइपर्ने विनाशको सुईंको पाएर होला, राष्ट्रहरूले छाती पिटेर बिलौना गर्नेछन्। यो अवस्था परमेश्वरका जनहरूको भन्दा कस्तो भिन्न हुनेछ किनभने हाम्रो छुटकारा नजीकै आएको हुनाले हामीहरू शीर उठाएर माथि हेर्न सक्छौं! (लूका २१:२८) त्यस्तैगरि प्रकाश १९:१-६ ले महान वेश्याको पतनमा स्वर्ग अनि पृथ्वीका साँचो उपासकहरू आनन्दित हुनेछन् भनी देखाउँछ।
२३ येशूको भविष्यवाणीले मर्कूस १३:२७-मा अझ यसो भन्छ: “तब [टोटे] उसले स्वर्गदूतहरूलाई पठाउनेछ, र पृथ्वीको अन्तदेखि आकाशको अन्तसम्म चारै दिशाबाट आफ्ना चुनिएकाहरूलाई एकै ठाउँमा बटुल्नेछ।” यहाँ येशूले “चुनिएकाहरू,” १,४४,००० मध्ये पृथ्वीमा बाँकि भएका शेष जनहरूमाथि आफ्नो ध्यान केन्द्रित गर्नुहुन्छ। यस रीतिरिवाजको अन्तको सुरुआततिर येशूका यी अभिषिक्त जनहरूलाई ईश्वरतान्त्रिक एकतामा ल्याइयो। तथापि, घटनाक्रमअनुसार मर्कूस १३:२७ र मत्ती २४:३१-ले एउटा भिन्दै विवरण दिन्छ। “तुरहीको ठूलो आवाजको साथमा” बाँकि रहेका “चुनिएकाहरू” चारै दिशाबाट जम्मा गरिनेछन्। तिनीहरू कसरी जम्मा गरिनेछन्? निस्सन्देह तिनीहरूमाथि “छाप” लगाइनेछ र यहोवाले तिनीहरूलाई स्पष्टसित “बोलावट भएका, चुनिएका र विश्वासीहरू”-मध्येका हुन् भनी चिनाउनुहुनेछ। अनि परमेश्वरको तोकिएको समयमा, स्वर्गमा राजा अनि पूजाहारीहरू हुन तिनीहरू स्वर्गमा जम्मा गरिनेछन्।e यसले तिनीहरू र तिनीहरूका विश्वासी सहकर्मीहरू अर्थात् ‘महासङ्कष्ट पार गरेर’ पार्थिव प्रमोदवनमा आशिषहरूको उपभोग गर्न चिह्न लगाइएका “ठूलो भीड”-लाई आनन्दित तुल्याउनेछ।—मत्ती २४:२२; प्रकाश ७:३, ४, ९-१७; १७:१४; २०:६; इजकिएल ९:४, ६.
२४ प्रेरितहरूले, “हामीलाई भन्नुहोस् . . . ” भनी प्रश्न गर्दा येशूले प्रत्युत्तरमा तिनीहरूले बुझ्न सक्नेभन्दा बढी कुराहरू बताउनुभयो। यद्यपि, आफ्नै जीवनकालमा उहाँले गर्नुभएको भविष्यवाणीको अक्षरशः पूर्ति देख्न पाउँदा तिनीहरू हर्षित भए। हाम्रो यस अध्ययनले निकट भविष्यमा पूर्ति हुने उहाँका भविष्यवाणीका केही अंशहरूमाथि ध्यान केन्द्रित गऱ्यो। (मत्ती २४:२९-३१; मर्कूस १३:२४-२७; लूका २१:२५-२८) हाम्रो छुटकारा झन् झन् नजिक भएको अहिले नै हामी देख्न सक्छौं। हामी महासङ्कष्टको सुरुआत, त्यसपछि मानिस पुत्रको चिह्न अनि त्यसपछि चुनिएकाहरूमध्ये शेष जनहरूलाई परमेश्वरले जम्मा गर्नुभएको हेर्न उत्सुकतापूर्वक प्रतीक्षा गर्न सक्छौं। अन्ततः, आरमागेडोनमा यहोवाको प्रमुख न्यायकर्त्ताको हैसियतमा सिंहासनारुढ हाम्रा योद्धा राजा येशूले आफ्नो “विजय पूरा” गर्नुहुनेछ। (प्रकाश ६:२) सन् १९१४ देखि चिह्नित जगतको अन्त अर्थात् प्रभु येशूको दिनको महान पराकाष्ठा परमेश्वरले बदला लिनु हुने दिन हुनेछ।
२५ भविष्यमा पूर्ति हुन बाँकि येशूका यी शब्दहरूप्रति प्रत्युत्तर दिन तपाईंले ईश्वरीय शिक्षाहरूबाट निरन्तर लाभ उठाइरहनुहोस्: “जब यी कुरा हुनेछन् तब शिर उठाएर माथि हेर, किनभने तिमीहरूको छुटकारा नजीकै आएको हुनेछ।” (लूका २१:२८) यहोवाले आफ्नो पवित्र नाउँको पवित्रिकरण गर्दै जानुहुँदा चुनिएकाहरू र ठूलो भीडको सामू कस्तो महान भविष्य हुनेछ। (w93 2/15)
[फुटनोटहरू]
a अहिलेका भौतिक तथ्यहरूले बाइबलको भविष्यवाणीलाई कसरी पूरा गर्छ भनी प्रमाणहरू दिन यहोवाका साक्षीहरू खुशी हुन्छन्।
b वाच टावर बाइबल एण्ड ट्र्याक्ट सोसाइटीद्वारा सन् १९७३-मा प्रकाशित गड्स किङ्गडम अफ अ थाउसेन्ड यर्स ह्याज अप्रोच्ड नामक पुस्तकको पृष्ठ २९६-३२३ र द वाचटावर, सेप्टेम्बर १५, १९८२-को पृष्ठ १७-२२ मा थप जानकारी प्रकाशित भयो।
c रोमीहरूले (सा०यु० ६६) यरूशलेममाथि गरेको पहिलो आक्रमण र त्यसको विनाशबीच घटेका घटनाहरूलाई जोसेफस यसरी लेख्छन्: “त्यस रात ध्वंसात्मक हुरी चल्यो; तूफान आयो, मुसलधारे वर्षा भयो, बिजुली चम्किनै रह्यो र मेघको गर्जन भयावह थियो, कानै थर्काउने आवाजले पृथ्वी हल्लियो। यी सब कुराहरूको उथलपुथलले सारा मानवजातिमाथि आइपर्न लागेको विपत्तिको पूर्वाभास दियो र यी कुलक्षणहरूले एउटा अतुलनीय विध्वंस चित्रित गर्दैथिए भन्ने विषयमा पनि कसैको दुई मत थिएन।”
d “महासङ्कष्ट” र “सङ्कष्ट” भनी येशूले भन्नु भएका शब्दहरूको पहिलो पूर्ति यहूदी रीतिरिवाजको अन्त थियो। तर हाम्रो समयमा मात्र हुने सङ्कष्ट बुझाउन उहाँले “ती” प्रयोग गर्नु भएर “ती सङ्कष्ट” भन्नुभएको छ। (मत्ती २४:२१, २९; मर्कूस १३: १९, २४) प्रकाश ७:१४ ले भविष्यमा हुने त्यस घटनालाई “महासङ्कष्ट” भनेको छ जसको शाब्दिक अर्थ हो “त्यो महासङ्कष्ट।”
e द वाचटावर, अगस्त १५, १९९०-को “पाठकहरूका प्रश्नहरू” हेर्नुहोस्।
के तपाईंलाई सम्झना छ?
▫ योएल २:२८-३१ र ३:१५-का विवरण प्रथम शताब्दीमा कसरी पूरा भए?
▫ मत्ती २४:२९-ले सङ्केत गरिरहेको सङ्कष्ट कुन चाहिं हो र हामी त्यस्तो निष्कर्षमा किन पुग्न सक्छौं?
▫ मत्ती २४:२९-ले कस्ता आकाशीय अद्भुत घटनाहरूलाई सङ्केत गर्छ र सङ्कष्टको तुरुन्तपश्चात् यी घटनाहरू कसरी हुन सक्छन्?
▫ लूका २१:२६, २८ भविष्यमा कसरी पूरा हुनेछ?
[अध्ययनका लागि प्रश्नहरू]
१, २. (क) भविष्यबारे येशूका प्रेरितहरूले कस्तो प्रश्न गरे? (ख) मिश्रित चिह्नबारे येशूले दिनुभएको उत्तर कसरी पूर्ति भएको छ?
३. अर्को चिह्नबारे कुरा गर्दा येशूले कुन थप घटनाक्रमहरू भविष्यवाणी गर्नुभयो?
४. येशूले उल्लेख गर्नुभएका आकाशीय अद्भुत घटनाहरूबारे कस्ता प्रश्नहरू उठ्छन्?
५. आधुनिक समयमा हुने सङ्कष्टबारे एक समय मानिसहरूको धारणा कस्तो थियो?
६. आकाशीय अद्भुत घटनाहरूबारे येशूले गर्नुभएका घटनाहरूको पूर्तिबारे कस्तो सोचाइ थियो?
७. महासङ्कष्टबारे कस्ता संशोधित जानकारीहरू प्रदान गरिएका छन्?
८. संशोधित जानकारीअनुसार आधुनिक समयमा हुने सङ्कष्टबारे मत्ती २४:२९ कसरी वर्णन गरियो?
९. आकाशमा हुने घटनाक्रमबारे येशूका शब्दहरू बुझ्न हिब्रू शास्त्रले कस्तो पृष्ठभूमि तयार गर्छ?
१०, ११. (क) आकाशमा हुने घटनाहरूबारे योएलले कस्तो भविष्यवाणी गरे? (ख) योएलको भविष्यवाणीको कुन अंशहरू सा०यु० ३३-मा पूरा भए र कुन कुन भएनन्?
१२, १३. योएलले भविष्यवाणी गरेका आकाशीय अद्भुत घटनाहरू कसरी पूरा भए?
१४, १५. योएलको भविष्यवाणीले मत्ती २४:२९ बुझ्न कसरी मदत गर्छ?
१६. मर्कूस १३:२४-ले कुन सङ्कष्टलाई औंल्याईरहेको थियो र किन?
१७, १८. महासङ्कष्टको घटनाक्रमबारे प्रकाशले कसरी स्पष्ट पार्छ?
१९. महासङ्कष्ट सुरु हुँदा हामी कुन कुराको आशा गर्न सक्छौं?
२०. कस्ता आकाशीय अद्भुत घटनाहरू हामी भविष्यमा अझै आशा गर्न सक्छौं?
२१. भविष्यमा एउटा “चिह्न” कसरी प्रकट हुनेछ?
२२. मत्ती २४:३०-को “चिह्न” देख्नाले असर कस्तो हुनेछ?
२३. (क) चुनिएकाहरूप्रति येशूले कस्तो कार्य गर्नुहुनेछ? (ख) शेष जनहरूलाई स्वर्गमा लगिने सन्दर्भमा के भन्न सकिन्छ?
२४. पछि हुने घटनाहरूबारे मत्ती २४:२९-३१-ले कस्तो घटनाक्रम प्रकट गर्छ?
२५. लूका २१:२८-को भविष्यमा हुने पूर्तिमा हामी कसरी भागीदार हुन सक्छौं?
[पृष्ठ २६-मा भएको चित्र]
मन्दिर क्षेत्र